शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७३२२ - लागू अौषध

भाग: ४६ साल: २०६१ महिना: बैशाख अंक:

निर्णय नं. ७३२२    ने.का.प.२०६१       अङ्क १

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी

माननीय न्यायाधीश श्री बलराम के.सी.

सम्वत् २०५९ सालको स.अ.फौ.पु.नं. २९५१

फैसला मितिः २०६१।१।११।६

 

मुद्दा :लाग औषध ।

 

पुनरावेदक

प्रतिवादीः मकवानपुर जिल्ला थाके गा.वि.स.वा.नं. ९ घर भै हाल कारागार शाखा सदरखोर डिल्लीवजारमा थुनामा रहेका सूर्यवहादुर स्याङताङ समेत

विरुद्ध

प्रत्यर्थी

वादीः प्रहरीको प्रतिवेदनले श्री ५ को सरकार

 

§  प्रहरीले गाडी सर्च गरेपछि मात्र लागू औषध चरेस रहेको थाहा पाउने पुनरावेदक प्रतिवादीहरु एउटै गाडीमा संगै गएको कारणले मात्र कसूरदार मान्नु न्यायसँगत नदेखिने ।

§  प्रतिवादीहरुलाई आफू सवार रहेको कारमा लागू औषध रहेको भन्ने कुराको पूर्व जानकारी रहेको भन्ने कुराको प्रमाण देखिन नआउनुको साथै अपराधमा संलग्न रहेको भन्ने कुराको ठोस र खम्विर प्रमाणको अभावमा पुनरावेदक प्रतिवादीहरुले कसूर गरेको ठहर्याएको विशेष अदालत काठमाडौंको मिति २०५९।५।२५ को इन्साफ उल्टी भइ प्रतिवादीहरुले सफाइ  पाउने ।

(प्र.नं. २२)

 

पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ताद्वय श्री सोम लुइटेल र श्री नरेन्द्रप्रकाश खनाल

प्रत्यर्थी वादी तर्फवाटः विद्वान उपन्यायाधिवक्ता श्री लोकजंग साह

अवलम्वित नजिरः

 

फैसला

            न्या.मीनबहादुर रायमाझीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ वमोजिम यसै अदालतको क्षेत्राधिकार भित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार   छ :

            २.    मिति २०५८।१२।१ गते चितवन जिल्ला भरतपुर भ.न.पा.वा.नं. १० मालपाते कार्यालय अगाडि वाइपास सडकमा काठमाडौं.वाट हेटौंडातर्फ जानको लागि आएको प्रतिवादी कृष्णवहादुर लामाले चलाई सूर्यवहादुर स्याङताङ र दुर्गा तामाङ वसी आएको वा.१ज ४४४४ नं. को भाडाको मारुति कार प्रहरीले चेकजांच गर्दा अगाडिको दायां वायांको ढोका र पछाडिको डिकीको ढोकामा फिट गरी राखी ल्याएको अवस्थामा ५७ के.जी.ला.औं(चरेश) वरामद भएको भन्ने समेत व्यहोराको वरामदी मुचुल्का ।

            ३.    मिति २०५८।१२।१ गते चितवन जिल्ला भ.न.पा.वा.नं. १० स्थिति मालपोत कार्यालय अगाडि वाइपास पीच सडकमा काठमाडौंंवाट हेटौंडातर्फ जानको लागि आएको प्रतिवादी कृष्णवहादुर लामाले चलाई दुर्गा तामाङ र सूर्यवहादुर स्याङताङ वसी आएको वा.१ज. ४४४४ नं. को मारुति कार चेकजांच गर्दा अगाडिको दायां वायांको ढोका र पछाडिको डिकीको ढोकामा फिट गरी राखी ल्याएको अवस्थामा ५७ के.जि.ला.औ. चरेश वरामद भएको हुँदा वरामद चरेश र प्रतिवादीहरुलाई पक्राउ गरी वा.१ ज ४४४४ नं. को भाडाको मारुती कार समेत आवश्यक कारवाहीका लागि दाखिल गरेका छौं भन्ने समेत व्यहोराको प्रतिवेदन ।

            ४.    मिति २०५८।१२।१ गते म कुष्णवहादुर लामाले चलाई ल्याएको वा.१ ज ४४४४ नं. को भाडाको मारुतीकार चितवन जिल्ला भ.न.पा.वा.नं. १० मालपोत कार्यालय अगाडि चोक सडकमा प्रतिवेदकहरु लगायतका प्रहरीहरुले चेक जांच गर्दा उक्त कारको अगाडिको दायां वायां र पछाडिको डिकीको ढोकामा फिट गरी ल्याएको ५७ के.जि. लागू औषध चरेश वरामद गरी म समेतलाई पक्राउ गरी कार र वरामद चेरश सहित दाखिला गरेको हो भन्ने समेत व्यहोराको प्रतिवादी सूर्यवहादुर स्याङताङले अधिकार प्राप्त अधिकारी समक्ष दिएको वयान ।

            ५.    प्रतिवादी सूर्यवहादुर स्याङताङले दिएके वयानलाई पूर्ण समर्थन हुने गरी प्रतिवादी दुर्गा तामाङले अधिकार प्राप्त अधिकारी समक्ष दिएको वयान ।

            ६.    मिति २०५८।१२।१ गते विहान एकिन नाम थर वतन थाहा नभएको राजकुमार श्रेष्ठले रु ९,०००।दिन्छु पथलैयासम्म पु¥याई दिनु भनेको हुँदा ललितपुरको थापा गाउँवाट मैले चलाएको वा.१ ज ४४४४ नं. को भाडाको मारुतिकारमा अगाडिको दायां वायां र पछाडिको डिकीको ढोकामा ५७ के.जि. लागू औषध चरेश फिट गरी राखी कार मैले नै चलाई कारमा दुर्गा तामाङ र सूर्यवहादुर स्याङताङ समेत वसी आइरहेको अवस्थामा सोही दिन चितवन जिल्ला भरतपुर न.पा.वा.नं. १० मालपोत कार्यालय अगाडि चोक सडकमा आई पुग्दा प्रतिवेदकहरु लगायतका प्रहरी टोलिले कार रोकी चेक जांच गरी कारवाट उक्त ला.औ. ५७ के.जि. चरेश वरामद गरी कार समेत दुर्गा तामाङ, सूर्यवहादुर स्याङताङ र मलाई पक्राउ गरी ल्याएको हो । म कार लिई वारा पथलैया जान लागेको कुरा कारको धनी राजकुमार पाठकलाई फोनवाट जानकारी गराएको थिएं भन्ने समेत व्यहोराको प्रतिवादी कृष्णवहादुर लामाले अधिकार प्राप्त अधिकारी समक्ष दिएको वयान ।

            ७.    वरामद भै आएको ५७ के.जि. चरेशवाट निकालिएको नमूना परीक्षणको लागि पठाउँदा ला.औ. चरेश पाइएको भन्ने व्यहोराको परीक्षण प्रतिवेदन ।

            ८.    मिति २०५८।१२।१ गते चितवन जिल्ला भरतपुर न.पा.वा.नं. १०स्थित मालपोत कार्यालय अगाडि वाईपास सडकमा प्रतिवादी कृष्णवहादुर लामाले चलाई ल्याएको प्रतिवादी दुर्गा तामाङ र सूर्यवहादुर स्याङताङ वसी आएको काठमाडौंवाट हेटौंडा तर्फ जान आइरहेको वा.१ ज ४४४४ नं. को भाडाको मारुति कार प्रतिवेदक लगायतका प्रहरी टोलीले चेक जांच गर्दा अगाडिको दायां वायां र पछाडिको डिकीको ढोकामा फिट गरी राखी ल्याएको अवस्थामा ५७ के.जि. लागू औषध चरेश वरामद भएको हो भन्ने समेत व्यहोराको वुझिएका मानिसहरुले गरि दिएको कागज ।

            ९.    यसमा प्रतिवादीहरु कृष्णवहादुर लामा, दुर्गा तामाङ , सूर्यवहादुर स्याङताङ र राजकुमार पाठकले ला.औ. (नियन्त्रण) ऐन, २०३३ को दफा ४(क) को कसूर अपराध गरेको हुँदा निज प्रतिावदीहरुलाई सोही ऐनको दफा १४(१)(घ)(५) वमोजिम सजाय हुन र ला.औ.चरेश ओसार पसार गर्न प्रयोग गरेको वा.१ ज ४४४४ नं. को भाडाको मारुतिकार सोही ऐनको दफा १८ वमोजिम जफत हुन तथा फरार प्रतिवादी राजकुमार पाठकको हकमा अदालतवाटै म्याद जारी गरी कारवाही गर्न सादर अनुरोध छ भन्ने समेत व्यहोराको अभियोग पत्र ।

            १०.    तीनवर्ष अगाडि चिनजान भएका कृष्णवहादुर लामा मेरो कोठामा आई पथलैयामा मेरो वहिनी विरामी भएको खवर आयो । उनीलाई काठमाडौंं ल्याउन परेको र मेरो गाडीको लाइसेन्स हराएकोले गाडी तपाइले लानु प¥यो भनेकाले र मलाई पनि फुर्सदै भएकाले हुन्छ जाउँला भने र मैले गाडी चलाई दुर्गावहादुर तामाङ, कृष्णवहादुर लामा पथलैया तर्फ गाडी लिई गइरहेको अवस्थामा मुग्लिङ्ग पुगेपछी गाडीको टायर खोल्ने हाता छैन भनेकाले म र कृष्णवहादुर किन्न गयौं, हाता किनी हामी आउँदा गाडीमा वस्ने दुर्गा तामाङलाई र गाडीलाई प्रहरीले लगेछ । त्यहांको ट्राफिकले गाडी लगेको छ भन्ने जानकारी पाएपछि हामी त्यहां जांदा प्रहरीले हामी तीनै जनालाई भरतपुर चितवन जिल्ला प्रहरी कार्यालयमा लगे र २०५८।१२।१ गते मात्र गाडीको ढोका डिकीमा फिट गरेको चरेश ५७ के.जि. वरामद गरेको थाहा पाएको हुँ । वरामद ला.औ. कृष्णवहादुरले कतावाट ल्याएका हुन् मलाई जानकारी भएन भन्ने समेत व्यहोराको प्रतिवादी सूर्यवहादुर स्याङताङले विशेष अदालतमा दिएको वयान ।

            ११.    मिति २०५८।१२।१ गतेका दिन काममा जान कलंकी चोकमा उभिइरहेको अवस्थामा कृष्णवहादुर लामा गाडी लि एर आए र मलाई वोलाई म पथलैयामा विरामीवहिनी लिन जान लागेको हुँ वाटोमा गाडी चलाउन सिकाई दिउँला जाउँ भनेकाले हुन्छ भनि गाडीमा वसें र गुर्जुधारा पुगेपछि गाडी रोकी सूर्यवहादुर स्याङताङलाई वोलाई ल्याए र हामी तीनैजना चितवनतर्फ लाग्यौं त्यसवेला कृष्णवहादुरले चलाए । नौसिे देखि सूर्यवहादुरले गाडी चलाए, मुग्लिङ्गमा पुगेपछि उनिहअरु साहुलाई चक्का खोलने हाता किन्न गएको अवस्थामा प्रहरीले म वसेको ४४४४ नं. को कार समाती म समेतलाई प्रहरी थानामा लगे, त्यहावाट भरतपुर लगी नौ, दश दिन थुनी गाडीमा चरेश भेटिएको भनि हामीसवैलाई कारवाही चलाएका हुन् उक्त गाडीमा चरेश भएको मलाई जानकारी थिएन र गाडीमा गन्ध पनि आएको थिएन भन्ने समेत व्यहोराको प्र. दुर्गावहादुर तामाङले विशेष अदालतमा दिएको वयान ।

            १२.   चापागाउँ तीरघर वताउने राज कुमार श्रेष्ठले पथलैयामा मेरो केही सामान पु¥याउनु छ भनेकाले ललितपुरको चापागाउँ नजिक पुगी राज कुमारले गाडी रोक्न लगाए र म पिसाव गर्न वाहिर निस्केको अवस्थामा करिव २०० वटा टुक्रा मेरो गाडक ढोकामा राजकुमारले फिट गर्न लागेपछि मैले के हो भन्दा नकराउ तिमीलाई ९,०००।दिउँला भनेकाले मैले हुन्छ भने त्यसपछि राजकुमारले तिमी लिएर जाउ म केही समयपछि आउँछु भनेकाले म त्यहावाट हिंडे । कलंकीमा आउँदा मैले चिनेका दुर्गा तामाङलाई देखि गाडी सिकाई दिउँला सगै जाउँ भनि गाडीमा राखेंर गुर्जुधारामा पुगेपछि मसँग गाडीको लाइसेन्स हराएकोले लाइसेन्स भएका सूर्यवहादुर स्याङताङलाई वोलाई संगै चितवनतिर आइरहेको अवस्थामा मुग्लिङ्गमा प्रहरीले पक्राउ गरेको हो । वरामद चरेश ५७ के.जि. थियो र ला.औ. चरेशको वारेमा दुर्गा तामाङ र सूर्यवहादुर स्याङताङलाई जानकारी छैन भन्ने समेत व्यहोराको प्रतिवादी कृष्णवहादुर लामाले विशेष अदालतमा दिएको वयान ।

            १३.   यसमा प्रतिवादीहरु तीनै जनालाई विशेष अदालत ऐन, २०३१ को दफा ९(२) (छ) वमोजिम थुनामा राख्नु पर्ने प्रयाप्त आधार र मनासिव कारण भएवाट पछि मुद्दामा ठहरे वमोजिम हुने गरी निजहरुलाई हाल थुनामा राख्नु भन्ने समेत व्यहोराको विशेष अदालतको मिति २०५९।१।१७ को थुनछेक आदेश ।

            १४.  गाडी चालक कृष्णवहादुरलाई मेरो भाडाको कार वा.१ ज ४४४४ नं. को गाडी काठमाडौं भ्याली भित्र चलाउन अनुमति दिएकोमा निज कुष्णवहादुर लामाले भ्याली वाहिर गाडी लगेको जानकारी मैले भोलिपल्ट मात्र पाएको हुँ । पछि गाडीमा चरेश राखी लगेकाले गाडी वरामद भएको भन्ने जानकारी पाएँ । तसर्थ प्रस्तुत मुद्दामा मेरो कुन संलग्नता छैन भन्ने समेत व्यहोराको प्रतिवादी गाडी धनी राजकुमार पाठकले विशेष अदालतमा दिएको वयान ।

            १५.   प्रतिवादी राजकुमार पाठकलाई थुनामा राख्नुपर्ने पर्याप्त र मनासिव कारण नदेखिंदा अ.वं. ४७ नं. वमोजिम तारेखमा राख्नु भन्ने समेत व्यहोराको विशेष अदालतको मिति २०५९।१।२४ को आदेश ।

            १६.    मिति २०५८।१२।१ गते चितवन जिल्ला भरतपुर न.पा.वा.नं. १० मा बा.१ ज ४४४४ नं. को गाडीमा दुर्गावहादुर तामाङ, कृष्णवहादुर लामा र सूर्यवहादुर स्याङताङ चढिरहेको अवस्थामा गाडीवाट ५७ के.जि. चरेश वरामदी गरी आवश्यक कारवाहीका लागि प्रतिवदेन गरेका हौं भन्ने समेत व्यहोराको वादीका गवाहले गरि दिएको वकपत्र ।

            १७.   प्रतिवादी राजकुमार पाठक ला.औ. खरिद विक«ी गर्ने खालका मानिस होइनन् र यिनले भ्याली वाहिर गाडी लानु अनुमति पनि दिएका होइनन् । यिनी निर्दोष भएकोले सफाइ पाउनु पर्छ भन्ने समेत व्यहोराको प्रतिवादी राजकुमार पाठकका साक्षी भरतवहादुर श्रेष्ठले विशेष अदालतमा गरि दिएको वकपत्र ।

            १८.   चरेश वरामद भएको कुरामा यि प्रतिवादीहरुले अधिकार प्राप्त अधिकारी तथा अदालतमा समेत सावितै भएको पाइन्छ । प्र. कृष्णवहादुर लामा चरेश ओसार पसारको कसूर गरेकोमा अनुसन्धान अधिकारी तथा अदालतमा पनि सावितै रहेको पाइन्छ भने प्र. दुर्गा तामाङ र सूर्यवहादुर स्याङताङले आफूलाई गाडीमा चरेश रहेको थाहा थिएन भनि कसूरमा इन्कार रही वयान गरेका भएपनि निजहरुले आफ्नो इन्कारीलाई ठोस सवूद प्रमाणद्वारा पुष्टी गर्न सकेको पाइदैन । सो नपाइएवाट ला.औं (नियन्त्रण) ऐन, २०३३ को दफा १२ अनुसार यि प्रतिवादीहरुले उन्मक्ति पाउन सक्ने देखिएन । वरामद भएको चरेश अवैध लागू औषध भएको कुरा परीक्षण प्रतिवेदनवाट देखिन आउँछ भने वरामदी मुचुलकाका काम तामेल गर्ने प्र.नि. दिनेश कुमार आचार्य समेतका प्रहरी कर्मचारीहरुले यि प्रतिवादीहरु चढी गइरहेको कारको चेकजांच गर्दा ५७ के.जि. चरेश फेला परेकोले तीनै जना प्रतिवादीहरुलाई पक्राउ गरेको भनि किटानीसाथ अदालत समक्ष उपस्थित भई वकपत्र गरेको पाइए समेतवाट यि प्रतिवादीहरुले सूर्यवहादुर स्याङताङ, दुर्गा तामाङ र कृष्णवहादुरले मागदावी वमोजिमको कसूर गरेको ठहर्छ । प्र. राजकुमारे मागदावीवमोजिम कसूर गरेको नदेखिदा निजलाई सजाय गरी कार जफत गरि पाउँ भन्ने दावी नपुग्ने ठहर्छ । सो ठहर्नाले प्र. सूर्यवहादुर, दुर्गा तामाङ र कृष्णवहादुरलाई लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा १४(१)(घ)(५) वमोजिम जनही ४ (चार) वर्ष कैद र रु २५,०००।जरिवाना हुन्छ भन्ने समेत व्यहोराको मिति २०५९।५।२५ को शुरु विशेष अदालतको फैसला ।

            १९.    पुनरावेदक मध्ये म सूयृवहादुर स्याङ्गताङ्गलाई मैले चिनेको साथी कृष्णवहादुरले मेरो कोठामा आई निजको वहिनी विरामी भई उपचारका लागि पथलैयावाट काठमाडौंं ल्याउनु पर्ने भएकोले म गाडी चलाउन जान्ने भएको हुँदा र निजको लाइसेन्स नभएकोले मलाई गाडी चलाउन लगेको हो । म दुर्गा तामाङ कृष्णवहादुरले गाडी चलाउन वाटोमा सिकाई दिउँला भनेको हुँदा संगै गएको हुँ । मुग्लिङ्ग पुगेपछि गाडीमा खरावी आई सो को चक्का खोल्ने हाता किन्न म सूर्यवहादुर र कृष्णवहादुर गयौं । सोही अवस्थामा हाम्रो ट्याक्सी ट्राफिकले प्रहरी थानामा लगेको थाहा पाएपछि हामी पनि त्यहीं गयौं, त्यसपछि हामीलाई जि.प्र.का. भरतपुर लगे । गाडीको डिकीवाट ५७ के.जि. गाजा बरामद गरेपछि मात्र ट्याक्समिा गाँजा भएको थाहा पायौं । ट्याक्सीमा हामीलाई कृष्णवहादुर तामाङले लगेको हो । गाँजा बरामद भएको ट्याक्सीमा चढ्नु नै हाम्रो अपराध होइन । वरामद गाँजासँग हाम्रो कुनै सरोकार छैन । अधिकार प्राप्त अधिकारी र अदालतमा भएको हाम्रो वयानमा समेत हाम्रो इन्कारी छ । तसर्थ हाम्रो कुनै संलग्नता नभएको स्पष्ट हुँदाहुँदै सजाय गर्ने गरी भएको फैसला कानूनी त्रुटिपुर्ण भएकोले उल्टी होस् भन्ने समेत व्यहोराको पुनरावेदक सूर्यवहादुर र दुर्गा तामाङको संयुक्त पुनरावेदन जिकिर ।

            २०.   प्रतिवादी सूर्यवहादुर स्याङ्गताङ्ग र दुर्गा तामाङ अनुसन्धानको क«ममा र अदालतमा समेत आरोपित कसूरमा इन्कार रही वयान गरेको र लागू औषध वरामद गरिएको गाडीका चालक प्रतिवादी कृष्णवहादुर तामाङले समेत स्पष्ट रुपमा निजहरुलाई गाडीमा लागू औषध भएको जानकारी नभएको भनी अदालतमा समेत वयान गरि दिएको स्थितिमा निजहरु विरुद्धको अभियोग खम्वीर हुने प्रमाणको अभाव हुँदाहुँदै निज प्रतिवादीहरुलाई कसूरदार ठहर गरेको विशेष अदालत काठमाडौंको इन्साफ फरक पर्न सक्ने देखिंदा छलफलको लागि अ.वं. २०२ नं. वमोजिम महान्यायाधिवक्ताको कार्यालयलाई सूचना दिई पेश गर्नु भन्ने यस अदालतको आदेश।

२१.   नियम वमोजिम दैनिक मुद्दा पेशी सूचिमा चढी इजलास समक्ष पेश हुन आएको प्रसतुत मुद्दाको पुनरावेदन सहितको सम्पूर्ण मिसिल अध्ययन गरियो । पुनरावेदक मध्येका सूर्यवहादुर तर्फवाट उपस्थित विद्वान अधिवक्ता सोम लुइटेलले मेरो पक्ष सूर्यवहादुरलाई कृष्णवहादुरले निजको वहिनी विरामी भएकोले पथलैयासम्म गाडी चलाउन लगेको हो । निजको कुनै गल्ती छैन, गाडी चलाउनु नै कुनै अपराध होइन । यदी निजले गाडीमा चरेश भएको थाहा पाएको भए प्रहरीले गाडी लैजांदा पछि पछि जाने थिएनन्, निज अधिकार प्राप्त अधिकारी र अदालतमा समेत कसूर गरेमा इन्कार छन् । तसर्थ शुरु विशेष अदालतको फैसला उल्टी भई सफाइ होस् भनी बहस गर्नुभयो । त्यस्तै अर्का पुनरावेदक दुर्गा तामाङको तर्फवाट उपस्थित विद्वान अधिवक्ता नरेन्द्र प्रकाश खनालले मेरो पक्ष निर्दोष छ । निजलाई वाटोमा गाडी हांक्न सिकाई दिउँला भनेकाले मात्र सो गाडीमा गएका हुन् । अपराध गरेमा अधिकार प्राप्त अधिकारी र अदालतमा भएको वयान समेतमा इन्कार छन् । तसर्थ शुरु विशेष अदालतको फैसला उल्टी भई मेरो पक्षले सफाइ पाउनु पर्छ भनी बहस गर्नुभयो । श्री ५ को सरकारको तर्फवाट उपस्थित विद्वान उपन्यायाधिवक्ता लोकजंग साहले मुख्य प्रतिवादी कृष्णवहादुर तामाङ अधिकार प्राप्त अधिकारी र अदालत समक्ष भएको बयानमा सावित छन् । अधिकार प्राप्त अधिकारी र अदालतमा भएको वयानमा निजहरु इन्कार रहेको भएपनि अन्य ठोस् सवुद प्रमाणवाट निजहरु निर्दोष रहेको पुष्टी हुने देखिंदैन । तसर्थ शुरु विशेष अदालतको फैसला मिलेकै हुँदा सदर हुनु पर्छ भनी गर्नु भएको वहस जिकिर समेत सुनी विशेष अदालतको फैसला मिले, नमिलेका के रहेछ हेरी निर्णय दिनु पर्ने देखिन आयो ।

२२.   निर्णयतर्फ विचार गर्दा प्रतिवादी कृष्णबहादुर लामाले चलाएको काठमाडौंवाट हेटौंडातर्फ गैरहेको वा.१.ज. ४४४४ को गाडीको चेकजाँच गर्दा ५७ के.जी. लागू औषध चरेस फेला परेकाले लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४(क) को कसूरमा ऐ. ऐनको दफा १४(१)(३)(५) वमोजिम हदैसम्म सजाय गरीपाउँ भन्ने अभियोग दावी भएको प्रस्तुत मुद्दामा शुरु विशेष अदालतले अभियोग दावी वमोजिम यी प्रतिवादीहरुलाई जनही चार वर्ष कैद र पच्चिस हजार जरिवाना हुने ठहराएको फैसला उपर प्रतिवादीहरु दुर्गा तामाङ र सूर्यबहादुर स्याङताङको यस अदालतमा पुनरावेदन परी पेश हुन आएको देखिन्छ । दुवै पुनरावेदक प्रतिवादीहरुले अनुसन्धानको क्रममा अधिकार प्राप्त अधिकारी र अदालत समक्ष आइ गरेको वयानमा समेत आफू चढेको गाडीवाट लागू औषध वरामद भएको भनी उल्लेख गरेको पाइदा अभियोग दावी वमोजिम लागू औषध वरामद भएको तथ्यमा विवाद देखिदैन । अव उक्त वारदातमा यी प्रतिवादीहरुको संलग्नता रहे नरहेको के रहेछ भनी हेर्दा दुवैजना प्रतिवादीहरुले अधिकार प्राप्त अधिकारी तथा अदालत समक्षको वयानमा समेत सो कसूरमा आफूहरु संलग्न नभएको एवं आफू चढेको गाडीमा लागू औषध छ भन्ने जानकारी आफूलाई नभएको भनी कसूरमा इन्कार रही वयान दिएको पाइन्छ । प्रतिवादीको वयानवाट प्रतिवादी मध्येका गाडी चालक कृष्णबहादुर लामाको सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएकोले निजले चिनजानका सूर्यबहादुर स्याङताङसँग लाइसेन्स भएकोले वाटोमा अप्ठ्यारो पर्छ कि भनी वहिनी विरामी छ पथलैयासम्म लिन जानु छ हिँड भनी प्र.सूर्यबहादुरुलाई लिई गएको र अर्का पुनरावेदक प्रतिवादी दुर्गा तामाङलाई वाटामा गाडी सिकाई दिउला हिँड भनी प्र.कृष्णबहादुरले लगेको भन्ने देखिन आउँछ । साथै यि पुनरावेदक प्रतिवादीहरु सूर्यबहादुर स्याङताङ र दुर्गा तामाङलाई गाडी भित्र लागू औषध रहेको जानकारी थियो भनी सवारी चालक प्रतिवादी कृष्णबहादुर लामाले भनेको अवस्था पनि मिसिलवाट देखिन आउँदैन र निजहरुलाई आफू चढेको गाडी भित्र लागू औषध रहेको पहिले नै थाहा थियो भन्ने तथ्य मिसिल संलग्न कागजातवाट पुष्टी हुन आएको समेत देखिदैन । प्रहरीले गाडी सर्च गरेपछि मात्र लागू औषध चरेस रहेको थाहा पाउने पुनरावेदक प्रतिवादी सूर्यबहादुर स्याङताङ र दुर्गा तामाङ एउटै गाडीमा संगै गएको कारणले मात्र कसूरदार मान्नु न्यायसँगत देखिदैन । निजहरुलाई आफू सवार रहेको कारमा लागू औषध रहेको भन्ने कुराको पूर्व जानकारी रहेको भन्ने कुराको प्रमाण देखिन नआउनुको साथै अपराधमा संलग्न रहेको भन्ने कुराको ठोस र खम्विर प्रमाणको अभावमा पुनरावेदक प्रतिवादीहरु सूर्यबहादुर स्याङताङ र दुर्गा तामाङले  कसूर  गरेको  ठहर्याएको  विशेष  अदालत काठमाडौंको मिति २०५९।५।२५ को इन्साफ उल्टी भइ प्रतिवादीहरुले सफाइ पाउने ठहर्छ । अन्य मुद्दाको कारणवाट थुनामा राख्नु पर्ने नभए यस मुद्दामा भएको कैदवाट पुनरावेदक प्रतिवादीहरुलाई मुक्त गरी दिनु भनी कारागार शाखा सदरखोर डिल्लीवजरालाई आजै छुट्टै आदेश भएकोले सो सम्वन्धमा केही गर्नु परेन । यस मुद्दामा निजहरुको नाममा रहेको कैद र जरिवानाको लगत कटृा गरी दिनु भनी शुरुमा लेखी पठाई दिनु र प्रस्तुत मुद्दाको दायरीको लगत कटृा गरी मिसिल नियमानुसार वुझाई दिनु ।

 

उक्त रायमा सहमत छु ।

 

न्या.वलराम के.सी.

 

इति सम्वत् २०६१ साल वैशाख ११ गते रोज ६ शुभम् ..........

 

 

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु