शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८२८१ - मानाचामल भराई पाऊँ

भाग: ५१ साल: २०६६ महिना: चैत्र अंक: १२

निर्णय नं. ८२८१     २०६६ चैत अङ्क १२

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री खिलराज रेग्मी

माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला

संवत् २०५९ सालको दे.पु.नं.९००१

संवत् २०६० सालको दे.पु. नं. ..९२५८

फैसला मितिः २०६६।७।१५।१

 

मुद्दाः मानाचामल भराई पाऊँ ।

 

      पुनरावेदक प्रतिवादीः काठमाडौं जिल्ला, मनमैजु गा.वि.स.वडा नं. १ बस्ने मेनका बस्नेत समेत

विरुद्ध

      विपक्षीः वादीः ललितपुर जिल्ला, थसिखेल गा.वि.स. बडा नं. ५ बस्ने सुजन बस्नेत समेत

 

      पुनरावेदक वादीः काठमाडौं जिल्ला, मनमैजु गा.वि.स.वडा नं. १ घर भई हाल ललितपुर जिल्ला थासिखेल गा.वि.स.वडा नं. ५ बस्ने वर्ष ११ को सुजन बस्नेतको संरक्षक भई       आफ्नो हकमा समेत रञ्जू बस्नेत

विरुद्ध

      विपक्षी प्रतिवादीः का.जि.मनमैजु गा.वि.स.वडा नं १ बस्ने कृष्णराज बस्नेत समेत

 

शुरु फैसला गर्ने

मा.जि.न्या. श्रीकुमारप्रसाद पोखरेल

पुनरावेदन फैसला गर्नेः

मा.न्या. श्री दामोदरप्रसाद प्रजापति

मा.न्या. श्री बोधरीराज पाण्डे

 

§  एकासगोलका अंशियारहरू रहे भएको विवाद नभएको अवस्था तथा नावालक छोराको स्वास्थ्य एवं शिक्षादीक्षामा परिवारको संरक्षक रहेका सासू ससुरा तथा पतिले विशेष ध्यान पुर्‍याउनु पर्ने अवस्थाबाट परिवारका अग्रजहरू नै विमुख हुन चाहने हो भने पनि उनीहरू आफ्नो जिम्मेवारीबाट मुक्त हुन सक्दैनन् । उनीहरूले आफूलाई तोकिएको सामाजिक दायित्वका साथसाथै कानूनी बाध्यताहरू पनि पूरा गर्नुपर्ने ।

(प्रकरण नं.३)

§  बण्डा नछुट्याएसम्म अंशबापतको सम्पत्ति वास्तविकरुपमा उपभोग गर्न पाउने अवस्था नहुने हुदाँ फैसला मितिसम्मको मात्र मानाचामल भराउनु तर्कसंगत एवं विवेकसम्मत नहुने ।

(प्रकरण नं.४)

§  तथ्यगत रुपमा अंश पाइनसकेको एवं नावालक छोराको भरणपोषण, शिक्षा, स्वास्थ्यका लागि दैनिक रुपमा रकमको आवश्यकता पर्ने नै हुँदा यस प्रयोजनका लागि समेत मानाचामलबापत केही रकम भरिपाउनु अनिवार्य आवश्यकताको रुपमा रहने ।

(प्रकरण नं.५)

 

पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ताहरू श्री इन्दिराकुमारी श्रीस र श्री पुण्यशीला दवाडी

विपक्षी वादी तर्फबाटः विद्वान अधिवक्ता श्री बालकृष्ण नेउपाने

अवलम्वित नजीरः

सम्बद्ध कानूनः

      अंशबण्डाको महलको १० नं.

      मानाचामलको ४ नं.

 

आदेश

      न्या. खिलराज रेग्मीः पुनरावेदन अदालत पाटनको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अनुसार यस अदालतमा वादी प्रतिवादीको तर्फबाट दोहोरो पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :–          

      विपक्षी सुमन बस्नेतसंग म रञ्जू बस्नेतको मिति २०४८।११।२२ मा धार्मिक परम्परा अनुसार विवाह भै मिति २०४९।९।२७ मा एक छोरा सुजन बस्नेतको जन्म समेत भएको छ । विपक्षी मध्येका कृष्णराज ससुरा, मेनका सासू र किरणराज मेरो देवर नाताका व्यक्ति हुन । निजहरूले मलाई शारीरिक तथा मानसिक यातना दिने, मउपर सौता ल्याई मलाई अपमान कुटपीट समेत गरी इज्जत आमदअनुसार खान लाउन समेत नदिएकोले शान्ति सुरक्षाको लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिंदा पनि कुनै उपाय नलागी विपक्षीहरू उपर अंश मुद्दा दायर गरेको हुँ । मेरो आफ्नो कुनै आयस्रोत नभएकोले नाबालक छोरा र म समेत जना २ लाई लालनपालन, औषधि र शिक्षा समेतलाई आवश्यक पर्ने खर्च प्रति महिना रू.४,०००।का दरले २०५० साल असोजदेखि २०५३ साल माघसम्मको हुने एकमुष्ट रू.१,६४,०००।–(एक लाख चौसट्ठी हजार) र त्यस पछि पनि अंश नदिएसम्मको प्रति महिना रू.४ हजारका दरले मानाचामलबापत दिलाई भराई पाऊँ भन्ने समेतको नाबालक छोरा सुजन बस्नेतको संरक्षक भै आफ्नो हकमा समेत निजकी आमा रञ्जू बस्नेतले मिति २०५२।१०।२९ मा काठमाडौं जिल्ला अदालतमा पेश गरेको फिराद पत्र ।

विपक्षी वादीको सम्पूर्ण कुराहरू झूठा  हो । रञ्जू बस्नेतसंग विवाह गरेको कुरा मेरो छोराले कहिले पनि प्रकाशमा नल्याएको साथै विपक्षीहरूलाई छोराले बुहारी र नाति भनी कहिल्यै परिचय समेत गरएका छैनन् । सुमनको विवाह २०४५ साल माघमा गीता राउतसंग भएको र विवाहको १ वर्षपछि छुट्टिई भिन्न बसेका छन् । वादी रञ्जूसंग सुमनराजको विवाह नै नभएकोले छोरा जन्मने प्रश्नै आउदैन । वादी दावी खारेज गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी कृष्णराज बस्नेत, मेनका बस्नेत, किरण बस्नेत समेत जना ३ ले मिति २०५४।४।२३ मा पेश गरेको संयुक्त प्रतिउत्तर पत्र ।

विपक्षी वादीको सम्पूर्ण कुरा झूठा  हो । विपक्षीको म संग विवाह भएको कुरा गलत हो । मेरो विवाह २०४५ साल माघमा गीता राउतसंग भएको र २०४६ फागुनदेखि घर छोडी छुट्टै बस्दै आएको छु । निज श्रीमती गीताको लहैलहैमा लागी घर परिवार सवै छाडी वेग्लै बस्दै आएको र निजले पनि झगडा गरी माइत बस्दै आएकीले आफूलाई हिनताबोध भै घर जान समेत सकेको छैन । मासिक १५००/२००० जाने काम गरी गुजारा गरी रहेकोले वेपत्ते मानिसलाई मासिक रू.४,०००।का दरले मानाचामल दिनुपर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी सुमनराज बस्नेतको मिति २०५४।४।२३ को प्रतिउत्तर पत्र ।

      सुमनराज बस्नेत र रञ्जू बस्नेतको धार्मिक विधिपूर्वक २०४८।११।२२ मा विवाह भै मिति २०४९।९।२७ मा एक बच्चा समेत जन्मिएको हो । उक्त विवाहमा म समेत सामेल भएको थिए । वादीले अंश पाउनु पर्ने हो । अंश नपाएसम्म मानाचामल पाउनु पर्छ भन्ने समेत व्यहोराको वादीको साक्षी भगवती थापाले मिति २०५४।९।१ मा शुरु अदालतमा गरेको बकपत्र ।

      प्रतिवादी सुमनराज मेरो भतिजो हो । उसले विवाह गरेको थाहा छैन । विवाह नै नगरेकोले नाता सम्बन्ध हुने र मानाचामल दिने कुरै आउदैन । सुमनको श्रीमती घरमै छ, नाम थाहा भएन भन्ने समेत व्यहोराको प्रतिवादीका साक्षी प्रद्युम्नराज बस्नेतले मिति २०५४।९।१ मा शुरु अदालतमा गरेको बकपत्र ।

      यिनै वादीले यिनै प्रतिवादीउपर दायर गरेको अंश मुद्दामा वादीले अंश पाउने ठहरी आज यसै इजलासबाट फैसला भैसकेकोले मानाचामल भरी पाऊँ भन्ने वादी दावी पुग्न सक्तैन भन्ने समेतको काठमाडौं जिल्ला अदालतको मिति २०५५।१२।५ को फैसला ।

      विपक्षी सुमन बस्नेतसंग म रञ्जू बस्नेतको मिति २०४८।११।२२ मा धार्मिक परम्पराअनुसार विवाह भै मिति २०४९।९।२७ मा एक छोरा सुजन बस्नेतको जन्म समेत भएको   छ । विपक्षीमध्येका कृष्णराज ससुरा, मेनका सासू र किरणराज मेरो देवर नाताका व्यक्ति हुन् । निजहरूले मलाई शारीरिक तथा मानसिक यातना दिने, मउपर सौता ल्याई मलाई अपमान कुटपीट समेत गरी इज्जत आमदअनुसार खान लाउन समेत नदिएकोले कुनै उपाय नलागी विपक्षीहरू उपर अंश मुद्दा दायर  गरेको हुँ । अंश पाउने नपाउने तर्फ विचार गर्दा विपक्षी मध्येको किरणराज बस्नेतको नाउँमा रहेको बकसपत्र एकलौटी ठहर्‍याई अन्य केही भागबण्डा गरी पाउने गरी फैसला भए उपर मेरो पुनरावेदनको हक बाँकी रहँदाको अवस्थामा नै विपक्षी ससुरा कृष्णराज बस्नेतको दाजुभाइमा नै अंशबण्डा नभएकोले अंशबण्डा गरिपाऊँ र अंश नहुँदै अंशियारलाई हक मार्ने उद्देश्यले एकलौटी भएकोले उक्त फैसला बदर गरी पाउन विपक्षी मध्येका ससुरा कृष्णराज बस्नेतका भाइले म समेतलाई प्रतिवादी बनाई दायर गरेको मुद्दा हाल काठमाडौं जिल्ला अदालतमा विचाराधिन छ ।

      अंशबण्डाको १० नं. तथा लोग्ने स्वास्नीको ४ नं. मा व्यवस्था भएबमोजिम म पुनरावेदक र नाबालक छोरा सुजनको भरणपोषण, औषधि तथा शिक्षा समेतको लागि मेरो कुनै आयस्रोत नभएकोले प्रति महिना रू. ४,०००।का दरले अंश नपाएसम्म मानाचामल भराई पाऊँ भन्ने माग दावी गरेकोमा हामी पुनरावेदकको बस्न, खान पाउने अधिकार समेत हनन् गरी भएको काठमाडौं जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी फिराद दावी बमोजिम न्याय गरिपाऊँ भनी सुजन बस्नेतको संरक्षक भै आफ्नो हकमा समेत वादी रञ्जू बस्नेतले पुनरावेदन अदालत पाटनमा मिति २०५८।१०।९ मा पेश गरेको पुनरावेदन पत्र ।

      यसमा अंश मुद्दाको फैसलाको आधारमा छुट्टै परेको मानाचामल मुद्दामा वादी दावी नपुग्ने गरी भएको शुरु अदालतको फैसला फरक पर्न सक्ने देखिंदा अ.वं. २०२ नं. बमोजिम विपक्षी झिकाई आएपछि पेश गर्नु भन्ने पुनरावेदन अदालत पाटनको मिति २०५८।१२।२८ को  आदेश ।

      प्रमाणको लागि पेश भएको यिनै वादी र प्रतिवादी भएको २०५३।०५४ सालको दे.दा. नं. १७६०।५९२१ को अंश मुद्दा हेर्दा यी वादी प्रतिवादीहरू बीच नातामा विवाद देखिएन । मुलुकी ऐन, अंशबण्डाको १० नं. मा छोरा स्वास्नीलाई खान नदिई राख्न पनि हुँदैन इज्जत आमदअनुसार खान लाउन दिनुपर्छ नदिए अंश दिनुपर्छ भन्ने र लोग्ने स्वास्नीको ४ नं. मा सासू ससुराले मात्र निकाला गरेकोमा इज्जत आमदअनुसार खान लाउन दिनुपर्छ भन्ने समेत व्यवस्था भएको देखिंदा प्रतिवादीहरूले वादीलाई घरमा समेत बस्न नदिएको अवस्थामा अंश नछुट्याएसम्म इज्जत आमदअनुसार खान लाउन दिनुपर्नेमा विवाद भएन । यी वादीलाई सासू ससुरा समेतले निकालेको अवस्थामा लोग्ने स्वास्नीको ६ नं. मा भएको व्यवस्थाबमोजिम १ वर्ष भित्र नालेस गर्नुपर्ने हुँदा वादीले २०५० साल असोजदेखिको मानाचामलको दावी लिएकोमा नालेस दायर गरेको मिति २०५३।१०।२९ ले एक वर्ष अगाडिको मिति २०५२।१०।२९ देखि आज फैसला भएको मितिसम्म अर्थात् ६ वर्ष ५ महिना अवधिको मात्र मानाचामल प्रति महिना रू.२,१००।का दरले दुवै जना वादीहरूले प्रतिवादीबाट भराई लिन पाउने ठहर्छ सो हुँदा वादी दावी नपुग्ने गरी भएको शुरुको फैसला नमिलेकोले उल्टी हुन्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनको मिति २०५९।३।३२ को फैसला ।

      विपक्षीले अंश र मानाचामलमा एकै पटक लिएको दावी कानूनसम्मत छैन । दुवै दावी एकै पटक गरिएको छ । अंशबण्डाको १० नं. र लोग्ने स्वास्नीको ४ नं. को प्रावधान एकै पटक सक्रिय हुँदैन । सासू ससुरा वा लोग्ने कसले खान लाउन नदिएको हो प्रष्ट छैन । अंश मुद्दाको फैसला भएपछि मात्र खान लाउन नदिएको हो होइन भन्ने प्रष्ट हुने हुँदा फिराद परे देखि नै मानाचामल भराउन मिल्दैन । अंश मुद्दाबाट अंश पाई सकेपछि मानाचामल भराई दिन मिल्दैन । अंश र मानाचामलको अवधारणा वेग्लावेग्लै हो । अंश नलिनेले मात्र मानाचामलमा दावी गर्न पाउने हो तर विपक्षीको दोहोरो माग दावीले कानूनी आधार पाइदैन । उक्त फैसला लोग्ने स्वास्नीको ४ नं. र अंशबण्डाको १० नं. को कानूनी प्रश्न र व्याख्यामा गम्भीर त्रुटि छ । २०५० साल असोजदेखि खान लाउन दिएनन् भनी फिराद दावी गरेपछि लोग्ने स्वास्नीको ६ नं. बमोजिम १ वर्षभित्र अर्थात २०५१ साल असोजसम्ममा फिराद गर्नुपर्नेमा मिति २०५३।१०।२९ मा मात्र परेको फिराद हदम्याद नाघि दायर भएको छ । साथै फैसलामा मध्यम वर्ग भनी आयस्रोतको अनुमान गरिएको कानूनसम्मत छैन । ७५ हजार रुपैया बराबरको अंश पाइ सकेपछि सो भन्दा बढी मानाचामल भराउने कुरा कानूनसम्मत छै्रन । हाम्रो आयस्ताको स्रोत समेत छैन। यसरी आयस्ताको श्रोत देखाउन नसकेको अवस्थामा वादी दावी अनुसार प्रतिवादीबाट मानाचामल भराई दिन नपर्ने भन्ने नेकाप २०३६, पृष्ठ ४, नि.नं. १२२४ मा सिद्धान्त समेत प्रतिपादन भैसकेको परिप्रेक्ष्यमा पुनरावेदन अदालत पाटनबाट भएको फैसला मुलुकी ऐन, लोग्ने स्वास्नीको ४, ४(ग), , अंशबण्डाको १, , १० अ.वं. १८४ (क), १८५ नं. र प्रमाण ऐन, २०३१ को दफा ३, ५४ समेतको विपरीत हुँदा बदर गरी शुरु फैसला कायम गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी मेनका बस्नेत, सुमनराज बस्नेत र कृष्णराज बस्नेत समेत जना ३ ले मिति २०५९।११।१९ मा यस अदालतमा पेश गरेको पुनरावेदन पत्र ।

      म पुनरावेदिका रञ्जू बस्नेत र विपक्षी सुमनराज बस्नेतबीच धार्मिक परम्पराअनुसार मिति २०४८।११।२२ मा विवाह भै मिति २०४९।९।२७ मा एक छोरा सुजन बस्नेतको जायजन्म भएको छ । विपक्षीमध्येका कृष्णराज ससुरा, मेनका सासू र किरणराज मेरो देवर नाताका व्यक्ति हुन् । निजहरूले मलाई शारीरिक तथा मानसिक यातना दिने, म उपर सौता ल्याई मलाई अपमान कुटपीट समेत गरी इज्जत आमदअनुसार खान लाउन समेत नदिएकोले कुनै उपाय नलागी विपक्षीहरू उपर अंश मुद्दा दायर गरेको हुँ ।  अंशबण्डाको १० नं. तथा लोग्ने स्वास्नीको ४ नं. मा व्यवस्था भएबमोजिम म पुनरावेदक र नाबालक छोरा सुजनको भरणपोषण, औषधि तथा शिक्षा समेतको लागि मेरो कुनै आयस्र्रोत नभएकोले प्रति महिना रू.४,०००।का दरले अंश नपाएसम्म मानाचामल भराई पाऊँ भन्ने माग दावी गरेकोमा मलाई आंशिक रुपमा हराई भएको फैसलामा चित्त बुझेन । मैले अंश पाउने उपर मूल अंशीयारबीच नै अंशबण्डा नभएको भनी मेरा ससुराका दाजुभाइहरूले उक्त अंश मुद्दाको फैसला बदर गरिपाऊँ भनी दिएको फैसला बदर मुद्दा हाल पुनरावेदन अदालतमा चलिरहेको अवस्थामा लोग्ने स्वास्नीको ६ नं. को हदम्याद देखाई मलाई माग दावी भन्दा थोरै अवधिको मात्र मानाचामल भराई दिने गरेको फैसलाले मेरो र बच्चाको भरण पोषणमा नै आघात पार्छ । मुलुकी ऐन, लोग्ने स्वास्नीको ६ नं. मानाचामलको हकमा लागु हुने होइन । अंशबण्डाको १० नं. तथा लोग्ने स्वास्नीको ४ नं. को दावी लिएको अवस्थामा लोग्ने स्वास्नीको ६ नं. लागु हुने होइन । अतः पुनरावेदन अदालतबाट भएको फैसला उल्टी गरी दावी बमोजिमको मानाचामल भराई दिलाई पाऊँ भन्ने समेत व्यहोराको वादी सुजन बस्नेतको संरक्षक भई आफ्नो हकमा समेत वादी रञ्जू बस्नेतले मिति २०६०।२।५ मा यस अदालतमा पेश गरेको पुनरावेदन  पत्र ।

      नियमबमोजिम पेसी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी  रञ्जू बस्नेत समेतको तर्फबाट उपस्थित विद्वान अधिवक्ताहरू श्री इन्दिराकुमारी श्रीस र श्री पुण्यशीला दवाडीले वादी र प्रतिवादीहरू मध्येका सुमनराज बस्नेत लोग्ने स्वास्नी भएको स्थापित भएपछि श्रीमती र छोरालाई इज्जत आमदअनुसार खानलाउन दिनुपर्ने कर्तव्य बाबुको हुन्छ । वादीको कुनै आयस्रोत नभएको र छोरा नावालक भएको अवस्थामा फिराद दावी बमोजिम महिनाको ४ हजार मानाचामल भराई दिनुपर्नेमा लोग्ने स्वास्नीको ६ नं. लाई मात्र आधार मानी दावी भन्दा कम मानाचामल भराई दिने गरी भएको पुनरावेदन अदालतको फैसला मिलेको नहुदा केही उल्टी गरी दावी बमोजिम मानाचामल भराई पाऊँ भनी तथा पुनरावेदक प्रतिवादी कृष्णराज बस्नेत समेतका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री बालकृष्ण नेउपानेले एकैदिन अंशमुद्दा र मानाचामल मुद्दाको फैसला भएको अवस्था तथा प्रतिवादीको आम्दानीको श्रोत नभएको स्थितिमा वादीलाई मानाचामल भराउन मेरो पक्षको आर्थिक हैसियतले भ्याउँदैन । तसर्थ अंश पाइसकेको अवस्थामा मानाचामल भराई दिनु उपयुक्त नहुँदा पुनरावेदन अदालतको फैसला उल्टी गरी शुरु फैसला कायम राखिपाऊँ भनी बहस जिकीर प्रस्तुत गर्नुभयो ।

            विद्वान अधिवक्ताहरूको बहस जिकीर एवं मिसिल संलग्न कागजातहरू अध्ययन गर्दा प्रतिवादीमध्येका सुमन बस्नेतसँग मिति २०४८।११।२२ मा विवाह भई मिति २०४९।९।२७ मा छोरा सुजनको जन्म भएकोमा मिति २०५०।६।३० गते देखि पति तथा अन्य विपक्षीहरूले घरबाट निकालेको अवस्थामा अंश माग गर्दा दिन इन्कार गरेका थिए । विपक्षी पतिको अर्को श्रीमती पनि रहेको अवस्था छ । विपक्षीहरूले खान लाउन नदिंदा फिरादी र नावालक छोराको भरणपोषण तथा दैनिक जीवनमा आवश्यक पर्ने खाना, शिक्षा, औषधोपचार लगायतका कार्यका लागि आफ्नो कुनै आयस्रोत नभएकोले आमा छोराको भरण पोषणका लागि २०५० साल असोज महिनादेखिको मासिक रु.४,०००।का दरले विपक्षीहरूबाट मानाचामल भराई पाऊँ भन्ने समेतको मुख्य फिराद दावी भएकोमा वादीसँग मेरो विवाह नभएको अवस्थामा वेपत्ता व्यक्तिले आफूलाई स्वास्नी भन्दैमा मानाचामल भराउनु पर्ने नहुँदा झूठा फिराद दावीबाट फुर्सद गरिपाऊँ भन्ने समेतको प्रतिउत्तर जिकीर भएको प्रस्तुत मुद्दामा वादीले प्रतिवादीबाट अंश पाउने ठहरी फैसला भइ सकेको स्थितिमा मानाचामल भरिपाऊँ भन्ने वादी दावी पुग्न नसक्ने ठहर्‍याएको शुरु काठमाडौँ जिल्ला अदालतको फैसला उल्टी गरी फिराद दायर गरेको मिति २०५३।१०।२९ ले एक वर्ष अगाडिको मिति २०५२।१०।२९ देखि फैसला मिति २०५९।३।३२ सम्मको अवधि (६ वर्ष ५ महिना) को प्रति महिना रु २१,००।का दरले हुन आउने रकम वादीहरूले प्रतिवादीबाट मानाचामलबापत भराई पाउने ठहर्‍याएको पुनरावेदन अदालत पाटनको फैसलाउपर वादी प्रतिवादीको तर्फबाट दोहोरो रुपमा पुनरावेदन दर्ता हुन आएको प्रस्तुत मुद्दा आज यस इजलाससमक्ष पेश हुन आएको देखिंयो ।

      यसमा फिराद दावी बमोजिमको रकम मानाचामल बापत वादीले प्रतिवादीहरूबाट भरिपाउने हो, होइन ? ६ वर्ष ५ महिनाका लागि मासिक रु २१,००।मानाचामलबापत वादीलाई प्रतिवादीबाट भराई दिने ठहर गरेको पुनरावेदन अदालतको फैसला मिलेको छ, छैन ? भन्ने विषयमा नै निर्णय दिनुपर्ने देखिंन आयो ।

      २.    निर्णयतर्फ विचार गर्दा यिनै वादी रञ्जू बस्नेत समेतले सुमनराज बस्नेत समेतलाई प्रतिवादी बनाई काठमाडौं जिल्ला अदालतमा दायर गरेको दे.दा.नं. १७६०।५९२१ को अंश मुद्दामा शुरु काठमाडौँ जिल्ला अदालतले वादी रञ्जू र प्रतिवादी सुमनराजबीच लोग्ने स्वास्नीको नाता कायम हुने ठहर्‍याई फैसला गर्दै तायदातीअनुरूपको सम्पत्तिलाई ४ भाग गरी १ भाग सुमनराजलाई छुट्टयाई सो १ भागलाई ४ भाग गरी सोको २ भाग वादीहरूले अंश पाउने ठहर्‍याई फैसला भएको देखिंदा वादी प्रतिवादीहरू बीच लोग्नेस्वास्नी एवं ससुरा देवरको नाता पर्नेमा विवाद रहेको देखिंन आउँदैन ।

      ३.    अब आफूलाई घरबाट निकाला गरेको मितिदेखि अंश नपाएसम्म फिराद दावी बमोजिम रु ४,०००।मानाचामल बापत भराई पाउनु पर्नेमा फिराद दावीलाई आंशिक समर्थन गरेको पुनरावेदन अदालतको फैसला मिलेको नहुँदा फिराद दावीबमोजिम गरिपाऊँ भन्ने वादीहरूको पुनरावेदन जिकीर सम्बन्धमा हेर्दा वादी र प्रतिवादीहरू एकासगोलका अंशियारहरू रहे भएको विवाद नभएको अवस्था तथा वादी तथा निजको नावालक छोराको स्वास्थ्य एवं शिक्षादीक्षामा परिवारको संरक्षक रहेका सासू ससुरा तथा पतिले विशेष ध्यान पुर्‍याउनु पर्ने कुरामा विवाद देखिदैन । यस अवस्थाबाट परिवारका अग्रजहरू नै विमुख हुन चाहने हो भने पनि उनीहरू आफ्नो जिम्मेवारीबाट मुक्त हुन सक्दैनन् । उनीहरूले आफूलाई तोकिएको सामाजिक दायित्वका साथ साथै कानूनी बाध्यताहरू पनि पुरा गर्नु पर्दछ । यस विषयका सम्बन्धमा भएको कानूनी व्यवस्था हेर्दा मुलुकी ऐन अंशबण्डाको महलको १० नं. मा बाबु आमाको जीउ छउन्जेल अंश दिन छोरा छोरीले बाबु आमालाई बाध्य गराउन सक्ने छैनन्............. लोग्ने वा बाबु आमाले स्वास्नी वा छोरा छोरीलाई इज्जत आमदअनुसार खान लाउन र आवश्यकता अनुसार उचित शिक्षा दिक्षा र स्वास्थ्य उपचारको व्यवस्था गर्नु पर्छ । सो नगरे अंश दिनुपर्छ । लोग्ने स्वास्नीको ४ नम्बरमा लेखिएको कुरामा भने सोहीबमोजिम हुन्छभन्ने र लोग्ने स्वास्नीको महलको ४ नं. मा सासू ससुरा समेत भै वा लोग्नेले मात्र खान लाउन नदिई घरबाट निकाला गरेको वा बराबर कुटपीट गरी दुःख दिने गरेको वा लोग्नेले अरु स्वास्नी ल्याए वा राखेकोमा त्यस्ती स्वास्नीले लोग्नेको अंशबाट आफ्नो अंश छुट्याई लिन पाउछेू भन्ने समेतको कानूनी व्यवस्था भएअनुरूप प्रस्तुत मुद्दाको विषयवस्तु हेर्दा प्रतिवादीहरूको प्रतिउत्तरपत्रमा वादीलाई आफ्नो परिवारको सदस्यको रुपमा अंगिकार गर्न अस्विकार गरिएको देखिन्छ । यस अवस्थामा प्रतिवादीहरूले वादीलाई घरबाट निकाला गरी उनीहरूको भरणपोषणको दायित्वबाट विमुख हुन खोजेको स्वतः स्पष्ट हुन आएको अवस्थामा नावालक छोराको भरणपोषण तथा शिक्षा स्वास्थ्यको दायित्व समेत वादीमा नै सरेको देखिन्छ । यस अवस्थामा वादीहरूलाई भरणपोषणको निमित्त आर्थिक व्यवस्था गर्नुपर्ने जिम्मेवारी प्रतिवादीहरूको हुने नै हुँदा अंशबण्डाको १० नं. तथा मानाचामलको ४ नं.बमोजिम वादीले अंश नपाए सम्म निजहरूको भरणपोषण, शिक्षादीक्षा तथा स्वास्थ्य उपचारको लागि आवश्यक रकम मानाचामलको रुपमा अंशबण्डाको १० नं तथा मानाचामलको ४ नं. अनुरूप प्रतिवादीहरूले व्यवस्था गर्नुपर्ने नै हुन आउछ ।

      ४.    यस सम्बन्धमा पुनरावेदन अदालत पाटनले समेत वादीलाई प्रतिवादीहरूवाट मानाचामल भराइदिने महशुस गरी मानाचामल भराइदिएको पाइएतापनि सो अदालतले आफूले फैसला गरेको मिति २०५९।३।३२ सम्मको अवधिको मात्र अर्थात ६ वर्ष ५ महिनाको मात्र मासिक रु.२१,००।का दरले वादीलाई प्रतिवादीहरूवाट मानाचामल भराई दिने ठहर गरेको देखिन्छ । तर सो फैसला हुँदाको अवस्थासम्ममा प्रस्तुत मुद्दा कार्यान्वयनको चरणमा गई वादीले आफ्नो हकको अंश भने पाएको देखिंदैन । यसरी बण्डा नछुट्याएसम्म अंशबापतको सम्पत्ति वास्तविकरुपमा वादीहरूले उपभोग गर्न पाएको अवस्था नहुँदा पुनरावेदन अदालतको फैसला मिति सम्मको मात्र मानाचामल भराउनु तर्कसंगत एवं विवेकसम्मत हुने देखिंन आउँदैन् ।

      ५.    यसै गरी वादीले प्रतिवादीहरूबाट अंश पाइसकेको अवस्थामा छुट्टै रुपमा मानाचामलको दावी गर्न मिल्ने नहुँदा पुनरावेदन अदालतको फैसला नमिलेकोले बदर गरी शुरु फैसला कायम राखिपाऊँ भन्ने प्रतिवादीहरूको पुनरावेदन जिकीर सम्बन्धमा हेर्दा, माथि विवेचना गरिएअनुरूप वादीले तथ्यगत रुपमा अंश पाइसकेको अवस्था एकातर्फ देखिंदैन भने अर्को तर्फ वादी एवं निजको नावालक छोराको भरणपोषण, शिक्षा, स्वास्थ्यका लागि दैनिक रुपमा रकमको आवश्यकता पर्ने नै हुँदा यस प्रयोजनका लागि समेत अंश पाईनसकेको अवस्थामा वादीले मानाचामल बापत केही रकम भरिपाउनु अनिवार्य आवश्यकताको रुपमा रहने देखिंदा यस तर्फको प्रतिवादीहरूको पुनरावेदन जिकीरसँग पनि सहमत हुन सकिदैन ।

      ६.    तसर्थ, फिराद दावीमा अंशबण्डाको महलको १० नं. को आधारमा मानाचामलको दावी लिएको, सो नं. मा खान लाउन नदिए अंश दिनुपर्ने, वास्तविकरुपमा अंश नपाई उपभोग नगरेको अवस्थासम्म मानाचामल भराई दिनुपर्ने अनिवार्य आवश्यकता रहेको समेतका आधार एवं कारणबाट अंश पाउने ठहरी फैसला भैसकेको स्थितिमा मानाचामल भरिपाऊँ भन्ने वादी दावी पुग्न नसक्ने ठहर्‍याएको शुरु काठमाडौ जिल्ला अदालतको फैसला उल्टी गरी मुलुकी ऐन लोग्नेस्वास्नीको महलको ६ नं. बमोजिम फिराद दायर गरेको मिति भन्दा एक वर्ष अगाडिको मिति अर्थात २०५२।१०।२९ देखि फैसला मितिसम्म ६ वर्ष ५ महिनाको अवधिको मात्र मासिक रु.२,१००।का दरले हुन आउने मानाचामल बापतको रकम वादीहरूले प्रतिादीहरूबाट भरिपाउने ठहर्‍याएको पुनरावेदन अदालत पाटनको मिति २०५९।३।३२ को फैसला मानाचामल भरिपाउने ६ वर्ष ५ महिनाको अवधिको हकमा सम्म मिलेको नदेखिंदा केही उल्टी भई वादीले अंश मुद्दामा फैसला कार्यान्वयन गरी बण्डा छुट्टयाई लिएको दिनसम्मको मानाचामलबापत हुन आउने रकम प्रतिवादीहरूबाट भराइ लिन पाउने ठहर्छ । सो ठहर्नाले अरुमा तपसीलबमोजिम गर्नु ।

 

तपसील

      माथि उल्लेख भएबमोजिम पुनरावेदन अदालत पाटनको फैसला केही उल्टी भई वादीले अंश मुद्दामा फैसला कार्यान्वयन गरी बण्डा छुट्याई लिएको दिनसम्मको मानाचामल बापत प्रतिवादीबाट मासिक रुपमा रु.२१,००।भरिपाउने ठहरेको हुँदा पुनरावेदन अदालत पाटनको फैसलाको तपसील खण्डको देहाय १ कायम रहन नसक्ने हुँदा सोको सट्टा मिति २०५२।१०।२९ देखि अंश मुद्दाको फैसला कार्यान्वयन गरी वादीले अंश छुट्टयाईलिएको दिनसम्मको अवधिको हुन आउने रकम प्रतिवादीहरूबाट भराई पाऊँ भनी वादीको दर्खास्त परे हुन आउने रकम नियमानुसार वादीहरूलाई भराई दिनु भनी शुरु काठमाडौँ जिल्ला अदालतमा लेखी पठाई दिनू . .... ..१

      दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू ......२

 

उक्त  रायमा म सहमत छु ।

 

न्या. राजेन्द्रप्रसाद कोइराला

 

इति संवत् २०६६ साल  कात्तिक १५ गते रोज १२ शुभम्

 

इजलास अधिकृत : कृष्णप्रसाद सुवेदी

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु