शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८२८८ - आयकर

भाग: ५१ साल: २०६६ महिना: चैत्र अंक: १२

निर्णय नं. ८२८८     २०६६ चैत,अङ्क १२

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री प्रेम शर्मा

माननीय न्यायाधीश श्री भरतराज उप्रेती

संवत् २०६१ सालको फौ.पु.नं. ३७६४, ३७६७

फैसला मितिः २०६६।५।२९।२

मुद्दाः आयकर ।

      पुनरावेदकः आन्तरिक राजश्व कार्यालय क्षेत्र न.१ ववरमहल काठमाडौँ

विरुद्ध

      प्रत्यर्थीः होटल एभरेष्ट इन्टरनेशनल लि.का मेनेजिङ्ग डाइरेक्टर मसकुर अहमद लारी

एवं

      पुनरावेदकः होटल एभरेष्ट इन्टरनेशनल लि.का मेनेजिङ्ग डाइरेक्टर मसकुर अहमद लारी

विरुद्ध

      आन्तरिक राजश्व कार्यालय क्षेत्र नं. १ बबरमहल काठमाडौँ

 

शुरु निर्णय गर्नेः

प्रमुख कर अधिकृत श्री सुरेन्द्रमणि त्रिपाठी

पुनरावेदन फैसला गर्नेः

मा.अध्यक्ष श्री दामोदरप्रसाद शर्मा

राजस्व सदस्य श्री डम्वरबहादुर पन्त

लेखा सदस्य दयानाथ शर्मा

                 

§  असूल गरी लिन पाउने हक अधिकार भएको रकमलाई असूल हुन नसक्ने भनी मिनाहा दिई खर्चको दावी गर्न करदाताले सो रकम उठाउनको लागि सकेसम्म प्रयास गरेको कुराको प्रमाण पेश गर्न सक्नुपर्ने ।

§  असूल हुन नसक्ने भनी मिन्हा ठहर गर्नुभन्दा पहिला करदाताले उक्त रकम असूल गर्नको लागि के कस्तो प्रयास गरेको थियो भन्ने कुरा सो व्यक्तिलाई उक्त रकम बुझाउन ताकेता गरी लेखापढी गरेको, कानूनी कारवाहीको सूचना दिएको वा यस्तो कारवाही चलाउँदा त्यस्तो रकम तिर्नुपर्ने कर्तव्य भएको व्यक्ति फेला नपरेको वा कुनै कारणले निजउपर कानूनी कारवाही चलाउन नसकिएको वा निजको कुनै सम्पत्ति फेला नपरी अदालतको निर्णय कार्यान्वयन हुन नसकेको भन्ने जस्ता कुनै एक वा बढी अवस्था विद्यमान भएको कुराको प्रमाण कागजको आधारमा नै करदाताले भुक्तानी पाउन पर्ने कुनै रकम असूल नहुने भनी मिन्हा गर्ने ठहर गर्नुपर्ने ।

(प्रकरण नं.५)

§  करदाताले आय आर्जनको लागि कारोवारसँग सम्बन्धित खर्च हो भनी रीतपूर्वकका बिल भर्पाइहरू प्रस्तुत गरेको अवस्थामा त्यस्तो खर्च आयआर्जनको कार्यसँग सम्बन्धित खर्च होइन भनी कर कार्यालयबाट निर्णय गरिन्छ भने त्यसको आधारहरू प्रष्ट गर्नुपर्ने ।

(प्रकरण नं.९)

§  करदाता प्रतिष्ठानले नियमित व्यावसायिक कारोवारमा प्रयोग हुने रकमबाट छुट्याई त्यसको सञ्चालन नियन्त्रण र उपयोग कामदार र कर्मचारीहरूको आवास र सोसँग सम्बन्धित कल्याणकारी काममा प्रयोग र सञ्चालन गर्न उपयुक्त संयन्त्रको विकास भएको देखिँदैन भने त्यस्तो रकम छुट्याउनुको उद्देश्य पूरा भएको मान्न नमिल्ने ।

(प्रकरण नं.१४)

 

पुनरावेदक तर्फबाटः विद्वान उपन्यायाधिवक्ता श्री कृष्णप्रसाद पौडेल

प्रत्यर्थी तर्फबाटः विद्वान अधिवक्ताद्वय अनिलकुमार सिन्हा र नारायण नेपाल

अवलम्वित नजीरः

सम्बद्ध कानूनः

      आयकर ऐन, २०३१ को दफा १२, १२(१)(च), ४१(झ), १२(१)(ख)

      नेपाल कारखानामा काम गर्ने मजदुर सम्बन्धी ऐन, २०१६ को दफा १२

      श्रम ऐन, २०४८ को दफा ४१

      श्रम नियमावली, २०५० को नियम ५२, १४

 

फैसला

       न्या.भरतराज उप्रेतीः राजस्व न्यायाधिकरण काठमाण्को फैसलाउपर राजश्व न्यायाधिकरण ऐन, २०३१ को दफा ८(ख), (ग) र (घ) को आधारमा पुनरावेदनको अनुमति प्रदान भई पेश हुन आएको यस अदालतको क्षेत्राधिकार भित्रको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः-

 

होटल एभरेष्ट इन्टरनेशनल लि.को आ.व. १९९२ ज.डि. को लागि होटलबाट खुद आय रु ४०,५१,०४९।५२  उल्लेख गरी लाग्ने अन्तिम कर रु १४,०५,६१७ ।२३ वुझाएको उल्लेख गरी संलग्न वासलात तथा नाफा नोक्सान हिसावबमोजिम भनी मिति २०५०।३।३१ मा कर कार्यालय काठमाडौँमा पेश गरेको आय विवरण फाराम ।

      कर कार्यालय काठमाडौँबाट विभिन्न मितिमा विवरण तथा प्रमाणहरू पेशगर्न भनी होटल एभरेष्ट इन्टरनेशनल लि.लाई पत्र  लेखिएको ।

      १ नं. क्षेत्र कर कार्यालय काठमाडौँबाट मिति २०५०।११।२४ को पत्रद्वारा सबूद प्रमाण पेश गर्न भनी लेखिएअनुसार होटलबाट मिति २०५०।१२।२ तथा २०५०।१२।७ मा आफ्नो भएको सबूद प्रमाण पेश गरेको आय विवरण हिसाव किताब परीक्षण गरी आयकर ऐन, २०३१        (संशोधन सहित) को दफा १२ बमोजिम खर्चमा छुट दिन मिल्नेसम्मका रकमहरू छुट दिई सोही ऐनको दफा ४१ एवं ४३ बमोजिम छुट दिन नमिल्ने रकमहरू आयतर्फ समावेश गरी कारोवारको खुद आय रु २,२४,८८,५९९।१० कायम भएकोले करको रकम रु ८९,८३,१८९।३४  र जरीवाना रु. ५,०००। मा अग्रिम रु १४,०५,६१७।३३ कटाई नपुग रकम रु ६५,८२,५७२।३१ आदेश प्राप्त गर्नु भएको ३५ दिन भित्र दाखेल गर्नु भन्ने समेत कर कार्यालयबाट मिति २०५०।१२।९ मा भएको आयकर निर्धारण आदेश ।

      प्रोभिजन फर स्टाफ हाउजिङ भनी रकम छुट्टयाउनु पर्ने श्रम ऐन, २०४८ को दफा ४१(१) को व्यवस्थाअनुसार रकम छुट्टाइएको हुँदा सो मा कर लगाउन मिल्दैन । लिगल फी पारिश्रमिक खर्च कारोवारसंग सम्बन्धित हुँदा मिनाहा हुनु पर्दछ । असूल हुन नसक्ने रकम, विविध खर्चलाई मिनाहादिनुपर्ने नदिएको त्रुटिपूर्ण छ । विज्ञापन खर्च अन्तर्गतको निलो साइन (आउटडोर) लाई पूँजीगत खर्च भनी अमान्य गर्न मिल्दैन । सोसल एण्ड स्पोर्टस तथा वेलफेयर फण्डतर्फको खर्च मिन्हा दिनु पर्दछ । यूनिफर्म बापतको खर्च तलव भत्ता संग सम्बन्धित नहुँदा मिनाहा हुनुपर्दछ । फुड एण्ड वेभरेज अन्तर्गतका खर्च, सप्लाई अफ लिनेन एण्ड चाइना ग्लास अन्तर्गतका खर्चहरू अवास्तविक खर्च भनी खुद आयमा समावेश गरिनु न्यायसंगत छैन । अपरेटिङ्ग सप्लाई अन्तर्गतका खर्चलाई कारोवारसंग असम्बन्धित खर्च भन्न मिल्दैन । म्यूजिक एण्ड इन्टरटेण्टमेन्ट शीर्षकको खर्च अन्तिम करकट्टी नगर्दैमा पूरै रकम अमान्य हुने होइन । मर्मत तथा सम्भार खर्च अमान्य गरेको न्यायसंगत छैन ।बाटर एण्डबाटर ट्रिटमेन्ट खर्चलाई मान्यता दिनुपर्दछ । होटल उद्योगको खुद आयमा १०,२० र ३५ प्रतिशतले कर लाग्नेमा वढी दरले कर निर्धारण भएको छ । कर कार्यालयबाट त्रुटिपूर्ण कर निर्धारण गरी पर्न गएको वढी दायित्वबाट मुक्त गरी इन्साफ पाऊँ भन्ने समेतको होटल एभरेष्ट इन्टरनेशनल लि.को राजस्व न्यायाधीकरण काठमाडौमा परेको पुनरावेदन  ।

      शुरु निर्णय विचारणीय हुँदा छलफल निमित्त अ.व. २०२ नं बमोजिम सरकारी वकील झिकाई नियमानुसार पेशगर्नु भन्ने समेत राजस्व न्यायाधीकरण काठमाडौबाट भएको आदेश ।

      पुनरावेदक करदाताको प्रस्तुत आ.व. २०४८।०४९ को लागि खुद आय कायम गर्दा निर्णय पर्चाको प्रकरण नं ३ मा उल्लिखित स्टाफ हाउजिंग, प्रकरण नं ५ को लिगल फी, प्रकरण नं ८ को विज्ञापन खर्च, प्रकरण नं. १२ को तलव तथा ज्याला अन्तगर्तको .लुगा भत्ता, प्रकरण नं १४ को फुड एण्ड वेभरेज र प्रकरण नं १८ को तलव तथा ज्याला अन्तर्गतको खर्चका रकमहरू समेत मिनाहा नपाउने भनी आयमा समावेश गरेको मिलेन । उल्लिखित शीर्षकको रकम खर्च मिनाहा पाउँछ । निर्णय प्रकरण नं १७ को म्यूजिक एण्ड इण्टरटेण्टमेन्ट शीर्षकको खर्च भुक्तानीमा लाग्ने अग्रिम करको रकम निश्चित गरी करस्वरुप असूल गरी उक्त खर्च मिनाहा पाउने हुँदा शुरु कार्यालयको निर्णय केही उल्टी हुने ठहर्छ भन्ने राजस्व न्यायाधिकरण काठमाडौँको मिति २०५८।५।२६ को फैसला ।

      प्रोभिजन फर स्टाफ हाउजिङ्ग खर्च कायम भएको खुद आयमा कर पछि व्यवस्था गर्नुपर्नेमा खुद आय पूर्व खर्च देखाई व्यवस्था गरेकोले मिनाहा दिन मिल्दैन । कानूनी खर्च गर्दा कसलाई के सल्लाह दिएबापतको हो भनी नखुलेकोले सो मिन्हा दिन मिल्दैन । विज्ञापन खर्च भनी गरेको खर्च पूँजीगत खर्च भएकोले खुद आयमा समावेश हुनुपर्दछ । तलव तथा ज्याला शीर्षकअन्तर्गत लुगा भत्ता भनी खर्च लेखिसकेकोमा पुनः युनिफर्म खर्च छुट्टै गर्न  मिल्दैन । विल भरपाई विनाको फुड एण्ड वेभेरेज अन्तर्गतको खर्च मिनाहा दिन मिल्दैन । म्यूजिक एण्ड इन्टरटेण्टमेन्ट शीर्षकको खर्च खुद आयमा समावेश नगर्न मार्गदर्शन हुनुपर्नेमा अन्यथा भएको त्रुटिपूर्ण छ । राजस्व न्यायाधिकरण काठमाडौको फैसलामा कानूनी त्रुटि भएकोले राजस्व न्यायाधिकरण ऐन, २०३१ को दफा ८(घ) को आधारमा पुनरावेदन गर्ने अनुमति पाऊँ भन्ने समेतको आन्तरिक राजस्व कार्यालय क्षेत्र नं १ काठमाडौको यस अदालतमा परेको निवेदन ।

      सामाजिक तथा खेलकुद तर्फको खर्च मिनाहा हुनुपर्नेमा नदिएको न्यायसंगत छैन । असूल हुन नसक्ने रकम तर्फको खर्च मिन्हा नदिएको गैरकानूनी छ । मर्मत संभार खर्च मिनाहा नदिई के कति दोहोरो देखियो, के कति पूँजीगत कसरी भयो समेत वारेमा प्रमाण नवुझी शुरु निर्णय सदर गरेको त्रुटिपूर्ण छ । सप्लाई अफ लिनेन र चाइना ग्लास वास्तविक खर्च हो, होइन भनी कुनै विवेचना नगरी निर्णय गरिएको छ । अपरेटिङ्ग सप्लाई वास्तविक खर्च हो, होइन नवुझी प्रमाण पेश गर्ने आदेश समेत नगरी गरेको निर्णय मिलेको छैन । विविध खर्च मिनाहा दिनुपर्दछ पानी र पानी सुद्दिकरणको खर्च सम्बन्धमा कुनै विवेचना नगरी निर्णय गरिएको छ । कम्पनी एक उद्योग भएकोले करको हिसाव गर्दा प्रत्येक स्लावमा ५ प्रतिशत छुट दिनुपर्नेमा सो नदिने गरी भएको फैसला त्रुटिपूर्ण छ । राजस्व न्यायाधिकरण काठमाडौँको फैसलामा राजस्व न्यायाधिकरण ऐन,२०३१ को दफा ८(ख) (ग) र (घ) को त्रुटि विद्यमान हुँदा पुनरावेदनको अनुमतिको निस्सा प्रदान गरी उल्लिखित खर्च शीर्षकमा रकम मिनाहा दिने गरी फैसला गरिपाऊँ भन्ने समेतको होटल एभरेष्ट इन्टरनेशलन लि.को यस अदालतमा परेको निवेदन ।

      यसमा राजस्व न्यायाधिकरण काठमाडौको फैसलाउपर चित्त नवुझाई आन्तरिक राजस्व कार्यालय र करदाता होटल एभरेष्ट इन्टरनेशनल लि.को तर्फबाट समेत दुवै पक्षबाट पुनरावेदनको अनुमतिको लागि छुट्टाछुट्टै निवेदन परी पेश हुन आएको देखियो । यसमा खुद आयमा समावेश नहुने भई मिनाहा दिएको कतिपय कलमको हकमा आन्तरिक राजस्व कार्यालयको तर्फबाट निवेदन पर्न आएको देखिन्छ भने करदाताले देखाएका कतिपय खर्च कलमहरूलाई खर्च छुट नदिई खुद आयमा समावेश गरेको हकमा करदाताको तर्फबाट निवेदन परेको  देखिन्छ । राजस्व न्यायाधिकरणको फैसला हेर्दा खर्च छुट दिन इन्कार गरेकोमा प्रमाणको अभाव र कानूनले तोकिएको हदभन्दा वढी देखाइएको खर्च अमान्य गरिएको भनिएकोमा प्रमाणको मूल्याङ्कन र विश्लेष्ण गरी खुलाइएको पाइदैन भने कानूनले तोकेको हद के कति हो र के कति वढी देखाइएको भन्ने आधार कारण नै दिइएको  पाइएन । प्रोभिजन फर स्टाफ हाउजिङमा छुट्याइएको खर्च १९९२ ज.डी.मा मिनाहा दिइएको पाइन्छ भने १९९१ ज.डि. मा खर्च छुट दिइएको पाइदैन । जो स्वयँमा विरोधाभाषपूर्ण देखिन्छ । त्यस्तै मिनाहा दिइएको कलमको हकमा पनि कानूनी आधार र तथ्ययुक्त कारणहरूको विश्लेषण गरी यकीन खुलाइएको पाईदैन । न्यायिक मनको अभावमा केवल हचुवा किसिमले निर्णय गरेको पाइयो । त्यसैले राजश्व न्यायाधिकरणको फैसलामा उपरोक्त आधार कारणहरूबाट प्रमाण ऐन, २०३१ को दफा ५४ तथा आयकर ऐन, २०३१ को दफा १२ समेतको प्रयोग र व्याख्यामा त्रुटि देखिंदा राजस्व  न्यायाधिकरण ऐन, २०३१ को दफा ८(ख), (ग) र (घ) को प्रश्नमा कानूनी त्रुटि विद्यमान देखिन आएकोले पुनरावेदनको अनुमति प्रदान गरिएको छ नियमानुसार गरी पेश गर्नु भन्ने मिति २०६०।१०।५ को यस अदालतको आदेश ।

      नियमबमोजिम दैनिक पेसी सूचीमा समावेश भई पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक आन्तरिक राजश्व कार्यालयको तर्फबाट उपन्यायाधिवक्ता कृष्णप्रसाद पौडेलले प्रोभिजन फर स्टाफ हाउजिङ्ग शीर्षकमा खुद आयमा समावेश नगरी खर्च देखाइएको मिलेको छैन । कानूनी खर्चको सम्बन्धमा प्रष्ट विल भौचर देखिदैन । विज्ञापन भनिएको खर्च निरीक्षण गर्दा पूजिगत खर्च भन्ने देखिन्छ, लुगा भत्ता सम्बन्धमा दोहोरो खर्च देखाइएको छ, Food and Beverage खर्चको रीतपूर्वकको विल भर्पाई पाइदैन । तलव तथा ज्याला खर्च रु.१,७२,६८३।८३ आयआर्जनसँग असम्बन्धित देखिंदा उपरोक्त शीर्षकहरूमा छुट दिने गरी राजश्व न्यायाधिकरणबाट भएको फैसला नमिलेको हुँदा बदर भई विपक्षी होटलको पुनरावेदनमा उल्लिखित शीर्षकको हकमा राजश्व न्यायाधिकरणको फैसला मिलेकै हुँदा सदर हुनुपर्छ भनी बहस गर्नुभयो ।

      त्यसै गरी पुनरावेदक होटल एभरेष्ट इन्टरनेशनलको तर्फबाट अधिवक्ताद्वय अनिलकुमार सिन्हा एवं नारायण नेपालले Employee benefit अन्र्तगत Social and sports खर्च,Bad debts, मर्मत संभार खर्च, Supply of Lenin and China glass, Operating supply, विविध खर्चलाई खुद आयमा समावेश गर्नेगरी गरेको निर्णयलाई राजश्व न्यायाधिकरणबाट सदर भएको मिलेको छैन । Water and Water Treatment खर्च पनि आय आर्जनसंग सम्बन्धित खर्च हो । उक्त शीर्षकहरूमा राजश्व न्यायाधिकरणको फैसला मिलेको छैन । रीतपूर्वक विल भर्पाई भएका र आयआर्जनसंग सम्बन्धित खर्चहरू खर्च लेखेको कुरालाई विनाआधार मिनाहा नदिने कर कार्यालयको निर्णयलाई राजश्व न्यायाधिकरणले सदर गरेको त्रुटिपूर्ण हुँदा उक्त शीर्षकहरूको हकमा राजश्व न्यायाधिकरणको फैसला नमिलेको हुँदा बदर हुनुपर्छ एवं कर कार्यालयको पुनरावेदनको हकमा राजश्व न्यायाधिकरणको फैसला मिलेकै हुँदा सो हदसम्म राजश्व न्यायाधिकरणको फैसला सदर हुनुपर्छ भनी बहस गर्नुभयो ।

      २.    निर्णयतर्फ विचारगर्दा राजश्व न्यायाधिकरणको फैसलामा देहायका शीर्षकहरूमा भएको खर्चलाई खुद आयमा समावेश गर्ने कर कार्यालयको निर्णयलाई राजश्व न्यायाधिकरणबाट सदर भएकोमा पुनरावेदक होटल एभरेष्ट इन्टरनेशनलले चित्त नबुझाई यस अदालतमा पुनरावेदन गरेको देखियो,

 

(क)   Employee benefit अन्तर्गत Social and Sports  तर्फको रु. २,२८,८६७।

(ख)   Bad debts खर्च रु. १,७३,६१४।७७

(ग)   Supply of Lenin and China Glass अन्तर्गत रु. ४,४३,०३३।९५

(घ)   मर्मत संभार खर्च रु. ८४,२०,२५७।९५

(ङ)   Operating supply खर्च रु. १६,६५,३५३।२

(च)   Water and Water treatment खर्च रु. १३,३९,८७१।४४    

(छ)   विविध खर्च रु. ४६,५५१।५३

      ३.    त्यसैगरी पुनरावेदक आन्तरिक राजश्व कार्यालयले म्युजिक एण्ड इन्टरटेनमेन्ट शीर्षकको खर्च भुक्तानीमा लाग्ने करको रकम निश्चित गरी करस्वरुप असूल गरी खर्च मिनाहा पाउने तथा देहायको शीर्षकमा कर कार्यालयले खुद आयमा समावेश गर्नेगरी गरेको निर्णयलाई राजश्व न्यायाधिकरणले उल्टी गरी खर्च मिनाहा दिने गरी भएको निर्णयउपर यस अदालतसमक्ष पुनरावेदन गरेको देखियो,

(क)   Provision for staff housing रु.२,३४,५३४।४५

(ख)   कानूनी खर्च रु.४८,१७५।

(ग)   विज्ञापन खर्च रु.६,१७,८७३।४३

(घ)   लुगाभत्ता खर्च रु.८,९०,८९९।३०

(ङ)   Cost of food and beverage रु.२०,२८,७६७।३०

(च)   तलव ज्याला खर्च रु.१,७२,६८३।८३

      सर्वप्रथम होटल एभरेष्ट इन्टरनेशनलको पुनरावेदनको सम्बन्धमा विचार गर्दा,

      ४.    Employee benefit शीर्षकअन्तर्गत Social and Sports  तर्फको रु. २,२८,८६७।खर्चको सम्बन्धमा आफ्ना कर्मचारी तथा कामदारहरूको शारीरिक स्वास्थ्य एवं कार्यदक्षता बढाउन कर्मचारीहरूबाट प्रत्येक महिना तलवबाट कट्टा गरी खडा गरिएको वेलफेयर फण्डमा होटलले पनि निजहरूबाट कट्टा गरे वरावरको रकम जम्मा गरेको भन्ने होटलले कर कार्यालयमा प्रस्तुत गरेको स्पष्टीकरणबाट देखिन्छ । त्यस प्रकृतिको खर्चलाई आयकर ऐन २०३१ को दफा ४१(झ) अनुसार आय आर्जनको कामसंग सम्बन्धित नदेखिएको हुँदा राजश्व न्यायाधिकरणले मिन्हा नदिने गरी गरेको निर्णय मिलेकै देखिंदा राजश्व न्यायाधिकरणको निर्णय मिलेकै देखियो ।

      ५.    Bad debts खर्च लेखिएको रु. १,७३,६१४।७७ को सम्बन्धमा शुरु कर कार्यालयले यु.एन.डि.पी जस्तो संस्थासँग भएको वक्यौतालाई व्याड डेप्ट्स खर्च लेखेको र वक्यौता भएको संस्था वा व्यक्तिसँग पत्राचार भइरहेको र असूली हुन नसक्ने प्रमाण पेश हुन नसकेको भन्ने आधार लिइएको पाइन्छ । Bad debts अर्थात् असूल हुन नसक्ने भनी ठहर भएको रकमलाई खर्चमा मान्यता दिने वा नदिने भन्ने निर्णय गर्दा (आयकर ऐन, २०३१ को दफा १२(१)(च) मा गरिएको व्यवस्था हेर्नु पर्दछ । उक्त व्यवस्थाअनुसार असूल नहुने ठहर गरी स्रेस्तामा मिनाहाको लागि उल्लेख भएको रकमलाई वास्तविक खर्चको रुपमा कट्टा गर्न पाउने   देखिन्छ । उद्योग, व्यापार, पेशा, व्यवसाय चलाउने करदाताले भुक्तानी पाउन पर्ने कुनै रकम असूल नभएको भन्ने आधारमा मात्र उक्त रकमलाई मिन्हा हुने भनी खर्चमा कट्टा गर्न पाउने होइन ।यसको लागि सम्बन्धित करदाताले असूल हुन नसक्ने भनी ठहर गर्नु  पर्दछ । कुनै विषयमा ठहर गर्दा यस्तो ठहरलाई पुष्टि गर्ने पर्याप्त आधार र कारण हुन पर्दछ भन्ने सर्वमान्य सिद्धान्त हो । यसैले कुनै रकम असूल हुन नसक्ने भनी ठहर गर्नको लागि पनि सो लाई समर्थन गर्न केही प्रमाण आवश्यक पर्ने भन्ने कुरा पनि विवादको विषय हुने सक्तैन । यसैले असूल गरी लिन पाउने हक अधिकार भएको रकमलाई असूल हुन नसक्ने भनी मिनाहा दिई खर्चको दावी गर्न करदाताले सो रकम उठाउनको लागि सकेसम्म प्रयास गरेको कुराको प्रमाण पेश गर्न सक्नु पर्दछ । यस्तो प्रयास गर्दा पनि असूल हुन नसक्ने भन्ने कुरा करदाताले ठहर गरेको अवस्थामा मात्र दबम मभदतक अर्थात् असूल हुन नसक्ने भनी यस्तो रकम मिन्हा दिई खर्च लेख्न पाइने देखिन्छ । यस्तो कुराको ठहर गर्नु पहिला करदाताले उक्त रकम असूल गर्नको लागि के कस्तो प्रयास गरेको थियो भन्ने कुरा बिभिन्न आधारबाट प्रमाणित हुन सक्तछ । जुन व्यक्ति वा निकायबाट करदाताले असूल गर्न नसकिएको भनिएको रकम खर्चमा दावी गरेको छ सो व्यक्तिलाई उक्त रकम बुझाउन ताकेता गरी लेखापढी गरेको, कानूनी कारवाहीको सूचना दिएको वा यस्तो कारवाही चलाउँदा त्यस्तो रकम तिर्नपर्ने कर्तव्य भएको व्यक्ति फेला नपरेको वा कुनै कारणले निजउपर कानूनी कारवाही चलाउन नसकिएको वा निजको कुनै सम्पत्ति फेला नपरी अदालतको निर्णय कार्यान्वयन हुन नसकेको भन्ने जस्ता कुनै एक वा बढी अवस्था विद्यमान भएको कुराको प्रमाण कागजको आधारमा नै करदाताले भुक्तानी पाउन पर्ने कुनै रकम असूल नहुने भनी मिन्हा गर्ने ठहर गर्नुपर्ने हुन्छ । यु.एन.डि.पी. जस्तो संस्थाबाट असूलउपर हुन बाँकी रकम उठाउन के कस्तो कारणबाट असंभव भई मिन्हा दिन ठहर गर्नु परेको हो भन्ने कुरा करदाताबाट प्रष्ट आधार प्रस्तुत भएको पाइदैन । कुनै रकम असूल नहुने ठहराई स्रेस्तामा मिनाहा गरी खर्च दावी गर्ने करदाताले उल्लिखित कुनै आधार प्रमाण नदेखाई रकम असूल हुन नसकेको भन्ने आधारमा मात्र खर्च दावी गर्न नसक्ने हुँदा र पुनरावेदक होटेलको यस्तो प्रमाण पेश गरेको समेत नदेखिएकोले उक्त खर्च मिन्हा नदिने गरी राजश्व न्यायाधिकरणबाट भएको फैसला मिलेकै देखियो ।

      ६.    Suppply Lenin and China Glass शीर्षकअन्तर्गत खर्च देखाइएको ४,४३,०३३।९५ सम्बन्धमा विल भर्पाई निरीक्षण परीक्षण गर्दा रीतपूर्वक नभएका अर्थात् विक्रेताको नाम, ठेगाना, सामानको परिमाण मिति आदि नखुलेको भनी शुरु कर कार्यालयको निर्णयमा आधार लिइएको देखिन्छ । होटलको तर्फबाट प्रस्तुत भएको मिति २०५०।१२।२ को कर कार्यालयमा प्रस्तुत गरिएको स्पष्टीकरणबाट पनि उक्त विल भर्पाइहरू रीतपूर्वकका छन् भनी प्रस्ट गर्न सकेको पाइदैन। वेरीतका विल भर्पाई प्रस्तुत गरेकै आधारमा वास्तविक खर्च मानी मिन्हा दिन नमिल्ने हुँदा सो सम्बन्धमा राजश्व न्यायाधिकरणबाट भएको फैसला मिलेकै देखियो ।

      ७.    मर्मतसंभार खर्च रु.८४,२०,२५७।९५ को सम्बन्धमा पूजिँगत प्रकृतिको जस्तै सिमेन्ट, डण्डी, ईटा, इलेक्ट्रिक सामान, मेकानिकल सामान आदिमा खर्च भएको देखिएको भनी शुरु कर कार्यालयको निर्णयमा आधार लिइएको पाइन्छ । होटलको तर्फबाट प्रस्तुत २०५०।१२।२ को स्पष्टीकरणमा उपरोक्त खर्चहरू पूजिगत लगानी नभई आयकर ऐन, २०३१ को दफा १२(१)(ख) मा उल्लिखित प्रकृतिका खर्च हुन् भनी पुष्टि गर्न नसकेको र मर्मत सम्भारको खर्चको समर्थन गर्न पेश गरिएका विल भौचरहरू अवलोकन गर्दा विल भौचरहरू स्थायी प्रकृतिको सामानहरूको खरीदसंग सम्बन्धित देखिएकोले यस्तो सामानको खरीदमा भएको खर्चलाई उक्त ऐनको दफा १२(१)(ख) अनुसार खर्च मान्यता दिन मिल्ने प्रकृतिको खर्च नदेखिंदा त्यस्तो प्रकृतिको खर्चलाई मिनाहा नदिने गरी राजश्व न्यायाधिकरणबाट भएको निर्णय मिलेकै देखिन्छ ।

      ८.    Operating Supply शीर्षकअन्तर्गत भएको खर्च रु. १६,६५,३५३।को सम्बन्धमा संलग्न विल भर्पाईहरू रीतपूर्वकको नदेखिएको भन्ने शुरु कर कार्यालयले आधार लिएको पाइन्छ । सो सम्बन्धमा होटलको स्पष्टीकरण हेर्दा उल्लिखित खर्च होटलको कारोवारको सिलसिलामा वास्तविक खर्च भएको भन्ने उल्लेख गरिएको देखिन्छ । खर्च गरिएको भनी दावी गरिएका विल भर्पाईहरू रीतपूर्वक छन भन्ने स्पष्ट आधारहरू प्रस्तुत हुन सकेको नपाइदा त्यस्तो खर्चलाई मिन्हा नदिने गरी राजश्व न्यायाधिकरणबाट भएको फैसला मिलेकै देखिन्छ ।

      ९.    विविध शीर्षकमा गरिएको खर्च रु.४६,५५१।५३ सम्बन्धमा आय आर्जनको कार्यसंग सम्बन्धित नभएको भन्ने शुरु कर कार्यालयले आधार लिएको पाइन्छ । सो सम्बन्धमा होटलको स्पष्टीकरण हेर्दा होटलको कारोवारसँग सम्बन्धित खर्च भएको र त्यसको प्रमाणित कागजातहरू निरीक्षण परीक्षणको क्रममा प्रस्तुत गरिएको भन्ने उल्लेख भएको पाइन्छ । करदाताले आय आर्जनको लागि कारोवारसँग सम्बन्धित खर्च हो भनी रीतपूर्वकका वील भर्पाइहरू प्रस्तुत गरेको अवस्थामा त्यस्तो खर्च आयआर्जनको कार्यसँग सम्बन्धित खर्च होइन भनी कर कार्यालयबाट निर्णय गरिन्छ भने त्यसको प्रष्ट आधारहरू प्रस्तुत गर्नुपर्ने हुन्छ । विना आधार आयआर्जनसँग सम्बन्धित खर्च होइन भनी कर कार्यालयबाट गरेको निर्णय कानूनसम्मत देखिएन । तसर्थ राजश्व न्यायाधिकरणले प्रस्तुत शीर्षकअन्तर्गत भएको खर्चलाई मिन्हा नदिने गरी कर कार्यालयबाट भएको निर्णयलाई सदर गरेको मिलेको देखिएन ।

      १०.    Water and water treatment अन्तर्गत भएको खर्च रु. १३,३९,८७१।४४ सम्बन्धमा खर्चको फाँटवारी विल भर्पाई निरीक्षण परीक्षण गर्दा रीतपूर्वकको विल भर्पाई नभएको विक्रेताको फर्मको नाम ठेगाना तथा कारोवारको स्थल नखुल्ने विलको रकम खर्चमा मिन्हा दिन नमिल्ने भन्ने आधार लिएको पाइन्छ । सो सम्बन्धमा होटलबाट प्रस्तुत गरिएको स्पष्टीकरणमा सिटी सप्लाईबाट प्राप्त हुने दूषित पानी र अन्य श्रोतबाट प्राप्त हुने पानी बिभिन्न रसायन प्रक्रिया अपनाई शुद्धता कायम गर्ने सामानको निमित्त खर्च गरिएको भन्ने उल्लेख गरिएको पाइन्छ ।

      ११.    तर त्यसरी कारोवारको उद्देश्यका लागि गरिएको खर्च भएपनि त्यसको रीतपूर्वकको विल भर्पाई संलग्न हुनुपर्छ भन्ने वारेमा कर कार्यालयले उठाएको प्रश्नको विषयमा विवाद हुन सक्दैन । खर्च गरिएको रकमको रीतपूर्वक विल भर्पाई संलग्न रहेको भन्ने कुरा कर कार्यालयमा प्रस्तुत स्पष्टीकरणबाट पनि प्रस्ट हुन सकेको नपाइदा हचुवा विल भर्पाई प्रस्तुत गरेकै आधारमा वास्तविक खर्च मानी मिन्हा दिन नमिल्ने हुँदा सो सम्बन्धमा राजश्व न्यायाधिकरणबाट भएको फैसला मिलेकै देखियो ।

पुनरावेदक आन्तरिक राजश्व कार्यालयको पुनरावेदन सम्बन्धमा विचार गर्दा,

१२.   Provision for Staff housing शीर्षकअन्तर्गत गरिएको खर्च रु.२,३४,५३४।४५ सम्बन्धमा शुरु कर कार्यालयको निर्णय हेर्दा आयकर ऐनको दफा १२ बमोजिम कायम भएको खुद आय (बतभच तबह) व्यवस्था गर्नुपर्नेमा खुद आयपूर्व खर्च देखाइएको आएकर ऐनको दफा ४१(ज) अनुसार मिन्हा दिन नमिल्ने भन्ने आधार लिइएको पाइन्छ । सो सम्बन्धमा राजश्व न्यायाधिकरणबाट फैसला हुँदा नेपाल कारखाना तथा कारखानामा काम गर्ने मजदुर सम्बन्धी ऐन, २०१६ तथा श्रम ऐन, २०४८ को दफा ४१ बमोजिम कामदार तथा कर्मचारीहरूको लागि स्वस्थकर वासस्थानको व्यवस्था गर्न प्रत्येक वर्ष कूल मुनाफाको पाँच प्रतिशत नघट्ने गरी रकम छुट्याउन पाउने कानूनी व्यवस्था रहेको भन्ने आधारमा शुरु कर कार्यालयको निर्णय उल्टी गरी सो शीर्षकअन्र्तगत गरिएको खर्चलाई मिन्हा दिने निर्णय गरिएको पाइन्छ ।

      १३.   तत्काल प्रचलित नेपाल कारखानामा काम गर्ने मजदुर सम्बन्धी ऐन, २०१६ को दफा १२ तथा हाल लागू रहेको श्रम ऐन, २०४८ को दफा ४१ मा रहेको कामदार तथा कर्मचारीहरूको स्वस्थकर वासस्थानको लागि कुल मुनाफाको पाँच प्रतिशतमा नघट्ने गरी रकम छुट्याउनु पर्ने उद्देश्य र प्रयोजनको सम्बन्धमा विचार गर्दा उक्त व्यवस्था कामदार र कर्मचारीको कल्याणको लागि गरिएको भन्ने कुरामा विवाद हुन सक्दैन । हाल लागू रहेको श्रम ऐन, २०४८ को दफा ४१ ले प्रतिष्ठानको कामदार तथा कर्मचारीहरूको हितको लागि कल्याणकारी कोषको स्थापना गर्नुपर्ने व्यवस्था गरेको पाइन्छ । त्यसैगरी हालको श्रम नियमावली, २०५० को नियम ५२ तथा नियम १४ ले त्यस्तो कल्याणकारी कोषको प्रयोग तथा सञ्चालन सम्बन्धमा श्रम सम्बन्ध समितिलाई जिम्मेवारी तोकेको देखिन्छ ।

      १४.   तत्काल कायम नेपाल कारखाना तथा कारखानामा कामगर्ने मजदुरसम्बन्धी ऐन, २०१६ को दफा १२ मा भएको कामदार तथा कर्मचारीहरूको वासस्थानको लागि कुल मुनाफाको पाँच प्रतिशतमा नघट्ने गरी रकम छुट्याउनु पर्ने कानूनी व्यवस्था त्यस्तो छुट्याएको रकमको सञ्चालन, नियन्त्रण र उपयोग यस सन्दर्भमा महत्वपूर्ण देखिन आउँछ । यदि त्यस्तो रकम करदाता प्रतिष्ठानले नियमित व्यावसायिक कारोवारमा प्रयोग हुने रकमबाट छुट्याई त्यस्को सञ्चालन नियन्त्रण र उपयोग कामदार र कर्मचारीहरूको आवास र सोसंग सम्बन्धित कल्याणकारी काममा प्रयोग र सञ्चालन गर्न उपयुक्त संयन्त्रको विकास भएको देखिदैन भने त्यस्तो रकम छुट्याउनुको उद्देश्य पूरा भएको मान्न मिल्दैन । यसरी छुट्याइएको रकमको उपयोग, नियन्त्रण र सञ्चालन प्रस्तुत ऐनको उद्देश्य अनुसार भएको देखिनु पर्ने हुन्छ । करदाता होटल एभरेष्टले कर कार्यालय समक्ष प्रस्तुत गरेको स्पष्टीकरण तथा मिसिल संलग्न बार्षिक हिसाव तथा अन्य कागजातबाट करदाताले Provision for staff housing शीर्षकअन्तर्गत गरेको खर्च रु.२,३४,५३४।४५ को रकमको प्रयोग र सञ्चालन गर्न माथि विवेचना गरिएअनुसार संयन्त्रको विकास गरी त्यसको प्रयोग नियन्त्रण र सञ्चालन कामदार तथा कर्मचारीको आवास तथा सोसंग सम्बन्धित कल्याणकारी काममा प्रयोग गरिएको भन्ने देखिदैन । उक्त रकम ऐनको उद्देश्यअनुरूपको कार्यको लागि गरिएको वास्तविक खर्च नभइ करदाताले आफ्नो बार्षिक हिसावको R & Surplus शीर्षकमा समावेश गरी देखाएको र उक्त रकम करदाताले आफ्नो व्यवासायिक कामको लागि प्रयोग नपाउने भन्ने वारेमा कुनै संयन्त्र समेत तयार पारेको समेत नदेखिंदा सो शीर्षकअन्तर्गतको खर्च मिनाहा दिने गरी राजश्व न्यायाधिकरणबाट भएको निर्णय कानूनसम्मत नभएकोले मिलेको देखिएन ।

      १५.   कानूनी खर्च शीर्षकअन्तर्गत खर्च भएको रु. ४८,१७५।को सम्बन्धमा आय आर्जनसँग सम्बन्धित नदेखिएको भन्ने आधारमा ऐनको दफा १२(१) अनुसार मिन्हा दिन नमिल्ने भन्ने शुरु कर कार्यालयको निर्णयमा आधार लिएको पाइन्छ । कम्पनीको कारोवार सञ्चालन गर्दा मुद्दा मामिला सम्बन्धमा कानून व्यवसायीबाट कानूनी सरसल्लाह लिएबापत भुक्तानी दिएको भनी करदाताको स्पष्टीकरणमा उल्लेख भएको पाइन्छ । रीतपूर्वक विल भर्पाई संलग्न भई कम्पनीसग पर्न आएका मुद्दा मामिलामा भएको खर्चलाई कम्पनीको कारोवारसँग सम्बन्धित नभएको भन्न नमिल्ने हुँदा राजश्व न्यायाधिकरणले उक्त शीर्षकमा भएको खर्च रु.४८,१७५।लाई मिन्हा दिने गरी भएको निर्णय मिलेकै देखियो ।

      १६.    विज्ञापन खर्च र ६,१७,८७३।४३ सम्बन्धमा ऐनको दफा ४१(घ) अनुसार पूजिगत खर्च मिन्हा दिन नसकिने भन्ने शुरु कर कार्यालयको निर्णयमा आधार लिएको पाइन्छ । होटलको व्यापार विस्तार गर्नको लागि प्रचार प्रसारमा भएको खर्च छुट पाउने भन्ने राजश्व न्यायाधिकरणको फैसलामा आधार लिएको  पाइन्छ । तर प्रस्तुत विज्ञापन खर्च प्रचार प्रसारको लागि खर्च गरेको नभई निओन साइन (आउट डोर) को लागि खर्च भएको देखिएको र यस्तो नियोन लाइटको टिकाउ र उपयोग लामो समयसम्म रहने भएकोले यस्तो खर्चलाई पूजिगत खर्च मान्नुपर्ने देखियो । यस्तो पूजिँगत प्रकृतिको खर्चलाई चालु खर्च मानी मिन्हा दिने गरी राजश्व न्यायाधिकरणबाट भएको निर्णय मिलेको देखिएन ।

      १७.   लुगा भत्ता शीर्षकमा खर्च भएको रु. ८,९०,८९९।३० को सम्बन्धमा स्टाफ तथा पदाधिकारीहरूको लुगाभत्ता भनी खर्च लेखिसकेकोमा पुनः युनिफर्म भनी छुट्टै खर्च लेखेको दोहोरो खर्च दावी गरेको मिनाहा दिन नमिल्ने भन्ने शुरु कर कार्यालयको निर्णयमा आधार लिएको पाइन्छ । तर होटलले प्रस्तुत गरेको प्रत्युत्तरमा तारे होटलमा काम गर्ने सर्भिस एरियाका कर्मचारीहरूलाई आकर्षक युनिफर्मको लागि व्यवस्था गरिएको खर्च तलव भत्ता शीर्षकअन्र्तगत लुगा भत्तासँग कुनै सम्बन्ध नरहेको भनी उल्लेख भएको पाइदा राजश्व न्यायाधिकरणले सो सम्बन्धमा भएको खर्च रु. ८,९०,८९९।३० मिन्हा दिने भनी गरेको निर्णय मिलेकै देखियो ।

      १८.   Cost of food and benerage शीर्षकअन्तर्गत भएको खर्च रु. २०,२८,७६७।३० सम्बन्धमा केही विल भर्पाइहरू रीतपूर्वक नभएको भन्ने आधारमा ऐनको दफा ४१(क) अनुसार मिनाहा दिन नमिल्ने भन्ने शुरु कर कार्यालयको निर्णयमा उल्लेख भएको पाइन्छ । तर कति रकमको विल भर्पाइहरू रीतपूर्वक नभएका हुन भनी निर्णयमा स्पष्ट गर्न सकेको देखिदैन । होटलको Standard कायम राख्न खाद्य तथा पेय पदार्थको लागत मूल्यको ४० प्रतिशत निर्धारण गर्ने अन्तर्राष्ट्रिय प्रचलन भएको र सोहीबमोजिम प्रस्तुत आ.व. को Cost of food and beverage खर्च लागत मूल्य भित्रकै देखिएकोले मिन्हा पाउने भन्ने राजश्व न्यायाधिकरणको निर्णयमा आधार लिएको पाइन्छ । करदाताको होटल व्यवसायको प्रकृति विचार गर्दा खाद्य तथा पेय पदार्थमा खर्च भएकोलाई आय आर्जनसँगै सम्बन्धित खर्च होइन भनी मान्न मिल्ने देखिदैन । केही विल भर्पाई रीतपूर्वक नभएको भन्ने सम्बन्धमा कति रकमको रीतपूर्वक नभएको भनी निर्णयमा प्रष्ट नहुनाका साथै होटलले दावी गरेको खर्च लागत मूल्यको ४० प्रतिशत भित्र पर्ने भन्ने आधारलाई अन्यथा भन्न नमिल्ने हुँदा सो शीर्षकअन्तर्गत भएको खर्च मिनाहा दिने गरी राजश्व न्यायाधिकरणबाट भएको निर्णय मिलेकै देखियो ।

      १९.    तलव, ज्याला खर्च शीर्षकअन्तर्गत खर्च भएको रु. १,७२,६८३।८३ सम्बन्धमा Expenses for various executives भनी उल्लेख भई बिभिन्न शीर्षकमा कर्मचारीको खर्च मिन्हा दिइसकेको हुँदा आयकर ऐनको दफा ४१(झ) अनुसार आय आर्जनको कामसँग सम्बन्धित नदेखिएको भन्ने शुरु कर कार्यालयको निर्णयमा आधार लिएको पाइन्छ । कर्मचारीलाई दिइएको तलव ज्याला एक भन्दा बढी विल भर्पाई भएको भन्ने आधारमा मात्र आय आर्जनसँग सम्बन्धित होइन भन्न नमिल्ने हुँदा सो शीर्षकअन्तर्गत भएको खर्चलाई मिनाहा दिने गरी राजश्व न्यायाधिकरणबाट भएको निर्णय मिलेकै देखियो ।

      २०.   तसर्थ उपरोक्त प्रकरणहरूमा विवेचित आधारहरूबाट आन्तरिक राजश्व कार्यालयको पुनरावेदन जिकीर सम्बन्धमा राजश्व न्यायाधिकरणको फैसलामा स्टाफ हाउजिङ्ग खर्च भनी छुट्याइएको रकम रु. २,३४,५३४।४५ कर्मचारीको वसोवासको लागि वास्तविक खर्च नभई R & surplus शीर्षकमा समावेश गरेको देखिंदा त्यस्तो खर्च छुट दिन मिल्ने देखिएन । त्यसैगरी विज्ञापन खर्च नियोन लाइट (वोर्ड) खर्च पूजिँगत प्रकृतिको खर्च देखिंदा रु. ६,१७,८७३।४३ राजश्व न्यायाधिकरणले मिन्हा दिने ठहर्‍याएको नमिल्ने देखिँदा सो हदसम्म राजश्व न्यायाधिकरणको फैसला केही उल्टी हुन्छ । माथि विवेचना गरिए अनुसार अन्य शीर्षकअन्तर्गत राजश्व न्यायाधिकरणले खर्च मिनाहा दिने गरी गरेको फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ । ति शीर्षकहरूमा पनि खर्च मिन्हा दिन नमिल्ने भन्ने कर कार्यालयको पुनरावेदन जिकीर पुग्न सक्दैन । पुनरावेदक होटल एभरेस्ट इन्टरनेशनलको पुनरावेदनको हकमा निजले मिनाहा पाउनु पर्ने भनी दावी गरेको विविध खर्च बापतको रु. ४६,५५१।५३ नियमानुसार छुट पाउनु पर्ने नै देखिंदा मिनाहा पाउने हुँदा सो हदसम्म राजश्व न्यायाधिकरणले मिनाहा नदिने गरी भएको फैसला केही उल्टी हुन्छ । माथि विवेचना गरिएअनुसार अन्य शीर्षकका हकमा मिनाहा नदिने गरी राजश्व न्यायाधिकरणबाट भएको फैसला मिलेकै हुँदा सदर हुने ठहर्छ । ती शीर्षकहरूमा पनि मिनाहा पाउनु पर्छ भन्ने होटल एभरेस्ट इन्टरनेशनलको पुनरावेदन जिकीर पुग्न सक्दैन । अरु तपसीलबमोजिम गर्नु ।

तपसील

पुनरावेदक होटल एभरेस्ट इन्टरनेशनल लि.का मेनेजिङ्ग डाइरेक्टर मशकुर अहमद लारी के कर कार्यालय काठमाडौको मिति २०५०।१२।९ मा भएको आयकर निर्धारण आदेशले लाग्ने ठहरेको कर रु. ८९,८३,१८९।६४ र जरीवाना रु. ५०००।मध्ये करको आधा र जरीवानाबापत पूरै रकम राजश्व न्यायाधिकरणमा पुनरावेदन गर्दा कर कार्यालय काठमाडौको धरौटी खातामा दाखिला गरी पुनरावेदन गरेको देखिन्छ । माथि इन्साफ खण्डमा लेखिएअनुसार राजश्व न्यायाधिकरणको फैसला केही उल्टी हुने ठहरेकोले खुद आयमा समावेश हुने गरी शुरु कर कार्यालयले निर्णय गरेको रकममध्ये यस अदालतबाट समेत सदर भएको र सदर नभई मिनाहा पाउने ठहरेको शीर्षकअन्तर्गतको रकमहरू पुनरावेदकबाट अग्रिम दाखिला भएको र धरौट रहेको रकमबाट हिसाव मिलान गरी अपुग भए कानूनबमोजिम असूलउपर गर्नु, बढी भए रकम फिर्ता पाऊँ भनी ऐनका म्याद भित्र पुनरावेदकको दरखास्त परे  नियमानुसार फिर्ता दिनु भनी फैसलाको प्रतिलिपि सहित शुरु मिसिल सम्बन्धित कर कार्यालय पठाइदिनू ––––––

माथि इन्साफ खण्डमा लेखिएअनुसार राजश्व न्यायाधिकरणको निर्णय केही उल्टी हुने ठहरेकोले राजश्व न्यायाधिकरणले मिति २०५८।५।१६ को फैसलाले कायम गरेको लगत कायम नरहने हुँदा कट्टा गर्नुभनी सम्बन्धित निकायमा लेखी पठाउनू ––––––

दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू –––

 

 

उक्त रायमा सहमत छु ।

 

न्या.प्रेम शर्मा

 

इति संवत् २०६६ साल भदौ २९ गते रोज २ शुभम्

 

इजलास अधिकृतः कमलप्रसाद पोखरेल

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु