शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८२७९ - अंश अपुताली

भाग: ५१ साल: २०६६ महिना: चैत्र अंक: १२

निर्णय नं. ८२७९         २०६६ चैत अङ्क १२

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ

माननीय न्यायाधीश श्री मोहनप्रकाश सिटौला

संवत् २०६२ सालको दे.पु.नं .. ८७७१

फैसला मितिः २०६६।६।२६।२

 

मुद्दाः अंश अपुताली ।

 

      पुनरावेदक प्रतिवादीः जिल्ला सप्तरी गा.वि.स. अर्नाहा वडा नं. ४ बस्ने कुलानन्द चौधरी समेत

विरुद्ध

      प्रत्यर्थी वादीः ऐ.गा.वि.स.वडा नं. ४ बस्ने लगनीदेवी थरुनी समेत

 

शुरु फैसला गर्नेः

मा.न्या. श्री लीलाप्रसाद गौतम

पुनरावेदन फैसला गर्नेः

मा.न्या. श्री शारदाप्रसाद पण्डित

मा.न्या. श्री लक्ष्मणमणि रिसाल

 

§  विवाहिता छोरीले बाबुको अंश पाउने व्यवस्था तत्कालीन अंशबण्डाको महलले गरेको नदेखिँदा अपुतालीको महलले मर्नेको नजिकको अरु कोही नभए विवाहित छोरीले अपुताली पाउने व्यवस्था गरेको भए पनि आफ्नो पिताको नामको यो सम्पत्ति भएकोले सो सम्पत्तिमा अपुताली हक कायम गरिपाऊँ भनी दावी लिन नसकेको र स्व. पिताको नाममा कुनै पुर्खौली अचल सम्पत्ति नै नभएको अबस्थामा हाल अंशमा दावी गर्न नमिल्ने ।

§  अपुतालीको २० नं. ले निर्दिष्ट गरेको हदम्याद भित्र फिराद परेको नदेखिनुका साथै अंशबण्डाको महलको २०५८ सालमा भएको एघारौं संशोधनपछि ऐ. को ५ नं. ले अंश नहुँदै लोग्ने वा बाबु मरेमा निजले पाउने अंश स्वास्नी वा छोराछोरीले पाउने व्यवस्था भएबाट २०५८ सालअघि छोरीले अंश पाउने व्यवस्था रहेको समेत देखिंन नआउदा पछि भएको संशोधनले अगाडिको व्यबहारलाई नसमेट्ने।

(प्रकरण नं.३)

 

पुनरावेदक प्रतिवादीको तर्फबाट उपस्थित विद्वान अधिवक्ता सुरेन्द्रकुमार खड्का

प्रत्यर्थी वादी तर्फबाटः

अवलम्वित नजीरः

सम्बद्ध कानूनः

      अपुतालीको २ र २० नं.

 

फैसला

      न्या.मोहनप्रकाश सिटौलाः पुनरावेदन अदालत, राजविराजको मिति २०५८।२।७।१ को फैसलाउपर प्रतिवादीको तर्फबाट मुद्दा दोहोर्‍याई हेरिपाऊँ भनी परेको निवेदनमा यस अदालतबाट न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा १ को खण्ड(क) बमोजिम मुद्दा दोहोर्‍याउने निस्सा प्रदान भएपश्चात् पुनरावेनको रोहमा पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं निर्णय यस  प्रकारको छ:-

      मुल पुर्खा गेनाइको ३ छोरामा जेठा टिराहु, माहिला बहादुर , कान्छा बहुरी भएको, निज तीनै जना स्वर्गवास भै सकेको पत्नी पनि स्वर्गवास भै सकेका छन् । टिराहुको एक छोरा स्व. सुखैर, सुखैरको पत्नी स्वर्गिय भएको र २ छोरामा जेठा प्रतिवादी कुलानन्द, कान्छा प्रतिवादी सुनर भएको । बहादुर आफू स्वर्गे भएको र निजको पत्नी पनि स्वर्गवास भएको, निजको छोरा नभै हामी फिरादी २ जना छोरी मात्र भएकी तथा कान्छा बहुरी स्वर्गवास भै निजको स्वास्नी छोरा छोरी कोही पनि छैन । बुबा मिति २०४९।११।९ गते स्वर्गे हुनुभयो । बुबा ठूलोबुबा काकाहरू स्वर्गवास भएपनि संगोलको आयस्ता हामी अंशी अपुताली खानेहरूसमेतले भागशान्तिले लिने खाने गरी आएकोमा पछि प्रतिवादीहरूले हाम्रो बुबाको अंश भागमा पर्ने आयस्ताहरू पनि दखल गर्न लागेकोले हाम्रो बाबुको पर्ने आधी अंश भाग छुट्याई दिन भन्दा वास्ता नगरेकोले प्रतिवादीहरूबाट तायदाती फाँटवारी लिई जम्मा सम्पत्तिलाई २ भाग गरी सोमध्ये हाम्रो बुबाले पाउने १ भाग छुट्याई हामीहरूको नाउँमा दर्ता समेत गरिपाऊँ भन्ने वादीको फिराद दावी ।

      विपक्षीले उल्लेख गरेको प्रकरण १ को व्यहोरा साँचो हो । तर सोही दफामा देखाएको बुबाको मृत्यु २०४९ साल असत्य हो । वादी बालक अवस्थामा नै हुँदा निजको आमा बुबाको मृत्यु भएको कुरा साँचो हो । निज बालककालमै टुहुरो भएको हुनाले हाम्रो बाबु आमाले नै स्याहार सम्भार गरी विवाह गरिदिनु भै हाम्रो बाबु आमा समेत १५।१६ वर्ष अगाडि नै परलोक हुनु भयो । निजहरूको सानै उमेरमा विवाह भई आआफ्नो घर लागेका छन् । बाबु बाजे पिता पुर्खाहरू धेरै अघि नै घरसारमा भिन्न भएका छन् । कुनै पनि पुर्खौली सम्पत्ति नभएको हुनाले त्यस्तो कानूनी अंशबण्डा भएको थिएन । निजहरूको बुबाको हक अंश अपुताली लिए खाएको छैन, दिनुपर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादीहरूको प्रतिउत्तर जिकीर ।

      वादीहरू स्व. बहादुरको छोरी भएका र निज बहादुरका छोरा नभएकोमा विवाद रहेन । वादीका पिताको मृत्यु मिति २०४९।११।९ मा भएको तथ्य मृत्युदर्ताको पत्रले पुष्टि गरेबाट पहिल्यै मृत्यु भैसकेको भन्ने प्रतिवादी जिकीर मिथ्या प्रमाणित भयो । तसर्थ यी वादी स्व. बहादुरको अपुताली खाने हकवाला छोरी भएको तथ्य पुष्टि भएको हुँदा दाखेल भएको तायदातीबाट २ खण्डको १ खण्ड अर्थात स्व. बहादुरको अंश हकका अचल सम्पत्तिमा वादीद्धयको अपुताली हक कायम गरी निज वादीद्धयका नाममा संयुक्त दर्ता गरिदिने ठहर्छ भन्ने समेत सप्तरी जिल्ला अदालतको मिति २०५६।६।९ को फैसला ।

      वादीका साक्षीले फिरादअनुसार बकपत्र गरेका छैनन् । बहादुरको छोरा नभएपनि धार्मिक रीतिरिवाजअनुसार हामीले सदगत गरेको हुँदा हामी कानूनी छोरा हौ । मिति २०४९।११।९ को मृत्यु दर्ता प्रमाण पत्र जालसाज भनी यसै अदालतमा मुद्दा दर्ता गरेको छु । तसर्थ शुरु फैसला बदर गरि प्रतिउत्तर जिकीरअनुसार गरिपाऊँ भन्ने प्रतिवादीको पुनरावेदन पत्र ।

      वादीले फिराद साथ बहादुर चौधरीको मृत्यु दर्ता प्रमाण पत्र पेश नगरेका र प्रमाण पनि नलगाएको अवस्थामा कारवाही चल्दै जाँदा मिति २०४९।१२।१३ को मृत्यु दर्ता प्रमाण पत्र पेश गरेतापनि रेकर्ड हेर्दा २०४९ साल बैशाख देखि २०४९ चैत्र मसान्तसम्म बहादुर चौधरी थारूको मृत्यु दर्ता नभएको भन्ने समेत व्यहोराको सम्बन्धित अर्नाहा गा.वि.स.बाट मिति २०५४।२।२९ को पत्र प्राप्त भएको सन्दर्भमा जिल्ला अदालतको फैसला फरक पर्ने देखिंएकोले अ.बं २०२ नं. अनुसार प्रत्यर्थी झिकाउनु भन्ने पुनरावेदन अदालतको आदेश ।

      वादीहरू बहादुर चौधरीको हक खाने छोरीहरू भएको देखिंदा निजको अंश हकको अचल सम्पत्तिमा वादीहरूको अपुताली हक कायम हुने देखिन्छ । छोरीले बाबुको अंश समेतको अपुतालिमा दावी गरेको अवस्था देखिंदा शुरु सप्तरी जिल्ला अदालतले २ खण्डको १ खण्ड स्व. बहादुर चौधरी थारूको अंश हकको अचल सम्पत्तिमा वादीहरूको नाममा संयुक्त दर्ता गरि दिने ठहर्‍याई मिति २०५६।६।९।१ मा गरेको फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत राजविराजको मिति २०५८।२।७।१ को फैसला ।

       विवाहिता छोरीले अंश पाउने व्यवस्था अंशबण्डाको महलले नगरेको, अंशलाई अपुतालीको माध्यमबाट मिति २०४९।११।९ को बहादुर चौधरी थारूले मृत्यु दर्ता प्रमाणपत्रको आधार लिई वादीहरूको अंश अपुतालीको फिराद परेपनि सो कागज जालसाज ठहरिने गरि मिति २०५७।५।२५ मा पुनरावेदन अदालत राजविराजबाट फैसला भएको सो प्रमाणलाई उपेक्षा गरी अंश अपुताली पाउने गरी पुनरावेदन अदालतबाट भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादीको पुनरावेदन जिकीर ।

      यसमा यसै लगाउको फौ.पु.नं. २९०२ को जालसाजी मुद्दामा प्रत्यर्थी झिकाउने आदेश भएको र सो जालसाजी मुद्दमा जालसाजी ठहर भएको मृत्यु दर्ताको प्रमाण पत्रलाई आधार मानी अंश अपुताली दिलाउने ठहर गरेको शुरु सप्तरी जिल्ला अदालतको र पुनरावेदन अदालतको फैसलामा अन्तरविरोध रही प्रमाण ऐन, २०३१ को दफा ५४ को त्रुटि विद्यमान हुँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) बमोजिम मुद्दा दोहोर्‍या उने निस्सा प्रदान गरिएको छ । शुरु र पुनरावेदन अदालतबाट सम्बन्धित मिसिल मगाई प्रत्यर्थी झिकाई नियमानुसार पेश गर्नु भन्ने यस अदालतको मिति २०६२।९।२४।१ को आदेश ।

      नियमबमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको शुरु मिसिल अध्ययन गरी पुनरावेदक प्रतिवादीको तर्फबाट उपस्थित विद्वान अधिवक्ता सुरेन्द्रकुमार खड्काले तत्कालीन अंशबण्डाको ५ नं. ले विवाहित छोरीले अंश पाउने व्यवस्था नगरेको, वादीका पिता स्व. बहादुर चौधरीको नाममा कुनै अचल सम्पत्ति रहेको नदेखिंएको, वादीले पेश गरेको स्वं. बहादुर चौधरीको मिति २०४९।११।९ मा मृत्यु भएको भन्ने मृत्यु दर्ताको प्रमाण पत्र जालसाज हुने ठहरी फैसला भएकोले अपुतालीको २० नं. ले निर्दिष्ट ३ वर्षको हदम्याद नाघी परेको फिराद खारेज गर्नुपर्नेमा वादी दावीबमोजिम अंश अपुताली पाउने ठहर्‍याएको शुरु फैसला सदर हुने ठहर्‍याएको पुनरावेदन अदालत राजविराजको फैलला त्रुटिपूर्ण हुँदा उल्टी हुनु पर्दछ भनी गर्नु भएको बहस समेत सुनियो ।

      उपरोक्तानुसारको बहस सुनी निर्णयतर्फ विचार गर्दा पुनरावेदन अदालत राजविराजको  फैसला मिलेको छ, छैन ? प्रतिवादीको पुनरावेदन जिकीर पुग्ने हो वा होइन ? सो सम्बन्धमा निर्णय दिनुपर्ने देखिंन आयो ।

      २.    यसमा बहादुर चौधरीका छोराहरू नभई हक खाने हामी छोरीहरू मात्र भएकोमा पिताको मिति २०४९।११।९ मा मृत्यु भएकोले हाम्रा पिताले पाउने अंश भागको जग्गा २ खण्डको १ खण्ड अंश अपुतालीस्वरुप प्रतिवादीहरूबाट छुट्टयाई संयुक्त दर्ता गरिपाऊँ भन्ने वादीको दावी र हाम्रा पितापुर्खा अघि  नै छुट्टि भिन्न भएको वादीहरूको विवाह भइसकेको, वादीको पिताको नाममा कुनै पुर्खौली सम्पत्ति नभएकोले हामीहरूले अंश अपुताली दिनुपर्ने होइन भन्ने प्रतिउत्तर जिकीर भएको प्रस्तुत मुद्दामा वादी दावीबमोजिम अंश अपुताली पाउने ठहर्‍याएको शुरु फैसला सदर हुने ठहर्‍याएको पुनरावेदन अदालतको फैसला दोहोर्‍याई हेरिपाऊँ भनी प्रतिवादीको तर्फबाट परेको निवेदनमा यस अदालतबाट दोहोर्‍याउने निस्सा प्रदान भएपछि प्रस्तुत मुद्दा पुनरावेदनको रोहमा निर्णयार्थ पेश हुन आएको रहेछ ।

      ३.    वादीले शुरु फिरादमा आफ्नो बाबु बहादुर चौधरी थारूको मिति २०४९।११।९ मा मृत्यु भएको र निजको छोरा नभएको पत्नी पनि स्वर्गबास भएकोले हामी २ जना छोरी मात्र हुँदा अपुतालीको २ नं. बमोजिम ऐ. को २० नं. को हदम्याद भित्र फिराद गर्न आएका छौ । अंशबण्डाको २०, २१, २२, २३ नं. बमोजिम जम्मा सम्पत्तिलाई २ भाग गरी पिताले पाउने १ भाग छुट्टयाई दर्ता गरिपाऊँ भनी मिति २०५२।५।२८ मा फिराद पत्र दिएको पाइन्छ । तत्कालीन अंशबण्डाको ५ नं. मा अंश नहुँदै लोग्ने वा बाबु मरेमा निजले पाउने अंश स्वास्नी सन्तानले पाउने व्यवस्था गरेको देखिन्छ। वादीहरू दुवैजना विवाहिता रहेको भन्ने फिरादबाट देखिन्छ । विवाहिता छोरीले बाबुको अंश पाउने व्यवस्था तत्कालीन अंशबण्डाको महलले गरेको देखिंएन । अपुतालीको महलले मर्नेको नजिकको अरु कोही नभए विवाहित छोरीले अपुताली पाउने व्यवस्था गरेको भएपनि वादीले आफ्नो पिताको नामको यो सम्पत्ति भएकोले सो सम्पत्तिमा अपुताली हक कायम गरिपाऊँ भनी दावी लिन नसकेको र प्रतित्तरमा वादीको स्व. पिताको नाममा कुनै पूर्खौली अचल सम्पत्ति नभएको भन्ने भनाइ रहेको छ । सो भनाईको मिसिलसंलग्न वादी प्रतिवादीबाट पेश भएको तायदाती फाँटवारी र शुरु फैसलाले बण्डा लाग्ने भनी फैसलाको तपसील खण्डमा बौहरी चौधरीको नाममा मात्र सम्पत्ति रहेको विवरण देखिंएबाट बहादुर चौधरीको नाममा सम्पत्ति नरहेको भन्ने तथ्यको पुष्टि भएको पाइन्छ । अर्को तर्फ अपुतालीको २० नं. मा अपुताली परेको ३ वर्ष भित्र नालिश नदिए लाग्न सक्दैन भन्ने कानूनी व्यवस्था भएको पाइन्छ । वादीले पिता मिति २०४९।११।९ मा परलोक भएकोले निजले पाउने अंश भागमा अपुतालीको २० नं. बमोजिम अंश अपुताली स्वरुप पाऊँ भनी दावी गरेकोमा वादीले पेश गरेको मिति २०४९।११।९ को मृत्यु दर्ताको प्रमाण पत्रलाई जालसाज घोषित गरिपाऊँ भनी यसै मुद्दाको प्रतिवादी कुलानन्द चौधरी समेत वादी भई यिनै वादी लगनी देवी समेत उपर संवत् २०५६ सालमा दायर गरेको फौ.दा.नं. १४ को जालसाज मुद्दामा मिति २०४९।११।९ को मृत्यु दर्ताको प्रमाणपत्र जालसाज हुने ठहरी पुनरावेदन अदालत राजविराजबाट मिति २०५७।५।२५।१ मा भएको फैसला सदर हुने ठहरी आजै यसै इजलासबाट फौ.पु.नं. २९०२ को जालसाजी मुद्दामा फैसला भएको छ । यसबाट वादीका पिता स्व. बहादुर चौधरीको मृत्यु मिति २०४९।११।९ मा भएको व्यहोरा नै जालसाजी देखिंन आएपछि अपुतालीको २० नं. ले निर्दिष्ट हदम्याद भित्र वादीको फिराद परेको देखिंन आएन । साथै अंशबण्डाको महलको २०५८ सालमा भएको एघारौं संशोधन पछि ऐ. को ५ नं. ले अंश नहुँदै लोग्ने वा बाबु मरेमा निजले पाउने अंश स्वास्नी वा छोराछोरीले पाउने व्यवस्था भएबाट २०५८ साल अघि छोरीले अंश पाउने व्यवस्था रहेको समेत देखिंन आएन ।

      ४.    तसर्थ माथि उल्लिखित आधार र कारणबाट बाबुको पिताको नाममा कुनै सम्पत्ति नरहेको तथा अंशबण्डाको महलमा २०५८ सालमा भएको संशोधन पूर्व छोरीले अंश पाउने कानूनी व्यवस्थाको अभाव देखिंएबाट वादीले प्रतिवादीबाट अंश छुट्टाई लिन पाउने ठहर्‍याएको शुरु फैसला सदर गरेको पुनरावेदन अदालत राजविराजको मिति २०५८।२।७।१ मा भएको फैसला मिलेको नदेखिंदा उल्टी भई वादी दावी पुग्न नसक्ने ठहर्छ । अरुमा तपसीलबमोजिम गर्नु ।

 

तपसील

माथि इन्साफ खण्डमा लेखिएबमोजिम शुरु फैसला सदर गरेको पुनरावेदन फैसला उल्टी हुने ठहरी फैसला भएकोले शुरु फैसलाको तपसील खण्डको देहाय १ मा बण्डा छुट्टाई दिने सम्बन्धमा राखेको लगत र देहाय २ मा कोर्ट फि भराई दिने सम्बन्धमा राखेको लगत तथा पुनरावेदन फैसलाको तपसील खण्डको देहाय १ नं.  मा कोर्टफी फिर्ता पाउने सम्बन्धमा राखेको लगत कायम नरहने हुँदा उक्त लगत कट्टा गरिदिनु भनी शुरु जिल्ला अदालतमा लेखी पठाई दिनू ......१

पुनरावेदक प्रतिवादीले पुनरावेदन दायर गर्दा मिति २०५६।७।२५ मा र.नं. १२१८ मा पुनरावेदन अदालतमा राखेको शुरु कोर्टफीबापत रु १०३५। निज प्रतिवादीले फिर्ता पाउने र निजले पुनरावेदन गर्दा राखेको शुरु कोर्टफी को १५ प्रतिशतले हुने रु.१५५।वादीबाट भराई लिन पाउने हुँदा उक्त रकम भराई पाऊँ भनी म्याद भित्र दरखास्त दिए भराई दिनु भनी शुरु जिल्ला अदालतमा लेखी पठाई दिनू ....२

दायरीको लगत कट्टा गरि मिसिल नियमबमोजिम अभिलेख शाखामा बुझाई दिनू ..३

 

उक्त रायमा म सहमत छु ।       

 

न्या. रामप्रसाद श्रेष्ठ

 

इति संवत् २०६६ साल असोज २६ गते रोज २ शुभम्

 

 

इजलास अधिकृतः कमलराज विष्ट

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु