शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६२९३ - अंश नामसारी

भाग: ३८ साल: २०५३ महिना: फागुन अंक: ११

निर्णय नं.६२९३    ने.का.प.०५३ अङ्क ११

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी

माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय

सम्वत् २०४९ सालको दे.पु.नं............८५८,८५९

फैसला मितिः २०५३।२।१५।३

 

मुद्दाः अंश नामसारी ।

 

पुनरावेदक

वादीः जिल्ला नवलपरासी पाल्ही गा.वि.स. वडा नं. ५ वस्ने राम नरेशदास पटनावार समेत २ ।

विरुद्ध

प्रत्यर्थी

प्रतिवादीः जिल्ला नवलपरासी पाल्ही गा.वि.स. वडा नं. ५ वस्ने शिव मंगलदास पटनवार  समेत।

     

§  प्रस्तुत मुद्दामा समेत वादी प्रतिवादीको मानो छुटिृएको मिति फिराद परेको अघिल्लो दिनलार्ई कायम गरी तायदाती फांटवारी माग गरिएको देखिन्छ । सो कुरालार्ई प्रतिवादीहरुले मौकामा उजुर गरी बदर गराएको समेत देखिन नआएको अवस्थामा पुनरावेदन तहमा मात्र आई सो कुराको जिकिर लिएको समेत मनासिव देखिन नआउने र अगाडिको मुद्दावाट समेत यी वादी प्रतिवादीहरुका बिचमा मानो छुटिृएको मिति कायम भएको नभई उक्त मुद्दामा वादी र प्रतिवादीहरुको वीचमा मानो छुटिृएको मिति कायम भएकोलार्ई लिखत सवुदको अभावमा यी वादी प्रतिवादीहरुको समेत सोही मितिमा मानो छुटिृएको रहेछ भन्न मिल्ने अवस्था समेत नदेखिने

 

(प्र.नं. १३)

§  अंशियार नै साक्षी बसी राजिनामाको कैफियतमा माइती तर्फवाट पाएको रुपैयावाट खरिद गरेको व्यहोरा उल्लेख गरी लिएको सम्पत्ति दाइजो पेवाको होइन रहेछ भन्ने सकिने अवस्था नदेखिदा त्यस्तो सम्पति वण्डा हुनु पर्ने भनी  वादीको पुनरावेदन जिकिर मनासिव नदेखिने ।                

 (प्र.नं.१४)

§  प्रस्तुत फिराद परेको अघिल्लो दिनलाई मानो छुटिृएको मिति कायम भएवाट सो भन्दा अगाडि यी वादी प्रतिवादी एका संगोलकै अंशियार मान्नु पर्ने हुंदा त्यस्तो सगोलको जुनसुकै अंशियारका नाउमा रहेको जग्गा अन्यथा प्रमाणित हुन नआएसम्म सगोल कै वण्डा लाग्ने सम्पति मान्नु पर्ने ।             

(प्र.नं. १४)

§  पुनरावेदक प्रतिवादीहरु सत्यानन्द र रामवृन्दले त्यसरी सगोलमा रहेको अवस्थामा राजिनामावाट खरीद गरी लिएको जग्गा नीजि ज्ञानसीपवाट आर्जन गरी लिएको भन्नलार्ई त्यस्तो नीजि आर्जन श्रोतको कुनै लिखत प्रमाण प्रतिवादीले दिन गुजार्न सकेको मिसिलवाट देखिन आएन । यस्तो सवुद प्रमाणको अभावमा सगोलमा रहेको अवस्था राजिनामावाट खरीद गरी लिएको त्यस्तो अचल सम्पति नीजि आर्जनको भन्न ठहराउन मिल्ने अवस्था समेत देखिन नआउंदा सो जग्गावाट वण्डा लाग्न नपर्ने भन्ने समेत प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने नदेखिने ।                

§

(प्र.नं. १४)

पुनरावेदक तर्फवाटः

प्रत्यर्थी तर्फवाटः

अबलम्वित नजीरः

फैसला

      न्या. हरिश्चन्द्रप्रसाद उपाध्यायः पुनरावेदन अदालत वुटवलको मिति २०४९।५।२१ को फैसला उपर न्याय प्रशासन ऐन २०४८ को दफा ९(१) अनुसार पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छः

      २. मुल पुरुष गयादास पटनवारका ४ छोरामा जेठा विपक्षी शिवमंगल दास माहिला म वादी गोपीवनका वावु हर्षमान, साहिला म वादी रामनरेश दासको वावु रामचन्द्र दास र कान्छा म वादी प्रेम सागरको वावु जितई दास हुन, वाजे गयादास तथा हामी फिरादीका वावुको परलोक भै सकेको छ । विपक्षी मध्येका औधा पटनवारिन शिवमंगलको श्रीमती र अन्य बिपक्षी छोराहरु  हुन । हामी जम्मा ४ अंशियारा छौं । हामीहरु वीच अंशवण्डा भएको छैन । बिपक्षी शिव मंगलदासको छोरा पुरुषोतम दासले वावु र सौतेनी आमा माथि यसै अदालतमा दिएको अंश मुद्दामा हामी समेत पेटवोलीवाट वुझिएका र हामीहरुका हकमा पछि नालेश परेको वखत निर्णय हुने नै हुंदा भनी वादीले अंश पाउने ठहरी मिति २०४०।११।१६ मा फैसला भै वण्डा समेत छुटिृएको  छ । २०४४।४।१५ गते अब परिवार वढ्दै गएकोले रीतपुर्वकको वण्डापत्र गरौं भन्दा नमानेकोले बिपक्षीवाट फांटवारी लिई ४ भागको १ भागमा पुरुषोत्तम दासले अघि नै छुटाई लिई सकेकोले ४ भागको ३।१।४ भागवाट हामी वादीलार्ई वरावर अंश भाग दिलार्ई नामसारी समेत गरी पाउं भन्ने वादी दावी ।

      ३. पुरुषोत्तम दास संगको अंश मुद्दामा पेटवोलीवाट वादीहरु उपस्थित हुन आई मुद्दाको पैरवीमा रहेका र सोही मुद्दावाट ४ भाग लगाई १ भाग वादीहरुले पाई मागे वमोजिम वण्डा समेत छुटिृई वण्डा मुचुल्का खडा भै आ आफ्नो भाग वमोजिमको भोग गरी आएका छन् पुनः अंश पाउं भन्ने वादी दावी झुटृा हो भन्ने समेतको संयुक्त प्रतिउत्तर  जिकिर ।

      ४. वादी प्रतिवादीवाट अंशको फांटवारी पेश भै मिसिल सामेल रहेछ ।

      ५. वादी प्रतिवादी अंशियार भएको कुरामा विवाद नहुंदा ऋणको हकमा साहुको उजुरी परेका वखत कानून वमोजिम हुने नै हुंदा हाल वण्डा लाग्ने सम्पत्ति जम्मा अंशियारा शिवमंगल हर्षमान, रामचन्द्र र जितई तर्फ ४ भागमा हर्षमान रामचन्द्र र जितई तर्फको एक एक भाग अंशमा ०४०।११।१६ मा किनारा भएको अंश मुद्दामा प्र.शिवमंगलका छोरा पुरुषोत्तमले अंश पाउने फैसला भएको देखिदा र हर्षमान तर्फका छोरा वादी गोपीचन्द र विश्वनाथ देखिंदा सो तर्फ २ भाग गरी वादी गोपी चन्दको १ भाग, वादी रामनरेश तर्फ १ भाग, रामचन्द्र पटिृको र जितई तर्फ वादी प्रेम सागर दासले १ भाग अंश दावी वमोजिम प्रतिवादीवाट दिलार्ई भराई पाउने ठहर्छ भन्ने समेत नवलपरासी जिल्ला अदालतको ०४६।२।१७ को फैसला ।

      ६. पेटवोलीवाट देखिएका गोपिचन्द समेतका आमा मेदीदास पटनवारिन समेतलार्ई अ.वं. १३९  नं. वमोजिम वुझ्नु पर्नेमा सो केही नवुझी अंशवण्डाको १८ नं. समेतको बिपरीत वादी दावी वमोजिम अंश दिलाउने गरी गरेको शुरुको इन्साफमा चित्त वुझेन सो इन्साफ उल्टाई पाउं भन्ने पुनरावेदन पत्र ।

      ७. वादी प्रतिवादीवाट पेश भएको तायदातीमा दाईजो पेवा र निजी आर्जनको भनिएको सम्पत्ति वण्डा नहुने भनी भनिएको देखिदैन तापनि दाइजो पेवाको प्रमाण लिखतहरुको कैफियत महलमा दाइजो पेवा भनी उल्लेख भएको देखिन्छ र साथै यही वादी मध्येकै गोपी चन्द उक्त लिखतमा साक्षी समेत बसेको  पाइयो । यस्तो स्थितिमा अंशवण्डाको १८ नं. वमोजिम वण्डा गरेको मिलेन र निजी आर्जनको सम्वन्धमा निजी आर्जनको श्रोत पुनरावेदक प्रतिवादीवाट खुल्न आएको देखिदैन । यस्तो सवुद प्रमाणको अभावमा निजी आर्जन ठहराउन नमिल्ने हुंदा त्यस तर्फको शुरुको इन्साफ मिलेकै देखिन्छ । तसर्थ प्रतिवादी पुनरावेदक औधा पटवारिनले खरीद गरी लिएको कि.नं. ९ र ३२ का जग्गा दाइजो पेवाको देखिंदा वण्डा नहुने  ठहर्छ । सो हदसम्म शुरु नवलपरासी जिल्ला अदालतको इन्साफ केही उल्टी हुन्छ भन्ने समेतको पुनरावेदन अदालत बुटवलको मिति २०४९।५।२१ को फैसला ।

      ८. तायदाती दिए मध्येको कि.नं. ९ र ३२ को जग्गा दाइजो पेवाको भए कहिले कसरी पाइएको हो सो प्रमाण पेश हुन सकेको छैन । अंशियारको मंजुरी लिखत बिना दाइजो कायम हुन सक्दैन । दाइजो पेवाको जग्गा थियो भन्ने प्रतिवादीले तायदातीमा पेश गर्न नपर्ने  हो । पुनरावेदन अदालतको फैसला कि. नं ९ र ३२ को जग्गामा दाइजो पेवा ठहराई वण्डा नलाग्ने गरेको हदसम्म उल्टी गरी शुरु अदालतले सो २ कित्तामा समेत तायदाती फांटवारी अनुसार वण्डा गर्ने गरेको फैसला सदर गरी पाउं भन्ने समेत वादी राम नरेशदास पटनवार र प्रेम सागर दास पटनवारको यस अदालतमा परेको संयुक्त  पुनरावेदन ।

      ९. हामी पुनरावेदक सत्यनन्द पटनवार र राम वृक्षदास पटनवारको निजी आर्जनवाट गरिद गरि लिएको जग्गा सम्पत्तिको लिखत प्रमाण रहंदा रहंदै त्यस तर्फ दृष्टि दिएको छैन । विपक्ष र म शिव मंगल वीच पैतृक जग्गा जमीन मात्र वण्डा गर्न वांकी रहेको चल सम्पत्ति लिई अलग अलग वसी आएको व्यवहार प्रमाणवाट प्रमाणित छ । तायदातीमा उल्लेखित सम्पत्तिवाट मात्रै विपक्षहरुले अंश पाउने र पछि  कमाएको सम्पत्तिवाट अंश पाउनु पर्ने होइन । तायदातीमा सत्यानन्द दासको र रामवृन्द दासको निजी श्रमवाट खरीद गरी लिएको जग्गाहरु उल्लेखित छैन । एक पटक अंश पाउने सम्पत्तिको तायदात भै वण्डा लाग्ने सम्पत्ति निश्चित भैसकेपछि पुनः अंश मुद्दा दिई गरिएको फैसला त्रुटिपूर्ण छ । पुनरावेदक मध्ये म सत्यानन्द दासले मिति २०३८।७।४ र २०४०।१०।१० समेत मिति मितिमा खरिद गरि लिएको र म राम वृन्दले ०३८।११।५ मा खरीद गरी लिएको ०३८ सालको दे.नं. ५११ को मुद्दामा फांटवारीमा नपरेको सम्पत्ति समेत वण्डा गर्ने गरी भएको पुनरावेदन अदालत, बुटबलको फैसला सो हदसम्म बदर गरी पाउं भन्ने समेतको सत्यानन्द दास पटनवार समेतको यस अदालतमा परेको संयुक्त पुनरावेदन ।

      १०. यसमा प्रमाणमा रहेको वादी पुरुषोत्तमदास पटनवार विरुद्ध यिनै शिव मंगल दास समेत जवान ३ भएको अंश मुद्दामा २०४१।११।१६ को फैसला वमोजिम अदालतवाट वण्डा छुट्याउदा यस मुद्दाका वादी प्रतिवादीहरु समेतको भाग वण्डा निक्र्यौल भएको मिति २०४१।१२।४ को वण्डा मुचुल्कावाट देखिन आएको र सो मा विवाद नभएकोमा हाल यस मुद्दामा सो वण्डा मुचुल्कालाई ध्यान नदिई सो पछिको सम्पत्ति सम्म वण्डा लाग्ने ठहराएको फैसलामा फरक पर्ने देखिंदा पुनरावेदन नगर्ने वादी गोपी चन्द दासलार्ई अ.वं. २०२ नं. बमोजिम झिकाई यो आदेशको जानकारी पुनरावेदन गर्ने वादीलार्ई समेत दिई नियमानुसार पेश गर्नु भन्ने यस अदालत संयुक्त इजलासको मिति २०५२।४।८ को आदेश ।

      ११. यसमा तायदाती फांटवारीमा उल्लेखित ऋणका हकमा साहुको उजुरी परेका वखत ठहरे बमोजिम हुने गरी अन्य सम्पत्तिमा दावी वमोजिम वादीलाई प्रतिवादीवाट दिलार्ई भराई दिने ठहर्याई गरेको शुरुको फैसला केही उल्टी गरी गरेको पुनरावेदन अदालत वुटवलको फैसला उपर वादी प्रतिवादी दुवै पक्षको पुनरावेदन परी नियम वमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन सहितको सम्पुर्ण मिसिल अध्ययन गरी पुनरावेदन अदालत वुटवलको फैसला मिले नमिलेको के रहेछ सो को निर्णय दिनु परेको छ ।

      १२. यसमा प्रतिवादी मध्येकी औंधा पटनवारीनका नाउंमा राजिनामावाट खरीद भएको जग्गा दाइजो पेवाको हो भन्ने तथ्य प्रमाण नहुंदा दाइजो पेवा ठहर्‍यार्ई वण्डा नलाग्ने गरेको चित्त वुझेन भन्ने वादी पक्षको मुख्य पुनरावेदन जिकिर रहेको छ भने मानो छुटिृएको मिति निश्चित नगरी भएको फैसला त्रुटिपूर्ण छ । वादी पुरुषोत्तम दास भएका अंश मुद्दामा पेश भएको तायदाती फांटवारीको सम्पत्तिवाट मात्रै विपक्षी वादी पक्षले अंश पाउनु पर्ने हो, प्रतिवादी मध्येका सत्यानन्द दास र रामवृन्द दासको निजी आयवाट खरीद गरी लिएको जग्गाहरु सो मुद्दाको फांटवारीमा उल्लेख गरेको छैन, त्यस्तो निजी आर्जनको सम्पत्तिबाट विपक्षी वादीहरुले अंश पाउने कुनै आधार नभएको र एकपटक अंश पाउने सम्पत्तिको तायदाती लिई वण्डा लाग्ने सम्पत्ति निश्चित भैसकेपछि पुनः अंश मुद्दा दिई अंशवण्डाको १८ नं. ले नीजि ठहरिने सम्पत्ति समेतलाई वण्डा लगाउने गरेको चित्त बुझेन भन्ने समेत प्रतिवादीको निवेदन जिकिर भएको प्रस्तुत मुद्दामा निर्णयतर्फ बिचार गर्दा प्रमाणमा रहेको यिनै प्रतिवादी मध्येका शिवमंगल दासको छोरा पुरुषोत्तम दासले दिएको शुरु दे.नं. ५११।२५५ को अंश मुद्दामा पेट व्यहोरावाट यी वादी प्रतिवादी समेतलार्ई शुरुवाट अ.वं. १३९ नं. वमोजिम वुझी निजहरुवाट समेत तायदाती फांटवारी पेश भएको देखिएता पनि सो मुद्दामा पेटवोलीवाट वुझिएका प्रतिवादीहरुका हकमा अंश पाउने कुरामा दावी गरी अंश लिन पाउने भएकोले यस मुद्दावाट केही गर्न नपरी दाखेल भएको तायदातीवाट वादीले दावी वमोजिम अंश पाउने ठहर्याएको मिति ०४१।११।१६ मा भएको शुरु जिल्ला अदालतको फैसला अन्तिम भै सो वमोजिम वादीले वण्डा छुट्याई लिई पाई सकेको देखिन्छ । उक्त मुद्दामा प्रतिवादी मध्येका शिव मंगल पटनवार तर्फका छोरा पुरुषोत्तम दासले दिएको अंश मुद्दावाट वादीले दावी वमोजिम आफ्नो हक जति अंश भाग पाएकोमा यी वादी प्रतिवादीहरुको समेत अंश भाग छुटृी लिई पाई सकेको भन्न मिल्ने अवस्था देखिदैन। उक्त मुद्दाका फैसला वमोजिम वण्डा छुट्याउने तर्फ कारवाही भएको मिसिलमा रहेको ०४१।१२।४ को वण्डा मुचुल्कावाट यस मुद्दाका वादी प्रतिवादी समेतको भाग वण्डा निक्र्यौल भएको हो की भन्नलार्ई सो अंश मुद्दाको फैसलामा नै पेटवोलीवाट वुझिएका प्रतिवादीहरुको हकमा अंश पाउने कुरामा दावी गरी लिन पाउने भएकाले यस मुद्दावाट केही गर्नु नपर्ने उल्लेख भएको देखिनुका साथै यी वादी प्रतिवादीले उक्त मुद्दामा दाबी नै नलिएको कुरामा निजहरुको अंश भाग निक्र्यौल भै सकेको भन्न मिल्ने देखिदैन ।

      १३. अव मानो छुटिृएको सम्बन्धमा प्रस्तुत मुद्दामा समेत वादी प्रतिवादीको मानो छुटिृएको मिति फिराद परेको अघिल्लो दिनलार्ई कायम गरी तायदाती फांटवारी माग गएिको देखिन्छ । सो कुरालार्ई प्रतिवादीहरुले मौकामा उजुर गरी बदर गराएको समेत देखिन नआएको अवस्थामा पुनरावेदन तहमा मात्र आई सो कुराको जिकिर लिएको समेत मनासिव देखिन नआउने र अगाडिको मुद्दावाट समेत यी वादी प्रतिवादीहरुका बिचमा मानो छुटिृएको मिति कायम भएको नभई उक्त मुद्दाका वादी र प्रतिवादीहरुको विचमा मानो छुटिृएको मिति कायम भएकोलार्ई लिखत सवुदको अभावमा यी वादी प्रतिवादीहरुको समेत सोही मितिमा मानो छुटिृएको रहेछ भन्न मिल्ने अवस्था समेत देखिंदैन ।

      १४. अव जहांसम्म प्रतिवादी मध्येका औंधाको नाउंका राजिनामावाट आएको कि.नं. ९ र ३२ को जग्गा वण्डा लाग्नु पर्ने भन्ने वादीको पुनरावेदन जिकिर भए सम्वन्धमा मिसिल सामेल रहेको राजिनामा लिखतको कैफियत महलमा माइतीवाट पाएको रुपैयाले किनेको भनि उल्लेख भै वादी  मध्येकै  गोपिचन्द उक्त लिखतहरुमा साक्षी बसेको समेत देखिन्छ । यसरी अंशियार नै साक्षी बसी राजिनामाको कैफियतमा माइती तर्फवाट पाएको रुपैयावाट खरिद गरेको व्यहोरा उल्लेख गरी लिएको सम्पत्ति दाइजो पेवाको होइन रहेछ भन्न सकिने अवस्था नदेखिंदा त्यस्तो सम्पत्ति वण्डा हुनु पर्ने भनी वादीको पुनरावेदन जिकीर मनासिव देखिएन देखिएन । अव प्रतिवादी मध्येका सत्यानन्द र रामवृन्द दासको राजिनामाको सम्पत्ति निजी आर्जनको भएकोले सो वण्डा गर्ने गरेको इन्साफमा चित्त बुझ्ने भन्ने प्रतिवादीको पुनरावेदन जिकिर भए सम्वन्धमा प्रस्तुत फिराद परेको अघिल्लो दिनलाई मानो छुटिृएको मिति कायम भएवाट सो भन्दा अगाडि यी वादी प्रतिवादी एकासंगोलकै अंशियार मान्नु पर्ने हुंदा त्यस्तो संगोलको जुनसुकै अंशियारका नाउंमा रहेको जग्गा अन्यथा प्रमाणित हुन नआएसम्म संगोल कै वण्डा लाग्ने सम्पत्ति मान्नु पर्ने हुन्छ । यी पुनरावेदक प्रतिवादीहरु सत्यानन्द र रामवृन्दले त्यसरी संगोलमा रहेको अवस्थामा राजिनामावाट खरीद गरी लिएको जग्गा नीजि ज्ञानशीपवाट आर्जन गरी लिएको भन्नलाई त्यस्तो नीजि आर्जन श्रोतको कुनै लिखत प्रमाण प्रतिवादीले दिन गुजार्न सकेको मिसिलवाट देखिन  आएन । यस्तो सवुद प्रमाणको अभावमा संगोलमा रहेको अवस्था राजिनामावाट खरीद गरी लिएको त्यस्तो अचल सम्पत्ति नीजि आर्जनको भन्न ठहराउन मिल्ने अवस्था समेत देखिन नआउंदा सो जग्गावाट वण्डा लाग्न नपर्ने भन्ने समेत प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने देखिएन ।  तसर्थ औधा पटनवारीले खरीद गरी लिएको कि.नं. ९ र ३२ को जग्गा वण्डा गर्ने गरेको हदसम्म शुरुको फैसला केही उल्टी गरी भएको पुनरावेदन अदालत वुटवलको फैसला मिलेकै देखिंदा मनासिव  ठहर्छ । वादी प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।

उक्त रायमा म सहमत छु ।

 

न्या.कृष्णजंग रायमाझी

 

इति सम्वत २०५३ साल जेष्ठ १५ गते रोज ३ शुभम् ..

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु