शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७९५३ - कर्तव्य ज्यान ।

भाग: ५० साल: २०६५ महिना: श्रावण अंक:

निर्णय नं.७९५३     ने.का.प. २०६५      अङ्क ४

 

सर्वोच्च अदालत, संयुक्त इजलास

सम्माननीय प्रधानन्यायाधीश श्री केदारप्रसाद गिरी

माननीय न्यायाधीश श्री बलराम के.सी.

फौ.पु.नं.: ०६३CR०३९३

फैसला मितिः २०६५।४।१९।१

 

मुद्दाः कर्तव्य ज्यान ।

 

पुरावेदक/वादीः रामअयोध्या सहनीको जाहेरीले नेपाल सरकार

विरुद्ध

प्रत्यर्थी/प्रतिवादीः जिल्ला सर्लाही, खैर्वा गा.वि.स. वडा नं. ८ बस्ने फटक भन्ने अनुप सहनी समेत

 

अघि फैसला गर्ने

मा.जि.न्या. श्री यज्ञप्रसाद वस्याल

पुनरावेदन अदालत जनकपुरः

मा.मु.न्या. श्री प्रेम शर्मा

मा.न्या. श्री भोलाप्रसाद खरेल

 

§  घटनास्थलमा मौजुद र घटनाबाट पीडित भएका व्यक्तिले व्यक्त गरेका विरोधाभाषयुक्त कथनले प्रमाणको रुप धारण गर्न नसक्ने ।

§  विरोधाभाषयुक्त कथनले प्रमाणको स्वरुप ग्रहण गर्न सक्दैन । वारदात भएको तथ्य स्थापित हुनु र कसूर प्रमाणित हुनु भनेका अलग अलग विषय भएकाले वारदात भएको र वारदातमा परी एकजनाको मृत्यु समेत भएको भन्ने तथ्यमा विवाद नभएतापनि को कसको कर्तव्यले घटना भएको हो भन्ने कुराको वस्तुनिष्ट प्रमाण वादी पक्षले पेश गर्न सक्नु पर्ने ।

(प्रकरण नं.२)

§  प्रमाण भन्ने कुरा कहिल्यै पनि विरोधाभाषयुक्त हुन सक्दैन, द्विविधाजनक हुन सक्दैन । सर्वोत्तम प्रमाण पेश गर्नु पर्छ भन्ने मान्यता स्थापित हुनुको दार्शनिक आधार पनि यहि नै हो । विरोधाभाषको अन्त गर्नु, द्विविधाको अन्त गर्नु नै प्रमाणको एकमात्र उद्देश्य हुने ।

§  मौखिक प्रमाण जहिले पनि प्रत्यक्ष हुनुपर्छ, अस्पष्ट र अनिश्चयात्मक कथनलाई कसूरदार ठहर्‍याउने आधार बनाउन नमिल्ने ।

§  साक्षीका शंकास्पद एवं विरोधाभाषयुक्त कथनलाई प्रमाण मानेर कसैलाई दोषी ठहर गर्न नमिल्ने ।

(प्रकरण नं.४)

 

पुनरावेदक वादी तर्फवाटः विद्वान सहन्यायाधिवक्ता श्री ठोकप्रसाद सिवाकोटी

प्रत्यर्थी प्रतिवादी तर्फवाटः

अवलम्वित नजीरः

 

फैसला

न्या.वलराम के.सी.: न्याय प्रशासन ऐन, २०४८ को दफा ९ (१)(ग) अनुसार यस अदालतमा दायर भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः- 

मिति २०५८।६।६ गते राती  २४.०० बजेको समयमा रामअयोध्या सहनीलाई माछा मारी रहेको अवस्थामा अपरिचित व्यक्तिहरुबाट गोली प्रहार गर्दा निजको घाँटीमा गोली लागी घाइते भएको भन्ने प्रहरी सञ्चार ।

मिति २०५८।६।६ गते राती माछा मार्दा रामअयोध्या सहनीलाई गोली हानी घाइते बनाएपछि चनरदेव सहनी वेपत्ता भएको भनी विनोद सहनीबाट बुझिन आएको, वेपत्ता भएको चनरदेव सहनी समेतलाई खोज तलास भै रहेको भन्ने प्रहरी सञ्चार ।

मिति २०५८।६।६ गते राती २४.०० बजेको समयमा म समेत वागमती नदीको किनारमा माछा मारी रहेको अवस्थामा जाहेरीमा उल्लेखित प्रतिवादीहरुले हामी भएको ठाउँमा आई तिमीहरुलाई कारवाही हुन्छ  । तिमीहरु के हेरी बसेको भनी जुनि सहनीले बचन दिनासाथ नन्दु सहनी र वीरवंश सहनीले कटुवाबाट गोली प्रहार गर्दा नन्दु सहनीले चलाएको गोलीले म जाहेरवालालाई घाँटीमा लाग्न गएको र वीरवंशले चलाएको गोलीले काका चनरदेव सहनीलाई लाग्न गै चनरदेव वागमती नदीमा ढल्न गै वेपत्ता भएको, म जाहेरवाला भाग्न सफल भएको भन्ने समेत व्यहोराको जाहेरवालाको जाहेरी दरखास्त ।

जाहेरवाला पक्षसँग माछा मार्ने विषयमा विवाद हुँदा चलाएको गोली चनरदेव सहनीलाई लाग्न गै निज वाग्मती नदीमा ढले, रामअयोध्या सहनी गोली लागी घाइते भए भन्ने समेत व्यहोराको प्रतिवादी वीरवंश सहनीको अधिकार प्राप्त अधिकारी समक्ष भएको बयान ।

जाहेरवाला रामअयोध्या सहनी र चनरदेव सहनी वागमती नदीमा माछा मार्दाका अवस्थामा गोली हानी चनरदेव वेपत्ता भएका र जाहेरवाला घाइते भएको भनी सुनी थाहा पाएको हुँ भन्ने समेत व्यहोराको अनुसन्धानका क्रममा बुझिएका अनुपलाल राय, फेकन सहनीको कागज।

मेरो पति समेत नदीमा माछा मार्न गएका वखत प्रतिवादीहरुले षडयन्त्र गरी जुनि सहनीले बचन दिँदा यी प्रतिवादीहरुले गोली हानी कर्तव्य गरी चनरदेव नदीमा ढली वेपत्ता भएको, रामअयोध्या सहनी सख्त घाइते भएका हुन् भनी जयमन देवीले अनुसन्धानका क्रममा गरेको कागज ।

प्रतिवादी र अन्य मानिस समेत भई माछा मार्न गएक अवस्थामा जाहेरीमा उल्लेखित प्रतिवादीले घेरा हाली विवाद गरी जुनी सहनीले बचन दिँदा नन्दु सहनीले फायर गरेको गोली लागी घाइते भएका चनरदेव वागमती नदीमा ढलेको र सो मौकामा १०।१२ जना मानिस भएको भनी बताएका थिए भने वारदात जाहेरीमा लेखिएका मानिसहरुले नै गराएका हुन भन्ने समेत व्यहोराको शम्भु सहनी र विनोद सहनी मलाहाको कागज ।

वागमती नदीमा माछा मार्न गएकोमा अपरिचित १०।१२ जना मानिसले गोली हानी चनरदेव नदीमा ढलेको भन्ने भोली पल्ट सुनेको हुँ । जाहेरवाला र प्रतिवादीहरु बीच राम्रो  मेल थिएन । हाल बुझ्दा भारतीय अपराधीहरुले उक्त घटना घटाएका हुन् । जाहेरीमा उल्लेख गरेका व्यक्तिहरुले उक्त घटना घटाएको होइन भन्ने समेत व्यहोराको बुझिएका सुरज सहनी मलाहा समेतले अधिकार प्राप्त अधिकारी समक्ष गरेको  कागज ।

जाहेरी तथा अन्य कागजबाट प्रतिवादी वीरवंश सहनीले चलाएको गोली लागी चनरदेवको मृत्यु भएको र नन्दु सहनीले चलाएको बन्दुकको गोली लागी रामअयोध्या सहनी घाइते भएको र जुनी सहनीको बचन मानी सबै प्रतिवादीहरु हतियार सहित वारदात स्थलमा उपस्थित भै घटना घटेकोले जुनी सहनीको बचनबाट वारदात घटेको देखिँदा निजलाई ज्यान सम्बन्धी महलको   १३(४) नं. र अन्य प्रतिवादीहरुलाई १३(१) नं. अनुसार सजायको माग दावी भएको साथै ज्यान मार्ने उद्योग तर्फ प्रतिवादीहरु सबै उपर ज्यान सम्बन्धी महलको १५ नं. अनुसार सजायको माग दावी लिई दायर भएको अभियोग पत्र ।

अभियोग दावी झुठ्ठा हो । सो वारदात भएको दिन म बाबुको घरमा भजन किर्तनमा  छु । बाबु जुनि सहनी पूजामा बसेको हुँदा घरमा थिए । अन्य प्रतिवादी कहाँ थिए मलाई थाहा छैन । म उपरको दावी झुठ्ठा हो भन्ने समेत व्यहोराको प्र. विर बहादुर भन्ने वीरवंश सहनीको अदालत समक्षको बयान ।

जाहेरी व्यहोरा झुठ्ठा हो । मैले ज्यान मारेको र ज्यान मार्ने उद्योग गरेको छैन, म उपरको अभियोग दावी झुठ्ठा हो भन्ने समेत व्यहोराको प्र. मिश्री सहनी मलाहको अदालतमा भएको बयान ।

जाहेरी व्यहोरा झुठ्ठा हो । मैले ज्यान मारेको र ज्यान मार्ने उद्योग गरेको छैन । उक्त वारदात मिति समयमा म आँखा कम देख्ने मानिस भएको हुँदा घरमै थिएँ भन्ने समेत व्यहोराको प्र. अनुप सहनी मलाहाको अदालतमा भएको बयान ।

जाहेरी व्यहोरा झुठा हो म सँग बन्दुक पछि छैन, बन्दुक चलाउन जानेको पनि छैन, मैल ज्यान मारेको र ज्यान मार्ने उद्योग गरेको छैन भन्ने समेत व्यहराको प्रतिवादी नन्दु सहनीको अदालत समक्षको बयान ।

अभियोग दावी झुठ्ठा हो । मैले ज्यान मारेको र ज्यान मार्ने उद्योगको कार्य गरेको छैन भन्ने समेत व्यहोराको प्र. जुनी सहनीको अदालतमा भएको बयान ।

अभियोग दावीलाई मात्र आधार मानी प्रतिवादीहरुको कर्तव्यबाट चनरदेवको मृत्यु भएको भन्न मान्न मिल्ने अवस्था नदेखिनुका अतिरिक्त सबुद प्रमाणको अभावमा कसैलाई दोषी ठहर्‍याउन फौज्दारी न्याय सिद्धान्त विपरीत हुने हुँदा र प्रमाण ऐन, २०३१ को दफा २५ बमोजिम चनरदेवलाई प्रतिवादीले गोली हानी मरेको प्रमाण पुर्‍याउन नसक्दा सो हदसम्म अभियोग दावी पुग्न नसकी प्रतिवादीहरुले सफाई पाउने ठहर्छ । माछा ठेक्का सम्बन्धी विवादमा पीडित जाहेरवाला रामअयोध्या सहनीसँग प्रतिवादीहरुको विवाद भएपछि जुनी सहनीले दिएको बचन मानी नन्दु सहनीले नलकटुवा बन्दुकले ज्यान मार्ने उद्देश्यले जाहेरवालालाई हान्दा घाँटीमा लागी ज्यान मर्न नपाई उपचार गराई ज्यान बचेको भन्ने मिसिल संलग्न कागजातबाट देखिँदा प्रतिवादी जुनी सहनी र नन्दु सहनीले ज्यान सम्बन्धी महलको १ र १५ नं. को कसूर गरेको ठहर्छ । सो ठहर्नाले वारदातको प्रकृति र कसूरको मात्र समेतलाई बिचार गरि प्रतिवादी जुनी सहनी र नन्दु सहनीलाई पाँच वर्ष कैद हुन्छ । अन्य प्रतिवादीहरु वीरवंश, अनुप र मिश्री सहनीले अभियोग दाविबाट सफाई पाउने ठहर्छ भन्ने समेत व्यहोराको शुरु सर्लांही जिल्ला अदालतको मिति २०६०।१०।१३ को फैसला ।

एउटै वारदातमा घटित घटना मध्ये कर्तव्य ज्यान तर्फ सफाई दिनु र ज्यान मार्ने उद्योग तर्फ उपरोक्त दुईजना जुनी सहनी र नन्दु सहनीलाई मात्र कसूर गरेको ठहर गरी अन्यलाई सफाई दिनु मिसिल प्रमाणको समुचित मुल्यांकन नगर्नु हो । जाहेरी दरखास्त, मौकामा बुझिएका व्यक्तिको कागज र सो अनुसार भएको बकपत्र, जाहेरवालाको अदालतमा भएको किटानी बकपत्र समेतबाट सबै प्रतिवादीहरुको संलग्नतामा प्रस्तुत वारदात घटेको तथ्य स्थापित हुँदाहुँदै प्रमाणको समुचित मुल्यांकन नगरी केवल मनोगत रुपमा गरेको प्रस्तुत फैसला बदर गरी अभियोग माग दावी बमोजिम गरिपाऊँ भन्ने समेत व्यहोराको वादी नेपाल सरकारको पुनरावेदन पत्र ।

घटना पश्चात मौकामा तयार भएको घटनास्थल मुचुल्का तथा प्रहरी सञ्चारमा यिनै जाहेरवाला समेतसँग साथमा माछा मार्न गएका दशै सहनी, विनोद सहनी समेत अपरिचित व्यक्तिहरुले एक्कासी गोली फायर गरेको सो गोली लागी चनरदेवको मृत्यु भएको र राम अयोध्या सहनी घाइते भएको भनी रहेको भनाईलाई मूलतः प्रमाण ऐन, २०३१ को दफा १० बमोजिम प्रमाणमा लिई हामीलाई पूर्णतः सफाई दिनुपर्नेमा हामीलाई जनही ५ वर्षको दरले कैद गर्ने भनी भएको शुरु जिल्ला अदालतको फैसला गैर कानूनी र त्रुटिपूर्ण रहेकोले बदर गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादीहरु जुनी सहनी र नन्दु सहनीको पुनरावेदन पत्र ।

यसमा माछाको विवादमा वन्दुक प्रहार भएको व्यहोरा केश फारमका साथै जाहेरवाला समेतको बकपत्रबाट पुष्टि हुँदा समेत शुरुको फैसला नमिली फरक पर्ने हुँदा अ.वं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम विपक्षीहरु झिकाउनु र प्र.जुनी सहनी र प्र. नन्दु  सहनीको पुनरावेदनको प्रतिलिपी पुनरावेदन सरकारी वकिल कार्यालय जनकपुरलाई दिई नियमानुसार पेश गर्नु भन्ने समेत व्यहोराको पुनरावेदन अदालत जनकपुरको मिति २०६२।५।१५ को आदेश ।

पीडित जाहेरवाला रामअयोध्या सहनीको अदालतमा भएको बकपत्र नै प्रत्यक्ष वा मुख्य प्रमाणको स्वरुप ग्रहण गर्ने देखिन आयो । निजको बकपत्र अध्ययन गर्दा सवाल १५ को जवाफमा रातको समय भएको हुँदा मैले कसैलाई मौकामा चिनिन भन्ने स्पष्ट रुपमा बकपत्र गरेबाट वारदात हुँदाका अवस्थामा यी पीडितले कुनै पनि व्यक्तिलाई चिनेका रहेनछन् भनी अकाट्य रुपमा अदालत विश्वस्त हुनुपर्ने अवस्था सिर्जना भयो । त्यसैगरि सवाल १६ को जवाफमा मैले चिनको थिइन, गाउँका भूमिहारहरुले भनेका भरमा विश्वास गरी जाहेरीमा उल्लेख गरिएको हो भनी आफ्नो बकपत्रको व्यहोरा देखियो । अव बचन दिने कार्यमा निजले अभिव्यक्त गरेका शब्द र आवाजको प्रत्यक्ष संलग्नता हुन्छ । बचन दिँदा मार हान अथवा अन्य प्रकारका अपशब्दहरु प्रयोग गरी कुनै कर्तव्य गर्नलाई उत्प्रेरित वा उक्साउनलाई भनिन्छ । अव जुनी सहनीलाई चिनेकै छैन भने बचनदिने शब्द स्वरसँग जोहरवाला अभ्यस्त थिए भन्न सकिएन । अव विनोद सहनीको भनाईलाई एकमात्र आधार बनाई प्रहरी सञ्चार माध्यमबाट मुद्दाको प्रारम्भ भएको देखिन आउँदछ । मुद्दाका सुत्रधार विनोद सहनीलाई पटक पटक अदालतमा बकपत्र गराउन पत्राचार गर्दा समेत अनुपस्थित भै कसूरलाई पुष्ट्याई गर्न सकेको पाईदैन । यस स्थितिमा शंका, विश्वासलाई आधार बनाई ज्यान तथा ज्यान मार्ने उद्योग जस्तो जघन्य अपराधमा प्रत्यक्ष तथ्ययुक्त प्रमाणको अभाव देखिँदा देखिँदै पनि ज्यान मार्ने उद्योग गरेको ठहर्‍याई जनही ५ वर्ष कैद गर्ने गरेको निर्णय कानून अनुरुप मिलेको नदेखिँदा उल्टी भै अभियोग दावीबाट सफाई पाउने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत जनकपुरको मिति २०६३।३।७ को  फैसला ।

            मृतक चनरदेव, जाहेरवाला रामअयोध्या सहनी लगायत प्रतिवादीहरु माछा व्यवसायमा संलग्न रहेका र सोही सन्दर्भमा मिति २०५८।६।६ गते राती १२ वजे माछा मार्ने प्रयोजनका लागि मृतक, जाहेरवाला र प्रतिवादीहरु वारदातस्थल वागमती नदीमा माछा मार्न जाँदा माछाको ठेक्का सम्बन्धी विवाद भई जुनी सहनीको वचनबाट नन्दु सहनी समेतले गोली प्रहार गरी वारदातस्थलमै मृतक चनरदेवको मृत्यु भई लाश वाग्मतीले वगाई लगेको र रामअयोध्या सहनी उपर वन्दुकको गोली प्रहार भई मरणासन्न अवस्थामा सख्त घाइते भएको तथ्य जाहेरी लगायत संकलित सबुत प्रमाणहरुबाट सारभूत रुपमा स्थापित रहेको छ, त्यसरी घाइते भएका जाहेरवालाको त्यस अवस्थाप्रति अदालतले विवेचना गरेको देखिँदैन । प्रतिवादीहरु अदालत समक्षको वयानमा इन्कार रही वयान गरेतापनि मौकामा पक्राउ परी अधिकारप्राप्त अधिकारी समक्ष वयान गर्दा प्रतिवादीमध्येका वीरवंश सहनी कसूर गरेको कुरामा पूर्ण रुपमा सावित छन् । निजको सो वयान वारदातको तथ्य, साक्षी प्रमाण, केश फाराम समेतबाट पुष्टी भएको छ । सो वयान इच्छा विरुद्धको भन्ने कुराको पुष्टी स्वयं प्रतिवादीले गर्न सक्नुपर्नेमा गर्न नसकेको अवस्थामा त्यसलाई प्रमाणमा लिई कसूरदार ठहर गर्नुपर्ने हुन्छ । तसर्थ केही प्रतिवादीहरुलाई आंशिक सजाय गर्ने गरेको शुरु फैसला समेत वदर गरी सम्पूर्ण प्रतिवादीहरुलाई सफाई दिने गरी भएको पुनरावेदन अदालतको फैसलामा गम्भिर कानूनी त्रुटी विद्यमान भएकाले सो फैसला उल्टी गरी प्रतिवादीहरुलाई अभियोग दावी वमोजिम सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको वादी नेपाल सरकारका तर्फबाट परेको पुनरावेदनपत्र ।

            नियम वमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा वादी नेपाल सरकारका तर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री ठोकप्रसाद शिवाकोटीले गर्नु भएको वहस जिकीर समेत सुनी सम्पूर्ण मिसिल अध्ययन गरी हेर्दा वीरवंश सहनीले चलाएको गोली लागी चनरदेवको मृत्यु भएको र नन्दु सहनीले चलाएको बन्दुकको गोली लागी रामअयोध्या सहनी घाइते भएको र जुनि सहनीको बचनबाट वारदात घटेको देखिँदा निजलाई ज्यान सम्बन्धी महलको १३(४) नं. र अन्य प्रतिवादीहरुलाई १३(१) नं. अनुसार र ज्यान मार्ने उद्योगतर्फ सबै प्रतिवादी उपर ज्यान सम्बन्धी महलको १५ नं. अनुसार सजाय गरिपाऊँ भन्ने माग दावी रहेकोमा सबै प्रतिवादीहरु अदालत समक्ष कसूर गरेको कुरामा इन्कार रही वयान गरेको देखिन्छ ।

शुरु अदालतबाट प्रतिवादी जुनी सहनी र नन्दु सहनीले ज्यान सम्बन्धी महलको १ र १५ नं. को कसूर गरेको ठहर्‍याई पाँच वर्ष कैदको सजाय हुने र अन्य प्रतिवादीहरुले अभियोग दाविबाट सफाई पाउने ठहर्‍याएकोमा पुनरावेदन अदालतले शुरु फैसला उल्टी गरी सबै प्रतिवादीले अभियोग दावीबाट सफाई पाउने ठहर्‍याए उपर वादी नेपाल सरकारको पुनरावेदन पर्न आएको देखिन्छ । वारदातमा चनरदेवको मृत्यु भएको र रामअयोध्या सहनी घाइते भएको भन्ने तथ्यमा विवाद नरहेको र अधिकार प्राप्त अधिकारी समक्षको वयानमा सावित रहेका प्रतिवादी वीरवंश सहनीको वयान स्वेच्छा विरुद्धको हो भन्ने प्रमाणित नभएको र घटना विवरण र निजको वयानका बीचमा सामञ्जस्यता कायम रहेको अवस्थामा घाइते जाहेरवालाको अवस्थाप्रति निरपेक्ष रही गरिएको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण रहेको भन्ने पुनरावेदन जिकीर रहेको हुँदा प्रस्तुत मुद्दामा प्रतिवादी वीरवंश सहनीको अधिकार प्राप्त अधिकारी समक्षको वयान र वारदातमा परी आफू स्वयं समेत घाइते भएका जाहेरवाला रामअयोध्या सहनीको जाहेरी व्यहोरालाई नै प्रतिवादी उपरको अभियोग स्थापित गर्ने मुख्य आधारका रुपमा प्रस्तुत गरिएको देखिन्छ । उल्लिखित तथ्यगत आधार समेतका रोहमा हेर्दा मिति २०५८।६।६ गते राती २४.०० बजेको समयमा म समेत वागमती नदीमा माछा मार्ने क्रममा भएको वारदातमा परी चनरदेव सहनीको मृत्यु भएको र रामअयोध्या सहनी घाइते भएको भन्ने तथ्यमा विवादको अवस्था नरहेको हुँदा त्यसतर्फ थप विवेचना गर्नुपर्ने नदेखिँदा अब सो वारदातमा प्रतिवादीहरुको संलग्नता छ छैन ? यदि संलग्नता रहेको देखिएमा के कुन प्रकृतिको संलग्नता रहेको छ ? भन्ने समेतको विवेचना गरी पुनरावेदन अदालत जनकपुरको फैसला मिले नमिलेको के रहेछ भन्ने सम्बन्धमा निर्णय दिनु पर्ने देखियो ।

            २.    निर्णयतर्फ विचार गर्दा वारदातमा प्रतिवादीहरुको संलग्नता छ छैन ? भन्ने प्रश्न नै महत्वपूर्ण देखिन्छ । वारदातमा प्रतिवादीहरुको संलग्नता रहेको भन्ने कुराको समर्थनमा वादी पक्षबाट वीरवंश सहनीको अधिकार प्राप्त अधिकारी समक्षको वयान र वारदातमा परी आफू स्वयं समेत घाइते भएका जाहेरवाला रामअयोध्या सहनीको जाहेरी व्यहोरालाई प्रस्तुत गरेको देखिन्छ । प्रतिवादी मध्येका वीरवंश सहनीले अधिकार प्राप्त अधिकारी समक्ष वयान गर्दा जाहेरवाला पक्षसँग माछा मार्ने विषयमा विवाद भएको र सो क्रममा वन्दुक पड्केको सम्म आफूले सुनेको भनी भनेतापनि को कसले चलाएको बन्दुक चनरदेव सहनीलाई लाग्न गै निज वागमती नदीमा ढली वगेको र जाहेरवालाको शरिरमा पनि गोली लागी घाइते भएको भन्ने कुरा पछि थाहा पाएको भन्ने व्यहोरा उल्लेख गरेको पाइन्छ । निजको सो वयान व्यहोराको अध्ययन गर्दा एक आपसमा विरोधाभाषपूर्ण देखिन्छ । निजको वयान व्यहोरामा एकरुपता र सामञ्जस्यता कायम हुन सकेको पाईंदैन । निजले अदालतसमक्ष गरेको वयानमा वारदात भएको कुरामा नै अनभिज्ञता जनाएको देखिन्छ । जहाँसम्म जाहेरी दरखास्तको सन्दर्भ छ, जाहेरवाला रामअयोध्या सहनी स्वयं पनि घटनामा घाइते भएका व्यक्ति रहेको हुँदा निजद्वारा दिइएको जाहेरी दरखास्तको महत्व देखिन्छ । वारदातमा घाइते भै पीडित भएका जाहेरवाला स्वयं नै घटनाको प्रत्यक्षदर्शी समेत रहेको सन्दर्भमा निजको भनाईले प्रामाणिक महत्व राख्दछ । उक्त जाहेरी दरखास्तको व्यहोरालाई हेर्दा मिति २०५८।६।६ गते राती २४.०० बजेको समयमा आफू र चनरदेव समेत वागमती नदीको किनारमा माछा मारी रहेको अवस्थामा प्रतिवादीहरुमध्येका जुनी सहनीले बचन दिनासाथ नन्दु सहनी र वीरवंश सहनीले कटुवाबाट गोली प्रहार गर्दा नन्दु सहनीले चलाएको गोलीले आफूलाई घाँटीमा लाग्न गएको र वीरवंशले चलाएको गोलीले काका चनरदेव सहनीलाई लाग्न गै चनरदेव वागमती नदीमा ढल्न गै वेपत्ता भएको र आफू भाग्न सफल भएको भन्ने समेत व्यहोरा उल्लेख गरेको पाइन्छ । तर निज अदालत समक्ष उपस्थित भै गरेको वकपत्रमा वारदात भएको तथ्यलाई पुनर्पुष्टी गरेको भएतापनि घटना गराउने मानिसहरुलाई मैले चिनिन, बाहिरका मानिसहरु हुन्, रातको समय भएकाले कसैलाई चिनिन, गाउँका भूमिहारहरुले भनेको भरमा विश्वास गरी जाहेरीमा उल्लेख गरिएको हो भनी जाहेरी व्यहोराको प्रतिकूल हुने गरी लेखाइदिएको देखिन्छ । यसरी स्वयं पनि घटनाबाट पीडित हुन पुगेका र घटनाको प्रत्यक्षदर्शीको रुपमा रहेका जाहेरवाला नै अदालत समक्ष उपस्थित भै गरिदिएको वकपत्रमा जाहेरी दरखास्तको विपरीत वारदातमा संलग्न व्यक्तिहरु को को थिए ? कसले प्रहार गरेको गोली लागी चनरदेवको मृत्यु भयो ? र जाहेरवालालाई लागेको गोली को कसले प्रहार गरेको थियो ? भन्ने पहिचान गर्न नसकेको अवस्था दर्शाएको हुँदा पीडितको अवस्था भनेको Hearsay evidence सरहको पनि देखिन आएन । घटनास्थलमा मौजुद र घटनाबाट पीडित भएका व्यक्तिले व्यक्त गरेका यस्ता विरोधाभाषयुक्त कथनले प्रमाणको रुप धारण गर्न सक्दैन । जाहेरी दरखास्तमा घटनाको प्रत्यक्षदर्शीका रुपमा प्रस्तुत गरिएका दशैं सहनी र शम्भु सहनी समेतले गोली प्रहार गर्ने मानिसको पहिचान गर्न नसक्ने भनी वकपत्र गरिदिएको देखिन्छ । यसरी वादी पक्षबाट साक्षी प्रमाणका रुपमा प्रस्तुत गरिएका व्यक्तिहरुले कसूरदार को हो भन्ने यकिन गर्न नसकेको अवस्थामा केबल अधिकारप्राप्त अधिकारी समक्ष व्यक्त भएको भन्ने आधारमा मात्र कसैलाई कसूरदार ठहर्‍याउन मिल्ने हुँदैन । फौजदारी अपराधमा शंकारहीत प्रमाण हुनु पर्छ, विरोधाभाषयुक्त कथनले प्रमाणको स्वरुप ग्रहण गर्न सक्दैन । वारदात भएको तथ्य स्थापित हुनु र कसूर प्रमाणित हुनु भनेका अलग अलग विषय हुन् । वारदात भएको र वारदातमा परी एकजनाको मृत्यु समेत भएको भन्ने तथ्यमा विवाद नभएतापनि को कसको कर्तव्यले सो घटना भएको हो भन्ने कुराको वस्तुनिष्ट प्रमाण वादी पक्षले पेश गर्न सक्नु पर्छ । प्रमाण ऐन, २०३१ को दफा २५ ले पनि अभियुक्तका रुपमा प्रस्तुत गरिएका व्यक्तिको कसूर प्रमाणित गर्ने भार वादी पक्षमा निहित गराएको छ । घटना भएको तथ्यलाई पुष्टी गर्दैमा अभियुक्तको कसूर प्रमाणित हुँदैन । 

३.    प्रमाण ऐन, २०३१ को दफा १० मा रहेको कानूनी व्यवस्था पनि यहाँ सान्दर्भिक देखिन्छ । सो दफामा रहेको कानूनी व्यवस्था यस प्रकार रहेको छः

 

(१)    कुनै काम घटना वा अवस्थाका सम्बन्धमा देहायका कुनै व्यक्तिले मौकामा वा त्यसको तत्काल अघि वा पछि व्यक्त गरेको कुरा प्रमाणमा लिन हुन्छः

(क)   सो काम गर्ने वा सो काम, घटना वा अवस्था प्रत्यक्ष रुपमा देख्ने वा थाहा पाउने व्यक्ति, वा

(ख)   सो काम, घटना वा अवस्थाबाट पीडित भएका व्यक्ति ।

 

४.    यसरी घटना घटाउने, घटना प्रत्यक्ष रुपमा देख्ने, थाहा पाउने र घटनाबाट पीडित भएका व्यक्तिले घटनाको तत्काल अघि वा पछि व्यक्त गरेका कुरा प्रमाणमा लिइने प्रकृतिको प्रमाण हो र त्यस्ता व्यक्ति प्रत्यक्ष प्रमाण हुन् । वादी पक्षबाट पनि यही कानूनी व्यवस्थालाई आधार बनाएर जाहेरवालाको जाहेरी व्यहोरालाई प्रमाणका रुपमा ग्रहण गरी कसूरदार कायम गर्नुपर्ने जिकीर लिइएको देखिन्छ । तर जाहेरवालाले आफ्नो जाहेरी व्यहोरालाई खण्डन हुने गरी आफूलाई घटना सम्बन्धमा थाहा नभएको भनी अदालतमा वकपत्र गरेपछि त्यस्तो जाहेरी व्यहोरालाई प्रमाणका रुपमा ग्रहण गर्न मिल्दैन । प्रमाण भन्ने कुरा कहिल्यै पनि विरोधाभाषयुक्त हुन सक्दैन, द्विविधाजनक हुन सक्दैन । सर्वोत्तम प्रमाण पेश गर्नु पर्छ भन्ने मान्यता स्थापित हुनुको दार्शनिक आधार पनि यहि नै हो । विरोधाभाषको अन्त गर्नु, द्विविधाको अन्त गर्नु नै प्रमाणको एकमात्र उद्देश्य हो । वादी पक्षले आफ्नो अभियोगको पुष्ट्याईंका लागि साक्षीका रुपमा प्रस्तुत गरिएका जाहेरवाला स्वयं नै आफ्नो जाहेरी व्यहोरामा अडिन नसकी वारदातमा परी आफू समेत घाइते भएको तथ्यलाई यथावत् रुपमा स्वीकार गर्दै कसूरदारका हकमा भने रातको अँध्यारोको कारणले गर्दा पहिचान गर्न नसकेको भनी जाहेरी व्यहोरालाई अस्विकार गरेको अवस्थामा त्यस्तो कथनको विश्वसनीयता कायम हुन सक्दैन । मौखिक प्रमाण जहिले पनि प्रत्यक्ष हुनुपर्छ, अस्पष्ट र अनिश्चयात्मक कथनलाई कसूरदार ठहर्‍याउने आधार बनाउन मिल्दैन । साक्षीका शंकास्पद एवं विरोधाभाषयुक्त कथनलाई प्रमाण मानेर कसैलाई दोषी ठहर गर्न मिल्दैन, त्यसो गर्नु कानून र न्यायका मान्य सिद्धान्त विपरीत हुन जान्छ । त्यसैले जाहेरी दरखास्त र प्रतिवादी मध्येका वीरवंश सहनीको अधिकार प्राप्त अधिकारी समक्षको वयान समेतबाट वारदातमा प्रतिवादीहरुको संलग्नता पुष्टी भएको भन्ने वादी पक्षको जिकीरसँग सहमत हुन सक्ने अवस्था भएन ।

५.    तसर्थ माथि गरिएको विश्लेषण समेतका आधारमा प्रतिवादीहरुलाई अभियोग दावीबाट सफाई दिने ठहर्‍याएको पुनरावेदन अदालत जनकपुरको मिति २०६३।३।७ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । वादी नेपाल सरकारको पुनरावेदन जिकीर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कटृा गरी मिसिल नियमानुसार गरी बुझाईदिनु । 

 

उक्त रायमा म सहमत छु  ।

                                   

प्र.न्या.केदारप्रसाद गिरी

 

इतिसम्बत् २०६५ साल साउन १९ गते रोज १ शुभम् .....................

इजलास अधिकृतः उमेश कोइराला 

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु