शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७२२७ - लेनदेन

भाग: ४५ साल: २०६० महिना: भाद्र अंक:

निर्णय नं. ७२२७        ने.का.प.२०६० अङ्क ५.६

 

संयुक्त इजलास

सम्माननीय प्रधानन्यायाधीश श्री केदारनाथ उपाध्याय

माननीय न्यायाधीश श्री खिलराज रेग्मी

सम्बत् २०५४ सालको दे.पु.नं. .. ४७००

फैसला मितिः २०५९।१२।१२।४

 

मुद्दा :लेनदेन ।

 

पुनरावेदक

प्रतिवादीः सिदेनीसा को श्रीमती जिल्ला पर्सा विरगंज न.पा.वडा नं. १० गहवा वस्ने वर्ष ५१ की सावित्री देवी कनुइनको वारेस भै आफनो हकमा समेत ऐ.ऐ.वस्ने वर्ष ५२ को सिदेनीसा  कानू 

विरुद्ध

प्रत्यर्थी

वादीः मुन्नी भन्ने भुटेलीको छोरा ऐ.वडा नं. १५ मुडली वस्ने अं.वर्ष ३३ को प्रभुसाह कानू

 

§  पेश भएको विवादको भरपाइको अन्तिम हरफमा रहेको मितिको २०४२।५ पछि रहेको गतेको २ पछिको ७ अंक मा मसी दोहरिएको र सचिएको अवस्था देखिनुका साथै उक्त भरपाइमा उल्लेख भएको सावित्री देवीको उमेरमा लेखिएको ७ को अंक र मिति पुछारको ७ को अंकको आकृति, बनोट र लेखन शैलीमा भिन्नता देखिएको स्थिति पनि रहेको देखिदा विवादको भरपाइ लिखत जांच गर्ने रेखा तथा लेखा विशेषज्ञवाट लिखत जांच गरी ०५८।६।११ गतेको २७ अंक मध्ये ७ अंक पहिले निलो मसी द्वारा लेखिएको ‘ (शुन्य) को अंक माथिवाट कालो मसीको कलमद्वारा दोहोरो कलम चलाई ७ अंक लेखिएको भन्ने राय दिएको र प्रमाण ऐन, २०३१ वमोजिम सोको परीक्षण समेत भएको अवस्थामा भरपाइलाई सद्दे साँचो भन्न मिल्ने स्थिति नदेखिदा पुनरावेदन अदालतको फैसलामा परिवर्तन गर्नुपर्ने अवस्था देखिन नआउने ।

(प्र.नं. १९)

 

पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ताद्वय श्री उत्तमप्रसाद पन्त र जिवनाथ धिताल

प्रत्यर्थी वादी तर्फवाटः विद्वान अधिवक्ता श्री शंभु थापा

अवलम्वित नजिर

 

फैसला

            न्या.खिलराज रेग्मीः पुनरावेदन अदालत हेटौंडाको मिति २०५४।३।३ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) (ग) अन्तर्गत प्रतिवादीको तर्फवाट पर्न आएको प्रस्तुत पुनरावेदन सहित मुद्दाको तथ्य् व्यहोरा एवं ठहर यसप्रकार  छ :

            २.    घरखर्च गर्न र वन्दव्यापार गर्न भनी मसंग रु. २,५०,०००। अक्षरेपी दुई लाख पचास हजार रुपैया कर्जा लिई सो रुपैयाको सैकडा १० का दरले व्याज लगाई सांवा व्याज समेत ०४३ साल श्रावण महिना भित्रमा वुझाउने छु भनी भाखा गरी ०४२।५।२१।६ का दिन कपाली लेखी सहिछाप गरी बिपक्षी सावित्री देवीले ऋणीको सगोलको पति बिपक्षी सिदेनी साह कानू साक्षी वसी सहिछाप गरी दिनु भएकोमा बिपक्षीहरुसंग सांवा व्याज दिनुस भनी पटक पटक मांग गर्दा आज भोली भनी आलटाल गरी भाखा समेत नघाई सांवा व्याज पचाउने वदनियत चिताउनु भएको हुंदा सांवा रु. २,५०,०००। को लेखत मिति देखि आजसम्म ७।११।१६ दिनको व्याज रु. १,९९,०२७। ६७ समेत सांवा व्याज रु. ४,४९,०२७।६७ र विगो भरिभराउ हुने दिनसम्मको व्याज समेत दिलाई भराई पाउं भन्ने समेत व्यहोराको फिरादपत्र ।

            ३.    वादी दावी अनुसार वादीलाई सांवा व्याज तिर्नु वुझाउनु पर्ने होइन छैन । वादी दावी अनुसारको लेखत गरी दिएको थिएँ । वादी दावी वमोजिमको सांवा रु. २,५०,०००। को भाखा पुग्दै वादीको एकासगोलको पिता मुन्नि भन्ने भुटेली साह कानूलाई घरसारमा ०४२।५।२७ मा वुझाई दिई भरपाइको कागज लेखाई सो भरपाइको कागजमा वादीको एकासगोलको छोरा प्रभु साह कानुलाई पनि साक्षी राखी वादीको पिताले भरपाइ मलाई दिनु भएको छ भन्ने समेत व्यहोराको प्रतिवादीहरुको संयुक्त प्रतिउत्तर पत्र ।

            ४.    प्रतिवादीले पेश गरेको भरपाइ  कागज ०४२ साल भाद« २० गते रोज ५ मा भएको भरपाइ कागज हो । यो भरपाइ कागज मुन्नी भन्ने भुटेली साहको लेनदेन वापतमा भएको भरपाइ कागज हो । सो २० (वीस) गतेमा भएको भरपाइ कागजमा सक्कल भरपाइको १४ हरफमा भाद्र २० गतेमा लेखिएको २० अंकमा ० (सुन्ना) लाई सच्याई किर्ते गरी ७ अंक वनाई २० अंकलाई २७ वनाएका हुन् भन्ने समेत व्यहोराको वा.वा. देवेन्द्र सिंहले गरेको वयान । 

            ५.    दावी वमोजिमको रुपैया प्र.सावित्रीले मिति ०४२।५।२१ मा लि सो रुपैया०४२।५।२७ मा वादीको पिता मुन्नी भन्ने भुटेली साह कानूलाई वुझाई दिई निजलाई भरपाइ गरी लिएको र निजको सगोलका छोरा प्रभु साह कानू साक्षी वसी दुवै जनाको राजिखुसीवाट भरपाइ गरी दिनु भएको हो भन्ने समेत व्यहोराको प्र.वा.महमद हनिफले गरेको वयान ।

            ६.    सावित्री देवीसंग मुन्नी भन्ने भुटेली साहले मेरो रोहवरमा सांवा व्याज समेत वुझी लिएको र सो वापत ०४२।५।२०।५ मा यो भरपाइ गरी दिएको हो । ०४२ साल भाद« २० गतेको भरपाइलाई गतेको २० को अंकलाई २७ वनाएको रहेछ, कसले किर्ते गरी वनाए मलाई थाहा छैन भन्ने समेत व्यहोराको सुकदेव साह कानुले गरेको वयान ।

            ७.    वादीको साक्षी शिव राउत  अहिर, प्रतिवादीको साक्षी अमर साह पारसप्रसाद साहले गरेको वकपत्र ।

            ८.    वादीवाट प्रतिवादीले लिएको ऋण वुझाई भरपाइ लिइसकेको देखिंदा वादी दावी नपुग्ने ठहर्छ भन्ने समेत व्यहोराको पर्सा जिल्ला अदालतको मिति २०५३।१।२ को फैसला ।

            ९.    भरपाइ किर्ते गरेको भन्ने मेरो स्पष्ट भनाइ हुंदाहुंदै वादी दावी नपुग्ने ठहर्‍याएको शुरु इन्साफ उल्टी वदर गरी दावी वमोजिम सांवा व्याज भरी पाउने गरी फैसला गरी पाउं भन्ने समेत व्यहोराको वादीको पुनरावेदन अदालत हेटौंडामा परेको पुनरावेदन पत्र ।

            १०.   लिखत गरिदिने कारणी वाहेक अन्यलाई रुपैया वुझाई सकेको भन्ने जिकिर एवं सो वमोजिमको प्रमाणको अभावमा दावी पुग्न नसक्ने गरेको शुरु फैसला फरक पर्न सक्ने देखिंदा अ.वं. २०२  नं. वमोजिम बिपक्षी झिकाई पेश गर्नु भन्ने समेत व्यहोराको पुनरावेदन अदालत, हेटौंडाको मिति ०५३।११।२ को आदेश ।

११.   ०४२।५।२१ को वादीको तमसुकी रुपयां बुझाएको अर्थमा ०४२।५।२० को भरपाइमा उल्लेखित २० को अंकलाई सच्याई २७ बनाई सो विवादित भरपाइ प्रतिवादीहरुले प्रमाणको रुपमा पेश गरी आफुलाई फाइदा हुने र वादीहरुलाई नोक्सान पुग्ने रीतसंग काम गरी किर्ते गरेको  ठहरी  किर्ते कागजको ९ नं. अनुसार विगोको २५५ ले हुने रु.६२,५००।जरीवाना हुन्छ । प्रतिवादीले  पेश दाखिला गरेको ०४२।५।२७ को भनेको उक्त भरपाइ लिखत ०४२।५।२१ को तमसुकी रुपयांको वादीले गरी दिएको भरपाइ नठहरी सो भर्पाइमा मितिसम्म किर्ते गरेको ठहरेकोले वादीलाई बुझाउनु पर्ने ०४२।५।२१ को तमसुकी रुपयांको सांवाव्याज तिरे बुझाएको कानूनसम्मत कुनै सबूद प्रमाण प्रतिवादीहरुले पेश दाखिला गर्न नसकेको अवस्थामा प्रतिवादीहरुबाट वादीले दावी बमोजिमको सांवा व्याज भराई पाउने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत हेटौंडाको मिति ०५४।३।३ को फैसला ।

१२.   पुनरावेदन अदालत हेटौंडाले म समेतले भर्पाई लिखत किर्ते गरेको ठहर्‍याई शुरु पर्सा जिल्ला अदालतको फैसला उल्टी गर्ने गरेको फैसला उपर चित्त नबुझेकोले पुनरावेदन गरेको  छु । तिरी बुझाई सकेको रुपयाँको पुनः सांवा व्याज वुझाउनु पर्ने गरी गरिएको फैसला मिलेको छैन । पुनरावेदन अदालत हेटौंडाको फैसला उल्टी गरी हाम्रो प्रतिउत्तर जिकिर वमोजिम गरी पाउं भन्ने समेत व्यहोराको प्रतिवादीको यस अदालतमा परेको पुनरावेदन पत्र ।

            १३.   प्रतिवादीले प्रमाण स्वरुप पेश गरेको मिति २०४२।५।२७ को भर्पाई लिखत प्रमाण ए्ेन, २०३१ को दफा २३(१) वमोजिम विशेषज्ञ जचाई प्रमाण लगाइ पाउं भनी जिकिर लिएकोमा विशेषज्ञलाई नजचाई सो लिखतलाई मुल प्रमाण आधार वनाई पुनरावेदन अदालत हेटौंडावाट गरिएको फैसला फरक पर्न सक्ने हुंदा छलफलको लागि अ.वं. २०२ नं. वमोजिम बिपक्षी झिकाई, सो लिखत विशेषज्ञ जचाई तत्पश्चात विशेषज्ञको परीक्षण गर्ने कार्य समेत सम्पन्न गरि नियम वमोजिम पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०५७।१२।१३ को आदेश ।

            १४.   प्रतिवादीले पेश गरेको मिति २०४२।५।२७ को विवादित भरपाइमा उक्त मितिको अन्तिम अङ्क २० लाई सच्चाई २७ वनाएको भन्ने वादीको भनाइ रहेकोले शुरु भर्पाई हुंदा २० नै लेखिएको हो वा २७ लेखिएको हो विशेषज्ञवाट जांच गराई पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति ०५८।३।२८ को आदेश ।

            १५.   नियमानुसार पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीको तर्फवाट रहनु भएका विद्वान अधिवक्ताद्वय श्री उत्तमप्रसाद पन्त र जीवनाथ धितालले वावु भुटेलीले गरी दिएको एकासगोलको छोरा प्रभु शाह साक्षी बसेको अवस्था हुंदा प्रस्तुत विवादको ०४२।५।२७ को भरपाइलाई प्रमाण नलगाउने भन्न मिल्दैन । सो भरपाइ अन्य व्यवहारको हो भनी बिपक्षीले देखाउन नसकेको अवस्थामा भरपाइ प्रमाणयोग्य रहेको भन्ने देखिएकै छ । यस स्थितिमा भरपाइ कीर्ते भन्ने कुरा स्वतः झुठ्ठा देखिएको छ । लेख्नेबाट अंक दोहराई वा आकृति फरक परी लेखिन गयो भन्दैमा कीर्ते हुने होइन । तसर्थ लगाउनु पर्ने भरपाइ कागजलाई प्रमाणमा नलिई, उल्टै कीर्ते ठहर गरेको पुनरावेदन अदालतको फैसला मिलेको छैन वदर हुनुपर्दछ भनी र बिपक्षी तर्फवाट उपस्थित हुनु भएका विद्वान अधिवक्ता शंभु थापाले भरपाइमा तमसुकको मिति नखुलेको हुँदा यसै लिखतसंग संवन्धित भरपाइ हो भन्न नमिल्ने हुँदा प्रमाण लाग्ने अवस्था छैन । भरपाइमा सावित्रीको उमेरमा लेखिएको ७ को अंक र मिति पुछारको २७ को ७ अंकको आकृति वनोटमा फरक हुँदा पनि २७ को ७ को अंक वनावटी हो भन्ने देखिन्छ । भरपाइको साक्षी सुकदेवले पनि मिति पुछारको २० को ० लाई ७ वनाएको भन्ने व्यहोरावाट वयान गरेको अवस्था छ । विशेषज्ञको रायवाट पनि उक्त २७ को ७ वनावटी हो भन्ने देखिएकै छ । यस स्थितिमा उक्त विवादास्पद भरपाइलाई कीर्ते ठहर गरी साँवा व्याज भरी पाउने ठहराएको पुनरावेदन अदालतको फैसला मिलेको हुँदा सदर हुनुपर्दछ भनी गर्नु भएको बहस समेत सुनियो ।

            १६.   दुवै तर्फका विद्वान कानून व्यवसायीहरुको वहस जिकिर समेत सुनी पुनरावेदन अदालतले विवादको लिखत जालसाजी किर्ते ठहर गरी दावी वमोजिम सांवा व्याज भराई दिने गरेको फैसला मिलेको छ, छैन भन्ने सम्बन्धमा निर्णय तर्फ विचारगर्दा पुनरावेदक प्रतिवादी सावित्री देवी कनुइन र प्रत्यर्थी वादी प्रभुप्रसाद साह कानुका वीच ०४२।५।२१ मा रु. २,५००००।कर्जा लेनदेन गरी कपाली तमसुक भएको पाइन्छ । पुनरावेदक प्रतिवादी सावित्री देवी समेतले भाखा भित्र रकम नवुझाएकोले सो सावा र व्याज समेत दिलाई भराई पाउं भनी प्रस्तुत फिराद परेको देखिन्छ । सो रुपयाँ वादीका वावु मुन्नी भन्ने भुटेलीलाई ०४२।५।२७ मा भर्पाई गरी वुझाईसकेको भनी निज भुटेलीले गरि दिएको भनिएको भरपाइ समेत पेश गरी रकम बुझाएको भन्ने प्रतिउत्तर जिकिरका साथै यस अदालतमा परेको पुनरावेदन पत्रमा समेत सोही व्यहोराको जिकिर लिएको पाइन्छ ।

            १७.   मिति ०४२।५।२७ को भर्पाई वमोजिम वुझाएको भनेको रकम अर्कै लिखतको हो । सो मिति ०४२।५।२७ नभै ०४२।५।२० हो । सो लिखतको मिति पुछारको गतेको २०को ठाउंमा रहेको ‘  पछि वनाई भर्पाई किर्ते गरेका हुन् भन्ने समेत व्यहोराको वादीको वयान जिकिर रहेको देखिन्छ ।

            १८.   यसप्रकार प्रस्तुत विवादमा मूलतः विवादको भरपाइ किर्ते जालसाजी हो वा होइन र लिखत वमोजिम वादीले प्रतिवादीवाट विगो भराई लिन पाउने हो, होइन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।

            १९.   सर्वप्रथम पहिलो विवाद ०४२।५।२७ को भनी पेश भएको भर्पाई सद्दे हो वा किर्ते जालसाज के रहेछ भन्नेतर्फ विचार गर्दा पेश भएको विवादको भर्पाईको अन्तिम हरफमा रहेको मितिको २०४२।५ पछि रहेको गतेको २ पछिको ७ अंक मा मसी दोहरिएको र सचिएको अवस्था देखिन आउंछ । उक्त भरपाइमा उल्लेख भएको सावित्री देवीको उमेरमा लेखिएको ७ को अंक र मिति पुछारको ७ को अंकको आकृति, बनोट र लेखन शैलीमा भिन्नता देखिएको स्थिति पनि रहेको छ । विवादको भरपाइ लिखत जांच गर्ने रेखा तथा लेखा विशेषज्ञवाट लिखत जांच गरी ०५८।६।११ मा यस अदालतमा पेश गरेको लिखत जांच गरेको रायवाट विवादित भरपाइको मिति हरफको गतेको २७ अंक मध्ये ७ अंक पहिले निलो मसी द्वारा लेखिएको ‘ (शुन्य) को अंक माथिवाट कालो मसीको कलमद्वारा दोहोरो कलम चलाई ७ अंक लेखिएको भन्ने राय दिएको र प्रमाण ऐन, २०३१ वमोजिम निजको परीक्षण समेत भएको अवस्था देखिन आउंछ । यस अवस्थामा उक्त भरपाइलाई सद्दे साँचो भन्न मिल्ने स्थिति देखिएन । तसर्थ ०४२।५।२१ को लिखत वमोजिमको रकम वुझाई सकेको भन्ने तथ्य पुष्टी गर्न ०४२।५।२० को भर्पाईको मिति सच्याई दावीको लिखत भन्दा पछिका मिति पारी सो भरपाइ पेश गरी दायित्वबाट पुनरावेदक प्रतिवादीहरुले उन्मूक्ती लिन खोजेको पुष्टी हुन आउंछ । यसरी रीतपूर्वक आफूले लिएको कर्जा रकम कानून वमोजिम वुझाउनु पर्ने दायित्व भएका पुनरावेदक प्रतिवादीहरु आपसमा मिली अर्कै उद्देश्य र मिति राखी भएको कामलाई प्रस्तुत मुद्दाको उद्देश्य र कामको प्रयोजन हो भन्ने पारी अरुलाई नोक्सान र आफूलाई फाइदा पुर्‍याउने नियत राखी कार्य गरेको देखिंदा सो भरपाइ लिखतलाई किर्ते ठहर गरी किर्ते कागजको ९ नं. वमोजिम सजाय गर्ने गरेको पुनरावेदन अदालतको फैसलामा परिवर्तन गर्नुपर्ने अवस्था देखिन आएन  ।

            २०.   अव दावी वमोजिम वादीले सांवा व्याज भराई लिन पाउने हो होइन भन्नेतर्फ विचार गर्दा यी वादी र पुनरावेदक सावित्री देवीका वीच रकम कर्जा लिई लिखत भएकोमा विवाद  छैन । लेनदेन व्यवहारको ५ नं. वमोजिमको आसामीले साहुलाई वुझाएको भरपाइ वा लिखत फटृा गरेको पुष्टि हुने प्रमाणयोग्य कागजात प्रतिवादीले पेश गर्न नसकेवाट वादी प्रतिवादीका वीच भएको लिखत वमोजिमको रकम कानून वमोजिम वादीले भराई लिन पाउने नै देखिन आयो ।

            २१.   अतः विवादको भरपाइ किर्ते ठहर गरी किर्ते कागजको ९ नं. अनुसार प्रतिवादीहरुलाई सजाय गर्ने गरेको र वादी दावी वमोजिम सांवा व्याज भराई दिने ठहर गरेको पुनरावेदन अदालत हेटौंडाको फैसला मिलेकै देखिंदा सदर हुन्छ । पुनरावेदन जिकिर पुग्न सक्दैन। अरु तपसिल वमोजिम गर्नु ।

 

तपसिल

 

पुनरावेदक प्रतिवादीहरुके माथि इन्साफ खण्डमा लेखिए वमोजिम पुनरावेदन अदालत हेटौंडाको  फैसला सदर भएकोले निजहरुबाट पुनरावेदन अदालतको फैसला वमोजिम असूल उपर गर्नुपर्ने ठहर भएको जरीवाना रु. ६२,५००।वापत यस अदालतमा पुनरावेदन गर्दा निज सिदेनीसाहका नाउंको जिल्ला पर्सा विरगंज न.पा.वडा नं.५ को कि.नं. १४३८ को ज.वि. ०५ जग्गा जेथा जमानी राखी रोक्का रहेको देखिंदा सो जग्गा निजहरुबाट लागेको जरीवाना दाखेला गरी असूल उपर भएमा फुकुवा गरी दिन भनी शुरु पर्सा जिल्ला अदालतमा लेखी पठाई दिनु..... १

पुनरावेदक प्रतिवादीहरुके माथि इन्साफ खण्डमा लेखिए वमोजिम पुनरावेदन अदालतको फैसला सदर भएकोले पुनरावेदन अदालतको फैसलाको तपसिल वमोमिजको निजहरुवाट जरीवाना सरह असूल गर्नुपर्ने कोर्टफी रु. ५०९।पुनरावेदन दर्ता गर्दा यस अदालतमा मिति ०५४।५।१४ मा र नं. १६७३२ वाट वुझाएको देखिंदा सो को लगत राखेको भए असूल उपर जनाई सो लगत कटृा गरी दिनु भनी शुरु पर्सा जिल्ला अदालतमा लेखी पठाईदिनु  ... २

प्रत्यर्थी वादी के माथि इन्साफ खण्डमा लेखिए वमोजिम पुनरावेदन अदालतको फैसला सदर भएकोले पुनरावेदक प्रतिवादीहरुवाट निज वादीलाई पुनरावेदन अदालतले भराईदिने ठहर गरेको कोर्टफी रु. ९५००।१५ प्रतिवादीहरुले पुनरावेदन गर्दा यस अदालतमा मिति ०५४।१२।२८ मा र.नं. ८९९८ मार्फत धरौटीमा दाखेला गरेको देखिंदा सो कोर्टफी फिर्ता पाउं भनी वादीको ऐनका म्यादभित्र दरखास्त परे वादीलाई भराईदिनु भनी शुरुपर्सा जिल्ला अदालतमा लेखि पठाई दिनु .....३

अरु पुनरावेदन अदालतको फैसलाको तपसिलको १ नं. वमोजिम गर्नु भनी शुरु पर्सा जिल्ला अदालतमा लेखी पठाई नियमानुसार गरी मिसिल वुझाई दिनु ...४

 

उपर्युक्त रायमा सहमत छु ।

 

प्र.न्या.केदारनाथ उपाध्याय

 

इति सम्बत् २०५९ साल चैत्र १२ गते रोज ४ शुभम. ...........

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु