शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७६३९ - निषेधाज्ञा

भाग: ४८ साल: २०६३ महिना: बैशाख अंक:

निर्णय नं.७६३९            ने.का.प.२०६३       अङ्क १

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री रामनगिना सिंह

माननीय न्यायाधीश श्री परमानन्द झा

सम्वत २०६२ सालको फौ.पु.नं. ३४७६

फैसला मितिः २०६३।१।६।४

 

मुद्दाःनिषेधाज्ञा ।

 

पुनरावेदिका / प्रतिवादीः जिल्ला तनहुँ  भिमाद गा. वि.स. वडा न. ६ घर भै सशस्त्र प्रहरी वल सिद्धकाली गण पकली दरवन्दीमा खटिई हाल जिल्ला प्रशासन कार्यालय कारागार शाखा डिल्लीवजारमा थुनामा रहेको  सशस्त्र प्रहरी सहायक हवल्दार तिलवहादुर कुमाल

विरुद्ध

प्रत्यर्थी / विपक्षीः सशस्त्र प्रहरी वल प्रधान कार्यालय कार्य विभाग समेतको जाहेरीले श्री ५ को सरकार

 

§  सशस्त्र प्रहरी वलको गठन र सञ्चालनसम्वन्धी व्यवस्था गर्न वनेको ऐन सशस्त्र प्रहरी ऐन, २०५८ को प्रस्तावनामा नै नेपाल अधिराज्यमा शान्ति र सुव्यवस्था कायम गरी जनताको जीउ धन र स्वतन्त्रताको संरक्षण गर्नको लागी सशस्त्र प्रहरी वलको गठन र संचालन भएको भन्ने देखिन्छ । उल्लेखित प्रस्तावनाको उद्देश्य कायम राख्नको लागी गठन भएको प्रहरी वलका वहालवाला सहायक हवल्दार यी प्रतिवादीले आफ्नो पदीय हैसियतले कर्तव्य पालन गर्दाको अवस्थामा आफ्नो जिम्मा रहने आँफैले वोकेको राइफल दुरुपयोग गरेको होइन भन्न नमिल्ने ।

(प्रकरण नं.१९)

§  प्रतिवादीले आत्महत्याको प्रयास स्वरुप आँफैलाई गोली प्रहार गरेपनि हतियार सहिरुपमा प्रयोग भएको अवस्था नहुँदा जे जुन कारण र प्रयोजनको लागी हातहतियारको प्रयोग गरेपनि र सो गरेको प्रयोगको परिणाम जे आए पनि प्रतिवादीले राइफलले गोली चलाएको कार्यलाई पदीय दुरुपयोग मान्नुपर्ने ।

(प्रकरण नं.२०)

 

पुनरावेदिका प्रतिवादी तर्फवाटः विद्धान अधिवक्ताहरु श्री वद्रीवहादुर कार्की, श्री रविनारायण खनाल र श्री शान्ती देवी खनाल

प्रत्यर्थी विपक्षी तर्फवाटः विद्वान उपन्यायाधिवक्ता श्री व्रजेश प्याकुरेल

अवलम्विन नजीरः

 

फैसला

            न्या.परमानन्द झाः पुनरावेदन अदालत पाटनको मिति २०६२।१।१५ को फैसला मुद्दा दोहोर्‍याई हेरिपाउँ भनि परेको प्रतिवादीको निवेदनमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क)को आधारमा मुद्दा दोहोर्‍याई हेर्ने भन्ने यस अदालतको मिति २०६२।९।८ को आदेशानुसार पुनरावेदन दर्ता भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य तथा ठहर यसप्रकार छ :-

            २.    सशस्त्र प्रहरी वल सिद्धकाली गण पकली दरवन्दी भै सशस्त्र प्रहरी वल वेश क्याम्प लुक्लामा कार्यरगत आई. डि.नं. ११८५६ को स.प्र.स.ह. तिलवहादुर कुमालले मिति २०६१।३।५ गते २.०० वजेको समयमा डयुटीमा वसी रहेको अवस्थामा आफ्नो जिम्मामा रहेको हात हतियारको दुरुपयोग गरी आफुसंग रहेको हतियारले आँफैलाई हानी आत्महत्या गर्न खोजेको घटनाको सम्वन्धमा निज घाइते स.प्र.स.ह. हाल सशस्त्र प्रहरी वल अस्पतालमा उपचारार्थ राखीएको हुँदा उक्त घटनाको वारेमा यथार्थ विवरण वुझी पेश गर्न हुन भन्ने समेत व्यहोराको सशस्त्र प्रहरी वल प्रधान कार्यालय कार्य विभागले च.नं २८६३ मिति २०६१।३।१० को का.मु.स.प्र.ना.अ. गणेशवहादुर सग्रोलालाई लेखेको पत्र ।

            ३.    मिति २०६१।३।५गते स.प्र.वल वेश क्याम्प लुक्लामा डयुटीमा रहेको अवस्थामा आफ्नो घरको आर्थिक अवस्था कमजोर भएको र लामो समय देखि घरमा जान नपाएको कारण मानसिक चिन्तले गर्दा आफुसंग रहेको एस.एल.आर राईफल वाट आफुलाई हानी आत्महत्या गर्न खोजेको हुँ । मलाई कोही कसैले गालीहानी घाइते वनाएको होइन भन्ने समेत व्यहोराको प्रतिवाद स.प्र.स.ह.तिलवहादुर कुमालले  मिति २०६१।३।१२ गते लेखाई दिएको पाना १अ को मौकाको कागज ।

            ४.    डयुटीमा रहेको अवस्थामा आफ्नो घरायसी समस्याको कारणले मानसिक तनाव पर्न गई आफुसंग रहेको हतियारको दुरुपयोग गरी आँफैलाई हानी आत्महत्या गर्न खोज्दा घाइते भएको भन्ने वुझीन आएको हुँदा निजलाई सशस्त्र प्रहरी ऐन, २०५८ को दफा २७ को उपदफा (४)(घ) अनुसार कारवाही हुन भन्ने समेत व्यहोराको का.मु. स.प्र.ना.उ. गणेशवहादुर सग्रौलाले सशस्त्र प्रहरी वल प्रधान कार्यालय कार्य विभाग ग्रिष्म भवनमा पेश गरेको प्रतिवेदन । 

            ५.    मिति २०६१।३।५ गते विहान डयुटीमा रहेको वेला घरको याद आयो र घरको गरिवीपन र अन्य घरायसी समस्याहरु सम्झदा वाच्नु भन्दा मर्नु निको भन्ने सोची आँफैले वोकेको एस.एल.आर. राईफलद्धारा आँफैलाई गोली हानेको हुँ । अन्य कसैले हानेको होइन भन्ने समेत व्यहोराको प्रतिवादी स.प्र.स.ह.तिलवहादुर कुमालले अनुसन्धान अधिकृत समक्ष गरेको साविती वयान ।

            ६.    निज तिलवहादुर कुमालले सशस्त्र प्रहरी ऐन, २०५८ को दफा २७ को उपदफा (४)(घ) अनुसारको कसुर गरेको हुँदा निजलाई उपरोक्त वमोजिमको कसुरमा सोही ऐनको सोही दफा वमोजिम हदै सम्मको सजाय गरी पाउँ भन्ने मिति २०६१।४।१२ मा दायर भएको अभियोग पत्र ।

            ७.    म आँफै घरायसी व्यवहार सुल्झाउन नसकेकोले मानसिक चिन्ता भई डयुटी खटिएको वेला आफ्नो जिम्मामा रहेको आफ्नै हतियारले हानी आत्महत्या गर्ने प्रयास गरेको हुँ भनि मिति २०६१।४।१२ गते प्रतिवादी तिलवहादुर कुमालले गरेको वयान ।

            ८.    घटना सम्वन्धमा छानविन गरी प्रतिवेदन पेश गर्ने कार्यमा खटिई प्रतिवेदन पेश गर्ने प्रतिवेदक का.मु.स.प्र.ना.उ गणेशवहादुर संग्रा्रलाले मिति २०६१।३।५ गते सशस्त्र प्रहरी वेश क्याम्प लुक्लामा निज प्रतिवादी स.प्र.स.ह. तिलवहादुर कुमाल डयुटीमा रहेको अवस्थामा घरायसी समस्याको कारणले मानसिक तनाव पर्न गई आफुले वोकेको हतियारको दुरुपयोग गरि आँफैलाई हानी आत्महत्या गर्ने प्रयास गरेको हो भनि गरेको वकपत्र ।

            ९.    डयूटी पोष्टमा डयुटी भै खटिएको वेला आँफैले आँफैलाई प्रहार गरेको हो मैले प्रहार गरेको गोली पहिलो चोटी मिस फायर भई शरिरमा नलागी हावामा उडी  गयो । त्यो फायरले अन्य कसैलाई लागेन । त्यसपछि पुनः आफ्नै छातीमा ताकी ट्रेगर दवाउँदा मेरो छातीको वीच भागवाट गोली प्रवेश गरी वाया पाता मभुनीवाट वाहीर निस्क्यिो भनि कसुरमा सावित रही वयान गरेको साथै घटनास्थल प्रकृती मुचुल्का समेतले सोही व्यहोरालाई नै पुष्टी गरि रहेको कुरा पुष्टी गरि आफ्नो व्यहोरा लेखाई दिएको देखिन आयो । विवेचित आधार कारणवाट निज प्रतिवादी तिलवहादुर कुमालले सशस्त्र प्रहरी ऐन, २०५८ को दफा २७(४) (घ) को कसुर गरेको ठहर्छ । सो ठहर्नाले यी प्रतिवादीलाई सोही दफा वमोजिम तिन वर्ष कैद हुने ठर्हछ भन्ने समेत व्यहोराको सशस्त्र प्रहरी विशेष अदालतवाट भएको फैसला ।

            १०.    मेरो विरुद्धको अभियोग सम्वन्धमा तरमा मौका तहकिकात मुचुल्का एवं अधिकार प्राप्त अधिकारी समक्षको मेरो वयान आदी कागजात प्रमाणहरुमा म आफ्नै क्रियाकलापवाट घायल भई मरणासन्न भई रहेको अवस्थामा प्रमाणहरु तयार गरिएको कुरा स्पष्ट छ । मानसिक तथा शारिरीक रुपले अवस्थामा रहेको अभियुक्तलाई धाक धम्की दिई शारिरीक यातनाको संभावना देखाई वा अनुचित प्रलोभवनवाट गरिएको सावितीलाई प्रमाण मान्न नहुनेमा प्रमाणको रुपमा ग्रहण गरी मलाई सशस्त्र प्रहरी ऐन, २०५८ को दफा २७(४)(घ) अनुसार तिनवर्ष कैदको सजाय गर्ने गरेको सशस्त्र प्रहरी विशेष अदालतको त्रुटीपूर्ण फैसला वदर गरि पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीको पुनरावेदन अदालतमा परेको पुनरावेदन पत्र । 

            ११.    प्रतिवादीको साथमा रहेको हतियार निजले अन्य कोही कसै उपर प्रयोग गरेको नभै आत्महत्या गर्ने प्रयासमा प्रयोग गरेको स्थिति र घटनाको प्रकृती एवं प्रतिवादीले आत्महत्या गर्नु पर्ने निजको वयानमा उल्लेखित कारण समेतको परिक्ष्यमा शुरुले निजलाई हतियार दुरुपयोग तर्फ सजाय गर्ने ठहर्‍याई गरेको फैसला विचारणिय हुँदा अ.व. २०२ नं. वमोजिम छलफलको लागि पुनरावेदन सरकारी वकिल कार्यालयलाई पेशीको सुचना दिई नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालतको आदेश ।

            १२.   प्रतिवादीले आफ्नो जिम्मामा रहेको राइफलले आँफैलाई हानेकोमा सावितै रहेको र प्रमाणले पुष्टी गरेको पाइन्छ । आफुले वोकेको हतियारले आँफैलाई हान्नुलाई हतियार सहीरुपमा प्रयोग भएको नभई दुरुपयोग भएको मान्नु पर्ने हुँदा प्रतिवादीलाई सशस्त्र प्रहरी विशेष अदालतले सजाय गर्ने गरी गरेको फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत पाटनको मिति २०६२।१।१५ को फैसला ।

            १३.   उक्त फैसलामा चित्त वुझेन । मैले गरेको कार्यलाई कुनै कानूनले अपराधको परिभाषा गरेको छैन । नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १४(१) ले तत्काल प्रचलित कानूनले सजाय नहुने काम गरे वापत कुनै व्यक्ति सजायको भागी हुने छैन भन्ने व्यवस्था गरेको छ । राज्य संयन्त्रले व्यक्तिको स्वतन्त्रता माथि अतिक्रमण गर्दा विधि सम्मत प्रकृयालाई अवलम्वन गर्नु पर्नेमा सो गरे भएको छैन । मुलुकमा चलिरहेको आतंकवादी क्रियाकलापको विरुद्ध लड्दा सेनामा रहेका मेरा दाजुले ज्यान गुमाउनु परेको, घर विदा नपाई वर्पौ देखि मैदानमा लड्न पर्दा धैर्यताको वाँध टुट्न गएको, घरको असहनिय गरीवी र पिडादायक अवस्थाले मलाई तनावग्रस्त अवस्थामा पुर्‍याएको थियो । विविध कारणले मन संकुचन भै आत्महत्या वा आत्महत्याको उद्योगको कर्म गरेकोमा कुनै कानूनले फौज्दारी अपराध मानेको छैन । राज्यले कसुर कायम नगरेको कार्य म वाट भएकै खण्डमा पनि मैले अपराधिक दायित्व वहन गर्नु पर्ने होइन । आफुलाई आत्महत्या गर्ने प्रयास वाट अन्य कुनै व्यक्तीलाई गरेको कार्य कसुर सरह मान्नु मिल्दैन । मनोगत धारणावाट न्यायिकमनको प्रयोग नगरी भएको शुरु र पुनरावेदन अदालतको फैसला त्रुटीपूर्ण हुँदा वदर भागी छ । मलाई सजाय गर्ने गरेको उक्त गैरकनूनी तथा अन्यायपूर्ण फैसलामा कानूनी व्याख्याको त्रुटी हुँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड(क) वमोजिम मुद्दा दोहोर्‍याई पाउँ भनि प्रतिवादीको यस अदालतमा पर्न आएको निवेदन पत्र ।

            १४.   यसमा प्रतिवादी तिलवहादुरले आफु संग भएको हतियार अन्य कुनै प्रयोजनको लागी प्रयोग गरेको नभई आत्महत्याको प्रयास गरेको सम्म देखिएको, तेश्रो पक्षको हित वा स्वार्थ तथा आफ्नै स्वार्र्थ वा हितको लागी कुनै मनसाय राखी कार्य गरेको भन्ने नदेखिएको अवस्थामा पनि प्रतिवादीलाई सजाय गरेको पुनरावेदन अदालतको फैसला सशस्त्र प्रहरी ऐन, २०५८ को दफा २७(४)(घ) को व्याख्यात्मक त्रुटी देखिंदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) वमोजिम निस्सा प्रदान गरिएको छ भन्ने यस अदालतको मिति २०६२।९।८ को आदेश ।

            १५.   नियम वमोजिम पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी तर्फका विद्धान अधिवक्ताहरु श्री वद्रीवहादुर कार्की, श्री रविनारायण खनाल र श्री शान्ती देवी खनालले यी प्रतिवादीले कसै उपर कानूनले अपराध कायम हुने कसुर गरेका छैनन । आफ्नो दाजु सेनामा कार्यरत रहदा आतंककारी संगको भिडन्तमा मृत्यु भएको, आफु वर्षो देखि घरमा जान नपाएको, घरको गरिवि अवस्था आदि कारणले मनस्थिति ठिक नभई आत्म हत्याको प्रयाश गरेका मात्र हुन । बीचलित मनस्थितिमा वाँच्नु भन्दा वरु मर्नु ठिक भनि आफ्नो साथमा रहेको राइफलवाट आँफैलाई प्रहार गरी आत्महत्या गर्न खोज्दा पहिलो पटकको फाएरले शरिरमा नलागी दोश्रो फाएरमा आफ्नै शरिरमा लाग्न गई घाइते भएको अवस्था छ । नोकरी एवं घरायसी कारणवाट निरास भै मृत्युवरण गर्न सम्म तम्सिएका पुनरावेदक प्रतिवादीलाई २ वटा राइफलको गोली दुरुपयोग गरेको भनि तीन वर्षको कैदको सजाय तोकिएको छ । प्रतिवादीले गरेको क्रियावाट कसैको कानूनी हक अ धिकारमा आघात परेको छैन । आत्महत्याको उद्योग गर्नेलाई नेपाल कानूनले अपराध मानेको छैन । नेपाल अधिराज्यको संविधान २०४७ को धारा १४(१) ले तत्काल प्रचलित कानूनले सजाय नहुने काम गरे वापत कुनै व्यक्ति सजायको भागी हुने छैन र कुनै पनि व्यक्तिलाई कसुर गर्दाको अवस्थामा प्रचलित कानूनमा तोकिएभन्दा वढी सजाय दिईने छैन भनि फौज्दारी न्याय सम्वन्धी हकको प्रत्याभूति गरेको छ । खुम्चेको दुर्वल मनोवलको कारण भएको घटनाको परिणामले कही कसैको उपर कुनै आघात नपरेको र आफ्नै कारण आँफै मर्न भनि गरिएको कार्य अपराधिक कसुर मान्न मिल्दैन । गोली दुरुपयोग भएको भनि सशस्त्र प्रहरी विशेष अदालतले प्रतिवादीलाई तीन वर्षको कैदको सजाय गर्ने गरेको निर्णयलाई सदर गरेको पुनरावेदन अदालतको फैसला उल्टी वदर होस भन्ने वहस प्रस्तुत गर्नु भयो ।

            १६.    त्यस्तै प्रत्यर्थी वादी तर्फका विद्वान उपन्यायाधिवक्ता श्री व्रजेश प्याकुरेलले प्रतिवादीले आफुले आँफैलाई गोली हानी आत्महत्या गर्न खोजेको प्रयाशमा प्रस्तुत मुद्दा दायर भएको होइन । यी प्रतिवादी देशमा शान्ति कायम गर्न सदा तत्पर र जागरुक रहनु पर्ने निकाय सशस्त्र प्रहरी वलका सहायक हवल्दार दर्जाका राष्ट्रसेवक कर्मचारी हुन । आफुलाई जिम्मा दिइएको हात हतियार, खर खजाना, नगदी जिन्सीको उचित संरक्षण गर्नु पर्ने र उपल्लो अधिकारीले दिएको नीति निर्देशन अनुसार समुचित प्रयोग गर्नु यिनको सेवाको प्रकृति अनुसारको कर्तव्य र दायित्व हो । आफ्नो जिम्मामा रहेको हात हतियार खरखजाना आफ्नो मनखुसी दुरुपयोग गर्ने नभई आफु भन्दा माथिल्लो दर्जाका व्यक्तिको आदेश विना प्रयोग गर्न मिल्ने हुदैन । प्रतिवादीले आफ्नो जिम्मामा रहेको राइफल र सोमा लोड भएको गोलीवाट चाहे जुनसुकै उद्देश्यले होस दुरुपयोग गरेको देखिएको अवस्था छ । सशस्त्र प्रहरी ऐन, २०५८ को दफा २७(४)को (घ) मा आफ्नो जिम्मामा रहेका कुनै पनि सामान दुरुपयोग गरेमा, लापरवाही पूर्वक हराएमा, विगारेमा वा भत्काएमा त्यस्ता सशस्त्र प्रहरीलाई तिन वर्ष देखि पाँच वर्षसम्म कैदको सजाय हुनेछ भन्ने कानूनी व्यवस्था वमोजिम आफूले गरेको कार्यमा सावित हुने प्रतिवादीलाई तीन वर्षको कैद सजाय गर्ने गरेको सशस्त्र विशेष प्रहरी अदालतको निर्णय सदर गरेको पुनरावेदन अदालतको फैसला मिलेकै देखिंदा सदर होस भन्ने वहस जिकिर प्रस्तुत गर्नु भयो ।

            १७.   दुवै पक्षका विद्वान कानून व्यवसायीहरुको वहस सुनी पुनरावेदन जिकीर सहितको मिशिल अध्ययन गरी हेर्दा प्रस्तुत मुद्दामा शुरुको सदर गरेको पुनरावेदन अदालतको फैसला मिलेको छ र्छैन ? र पुनरावेदन जिकिर पुग्न सक्छ सक्तैन भन्ने सम्वन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।

            १८.   निर्णयतर्फ विचार गर्दा पुनरावेदक प्रतिवादी सशस्त्र प्रहरी सहायक हवल्दारको पदमा कार्यरत रहेको र आफ्नो डिउटीको अवस्थामा आँफैले वोकेको एस.एल आर. राईफलद्धारा आँफैलाई हानी हतियार दुरुपयोग गरी सशस्त्र प्रहरी ऐन, २०५८ को दफा २७(४)(घ) को कसुरमा सोही दफा वमोजिमको कारवाही र सजायको माग दावी भएको अभियोग पत्र देखिन्छ । आफ्नो घरायसी कारणवाट मनमा असन्तोष उत्पन्न भई बीचलित मनस्थितिमा आफुले वोकेको हतियार दुरुपयोग गरी आँफैलाई हानी आत्महत्याको प्रयास गरेको हुँ भनि यी पुनरावेदक प्रतिवादी सावित रहेको  पाइन्छ । तत्कालै घटना सम्वन्धमा सत्य तथ्य वुझ्न पठाइएका कायम मुकायम सशस्त्र प्रहरी नायव उपरीक्षकले दिएको प्रतिवेदनमा प्रतिवादीले डिउटीमा रहेको अवस्थामा आफ्नो घरायसी समस्याको कारण मानसिक तनाव पर्न गई आफ्नो जिम्माको साथैमा वोकेको हतियार दुरुपयोग गरी आत्महत्या गर्न खोज्दा घाइते भएको भन्ने उल्लेख देखिन्छ । पेश भएको प्रतिवेदन प्रतिवादीको वयान मिसिल संलग्न संकलित अन्य प्रमाणवाट पनि प्रतिवादीले हतियार दुरुपयोग गरेकोमा अन्यथा भन्न मिल्ने अवस्था देखिएन ।

            १९.    प्रतिवादी तर्फका विद्वान कानून व्यवसायीले कसैले आत्महत्याको प्रयास गरेकोमा वा उद्योग गरी घाइते भएमा नेपाल कानूनले अफराध मानेको छैन र कुनै कानूनले कसुर नमानेको कार्यवाट कसैलाई सजाय गर्न मिल्ने होइन भन्ने कानूनी सिद्धान्तलाई नेपाल अधिराज्यको संविधान, २०४७ ले पनि आत्मसात गरेको छ । आत्महत्याको उद्योग गर्दा घाइते भएका यी प्रतिवादीलाई कुनै कानूनले सजाय गर्न मिल्ने अवस्था छैन भन्ने वहस जिकिर तर्फ हेर्दा यी पुनरावेदक प्रतिवादी माथि आत्महत्या उद्योग  गरेको हुनाले सजाय गरिपाऊँ भनी माग दावी नभै आफ्नो जिम्मामा रहेको हतियारले आत्महत्या गर्ने प्रयास गरी दुरुपयोग गरेको हुनाले सशस्त्र प्रहरी ऐन, २०५८ को दफा २७(४)(घ) अनुसार सजाय गरिपाऊँ भन्ने दावी रहेकोले निज प्रतिवादी जिम्मा रहेको हतियार दुरुपयोग भयो भएन त्यसतर्फ हेर्दा सशस्त्र प्रहरी वलको गठन र सञ्चालन सम्वन्धी व्यवस्था गर्न वनेको ऐन सशस्त्र प्रहरी ऐन, २०५८ को प्रस्तावनामा नै नेपाल अधिराज्यमा शान्ति र सुव्यवस्था कायम गरी जनताको जीउ धन र स्वतन्त्रताको संरक्षण गर्नको लागी सशस्त्र प्रहरी वलको गठन र संचालन भएको भन्ने देखिन्छ । उल्लेखित प्रस्तावनाको उद्देश्य कायम राख्नको लागी गठन भएको प्रहरी वलका वहालवाला सहायक हवल्दार यी प्रतिवादीले आफ्नो पदीय हैसियतले कर्तव्य पालन गर्दाको अवस्थामा आफू वहाल रहेको प्रहरी संगठनको कानूनी भावना र मर्म विपरीत आफ्नो जिम्मा रहने आँफैले वोकेको राइफल दुरुपयोग गरेको होइन भन्न मिलेन ।

२०.   सशस्त्र प्रहरी ऐन, २०५८ को दफा २७(४) मा देहायका अपराध गर्ने सशस्त्र प्रहरीलाई तीन वर्ष देखि पाँच वर्ष सम्म कैदको सजाय हुनेछ भन्ने उल्लेख भै सोही दफा २७(४) को खण्ड(घ) मा आफ्नो जिम्मामा रहेका हात हतियार खर खजाना वा सवारी साधन वा नगदी वा जिन्सी सामानको दुरुपयोग गरेमा लापर्वाहीपूर्वक हराएमा विगारेमा वा भत्काएमा भन्ने उल्लेख भएको पाइन्छ । पुनरावेदक प्रतिवादीले तोकिएको डिउटीको समयमा आँफैले जिम्मा लिई वोकको राइफल प्रहार गरेको अवस्था छ । प्रतिवादीले आत्महत्याको प्रयास स्वरुप आँफैलाई गोली प्रहार गरेपनि हतियार सहिरुपमा प्रयोग भएको अवस्था भएन । जे जुन कारण र प्रयोजनको लागी हात हतियारको प्रयोग गरेपनि र सो गरेको प्रयोगको परिणाम जे आए पनि प्रतिवादीले राइफलले गोली चलाएको कार्य दुरुपयोग गरेकै मान्नुपर्ने हुन्छ ।

 

            २१.   तसर्थ २०६२।९।८ मा मुद्दा दोहोर्‍याउने निस्सा प्रदान गर्दा लिएको आधारसंग सहमत हुन सकिएन । अतः उल्लेखित आधार र कारणवाट प्रतिवादी तिलवहादुर कुमाललाई सशस्त्र प्रहरी  विशेष  अदालतवाट  सशस्त्र प्रहरी ऐन, २०५८ को दफा २७(४)(घ) को कसुरमा सोही दफा वमोजिम तीन वर्षको कैदको सजाय गर्ने गरेको मिति २०६१।१०।११ को फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको मिति २०६२।१।१५ को फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ । निज प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्तैन । मिशिल नियमानुसार वुझाई दिनु ।

 

उक्त  रायमा म सहमत छु ।

 

न्या.रामनगिना सिंह

 

इति सम्वत २०६३ वैशाख ६ गते रोज ४ शुभम.............................

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु