शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४५०६ - बकसपत्र बदर जग्गा समेत

भाग: ३४ साल: २०४९ महिना: श्रावण अंक:

निर्णय नं. ४५०६     ने.का.प. २०४९ ()   अङ्क ४

 

पूर्ण इजलास

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ

सम्वत् २०४६ सालको दे.पु.इ.नं. ७७

फैसला भएको मिति : २०४९।४।१।५ मा

निवेदक/वादी: दोलखा जिल्ला सुनखानी गा.वि.स. वार्ड नं. ८ बस्ने पूर्णबहादुर सार्कीसमेत

विरुद्ध

विपक्षी/प्रतिवादी: ऐ.वार्ड नं.९ बस्ने छत्रबहादुर सिवाकोटीसमेत

मुद्दा : बकसपत्र बदर जग्गा समेत

(१)    हक नपुग्ने व्यक्तिबाट लिए दिएको हालैको बकसपत्र लिखत कायम रहन नसक्ने ।

(प्रकरण नं. १६)

निवेदक/वादीतर्फबाट: विद्वान अधिवक्ता श्री प्रकाश वस्ती तथा विद्वान अधिवक्ता श्री हरिकृष्ण      कार्की

विपक्षी/प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री यादव खरेल

फैसला

न्या.सुरेन्द्रप्रसाद सिंह

१.    श्री ५ महाराजाधिराज सरकारका जुनाफमा सर्वोच्च अदालत संयुक्तइजलासबाट फैसला भएको मुद्दा दोहर्‍याई पाउँ भनी वादीहरुले चढाएको बिन्तिपत्रमा व्यहोरा साँचो भए मुद्दा पूर्णइजलासबाट दोहराई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सकोे छ भनी मौसूफ सरकारका विशेष जाहेरी विभागबाट मिति २०४६।३।५ मा तोक लागी आए अनुसार पूर्णइजलासको लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ ।

२.    २०११ सालमा दोलखा मालबाट हाम्रो नाउँमा घरदर भई हामीले तिरो तिरान समेत गरी एकलौटी गरी खाई आएको पूर्व ठाडो खोल्सो र नन्दबहादुरको जग्गा पश्चिम साखलपुरेको खेत उत्तर तेर्सो बाटो दक्षिण कालीमाटी जाने तेर्सो बाटो यति ४ किल्ला भित्रको चिसापानी वारी विजन ।१२।२ जाने तिरो रु. १०।७८ को प्रचलित मूल्य ८०००।जाने जग्गामा हामी १३ धुरी खडा गरी सकेका छौं । सुनखानीको सिवाकोटे परिवारसंग हाम्रो प्रतिनिधि अम्बरबहादुर खुलाल र पद्मबहादुर खडका समेत भई रैकर बिर्तामा कारवाही हुँदा २०३१ सालसम्मको तिरो म अम्बरबहादुर हाल लालबहादुर खुलाललाई बुझाई आएका छौं । २०३१।११।१६ मा बाली दिलाई मोही निस्कासन गरिपाउँ भनी विष्णुकान्त समेतले म वादी द्रोणबहादुरका नाउँमा मु.नं. २१५ मा निर्णय भई यिनै वादीहरु समेतसंग रैकर बिर्ताको मुद्दा पर्दा ज.पु.अ. बाट २००० सालको मिलापत्र समेत रैकरलाई विर्ता भनी खान नपाउने गरी २०२७।११।२० को फैसला उपर रिट परी ज.पु.अं.अ. कै इन्साफ सदर भएको । सोही निस्कासन सम्बन्धी मुद्दामा भू.प्र.का. बाट २०३२।६।६ मा मोही निस्कासन गर्न नमिल्ने भनी निर्णय भएको सो निर्णय समेतबाट रैकर ठहरी हाम्रो हक भोगको उक्त जग्गामा विपक्षीहरुले अर्कै दर्ताको नाताले जालसाज गरी हक नपुग्ने उक्त जग्गा छत्रबहादुर बकस दिने सिवलाल लिने गरी हालैको बकसपत्र २०३७।१२।१० मा पारीत गरी लिएछन् सो कुरा प्रमाणका मानिसहरुले थाहा दिएकोले बकसपत्र बदर गरी पाउँ भन्ने समेत बकसपत्रको ५ नं. तथा लेनदेन व्यवहारको १०, ४० र जग्गा मिच्नेको १८ नं. बमोजिम हालैको बकसपत्र बदर गराई उक्त ४ किल्ला भित्रको हाम्रो घर धुरी बमोजिम रु. ८०००।मोलिने जग्गाको खिचोला मेटाई चलन चलाई हाम्रो हक कायम गरिपाउँ भन्ने समेत पूर्णबहादुर सार्की समेतको फिरादपत्र ।

३.    वादीहरुको खान्गी खुवा खारेज भई घरदर भएको विपक्षीहरुको घरधुरी भएको जग्गा कालीमाटी जाने बाटोदेखि उत्तर र पुछार धमिरे खोला पश्चिमपट्टी छुट्टै छ । कालीमाटी जाने बाटो देखि दक्षिण बीचको मूल बाटो मुनि माथि माटो ।२० मुरीको दरले माटो मुरी ।४० म छत्रबहादुरको नाममा दर्ता भएको जग्गा पर्छ, वादीले माने महेलीबाट कालीमाटी जाने तेर्सो बाटो देखि दक्षिण भनेको साँध र म छत्रबहादुरले म शिवलाललाई २०३७।१२।१० मा गरिदिएको बकसपत्रको माथिल्लो कालीमाटी जाने बाटो देखि दक्षिण भन्ने साँध एउटै हो बीचमा मुलबाटो भएकोले जग्गा दुई कित्ता यही हुँदा बकस दिएको माथिल्लो सिरानको कालीमाटी जाने बाटो देखि दक्षिण मूलबाटो देखि उत्तरको १ कित्ता माटो मुरी ।२० दर्ता भएको बकसको कित्ता २ जग्गालाई वादीहरुले बकस लिखतमा लेखिएको माथिल्लो कालीमाटी जाने बाटोदेखि दक्षिण भन्ने साँधलाई फिरादमा माने महेलीबाट कालीमाटी जाने बाटोले दक्षिण भन्ने र बकसको सखलपु खेतको पुछारको तेर्सो बाटोले उत्तर भन्ने साँधलाई पिपुलेको खेत र सो खेतको पुछार तेर्सो बाटोले उत्तर भन्ने साँध राखेको म शिवलालले बकस पाएको खेत मात्र पर्छ वादीहरुको घरधुरी पर्दैन विपक्षीहरुको घरबारी पाखा बारीमा खेत आवाद दर्ता भएको २००६ सालको खेत नम्बरीको जग्गामा दावा लिई बकसपत्र लिखत बदर गरिपाउँ भनी झुठ्ठा दावी लिएको हुँदा झुठ्ठा फिरादबाट फुर्सद पाउँ भन्ने समेत छत्रबहादुर समेतको प्रतिउत्तरपत्र ।

४.    २०११ सालभन्दा अगाडिको प्रतिवादीको २००६ सालको दर्ता समेत रहेको तथा वादीतर्फ चार किल्ला समेत नखुलेको र वादीको दर्तामा घरबारी भएको प्रतिवादीको दर्तामा खेत रहेको नक्सा हेर्दा न.नं. १६, १४, ३५, ३६ आधा झगडा परेको जग्गा खेत जनिएको समेत देखिँदा आफ्नो जग्गा बकसपत्र दिएको हुँदा बकसपत्र बदरतर्फ वादी दावी पुग्न सक्दैन तर न.नं. ११ को अल्केढुंगा जाने बाटो देखि उत्तर प्रतिवादीले खिचोला गरेको ठहर्छ भन्ने समेत दोलखा जिल्ला अदालतको फैसला ।

५.    उक्त फैसलामा चित्त बुझेन भन्ने समेत दोनबहादुर सार्की समेतको जनकपुर अञ्चल अदालतमा परेको पुनरावेदनपत्र ।

६.    जिल्ला अदालतबाट भएको नक्सा नम्बर ३८ को जग्गा न.नं. ११ को अल्छेढुंगा जाने बाटो देखि उत्तरतर्फको जग्गासम्ममा प्रतिवादीहरुले खिचोला गरेको समेत ठहराई विपक्ष प्रतिवादी तर्फबाट पुनरावेदन नै नदिई चित्त बुझाई बसेको र उक्त नक्सा प्रकृतिको झगडा जनिएको जग्गा वादी लेखको ४ किल्ला भिडेको र प्रमाणमा आएको वादी छत्रबहादुर, प्रतिवादी शिवलाल समेतको जग्गा खिचोला मुद्दामा वादी छत्रबहादुरको वादी दावी खारेज हुने गरी भएको २०१०।५।४ को दोलखा जिल्ला अदालतको फैसला सदर कायम भई यो मुद्दाको प्रतिवादी छत्रबहादुरको हक कायम नभएको र विवाद विषयको जग्गा विषय प्रतिवादी तर्फबाट हक पाएको सबूद पेश नभएको यस स्थितिमा वादी दावीको बकसपत्र बदर नहुने ठहराइएको शुरु जि.अ. को इन्साफ मिलेको देखिएन, बदर गरी दिएको छ, उक्त आधारबाट प्रस्तुत मुद्दामा विवाद जग्गा विषय प्र.छत्रबहादुरले प्र.शिबलाललाई २०३७।१२।१० मा पाखा बारीलाई खेतमा पारी गरिदिएको बकसपत्र बदर हुने र नक्सामा झगडा जनिएको जग्गाहरुमा प्रतिवादीहरुले खिचोला गरेको ठहर्छ भन्ने समेत जनकपुर अञ्चल अदालतको फैसला ।

७.    उक्त अञ्चल अदालतको इन्साफमा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भन्ने समेत शिवलाल सिवाकोटीको निवेदनपत्रमा ज.पु.अं. को इन्साफमा कानुनी त्रुटि देखिँदा पुनरावेदनको अनुमति प्रदान गरिएको छ । पुनरावेदनको लगतमा दर्ता गरी नियम बमोजिम पेश गर्नु भन्ने समेत म.क्षे.अ. को आदेश ।

८.    यसमा २००६ सालको दर्ताको खेत झगडा जनिएको न.नं. १६, ३५, ३६ को जग्गा खेत जनिएको वादीको दर्ता घरबारीसंग रहे भएको देखिएको र खेत जग्गा नै बकसपत्र पारीत गरिदिएको देखिँदा बकसपत्र बदरतर्फ वादी दावी पुग्न नसक्ने र नक्सामा पुनरावेदक प्रतिवादीको चिसापानी खेत नक्सा नं. १० को दक्षिणतर्फ मात्र रहे भएको हुँदा सो नक्सा नं. १० को माथि उत्तर न.नं. ३८ मा झगडा जनिएको देखिंदा न.नं. ११ को अल्हेढुंगा जाने बाटो देखि उत्तर प्रतिवादीले खिचोला गरेको र न.नं. १२, २०, २१, २२, २३, २४, को घर न.नं. ३४ र १४ को बारीमा समेत वादीहरुकै हक ठहर्छ । बकसपत्र बदर गरिपाउँ भन्ने वादी दावी पुग्न नसक्ने र न.नं. १२, २०, २१, २२, २३ र २४ को घर र न.नं. ३४ र १४ को बारीमा वादीहरुकै हक ठहराउनु पर्नेमा जनकपुर अञ्चल अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर भई उल्टी हुन्छ र दोलखा जिल्ला अदालतको फैसला न.नं. १४ को बारीको हकमा सम्म बदर भई उल्टी हुन्छ भन्ने समेत व्यहोराको म.क्षे.अ. को मिति २०४३।७।३ को फैसला ।

९.    प्रस्तुत मुद्दा २००६ सालको दर्ताको आधारमा विपक्षी छत्रबहादुरले विपक्षी शिवलाललाई गरिदिएको बकसपत्र बदर गरिपाउँ भन्ने भएको हुँदा २००६ सालको दर्ताको लगत कट्टा भएको भन्ने २०१० सालको फैसलालाई विपक्षीहरुले खण्डन गर्न सकेका छैनन । बकसपत्र दिने छत्रबहादुरको हक नपुग्ने गरी भएको फैसलाले प्रस्तुत मुद्दामा हामीलाई सघाउ नपुग्ने भन्ने क्षेत्रीय अदालतको फैसला सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त समेत विपरीत हुँदा पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत व्यहोराको वादी तर्फको यस अदालतमा पर्न आएको निवेदनपत्र ।

१०.   यसमा वादी छत्रबहादुर प्र.शिवलाल समेत भएको जग्गा मुद्दा २०१०।५।४ को दोलखा जिल्ला अदालतको फैसलाबाट वादीको दावीको जग्गा लगत कट्टा गरिदिने भई अन्तिम रुपमा रहेको पाइन्छ । अन्तिम रहेको फैसलाले हक नपुग्ने व्यक्तिबाट गरिदिएको बकसपत्र बदर नहुने ठहराएको म.क्षे.अ. को फैसला ने.का.प. २०२९ नि.नं. ६५६ पृ. ३ मा प्रतिपादित सिद्धान्त विपरीत भएको देखिँदा न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(५)(ग) बमोजिम पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत व्यहोराको यस अदालत संयुक्तइजलासको मिति २०४४।८।१८ को आदेश ।

११.   विवादको जग्गा छत्रबहादुर बकस दिने, शिवलाल लिने गरी हालैको बकसपत्र २०३७।१२।१० मा पारीत गरिलिएको बदर गरिपाउँ भन्ने दावी लिएको पाइन्छ । वादीको दर्ता सम्बन्धी कारवाही २०११ सालमा उठेकोमा दाता प्रतिवादीको नाममा जग्गा २००६ सालमा दर्ता समेत भइरहेको देखिएको छ । अञ्चल अदालतले फैसलामा उल्लेख गरेको प्रमाणमा आएको वादी छत्रबहादुर प्रतिवादी शिवलाल समेतको जग्गा खिचोला मुद्दामा वादी छत्रबहादुरको वादी दावी खारेज हुने गरी भएको २०१०।५।४ को कायम रहेको फैसलाले प्रस्तुत मुद्दामा प्रभाव पार्ने होइन, उक्त मुद्दामा छत्रबहादुर वादी र प्र.शिवलाल समेत प्रतिवादी भई चलेको र प्रस्तुत मुद्दामा वादीहरु पक्ष वा विपक्षमा रहेको पाइँदैन । तसर्थः अञ्चल अदालतले उल्लेख गरेको उक्त फैसलाले यी वादीलाई सघाउ पुर्‍याउन नसक्ने भन्ने क्षेत्रीय अदालतको रायलाई अन्यथा भन्न मिलेन, मनासिब देखिन्छ । २००६ सालको दर्ताको खेत झगडा जनिएको न.नं. १६, ३५, ३६ को खेत जनिएको न.नं. १९ को तेर्सो मूलबाटो देखि दक्षिण वादीको घरवारीसंग रहेको देखिन्छ । बकसपत्र पारीत हुँदा खेत जग्गा नै भएको देखिँदा बकसपत्र बदर तर्फ वादी दावी पुग्न नसक्ने र प्रतिवादीको चिसापानी खेत नक्सा नं. १० को दक्षिण तर्फमात्र रहे भएको हुँदा सो को उत्तरतर्फ न.नं. ३८ झगडा जनिएको देखिएको न.नं. ११ को अल्छेढुंगा जाने बाटै देखि उत्तर प्रतिवादीले खिचोला गरेको भई न.नं. १२, २०, २१, २२, २३, २४ का घर र न.नं. ३४, १४ को वारीमा समेत वादीहरुको हक ठहराएकोसम्म म.क्षे.अ. को इन्साफ मनासिब ठहर्छ । यसरी उक्त घर जग्गाहरुमा वादीहरुको हक ठहराएपछि प्रतिवादीहरुले गरे गराएको बकसपत्र सो हदसम्म बदर हुनु पर्नेमा बकसपत्र बदर गरी पाउँ भन्ने वादी दावी पुग्न नसक्ने भन्ने हदसम्म म.क्षे.अ. को इन्साफ मिलेको नदेखिई गल्ती ठहरी केही उल्टी हुन्छ भन्ने सर्वोच्च अदालत संयुक्तइजलासको २०४५।७।९ को फैसला ।

१२.   श्री ५ महाराजाधिराज सरकारका हजूरमा उक्त मुद्दा दोहराई पाउँ भनी चढाएको विन्तिपत्रमा व्यहोरा साँचो भए मुद्दा पूर्णइजलासबाट दोहराई हेरी कानुनबमोजिम निर्णय गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भनी मौसूफ सरकारका विशेष जाहेरी विभागबाट तोक लागी आएको रहेछ ।

१३.   नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा निवेदक वादीहरु तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री प्रकाश वस्ती तथा विद्वान अधिवक्ता श्री हरिकृष्ण कार्की समेतले यही प्रतेवादी छत्रबहादुर वादी भई चलेको पूर्व २ नं. दोलखा अदालतबाट २०१०।५।४ मा फैसला भएको मुद्दा प्रस्तुत मुद्दाको ४ किल्ला संग भिडेको जग्गामा मुद्दा पर्दा वादी दावी खारेज भई प्रतेवादी छत्रबहादुरले हारेको छ । ०३०।२।९ मा सर्वोच्च अदालतबाट भएको फैसलाबाट जग्गा बिर्ता नठहरी रैकर ठहर भएको छ । विष्णुकान्त सिवाकोटी समेत विरुद्ध डोनबहादुर सार्की उपर मोही निस्कासन मुद्दा परेकोमा भू.सु.का. बाट ०३२।६।६ मा निस्कासन नहुने भई फैसला भएको छ । सो फैसलाहरु समेतबाट वादीहरुको हक भएको वादी दावीको घरवारीको जग्गा हो त्यस्तो वादीहरुको हकभोगको घरवारी जग्गा मध्ये न.नं. १६, ३५ र ३६ को जग्गा प्रतेवादीको कायम गरेको संयुक्तइजलासको इन्साफ मिलेको छैन । सो जग्गा समेत वादीहरुको दावीको जग्गा ठहर गरिपाउँ भन्ने समेत बहस गर्नु भयो । विपक्षी प्रतिवादी तर्फबाट रहनु भएको विद्वान अधिवक्ता श्री यादव खरेलले छत्रबहादुरका नाउँको ००६ सालको दर्ता खेत कित्ता २ प्र.शिवलालले बकसपत्र प्राप्त गरेको हो । सो खेतमा वादीहरुको घरवारी पर्दैन । झुठ्ठा व्यहोराको विन्तिपत्रबाट कारवाई हुनु नपर्ने भन्ने समेत बहस गर्नु भयो ।

१४.   आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा निर्णयतर्फ विचार गर्दा २०३८।११।८ को नक्सामा झगडा जनिएको मध्ये न.नं. १६, ३५ र ३६ को खेत जग्गा देखिँदा बकसपत्र बदरतर्फ वादी दावी पुग्न नसक्ने र न.नं. ११ को उत्तर प्रतिवादीले खिचोला गरेको भई न.नं. १२, २०, २१, २२, २३, २४ का घर न.नं. ३४, १४ को वारीमा समेत वादीहरुको हक ठहर्‍याएको म.प.क्षे.अ. को इन्साफलाई सर्वोच्च अदालत संयुक्तइजलासबाट सदर गरेको देखिन्छ । तर वादीहरुको हक ठहराएतर्फ प्रतिवादीहरुले कुनै निवेदन उजूर नगरी चित्त बुझाई बसेको हुनाले त्यसतर्फ विचार गरिरहन परेन ।

१५.   अब न.नं. १६, ३५ र ३६ को खेतमा वादी दावी नपुग्ने गरे तर्फ वादीहरुको परेको निवेदनमा मुद्दा दोहर्‍याई हेरी कानुन बमोजिम निर्णय गरिदिनु भन्ने बक्स भई आएको हुकुम प्रमांगी अनुसार सो सम्बन्धमा सम्म सर्वोच्च अदालत संयुक्तइजलासको इन्साफ मिलेको छ छैन ? हेर्नु परेको छ । त्यसतर्फ हेर्दा हाम्रो हक भोग दर्ताको घर वारीको जग्गामा विपक्षीहरुले अर्कै दर्ताको नाताले जालसाजी गरी हक नपुग्ने जग्गा छत्रबहादुर बकसपत्र दिने शिवलाल बकसपत्र लिने गरी हालैको बकसपत्र मिति २०३७।१२।१० मा पारीत गरेछन । सो बकसपत्र बदर गरी उक्त ४ किल्ला भित्रको हाम्रो घरधुरी जग्गाको खिचोला मेटाई पाउँ भन्ने समेत वादीहरुले आफ्नो फिरादमा दावी लिएको देखिन्छ । मिति २०३८।११।८ मा अदालतबाट भएको नक्साबाट झगडा परेको भनी जनिएको जग्गामा समेत वादीहरुको घरवारी जग्गा रहेको भन्ने उक्त नक्साबाट देखिन्छ । सो वादी दावीको ४ किल्लासँग मिल्न भिड्न आएको पाइन्छ । यसबाट उक्त न.नं. १६, ३५ र ३६ को जग्गाहरु वादी दावी बमोजिम वादीहरुको घर वारी भित्रको रहेछ भन्ने देखिन्छ । प्रमाणको वादी यीनै छत्रबहादुर सिवाकोटी प्रतेवादी यीनै शिवलाल समेत भएको मिति २०१०।५।४ मा पृ.२ नं. दोलखा अदालतबाट र सोही इन्साफ सदर गरी अपील पहिलाबाट फैसला भएको मिसिल हेर्दा सो मुद्दामा अपील पहिला मार्फत भएको मिति २०१०।३।१०।५ को नक्साबाट न.नं. २०, १९ र ८ मा झगडा जनिएको छ । सो न.नं. को जग्गा प्रस्तुत मुद्दाको न.नं. क्रमशः १६, ३५ र ३६ को जग्गासंग भिडेको पाइन्छ । उक्त प्रमाणको मुद्दामा यो उजूर दोहरा पारी दर्ता गरेको देखिएकोले अ.बं. ११० नं. ले यो मुद्दा खारेज हुने ठहर्छ भनी पू. २ नं. दोलखा अदालतबाट र सोही इन्साफ सदर भई अपील पहिलाबाट २०११।४।२९ मा फैसला भई राखेको देखिन्छ । त्यसबाट प्रस्तुत मुद्दाका प्रतेवादी छत्रबहादुर सिवाकोटीको दावी कायम नभई मुद्दा खारेज भई वादी दावीको जग्गामा निज छत्रबहादुरले हारेको पाइन्छ । प्रस्तुत मुद्दामा प्रतेवादी शिवलालले छत्रबहादुरबाट बकसपत्र पाएको जग्गा उक्त प्रमाणको मुद्दाबाट निज प्रतेवादी छत्रबहादुरको हक कायम भएको देखिँदैन । सो बकसपत्रमा लेखिएका जग्गाको किल्ला नक्साको ४ किल्लासंग दुरुस्त मिल्न भिड्न आएको पनि पाइदैन । त्यसरी प्रतेवादी छत्रबहादुरले पू.२ नं. दोलखा अदालतको फैसला समेतबाट हारी निजको हक नभएको जग्गा प्रतेवादी शिवलाल सिवाकोटीले प्रतेवादी मध्येका छत्रबहादुर सिवाकोटीबाट मिति २०३७।१२।१० मा हालैदेखिको बकसपत्र लिखत पारीत गरी लिए दिएको देखिन आयो ।

१६.   त्यस्तो हक नपुग्ने व्यक्तिबाट लिए दिएको हालैको बकसपत्र लिखत कायम रहन सक्ने नदेखिँदा सो बकसपत्रको लिखत बदर हुने र उक्त न.नं. १६, ३५ र ३६ को जग्गा वादी दावीको ४ किल्ला भित्रको वादीहरुको हक भोगको घर वारी भित्रको जग्गामा प्रतिवादीहरुले खिचोला गरेको समेत ठहर्छ ।

१७.   उक्त न.नं. १६, ३५ र ३६ को जग्गामा वादी दावी नपुग्ने गरेको म.क्षे.अ. को इन्साफ सदर गरेको सर्वोच्च अदालत संयुक्तइजलासको इन्साफ सो हदसम्म नमिलेकोले केही उल्टी हुन्छ । अरु तपसील बमोजिम गर्नु ।

तपसील

माथि इन्साफ खण्डमा लेखिए बमोजिम बकसपत्र बदर हुने ठहरेकोले प्र.छत्रबहादुर सिवाकोटीले प्र.शिवलाल सिवाकोटीलाई २०३७।१२।१० मा दोलखा मालबाट पारीत गरिदिएको हालैको बकसपत्र बदर गरिदिनु भनी माल कार्यालयमा लेखी पठाउन दोलखा जल्ला अदालतमा लेखी पठाई दिनु .....................१, देहायका वादीहरुले फिराद गर्दा राखेको कोर्टफी र अरु दस्तुर समेत जम्मा रु. ३७०।प्र.छत्रबहादुर शिवलालबाट भरी पाउने भएको र निज प्रतेवादीहरुले म.क्षे.अ. मा अनुमतिद्वारा पुनरावेदन गर्दा म.क्षे.अ. का ०४१।९।३ का आदेश अनुसार का.जि.अ. मा धरौट रहेको भने उल्लेख भएको हुँदा सो धरौट रहेकोबाट भराई पाउँ भनी वादीहरुको दर्खास्त परे सो धरौट रहेकोबाट दस्तुर केही नलिई वादीहरुलाई बराबरका दरले भराई दिनु भनी दोलखा जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ. मा लगत दिनु ..........२ दोनबहादुर सार्की मरी मु.स. गर्ने अम्बर सार्की , नन्दलाल सार्की , सुमबहादुर सार्की , रुपा सार्केनी मरी मु.स. गर्ने मनमाया सर्केनी , गजे सार्की , लक्षीमा सार्की , खड्गबहादुर सार्की , कुलबहादुर सार्की , रंगलाल सार्की , भूपाल सार्की , दीलबहादुर सार्की , कृष्णबहादुर सार्की , पूर्णबहादुर सार्की

जनकपुर अं.अ. को ०४०।११।१८ का फैसलाले वादीहरुलाई प्रतेवादीहरुबाट भराउने गरेको कोर्टफी अरु दस्तूर समेत जम्मा रु. ३७०।धरौट रहेकोबाट भरी भराउ हुने भएकोले सो लगत काटी दिनु भनी दोलखा जि.अ. मा लेखी पठाउन का.जि.अ. मा लगत दिुन ..........३,

देहायका वादीहरुले म.क्षे.अ. का फैसला उपर अनुमति द्वारा पुनरावेदन गर्दा रु. ५४।र मुद्दा दोहर्‍याई ल्याउन रु. ३६।समेत जम्मा रु. ९०।प्रतेवादी छत्रबहादुर सिवाकोटी र शिवलाल सिवाकोटीबाट भराई पाउँ भनी वादीहरुको ऐनको म्यादभित्र दर्खास्त परे दस्तूर केही नलिई वादीहरुलाई बराबरका दरले भराई दिनु भनी का.जि.अ. मा लगत दिनु........४, पूर्णबहादुर सार्की , लक्षीमा सर्केनी , खड्गबहादुर सार्की , रंगलाल सार्की , दीलबहादुर सार्की , कुलबहादुर सार्की , भूपाल सार्की , कृष्णबहादुर सार्की , सुनबहादुर सार्की , रुपा सर्किनी मरी मु.स. गर्ने मनमाया सर्किनी , डोनबहादुर सार्की मरी मु.स. गर्ने अम्बर सार्की , नन्दलाल सार्की ,

म.क्षे.अ.का. ०४३।७।३ का फैसलाले प्र.शिवलाल समेतलाई कोर्टफी रु. ५४।भराउने गरेको सो कोर्टफी वादीहरुले यस अदालतमा अनुमतिद्वारा पुनरावेदन गर्दा देहायका वादीहरुले २०४४।९।७ को पत्रसाथ का.जि.अ.त. मा धरौट राखेको देखिँदा सो धरौट भरी भराउ गर्नु नपर्ने हुँदा उक्त धरौटी फिर्ता पाउँ भनी देहायका वादीहरुको दर्खास्त परे दस्तूर केही नलिई वादीहरुलाई फिर्ता दिनु भनी का.जि.अ. मा लगत दिनु ...............५ पूर्णबहादुर सार्की , गजे सार्की , लक्षीमा सार्की , खड्गबहादुर सार्की , रंगलाल सार्की , कुलबहादुर सार्की , डीलबहादुर सार्की , भुपाल सार्की , कृष्णबहादुर सार्की , सुनबहादुर सार्की , मनमाया सार्की , अम्बरबहादुर सार्की , नन्दलाल सार्की ,

उक्त म.क्षे.अ. का ०४३।७।३ को फैसलाले प्र.शिवलाल समेतलाई भराउने गरेको कोर्टफी रु. ५४।भरी भराउ गर्नु नपर्ने हुँदा सो लगत कट्टा गरिदिनु भनी का.जि.अ. मा लगत दिनु ..........६

माथि इन्साफ खण्डमा लेखिए बमोजिम खिचोला ठहरेको जग्गा चलन चलाई पाउँ भनी ऐनका म्याद भित्र वादीहरुको दर्खास्त परे कानुन बमोजिम लाग्ने दस्तुर लिई चलन चलाई दिनु भनी दोलखा जिल्ला अ. मा लेखी पठाई दिनु........७, मिसिल नियम बमोजिम गरी बुझाई दिनु..........८

 

उक्त रायम हामीहरु सहमत छौं ।

 

न्या.गजेन्द्रकेशरी बास्तोला,

न्या.ओमभक्त श्रेष्ठ

 

इतिसम्वत् २०४९ साल श्रावण १ गते रोज ५ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु