शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३७८० - अंश

भाग: ३१ साल: २०४६ महिना: असार अंक:

निर्णय नं. ३७८०    ने.का.प. २०४६      अङ्क ३

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान

सम्वत् २०४४ सालको दे.पु.नं. ७७८

फैसला भएको मिति : २०४६।१।२५।१ मा

पुनरावेदक/प्रतिवादी : नेपालगंज न.पं.वडा नं.११ बस्ने मोहम्मद शेर मनीहारसमेत 

विरुद्ध

विपक्षी/वादी : ऐ. ऐ. बस्ने हलिमा मनीहार्नीसमेत

मुद्दा : अंश

(१)    भू.सु.का. मा पेश भइरहेको प्रतिलिपि मा.पो.का.बाट प्राप्त गरेको रीतपूर्वकको प्रतिलिपि नभई उस अवस्थामा आफ्नो साथमा रहेको सक्कलको प्रतिलिपि मात्र रहेको भनी इजलास समक्ष भनेकोबाट भू.सु.का. मा रहेको सो प्रतिलिपि कानुन बमोजिम मान्यता पाउन सक्ने प्रतिलिपि नदेखिने ।

(प्रकरण नं. ७)

(२)   लिलाममा सकार गरी लिई नामसारी दर्ता हुन आएको जिम्दारी जग्गा देखिन आएकोले त्यस्तो जग्गाहरु वादीकै नाउँमा दर्ता भएकै कारणबाट अंशबण्डाको ३० नं. बमोजिम यस अदालतबाट प्रतिपादित नजीरहरु समेतबाट अंश भइसकेको भन्न नमिल्ने ।

(प्रकरण नं. ८)

पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी

विपक्षी/वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त

फैसला

न्या.हिरण्येश्वरमान प्रधान

१.     म.प.क्षे.अ. को फैसला उपर पुनरावेदनको अनुमति प्रदान भई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ ।

२.    स्वर्गीय अब्दुल गफूल मनीहारको अब्दुल गनी १, छोटको भन्ने दोषे मोहम्मद १, अली हुसेन १, महम्मद शेर १, चुन्नी भन्ने अब्दुल अजीज १ समेत ५ छोरा भएकोमा छोटको भन्ने दोष मोहम्मद र अली हुसेन निःसन्तान परलोक भएको, स्व.अब्दुल गनीको म वादी हलीमा पत्नी र हामी वादी अब्दूल मजिद १, अब्दूल हमीद १, मोहम्मद हनिफ १ समेत छोरा भई हामी सबै अंशियार आजसम्म सगोलमा बसी प्रतिवादीहरु घरको मुख्य भई व्यवहार चलाई आएकोमा अब हाम्रो सगोलमा बस्ने इच्छा नभएकोले हाम्रो अंश छुट्याई दिनुस् भनी प्र.हरु संग २०४०।३।१ देखि बराबर भन्दै आएकोमा बराबर गरी अंश छुट्याई नदिनु भएकोले प्र.हरुबाट फाँटवारी लिई ३ भागको १ भाग अंश मध्ये ४ खण्डको १ खण्डका दरले अंश दिलाई भराई पाउँ भन्ने फिराद    दावी

३.    हाम्रो स्व.पिता र विपक्षीहरुको बाजे ससुरा गफुर मनिहार आफ्नो जीवित अवस्थामा नै २०२१।२।१६ गते हामी सबै दाजुभाइलाई अंशबण्डा गरी छुट्याई अंशबण्डाको लिखत बाँके मालपोत कार्यालयबाट र.नं. ६६१ मा पारित गरी दिनु भएको मिति देखि नै हामी आफ्नो ऋण धन खतीउपती गरी छुट्टाछुट्टै व्यवहार चलाई आएका छौं । सगोलमा छौ भन्ने फिराद लेख झुठ्ठा हो । उल्लेखित बण्डामा निजहरुले आफैं सही गरी रजिष्ट्रेशन पास गराएका हुन् । अब्दुल मजिदका नाउँमा दर्ता रहेको फत्तेपुर गा.पं. को अं. ३६ बिगहा जग्गा र अब्दुल गनीका नाउँमा दर्ता भएको ने.गं.न.पं. वडा नं. ११ को घर समेत फिरादमा उल्लेख नगरी झुठ्ठा दावा गरेका हुन् । २०२२ सालमा भूमिसुधार लागू हुँदा आफ्नो हक हिस्साको जग्गा देखाई अलग अलग फाँटवारी दाखेल गरेको र सर्भे नापी हुँदा आफ्नो जग्गा आफ्ना नाउँमा दर्ता गराएका छौं । यसप्रकार वादीहरुले एकपटक अंशबण्डा गरी अंश लिइसकेको हुँदा दोबारा अंश पाउन पर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादीहरुको संयुक्त प्रतिउत्तर जिकिर ।

४.    बण्डापत्र भइसकेको भन्ने प्रतिवादी जिकिर भए पनि बण्डापत्र प्रतिवादीहरुले दाखिल गर्न नसकेको र मालपोत कार्यालयबाट पनि आउन नसकेको साथै बण्डापत्र बमोजिमको सम्पत्ति वादीहरुले पाएको सबूद प्रतिवादीहरुले दाखिल गर्न नसकेकोले प्र.हरुले पेश गरेको फाँटवारीमा उल्लेख भएको ऋण सम्बन्धमा साहुको नालेश परेका बखत कानुन बमोजिम हुने नै हुँदा अन्य सम्पत्तिबाट ३ खण्डको १ खण्ड अंश भाग वादीहरुले पाउने ठहर्छ भन्ने समेत बाँके जिल्ला अदालतको फैसला ।

५.    सो फैसला उपर प्रतिवादीहरुबाट परेको पुनरावेदनमा वादी हलिमा मनीहार्नी समेतले अंश पाउने ठहर्‍याई गरेको शुरु बाँके जिल्ला अदालतको फैसला मनासिब ठहर्छ भन्ने समेत व्यहोराको म.प.क्षे.अ. को फैसला ।

६.    उक्त फैसला उपर पुनरावेदनको अनुमतिका लागि प्र.हरुबाट परेको निवेदनमा वादी प्रतिवादीहरुले ७ नं. फाँटवारी भर्दा अलग अलग आफ्नो नाममा फाँटवारी भरेको र जग्गाहरु समेत वादी प्रतिवादीका नाउँमा अलग अलग दर्ता देखिन आएको हुँदा उक्त म.प.क्षे.अ.ले गरेको फैसलामा अंशबण्डाको महलको ३० नं. को व्याख्यात्मक त्रुटि देखिएकोले न्या.प्र.सु.ऐन, २०३१ को दफा १३(५)(ख) को आधारमा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने यस अदालत संयुक्त इजलासको आदेश ।

७.    नियमबमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पक्ष विपक्षका वारेशहरुलाई रोहवरमा राखी प्रतिवादीतर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षीतर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्तको बहस जिकिर सुनी पुनरावेदन सहितको मिसिल अध्ययन गरी वादी दावा बमोजिम प्रतिवादीहरुबाट अंश पाउने ठहर्‍याएको बाँके जि.अ.को इन्साफ मनासिब ठहर्‍याएको म.प.क्षे.अ.को इन्साफ मिले नमिले तर्फ विचार गर्दा पुनरावेदक प्रतिवादीले दावी बमोजिम अंश दिन नपर्ने भनी खास गरी २०२०।११।३ को घरसारको बण्डापत्र २०२१।२।१६।६ मा पास भएको लिखतलाई आधार बनाई बाबु गफुरको जीउ छँदै बण्डापत्र भइसकेको हुँदा वादी दावी बमोजिम अंश दिनुपर्ने होइन भन्ने जिकिर लिएको देखिन्छ । उक्त लिखतको सक्कल प्रतिवादीबाट पेश हुन नसकी अलमलिएकोबाट आफ्नो साथमा नरहेको भनी देखाई सो लिखत पास भएको कुरा र.नं. ६६१ को पंजिका कागजमा समेत उल्लेख भएको छ भनी देखाएकोबाट सो लिखत सम्बन्धमा शुरु अदालतदेखि नै मालपोत कार्यालयसंग लेखापढी गरी झिकाउँदा समेत सो पास भएको सक्कल लिखत नभेटिएको पास भएका लिखतको पंजिकामा र.नं. ६६१ मा अंश दिने अब्दुल गफुर भनीसम्म देखाई राखेको देखिने भनी जवाफसम्म दिएको तर सो पंजिका पनि प्राप्त हुनआएको देखिन आउँदैन । यस अदालतबाट प्रतिवादीको जिकिरका कुराहरु सबै देखाई सो लिखित माल कार्यालयमा हुनै पर्ने हुँदा जो जहाँ खोज्नुपर्छ खोजी पठाई दिनु भनी आदेश भई गएकोमा पनि मालबाट सो लिखत खोजी गर्दा नपाइएकोबाट सम्बन्धित पक्षलाई झिकाई कागज गराउँदा सम्बन्धित पक्षले पनि सो लिखत उपलब्ध नगराई सो लिखत भू.सु. कार्यालयमा ७ नं. फाँटवारीबाट कारवाही भएको मिसिलमा घर जग्गा थप गरिपाउँ भन्ने निवेदन साथ पेश गरेको छु उतैबाट आवश्यक परे उपलब्ध गराइयोस भनी कागज गरी दिएको भन्ने आधार लिई मालपोत कार्यालयबाट भूमिसुधार कार्यालय बाँकेलाई सो पेश भइरहेको लिखतको नक्कल पठाई दिनु भनी लेखी पठाएकोबाट भू.सु.का. बाँकेले सो मिसिल साथ पेश भइरहेको सो लिखतको प्रतिलिपिको प्रतिलिपि भनी यस अदालतमा आफ्नो पत्रसाथ पठाएको देखियो तर सो पठाइएको लिखत प्रतिलिपिको पनि प्रतिलिपि मात्र देखिएकोले भू.सु.का.मा पेश भइरहेको प्रतिलिपि मा.पो.का.बाट प्रमाणित गरिएको प्रतिलिपि हो की भन्नलाई पनि भू.सु.का. को पत्रबाट सो कुरा देखिन नआएको र पुनरावेदकलाई इजलासबाट सोधपुछ गर्दा पनि भू.सु.का.मा पेश भइरहेको सो प्रतिलिपि मा.पो.का. बाट प्राप्त गरेको रीतपूर्वकको प्रतिलिपि नभई उस अवस्थामा आफ्नो साथमा रहेको सक्कलको प्रतिलिपि मात्र रहेको भनी इजलास समक्ष भनेकोबाट भू.सु.का.मा रहेको सो प्रतिलिपि पनि कानुन बमोजिम मान्यता पाउन सक्ने प्रतिलिपि देखिन आउँदैन । प्राप्त सो लिखतको प्रतिलिपि हेरिएमा बाबु अब्दुल गफुरले आफ्ना छोराहरुलाई अंशबण्डा गरी दिन सो लिखत खडा गरेको भन्ने देखिन आउँछ सो लिखतको व्यहोरामा जेठा छोरा अब्दुल गनी अघि नै परलोक भएपछि निजको जेठा छोरा अब्दुल मजिद, माहिला अब्दुल हमिद, कान्छो महम्मद हनी समेत ३ जना आजले अन्दाजी १२ वर्ष जति भयो हामीहरुसंग मानो छुट्टिई अलग्गै बसेकोमा निज नातिहरुसंग मलाई लागेको ऋण कर्जामा सामेल भई अंश बण्डा गरौं भन्दा निज नातिहरुले ऋण कर्जा पनि तिर्न मन्जूर छैन तपाई बाजेसंग हामी अंश पनि माग्दैनौं, लिदैनौं भनेको भनी देखाई निजका अरु २ छोरा पुनरावेदकहरु र आफू समेतको बीचमा बण्डा गरेको व्यहोरा परेको र सो लिखतको अन्तरसाक्षीमा वादीमध्येका अब्दुल मजिद, अब्दुल हमीद र मोहम्मद हनी साक्षी रहेकोबाट सो बण्डापत्रबाट पनि वादीहरुले आफ्नो बाजे गफुरबाट अंश पाएको नदेखिई आफ्नो अंश दावी छाडी दिएकोसम्म देखिन आउँछ तर सो लिखतकै आधारमा वादीहरुले आफ्नो अंशदावी छाडी सकेको हो की भन्नलाई माथि लेखी देखाएबमोजिम सो लिखतको सक्कल कतैबाट पनि आउन नसकेको खाली पुनरावेदकले आफूसित रहेको सक्कलको प्रतिलिपि भनी भू.सु.का.मा पेश गरेको कानुनले मान्यता दिन नसकिने प्रतिलिपि र पास लिखतको पंजिकामा र.नं. ६६१ अंश दिने अब्दुल गफुर भन्ने उल्लेख भएकै आधारबाट वादीहरुले आफ्नो अंश भाग छोडपत्र गरिसकेको भन्न कानुनले मिल्ने देखिन आउँदैन ।

८.    अब जहाँसम्म जग्गा वादीहरुले र प्रतिवादीहरुले आफ्ना नाउँमा छुट्टाछुट्टै दर्ता गराई जग्गाधनी प्रमाण पूर्जा समेत लिइसकेको यस अवस्थामा अंश पाइसकेको देखियो भन्ने जिकिरको हकमा पुनरावेदकबाटै प्रमाणमा दिएको उक्त लिखतबाट वादीहरु मानो छुटिई अलगसम्म बसेको तर आफ्ना बाजेबाट कुनै अंश नपाएको भन्ने देखिन आइरहेकोले निजहरुको नाउँमा जग्गाहरु दर्ता भएकै भएपनि सो जग्गाहरु अंशबापत वादीहरुले पाएको भन्ने देखिन आउँदैन, उस्मा पनि वादीहरुले दिएको तायदातीमा आफ्ना नाउँमा रहेको भनी देखाएका जग्गाहरु अंशबाट पाएको नदेखिई जि.कैलालीको लबरुराना थारुको नाउँमा रहेको जग्गा लिलाम हुँदा वादीहरुले लिलाममा सकार गरी लिई निजहरुको नाउँमा नामसारी दर्ता हुनआएको जिम्दारी जग्गासमेत देखिन आएकोले त्यस्ता जग्गाहरु वादीहरुकै नाउँमा दर्ता भएकै कारणबाट अंश बण्डाको ३० नं. बमोजिम यस अदालतबाट प्रतिपादित नजीरहरु समेतबाट अंश भइसकेको भन्न मिल्ने देखिन आएन । जहाँसम्म ७ नं.फाँटवारी अलगअलग भएको भन्ने हकमा प्रतिवादीले सोको कुनै सबूत दिनसकेको प्रति उत्तरबाट देखिन आउँदैन र अरु तहबाट पनि सो प्रमाणहरु मिसिलसाथ रहेको देखिन आएन यसस्थितिमा प्रतिउत्तरको सो जिकिरलाई मान्यता दिई जिकिर बमोजिम अंश भइसकेको भन्न मिल्ने देखिन नआएको र अरु म.प.क्षे.अ.को फैसलामा उल्लेख भएका कारणहरु समेतबाट वादीहरुको दावी बमोजिम अंश पाउने ठहर्‍याएको म.प.क्षे.अ.को इन्साफ मनासिब ठहर्छ । कोर्टफी राखी पुनरावेदन दायर भएको देखिँदा केही गरी रहनु परेन नियम बमोजिम गरी मिसिल बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.बब्बरप्रसाद सिंह

 

इति सम्वत् २०४६ साल बैशाख २५ गते रोज १ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु