शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८२८५ - ज्यान मार्ने उद्योग

भाग: ५१ साल: २०६६ महिना: चैत्र अंक: १२

निर्णय नं. ८२८५  २०६६ चैत,अङ्क १२

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी

माननीय न्यायाधीश श्री सुशीला कार्की

संवत् २०६० सालको फौ.पु.नं. ३४४९, ३५६७

संवत् २०६१ सालको फौं पु.नं. ३२३८

फैसला मितिः २०६६।७।९।२

 

मुद्दाः ज्यान मार्ने उद्योग ।

 

      पुनरावेदक प्रतिवादीः जिल्ला सिरहा लक्ष्मीनिया (प्र.म) गा.वि.स.वार्ड नं.२ बस्ने कुशेश्वर            गुर्मैता

विरुद्ध

      प्रत्यर्थी वादीः ऐ.ऐ.बडा नं.१ बस्ने हरिदेव यादव समेतको जाहेरीले नेपाल सरकार

 

      पुनरावेदक प्रतिवादीःजिल्ला सिरहा लक्ष्मीनिया (प्र.म) गा.वि.स.वार्ड नं.३ बस्ने गंगाप्रसाद      गुर्मैता यादव

विरुद्ध

      प्रत्यर्थी वादीः ऐ.ऐ.बडा नं.१ बस्ने हरिदेव यादव समेतको जाहेरीले नेपाल सरकार समेत

      पुनरावेदक प्रतिवादीःजिल्ला सिरहा लक्ष्मीनिया (प्र.म) गा.वि.स.वार्ड नं.३ बस्ने गंगाप्रसाद      गुर्मैता यादव

विरुद्ध

      प्रत्यर्थी वादीः ऐ.ऐ.बडा नं.१ बस्ने हरिदेव यादव समेतको जाहेरीले नेपाल सरकार

 

शुरु फैसला गर्नेः

मा.जि.न्या. श्री बीरेन्द्रकुमार बाटाजु

मा.जि.न्या. श्री नारायणप्रसाद श्रेष्ठ

 

पुनरावेदन फैसला गर्नेः

मा.न्या. श्री दामोदरपुरुष ढकाल

मा.न्या.श्री मोहनप्रसाद घिमिरे

 

§  वारदातमा प्रयोग भएका हतियार बन्दुक प्रतिवादीहरूबाट वरामद हुन नसक्नुबाट वारदात नै घटित भएको होइन भन्ने निष्कर्ष निकाल्न नमिल्ने ।

(प्रकरण नं.५)

§  सामान्यतः ज्यान मार्ने उद्योगको वारदातमा तेस्रो पक्षीय अवरोधको सिद्धान्त Doctrine of third party intervention को विचार  गर्नुपर्ने ।

(प्रकरण नं.६)

§  ज्यान मार्ने उद्योग गर्नु भनेको कसैको ज्यान मार्ने प्रयास गर्नु हो । टाढैबाट बम वा बन्दुकको गोली प्रहारबाट पनि कसैको ज्यान मार्ने प्रयास वा उद्योग गर्न सकिन्छ । त्यस्तो प्रहार संवेदनशील ठाउँमा र प्रहारकर्ताले ताकेको निशानामा लागेमा ज्यान मर्न  सक्दछ । तर निशानामा वा मर्मस्थानमा नलागेमा ज्यान मर्दैन । यस्तोमा कुनै तेस्रो पक्षीय अवरोधको सिद्धान्त लागू नहुने ।

§  फायर गर्नु नै ज्यान मार्ने प्रयास गर्नु हो । यसमा त्जष्चम उबचतथ ष्लतभचखभलतष्यल को सिद्धान्त ज्यान मार्ने उद्योगका अरु वारदात जस्तै गरी लागू हुन सक्दैन । अवरोधको पुष्टि नभएबाट ज्यान मार्ने उद्योगको वारदात घटित भएको होइन भनी भन्न मिल्ने ।

(प्रकरण नं.७)

 

पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री हरिकृष्ण कार्की

प्रत्यर्थी वादी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता श्री योगराज वराल

अवलम्वित नजीरः

सम्बद्ध कानूनः

      ज्यानसम्बन्धी महलको १५ नं.

 

फैसला

न्या.ताहिर अली अन्सारीः पुनरावेदन अदालत, राजविराजको मिति २०६०।१।२४ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः-

मिति २०५५।५।२९ गते जिल्ला सिरहा गा.वि.स लक्ष्मीनिया वार्ड नं. १ चमारटोल स्थित पूर्वमा फगुनी रविदास चमारको घर पश्चिममा विश्वनाथ यादवको खेत, दक्षिणमा विश्वनाथ यादवको पोखरी उत्तरमा रासलाल महराको घर यति चार किल्ला भित्रमा रहेको फगुनी मोचीको घर छेउबाटो मेन सडक जानेबाटो रहेको फगुनी मोचीको घरदेखि अन्दाजी १० मि. दक्षिणमा सानो पक्की पुल रहेको सोही पुलबाट गोली फायर भै हरिदेव यादवको बायाँ कुहिनामा समेत गोली(छर्रा) को घाउ चोट लागी घाइते भएको भन्ने समेत व्यहोराको घटनास्थल प्रकृति मुचुल्का ।

गा.वि.स.लक्ष्मीनियाको ऐलानी पोखरी ठेक्का लगाउने विषयमा गाउँका सबै पोखरी ठेक्का लगाउनु पर्छ भनी हामी जाहेरवालाहरूले विरोध गर्दै आएका थियौं । त्यसै विषयमा म हरिदेवउपर कुशेश्वरले रिसइवी लिई राखेका थिए । मिति २०५५।५।२९ गते १०.०० बजेको समयमा नि.मा.वि.मा पढाउन जाँदा रासलालको घर नजिक पुग्दा विपक्षीहरू मेरा अगाडि आइ चिनेका कुशेश्वर गुर्मैता यादव, रामकुमार गुर्मैता यादव, गंगाप्रसाद गुर्मैता यादव रासलाल महरा चमार, मनिकलाल महरा चमार, रामनाथ महरा चमार र अरु नचिनेका ४÷५ जना लठैतहरू समेत हातमा लाठी, फठ्ठा र कुशेश्वर, रामकुमारको हातमा बन्दुक भएकोले म हरिदेवलाई घेरा हाल्दा स्कूल तिर भाग्न लाग्दा हामीहरूको काममा बाधा पुर्‍याउने यसलाई यसै ठाउमा मारी देऊ भनी विपक्षी रासलालले बचन दिनासाथ कुशेश्वरले आफ्नो हातमा भएको बन्दुक फायर गरी घाइते बनाएर बन्दुक फायर भएको तथा गुहार भनेको आवाज मेरो परिवारले सुनी घटनास्थलमा पुग्दा म रामकृपाललाई रामकुमारले गोली प्रहार गरी घाइते बनाएपछि म जाहेरवाला शैलेन्द्रकुमार भाग्न खोज्दा रासलाल र रामनाथले लखेट्दै समाती दिएपछि गंगाप्रसादले आफ्नो हातमा भएको भरुवा बन्दुक मउपर फायर गरी घाइते बनाई वारदात घटाए पछि हामी जाहेरवालालाई उपचारको लागि सिरहा अस्पतालमा ल्याई मरणासन्न अवस्थामा उपचार भैरहेकोले हामीहरूको घाँ जाच समेत गराई विपक्षीहरूलाई पक्राउ गरी कानूनबमोजिम कारवाही गरिपाऊँ भन्ने समेत व्यहोराको हरिदेव यादवको जाहेरी दर्खास्त ।

हरिदेव यादवको बायाँ हातमा समेत, शैलेन्द्रकुमार यादवको बायाँ पाखुरा माथि रामकृपाल यादवको गर्दनको बायाँ साइडमा र बायाँ पाखुरामा समेत बन्दुक फायरको कारणबाट कडा किसिमको गोली लागी घाउ चोट भएको भन्ने समेत व्यहोराको घाउ जाँच केश फाराम ।

रामकुमार यादव, कुशेश्वर यादव, गंगाप्रसाद गुर्मैता यादव समेतको घर खान तलासी गर्दा कुनै प्रकारको अवैध हात हतियार खरखजाना वरामद नभएको भन्ने खान तलासी तथा बरामदी मुचुल्का ।

विपक्षीहरू र जाहेरवालाबीचमा माछा पोखरी ठेक्का लगाउने विषयमा वादविवाद हुँदै आएकोमा मिति २०५५।५।२९ गतेका दिन म विद्यालयतर्फ जाँदा मेरा पछि हरिदेव यादव र मसंग पाण्डव यादव, कारी यादव पनि थिए । लक्ष्मीनिया १ बस्ने फगुनी मोचीको घर छेउमा हरिदेव पुग्ना साथ सोको दक्षिण अं.१० मिटर फरकमा योजना बनाई बसेका कुशेश्वर यादव, रामकुमार यादव, रासलाल महरा, गंगाप्रसाद गुर्मैता, मनिकलाल महरा, रामनाथले घेराउ गरे कुशेश्वरले गोली फायर गरी घाइते बनाइएकोले ज्यान मर्‍यो भनी हल्ला गरे पछि  घाइतेलाई पानी खुवाई होसमा ल्याउने काम गरियो । निजहरूलाई पक्राउ गर्न खोज्दा रामकुमार र शैलेन्द्र यादवलाई मनिकलाल महरा र रामनाथ महराले शैलेन्द्र, रामकुमार यादवले समाई गंगाप्रसाद गुर्मैता यादव र रामकृपाल यादवलाई गोली हानी ज्यानै मार्ने उद्योग अपराधको वारदात घटाएका हुन् सो पछि पक्रन नसकि निजहरू गोली फायर गर्दै दक्षिणतर्फ लागेको भन्ने समेत व्यहोराको बुझिएका प्रत्यक्षदर्शी चन्द्रेश्वर यादवको कागज ।

जाहेरवालाहरू र प्रतिवादीहरू बीचमा माछा पोखरी ठेक्का लगाउने विषयमा बादबिवाद हुँदै आएको थियो । मिति २०५५।५।२० गते बिहान अ.१०.०० बजेको समयमा सिरहा बजार जान भनी पाण्डव यादव समेत लक्ष्मीनिया वार्ड नं. १ कोबाटो हुँदै जाँदा हाम्रो अगाडि हरिदेव यादव समेत जादै थिए । फगुनीको घर छेउमा पुग्दा अगाडि पक्की पुलमा कुशेश्वर गुर्मैता यादव, रामकुमार यादव, गंगाप्रसाद यादव, मनिकलाल महरा, रामनाथ महरा समेत पूर्व योजना बनाई बसेका रहेछन् । आई पुग्यो हान भनी रासलालले बचन दिनासाथ हरिदेवलाई सबैले घेराउ गरी कुशेश्वर गुर्मैता यादवले हातमा लिई राखेको बन्दुक फायर गरी घाइते बनाएको देख्नासाथ गुहार ज्यान मर्‍यो बचाउ भनी म समेतले हल्ला गरेको रामकृपाल र शैलेन्द्र तत्कालै आई पुगी अन्यायीहरूलाई समात्न खोज्दा रामकुमार यादवले हातमा लिई राखेको पेस्तोलले रामकृपाल यादवलाई र मनिकलाल र रामनाथले शैलेन्द्रलाई समाती गंगाप्रसाद यादवले भरुवा बन्दुकबाट फायर गरी घाईते बनाई भागी गएका हुन । त्यसपश्चात् घाइतेहरूलाई बयल गाडामा राखी उपचारार्थ सिरहा अस्पताल पठाएका हौं । ज्यान मार्ने उद्देश्यले बन्दुक जस्तो घातक हतियार फायर गरेका हुन भन्ने समेत व्यहोराको बुझिएका प्रत्यक्षदर्शी कारी यादवको कागज ।

प्रतिवादी र जाहेरवालाबीचमा पहिला देखि माछा पोखरी ठेक्का विषयमा वादविवाद हुँदै आएको थियो । मिति २०५५।५।२९ गते बिहान अ. १०.०० बजेको समयमा सिरहा बजार जान भनी म समेत गैरहेको अवस्थामा घटनास्थल पक्का पुल नजिकमा आई पुग्दा पूर्व योजना बनाई बसेका कुशेश्वर यादव, रामकुमार यादव, रासलाल महरा, गंगाप्रसाद गुर्मैता, मनिकलाल महरा र रामनाथ महरा समेतले हरिदेवलाई घेराउमा पारी कुशेश्वरले हातमा बोकेको बन्दुक फायर गर्दा हताहत भयो । ज्यान मर्‍यो भनी कराएको र बन्दुक फायर भएको आवाज सुनी गाउँका मानिस तथा रामकृपाल, शैलेन्द्र यादव समेत आई अन्यायीहरूलाई पक्राउ गर्न लाग्दा रामकुमार यादवले गोली प्रहार गरी रामकृपाल यादवलाई घाइते बनाए त्यस पछि पुनः गंगाप्रसादले गोली फायर गरी शैलेन्द्रकुमार यादवलाई घाइते पारेको हुँदा तत्काल घाइतेहरूलाई उपचारको लागि सिरहा अस्पताल ल्याएको हो । पूर्व रिसइवीका साथ विपक्षीहरूले मार्ने उद्देश्यले गोली फायर गरेका हुन् भन्ने समेत व्यहोराको बुझिएका प्रत्यक्षदर्शी पाण्डव यादवको कागज ।

जाहेरवालाहरूसंग गाउँको राजनीतिक पार्टीको विषयमा समेत पूर्व रिसइवी हुँदै आएको र वारदात हुनुभन्दा केही दिन अगाडि गंगाराम यादवको छोराले रासलालको छोरीलाई कुटपीट समेत गरेको हुँदा सोही विषयमा समेत विवाद चर्कदै आएको थियो । जाहेरवालाहरू समेतलाई गोली हानी मारिदिने भनी कुशेश्वर समेत बीच सरसल्लाह भएकोले मिति २०५५।५।२९ का दिन म लगायतका जाहेरीमा उल्लिखित प्रतिवादीहरू घटना स्थलमा बसी रहेका थियौं । घटनास्थलमा हरिदेव आउना साथ कुशेश्वरले बन्दुक फायर गरे पछि हरिदेव घाइते भएका र गोली फायर भएको सुनी शैलेन्द्र र रामकृपाल समेत घटना स्थलमा आउंदा गगाप्रसादले कटुवा पेस्तोल फायर गरी दुवै जना घाईते भएका  हुन । म लगायत अन्य उल्लिखित प्रतिवादीहरूले लाठी फठ्ठा बोकेको थियौं । मैले फायर गरेको होइन भन्ने समेत व्यहोराको पक्राउ परी आएका प्रतिवादी रामकुमार यादवको अनुसन्धान अधिकारीसमक्ष भएको बयान कागज ।

जाहेरवालाहरू र प्रतिवादीहरूको बीचमा राजनैतिक तथा पोखरीको विषयमा वादविवाद भै पूर्व रिसइवी भई रहेको थियो । मिति २०५५।५।२९ गतेका दिन १० बजेका समयमा घटनास्थलमा बन्दुक फायर भएको आवाज सुनी हामीहरू घटनास्थलमा जाँदा जाहेरवालाहरू गोली लागी घाइते अवस्थामा थिए र प्रतिवादी कुशेश्वर, गंगाप्रसाद, रामकुमारको हातमा बन्दुक थियो । अन्य प्रतिवादीहरूको हातमा लाठी फठ्ठा थियो । घटनास्थलबाट दक्षिणतर्फ भाग्दै गरेको देखेको प्रतिवादीहरूले जाहेरवालाहरूलाई मार्ने उद्देश्यले बन्दुक जस्तो घातक हतियार फायर गरेका हुन् भन्ने समेत प्रायः एकै मिलानको अलग अलग व्यहोरा रहेको वस्तुस्थिति मुचुल्काका बाबुनाथ यादव, जगदिश सोफी, सत्यनारायण मण्डल, रामबाबु यादव, शिवदयाल यादवले बकी लेखी लेखाई दिएको वस्तुस्थित मुचुल्का ।

यसमा अनुसन्धान कार्य सम्पन्न भै राय साथ प्राप्त सक्कल मिसिल संलग्न प्रमाण कागजात, किटानी जाहेरी, पीडितहरूको घा जाच केश फाराम, चश्मदिद गवाहहरूको किटानी कागज, बुझिएका मानिसहरूको कागज र पक्राउ परेका प्रतिवादीको बयान समेतका आधारबाट विरुद्ध खण्डको प्रतिवादीहरूबाट पीडितहरू माथि मार्ने नै उद्देश्यबाट गोली छर्रा प्रहार गरेको भन्ने प्रस्तुत ज्यान मार्ने उद्योगको वारदात पुष्टि हुन आयो ।

अब उक्त कसूर अपराध को को भई के कस्तो परिबन्धबाट भए गरेको रहेछ भनी मिसिल संलग्न प्रमाण कागजात अध्ययन गरी अभियोगतर्फ विचार गर्दा लक्ष्मीनियाँ गा.वि.स.मा  रहेका सबै ऐलानी जग्गाका पोखरीहरू ठेक्का लगाउने भए लगाउनु पर्छ कुनै लगाउने कुनै नलगाउने गर्नु हुँदैन भनी हामी जाहेरवालाले विपक्षी माथिको कार्यमा विरोध गर्दै आएकोमा विपक्षी कुशेश्वर गुर्मैता समेतले रिसइवी लिई राखेका रहेछन् । यस्तैमा मिति २०५५।५।२९ गतेका दिन बिहान १०.०० बजेतिर म स्कूलतर्फ जादैं गर्दाबाटोमा रासलालको घर नजिकमा पुग्दा विपक्षीहरू मेरो अगाडि आई मैले चिनेका कुशेश्वर गुर्मैता, रामकुमार, गंगाप्रसाद रासलाल, मनिकलाल र रामनाथ चिनेको व्यक्ति र अन्य नचिनेका ४÷५ जना समेतका व्यक्तिहरू कसैको हातमा लाठी, फठ्ठा र कुशेश्वर र रामकुमारको हातमा बन्दुक थियो, मलाई निजहरूले घेरा हाली यसलाई मारी देउ भनी रासलालले बचन दिनासाथ कुशेश्वरले आफ्नो हातमा बोकेको बन्दुकले म माथि प्रहार गरी घाईते बनाए । घटनास्थलमा बन्दुक पड्केको आवाज सुनी घटनास्थलमा आई पुगेको रामकृपाललाई रामकुमारले बोकेको बन्दुक फायर गरी घाईते बनाएर उसै बखत शैलेन्द्र भाग्न लाग्दा रासलाल र रामनाथले लखेटदै समाती गंगाप्रसादले बन्दुक ताकी फायर गरी घाइते बनाइ ज्यान मार्ने उद्योगको कार्य गरेको हुँदा निज प्रतिवादीहरू उपर कारवाही गरिपाऊँ भन्ने किटानी जाहेरी ।

हरिदेवको बायाँ कुहिनामा रामकृपालको बायाँ गर्दनको भागमा र शैलेन्द्रकुमारको बायाँ कुमको भागमा गोली (छर्रा) लागेको भन्ने घटनास्थल मुचुल्का । पीडितहरूको शरीरमा लागेको गोली (छर्रा) कडा प्रकृतिको विभिन्न नाप साइजका चोटहरू भएको भन्ने समेत व्यहोराको घा जाँच केश फाराम पीडित र प्रतिवादीहरू बीच पोखरी ठेक्का लगाउने विषयमा समेत विवाद हुदै आई रहेको अवस्थामा मिति २०५५।५।२९ गते हामीहरू आफ्नो काम विशेषले घटनास्थलकोबाटो हुँदै जादै गर्दा फगुनी मोचीको घर छेउमा योजना बनाई बसेको कुशेश्वर, रामकुमार, रासलाल, गंगाप्रसाद, मनिकलाल, रामनाथले घेराउ गरी रासलालले मार भनी बचन दिनासाथ कुशेश्वरले हरिदेव माथि बन्दुक फायर गरी घाइते बनाए, ज्यान मर्‍यो भनी हल्ला गरी निजहरूलाई पक्राउ गर्न खोज्दा रामकृपाल यादव र शैलेन्द्रकुमार यादवलाई प्र. मनिकलाल र रामनाथले पक्राउ गरी गंगाप्रसाद, शैलेन्द्र माथि र रामकुमारले रामकृपाल माथि बन्दुक फायर गरी घाईते पारी हो हल्ला हुँदा प्रतिवादीहरू आआफ्नो हतियार बोकी दक्षिणतर्फ भागी गएका हुन भन्ने समेत व्यहोराको चश्मदिद व्यक्ति चन्द्रशेखर यादव, कारी यादव र पाण्डव यादवको अलग अलग कागज पीडितसंग विभिन्न विषयमा विवाद भइ रहने हुँदा हरिदेव यादव समेतलाई गोली हानी मारिदिने भन्ने पूर्व योजनानुसार मिति २०५५।५।२९ गतेका दिन म लगायतका प्रतिवादीहरू घटनास्थलमा बसि रहेको अवस्थामा हरिदेवलाई देख्नासाथ कुशेश्वरले बन्दुक फायर गरी घाईते बनाए त्यसपछि गंगाप्रसादले रामकृपाल र शैलेन्द्र माथि बन्दुक फायर गरी घाइते बनाएका हुन । म लगायत अन्य प्रतिवादीहरूका साथमा लाठी फठ्ठा थियो भन्ने समेत व्यहोराको पक्राउ परेका प्र.रामकुमार यादवले अधिकार प्राप्त अधिकारीसमक्ष गरेको बयान ।

मिति २०५५।५।२९ गते घटनास्थलमा बन्दुक फायर भएको आवाज सुनी हामीहरू घटनास्थल पुग्दा घाइतेहरू गोली लागि लडेको र प्रतिवादी कुशेश्वर, गंगाप्रसाद र रामकुमारको हातमा बन्दुक र अन्य प्रतिवादीहरू लाठी लिई दक्षिण तर्फ भाग्दै गरेको देखेको हुँ । निजहरूले घाइतेहरूलाई पोखरी ठेक्का लगाउने विषयमा विवाद हुँदा सोही रिसईवीबाट ज्यान मार्ने नै मनसायबाट घाईतेहरू माथि साँघातिक रुपमा बन्दुक फायर गरेको हो भनी बुझिएका मानिस बाबुनाथ यादव, समेतका व्यक्तिहरूको कागज समेतका आधार प्रमाणबाट विरुद्ध खण्डमा उल्लिखित प्रतिवादीहरू र पीडितबीच पोखरी ठेक्का लगाउने विषयमा विवाद हुँदा सोही विषयमा प्रतिवादीहरूले रिसईवी लिई मार्ने योजना बनाई मिति २०५५।५।२९ गतेका दिन घटनास्थलमा योजना अनुसारबाटो ढुकी बसेका र पीडित हरिदेवलाई देख्ना साथ प्रतिवादीहरूले घेरा हाली भाग्न उम्कन नदिई प्रतिवादीहरू मध्ये रासलालले यसलाई मार भनी बचन दिनासाथ कुशेश्वर गुर्मैता आफ्नो साथमा भएको बन्दुकबाट फायर गरी निज हरिदेवलाई घाइते बनाएको र घटनास्थलमा भएका अन्य प्रत्यक्षदर्शीका मानिसहरूले ज्यान मार्‍यो भनी हल्ला गरी प्रतिवादीहरूलाई समाउन खोज्दा प्रतिवादी मनिकलाल महरा र रामनाथ महराले शैलेन्द्र र रामकृपाललाई समाते त्यसपछि गंगाप्रसादले शैलेन्द्र माथि र रामकुमारले रामकृपाल माथि बन्दुक फायर गरी हतियार हातमा दिई दक्षिणतर्फ भागी गएको भन्ने किटानी जाहेरी व्यहोरालाई घाईतेहरूको शरीरमा गोली (छर्रा) लागेको भन्ने घटनास्थल मुचुल्का । घाइतेहरूको शरीरमा विभिन्न प्रकृतिका गोली (छर्रा) लागि घा चोटहरू देखिएको र उक्त चोटहरू कडा प्रकृतिको भन्ने व्यहोराको घा जाँच केश फाराम र घटना देख्ने चश्मदिद व्यक्तिहरूको कागज समेतबाट पुष्टि हुन आएको हुँदा प्रतिवादी कुशेश्वर गुर्मैता, रामकुमार गुर्मैता, गंगाप्रसाद गुर्मैता यादव, रासलाल महरा चमार, मनिकलाल महरा चमार, धौली भन्ने रामनाथ महरा चमार समेतले पहिले देखिको रिसईवीको कारणबाट घाईतेहरूलाई मार्ने पूर्व योजना बनाई बाटो ढुकी लुकी छिपी बसेको र घाईते हरिदेवलाई देख्नासाथ यसलाई मार भनी रासलालले वचन दिनासाथ कुशेश्वरले मार्ने उद्देश्यले नै बन्दुक फायर गरेका तत्काल घटनास्थलमा पुगेका शैलेन्द्र र रामकृपाललाई भाग्न उम्कन नदिई मनिकलाल महरा रामनाथ महराले समाई गंगाप्रसादले शैलेन्द्र माथि रामकुमारले रामकृपाल माथि बन्दुक फायर गरी मार्ने सम्मको कार्य गरेको हुँदा संकलित सबूद प्रमाणबाट पुष्टि भएको देखिंदा विरुद्ध खण्डमा उल्लिखित प्रतिवादीहरूले ज्यानसम्बन्धी  महलको १ नं. १५ नं. अनुसारको कसूर अपराध गरेको हुँदा प्र. कुशेश्वर गुर्मैता, गंगाप्रसाद गुर्मैता, रामकुमार गुर्मैता, रासलाल महरा चमार, मनिकलाल महरा र धौली भन्ने रामनाथ महरा चमारलाई ऐ. ऐ.को १५ नं. बमोजिम सजाय हुन प्राप्त सक्कल मिसिल र मानिस रामकुमार गुर्मैता यादवलाई यसै अभियोग पत्र साथ सम्मानित अदालतसमक्ष प्रस्तुत गरिएको व्यहोरा सादर अनुरोध गरिएको छ ।

साथै फरार रहेका अन्य प्रतिवादीहरू कुशेश्वर गुर्मैता, गंगाप्रसाद गुर्मैता, रासलाल महरा चमार, मनिलाल महरा चमार र धौली भन्ने रामनाथ महरा चमारको हकमा सम्मानित अदालतबाटै म्याद जारी भै कानूनबमोजिम हुने र जाहेरीमा उल्लिखित अन्य नाम, थर वतन खुल्न नआएका प्रतिवादीहरूका हकमा पछि स्पष्ट नाम, थर, वतन, खुल्न आएका वखत कानूनबमोजिम छुट्टै दावी लिने व्यहोरा समेत अनुरोध गरिएको छ भन्ने समेत व्यहोराको अभियोग पत्र ।

अभियोग दावी सुने, दावी झूठा हो । मैले जाहेरवालाहरूलाई बन्दुक फायर गरी ज्यान मार्ने उद्योग गरेको छैन । म निर्दोष व्यक्ति हुँदा झूठा अभियोग माग दावीबाट सफाइ पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी रामकुमार यादवले शुरु अदालतमा गरेको बयान ।

मिति २०५५।५।२९ गतेका दिन म आफ्नो घर सिग्याही मडानमा छु । जाहेरवाला र प्रतिवादी कुशेश्वर समेतका व्यक्तिहरूसंग मेरो भेटघाट भएन । मैले कुनै पनि अपराध नगरेको हुँदा अभियोग दावी झूठा हो । माग दावीअनुसार सजाय हुनु नपर्ने हुँदा सफाइ पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी रामनाथ महराले शुरु अदालतमा गरेको बयान ।

मिति २०५५।५।२९ गतेका दिन म गाउँ घरमा नभै जिल्ला धनुषा यदुकोहा गा.बि.स.मा  छु । उक्त दिन जाहेरवालाहरूसग भेटघाट छैन भएन । प्रतिवादीहरू मध्ये कुशेश्वर, रामकुमारसंग भेट भएको छ । उक्त दिन धनुषा जिल्लामा हुँदा मैले ज्यान मार्ने उद्योग गरेको होइन । मलाई अभियोग माग दावीबमोजिमको सजाय हुनुपर्ने होइन । मैले कुनै कसूर गरेको नहुँदा सफाइ पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी गंगाप्रसाद यादवले शुरु अदालतमा गरेको बयान ।

मिति २०५५।५।२९ गतेका दिन म धनुषा जिल्ला यदुकोहा गा.वि.स.मा थिए । प्रतिवादी मध्येका रामकुमार र गंगाप्रसादसंग समेत भेटघाट भयो । जाहेरवालासंग भेटघाट छैन । जाहेरी दरखास्तका सम्पूर्ण कागजातहरू झूठा हुन । उक्त घटना मिति, समयमा म आफ्नो गाउँ घरमा नभै अन्यत्र भएको हुँदा जाहेरी अभियोगपत्र बमोजिम मैले कुनै प्रकारले जाहेरवालालाई ज्यान मार्ने उद्योग अपराध गरेको छैन । राजनैतिक रिसइवीको कारणले जाहेरी दिएका हुन । मलाई अभियोग पत्रअनुसार सजाय हुनुपर्ने होइन म निर्दोष छु सफाइ पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी कुशेश्वर यादवले शुरु अदालतमा गरेको बयान ।

प्र.रामलाल महरा चमार र मनिकलाल महरा चमार नाउँको म्याद मिति २०५५।९।१७ गते तामेल भएकोमा म्यादमा उपस्थित नभै शुरु म्यादै गुजारी बसेका ।

पोखरी ठेक्का लगाउने विषयमा यी प्रतिवादीहरूसंग बिवाद भएको कारणले यिनीहरूले मार्ने नियतले हामीहरूलाई गोली हानी ज्यान मार्ने उद्योग गरेका हुन भन्ने समेत व्यहोराको जाहेरवाला शैलेन्द्रकुमार यादवले अदालतमा गरेको बकपत्र ।

मिति २०५५।५।२९ गते हरिदेव स्कूल जाँदै गर्दा कुशेश्वरले गोली हानी घाइते बनाएको म लगायत ५।७ जना त्यहाँ पुग्दा मलाई समेत रामकुमारले गोली हानी घाइते बनाए, शैलेन्द्रले मेरो बचाउ गर्न खोज्दा गंगाप्रसादले शैलेन्द्रलाई गोली हानी ज्यान मार्ने उद्योग गरेका हुन् भन्ने समेत व्यहोराको जाहेरवाला रामकृपाल यादवले अदालतमा गरेको बकपत्र ।

म मिति २०५५।५।२९ गते स्कूल गइरहेको समयमा यी प्रतिवादीहरूले मलाई घेरा हाल्न लाग्दा भाग्ने क्रममा रासलालले मेरो काममा बाधा पुर्‍याउने यसलाई यही समाप्त गरी दे भन्नासाथ कुशेश्वरले गोली हानी मलाई घाइते बनाई ज्यान मार्ने उद्योग गरेका हुन् भन्ने समेत व्यहोराको जाहेरवाला हरिदेव यादवले अदालतमा गरेको बकपत्र ।

प्र.रामकुमार यादव, कुशेश्वर यादव, गंगाप्रसाद यादवका साक्षी संजिव यादव, जगत नारायण यादव, प्र.रामनाथ महराको साक्षी झगरु महरा, प्र.गंगाप्रसाद यादवको साक्षी कृष्णदेव साह, प्र.कुशेश्वर र रामकुमारका साक्षी चन्द्रेश्वर यादव र वस्तुस्थितिका मानिस समेतहरूको बकपत्र मिसिल संलग्न रहेको ।

प्रतिवादी कुशेश्वर यादव थुनामा रहेका र प्र.रामकुमार, गंगाप्रसाद, रामनाथ जेथा जमानी राखी तारेखमा रहेका ।

जिल्ला प्रहरी कार्यालय, सिरहाको च.नं.७८४८ मिति २०५७।२।२७ को पत्र साथ प्र.मनिकलाल महरालाई दाखेल गराइएको ।

जाहेरीअनुसार मैले कुनै हातहतियार प्रयोग गरी जाहेरवाला रामकृपाल यादव, समेतका व्यक्तिलाई ज्यान मार्ने उद्योग गरेको होइन । गाउँ घरको पार्टीगत रिसइवीले फसाउन म उपर झूठा मुद्दा दिएका हुन् भन्ने समेत व्यहोराको प्रतिवादी मनिकलाल महराले शुरु अदालतमा गरेको   बयान ।

प्रतिवादीको साक्षी रामचन्द्र साह, रामअशिष यादव समेतको बकपत्र भै मिसिल संलग्न रहेको ।

प्रतिवादीहरू मध्येका प्र.रासलाल र प्र.मनिकलाल महरा फरार रहेको हुँदा निजहरूको हकमा अ.वं. १९० नं. बमोजिम मुल्तबी रहने ठहर्छ । प्र.कुशेश्वर गुर्मैता यादव, रामकुमार गुर्मैता यादव, गंगाप्रसाद गुर्मैता यादव, धौली भन्ने रामनाथ महराको हकमा वादी दावीअनुसार ज्यान मार्ने उद्योगको कसूर गरे भन्ने दावी पुग्न नसकी सफाइ पाउने ठहर्छ भन्ने समेत व्यहोराको सिरहा जिल्ला अदालतको मिति २०५६।६।३ को फैसला ।

प्रतिवादी मनिकलाल महरालाई ज्यान सम्बन्धीको १५ नं. बमोजिम सजाय गरिपाऊँ भन्ने अभियोग माग दावी नपुग्ने भई निजले सफाइ पाउने ठहर्छ भन्ने समेत व्यहोराको सिरहा जिल्ला अदालतको मिति २०५७।५।१३ को   फैसला ।

जाहेरवाला हरिदेव यादवको ज्यान मार्ने नियतले बाटो ढुकी बसी जाहेरवालालाई सबै प्रतिवादीहरूले घेराउ गरी प्रतिवादीमध्येका कुशेश्वर यादवले निजलाई बन्दुक प्रहार गरेका र निजको हार गुहार सुनी घटनास्थलमा पुगेका शैलेन्द्रकुमार यादव र रामकृपाल यादव समेतलाई क्रमशः गंगाप्रसाद यादव र रामकुमार यादवले बन्दुक प्रहार गरी सख्त घाइते बनाई ज्यान मार्ने उद्योग गरेका हुन भनी पीडितहरूले मौकामा जाहेरी दर्खास्त दिएका हुन भनी अदालतमा उपस्थित भई तीनै जना जाहेरवालाहरूले मौकाको जाहेरी व्यहोरालाई पुष्टि गरी बकपत्र गरिदिएका छन् । साथै बारदातको चश्मदिद कारी यादव समेतका व्यक्तिहरूले जाहेरवालाहरूलाई बन्दुक प्रहार गरेको आफ्र्नै आँखाले देखेको भनी बकपत्र गरिदिएका छन् भने वस्तुस्थिति मुचुल्काका मानिसहरूले पनि बन्दुक प्रहार गरी ज्यान मार्ने उद्योग गरेका कुरा पुष्टि गरी बकपत्र गरेको अवस्थामा निराधार तर्क लिई वादीको गवाहको बयान मिल्दो जुल्दो नदेखिएको भनी गरेको शुरु जिल्ला अदालतको फैसला न्याय, कानून तथा श्री सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त समेतको प्रतिकूल हुने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी दावीअनुसार प्रतिवादीहरूलाई सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन अदालतमा पर्न आएको पुनरावेदन पत्र ।

मनिकलालले शैलेन्द्रकुमार यादवलाई लखेटदै समाती गंगाप्रसादको हातमा भएको भरुवा बन्दुकले प्रहार गरेको भनी उल्लेख गरी जाहेरी दिएको अवस्थामा प्रतिवादीलाई सफाइ दिने गरी भएको शुरु सिराहा जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी प्रतिवादीलाई सजाय समेत गरिपाऊँ भन्ने समेत व्यहोराको वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन अदालतमा पर्न आएको पुनरावेदन पत्र ।

यसमा पीडित व्यक्तिहरूको घाँ जाँच केश फारमबाट निजहरूलाई बन्दुकको गोलीबाट भएका चोटहरू परेको देखिएको अवस्थामा प्रतिवादीहरूलाई सफाइ दिने ठहर्‍याएको शुरुको फैसला फरक पर्नसक्ने देखिंदा अ.वं.२०२ नं.बमोजिम छलफलको लागि प्रत्यर्थीहरूलाई झिकाई नियमानुसार पेश गर्नु भन्ने समेत व्यहोराको पुनरावेदन अदालतको संयुक्त इजलासबाट मिति २०५८।६।७ को आदेश ।

जाहेरवालाले जाहेरीमा लेखिएको कुरा र जाहेरवालाले अदालतमा साक्षीको रुपमा उपस्थित भई बकपत्र गरेको कुरा एकअर्का संग विपरीत छ भने त्यस्तै प्रकारले प्रहरीमा कागज गर्ने चन्द्रशंकर यादव समेतले प्रहरीमा कागज गर्दा भनेका कुरा र अदालतमा साक्षीका रुपमा वकपत्र गर्दा भनेको कुरा एक अर्कासंग विपरीत भएको कुरा निजहरूले प्रहरीमा गरिदिएको कागज र अदालतमा गरेको बकपत्रले नै प्रमाणित गरेको छ । जाहेरीमा भनेको र अदालतमा बकपत्र गर्दा भनेको कुरा, त्यस्तै प्रहरीमा भएको र अदालतमा बकेको कुरा बाँझिएमा प्रमाणमा लिन नहुँने भनी सम्मानित सर्वोच्च अदालतबाट विभिन्न कर्तव्य ज्यान मुद्दाहरूमा नजीर कायम भइसकेको छ भन्ने समेत व्यहोराको प्रत्यर्थी प्रतिवादीहरू कुशेश्वर गुर्मैता यादव, रामकुमार गुर्मैता यादव, गंगाप्रसाद गुर्मैता यादव र मनिकलाल महरा समेतको पुनरावेदन अदालतमा पेश गरेको संयुक्त लिखित प्रतिवाद ।

मिसिलसाथ संलग्न सबूद प्रमाण एंव सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त समेतको आधारबाट प्रतिवादी कुशेश्वर गुर्मैता प्रतिवादी रामकुमार गुर्मैता र प्रतिवादी गंगाप्रसाद गुर्मैताले  पीडितहरू माथि बन्दुक प्रहार गरी ज्यान मार्ने उद्योगको कार्य गरेको देखिदा निजहरूलाई मुलुकी ऐन, ज्यान सम्बन्धीको १५ नं. बमोजिम जनही ५(पाँच) वर्ष कैद हुने ठहर्छ । सो बमोजिम नगरेको सिराहा जिल्ला अदालतको फैसला आंशिक उल्टी भै अन्य प्रतिवादीहरू मनिकलाल महरा र धौली भन्ने रामनाथ महरालाई आरोपित कसूरबाट सफाइ दिएको शुरुको फैसला सो हदसम्म मिलेकै देखिंदा सदर हुने ठहर्छ । प्र. मनिकलाल महरा र प्र. धौली भन्ने रामनाथ महराउपरको वादी पक्षको पुनरावेदन जिकीर पुग्न सक्तैन भन्ने समेत व्यहोराको पुनरावेदन अदालत राजविराजको मिति २०६०।१।२४ को फैसला ।

जाहेरवालाहरूको ज्यान मार्नुपर्ने रिसइवी कतै कहि देखिदैन । निजहरू सबैको बकपत्रमा ज्यान मार्नु पर्ने कारण अवस्था, कामको परिणाम समेतको बकपत्रको कुरामा भिन्नता देखिन्छ । पोखरीको ठेक्का ज्यान मार्ने रिसइवीको विषय बन्दैन । त्यस्तो ठेक्कासंग मेरो कुनै सरोकार छदै छैन । फैसलामा उल्लेख गरेको जगदिश साफी, सत्यनारायण मण्डल, शिवदयाल यादव, बाबुनाथ यादव तथा पाण्डव यादव समेतलाई जाहेरी दरखास्त, मौकामा देखिजान्ने प्रमाण भनी उल्लेख छैन। जाहेरवालाको भनाई गराइ तथा उल्लिखित व्यक्तिहरूको बकपत्र एक आपसमा बाँझिएको छ। ज्यान मार्ने रिसइवी मतलव समेत भए गरेको देखिने पूर्वावस्था कसैले देखाउन सकेको छैन । यस्तोमा नलाग्ने सबूद प्रमाण उल्लेख गरी मैले ज्यान मार्ने उद्योग गरेको ठहर गरी नलाग्ने मुद्दाको तथ्य प्रतिकूलको कानूनी सिद्धान्तको नजीर लगाई पुनरावेदन अदालत, राजविराजको त्रुटिपूर्ण फैसला बदर गरी न्याय इन्साफ गरिपाऊँ भन्ने समेत व्यहोराको कुशेश्वर गुर्मैता यादवको यस अदालतमा पेश गरेको पुनरावेदन पत्र ।

जाहेरवालामध्ये शैलेन्द्रकुमार यादवलाई मैले विनाकारण ज्यान मार्नु पर्ने मनसाय कतै देखिदैन । निजको अदालतको बकपत्रको सवाल जवाफ ५ मा जाहेरवाला हरिदेव यादवले शैलेन्द्रकुमार यादवलाई गोली हानेको भन्ने छ । मेरो घर खान तलासी गरिएको छ । बन्दुक तथा गोली मेरो घरबाट वरामद भएको छैन । यस प्रकार शैलेन्द्रकुमार यादवलाई ज्यान मार्ने मनसाय रहे भएको तथा मैले बन्दुकले ज्यान मार्नेसम्मको काम कुरा गरेको भन्ने तथा ठहर्‍याउने पूर्वावस्था र तथ्यसंगत न्यायोचित आधार कतै पनि छैन । हरिदेव यादवको अदालतमा भएको बकपत्रले उल्लेख गरेको वारदातको ठाउँ र दूरी तथा जाहेरवालामध्येकै शैलेन्द्रकुमार यादवले उल्लेख गरेको वारदातस्थल र दूरी तथा रामकृपाल यादवको बकपत्रले देखाएको वारदातस्थल र दूरी कुनै एक आपसमा मिल्दैन । प्रमाणको न्यायिक मूल्याङ्कन नगरी शुरु सिराहा जिल्ला अदालतको इन्साफ उल्टी हुने ठहर गरेको पुनरावेदन अदालत, राजविराजको निर्णयमा गम्भीर कानूनी त्रुटि हुँदा उक्त फैसला बदर गरी न्याय इन्साफ गरिपाऊँ भन्ने समेत व्यहोराको प्र.गंगाप्रसाद गुर्मैता यादवको पुनरावेदन पत्र ।

जाहेरवालाले उल्लेख गरेको र बकपत्र गरेको वारदातको विभिन्न स्थल देखिएको कुनै पनि ठाउँमा मेरो उपस्थित छैन । मेरो साक्षी समेतको बकपत्रबाट घटनास्थलमा म उपस्थित नभएको मलाई कुटपीट गरेको घा जाँचको प्रमाण भएकोमा अभियोग माग दावीबमोजिम ज्यान मार्ने उद्योग नगरेको भन्ने अदालतमा बयान भइराखेकोमा मैले सफाइ पाउने प्रमाणको न्यायिक मूल्याङ्कन नगरी घाउ जाँच केश फाराम  समेतमा रामकृपाल यादवको शरीरमा लागेको घा खत ज्यान सम्बन्धीको १ र १५ नं. बमोजिम ज्यान मार्ने उद्योगको पूर्वावस्था हुन सक्दैन । चोटको प्रकृति र गम्भीरता कुनै पनि कुराले ज्यान मार्ने उद्योग भए गरेको देखिदैन । यस्तोमा घाउ जाँच केश फाराममा उल्लिखित तथ्य प्रतिकूल ज्यान मार्ने उद्योगसम्बन्धी गोली हान्ने चलाउने समेतको कुनै काम मैले नगरेको, मेरो बयान कागज र पुनरावेदन अदालत, राजविराजको मिति २०५५।८।२५ को आदेश समेतको कुराको प्रमाण नबुझी झूठा अभियोगमा फसाउने गरी मैले अपराध गरेको ठहर्‍याएको पुनरावेदन अदालत, राजविराजको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी न्याय इन्साफ गरिपाऊँ भन्ने समेत व्यहोराको प्र.रामकुमार गुर्मैता यादवको पुनरावेदन पत्र ।

यसमा प्रतिवादीमध्येका रामकुमार यादव अनुसन्धानको क्रममा सावित भएपनि अदालतमा कसूरमा इन्कार रही बयान गरेको देखिनुका साथै प्रतिवादीहरूले जाहेरवालालाई मार्ने नै नियत राखेका भए घाइते भएपछि पनि पुनः आक्रमण गर्नुपर्नेमा सो भएको नदेखिएको तथा तेस्रो पक्षको हस्तक्षेप पनि नभएको घाउ चोटको प्रकृति मर्ने सम्मको अवस्थाको नदेखिएको, अस्पतालमा सामान्य उपचार गराई फर्केको भन्ने देखिएको यस अवस्थामा पुनरावेदन अदालत राजविराजले प्रतिवादीहरूलाई ज्यान मार्ने उद्योगको कसूर कायम गरी सजाय गर्ने गरी भएको फैसला फरक पर्नसक्ने देखिंदा अ.वं. २०२ नं. बमोजिम प्रत्यर्थी झिकाई नियमानुसार पेश गर्नु भन्ने यस अदालतको मिति २०६५।५।८ को आदेश ।

यसमा पीडित हरिदेव यादव समेतको घा जाँच गरी केश फारम भर्ने मेडिकल अफीसरलाई झिकाई बकपत्र गराई नियमबमोजिम पेश गर्नु भन्ने यस अदालतको मिति २०६५।१२।११ को आदेशानुसार बकपत्र भई मिसिल सामेल रहेको ।

नियमबमोजिम दैनिक मुद्दा पेसी सूचीमा चढी निणर्याथ आज यस इजलाससमक्ष पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री हरिकृष्ण कार्कीले जाहेरवालाहरूको अदालतमा भएको बकपत्र र देखिजान्ने भनिएको व्यक्तिको बकपत्रबाट ज्यानसम्बन्धी महलको १ नं.र १५ नं. को वारदात भए गरेको कहि कतै देखिदैन । ज्यान मार्नेसम्मको काम गरेको भए सो काम गर्दा कर्सैले अवरोध खडा गरी ज्यान मर्न नपाएको भन्ने देखिने बुझिने कुनै सबूद प्रमाण मिसिलमा छैन । हरिदेव यादवको घाउ जाँच केश फाराम  भनिएको कागजमा ज्यान मर्नेसम्मको  घाउ खत भएको उल्लेख छैन । कडा भन्ने लेखेको प्रकृतिले मात्र ज्यान मार्नेसम्मको काम कुरा भएको प्रमाणित हुँदैन । घटना भएको भन्ने कुरा शंंकारहित तवरले पुष्टि हुन सकेको   छैन । घर खानतलासी गर्दा हतियार वरामद भएको छैन । त्यसकारण यी पुनरावेदकहरूले सफाइ पाउनु पर्छ भन्ने समेत बहस गर्नुभयो ।

वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान उपन्यायाधिवक्ता श्री योगराज वरालले मिसिल संलग्न प्रमाण कागजबाट प्रतिवादीहरूको ज्यान मार्ने नियत पुष्टि भएको  छ । वारदातमा अवरोध उत्पन्न भएकोले वारदातले पूर्णता पाउन नसकेको समेत पुष्टि भै राखेको अवस्थामा प्रस्तुत मुद्दाको वारदात नै घटित नभएको भन्न नमिल्ने, किटानी जाहेरी दरखास्त, घाइतेहरूको घाउ जाँच केश फाराम, वस्तुस्थिति मुचुल्कामा बस्ने व्यक्तिहरूको भनाईलाई पुष्टि गरी अदालतमा गरेको बकपत्र, पूर्व रिसइवीको कारणबाट वारदात समेत भएको देखिएकोले पुनरावेदक प्रतिवादीहरूलाई अभियोग माग दावीबमोजिम सजाय गरेको फैसला सदर हुनु पर्छ भन्ने समेत व्यहोराको बहस प्रस्तुत गर्नुभयो ।

विद्वान कानून व्यवसायीहरूको बहस बुँदालाई समेत मध्यनजर राख्दै मिसिल संलग्न प्रमाण कागजको अध्ययन गरी हेर्दा पुनरावेदन अदालत, राजविराजको मिति २०६०।१।२४ को फैसला मिलेको छ, छैन ? पुनरावेदन जिकीर बमोजिम हुनुपर्ने हो वा होइन ? सोही विषयमा निर्णय दिनुपर्ने देखियो ।

२.    यसमा ज्यान मार्न बचन दिएको भनिएको प्रतिवादी रासलाल महरा फरार रही निजको हकमा अ.बं.१९० नं.बमोजिम मुल्तवी रहेकोले निजको हकमा अहिले केही बोलिरहनु परेन । पुनरावेदन गरेका प्रतिवादीहरूको हकमा निर्णयतर्फ विचार गर्दा, जाहेरवाला हरिेदेव यादव वारदातको दिन पढाउन स्कूलतर्फ गैरहेको बेला रासलालको घरनेर आई पुगेपछि प्रतिवादी कुशेश्वर गुर्मैताले हातमा बोकेको बन्दुकबाट आफू माथि फायर गरी घाइते बनाएको, त्यसै गरी प्रतिवादी रामकुमार यादवले बन्दुकले जाहेरवाला रामकृपाल यादव माथि गोली प्रहार गरेको र जाहेरवाला शैलेन्द्रकुमार यादवलाई प्रतिवादी गंगाप्रसाद यादवले भरुवा बन्दुकबाट फायर गरी अन्य प्रतिवादीहरू समेत मिली ज्यान मार्ने उद्योग गरेकाले ज्यान मार्ने उद्योगतर्फ सजाय हुन अभियोग दावी भएकोमा शुरु जिल्ला अदालतले प्रतिवादीहरूलाई सफाइ दिने ठहराएको फैसला केही उल्टी गरी प्रतिवादीहरू कुशेश्वर गुरमैता, गंगाप्रसाद गुर्मैता र रामकुमार गुरमैतालाई ज्यानसम्बन्धी महलको १५ नं.बमोजिम कैद सजाय गर्ने गरी फैसला गरे उपर उक्त प्रतिवादीहरूको पुनरावेदन परी निर्णयार्थ पेश भएको देखियो ।

३.    यसमा यी पुनरावेदक प्रतिवादीहरूले नै बन्दुकबाट फायर गरेको भनी पीडित व्यक्तिहरू हरिदेव, शैलेन्द्र र रामकृपालको किटानी जाहेरी दरखास्त परेको छ ।

४.    जाहेरवालाहरूले जाहेरी दरखास्तको व्यहोराको पुष्टि हुने गरी अदालतमा समेत बकपत्र गरेको देखिन्छ । जिल्ला स्वास्थ्य कार्यालय सिराहाबाट भएको घाउ जाँच केश फाराम  हेर्दा पीडित हरिेदेव यादवको टाउको, छाती समेतको शरीरको चार ठाउँमा, शैलेन्द्रकुमार यादवको पाखुरा समेत दुई ठाउँमा र रामकृपाल यादवको घाँटीको पछाडि पाखुरा समेत तीन ठाउँमा बन्दुकबाट गोली फायर गरिएको प्रहारबाट कडा किसिमको चोट लागेको र निजहरूको शरीरबाट छर्रा निकालिएको समेत देखिन्छ । बन्दुक फायरको घटना घटेको हो भनी घटनास्थल मुचुल्काका मानिसहरूले अदालतमा आई बकपत्र समेत गरेको मिसिल संलग्न रहेको पाइन्छ ।

५.    वस्तुस्थिति मुचुल्कामा कागज गर्ने मानिस जगदीश साफी, सत्यनारायण मण्डल र शिवदयाल यादवले अदालतमा आई गरेको बकपत्र हेर्दा यी प्रतिवादीहरूले पीडित जाहेरवालाहरू माथि बन्दुक प्रहार गरेको कुरा स्पष्टरुपमा लेखाई दिएको देखिन्छ । चश्मदिद गवाह पाण्डव यादवले अदालतमा उपस्थित भै गरेको बकपत्र हेर्दा कुशेश्वर गुर्मैताले हरिेदेव यादवलाई गंगा गुर्मैताले शैलेन्द्र माथि र रामकुमार गुर्मैताले रामकृपाललाई बन्दुकबाट गोली हानेको हुँदा म समेतले पीडितहरूलाई उपचार गर्न लगेको भनी प्रष्टरुपमा लेखाई दिएका छन् । शुरुमा कागज गर्ने कारी यादव र चन्देश्वर यादवको बकपत्र समेतबाट उक्त तथ्यको पुष्टि भएको मिसिल संलग्न प्रमाण कागजबाट देखिन्छ । पीडितहरूको घाउ जाँच गर्ने अस्पतालको चिकित्सकको बकपत्र समेतबाट पीडितहरूलाई बन्दुक फायर ९न्गलकजयत० बाट चोट लागेको भन्ने देखिन्छ । यसबाट पनि उक्त घटना भएको थप पुष्टि हुन्छ । वारदात मिति २०५५।५।२९ मा भएको र खानतलासी मुचुल्का मिति २०५५।६।१ मा भएको कारणले पनि होला वारदातमा प्रयोग भएका हतियार बन्दुक प्रतिवादीहरूबाट वरामद हुन नसक्नुबाट वारदात नै घटित भएको होइन भन्ने निष्कर्ष निकाल्न मिल्दैन ।

६.    प्रस्तुत मुद्दामा ज्यान मार्ने उद्योगको वारदात भएको भनी दावी गरिएको पाइन्छ । सामान्यता ज्यान मार्ने उद्योगको वारदातमा तेस्रो पक्षिय अवरोधको सिद्धान्त Doctrine of third party intervention को विचार गर्नुपर्ने हुन्छ । किनभने ज्यानै मार्ने नियतले अभियुक्तले कर्तव्य गरेको तर ज्यान नमारी त्यसै छोडेको हो वा भरमजदूर कर्तव्य गर्दा पनि ज्यान मर्न नपाएको  हो ? त्यसको निक्र्यौल गर्नुपर्ने हुन्छ । तर यो सिद्धान्त ज्यान मार्ने उद्योगको प्रत्येक वारदातमा एकसमान लागू हुने सिद्धान्त होइन । यो ज्यान मार्ने उद्योगको वारदातको प्रकृतिमा निर्भर रहने कुरा हो । अनेक प्रकारले ज्यान मार्ने उद्योगको वारदात घटित हुन सक्ने हुन्छ । साधारण लात, मुक्का, लाठी, ढुँगाले कुटपीट गर्दा वा चक्कु, खुकुरी वा यस्तै धारिलो हतियार वा धार नभएको हतियार द्यगिलत धभबउयल को प्रयोगबाट पनि ज्यान मार्ने उद्योग हुन सक्दछ । यी र यस्तै प्रकारका अन्य ज्यान मार्ने उद्योगको वारदातमा पीडित र पीडकबीच प्रत्यक्ष सम्पर्क हुने गर्दछ । तर यी बाहेक प्रत्यक्ष पारस्परिक सम्पर्क बेगर पनि ज्यान मार्न उद्योग हुन सक्ने सम्भावनालाई इन्कार गर्न सकिदैन । उदाहरणका लागि टाढैबाट बम प्रहार गरेर वा बन्दुकबाट गोली प्रहार गरेर पनि ज्यान मार्ने उद्योग गर्न सकिन्छ ।

७.    ज्यान मार्ने उद्योग गर्नु भनेको कसैको ज्यान मार्ने प्रयास गर्नु हो । टाढैबाट बम वा बन्दुकको गोली प्रहारबाट पनि कसैको ज्यान मार्ने प्रयास वा उद्योग गर्न सकिन्छ । त्यस्तो प्रहार संवेदनशील ठाउँमा र प्रहारकर्ताले ताकेको निशानामा लागेमा ज्यान मर्न सक्दछ । तर निशानामा वा मर्मस्थानमा नलागेमा ज्यान मर्दैन । यस्तोमा कुनै तेस्रो पक्षीय अवरोधको सिद्धान्त लागू नै हुँदैन । किनभने Doctrine of third party intervention ले ज्यान मार्न खोज्नेले ज्यान मार्ने प्रयास गर्दा गर्दै कुनै बाह्य तत्व वा परिस्थितको उपस्थितलाई जनाउँदछ । त्यहाँ पीडितको गुहार सुनी अन्य मानिस आई पुग्न सक्दछ वा बचाउ गर्ने कुनै मानिस वा अन्य तत्वको उपस्थिति हुन सक्दछ वा कसैलाई कुटपीट गरी पीडितलाई धकेल्दा इच्छित ठाउँमा नखसी अन्यत्र रोकिन सक्दछ वा मर्‍यो भन्ने जानेर फालिएको मानिसलाई तत्काल औषधोपचार हुन सकेर पनि ज्यान जोगिन सक्दछ । तर बन्दुक फायर गरिएको अवस्था भनेको त्यस्तो होइन। फायर गर्नु नै ज्यान मार्ने प्रयास गर्नु हो । यसमा Third party intervention को सिद्धान्त ज्यान मार्ने उद्योगका अरु वारदात जस्तै गरी लागू हुन सक्दैन । त्यसकारण प्रस्तुत वारदातमा कुनै अवरोधको पुष्टि नभएबाट ज्यान मार्ने उद्योगको वारदात घटित भएको होइन भनी भन्न मिल्ने देखिदैन । सो सम्बन्धमा पुनरावेदकहरूको तर्फका विद्वान अधिवक्ताले उठाएको बहस जिकीरसंग सहमत हुन सकिएन ।

८.    यी पुनरावेदक र पीडितहरू बीच सार्वजनिक पोखरी ठेक्कामा लगाउने विषयमा वादविवाद परी रिसइवी रहेको मिसिल संलग्न प्रमाण कागजबाट देखिन्छ । वारदात जाहेरवाला र प्रतिवादीहरूको गाउँमा भएको हो र पोखरीको ठेक्कासम्बन्धी रिसइवीको कारणले ज्यान मार्ने मनसायले प्रतिवादीहरू तयारीका साथबाटो ढुकी बसेको देखिन्छ । यी प्रतिवादीहरूले पीडित व्यक्ति माथि एकपछि अर्कोलाई बन्दुक प्रहार गरेको अवस्था छ । बन्दुकको आवाज सुनि गाउँकै विभिन्न व्यक्ति सो ठाउँमा आएको समेतबाट त्यहाँ अवरोधको सिर्जना समेत भई प्रतिवादीहरूले पुनः ज्यान मार्ने प्रयास गर्न नसकेको र समयमै उपचारको व्यवस्था समेत भएबाट पीडितहरूको ज्यान मर्न भने नपाएको देखिन्छ । यी सबै तथ्यहरू जाहेरी दरखास्त, वस्तुस्थिति मुचुल्का, पीडित व्यक्तिहरूको घाउ जाँच केश फाराम, मौकामा पक्राउ परेका प्रतिवादी रामकुमार यादवले पीडित व्यक्तिहरू र प्रतिवादीहरू बीच राजनैतिक पार्टी एवं पोखरीको विषयलाई लिएर रिसइवी भै आफू समेत घटनास्थलमा गएको र पीडित माथि कुशेश्वर र गंगाप्रसादले बन्दुक प्रहार गरेका हुन भनी गरेको बयान तथा चश्मदिद व्यक्तिहरूले अदालतमा समेत उपस्थित भै गरेको बकपत्र समेतबाट पुष्टि भइरहेको पाइन्छ । प्रतिवादी कुशेश्वर गुर्मैता र गंगाप्रसाद गुर्मैता यादवले लिएको अन्यत्रोपस्थित ब्ष्दिष् ठोस प्रमाणबाट प्रमाणित हुन सकेको छैन । यी सबै प्रमाणहरूको समष्टिगत विवेचना गरी हेर्दा यी प्रतिवादीहरू कुशेश्वर गुर्मैता, गंगाप्रसाद गुर्मैता यादव र रामकुमार गुर्मैता यादवले क्रमशः हरिदेव यादव, रामकृपाल यादव र शैलेन्द्रकुमार यादवको ज्यान मार्ने उद्योगको वारदात घटाएको पुष्टि हुन  आउँछ ।

९.    यसरी यी प्रतिवादीहरूले गरेको कार्य ज्यान मार्ने मनसायले गरेको अपराधिक कार्य भई यी प्रतिवादीहरूले बन्दुक जस्तो जोखिमी हतियार प्रयोग गरी पीडितहरूलाई मार्ने गरी फायर गरेको भएतापनि ज्यान भने मर्न नपाएको अवस्था मिसिल संलग्न प्रमाणबाट देखिइरहेकोले यी तीनै जना पुनरावेदक प्रतिवादीहरूले आरोपित ज्यान मार्ने उद्योगको कसूर गरेको प्रमाणित हुन आउँछ ।

१०.    अतः माथि विवेचित आधार प्रमाणबाट प्रतिवादीहरू कुशेश्वर गुर्मैता, रामकुमार गुर्मैता र गंगाप्रसाद गुर्मैताले बन्दुक प्रहार गरी ज्यान मार्ने उद्योगको कसूर गरेको देखिंदा निजहरूलाई मुलुकी ऐन, ज्यान सम्बन्धी महलको १५ नं.बमोजिम जनही ५ (पाँच) बर्ष कैद हुने ठहर्‍याएको पुनरावेदन अदालत, राजविराजको मिति २०६०।१।२४ को फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ । प्रतिवादीहरूको पुनरावेदन जिकीर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कटृा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई  दिनू । 

 

उक्त रायमा म सहमत छु ।

 

न्या.सुशीला कार्की

इति संवत् २०६६ साल कात्तिक ९ गते रोज २ शुभम्

 

इजलास अधिकृतः विद्याराज पौडेल

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु