शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७२०८ - लेनदेन

भाग: ४५ साल: २०६० महिना: असार अंक:

निर्णय नं.७२०     ने.का.प.२०६० अङ्क ३.४

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल

माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी

सम्वत २०५७ सालको दे.पु.नं. ..६६९३

फैसला मितिः २०६०।२।२२।५

 

मुद्दा :लेनदेन ।

 

पुनरावेदक

प्रतिवादीः रौतहट जिल्ला अजगैवी गा.वि.स. वडा नं. ४ वस्ने वीरेन्द्र राय यादव

बिरुद्ध

विपक्षी

वादीः रौतहट जिल्ला महमदपुर गा.वि.स. वडा नं. ७ वस्ने रामानन्द राय यादव

 

§  प्रतिवादीले म घरको मुख्य व्यक्ति भएकोले मेरो सहमति वेगर मेरो श्रीमतीले ऋण लिनुपर्ने अवस्था नभएको र उक्त लिखतमा मलाई साक्षी समेत नराखिएको हुंदा लिखत वमोजिमको सावा व्याज तिर्न वुझाउन पर्ने होइन भन्ने जिकिर लिएको देखिन्छ । दावीको लिखतलाई अ.वं. ७८ नं. वमोजिम पुनरावेदक प्रतिवादीलाई सुनाउँदा अन्यथा भन्न नसकेको र शान्ति देवीको मृत्यु पछि निजको नामको कि.नं. ३० को जग्गा समेत मालपोत कार्यालय रौतहटवाट मिति २०५५।९।२६ को निर्णय अनुसार आफ्नो र छोराको नाममा नामसारी गराई लिएको देखिन्छ । यसरी मृतक शान्ती देवीको अपुताली पुनरावेदक प्रतिवादीले खाएको देखिएकोले लेनदेन व्यवहारको २२ नं. वमोजिम हकवालाको हैसियतले ऋणीको अपुताली खाएपछि साहुको ऋण तिर्नुपर्ने कानूनी दायित्व पुनरावेदक प्रतिवादीमा सरेको हुंदा दावी वमोजिमको साँवा र ऐन वमोजिमको व्याज समेत वादी दावी वमोजिम प्रतिवादीवाट भराई दिने गरी पुनरावेदन अदालत हेटौडावाट भएको फैसला मिलेकै देखिंदा सदर हुने ।

(प्र.नं. १४)

 

पुनरावेदक प्रतिवादी तर्फवाटः

विपक्षी वादी तर्फवाटः

अवलम्वित नजिरः

 

फैसला

            न्या.केदारप्रसाद गिरीः पुनरावेदन अदालत हेटौडाको मिति २०५६।१२।२ को फैसला उपर प्रतिवादीको न्याय प्रशासन ऐन, २०४८ को दफा ९ वमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः

            २.    म फिरादीसंग प्रतिवादीको एकासगोलको स्वास्नी शान्ती देवीले घर खर्च गर्न रु.८०,०००। कर्जा लिइ सैकडा १० का दरले व्याज लगाई सांवा व्याज २०५४ साल चैत्र मसान्तसम्ममा वुझाउने भाखा गरी २०५४।९।७।२ का दिन कपाली तपमसुक लेखी मलाई दिनु भएको र सांवा व्याज नवुझाउदै शान्ती देवी २०५५।२।१० गते परलोक भै निज शान्ती देवीको खती उपती खाने एका सगोलको हकवाला लोग्ने प्रतिवादी भएको र प्रतिवादीसंग ताकेता गर्दा आलटाल गरी पचाउने नियत गरेकाले साँवा व्याज रु.८३,८५०। र भोलिदेखि मुद्दाको अन्तिम फैसला भै विगो भरी पाउने दिनसम्मको व्याज कोर्टफि समेत भरी पाउं भन्ने वादी दावी ।

            ३.    मेरो स्व.श्रीमती शान्ती देवीको मृत्यु पूर्व हामी दुवै एकै घर सगोलमा नै वस्ने व्यक्तिहरु भएको हुंदा हामीहरुले गर्ने घर व्यवहार सम्वन्धी कार्य सम्वन्धमा हामी एक अर्कालाई थाहा जानकारी हुने कुरा विवाद हुन सक्दैन । मेरो श्रीमतीले विपक्षीवाट वादी दावी अनुसारको रकम यदि लिएको भए सो रकम शान्ती देवीले किन लिएको मलाई थाहा जानकारी गराई लिने थिइन तर मलाई सो को कुनै जानकारी नै नगराएकोले लिखत देखाउदा सद्दे कीर्तेतर्फ वयान गर्ने नै छु । फिराद दायर गर्ने हक अधिकार अ.वं. ८२ नं. ले विपक्षीलाई नभएको हुंदा खारेज गरी पाउं भन्ने प्रतिउत्तर पत्र ।

            ४.    कपाली तमसुक हेरी वाँची सुनी पाउं । ऋणी शान्ती देवी मेरो स्वास्नी हुन । २०५५ जेष्ठ महिनामा परलोक भएकी छिन । प्रस्तुत लिखतमा शान्ती देवीको सहिछाप हो, होइन निजले लिखत अनुसारको ऋण लिएको हो, होइन मलाई थाहा छैन । सद्धे, कीर्ते जालसाजी छुट्याउन सक्दिन भन्ने समेत व्यहोराको प्रतिवादी विरेन्द्र राय यादवले अ.वं. ७८ नं. वमोजिम गरेको वयान ।

            ५.    वादीको साक्षी विसुन दयाल राय यादवको वकपत्र ।

            ६.    प्रतिवादीका साक्षी लाल वावु राय यादवको वकपत्र ।

            ७.    प्रतिवादी वीरेन्द्र राय यादवको नाउंमा तमसुक तयार नभई निजको श्रीमती शान्ती देवीले तमसुक वमोजिमको रु.८०,०००। लिएको भन्ने मुद्दाको मूल विषय देखिदा श्रीमतीले गरेको कारोवार व्यवहार घरको मुख्य भई गरेको अवस्थामा मात्र सदर रहने र अरु सगोलमा रहने वस्ने व्यक्तिहरुवाट भराई लिन पाउने कानूनी व्यवस्था विपरीत लोग्नेलाई तमसुकमा साक्षी समेत नराखी गरेको व्यवहारको दायित्व प्रतिवादी विरेन्द्र राय यादववाट वहन गर्न गराउन नमिल्ने हुंदा वादी दावी पुग्न नसक्ने ठहर्छ भन्ने शुरु रौतहत जिल्ला अदालतको मिति २०५५।११।१३ को फैसला ।

            ८.    रौतहट जिल्ला अदालतको फैसलामा मेरो चित्त वुझेन । प्रस्तुत मुद्दामा मेरो दावी भएको मिति २०५४।९।७।२ को लेखत सवै शुद्ध व्यवहारवाट भऐकोमा निज प्रतिवादीले अ.वं. ७८ नं. वमोजिम सनाखत वयान गर्दा समेत अन्यथा प्रमाणित गर्न नसकेको, निज ऋणी स्व.शान्ती देवीको खतीउपती खाने निजको लोग्नेले अपुताली खाइसकेपछि ऋण पनि व्यहोर्नु पर्नेमा सो नगरी दायित्ववाट पन्छिन खोजेको तथा फैसलामा त्यस प्रति कुनै विचार नगरी दावी नपुग्ने ठहर्याई भएको फैसला वदरभागी छ । अत सो फैसला वदर गरी वादी दावी वमोजिम साँवा व्याज र विगो समेत भरी पाउने गरी फैसला होस भन्ने समेत व्यहोराको पुनरावेदक वादीको पुनरावेदन पत्र ।

            ९.    यसमा स्वास्नीको अपुताली खाने लोग्नेवाट लेनदेन व्यवहारको २२ नं. वमोजिम विगो भराउनु पर्नेमा स्वास्नीको ऋण नभराउने गरी शुरु रौतहट जिल्ला अदालतवाट भएको फैसला फरक पर्न सक्ने हुंदा अ.वं. २०२ तथा पुनरावेदन अदालत नियमावली, २०४८ वमोजिम प्रत्यर्थी झिकाई आए वा अवधि नाघे पछि नियम वमोजिम पेश गर्नु भन्ने पुनरावेदन अदालत हेटौडाको मिति २०५६।६।३ को आदेश ।

            १०.    यसमा ऋणी शान्ती देवीको पति विरेन्द्र राय यादव तथा छोराहरुले निजको मृत्युपछि निजको सम्पत्ति लेनदेन व्यवहारको २२ नं. वमोजिम अपुताली खाएको देखिएको र दावीको लिखतलाई प्रतिवादीले अन्यथा भन्न नसकेको हुंदा दावी वमोजिम लेनदेनको विगो अपुताली खाने हकदारवाट भराई दिनुपर्नेमा दावी पुग्न नसक्ने ठहराएको शुरु जिल्ला अदालतको फैसला उल्टी भै वादी दावी वमोजिम लेनदेनको विगो र कानून वमोजिमको व्याज समेत भरी पाउने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत हेटौडाको मिति २०५६।१२।४ को फैसला ।

            ११.    म घरको मुख्य व्यक्ति भएकोले मलाई साक्षी नराखी गरिएको उक्त लिखतले कानूनी मान्यता नपाउने हुंदा अ.वं. ७८ नं. वमोजिम नामाकरण गरी रहनु नपर्ने र वादीले लिखतको भाखा नाघेपछि निज शान्ती देवी जिवितै रहंदाको अवस्थामा नालेख गर्नुपर्नेमा नगरेवाट दावी वमोजिमको विगो म वाट भरी पाउने अवस्था नहुँदा पुनरावेदन अदालतको फैसला वदर गरी पाउं भन्ने समेत व्यहोराको वीरेन्द्रराय यादवको पुनरावेदन पत्र ।

            १२.   नियम वमोजिम दैनिक मुद्दा पेशी सुचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन पत्र सहितको मिसिल अध्ययन गरी वादी दावी पुग्न नसक्ने ठहर्याएको शुरु रौतहट जिल्ला अदालतको फैसला वदर गरी वादी दावी वमोजिम लेनदेनको विगो र कानून वमोजिमको व्याज समेत भरी पाउने ठहर्याएको पुनरावेदन अदालत हेटौडाको फैसला मिले नमिले सम्वन्धमा नै निर्णय दिनुपर्ने देखियो ।

            १३.   निर्णयतर्फ विचार गर्दा प्रतिवादीको सगोलको श्रीमतीले मसंग कर्जा लिएकोमा निजको मृत्यु भएकोले प्रतिवादीवाट लेनदेनको विगो र व्याज समेत भराई पाउँ भन्ने वादी शान्ती देवीको मृत्यु अघि देखि नै घरको मुख्य व्यक्ति म भएकोले मेरो सहमति वेगर निजको ऋण लिनुपर्ने अवस्था नहुँदा वादी दावी झुठा हो भन्ने प्रतिउत्तर भै वादी दावी नपुग्ने ठहराएको शुरु रौतहट जिल्ला अदालतको फैसलालाई वदर गरी वादी दावी वमोजिम साँवा व्याज समेत भराई दिने ठहराएको पुनरावेदन अदालत हेटौडाको फैसला उपर प्रस्तुत पुनरावेदन परेको देखियो ।

            १४.   यसमा वादीसंग प्रतिवादी वीरेन्द्रराय यादवकी श्रीमती शान्ती देवीले मिति २०५४।९।७ मा रु.८०,०००। घर खर्च र साहु तिर्न भनी २०५४ साल चैत्र मसान्तसम्मको भाखा राखी कपाली तमसुक गरेको देखिएको र ऋणी शान्ती देवीको २०५५ साल जेष्ठ १० गते निधन भए पश्चात २०५५।२।२९ मा पुनरावेदन प्रतिवादी उपर प्रस्तुत फिराद परेको देखिन्छ । प्रतिवादीले म घरको मुख्य व्यक्ति भएकोले मेरो सहमति वेगर मेरो श्रीमतीले ऋण लिनुपर्ने अवस्था नभएको र उक्त लिखतमा मलाई साक्षी समेत नराखिएको हुंदा लिखत वमोजिमको सावा व्याज तिर्न वुझाउन पर्ने होइन भन्ने जिकिर लिएको देखिन्छ । दावीको लिखतलाई अ.वं. ७८ नं. वमोजिम पुनरावेदक प्रतिवादीलाई सुनाउँदा अन्यथा भन्न नसकेको र शान्ति देवीको मृत्यु पछि निजको नामको कि.नं. ३० को जग्गा समेत मालपोत कार्यालय रौतहटवाट मिति २०५५।९।२६ को निर्णय अनुसार आफ्नो र छोराको नाममा नामसारी गराई लिएको देखिन्छ । यसरी मृतक शान्ती देवीको अपुताली पुनरावेदक प्रतिवादीले खाएको देखिएकोले लेनदेन व्यवहारको २२ नं. वमोजिम हकवालाको हैसियतले ऋणीको अपुताली खाएपछि साहुको ऋण तिर्नुपर्ने कानूनी दायित्व पुनरावेदक प्रतिवादीमा सरेको हुंदा दावी वमोजिमको साँवा र ऐन वमोजिमको व्याज समेत वादी दावी वमोजिम प्रतिवादीवाट भराई दिने गरी पुनरावेदन अदालत हेटौडावाट भएको फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरु तपसिल वमोजिम गर्नु ।

 

तपसिल

 

            विपक्ष वादी रामानन्द राय यादवके पुनरावेदन अदालत हेटौडाको फैसला सदर ठहरेकाले सो अदालतको फैसला वमोजिम वादीवाट भरी पाउने कोर्ट फि रु.३,२०१।५७ प्रतिवादीले पुनरावेदन अदालत हेटौडा मार्फत यस अदालतमा पुनरावेदन गर्दा पुनरावेदन अदालत हेटौडामा धरौट राखेको देखिंदा सो धरौट वादीले भरी पाउने हुंदा भरी पाउँ भनी ऐनका म्याद भित्र दर्खास्त परे केही दस्तुर नली भराई दिनु र कोर्ट फिको लगत समेत कटृा गर्न शुरु जिल्ला अदालतमा लेखी पठाउनु भनी पुनरावेदन अदालत हेटौडामा लेखी पठाउनु ............ १

            मिसिल नियमानुसार वुझाई दिनु ....... २

 

उक्त रायमा सहमत छु ।

 

न्या.दिलीपकुमार पौडेल

 

इति सम्वत २०६० साल जेठ २२ गते रोज ५ शुभम् ..... ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु