शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७४२६ - ज्यान मार्ने उद्योग ।

भाग: ४६ साल: २०६१ महिना: मंसिर अंक:

निर्णय नं.७४२६           ने.का.प.२०६१               अङ्क ८

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी

माननीय न्यायाधीश श्री शारदा श्रेष्ठ

सम्वत् २०५७ सालको फौ.पु.नं. २३१२

फैसला मितिः २०६१।१।१४।२

 

मुद्दाःज्यान मार्ने उद्योग ।

 

पुनरावेदक

प्रतिवादीः भोजपुर जिल्ला किमालुङ गा.वि.स. वडा नं. ८ वस्ने धनवहादुर राई

विरुद्ध

विपक्षी

वादीः नन्दकुमार राईको जाहेरीले श्री ५ को सरकार

 

§  ज्यान सम्वन्धीको १५ नं. को व्यवस्था वमोजिम पीडित रुक्मणि राईलाई मार्ने मनसायले चुप्पी प्रहार गरेको र तेश्रो पक्षको हस्तक्षेपको कारण ज्यान मर्न नपाएको भन्ने देखीन नआएको स्थितिमा ज्यान मार्ने उद्योगको कसूर कायम गरि सजाय गर्न नमिल्ने ।

§  प्रतिवादीले प्रहार गरेको चुप्पीको चोटवाट पीडित रुक्मणि राईलाई पर्न गएको घाउ चोट समेतको वारदातको प्रकृतितर्फ विचार गर्दा स्वास्नीमानिसलाई कुटपिट गर्ने मनसायपूर्वक प्रहार नगरेको र निज प्रतिवादीले प्रहार गरेको चुप्पी पीडितलाई लागी सकेपछि पुनः प्रहार गरेको समेत नदेखिएको वारदातको प्रकृतिवाट मुद्दाको वारदात मुलुकी ऐन कुटपिटको ३ नं. को परिभाषा भित्र पर्ने देखिई प्रस्तुत मुद्दा सरकारी मुद्दा सम्वन्धी ऐन २०४९ को अनुसूची १ वा २ भित्र नपर्ने ।

 

पुनरावेदक प्रतिवादीतर्फवाटः विद्वान अधिवक्ता श्री वोर्णवहादुर कार्की

विपक्षी वादीतर्फवाटःउपन्यायाधिवक्ता श्री उद्वव खनाल

अवलम्वित नजिरः

 

फैसला

            न्या.केदारप्रसाद गिरीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) वमोजिम पुनरावेदन अदालत धनकुटाको फैसला उपर पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :-

            २.    मिति २०४९।४।१० गते दिनको अं. ११ वजे मेरो छोरी रुक्मिणी राई दिंला वजारमा घरयासी समानहरु किन्न आएको अवस्थामा तिर्खा लागी केदार कार्कीको होटल घरमा पानी खान जांदा मुलपाली गा.वि.स. वडा नं. २ वस्ने धनवहादुर राईलाई किमालुङग ८ वस्ने धनवहादुर राईले चुप्पिहान्दा अचानक छोरीको देवे्रपट्टि कोखमा लागी चिन्ताजनक भई ज्यान मर्न सम्म नपाएकोले कानूनी कारवाही गरि पाउँ भन्ने समेत व्यहोराको जाहेरी नन्दकुमार राईको दरखास्त ।

            ३.    घटनास्थलको प्रकृतिवाट वार्दात भएको कोठाको समान जत्रतत्र छरिएको काठको पीरा र वेन्चीहरु समेतमा पुरै रगत लागेको भन्ने मिति २०४९।४।१० को घटनास्थल प्रकृति  मुचुल्का ।

            ४.    मिति २०४९।४।१ गते दिंला वजारमा समान किनमेल गरी केदार कार्कीको होटलमा नास्ता गरी घर फर्कन लाग्दा किमालुङग वस्ने धनवहादुर राइले परिचय गरी त धनमुली अरे भनी दाहीने हातले मेरो अनुहार लोपारी दियो । नजीकै भाई अडीमर्दनले हाम्रो मानिस के गर्न लागेको भन्दा धनवहादुर राईले कम्मरमा भिरिराखेको चुप्पी निकाली मलाई मार्ने नियतले हान्दा म छलिएर रुक्मिणी राईका वायाँ पट्टीको पेटमा लागेको हो भन्ने समेत व्यहोराको धनवहादुर राईको मिति २०४९।४।१५ गतेको ठाडो कागज ।

            ५.    २०४९।४।१० गते दिंला वजारमा कपडा खरिद गर्न दिंला वजार गएकोमा सो दिनको अं. ११ वजे केदार कार्कीको दोकानमा गई वसेर जाँड किनी खाई भाई अडिमर्दन राई मुलपानी २ वस्ने धनवहादुर राई समेतले रक्सी खाई धनवहादुर  राई र मेरो वीच परिचय हुँदा धनवहादुर राईले धनवहादुर मात्र नभई मेरो नाम धनमुनि हो भन्दा धनमुनि रहेछ भनी मैले भन्दा निजले तिमी धनी छौ म गरिव छु भनी मलाई मुख लोपारी दिएकोले मैले पनि मुख लोपारी दिएं भाई अडीमर्दनले छुट्याउँदा पनि मलाई झन रिस उठी निजको मुटु ताकी मैले चुप्पीले हान्दा निज छलिएको र सोही अवस्था मुलपानी ४ वस्ने टंकवहादुर राईको श्रीमती रुकमणी राईको पेटमा लाग्न गएकोले कानूनले जो ठहर्छ भन्ने प्रतिवादी धनवहादुर राईको मिति २०४९।४।१५ को प्रहरिमा गरेको कागज ।

            ६.    २०४९।४।१० गते अं. ११।३५ वजेको समयमा मेरो होटलमा किमालुङग ८ वस्ने धनवहादुर राईले मुलपानी २ वस्ने धनवहादुर राइलाई चुप्पी प्रहार गर्दा मुलपानी ४ वस्ने टंकवहादुरको श्रीमती रुकमणी राईलाई उक्त चुप्पी लाग्न गई सक्त घाइते भएकाले र प्रतिवादी धनवहादुर राइले मुलपानी २ वस्ने धनवहादुर राईलाई मार्ने नियतले चुप्पी प्रहार गरेको भन्ने केदार कार्कीको मिति २०४८।४।१५ गतेको ठाडो कागज ।

            ७.    २०४९।४।१० गते मुलपानी २ वस्ने धनवहादुर राई र किमालुङग ८ वस्ने धनवहादुर राई वीच के कुरामा झगडा हुँदा मुलपानी २ वस्ने धनवहादुरलाई किमालुङग ८ वस्ने धनवहादुर राईले मार्ने नियतले चुप्पी प्रहार गर्दा मेरो श्रीमती रुकमणी राईको वायां पट्टीको पेटमा लाग्न गएको हो भन्ने मिति २०४९।४।३० गतेको घाइतेको पति टंकवहादुर राईको ठाडो कागज ।

            ८.    २०४९।४।१० गतेका दिन दिंला वजार केदार कार्कीको होटलमा मुलपानी २ वस्ने धनवहादुर राई र मेरो दाजु धनवहादुर राई वीच वादविवाद हुँदा मैले छुट्याई वाहीर निकाल्दा दाजुले भिरेको चुप्पी के कुन समयमा झीकी रुकमणी राईलाई रोपे आँखाले देखिन भन्ने समेत व्यहोराको मिति २०४९।५।३ गतेको अडिमर्दन राईको ठाडो कागज ।

            ९.    २०४९।४।१० गते दिन अं. ११ वजे दिंला वजार केदार कार्कीको होटलमा मुलपानी २ वस्ने धनवहादुर राई र किमालुङग वस्ने धनवहादुर वीच वादविवाद हुँदा किमालुङग ८ वस्ने धनवहादुर राईले मुलपानी २ वस्ने धनवहादुर राईलाई मार्ने नियतले चुप्पी प्रहार गर्दा मलाई लाग्न गएको हो निज सँग मेरो कुनै पुर्व रिसइवी छैन भन्ने पीडित रुकमणी राईको मिति २०४९।५।३ को ठाडो कागज ।

            १०.    २०४९।४।१० गते अं. ११ वजेको समयमा किमालुङग ८ वस्ने धनवहादुर राई र मुलपानी वस्ने धनवहादुर राई वीच वादविवाद भै किमालुङ वस्ने धनवहादुर राईले मुलपानी वस्ने धनवहादुर राईलाई चुप्पी प्रहार गर्दा रुकमणी राईलाई लागेको हो भन्ने समेत व्यहोराको मिति २०४९।५।३ गतेको सर्जमिन मुचुल्का ।

            ११.    हालसम्म संकलित भई आएको मिसिल कागजातहरुवाट मुलपानी वस्ने धनवहादुर राईलाई किमालुङग वस्ने धनवहादुर राईले मार्ने नियतले चुप्पी प्रहार गर्दा रुकमणी राईलाई लाग्न गएको कुरा पुष्टी हुन आयो प्रतिवादीको घातक हतियारवाट मानिस मार्ने मनसाय मिसिलवाट पुष्टी हुन आएकोले ज्यान सम्वन्धी महलको १ नं. विपरीतको कसूरमा ऐ. १५ नं. वमोजिमको मागदावी लिई हाजिर जमानीमा छाडिएको प्रतिवादी धनवहादुर राईलाई अ.वं. ९८ नं. वमोजिम वारेन्ट जारी गरि पाउन समेत अनुरोध छ भन्ने समेत व्यहोराको अभियोग  पत्र ।

            १२.   २०४९।४।१० गते विहानै घरवाट हिडी सो दिन विहान १०।३० वजे दिंला वजार पुगेको थिएँ एकछिन वजार धुमफिर गरी नास्ता चियापान खान केदार कार्कीको दोकान होटलमा गै ४ सेर जति जांड मागी खाए त्यसपछि पाइनपल रक्सी १ वोतल मागी खादै गर्दा अं. ११ वजेको समय भएको थियो म वसेको ठाउँमा मुलपानी वस्ने धनवहादुर राई आई तपाईलाई चिनेजस्तो लाग्यो कहाँ वस्ने, के नाम थर  हो ? भनी मलाई सोेध्यो र मैले किमालुङग वस्ने हुँ, मेरो नाम धनवहादुर राई हो भनी जवाफ दिए र मैले पनि परिचय सोधे निजले मुलपानी वस्ने हुँ, मेरो नाम धनपती पनि हो, धनवहादुर पनि हो भनी जवाफ दिएपछि मैले तपाईको २ नाम रहेछ भन्नासाथ एक्कासी मेरो नाम किन प्रतिवन्ध लगाउछस भन्दै मलाई कुट्न मार्न तछाडमछाड गर्न थाल्यो त्यस वखत मलाई अली नक्सा लागेको थियो निजले हान्ने विचार गरेकोले आफ्नो ज्यान वचाउन मेरो कम्मरमा भिरेको चुप्पी निकाली हान्न चलाउँदा धनवहादुरको पेटमा ताकी चुप्पी प्रहार गरे तर निजले छलेपछि रुकमणी राईलाई लागेछ रुकमणी सो ठाउँमा आएको देखिन कुन समयमा आइन मलाई थाहा भएन चुप्पी लागेपछि मात्र थाहा भयो मार्ने विचारले चुप्पी हानेको होइन भन्ने समेत व्यहोरोको प्रतिवादी धनवहादुर राईले अदालतमा गरेको वयान कागज ।

            १३.   आदेशानुसार पीडित रुकमणी राई तथा टेकवहादुर राई केदार कार्की अडीमर्दन राई र सर्जमिनका व्यक्ति चन्द्रकला कार्की यमुना ढकाल मंजु सापकोटा तथा प्रतिवादीका साक्षी समेत वुझी उल्लेखित व्यक्तिहरुको वकपात्र मिसिल सामेल रहेको रहेछ ।

            १४.   प्रतिवादी धनवहादुरराईले पीडित रुकमणी राईलाई ज्यान सम्वन्धीको महलको १५ नं.अनुसार कसूर गरेको ठहरेकोले ५ बर्ष कैद हुन्छ भन्ने व्यहोराको भोजपुर जिल्ला अदालतको मिति २०५२।२।२८।१ को फैसला ।

            १५.   भोजपुर जिल्ला अदालतको फैसला उपर चित्त वुझेन सो फैसला उल्टाई अभियोगवाट सफाइ पाउँ भन्ने धनवहादुर राईको पुनरावेदन पत्र ।

            १६.    मुलपानी गा.वि.स. वडा नं. २ वस्ने धनवहादुर राईलाई किमालुङग वडा नं. ८ वस्ने धनवहादुर राईले चुप्पीले हान्दा अचानक छोरी रुकमणीको देव्रेपट्टी कोखमा लागी ज्यान मार्ने उद्योग गरेकोले कारवाही गरी पाउँ भन्ने जाहेरी भएकोमा दुवैको नाउँ धनवहादुर भएको कुरामा विवाद हुँदा प्रतिवादीले कम्मरमा भिरेको चुप्पी निकाली निजलाई हानेकोमा रुकमणी राईको वाया पट्टीको पेटमा चुप्पि लागेको कुरामा विवाद नरहेको । प्रतिवादीले अधिकार प्राप्त अधिकारी समक्ष र अदालतमा समेत वयान गर्दा आरोपित तथ्यलाई स्वीकार गरेको पाइन्छ । चुप्पी जस्तो धारीलो हतियार कसैमाथि प्रयोग गर्न कानूनले छुट दिएको भन्न नमिल्ने हुँदा मिसिल प्रमाणवाट प्रतिवादी धनवहादुर राईले पीडित रुकमणीको ज्यान मार्ने उद्योग गरी मुलुकी ऐन ज्यान सम्वन्धीको १५ नं.अनुसार कसूर गरेको ठहराई ५ (पांच) बर्ष कैदको सजाय गर्ने ठहराएको शुरु भोजपुर जिल्ला अदालतको मिति २०५२।२।२८ गतेको फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ भन्ने समेतको पुनरावेदन अदालत धनकुटाको मिति २०५३।१०।७ को फैसला ।

            १७.   ज्यान मार्ने मनसायको अभावमा हुन गएको घटना प्रकृतिलाई ज्यान सम्वन्धीको १५ नं. मा उल्लेखित अवस्था रहेको भन्ने आत्मनिष्ट आधारवाट भएको पु.वे.अ.को फैसलामा ज्यान सम्वन्धीको १५ नं. त्रुटी विद्यमान हुनुका साथै यस अदालतवाट प्रतिपादित नजिर सिद्धान्तको प्रतिकूल हुँदा मुद्दा दोहोर्‍याई हेरी अभियोगवाट सफाइ पाउँ भन्ने समेतको यस अदालतमा परेको निवेदन पत्र ।

            १८.   ज्यान मार्ने सम्मको रिसइवी भएको र ज्यानै मारौं भन्ने मनसायले चुप्पी प्रहार गरेको भन्ने नदेखिएको एकालाई हानेको चुप्पी अर्कीलाई लाग्न गएको अवस्थामा ज्यान मार्ने उद्योगको कसूर ठहर्‍याई शुरुले गरेको सजायलाई सदर गरेको पुनरावेदन अदालत धनकुटाको फैसलामा मुलुकी ऐन ज्यान सम्वन्धीको १५ नं. को व्याख्यामा गम्भीर त्रुटी देखिएको र ने.का.प. २०५१ अंक ४ पृष्ठ २२६ नि.नं. ४८९० मा प्रतिपादित सिद्धान्त प्रतिकूल निर्णय भएको देखिएकोले न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) वमोजिम दोहोर्‍याउने निस्सा प्रदान गरिएको छ भन्ने समेतको यस अदालतको आदेश ।

            १९.    नियम वमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढि यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको सम्पूर्ण मिसिल कागजात अध्ययन गरि पुनरावेदककातर्फवाट विद्वान अधिवक्ता श्री वोर्णवहादुर कार्कीले होटलमा रक्सि खाई रहेको अवस्थामा अर्को धनवहादुर सँग भनाभन झगडा भई हाना हान हुँदा पुनरावेदक धनवहादुर राइले अर्को धनवहादुर राईलाई पेटमा ताकी हानेको छुरी निजलाई नलागी स्वास्नीमानिस रुक्मणीलाई लाग्न गएको वारदातको अवस्था छ । मारौं भन्ने मनसायले हतियार प्रहार गरी मर्ने सम्मको काम नगरेको र तेश्रो पक्षको हस्तक्षेपले मानिस मर्न नपाएको अवस्था समेत विद्यमान नरही एउटालाई ताकी हानेको चोट अर्कोलाई लाग्न गएको अवस्थामा ज्यान सम्वन्धीको १५ नं. वमोजिम कसूर कायम गर्न नमिल्ने हुँदा पुनरावेदन अदालतको फैसला मिलेको छैन । तसर्थ मेरो पक्ष प्रतिवादीलाई ज्यान मार्ने उद्योगमा सजाय गर्ने गरेको शुरुको फैसला सदर गरेको पुनरावेदन अदालतको फैसला उल्टी भै अभियोग माग दावीवाट सफाइ पाउनु पर्दछ भनि प्रस्तुत गर्नु भएको वहस र विपक्षी वादी श्री ५ को सरकारतर्फवाट उपन्यायाधिवक्ता श्री उद्धव खनालले प्रतिवादीले मानिस मार्ने मनसायले चोट प्रहार गरेको र मानिस मर्न नपाएको अवस्था हुँदा मागदावी वमोजिमको कसूर ठहर गर्ने गरेको शुरुको फैसला सदर गरेको पुनरावेदन अदालतको फैसला मनासिव हुँदा सदर हुनु पर्दछ भनि गर्नु भएको वहस समेत सुनियो ।

            २०.   प्रस्तुत मुद्दाको निर्णयतर्फ विचार गर्दा ज्यान सम्वन्धीको १५ नं. वमोजिमको कसूर ठहर गरि प्रतिवादीलाई ५ बर्ष कैद सजाय हुने ठहराएको शुरु भोजपुर जिल्ला अदालतको इन्साफ सदर गरेको पुनरावेदन अदालत धनकुटाको फैसला मिलेको छ वा छैन ? सोही कुरामा निर्णय दिनुपर्ने देखियो ।

            २१.   यसमा प्रस्तुत मुद्दाको वारदातको अवस्था हेर्दा वारदातस्थल केदार कार्कीको होटलमा प्रतिवादी धनवहादुर राई रक्सी खाई वसिरहेको अवस्थामा अर्को धनवहादुर राईसँग परिचय गर्ने क्रममा निजहरुको वीच भनाभन हात हालाहाल समेत भएको र त्यसै मौकामा प्रतिवादी धनवहादुरले आफूसँग भएको चुप्पी निकाली अर्को धनवहादुर राईको पेटमा ताकी हानेकोमा निज छलिई पूर्व रिसइवी केही नभएकी पीडित रुक्मणी राईलाई लाग्न गई घाइते भएको भन्ने देखिन्छ । सो कुरालाई प्रतिवादीले अधिकार प्राप्त अधिकारी एवं अदालतमा गरेको वयान, पीडित रुक्मणी राईको मौका कागज एवं अर्को धनवहादुर राईको कागज समेतका सवुद प्रमाणले पुष्टि गरिरहेको देखिन्छ । मुलुकी ऐन ज्यान सम्वन्धीको १५ नं. मा ज्यान मार्ने मनसायले गोली चलाउने वा घातक हतियारले काट्ने वा मार्नका लागि अरु जुनसुकै कुराको उद्योग गरि मर्ने सम्मको काम गरेकोमा कुनै कारणले ज्यान मर्न नपाएको अवस्थालाई ज्यान मार्ने उद्योगको लागि आवश्यक तत्वको रुपमा व्यवस्था गरेको देखिन्छ । प्रस्तुत मुद्दामा प्रतिवादी धनवहादुर राईको पीडित रुक्मणी राईलाई मार्नुपर्ने सम्मको पूर्व रीसइवी रहेको वा तत्काल घटनास्थलमा त्यसप्रकारको अवस्था सिर्जना भएको थियो भन्ने पनि मिसिल प्रमाणवाट देखिएको छैन । प्रतिवादीले निज पीडितलाई नै ताकी चोट छोडेको भन्ने नदेखिई अर्को व्यक्ति धनवहादुर राईलाई ताकी हानेकोमा पीडितलाई लाग्न गएको भन्ने कुरामा समेत विवाद देखिन आउदैन । उल्लेखित ज्यान सम्वन्धीको १५ नं. को व्यवस्था वमोजिम पीडित रुक्मणी राईलाई मार्ने मनसायले चुप्पी प्रहार गरेको र तेश्रो पक्षको हस्तक्षेपको कारण ज्यान मर्न नपाएको भन्ने देखीन नआएको स्थितिमा ज्यान मार्ने उद्योगको कसूर कायम गरि सजाय गर्न मिल्ने देखिएन ।

            २२.   प्रतिवादीले प्रहार गरेको चुप्पीको चोटवाट पीडित रुक्मणी राईलाई पर्न गएको घाउ चोट समेतको वारदातको प्रकृतितर्फ विचार गर्दा स्वास्नीमानिसलाई कुटपिट गर्ने मनसायपूर्वक प्रहार नगरेको र निज प्रतिवादीले प्रहार गरेको चुप्पी पीडितलाई लागी सकेपछि पुनः प्रहार गरेको समेत नदेखिएको वारदातको प्रकृतिवाट प्रस्तुत मुद्दाको वारदात मुलुकी ऐन कुटपिटको ३ नं. को परिभाषा भित्र पर्ने देखिई प्रस्तुत मुद्दा सरकारी मुद्दा      सम्वन्धी ऐन २०४९ को अनुसूची १ वा २ भित्र पर्ने देखिएन । तसर्थ श्री ५ को   सरकार वादी भै चलेको प्रस्तुत मुद्दामा   शुरु भोजपुर जिल्ला अदालतले ज्यान सम्वन्धी महलको १५ नं. वमोजिम ज्यान मार्ने उद्योग कसूर कायम गरि प्रतिवादीलाई सजाय गर्ने गरेको इन्साफ सदर गरेको पुनरावेदन अदालत धनकुटाको फैसला मिलेको नदेखिंदा  उल्टी भै ज्यान मार्ने उद्योगको अभियोगवाट पुनरावेदक   प्रतिवादी धनवहादुर राईले सफाइ पाउने ठहर्छ । प्रस्तुत मुद्दाको वारदातको  प्रकृतिवाट मुलुकी ऐन कुटपिटको महलको ३ नं. को परिभाषा भित्र पर्ने देखिंदा सरकारी मुद्दा सम्वन्धी ऐन २०४९ को दफा २७ वमोजिम पीडित पक्ष रुक्मणी राईलाई झिकाई निजले कुटपिटमा सकार गरे निजलाई वादी पक्ष कायम गरि यसै मुद्दाको मिसिलवाट कानून वमोजिम कार्वाही गर्नु भनि प्रस्तुत मुद्दाको शुरु मिसिल भोजपुर जिल्ला अदालतमा पठाई दिनुपर्ने ठहर्छ । अरु तपसिलका कुरामा तपसिल वमोजिम गर्नु ।

 

तपसिल

 

माथि इन्साफ खण्डमा लेखिए वमोजिम ज्यान सम्वन्धी महलको १५ नं. वमोजिम प्रतिवादीलाई ५ बर्ष कैदको सजाय गर्ने गरेको शुरु भोजपुर जिल्ला अदालतको इन्साफ सदर गरेको पु.वे.अ. धनकुटाको फैसला उल्टी भै ज्यान मार्ने उद्योगको अभियोगवाट पुनरावेदक प्रतिवादी धनवहादुर राईले सफाइ पाउने ठहरेकाले शुरुको मिति २०५२।२।२८ को फैसला वमोजिम राखेको लगत कट्टा गर्नु र प्रस्तुत मुद्दामा प्रतिवादीले जेथाजमानी दिई रोक्का रहेको जेथा समेत अन्य मुद्दावाट रोक्का राख्नु नपर्ने भए फुकुवा गरिदिनु भनि शुरु भोजपुर जिल्ला अदालतमा पठाई दिनु............... १

प्रस्तुत मुद्दा सरकारी मुद्दा सम्वन्धी ऐन, २०४९ को दफा २७ वमोजिम पीडित रुक्मणि राईलाई झिकाई निजले कुटपिटमा सकार गरे निजलाई वादी पक्ष कायम गरी कानून वमोजिम कार्वाही गर्नु भनि प्रस्तुत मुद्दाको शुरु मिसिल शुरु भोजपुर जिल्ला अदालतमा पठाई दिनु ................२

 

दायरी लगत कट्टा गरि मिसिल नियम वमोजिम वुझाई दिनु .......३

 

उक्त रायमा सहमत छु ।

 

न्या.शारदा श्रेष्ठ

इजलास अधिकृत (रा.प.तृ.) रामप्रसाद सेढाई

 

 

इति सम्वत् २०६१ साल बैशाख १४ गते र।ेज २ शुभम्........

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु