शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७४२५ - जवरजस्ती करणी ।

भाग: ४६ साल: २०६१ महिना: मंसिर अंक:

निर्णय नं.७४२५           ने.का.प.२०६१               अङ्क ८

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी

माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली

सम्वत् २०५७ सालको फौ.पु. नं. २५१८

फैसला मितिः २०६१।६।४।२

 

मुद्दाःजवरजस्ती करणी  ।

 

पुनरावेदक

प्रतिवादीः जिल्ला उदयपुर साविक गाइघाट गा.वि.स.वडा नं. २ हाल त्रियुगा न.पा.वडा नं.       २ वस्ने डिल्लीराम भन्ने डिल्लीप्रसाद भण्डारी     

विरुद्ध

प्रत्यर्थी

वादीः निरवहादुर घिमिरेको जाहेरीले श्री ५ को सरकार

 

§  पीडितको कट्टुमा लागेको रगतको National forensic science laboratory बाट रसायनिक परीक्षण समेत भई मिति २०५१।१।२९ मा दिएको प्रतिवेदनको रायमा पनि शुक्रकिट (Spermatozoa) पत्ता नलागेको भन्ने उल्लेख गरिएको समेत आधार प्रमाणवाट प्रस्तुत वारदातमा जवरजस्ती करणीको क्रिया सम्पन्न भएको नदेखिने ।

§  वारदात निर्विवाद रुपमा पुष्टि भएको तथा पीडितको Labia majoraLabia Minora मा निल डाम रहेको भन्ने जनकपुर अन्चल अस्पतालको मिति २०४८।११।१३ को प्रतिवेदनबाट देखिंदा प्रतिवादीले मुलुकी ऐन जवरजस्ती करणीको ५ नं. बमोजिमको जवरजस्ती करणीको उद्योगसम्म गरेको देखिने ।

 

पुनरावेदक प्रतिवादीतर्फवाटः विद्वान अधिवक्ता श्री इश्वरीप्रसाद भटृराई

प्रत्यर्थी वादीतर्फवाटः विद्वान उपन्यायाधिवक्ता श्री महेन्द्रवहादुर कार्की

अवलम्वित नजिरः

 

फैसला

            न्या.चन्द्रप्रसाद पराजुलीः पुनरावेदन अदालत राजविराजवाट मिति २०५६।५।२९ मा भएको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत प्रतिवादी पक्षवाट यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छ :

            २.    वारदात भएको भनिएको कोठामा एउटा खाट भएको सो खाट मुनी उत्तरतर्फ भुईमा परालको सुकुल विछ्याएको, सो सुकुलको वीच भागमा ३ वटा रगतको दाग भई सुकेको सो भन्दा उत्तरतर्फ सोही सुकुलमा २ वटा रगतको दाग भई सुकेको पीडित नवरता घिमिरेले लगाएको सेतो रंगको सुतीको कटु को मुनी पट्टी जाङको भागमा पुरा रगत लागी सुकी सकेको पीडितको योनी केही रातो र सुनिए जस्तो देखिएको भन्ने समेत व्यहोराको घटनास्थलको प्रकृति मुचुल्का ।

            ३.    जिल्ला उदयपुर गा.वि.स. गाईघाट वा.नं. २ मा वस्ने प्र. डिल्लीप्रसाद भण्डारीको घरमा मेरो डेरा भएकोमा मिति ०४८।११।८ गतेका दिन अं. २ वजेको समयमा निज डिल्लीप्रसाद भण्डारीले मेरो ५ वर्षको छोरी नवरता घिमिरेलाई मुख छोपी जवरजस्ती करणी गरेकोले निजलाई कानून बमोजिम कार्वाही गरी पाउँ भन्ने समेत व्यहोराको निरवहादुर घिमिरेको जाहेरी दरखास्त ।

            ४.    मिति २०४८।११।८ गते दिउँसो खेलिरहेको अवस्था प्र. डिल्लीप्रसाद भण्डारीले मलाई ललाई फकाई सुत्ने कोठामा लगी मेरो कट्टु खोलेर म माथि चढी हटहट गरे पछि मलाई दुख्यो र पिसाव फेर्ने ठाऊँवाट रगत समेत आएपछि म रुन थालेकोले मलाई कटु लगाई दिएकोले म रुदै ममी भए ठाउँमा गएकी हुँ भन्ने समेत व्यहोराको पीडित नवरता घिमिरेको कागज ।

            ५.    मिति २०४८।११।८ गते दिउसो अं. २ वजेको समयमा म साथी सँग वसिरहेकी र छोरी नवरता चौरीमा खेली रहेकी थिइन सोही समयमा प्रतिवादी डिल्लीप्रसाद भण्डारीले मेरो ५ वर्षकी नावालक छोरीलाई ललाई फकाई कोठामा लगी अनुचित प्रभावमा पारी जवरजस्ती करणी गरेका हुन भन्ने समेत व्यहोराको पुष्पा घिमिरेको कागज ।

            ६.    प्रतिवादी डिल्लीप्रसाद भण्डारीले पीडित नवरता घिमिरेलाई जवरजस्ती करणी गरेको भन्ने सुनेको हो निजले जवरजस्ती करणी गरेको हो होइन थाहा छैन भन्ने ४ जनाको तथा जवरजस्ती करणी गरेको भन्ने सुनेको तथा पीडितको कटुमा रगत लागेको देखेको र प्रतिवादी सोही अवस्था देखि फरार रहेको हुँदा निज प्रतिवादीले पीडितलाई जवरजस्ती करणी गरेकोमा विश्वास लाग्छ भन्ने समेत अन्य व्यक्तिहरुको सर्जमिन मुचुल्का ।

            ७.    प्रतिवादीले नवरतालाई जवरजस्ती करणी गरी मुलुकी ऐन जवरजस्ती करणीको महलको १ नं. को कसूर गरेको हुँदा निजलाई सोही ऐनको ३ नं.अनुसार सजायँ गरी १० नं.अनुसार    हुन समेत माग दावी गरिएको भन्ने अभियोगपत्र ।

            ८.    मिति २०४८।११।८ गते म गाऊँमा नभै डिल्लीमा हुँदा मैले स्वास्नीमानिस नवरता घिमिरेलार्ई जवरजस्ती करणी गरेको होइन भन्ने समेत व्यहोराको प्रतिवादी डिल्लीप्रसाद भण्डारीले उदयपुर जिल्ला अदालतमा गरेको वयान ।

            ९.    जाहेरवाला निरवहादुर घिमिरे, पीडित नवरता घिमिरे तथा पुष्पा घिमिरे, छवीलाल पुराजुली, हरिप्रसाद गुरागाई निरवहादुर थापा र होमवहादुर कार्की समेतले गरेको वकपत्र तथा प्रतिवादीका साक्षी नरवहादुर थापाले गरेको वकपत्र मिसिल सामेल रहेको ।

            १०.    प्रमाणको अभावमा प्रतिवादी डिल्लीप्रसाद भण्डारीको विरुद्धको आरोपित अभियोग कसूर ठहर हुन नसकी प्रतिवादी डिल्लीप्रसादले सफाइ पाउने ठहर्छ भन्ने उदयपुर जिल्ला अदालतको मिति ०५३।९।१ गतेको फैसला ।

            ११.    मिसिल संलग्न आधार प्रमाणहरुवाट प्रतिवादीको कसूर ठहर जनीनु पर्नेमा सफाइ दिने ठहर्‍याएको उदयपुर जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा वदर गरी शुरु अभियोगदावी बमोजिम सजाय गरी पाउँ भन्ने वादी श्री ५ को सरकारको तर्फवाट परेको पुनरावेदन पत्र ।

            १२.   यसमा Libia majoraLibia minora मा रातोपन भएको भन्ने चिकित्सकको राय भएको र पीडितको आमा पुष्पा घिमिरे तथा पीडितले अदालतमा गरेको वकपत्र समेतको सन्दर्भमा शुरु जिल्ला अदालतको फैसला फरक पर्न सक्ने देखिंदा अ.वं. २०२ नं. र पु. वे.अ. नियमावली, २०४८ को नियम ४७ बमोजिम विपक्षी झिकाउनु भन्ने पु.वे.अ. राजविराजको मिति २०५६।३।१३ गतेको आदेश ।

            १३.   मिसिल संलग्न प्रमाणहरुवाट मेरो उपरको कसूरदावी ठहर गर्न नमिल्ने अवस्था हुँदा शुरु उदयपुर जि.अ.को फैसला आत्मनिष्ठ नभै पुर्णत न्यायोचित र वस्तुनिष्ठ भएकोले शुरु उदयपुर जि.अ.को फैसला सदर गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी डिल्लीप्रसाद भण्डारीको लिखित प्रतिवाद

            १४.   मिसिल सामेल रहेको घटनास्थल मुचुल्का, अस्पतालवाट भएको घाउ जाँच, पीडित नवरता घिमिरेको वकपत्र, निजको आमा पुष्पा र वावु निरवहादुरले गरेको वकपत्र समेतवाट प्रतिवादी डिल्लीप्रसाद भण्डारीले नावालक ५ वर्षीय वालीका नवरता घिमिरेलाई ०४८।११।८ मा जवरजस्ती करणी गरेको कसूर शंकारहित तवरवाट प्रमाणित भइरहेको छ । पीडित समेतको वकपत्र माथि शंका गर्नुपर्ने कुनै कारण र औचित्य छैन । थप प्रमाण नभएको कारणले यस्तो अमानवीय कुकृत्य गर्ने अपराधीलाई सफाइ दिनु सर्वथा कानून र न्यायको विपरीत हुन्छ । तसर्थ प्रतिवादीले आरोपित कसूर गरेको नठहराई सफाइ पाउने ठहराएको शुरु जिल्ला अदालतको मिति ०५३।९।१ मा गरेको फैसला उल्टी भई प्रतिवादी डिल्लीप्रसाद भण्डारीलाई जवरजस्ती करणी गर्नेको ३ नं.अनुसार ७ वर्ष कैदको सजाय हुन्छ । सोही ऐनको १० नं.अनुसार प्रतिवादीको आधी अंश पीडित नवरता घिमिरेलाई दिलाई दिने समेत ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत राजविराजवाट २०५९।५।२९ मा भएको फैसला ।

            १५.   पुनरावेदन अदालत राजविराजले पीडित भनिएकी नवरता र निजका वावुआमा निरवहादुर र पुष्पा घिमिरेको वकपत्रलाई सर्वोच्च प्रमाणका रुपमा ग्रहण गरेको छ । वस्तुतः निजहरुको वकपत्र र जाहेरी दरखास्त व्यहोरा आपसमा वाझिएको छ । वकपत्र स्वतन्त्र प्रमाण पनि होइन । ५ वर्षकी नावालिका उपर जवरजस्ती करणी गरेको भए हुन सक्ने परिणाम समेतको व्याख्या हुनुपर्नेमा सो भएको छैन । चिकित्सकले Libia majoraLibia minora मा रातो पनको डाम भनि उल्लेख गरेका छन तर सो डाम लिङ्ग प्रवेशवाट नै भएको हो भन्ने राय दिएका छैनन् । घरभाडामा झगडा भएको कारण म उपर झुठ्ठा जाहेरी दिएको तथ्य मेरो साक्षीको वकपत्रवाट स्पष्ट देखिएको छ । त्यसलाई ग्रहण नगरी लिनुपर्ने प्रमाणहरुको कुनै चर्चा नै नगरी प्रमाण ऐन, २०३१ को दफा ५४ विपरीत मलाई ७ वर्ष कैद हुने र आधा अंश स्वास्नीमानिसले पाउने भन्ने ठाडो ठहर गरी पुनरावेदन अदालत राजविराजवाट २०५६।५।२९ मा भएको फैसला अन्यायपूर्ण र कानूनी त्रुटिपूर्ण हुँदा उक्त फैसला उल्टी गरी शुरुवाट भएको फैसला सदर गरी न्याय पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीकोतर्फवाट यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।

            १६.    यसमा जवरजस्ती करणीको प्रयास गर्दा करणी सम्पन्न भएको स्पष्ट रुपमा परिलक्षित हुने स्थिति वारे शंकास्पद अवस्था देखिंदा प्रतिवादीलाई आरोपित कसूरमा सजायँ गरेको पुनरावेदन अदालत राजविराजको फैसला त्रुटीपूर्ण भई फरक पर्ने देखिंदा अ.वं. २०२ नं. बमोजिम छलफलको लागि महान्यायाधिवक्ताको कार्यालयलाई सूचना दिई नियम बमोजिम पेश गर्नु भन्ने यस अदालत संयुक्त इजलासवाट मिति २०५८।१०।१७ मा भएको आदेश ।

            १७.   नियम बमोजिम दैनिक पेशी सूचीमा चढी निर्णयार्थ इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी डिल्लीप्रसाद भण्डारीकोतर्फवाट उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री इश्वरीप्रसाद भट्टराईले प्रतिवादीलाई आरोपित कसूरमा कसूरदार ठहर्‍याउँदा पुनरावेदन अदालतले २०४८।११।९ को घटनास्थल मुचुल्कालाई मुख्यरुपले आधार लिएको देखिन्छ । उक्त घटनास्थल मुचुल्काका मानिसहरुले प्रतिवादी आरोपित कसूरमा संलग्न रहेको विश्वास लाग्छ मात्र भनेका छन । केही मानिसहरुले त थाहा छैन भन्ने भनाइ राखेको देखिन्छ । उक्त घटनास्थल मुचुल्कामा सहिछाप गर्ने मध्येका होमवहादुर कार्कीले अदालतमा आई वकपत्र गर्दा घटनास्थल मुचुल्कामा प्रहरीले सही गर्नु भनेकोले सहि गरेको हो त्यसमा के लेखिएको थियो हेरिन भनेका छन भने अर्का व्यक्ति नीरवहादुर थापाले सहि मैले गरेकै होइन भनि वकपत्र गरेको देखिन्छ । त्यसै गरी हरिप्रसाद गुरागाई र छविलाल पराजुलीले प्रहरीले सही गर्नु भनेकाले सहि सम्म गरेको हो व्यहोरा थाहा भएन । प्रतिवादी डिल्लीप्रसाद २। ३ महिना देखि गाउँ घरमा थिएनन् भनि वकपत्र गरेको स्थिति हुँदा घटनास्थल मुचुल्का प्रहरीले एकतर्फी रुपमा तयार गरेको स्पष्ट हुन्छ । त्यसलाई प्रमाणमा लिई प्रतिवादीलाई कसूरदार ठहर्‍याउन मिल्ने होइन । प्रतिवादीले अदालतमा मिति २०५३।४।१३ मा वयान गर्दा आरोपित कसूरमा पूर्णरुपमा इन्कार रही वयान गरेका छन् । उक्त इन्कारी प्रतिवादीका साक्षी नरवहादुर थापाको वकपत्रवाट समर्थित भइरहेको अवस्था छ । चिकित्सकको प्रतिवेदनमा कट्टुमा लागेको रगतमा वीर्य नभेटिएको र व्लड ग्रुप पत्ता लगाउन नसकिएको भन्ने व्यहोरा उल्लेख भएको पाइन्छ । उक्त प्रतिवेदनमा  Libia majoraLibia minora मा रातो निलडाम देखिएको भन्ने व्यहोरा उल्लेख भए पनि निलडामवाट रगत पच्छे हुने अवस्था हुदैन । कट्टुमा लागेको रगत वालिकाको नै हो भन्ने तथ्य समेत प्रमाणित हुन सकेको छैन । जाहेरी दरखास्तमा वर्णित तथ्य चिकित्सकको प्रतिवेदनवाट पुष्टि हुन नसकेको यस्तो अवस्थामा शंकाको भरमा प्रतिवादीलाई कसूरदार ठहर्‍याई सजाय गर्ने गरेको पुनरावेदन अदालत राजविराजको फैसला त्रुटिपूर्ण हुँदा वदर उल्टी गरी प्रतिवादीले सफाइ पाउनु पर्दछ भनी वहस प्रस्तुत गर्नु भयो ।

            १८.   त्यसैगरी प्रत्यर्थी वादी श्री ५ को सरकारकोतर्फबाट उपस्थित हुनु भएका महान्यायाधिवक्ताको कार्यालयका विद्वान उपन्यायाधिवक्ता श्री महेन्द्रवहादुर कार्कीले प्रतिवादीले आरोपित करणीको वारदात भएको समयमा आफू घटनास्थलमा नभई भारतको दिल्लीमा रहेको भनि Alibi को जिकिर लिएको भएतापनि मिसिल संलग्न कुनैपनि प्रमाणद्वारा उक्त जिकिर प्रमाणित हुन सकेको छैन । शुरु जिल्ला अदालतले पीडित वालिकालाई सिकाएर वकपत्र गर्न लगाएको भन्ने आधारमा प्रतिवादीलाई सफाइ दिएको छ । तर ५ वर्षको वालिकालाई यस्तो संवेदनशील विषयमा सिकाउने र उसको भविष्यलाई नै दाउमा राखेर उजुरी गर्ने अवस्था विश्वासलायक हुदैन तसर्थ शुरुको त्रुटिपूर्ण फैसला उल्टी गरी प्रतिवादीलाई आरोपित कसूरमा कसूरदार ठहर्‍याई पुनरावेदन अदालत राजविराजवाट मिति २०५६।५।२९ मा भएको फैसला मनासिव र न्यायपूर्ण हुँदा सदर होस भनी वहस प्रस्तुत गर्नु भयो ।

            १९.    विद्वान कानून व्यवसायीहरुद्वारा प्रस्तुत उल्लेखित वहस जिकिरलाई मनन् गरी पुनरावेदन पत्र सहितका मिसिल संलग्न सम्पूर्ण कागजात समेत अध्ययन गरी हेर्दा यसमा मूलतः प्रतिवादीलाई अभियोगपत्र माग दावी बमोजिमको कसूरमा कसूरदार ठहर्‍याई सजायँ गर्ने गरेको पुनरावेदन अदालत राजविराजको मिति २०५६।५।२९ को फैसला मिले नमिलेको के रहेछ हेरी निर्णय दिनुपर्ने देखियो ।

            २०.   निर्णयतर्फ विचार गर्दा यसमा प्रतिवादी डिल्लीप्रसाद भण्डारीले ५ वर्षिया वालिका नवरता घिमिरेलाई मिति २०४८।११।८ मा जवरजस्ती करणी गरी मुलुकी ऐन जवरजस्ती करणीको महलको १ नं. को कसूर गरेको हुँदा निजलाई सोही ऐनको ३ नं.अनुसार सजायँ गरी पाउँ भन्ने मुख्य माग दावी लिई अभियोगपत्र दायर भएकोमा प्रमाणको अभावमा प्रतिवादी डिल्लीप्रसाद भण्डारी विरुद्धको आरोपित अभियोगअनुसारको कसूर ठहर हुन नसकेकोले प्रतिवादीले सफाइ पाउने ठहर्छ भनि शुरु उदयपुर जिल्ला अदालतवाट मिति २०५३।९।१ मा फैसला भएको पाइन्छ । उक्त फैसला उपर वादी श्री ५ को सरकारकोतर्फवाट पुनरावेदन परेकोमा शुरु इन्साफ उल्टी गरी प्रतिवादी डिल्लीप्रसाद भण्डारीलाई अभियोगपत्र दावी बमोजिमको कसूरमा कसूरदार ठहर्‍याई जवरजस्ती करणीको महलको ३ नं. बमोजिम ७ वर्ष कैदको सजायँ गर्ने र सोही ऐनको १० नं. बमोजिम प्रतिवादीको आधि अंश पीडित नवरता घिमिरेलाई दिलाई दिने ठहर गरी पुनरावेदन अदालत राजविराजवाट मिति २०५६।५।२९ मा फैसला भए उपर प्रतिवादी डिल्लीप्रसाद भण्डारीकोतर्फवाट यस अदालतमा प्रस्तुत पुनरावेदन पर्न आएको देखिन्छ ।

            २१.   यसमा प्रतिवादी डिल्लीप्रसाद भण्डारीले शुरु उदयपुर जिल्ला अदालतमा वयान गर्दा जवरजस्ती करणीको वारदात भएको मिति २०४८।११।८ गते म घर गाउँमा नभई दिल्लीमा भएको भनि बष्दिष् को जिकिर लिएकोमा के कामका लागि दिल्ली गएको र के काम गरी दिल्लीमा वसेको भन्ने कुरा आप्mनो वयानमा लेखाउन सकेको देखिदैन । जाहेरवाला, पीडित र निजकी आमा समेतले जवरजस्ती करणी ग¥यो भनि किन पोल उजुरी गरेका हुन त भनी सोधिएको सवालमा निजले थाहा छैन भन्ने जवाफ दिएको मिसिल संलग्न निज प्रतिवादी डिल्लीप्रसादको वयान कागजबाट देखिन आँउछ । प्रतिवादीका साक्षी नरवहादुर थापाले अदालतमा वकपत्र गर्दा स.ज. ४ मा प्रतिवादी २०४८ सालको माघ महिनामै घरछाडी भारतको दिल्ली गएका थिए भन्ने व्यहोरा लेखाई दिएको भएतापनि कुन ठाउँमा किन गएको र के गरी वसेको भन्ने सम्वन्धमा निजले समेत अनभिज्ञता प्रकट गरेको पाइन्छ । त्यसका अतिरिक्त प्रतिवादीको घरमा पीडित तथा निजका आमावावु डेरा गरि वसेका हुँदा प्रतिवादीका आमावावुसँग घर भाडामा झगडा भएको थियो सोही इवीले  फसाएका हुन भनि प्रतिवादीलेनै भन्न नसकेको कुरा उल्लेख गरी वकपत्र गरेको देखिंदा प्रतिवादीका साक्षीको उक्त भनाइ पत्यारलायक देखिन आएन । अर्कोतर्फ पीडितकी आमा पुष्पा तथा वावु जाहेरवाला निरवहादुर घिमिरेले अदालतमा आई वकपत्र गर्दा आरोपित कसूर प्रतिवादीलेनै गरेको हो भनि किटानी साथ लेखाई दिएको देखिन्छ । तसर्थ वारदातको समयमा वारदात स्थलमा नभई अन्यत्र रहेको भन्ने प्रतिवादीको जिकिर मिसिल संलग्न कुनैपनि ठोस एवं तथ्ययुक्त प्रमाणबाट पुष्टि हुन नसकेको हुँदा अभियोग दावी बमोजिमको कसूरबाट पूर्णरुपमा सफाइ पाउनुपर्छ भन्ने निजको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।

            २२.   पीडित नवरता घिमिरको कटुमा लागेको रगत तथा निजको Veginal Seman जाँच गरी जनकपुर अन्चल अस्पतालले दिएको मिति २०४८।११।१३ को प्रतिवेदनमा शुक्रकिट नभेटिएको तथा कट्टुमा लागेको रगतको व्लडग्रुप छुटयाउन नसकिएको भन्ने उल्लेख भएको देखिन्छ । पीडितको कट्टुमा लागेको रगतको National forensic science laboratory बाट रसायनिक परीक्षण समेत भई मिति २०५१।१।२९ मा दिएको प्रतिवेदनको रायमा पनि शुक्रकिट (Spermatozoa) पत्ता नलागेको भन्ने उल्लेख गरिएको समेत आधार प्रमाणवाट प्रस्तुत वारदातमा जवरजस्ती करणीको क्रिया सम्पन्न भएको देखिएन । माथि विवेचित आधार प्रमाणबाट वारदात निर्विवादरुपमा पुष्टि भएको तथा पीडितको Labia majoraLabia Minora मा निल डाम रहेको भन्ने जनकपुर अन्चल अस्पतालको मिति २०४८।११।१३ को प्रतिवेदनबाट देखिंदा प्रतिवादी डिल्लीप्रसाद भण्डारीले मुलुकी ऐन जवरजस्ती करणीको ५ नं. बमोजिमको जवरजस्ती करणीको उद्योग सम्म गरेको देखिन्छ । यस्तै तथ्य समावेश भएको सम्वत् २०३९ सालको फौ.पु.नं. ४६० को जवरजस्ती करणी मुद्दामा यस अदालत संयुक्त इजलासवाट जवरजस्ती करणीको उद्योग ठहर्‍याई फैसला भएको (ने.का.प. २०४०, अंक १०, नि.नं. १७८०, पृष्ठ ६४२) समेत पाइन्छ । उल्लेखित आधार वुंदा तथा सिद्धान्त समेतका आधारमा प्रतिवादी डिल्लीप्रसाद भण्डारीलाई जवरजस्ती करणीको उद्योग गरेको ठहराई जवरजस्ती करणीको ५ नं. बमोजिम सजाय गर्नुपर्नेमा अभियोगपत्रमा आरोपित जवरजस्ती करणीको कसूर गरेको ठहर्‍याई जवरजस्ती करणीको महलको ३ नं. बमोजिम ७ वर्ष कैदको सजायँ गर्ने र सोही महलको १० नं. बमोजिम प्रतिवादीको आधा अंश पीडितलाई दिलाई दिने गरी पुनरावेदन अदालत राजविराजवाट मिति २०५६।५।२९ मा भएको फैसला सो हद सम्म नमिलेको हुँदा केही उल्टी हुने ठहर्छ । उक्त जवरजस्ती करणीको ५ नं. बमोजिम जवरजस्ती करणी गर्ने उद्योग गरेको करणी भने गर्न पाएको रहेनछ भने जवरजस्ती करणी गर्नेलाई हुने सजायको आधा सजाय हुने हुँदा यसमा जवरजस्ती करणी गरेको भए वारदात भएको समयमा विद्यमान मूलुकी ऐन जवरजस्ती करणीको ३ नं. बमोजिम ६ वर्ष देखि १० वर्ष सम्म कैद हुनेमा प्रतिवादी डिल्लीप्रसाद भण्डारीलाई ६ वर्षको आधा ३ वर्ष कैद हुने ठहर्छ । अरुमा तपसिल बमोजिम गर्नु ।

तपसिल

माथि इन्साफ खण्डमा उल्लेख भए बमोजिम पुनरावेदन अदालत राजविराजबाट मिति २०५६।५।२९ मा भएको फैसला केही उल्टी भई प्रतिवादी डिल्लीप्रसाद भण्डारीलाई जवरजस्ती करणीको उद्योग गरेकोमा ३ वर्ष कैद सजायँ हुने ठहरी फैसला भएको हुँदा उक्त फैसला बमोजिम कायम भएको ७ वर्ष कैदको लगत कट्टा गरी निजका नाउँमा ३ वर्ष कैद सजायको लगत कसी असुल गर्नु भनी शुरु उदयपुर जिल्ला अदालतलाई लगत दिनु –––––

माथि इन्साफ खण्डमा उल्लेख भए बमोजिम पुनरावेदन अदालत राजविराजको फैसला केही उल्टी भई प्रतिवादीले जवरजस्ती करणीको उद्योग गरेको ठहरी फैसला भएको हुँदा पुनरावेदन अदालत राजविराजको मिति २०५६।७।२९ को फैसलाले प्रतिवादी डिल्लीप्रसाद भण्डारीको अंश रोक्का गरी आधा अंश पीडित नवरता घिमिरेलाई दिलाई दिनु भनि कायम गरेको लगत अव कायम राख्न नपर्ने हुँदा उक्त लगत कट्टा गरिदिनु भनि शुरु उदयपुर जिल्ला अदालतमा लेखि पठाई दिनु ––

प्रतिवादी डिल्लीप्रसाद भण्डारीले यस अदालतमा पुनरावेदन गर्दा पुनरावेदन अदालत राजविराजको मिति २०५६।५।२९ को फैसला बमोजिम भएको ७ वर्ष कैदको सजाय वापत अ.वं. १९४ नं. बमोजिम अम्विका देवी भण्डारी नाउँ दर्ताको जिल्ला उदयपुर गाईघाट गा.वि.स.वडा नं. २(ग) कि.नं. २४६ को ज. वि. ०१०१÷२ जग्गा जेथाजमानी दिई यस अदालतवाट मिति २०५७।१।२१ मा उक्त जेथाजमानी स्वीकृत भएको देखिंदा यस अदालतको फैसलाले ठहरेको ३ वर्ष कैदको सजाय भुक्तान भए पश्चात यस अदालतको मिति २०५६।११।१३ को आदेशवाट रोक्का रहेको उक्त जग्गा फुकुवाको लागि मा.पो.का. उदयपुरलाई जानकारी दिने गरी रोक्का रहेको जग्गाको लगतमा जनाउनु भनि शुरु उदयपुर जिल्ला

 अदालतलाई पत्र लेखि पठाई दिनु––

प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी वुझाई दिनु

 

उक्त रायमा सहमत छु ।

 

न्या.केदारप्रसाद गिरी

इजलास अधिकृत (रा.प.द्वितीय) टेकप्रसाद ढुङ्गाना

 

 

इति संवत् २०६१ साल आश्विन ६ गते रोज २ शुभम––––––––––––––––––––––––

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु