नेपाल कानून पत्रिका

शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९०१२ - कर्तव्य ज्यान

भाग: ५५ साल: २०७० महिना: भाद्र अंक:

ने.का.प. २०७०,           अङ्क ५

निर्णय नं.९०१२

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री सुशीला कार्की

माननीय न्यायाधीश श्री तर्कराज भट्ट

२०६७CR०१४६, ०२५०, ०३१०

फैसला मितिः २०७०।३।१२।४

 

मुद्दा  :कर्तव्य ज्यान ।

 

पुनरावेदक प्रतिवादीः झापा जिल्ला, महेशपुर गा.वि.स.वडा नं.३ घर भई हाल कारागार शाखा,       झापामा थुनामा रहेका रञ्जित राईसमेत

विरुद्ध

प्रत्यर्थी वादीः झापा जिल्ला, महेशपुर गा.वि.स.वडा नं.१ बस्ने दिलबहादुर लिम्बूको जाहेरीले         नेपाल सरकार

 

पुनरावेदक प्रतिवादीः झापा जिल्ला, पृथ्वीनगर गा.वि.स.वडा नं.४ घर भई हाल कारागार शाखा,    झापामा थुनामा रहेका सुनिलकुमार वसेल

विरुद्ध

प्रत्यर्थी वादीः झापा जिल्ला, महेशपुर गा.वि.स.वडा नं.१ बस्ने दिलबहादुर लिम्बूको जाहेरीले नेपाल          सरकार

 

पुनरावेदक वादीः दिलबहादुर लिम्बूको जाहेरीले नेपाल सरकार

विरुद्ध

प्रत्यर्थी प्रतिवादीः झापा जिल्ला, महेशपुर गा.वि.स.वडा नं.६ बस्ने रञ्जित राईसमेत

 

§  घटनामा उपस्थित थिएनौं अन्यत्र रहेको थियौँ भनी जिकीर लिएतापनि अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान व्यहोरालाई अदालतमा बयान गर्दा उल्लेख गरी बयान गरेबाट अधिकारप्राप्त अधिकारीसमक्षको बयान अन्य सम्बद्ध प्रमाणहरूबाट पुष्टि गरिरहेकोमा अधिकारप्राप्त अधिकारीसमक्षको बयान व्यहोरा अन्यथा प्रमाणित गर्न सकेको नदेखिएको अवस्थामा व्यहोरा पूर्णरूपमा झूठा हो भन्ने कुरा विश्वसनीय नदेखिने ।

§  ठोस आधार प्रमाणको अभावमा अदालतमा इन्कारी बयान गरेकै आधारमा वारदात घटाएको वेलामा घटनास्थलमा मौजूद नरही अन्यत्र थिएँ भनी लिएको जिकीर प्रमाणद्वारा पुष्टि गर्न नसकेको अवस्थामा अधिकारप्राप्त अधिकारीसमक्षको बयानलाई स्वेच्छाले गरेको बयान होइन रहेछ भन्नु तर्कसङ्गत नहुने ।

(प्रकरण नं.४)

§  वारदात घटाई सकेपछि विवाहमा सामेल हुन गएको देखिएको र विवाह हुने दुलहीले प्रतिवादीहरूलाई देखेको भनेपनि प्रतिवादीहरू एकै स्थानमा वसिरहनु पर्ने नभई आफूखुशी विवाहस्थल छोडी हिड्न सक्ने अवस्था भई केही समय कतै गई फर्की आउन सक्ने बाटोको दूरी रहेको देखिँदा विवाहमा पटकपटक देखभेट हुने हुँदा यति नै समयमा उपस्थित भएको भनी समय यकीन गर्न सक्ने स्थिति नहुने ।

§  साक्षीले गरेको बकपत्रमा प्रतिवादीसँग भेट भएको छैन भनी लेखाई दिएको अवस्थासमेतका प्रमाणहरूबाट वारदात मिति समयमा प्रतिवादीहरू दुलहीको विवाह मै रहे बसेका रहेछन् घटनास्थलमा थिएनौं भन्ने जिकीर समर्थन हुन नसक्ने ।

(प्रकरण नं.५)

§  बयान कागज मुताबिकको ठाउँमा दर्जा पुगेको प्रहरीसमेत भै प्रतिवादीहरू समेत एवं खानतलासी गर्दा स्थानीय भलादमीहरू समेतको रोहबरमा बरामद भएको खुकुरी अपराधसँग सम्बन्धित देखिएकोले सम्बद्ध प्रमाण प्रमाण गाह्य नहुने भन्न नमिल्ने ।

(प्रकरण नं.८)

§  मुद्दाको अनुसन्धान तहकीकातको अवस्थामा प्रहरीबाट गैरकानूनी बल प्रयोग गरी स्वेच्छाविरुद्धको बयान प्रमाणित हुन आएमा त्यस्तो बयान प्रमाणग्राह्य हुँदैन तर, त्यस्तो बयान स्वेच्छाविरुद्ध भएको भनी सरकारवादी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा १५(३) को व्यवस्थाबमोजिम अदालतमा निवेदन दिई स्वेच्छाविरुद्धको बयान हो भनी प्रमाणित गराउन नसकेको स्थितिमा अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयानलाई स्वेच्छाविपरीतको बयान भन्न मिल्दैन । त्यस्तो बयान प्रमाणमा लिन मिल्ने ।

(प्रकरण नं.९)

 

पुनरावेदक वादीतर्फबाटः विद्वान सहन्यायाधिवक्ता सूर्यप्रसाद कोइराला

पुनरावेदक प्रतिवादीतर्फबाटः विद्वान वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल, शम्भु थापा, सुभाष    नेम्बाङ्ग र अधिवक्ता पूर्ण राजवंशी, विद्वान वैतनिक कानून व्यवसायी श्रुतिकुमारी रेग्मी

अवलम्बित नजीरः

सम्बद्ध कानूनः

§  ज्यानसम्बन्धी महलको १३(३) नं., १७(१) नं.

§  सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा १५(३)

 

शुरू फैसला गर्ने न्यायाधीशः

मा.न्या. श्री शालिग्राम कोइराला

पुनरावेदन फैसला गर्ने न्यायाधीश:

मा.मु.न्या. श्री पुरुषोत्तम पराजुली

            मा.न्या.श्री मोहनबहादुर कार्की

 

फैसला

            न्या.सुशीला कार्कीः पुनरावेदन अदालत, इलामको मिति २०६७।२।१० को फैसलाउपर वादी एवं प्रतिवादी दुवै पक्षहरूका तर्फबाट न्याय प्रशासन ऐन, २०४८ को दफा ९ को उपदफा (१) को खण्ड (ख) र (ग) बमोजिम यस अदालतमा पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः

            जिल्ला झापा, महेशपुर गा.वि.स. वडा नं.१ स्थित पूर्वमा देउराली साहिँला लिम्बूको बाँसघारी, पश्चिममा करबीर लिम्बूको बाँसघारी, उत्तरदक्षिणमा ज्ञानेचोकदेखि महेशपुर, फागो चोक जाने कच्ची बाटो यति चार किल्लाभित्र रहेको सिमसारे होलीको काठे पुलभन्दा २५ फिट उत्तर पश्चिमपट्टि कच्ची सडकको बायाँतर्फको भागमा रहेको डीलमा आलो रगत जमेको देखिएको र बाटोभन्दा मुनि ५ फिट मडारिएको र रगत यत्रतत्रसमेत लागेको र महेशपुर१ बस्ने वर्ष १९ को शैलेस लिम्बूलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको भन्नेसमेत व्यहोराको घटनास्थल प्रकृति मुचुल्का ।

            जिल्ला झापा, भद्रपुर नगरपालिका वडा नं. १५ स्थित मेची अञ्चल अस्पताल, भद्रपुरको कम्पाउण्डभित्र रहेको यात्रु प्रतिक्षालय भवनमा पूर्व टाउको, पश्चिम गोडा गरी स्टेचरमाथि उत्तानो अवस्थामा सेतो कपडाले छोपी राखेको मृत लासको छोपेको कपडाहरू हटाई हेर्दा दुवै गोडा तथा हात समानान्तर भई तन्किएको अवस्थामा रहेको । मृतकको गर्धनमा १ फिट लम्बाई, ६ इञ्च गहिराई भएको ठूलो चोट तथा बायाँ हातको कुममा ६ इञ्च लम्बाई, ४ इञ्च गहिराई चोट भएको देखिएको, मृतकले लगाएको कपडाहरूमा रगत लागेको देखिएको, मृतकको मलद्वारबाट दिसा निस्किएको देखिएको भन्नेसमेत व्यहोराको वर्ष १९ को मृतक शैलेस लिम्बूको लास जाँच प्रकृति मुचुल्का ।

            म जाहेरवालाको साहिँलो छोरा वर्ष १९ को शैलेस लिम्बू मिति २०६४।१०।१३ गते पृथ्वीनगर गा.वि.स. वडा नं. ४ स्थित ज्ञानेचोकमा लाग्ने हटिया बजारमा गएकोमा घर फर्की नआएकोले सोही दिन निज छोरालाई खोजतलास गर्दा राती ११.०० बजेको समयमा छोरालाई खुकुरी प्रहार गरी घाइते अवस्थामा लडाई रहेको अवस्थामा महेशपुर सिमसारे काठको पुल छेउमा भेटिएकोले तत्कालै  उपचारको लागि मेची अञ्चल अस्पताल, भद्रपुरमा ल्याउँदाल्याउँदै बाटैमा मृत्यु भएको हुँदा मेरो साहिँलो छोरालाई कोकसले खुकुरी प्रहार गरी काटी मारेको हो भनी गाउँ घरमा खोजतलास गर्दै जाँदा जिल्ला झापा, महेशपुर१ बस्ने बुद्धिराज लिम्बू, ऐ.ऐ.३ बस्ने रञ्जित राई, ऐ.ऐ.पृथ्वीनगर४ बस्ने सुनिलकुमार वसेल (सार्की) समेत तीन जनाले खुकुरी प्रहार गरी कर्तव्य गरी मारी फरार भएको भनी बुझिन आएको हुँदा निजहरूलाई पक्राउ गरी ज्यानसम्बन्धी महलअनुसार कारवाही गरिपाऊँ भन्नेसमेत व्यहोराको झापा, महेशपुर१ बस्ने दिलबहादुर लिम्बूको जाहेरी  दरखास्त ।

            म मिति २०६४।१०।१३ गतेका दिन दिउँसो १६.०० बजेको समयमा आफ्नो फुपू फुपाको घरमा गएको थिएँ । सो समयमा फुपूको छिमेकी बुद्धिराज लिम्बूसँग भेट भई हामी दुवैजना ज्ञानेचोकमा बजार लाग्ने भएकोले ज्ञानेचोकमा गएका थियौँ । ज्ञानेचोकमा पुग्दा सुनिलकुमार वसेलसँग भेट भयो । सो समयमा महेशपुरमा बस्ने शैलेश लिम्बू मातेर बजारमा जो सुकैलाई गालीगलौज गरी रहेको थियो । प्रतिवादी सुनिलकुमार वसेलको चोकमा पसल भएको र साँझको समय पनि भएकोले सुनिलकुमारले आफ्नो पसल बन्द गरी आआफ्नो घरतर्फ लाग्यौं । म साँझको समयमा प्रतिवादी बुद्धिराज लिम्बूको घरमा गएको थिएँ । सो स्थानमा तीनकठ्ठेका साथीहरू शुभ विवाहको लागि डेक लिन आएका थिए । सो समयमा प्रतिवादीहरू सुनिलकुमार वसेल पनि सो घरमा आएका थिए । त्यसपछि मसमेतले साइकलमा डेक फिट गरी पृथ्वीनगर५ स्थित तीनकठ्ठे भन्ने स्थानमा जानु भनी पठायौँ । निजहरू सुनिलकुमार वसेल, बुद्धिराज लिम्बू र मसमेत सिमसारे काठेपुलतर्फ लाग्यौं । सुनिल र बुद्धिराज बेग्लै, शैलेस लिम्बू यही बाटो भएर आउँछ भनी कुराकानी गरी रहेका थिए । मसमेत तीनजना काठेपुलमुनि लुकेर बस्यौं, केही समयपश्चात् शैलेस लिम्बू नसाको सुरमा कराउँदै आयो । निज पुलपारी कट्ने वित्तिकै सुनिलले मलाई खुकुरी बोकी राख्नु भनी खुकुरी दियो, प्रतिवादी सुनिलकुमार र बुद्धिराज पुलमुनिबाट बाहिर निस्के । म पनि खुकुरी लिएर केही छिनपछि पुलमुनिबाट बाहिर निस्केँ । खुकुरी पुनः सुनिलकुमारले मागेर लग्यो । सिमसारे पुलपारी नसाको सुरमा शैलेस लिम्बूले अश्लील शब्दहरू प्रयोग गरी रहेको अवस्थामा सुनिलले निज शैलेसलाई खुकुरी प्रहार गर्‍यो । खुकुरी प्रहार गर्दा शैलेस लिम्बू नढलेपछि पुनः अर्को पटक गर्धनमा प्रहार गर्दा शैलेस लिम्बू ढलेपछि सुनिलकुमारले खुकुरी बोक्यो । बुद्धिराज र म भाग्यौं । म फुपाको घरतर्फ लागें । एकछिनपछि भेट भएकोले हामी तीनजना नै साइकल चढी तीनकठ्ठेमा विवाह भएकोले त्यसतर्फ लाग्यौं । सुनिलकुमार वसेलले आज शैलेसलाई बनाउनु पर्छ भनी बुद्धिराजसँग कुरा गरेको सुनेको थिएँ । उक्त घटना घटाउने कार्यमा मेरो पूर्ण सहमत छ । घटना मिति २०६४।१०।१३ गते राति १९.३० बजेको समयमा भएको थियो भन्नेसमेत व्यहोराको प्रतिवादी रञ्जितकुमार राईले अधिकार प्राप्त अधिकारीसमक्ष गरेको बयान ।

            म मिति २०६४।१०।१३ गतेका दिन आफ्नो हिमालय इलेक्ट्रिकल्स दोकानमा थिएँ । साँझका समयमा साथीहरू साउण्डबक्स लिन आएकोले मैले मेरो पसल बन्द गरी साउण्डबक्स लिनको लागि प्रतिवादी अंगे भन्ने बुद्धिराज लिम्बूको घरतर्फ जाँदैै गर्दा ऐ.पृथ्वीनगर ४ स्थित मामा दोकानमा निस्केर विवाहको लागि क्यामरा माग्नु पर्ने भएकोले सो दोकानमा गएको र केही समयपश्चात् उक्त स्थानमा महेशपुर१ बस्ने वर्ष १९ को शैलेस लिम्बू आई आसपासमा रहेको मानिस तथा मसमेतलाई अश्लील शब्दहरू प्रयोग गरेको र उक्त दिन हाट बजार लागेको कारण निजले मादक पदार्थ सेवन गरेका थिए । निजको सँधैको आचरण व्यवहारसमेत खराब भएकोले मैले बेवास्ता गरी मसमेत बुद्धिराज लिम्बू, रञ्जित राईसमेत बुद्धिराजको घरमा साउण्डबक्स लिन पुगेका थियौं । मसमेतले साउण्डबक्स साइकलमा फिट ग¥यौँ र तीनवटा साइकल सोही स्थानमा छाडी महेशपुर१ बस्ने गणेश लिम्बूको घरमा गयौं । निजको घरमा जाँदा नभेटेपछि पुनः अर्को बाटो भएर फकिर्ने क्रममा महेशपुर१ स्थित रहेको सिमसारे पुल पारी २५ फिट उत्तरपश्चिमपट्टिको बाँया भागमा रहेको डीलमा मादक पदार्थ सेवन गरी नसाको सुरमा अश्लील शब्दहरू प्रयोग गरी एक्लै कराई बसी रहेको शैलेस लिम्बू भएको स्थानमा मसमेत तीनजना पुग्यौं । निजले बसेको स्थानबाट उठी मसमेतलाई आमा चकारी गालीगलौज गर्न थालेपछि सहनै नसक्ने अवस्था भएपछि मैले बोकेको खुकुरीले टाउकोमा ताक्दा निजले शरीर हल्लाउँदा निजको बाँया हातको कुममा प्रहार हुन पुग्यो । त्यसपछि पनि निज नढलेकोले पुनः अर्को पटक गर्धनमा काटेपछि निज शैलेस लिम्बू डीलमा ढलेपछि मैले खुकुरी हातमा बोकी हामी तीनजना भाग्यौं । केही पर पुगेपछि मैले बाँसघारीमा फालेर साइकल भएको स्थानमा पुगी तीनैजना साइकल चढी तीनकठ्ठे विवाह घर पुग्यौं । विवाह घरमा पुगेपछि बुद्धिराज लिम्बूले खुकुरी कहाँ फाल्यौँ भनी सोधेकोले मैले घटनास्थल नजिकमा रहेको बाँसघारीमा फालेँ भनें । निजले उक्त खुकुरी के कहाँ राखे मलाई थाहा छैन । निज शैलेस लिम्बू उधारो खाने, पैसा माग्दा नदिने, धम्काउने, भाँडाकुँडा लात्ताले हानी कुच्याई दिने, माओवादीको धाक दिई पैसा मागी रहने, गाउँघरमा दिदी बहिनीहरूलाई देख्नासाथ जिस्काउने, समाउने गाउँ घरको शुभअशुभ कार्यमा मादकपदार्थ सेवन गरी अवरोध पुर्‍याई गाउँ घरलाई नै आतङ्कित तुल्याउने व्यक्ति भएकोले निजलाई मसमेतले सफाया गरेको हो भनी प्रतिवादी सुनिलकुमार वसेलले अधिकार प्राप्त अधिकारीसमक्ष गरेको बयान ।

            मिति २०६४।१०।१३ गतेका दिन म आफ्नै घरमा रहेको अवस्था दिउँसो १६.०० बजेको समयमा प्रतिवादीमध्येको रञ्जित राई घरमा आएको र उक्त दिन ज्ञानेचोकमा बजार लाग्ने भएकोले हामी दुवैजना चोकमा पुग्दा अर्का प्रतिवादी सुनिलकुमार वसेलसँग भेट भयो । सो अवस्थामा जिल्ला झापा, महेशपुर गा.वि.स. वडा नं.१ बस्ने शैलेस लिम्बूले मादक पदार्थ सेवन गरी चोक बजारमा आउने व्यापारीहरूलाई गालीगलौज जस्ता अश्लील शब्दहरू प्रयोग गरिरहेको थियो । केही समयपश्चात् सुनिलकुमार वसेलसँग  मसमेत बसिरहेको अवस्थामा निज आई गालीगलौज गर्न थाल्यो । सुनिलकुमार वसेलले पसल बन्द गरी ज्ञानेचोकमा रहेको मामाको पसलमा विवाहको लागि क्यामरा माग्न गएको अवस्थामा शैलेस लिम्बू मादकपदार्थ सेवन गरेको नसामा सोही स्थानमा समेत आई स्थानीय व्यापारीहरू समेतलाई आमाचकारी अश्लील शव्द प्रयोग गरी गालीगलौज गर्न लागेपछि हामी आआफ्नो घरतर्फ लाग्यौं । म घरमा पुग्नासाथ तीनकठ्ठेका साथीहरू विवाहको लागि डेक लिन आएकोले साइकलमा साउण्डबक्स र डेकसमेत फिट गरिरहेको अवस्थामा सुनिलकुमार र रञ्जित मेरो घरमा आई पुगे । सो समयमा १९.०० बजिसकेको थियो । मैले तीन कठ्ठेका साथीहरूलाई सामान दिएर पठाएपछि मसमेतले मेरो घरमा बसी निज शैलेस लिम्बूलाई सफाया गर्ने योजना बनायौं र मेरो घरमा भएको खुकुरी मैले सुनिलकुमारलाई दिनासाथ हामी सिमसारे काठको पुलतर्फ लाग्यौँ र पुलमुनि लुकेर बस्यौं । शैलेसले पुलपारी कट्नासाथ डीलमा उभिएर गालीगलौज गर्न थालेकोले हामीले गई सम्झाउँदा पनि नमानेपछि मेरो साथी सुनिलकुमार वसेलले आफ्नो साथमा बोकेको खुकुरीले निज शैलेस लिम्बूको टाउकोमा प्रहार गर्दा कुममा लागेकोले नढलेपछि पुनः अर्को पटक गर्धनमा प्रहार गर्दा निज ढल्यो र ऐया भनी करायो । हामी तीनैजना सो स्थानबाट गई मेरो घरअगाडि राखेको तीन वटै साइकल चढी विवाह घर तीनकठ्ठेतर्फ लाग्यं । निज शैलेस लिम्बूले घरवारीमा लगाएको बोट विरुवा काटी दिने, घरमा आएका पाहुनाहरूलाई दुर्व्यवहार तथा चेलीबेटीहरूलाई हातपात गर्ने, भाडामा चल्ने सवारी साधनहरू रोकी रकम असूल गर्ने, धम्काउने जस्ता कार्यहरू गर्दै आईरहेको हुँदा समाजमा आतङ्कित तुल्याएकोले निज शैलेस लिम्बूलाई मसमेतले हत्या गरेको हो भन्नेसमेत व्यहोराको प्रतिवादी अंगे भन्ने बुद्धिराज लिम्बूले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।

            जिल्ला झापा, महेशपुर गा.वि.स. वडा नं.१ स्थित पूर्वमा रणबहादुर लिम्बूको घर, पश्चिममा बुद्धिराज लिम्बूको घर, उत्तरमा बुद्धिराज लिम्बूको फूसको छाना भएको घर, दक्षिणमा राधा माझीको घर यति चारकिल्लाभित्र रणबहादुर लिम्बूको टिनको छाना, पराल र बाँसको टाटीले बनाएको दक्षिण ढोका भएको ट्वाइलेटको उत्तरतर्फ रहेको दिसा जम्ने खाल्डोमा वारदातमा प्रयोग गरेको २२ इञ्च लम्बाई भएको खुकुरी थान  एक फालेको अवस्थामा निज प्रतिवादी बुद्धिराज लिम्बूले देखाई खाल्डोबाट निकाल्दा पूरै फोहोर रहेकोले उक्त खुकुरीको फोहोर पुछी प्रमाणका लागि हाम्रो सामुन्ने प्रहरी टोलीले लिई गएको हो भन्नेसमेत व्यहोराको वारदातमा प्रयोग गरेको खुकुरीको बरामदी मुचुल्का ।

            मिति २०६४।१०।१३ गतेका दिन दिउँसो म आफ्नो घरमा थिएँ, करीब १७.०० बजेको समयमा ऐ.पृथ्वीनगर४ मा रहेको मामा भन्ने प्रेम गुरुङको पसलमा गई १ गिलास रक्सी मागी खाईरहेको अवस्था मैले पहिलादेखि चिनेको जाहेरवालाको छोरा महेशपुर१ बस्ने वर्ष १९ को शैलेस लिम्बू म भएको स्थानमा आई कि तिमी खाउ कि म खान्छु १ गिलास रक्सी भनेकोले मैले निजलाई १ गिलास रक्सी मगाई खान दिई हामी वसिरहेको अवस्था पृथ्वीनगर४ बस्ने महेश खनाल आई १ गिलास रक्सी मगाई निज शैलेस लिम्बूलाई खान  दियो । शैलेस रक्सी खाँदै सुनिल दाइ खोई भनी महेशलाई सोध्दा निजले कुनै उत्तर दिएन । हामी बाहिर निस्कनासाथ मामाले पसल बन्द गर्नुभयो । शैलेस लिम्बू आफ्नो घरतर्फ लाग्यो । हामी दुवैजना निज शैलेसलाई कुट्नुपर्छ भनी निजको पछिपछि लाग्यौं । म घर नजिकमा पुगेपछि खाली हातले पिट्नुभन्दा हतियार चाहिन्छ भनी घरमा आई फलामको रड लिई बाटोमा आउँदा महेश खनालसँग अर्को साथी कुरा गरी रहेको थियो । मैले रड बोकेकोले निजले सोध्दा मैले अर्काको पुर्‍याउन लागेको भनी भनेकोले निज आफ्नो बाटो  लागे । म तथा महेश मेरो घरमा गयं । हामी दुवैजना बसिरहेको अवस्था पृथ्वीनगर४ बस्ने कर्म शेर्पा, दोर्जेसमेत चारैजना भई पहिलाको बाटो हुँदै ज्ञानेचोकतर्फ गईरहेको अवस्था तीनजना मानिसहरू पूर्वतर्फ कुद्दै गरेको देखी को हो को हो भनी भन्दा महेश खनालले चुप भनी भन्यो । हामी चारैजना निजहरू भागेको ठाउँतर्फ नै गयौं । जाँदाजाँदै बुद्धिराज लिम्बूको घरमा पुग्दा मिति २०६४।१०।१३ गते बेलुकी करीब २०.०० बजेको थियो । निजको घरमा गई निज बुद्धिराज लिम्बू र रञ्जित छ कि भनी बोलाएँ । सो घरबाट कुनै प्रतिउत्तर नआएपछि हामी चारैजना ज्ञानेचोकतर्फ लाग्यौं । केही पर पुगेपछि तीनजना आफ्नो घरतर्फ लागेकोले म पनि आफ्नो घरमा आई सुत्न लागेको अवस्था मेरो घरको बाटो हुँदै २ जना मानिसहरू साइकल चढी कुकुरबिरालो जस्तो गरी मान्छे काटेको छ भनी हल्ला गर्दै ज्ञानेचोकतर्फ गएको र केही समयपश्चात् एम्बुलेन्स आएकोले सो सम्बन्धमा बुझ्दा महेशपुर१ बस्ने शैलेस लिम्बू घाइते भएको भन्ने कुरा थाहा पाएँ । निजलाई उपचारको लागि लिएर गएका थिए । उपचार हुन नपाउँदै बाटैमा मृत्यु भएछ । मिति २०६४।१०।१३ गते बेलुकी कुद्दै गरेकोमध्ये रञ्जित राईलाई स्पष्ट चिनेको र हाल पक्राउमा परेको रञ्जित राई, बुद्धिराज लिम्बू र सुनिलकुमार वसेलसमेतले हामी मिली कर्तव्य गरी मारेको भनी साबिती बयान कागजसमेत अधिकारप्राप्त अधिकारीसमक्ष लेखाएको देखिँदा निजहरूले नै शैलेस लिम्बूलाई कर्तव्य गरी मारेका हुन् भन्नेसमेत व्यहोरा उल्लेख गरी बुझिएका गणेशबहादुर लिम्बूले खुलाई लेखाई दिएको कागज ।

            The cause of death is spinal cord dislocation भन्ने मेची अञ्चल अस्पताल, भद्रपुरबाट भएको मृतक शैलेस लिम्बूको शव परीक्षण प्रतिवेदन ।

            मिति २०६४।१०।१३ गते राति शैलेस लिम्बूलाई काटेको खुकुरी प्रहरीले देखाउँदा हेरें चिनें । यही खुकुरी हो, उक्त खुकुरी बुद्धिराजको घरबाट ल्याई घटनापछि घटनास्थल नजिकैको बाँसघारीमा फालेको थिएँ । पछि बुद्धिराज लिम्बूले रणबहादुर लिम्बूको चर्पीका खाल्डोमा लगी गाडेका रहेछन् । हाल बरामदसमेत भैसकेको छ भन्ने प्रतिवादी सुनिलकुमार वसेलको सनाखत । जाहेरीमा उल्लिखित वारदात मिति समयमा मृतकलाई काटेको खुकुरी मैले देखें चिनें, सो खुकुरी मेरो हो, मैले घरबाट लिएर गएको हो । घटनापछि सुनिल वसेलले बाँसघारीमा फालेको थियो, मैले मानिसले देख्छन् भनेर चर्पीको खाल्डोमा गाडेको हो भन्ने प्रतिवादी बुद्धिराज लिम्बूको सनाखत । उक्त खुकुरी प्रतिवादी बुद्धिराज लिम्बूको हो, निजले घरबाट ल्याएको उक्त खुकुरी घटनापछि सुनिलकुमारले बाँसघारीमा फालेकोमा बाँसघारीबाट लगेर बुद्धिराजले चर्पीको खाल्डोमा लुकाएका रहेछन्, हाल बरामद भैसकेको छ भन्ने प्रतिवादी रञ्जित राईको सनाखत कागज ।

            मिति २०६४।१०।१३  गते बेलुकी अं.५ बजेको समयमा म हटिया भर्नको लागि ज्ञानेचोक गएको   थिएँ । हटिया पुगेपछि गणेशबहादुर लिम्बूसँग भेट भएकोले हामी दुवैजना प्रेमबहादुर गुरुङको पसलमा बसी रहेको अवस्थामा आधा घण्टापछि शैलेस लिम्बू दोकानमा आईपुगी रक्सी मागेर खाए र हामी दुवैजनाले पनि रक्सी मागेका थियौं । मेरो भागको रक्सी टेवलबाट आफैं लिएर शैलेश लिम्बूले खाई दियो । निज मातेको  थियो । मैले केही भनिन । प्रतिवादी सुनिलकुमार, बुद्धिराज लिम्बू र रञ्जित राईसमेत हटियामा आएका थिए । विवाहमा तीनकठ्ठे जाने भनी केही बेरपछि हिँडेका थिए । शैलेस लिम्बू बजारमा होहल्ला गालीगलौज गरी रहेको थियो । म र गणेश लिम्बू निजकै घरतर्फ गयौं । त्यही बसेर अं.६.३० बजे म आफ्नै घरमा गई खाना खाएर सुतेपछि महेशपुर१ स्थित सिमसारे काठे पुलमा मानिस काटेर लडिरहेको फेला परेपछि उपचारार्थ अस्पताल पुर्‍याउँदा मृत्यु भएको भन्ने सुनी बुझ्दा मृतक शैलेस लिम्बू रहेछन् । प्रतिवादी सुनिलकुमार वसेल समेतले निजलाई काटी मारेको कुरा पछि मलाई प्रतिवादीहरूले भनेका हुन् । निजहरूले जघन्य अपराध गरेको हुँदा सजाय होस् भन्नेसमेत व्यहोराको महेश भन्ने योगराज खनालको कागज ।

            जाहेरीमा उल्लिखित वारदात मितिको दिउँसोको अं.३ बजे म र दोर्जे शेर्पा हटिया ज्ञानेचोक गएका थियं । हटिया घुमेर हामी दुवै जना गणेश लिम्बूको घरमा गई कुराकानी गरी बेलुकी साँढे ६ बजेतिर आफ्नो घरमा गई खाना खाएर सुतेँ । भोलिपल्ट बिहान शैलेस लिम्बूलाई काटेर मार्‍यो भन्ने सुनेँ र प्रहरीले प्रतिवादी सुनिलकुमार वसेलसमेतलाई पक्राउ गरेर ल्याएपछि मैले निजहरूलाई सोध्दा मृतककले हाम्रो चेलीबटीलाई हातपात गर्नेतुलफूल काटी दिने, धाकधम्कीसमेत दिने गरेकोले हामीले मारेको हौँ भनेका हुन् भन्नेसमेत व्यहोराको कर्मा शेर्पाको कागज ।

            जाहेरीमा उल्लिखित वारदात मिति समयमा म ज्ञानेचोक हटियाबाट घर आई खाना खाई पसलमा बसेको थिएँ र सुत्न लागेको अवस्थामा मेडिकलमा हल्लाखल्ला गरेको थाहा पाई बुझ्दा शैलेस लिम्बूलाई काटेको रहेछ । के कसले काटेको भनी बुझ्दै जाँदा हाल पक्राउमा परेको प्रतिवादीहरूले मारेको भनी खुल्न आएको हो, मृतकले गाउँ घरमा सताएको कारण प्रतिवादीहरूले मारेको हो भन्ने दोर्जे शेर्पाको कागज ।

            जिल्ला झापा, महेशपुर१ स्थित सिमसारे पुल छेउमा मान्छे काटेको छ भन्ने हल्ला सुनी गई हेर्दा शैलेस लिम्बू घाँटी कुममा काटिएर रगतपिच्छे अवस्थामा लडी रहेको देखें र निजलाई तत्कालै  उपचारको लागि अस्पताल लाँदालाँदै बाटैमा मृत्यु भएको हो । घटना सम्बन्धमा बुझ्दै जाँदा प्रतिवादी सुनिलकुमार वसेल, बुद्धिराज लिम्बू र रञ्जित राईले योजना बनाई कर्तव्य गरी मारेको भन्ने खुल्न आएको हुँदा निजहरूलाई हदैसम्मको सजाय होस् भन्नेसमेत व्यहोराको इन्द्रकुमार लिम्बूसमेतको एकैमिलानको वस्तुस्थिति मुचुल्का ।

            मिसिल संलग्न कागजात प्रमाणबाट प्रतिवादी सुनिलकुमार वसेल (सार्की), रञ्जित राई र बुद्धिराज लिम्बूको संयुक्त सल्लाह सहमतिमा जाहेरवालाको छोरा शैलेस लिम्बूलाई जोखिमी हतियार खुकुरीले हानी काटी मारेको पुष्टि भएकोले ज्यानसम्बन्धी महलको १ र १३ नं. को कसूरमा  प्रतिवादी सुनिलकुमार वसेल (सार्की) लाई ऐ.१३(१) नं. बमोजिम र प्रतिवादीहरू रञ्जित राई र बुद्धिराज लिम्बूलाई ऐ.१३(४) नं. बमोजिम सजाय गरिपाऊँ भन्नेसमेत अभियोगपत्र ।

            जाहेरवाला र मृतकलाई चिन्दिनँ । घटनाका दिन शैलेससँग मेरो भेट भयो भएन भन्न सक्तिन । मैले कर्तव्य गरी मारेको छैन । अरू प्रतिवादीहरूसँग मेरो भेट भई पृथ्वीनगर५ बस्ने शारदा राईको विहेमा गयं । त्यहाँ रातभर र भोलिपल्ट २ बजेसम्म म विहेमा छु । प्रहरीले बयान पढी नसुनाई सहिछाप गराएकोले सहिछाप मेरै हो  । को कसले कर्तव्य गरी मारे म जान्दिन, बरामद खुकुरी मेरो होइन भन्नेसमेत प्रतिवादी रञ्जित राईले अदालतमा गरेको बयान ।

            मैले शैलेस लिम्बूलाई खुकुरी प्रहार गरी कर्तव्य गरी मारेको होइन, को कस्ले काटी मारे मलाई थाहा छैन । बरामद भएको खुकुरी मेरो होइन, कसको हो थाहा छैन । २०६४।१०।१३ गते म साउण्डबक्स लिएर शारदा राईको विहेघरमा गएको थिएँ । त्यहाँ शैलेससँग मेरो भेट भएन । शैलेससँग सामान्य चिनजान मात्र   हो । प्रहरीको बयान मेरो इच्छाविरुद्धको हो । प्रहरीले खुकुरी सनाखतको कागज जवर्जस्ती गराएको हो भन्नेसमेत प्रतिवादी सुनिलकुमार वसेल (सार्की) ले अदालतमा गरेको बयान ।

            मिति २०६४।१०।१३ गते रञ्जित राई, सुनिलकुमार वसेल र मसमेत तीनैजना साथीको दिदी शारदाको विवाहमा काम सघाउन गई भोलिपल्ट बिहान ६ बजेतिर घर फर्केका हं । मैले शैलेस लिम्बूलाई राम्रो चिनेको छैन, मार्ने योजना बनाएको होइन र कर्तव्य गरी मारेको होइन । मृतकलाई मार्न खुकुरी दिएको होइन । बरामद खुकुरी मेरो होइन मृतकलाई को कसले मारे थाहा छैन भन्नेसमेत प्रतिवादी बुद्धिराज लिम्बूले अदालतमा गरेको बयान ।

            पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी यी प्रतिवादीहरूलाई अ.बं.११८(२) नं. बमोजिम थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नु भन्ने शुरू अदालतको २०६४।११।१६ को आदेश ।

            मिति २०६४।१०।१३ गते मेरो विवाह हुँदा सघाउन प्रतिवादी सुनिलकुमार सोही दिन साँझ ७.३० बजे आई काम गरी भोलिपल्ट दिनको २.३० बजे मात्र घर फर्केकाले निजले शैलेस लिम्बूलाइ कर्तव्य गरी मारेको होइन भन्नेसमेत प्रतिवादी सुनिलकुमार वसेल (सार्की) का साक्षी शारदा राईको बकपत्र ।

            मिति २०६४।१०।१३ को घटनास्थल मुचुल्का र मिति २०६४।११।१२ को वस्तुस्थिति मुचुल्काको व्यहोरा र सहिछाप मेरै हो । उक्त घटना गणेश लिम्बूले आँखाले देखेको रहेछन् । उनले नै सबै कुरा भनेका हुन् । खुकुरीले काटेर मारेका हुन् भन्नेसमेत घटनास्थल मुचुल्का, वस्तुस्थिति मुचुल्काका मानिस विष्णुमाया तुम्वाहाम्फेको बकपत्र ।

            खुकुरीको सनाखत मुचुल्का मेरोसमेत रोहबरमा भएको हो । प्रतिवादीहरूले खुकुरी सनाखत गरेका  हुन् । रोहबरको सहिछाप मेरै हो । खुकुरी बरामद भई सनाखत हुँदा प्रतिवादीहरूलाई देखिन । प्रतिवादीहरूले यही खुकुरीले मारको हो भनी लुकाएको ठाउँबाट देखाई ल्याएको हो भन्नेसमेत सनाखत मुचुल्काका मानिस सञ्जु सुब्बाले गरेको बकपत्र ।

            मृतकलाई काटेको चाहीँ मैले देखिँन, गणेश लिम्बूले देखेर भनेअनुसार खुकुरीले काटेको रहेछ । पछि सुनिलले मैले काटेको भनेकाले थाहा भएको हो । खुकुरी फेला परिसकेको छ, उक्त खुकुरी बुद्धिराज लिम्बूको  हो । केही दिनअगाडि सुपारीको बोट काटिएको निहुँमा बुद्धिराज र उसका बाबुले शैलेस लिम्बूलाई आरोप लगाई वादविवाद हुँदा सुपारी काटे झै मान्छे काटिन्छ भनेकाले त्यही निहुँमा प्रतिवादीहरूले हत्या गरेका हुन् भन्नेसमेत घटनास्थल मुचुल्काका मानिस सुरेन्द्र लिम्बूले गरेको बकपत्र ।

            मिति २०६४।११।१२ को वस्तुस्थिति मुचुल्का र मिति २०६४।११।९ को खुकुरी सनाखत मुचुल्काको व्यहोरा ठीक छ । मुचुल्काको सहिछाप मेरै हो । प्रतिवादीहरूले बरामद खुकुरी सनाखत गरेका हुन् भन्नेसमेत व्यहोराको सनाखत मुचुल्काका मानिस प्रेमप्रसाद लिम्बूको बकपत्र ।

            मिति २०६४।१०।१३ को घटना मैले देखेको होइन । वारदातका दिन सुनिलसँग भेट भएको छैन । प्रतिवादी सुनिलसमेतले शैलेसलाई मारेको भए भाग्नु पर्नेमा नभागेमा यी प्रतिवादीहरू निर्दोष हुनुपर्छ । शारदा राईको विहेमा उनीहरूले सघाएको र भिडियो पनि खिचेका थिए रे । प्रतिवादीहरू निर्दोष हुनुपर्छ । प्रतिवादीहरूलाई प्रहरीले शंकाले मात्र पक्रेको हो भन्नेसमेत व्यहोराको प्रतिवादी सुनिलको साक्षी सन्तबीर लिम्बूले गरेको बकपत्र ।

            गणेश लिम्बूले प्रतिवादीले काट्दै गरेको देखेको रहेछ । यी प्रतिवादीहरूले कर्तव्य गरी मारेछन् । प्रहरी प्रशासनकै अगाडि हामीले यति पटक खुकुरी हानी मारेका हौं । खुकुरी ट्वाइलेटमा गाडेको छ भनी स्वीकारे अनुरूप खुकुरी भेटिएकोले यिनीहरू अपराधी हुन् भन्नेसमेतको जाहेरवाला दिलबहादुर लिम्बूको बकपत्र ।

            प्रतिवादीहरूले शैलेसलाई मारेको कुरा मेरो सामुन्ने बरामद भएको खुकुरी प्रतिवादीहरूले सनाखत गर्नुबाट देखिने र मेरो भाइ मृतकले मारिनु पर्ने कुनै कार्य नगरी प्रतिवादीहरूको ज्यादती भएको भन्नेसमेत व्यहोराको बरामदी मुचुल्काका मानिस रोहित सुव्बाको बकपत्र ।

            मृतक शैलेसलाई सुनिल वसेल, रञ्जित राई, बुद्धिराज लिम्बूले कर्तव्य गरी मारेका हुन्, मैले रड बोकेको देखी बाटोमा डल्लुका भन्ने मान्छेले कहाँ हिँडेका भन्दा त्यतिकै भन्ने जवाफ दिई म घर फर्केको हो । घर बसी रहेको बेला तीनजना घटनास्थलबाट कुद्दै गरेको देखियो । त्यसपछि दुईजना मानिसले लास भेटेछन् । एम्बुलेन्समा हालेर अस्पतालमा लाँदै गर्दा बाटोमा मृत्यु भयो भन्नेसमेत बुझिएका मानिस गणेशबहादुर लिम्बूको बकपत्र ।

            मिसिल संलग्न किटानी जाहेरी दरखास्त एवं जाहेरी दरखास्तलाई समर्थन गरको बकपत्र, गणेश लिम्बूको कागज एवं बकपत्रसमेतका मालाकाररूपमा रहेका परिस्थितिजन्य प्रमाण साथै हत्यामा प्रयोग गरेको खुकुरी बरामद एवं सनाखतसमेतबाट प्रतिवादीमध्येका सुनिलकुमार वसेलले अभियोग मागदावीबमोजिम गरेको प्रहारबाट मृतकको मृत्यु भएको देखिँदा निज ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम मुख्य ज्यानमारा ठहरी निजलाई सर्वश्वसहित जन्मकैदको सजाय हुने ठहर्छ । प्रतिवादीहरू रञ्जित राई र बुद्धिराज लिम्बूको हकमा प्रतिवादी बुद्धिराजले आफनो घरमा रहेको खुकुरी प्रहारको लागि दिई आफू वारदातस्थलमा उपस्थित रहेको र प्रतिवादी रञ्जित राईले उक्त खुकुरी बोकी वारदातस्थलमा गई वारदातको क्रममा प्रतिवादी सुनिलकुमारलाई दिएको तर यी दुवैले मृतकलाई मार्न संयोग पारी दिन निमित्त मृतकको जीउमा नै हात हाली पक्री समातेको भन्ने देखिन नआई ज्यान मार्न निमित्त वारदात गरी रहेको ठाउँमा हतियार साथमा लिई मौजूद रहेको देखिँदा निजहरूको हकमा  अभियोग माग दावीबमोजिम ज्यानसम्बन्धी महलको १३(४) को दावी पुग्न नसकी सोही महलको १७(१) बमोजिमको कसूर गरेको देखिँदा सोही १७(१) बमोजिम निजहरूलाई जनही कैद वर्ष दश हुने ठहर्छ भन्ने शुरू झापा जिल्ला अदालतबाट भएको मिति २०६६।३।२१ को फैसला ।

            प्रस्तुत वारदात २०६४।१०।१३ गते भए पनि २०६४।१०।१८  मा मात्र जाहेरी दिएको, सो जाहेरी गणेशबहादुर लिम्बूले भनेको आधारमा मात्र गरिएको, अनुसन्धानको क्रममा शारीरिक तथा मानसिक यातना दिई प्रहरीले आफैँले लेखेको व्यहोरामा सही गराई बयान बनाएको, यदि मैले मृतकको हत्या गरेको भए भाग्नु पर्नेमा नभागी घरमा नै बसेको, खुकुरी बरामद गर्दा मलाई घटनास्थलमा नलगिएको, घटनामा प्रयोग भएको भनिएको खुकुरी बरामद गर्दा कानूनी प्रक्रिया  अवलम्बन नगरी भएकोमा सोही कागजलाई प्रमाणमा लिइएको मौकामा कागज गर्ने महेश खनाल, कामी शेर्पा, दावा शेर्पाले आफ्नो कथनलाई अदालतको बकपत्रमा पुष्टि गर्न नसकेको, प्रमाण ऐन,२०३१को दफा २५ को भार वादीले पुष्टि गर्न नसकेको, घटनाको समयमा आफू शारदा राईको विवाहमा उपस्थित भई काम सघाएको र त्यहाँ भएको फोटोसमेत पुनरावेदनपत्र साथ पेश गरेको छु । शुरू अदालतले मेरो प्रमाणको मूल्याङ्कन नगरी सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तसमेत विपरीत मलाई सजाय गर्ने गरी गरेको फैसला त्रुटिपूर्ण हुँदा सो बदर गरी वादीको झूठा अभियोग दावीबाट सफाइ पाऊँ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, इलाममा परेको प्रतिवादी रञ्जित राईको पुनरावेदन पत्र ।

            प्रस्तुत वारदात २०६४।१०।१३ गते भए पनि २०६४।१०।१८ मा मात्र जाहेरी दिएको, सो जाहेरी गणेशबहादुर लिम्बूले भनेको आधारमा मात्र गरिएको, अनुसन्धानको क्रममा शारीरिक तथा मानसिक यातना दिई प्रहरीले आफँैले लेखेका व्यहोरामा सही गराई बयान बनाएको, यदि मैले मृतकको हत्या गरेको भए भाग्नु पर्नेमा नभागी घरमा नै बसेको, खुकुरी बरामद गर्दा मलाई घटनास्थलमा नलगिएको, घटनामा प्रयोग भएको भनिएको खुकुरी बरामद गर्दा कानूनी प्रक्रिया अवलम्बन नगरी भएकोमा सोही कागजलाई प्रमाणमा लिइएको, मौकामा कागज गर्ने महेश खनाल, कामी शेर्पा, दावा शेर्पाले आफ्नो कथनलाई अदालतको बकपत्रमा पुष्टि गर्न नसकेको प्रमाण ऐन, २०३१ को दफा २५ को भार वादीले पुष्टि गर्न नसकेको, घटनाका प्रत्यक्षदर्शी भनिएका गणेशबहादुर लिम्बूको कथन पनि विवादास्पद रहेको, घटनाको समयमा आफू शारदा राईको विवाहमा उपस्थित भई काम सघाएको र त्यहाँ भएको फोटोसमेत पुनरावेदनपत्र साथ पेश गरेको छु । शुरू अदालतले मेरो प्रमाणको मूल्याङ्कन नगरी सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तसमेत विपरीत मलाई सजाय गर्ने गरी गरेको फैसला त्रुटिपूर्ण हुँदा सो बदर गरी वादीको झूठा अभियोग दावीबाट सफाइ पाऊँ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, इलाममा परेको प्रतिवादी सुनिलकुमार वसेलको पुनरावेदन पत्र ।

            प्रस्तुत वारदात २०६४।१०।१३ गते भए पनि २०६४।१०।१८ मा मात्र जाहेरी दिएको, सो जाहेरी गणेशबहादुर लिम्बूले भनेको आधारमा मात्र गरिएको, अनुसन्धानको क्रममा शारीरिक तथा मानसिक यातना दिई प्रहरीले आफैँले लेखेको व्यहोरामा सही गराई बयान बनाएको, यदि मैले मृतकको हत्या गरेको भए भाग्नु पर्नेमा नभागी घरमा नै बसेको, खुकुरी बरामद गर्दा कानूनी प्रक्रिया अवलम्बन नगरी भएकोमा सोही कागजलाई प्रमाणमा लिइएको, उक्त खुकुरी मेरो नभएको र प्रतिवादी सुनिलकुमार वसेललाई दिएको पनि होइन, मौकामा कागज गर्न महेश खनाल, कामी शेर्पा, दावा शेर्पाले आफ्नो कथनलाई अदालतको बकपत्रमा पुष्टि गर्न नसकेको, प्रमाण ऐन, २०३१ को दफा २५ को भार वादीले पुष्टि गर्न नसकेको, घटनाको समयमा आफू शारदा राईको विवाहमा उपस्थित भई काम सघाएको र त्यहाँ भएको फोटोसमेत पुनरावेदन पत्रसाथ पेश गरेको छु । शुरू अदालतले मेरो प्रमाणको मूल्याङकन नगरी सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तसमेत विपरीत मलाई सजाय गर्ने गरी गरेको फैसला त्रुटिपूर्ण हुँदा सो बदर गरी वादीको झूठा अभियोग दावीबाट सफाइ पाऊँ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, इलाममा परेको प्रतिवादी बुद्धिराज लिम्बूको पुनरावेदनपत्र ।

            कर्मा शेर्पा, दोर्जे शेर्पा र वस्तुस्थिति मुचुल्कासमेतका कागजबाट धारिलो हतियार लिई यी तीनैजना प्रतिवादीहरूले योजनाबद्ध ढङ्गले मृतकको हत्या गरेको भन्ने पुष्टि भई रहेको देखिँदा प्रतिवादीहरूलाई  अभियोग माग दावीबमोजिम सजाय नगर्ने गरेको शुरूको फैसला त्रुटिपूर्ण भएको, साथै प्रतिवादी सुनिलकुमार वसेललाई खुकुरी दिई संयोग पारी दिएको भन्ने कुरा देखिईरहेको स्थितिमा प्रतिवादीहरू रञ्जित राई र बुद्धिराज लिम्बूलाई अभियोग दावीबमोजिम सजाय गर्नुपर्नेमा सो नगरी मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १७(१) बमोजिम सजाय गर्ने गरेको फैसला नमिलेको हुँदा निजहरूलाई अभियोग दावीबमोजिम सजाय हुन र प्रतिवादी सुनिलकुमारले धारीलो हतियार प्रयोग गरेको देखिँदा निजको सजायको हकमा ज्यानसम्बन्धी महलको १३(१) बमोजिम हुनुपर्ने हुँदा सो हदसम्म गरिपाऊँ भन्ने व्यहोराको पुनरावेदन अदालत, इलाममा परेको वादी नेपाल सरकारको पुनरावेदन पत्र ।

            यसमा पुनरावेदक प्रतिवादी सुनिलकुमार वसेलले प्रहार गरेको खुकुरीको चोटबाटै मृतकको मृत्यु भएको भन्ने जाहेरवालाको जाहेरीसमेतबाट देखिएकोमा प्रतिवादीहरूको मौकाको बयानबाट पनि मृतकलाई खुकुरी प्रहार गर्ने यिनै प्रतिवादी सुनिलकुमार हुन् भन्ने देखिएको र प्रतिवादीहरूको मौकाको बयानबाट मृतकलाई खुकुरी प्रहार गरी ज्यान मार्ने कार्यमा निजबाहेक अरूको संलग्नता नदेखिएपछि अर्थात् अन्य प्रतिवादीहरूले समेत चोट छाडेको भन्ने कतैबाट देखिन नआएपछि निज पुनरावेदक प्रतिवादी सुनिलकुमारको हकमा वादी नेपाल सरकारको पुनरावेदन जिकीरबमोजिम मुलुकी ऐन, ज्यानसम्बन्धी १३(१) नं. आकृष्ट हुने देखिएकोमा शुरूले निज सुनिलकुमार वसेल (सार्की) लाई ऐ.१३ नं.को देहाय (३) बमोजिम सजाय हुने ठहर्‍याई फैसला गरेको देखिन्छ तापनि उक्त ऐनको १३(१) र १३(३) नं. दुवैमा ज्यान मर्ने गरी हतियार छोड्ने अभियुक्तको हकमा एकै प्रकारको सजायको व्यवस्था भएको देखिई शुरूको फैसलामा निज प्रतिवादीको हकमा कुनै तात्विक अन्तर पर्न गएको नदेखिँदा निजको हकमा सो फैसला अन्यथा गरिरहन पर्ने देखिएन । प्रतिवादीहरू अंगे भन्ने बुद्धिराज र रञ्जित राईले मृतकमाथि चोट छाडेको देखिँदैन तापनि निजहरूसमेत  मृतकको ज्यान मार्ने मत सल्लाहमा सामेल भै बुद्धिराजले आफ्नो घरको खुकुरी सुनिलकुमारलाई दिई सुनिलकुमारले मृतकको ज्यान मार्न प्रहार गर्नुअघि सो खुकुरी प्रतिवादी रञ्जित राईलाई बोक्न दिएको भन्नेसमेत देखिँदा निजहरू हतियार साथमा लिई घटनास्थलमा उपस्थित रहेको भन्ने देखिन आएको अवस्थामा निजहरूलाई ज्यानसम्बन्धीको १७(१) बमोजिम सजाय हुने ठहर्‍याई भएको फैसलासमेत अन्यथा देखिएन । घटनाको परिस्थितिजन्य आधार प्रमाणबाट प्रतिवादीहरूलाई कसूरदार ठहर्‍याई भएको शुरू झापा जिल्ला अदालतको मिति २०६६।३।२१ को फैसला परिवर्तन गरिरहनुपर्ने अवस्था नदेखिँदा सो फैसला सदर कायम रहने ठहर्छ, दुवै थरको पुनरावेदन जिकीर पुग्न सक्तैन भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, इलामको मिति २०६७।२।१०।२ को फैसला ।

            प्रहरीमा भएको कागज स्वेच्छाबाट भएको होइन । प्रहरी हिरासतमा रहँदा चरम यातना दिइने हुँदा हिरासतको कुरा उजागर गर्न सकिने अवस्था हुँदैन । घटनाका प्रत्यक्षदर्शी बनिएका गणेशबहादुर लिम्बूले वारदातका बखत सँगसाथै रहेका भनिएका योगराज खनाल, दोर्जे शेर्पा र कर्मा शेर्पाको मौकाको कागजमा हामी प्रतिवादीहरूलाई देखेको र संलग्नता रहेको भनी किटानी भन्न सकेको पाइँदैन । एकैठाउँमा सँगसाथै बसेका व्यक्तिहरूको कागजमा एकरूपता रहेको पाइँदैन । घटना वारदात भएको भनिएको दिन हामी घटनास्थलमा नभई शारदा राईको विवाहको कार्यक्रममा थियौं । सोको फोटोहरूसमेतबाट हामीहरू विवाहमा रहेको प्रमाणित हुन्छ । फोटोहरूलाई प्रमाणमा नलिएको शुरू एवं पुनरावेदन अदालतको फैसला मिलेको छैन । बुद्धिराजको सुपारीको रुख काटेको विवादका कुरा उठाई प्रस्तुत मुद्दामा रिसइबी रहेको भनी मनसाय प्रेरित  छ । हत्याको अभियोग प्रमाणित गर्न खोज्नु कानून एवं तर्कसङ्गत छैन । हत्यामा प्रयोग गरिएको भनेको खुकुरी बरामद प्रक्रिया अ.बं.१७२ नं. को कानूनी व्यवस्थाअनुरूप भएको देखिँदैन । प्रमाणको संकलन विधि कानूनबमोजिम हुनुपर्नेमा अ.बं. १७२ नं. प्रतिकूल हुनेगरी बरामद गरिएको खुकुरी प्रमाणग्राहय हुन नसक्नेमा खुकुरीलाई आधारभूत प्रमाणको रूपमा लिई भएको पुनरावेदन अदालत, इलाम एवं शुरूको फैसला कानूनविपरीत भएको पुष्टि हुन्छ । साक्षीहरूको बकपत्र बाझिएको अवस्थामा प्रमाण ऐन, २०३१ को दफा १० र १८ को प्रतिकूल हुनेगरी वारदात देख्ने प्रत्यक्षदर्शी साक्षीहरूको भनाई भनी प्रमाणको रूपमा ग्रहण गरी भएको शुरू एवं पुनरावेदन अदालत, इलामको फैसला बदर गरी झूठा अभियोग दावीबाट सफाइ पाऊँ भन्नेसमेत ब्यहोराको प्रतिवादी रञ्जित राई र बुद्धिराज लिम्बूको तर्फबाट यस अदालतमा पर्न आएको संयुक्त पुनरावेदन पत्र ।

            सुपारीको रुख शैलेसले काटेको भनी बुद्धिराजले शैलेसमाथि आरोप लगाएको कुरालाई घटना घट्नुका मूल कारण मानिएको भएतापनि उक्त विवादमा मेरो संलग्नता नरहेको प्रष्ट छ । प्रहरीमा भएको मेरो बयान स्वेच्छाको बयान होइन । प्रहरीद्वारा मलाई मानसिक तथा शारीरिक यातना दिई पहिला लेखी तयार पारिएको बयानमा जवर्जस्त सहिछाप गराएको हो । यातना दिए सम्बन्धमा सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा १५(३) अनुसार शरीर जाँचको लागि निवेदन दिन सक्ने व्यवस्था भै प्रमाण ऐन, २०३१ को दफा ९(२)(क) सँग सार्थक रहेता पनि म्यादथपपश्चात् पुनः हिरासतमा रहनु पर्ने भएबाट यातना दिन नहुने भन्ने ऐनको पूर्ण पालना भएको भन्ने अवस्था रहँदैन र मनमा त्रास भैरहेको हुन्छ । अतः नेकाप २०६३, नि.नं. ७६४९, पृष्ठ १९१ को सिद्धान्त प्रस्तुत मुद्दामा आकर्षित हुन सक्दैन । वादीतर्फबाट पेश गरेका साक्षीहरूको भनाई एकआपसमा बाझिएको छ ।  त्यस्तो बाझिएको बकपत्र व्यहोरालाई अकाट्य प्रमाणको रूपमा ग्रहण गर्न नमिल्नेमा प्रमाणको रूपमा ग्रहण गरेको शुरू र पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण छ । अर्कोतर्फ म वारदातमा संलग्न नरहेको र शारदा राईको विवाहको कार्यक्रममा थिएँ भनी पेश गरेको उक्त फोटोमा शंका जनाई प्रमाणमा लिइएन, यदि शंका लागे उक्त फोटोहरू विशेषज्ञबाट जाँच गराउनु पर्नेमा जचाँएको छैन । मृतकसँग मेरो कुनै रिसइबी छैन । मैले हतियार छाडेको आधार कपोलकल्पित र निराधार छ । मनसायतत्वको अभाव छ । यस्तो अवस्थामा ज्यानसम्बन्धी महलको १३(३) नं. र १३(१) मा दुवैमा एकैप्रकारको सजाय गरेको फैसला मिलेको छैन । वारदात देख्ने भनिएका व्यक्तिहरूको भनाई पनि एकप्रकारको नभएर सँगै भएका गणेशबहादुर लिम्बू, महेश भन्ने योगराज खनाल, कर्मा शेर्पा, दोर्जे शेर्पाको भनाई बाझिएको र गणेशबहादुर लिम्बूबाहेक अरू अदालतमा आई आफ्नो मौकाको कथनलाई समर्थन नगर्नु सर्वोच्च अदालतबाट प्रतिपादित नेकाप २०४१, नि.नं. २१४५, पृष्ठ ८९२ र सर्वोच्च अदालत बुलेटिन वर्ष १२, वैशाख पूर्णाङ्क २६०, वुधन महतो कोइरीसमेत विरुद्ध श्री ५ को सरकार भएको कर्तव्य ज्यान मुद्दामा प्रमाण ऐन, २०३१ को दफा १० र १८ का सम्बन्धमा प्रतिपादित सिद्धान्तसमेत विपरीत हुने गरी भएको शुरूको फैसला सदर गरेको पुनरावेदन अदालत, इलामको त्रुटिपूर्ण फैसला बदर गरी झूठा अभियोग दावीबाट सफाइ दिलाई पाऊँ भन्नेसमेत व्यहोराको प्रतिवादीमध्येको सुनिलकुमार वसेलको तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।

 

            प्रतिवादीहरू सुनिलकुमार वसेल (सार्की), रञ्जित राई र बुद्धिराज लिम्बू, पूर्व ईबी योजना र संगठित भै शैलेस लिम्बूलाई सफाया गर्न भनी एकै लक्ष्य लिई बुद्धिराज लिम्बूले आफ्नै घरबाट खुकुरी झिकी प्रतिवादी सुनिललाई दिएको तथा प्रतिवादी सुनिलले प्रतिवादी रञ्जित राईलाई बोक्न दिएको र घटनास्थलमा यी सबै प्रतिवादीहरू उपस्थित रहे भएका र प्रतिवादी सुनिलले सँगै रहे भएका प्रतिवादी रञ्जित राईसँग निजले बोकी राखेको खुकरी मागी लिई शैलेस लिम्बूलाई प्रहार गरको चोटबाट शैलेस लिम्बूको मृत्यु भएको तथ्य प्रमाणित भै पुष्टि भैरहेको अवस्थामा खुकुरी जस्तो संवेदनशील धारिलो हतियार प्रयोग गरेको अवस्थामा सुनिलकुमार वसेल (सार्की) लाई ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम सजाय गर्नुपर्नेमा ऐ.को १३(३) नं. बमोजिम सजाय गरेको शुरू एवं पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण रहे भएको र प्रतिवादीहरू बुद्धिराज लिम्बू र रञ्जित राईलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(४) नं. बमोजिम सजाय गर्नुपर्नेमा सो नगरी ऐ.को १७ (१) नं. बमोजिम सजाय गर्ने गरेको शुरू एवं पुनरावेदन अदालतको फैसला प्रमाण र तथ्यको त्रुटिपूर्ण मूल्याङ्कन र अपव्याख्या गरी कम सजाय गर्ने गरी गरिएको उक्त फैसला सो हदसम्म बदर गरी प्रतिवादीहरूलाई शुरू अभियोग माग दावीबमोजिम सजाय गरिपाऊँ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।

            यसमा वादी पक्षको पुनरावेदन परेको जानकारी प्रतिवादीहरूलाई गराउने र प्रतिवादीहरूको पुनरावेदन पत्रको प्रतिलिपिसहितको जानकारी महान्याधिवक्ताको कार्यालयलाई दिई नियमानुसार पेश गर्नु भन्ने यस अदालत संयुक्त इजलासको मिति २०६८।८।२८।४ को आदेश ।

            नियमबमोजिम आजको दैनिक मुद्दा पेशी सूचीमा चढी यस इजलाससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको सम्बन्धित मिसिल अध्ययन गरी पुनरावेदक वादी नेपाल सरकारका तर्फबाट उपस्थित महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता श्री सूर्यप्रसाद कोइरालाले प्रतिवादीहरूले शैलेस लिम्बूलाई सफाया गर्ने भनी बुद्धिराज लिम्बूको घरमा योजना बनाई बुद्धिराजको घरबाट खुकुरी निकाली सुनिल वसेललाई दिएको र सुनिल वसेलले रञ्जित राईलाई बोक्न दिएकोमा प्रतिवादीहरू अधिकारप्राप्त अधिकारीसमक्ष साबित भै कागज गरेबाट शैलेसलाई सफाया गर्न योजना बनाई पूर्ण तयारीका साथ शैलेस आउने समय जानकारी लिई बाटो ढुकी बसेको र शैलेस आईपुग्नासाथ रञ्जितसँग भएको खुकुरी सुनिल वसेलले लिई शैलेसउपर प्रहार गर्दा पहिलो प्रहारबाट शैलेस नढलेपछि अर्को चोट प्रहार गरेको र शैलेस लिम्बू ढलेपछि मर्‍यो भनी तीनैजना भागौँ भनी प्रतिवादीहरू तीनै जनाले अधिकारप्राप्त अधिकारीसमक्ष साबित भै बयान गरेको र खुकुरीसमेत बरामद भै साबितीको समर्थन भइरहेको र लासजाँच प्रकृति मुचुल्का एवं शव परीक्षण प्रतिवेदनसमेतबाट धारिलो हतियार प्रयोग गरी मारेको कुरा पुष्टि भै यी प्रतिवादीहरूमध्ये सुनिलकुमार वसेलले प्रहार गरेको चोटको कारण शैलेस लिम्बूको मृत्यु भएको र अन्य प्रतिवादीहरू रञ्जित राई र बुद्धिराज लिम्बू पनि वारदात घटाउन खुकुरी दिने र खुकुरी बोक्ने भई वारदातमा उपस्थिति रहेको प्रमाणद्वारा पुष्टि भैरहेको अवस्थामा अभियोग माग दावीबमोजिम प्रतिवादीमध्येका सुनिलकुमार वसेललाई ज्यानसम्बन्धी महलको १ र १३ नं. को कसूरमा ऐ.१३(१) नं. बमोजिम सर्वश्वसहित जन्मकैदको सजाय हुनुपर्नेमा ऐ.१३(३) नं.बमोजिम सजाय गरेको नमिलेको र प्रतिवादीहरू रञ्जित राई र बुद्धिराज लिम्बूलाई ज्यानसम्बन्धी महलको १३(४) नं. बमोजिम सजाय गर्नुपर्नेमा सो नगरी ज्यानसम्बन्धी महलको १७(१) नं. बमोजिम सजाय हुने ठहर्‍याएको शुरू झापा जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत, इलामको फैसला कम सजाय गरेको हदसम्म बदर गरी प्रतिवादीहरूलाई शुरू अभियोग माग दावीबमोजम सजाय गरिपाऊँ भनी बहस प्रस्तुत गर्नुभयो । त्यस्तै गरी पुनरावेदक प्रतिवादी रञ्जित राई नै बुद्धिराज लिम्बूका तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री हरिहर दाहालले प्रतिवादी रञ्जित राई र बुद्धिराज लिम्बूले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको कागज स्वेच्छाले गरेको कागज नभई पहिले नै प्रहरीले तयार गरी राखेको कागजमा सही गराएका हुन् । निजहरूले अदालत बयान गर्दा कसूर अपराध गरेकोमा इन्कार रही बयान गरेका छन् । यी दुवैजना वारदातस्थलमा नभै शारदा राईको विवाहमा गएको भनी बयान गरेका छन् जुन कुरा फोटोबाट पनि पुष्टि भैरहेकोमा उक्त फोटोलाई प्रमाणको रूपमा ग्रहण गरिएन । बुद्धिराज लिम्बू र रञ्जित राईले शैलेस लिम्बूमाथि कुनै प्रकारको चोट प्रहार नगरेको कुरा प्रमाणित भैरहेको अवस्था छ । वारदातमा उपस्थित नै नभएका बुद्धिराज र रञ्जित राईलाई वारदात कसूर अपराध घटाउनमा मतसल्लाहमा पसेको भनी ज्यानसम्बन्धी महलको १७(१) नं.बमोजिम सजाय गरेको छ जब कि हेरिरहनेलाई ऐ.को १७(३) नं. लागू हुनुपर्ने हुन्छ । तसर्थ शुरू जिल्ला अदालत एवं पुनरावेदन अदालत, इलामको त्रुटिपूर्ण फैसला बदर गरी प्रतिवादीहरू रञ्जित राई र बुद्धिराज राईले सफाइ पाउनु पर्दछ भनी बहस प्रस्तुत गर्नुभयो । प्रतिवादी सुनिलकुमारका तर्फबाट अर्को विद्वान वरिष्ठ अधिवक्ताद्वय श्री शम्भु थापा, सुभाष नेम्वाङग् र अधिवक्ता श्री पूर्ण राजबंशीले गणेश लिम्बूले प्रत्यक्ष देखेको भनी जाहेरी व्यहोरामा लेखाई दिएको छ । गणेशबहादुर लिम्बू, महेश भन्ने योगराज खनाल, कर्मा शेर्पा, दोर्जे शेर्पासमेत सँगै साथै रहेको देखिएको अवस्थामा गणेशबहादुरले मात्र प्रत्यक्ष देख्नेसँग उपस्थित रहेका कर्मा शेर्पालगायतका अरूले घटना घटेको र भागेको सम्बन्धमा देखेको भनेका छैनन् । त्यसरी फरक बयान गरेबाट साक्षीहरूको बकपत्र एक आपसमा बाझिएको अवस्थामा त्यस्तो बाझिएको बकपत्रलाई प्रमाणको रूपमा ग्रहणयोग्य छैन । खुकुरी बाँसघारीमा फालेको भनेपनि त्यहाँ रगत लागेको देखाउन सकेको छैन । त्यस्तै गरी अ.बं. १७२ नं.को प्रक्रिया पूरा नगरी बरामद गरिएको खुकुरीले पनि प्रामाणिक महत्व राख्दैन । २०६४।१०।१३ को दिनको घटनामा १८ गते जाहेरी पर्छ ऐ.२० गते मात्र जाहेरी दर्खास्त दर्ता भएको देखिन्छ । गणेश लिम्बूसमेतका व्यक्तिहरू पनि पक्राउ परेकोमा प्रहरीमा निजहरूको कुनै बयान भएको देखिँदैन । खुकुरीले हान्ने व्यक्तिको लुगा वा शरीरमा रगत लाग्नु पर्नेमा केही देखाउन सकेको छैन । मुद्दामा पेश गरेका प्रमाणहरू उपलब्ध  प्रमाण नभई बनीबनाउ सिजिर्त प्रमाणहरू हुन् । २०, २१ गतेमात्र प्रतिवादीहरूको बयान कागज भएको देखिन्छ । सुनिलकुमार वसेलको शैलेस लिम्बूसँग कुनै रिसइबी रहेको देखिँदैन । वादीले शंकारहित तवरमा प्रतिवादीहरूको अपराधमा संलग्नता रहेको पुष्टि गर्नुपर्ने हुन्छ । वारदात घटेको समयसम्म पनि स्थापित गर्न नसकेकोमा शंकाको सुविधा अभियुक्तले पाउँछ । शैलेसलाई प्रहार गरेको भनिएको खुकुरी र सुनिलकुमार वसेलबीचको तादातम्यता पुष्टि गरी वारदात र प्रतिवादीसँग खुकुरीको सम्बन्धको प्रमाणिकरूपमा पुष्टि हुनुपर्नेमा अपराध गर्नमा बरामदी खुकुरीनै प्रयोग गरेको भने कुनै प्रमाणिक पुष्ट्याई गर्न सकेको छैनन् । अपराध, अपराधीको संलग्नता र प्रमाण एक अर्कोसँग सम्बन्धित देखिनुपर्नेमा त्यस्तो केही सम्बन्ध नदेखिएको अवस्था हुँदा शंकाको सुविधा अभियुक्तले पाउँछ भन्ने फौजदारी न्यायको प्रचलित एवं स्थापित सिद्धान्त भएको हुँदा प्रतिवादी सुनिलकुमार वसेलले अभियोग मागदावीबाट सफाइ पाउनुपर्दछ भनी बहस प्रस्तुत गर्नुभयो । त्यस्तै गरी प्रतिवादीहरूका तर्फबाट उपस्थित वैतनिक विद्वान कानून व्यवसायी, श्रुतिकुमारी रेग्मीले मृतकलाई प्रतिवादीहरूले चोट प्रहार गरेको भनी जाहेरवालाले नै भन्न सकेको अवस्था छैन । प्रतिवादीहरूले चोट प्रहार गरेको प्रमाणबाट पुष्टि हुन नसकेको अवस्थामा प्रतिवादीहरूले अभियोग मागदावीबाट सफाइ पाउनुपर्दछ भनी गर्नुभएको बहससमेत सुनियो ।

            उल्लिखित पक्ष विपक्षको बहस जिकीरसमेतलाई दृष्टिगत गरी यसमा निर्णयतर्फ विचार गर्दा प्रतिवादीहरू रञ्जित राई र अंगे भन्ने बुद्धिराज लिम्बू वारदात हुँदा घटनास्थलमा नभै अन्यत्र रहेका थिए । हामीले शैलेस लिम्बूलाई कुनै चोट प्रहार पनि गरेको थिएनौं । झूठा प्रमाण खडा गरी हामीउपर लगाएको अभियोग दावी नै झूठा हो हामीलाई सजाय गर्ने गरेको शुरू एवं पुनरावेदन अदालतको फैसला मिलेको नदेखिँदा उल्टी गरी अभियोगदावीबाट सफाइ पाउनुपर्दछ भन्ने नै मुख्य पुनरावेदन जिकीर रहेको पाइन्छ भने अर्को प्रतिवादी सुनिलकुमार वसेल (सार्की) ले पनि प्रहरीमा भएको बयान कागज स्वेच्छाले गरेको नभई मलाई यातना दिई पूर्ववत् तयार पारिएको बयानमा जवर्जस्ती सहिछाप गराएको हो । वारदात हुँदा घटनास्थलमा नभई अन्यत्रै शारदा राईको विवाह कार्यक्रममा थिएँ । प्रमाण यथोचित मूल्याङ्कन नगरी कसूरदार ठहर्‍याई सजाय गर्ने गरेको शुरू एवं पुनरावेदन अदालतको त्रुटिपूर्ण फैसला वदर गरी उक्त फैसलाहरूलाई उल्टी गरी अभियोग दावीबाट सफाइ पाऊँ भन्ने समेत व्यहोराको पुनरावेदन जिकीर रहेको देखिन्छ । त्यस्तै गरी प्रतिवादीमध्येका सुनिलकुमार वसेल (सार्की) ले प्रहार गरेको खुकुरीको चोटको कारण शैलेस लिम्बूको मृत्यु भएको र उक्त वारदात घटाउन रञ्जित राई र अगे भन्ने बुद्धिराज राईसमेतको प्रत्यक्ष संलग्नता रहेको प्रमाणद्वारा पुष्टि भएको देखिएको अवस्थामा सुनिलकुमार वसेल (सार्की) लाई ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम सजाय गर्नुपर्नेमा ऐ.को १३(३) नं. बमोजिम सजाय गरेको नमिलेको र प्रतिवादीहरू बुद्धिराज लिम्बू र रञ्जित राईलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(४) नं. बमोजिम सजाय गर्नुपर्नेमा सो नगरी ऐ.को १७(१) नं. बमोजिम सजाय गर्ने गरेको शुरू एवं पुनरावेदन अदालतको फैसला प्रमाण र तथ्यको त्रुटिपूर्ण मूल्याङ्कन र अपव्याख्या गरी कम सजाय गर्ने गरेको फैसला सो हदसम्म बदर गरी प्रतिवादीहरूलाई अभियोग माग दावीबमोजिम सजाय गरिपाऊँ भन्नेसमेत व्यहोराको पुनरावेदन जिकीर रहेको प्रस्तुत मुद्दामा निर्णयतर्फ विचार गर्दा निम्न प्रश्नहरूको उठान् हुन आएकोले सोको निर्क्यौलगरी निर्णय दिनुपर्ने देखियो ।

 

१)    शैलेस लिम्बूको मृत्यु कर्तव्यबाट भएको हो होइन ?

२)    को कसको संलग्नता रहेको र के कस्तो कार्यद्वारा शैलेस लिम्बूको मृत्यु भएको हो ?

३)    प्रतिवादीहरू घटना हुँदा वारदातस्थलमा मौजूद रहे नरहेको के हो ?

४)    शुरूको फैसला सदर हुने ठहर्‍याएको पुनरावेदन अदालत, इलामको फैसला मिलेको छ छैन ?

५)    वादी नेपाल सरकार एवं प्रतिवादीहरूको पुनरावेदन जिकीर पुग्ने वा नपुग्ने के हो ?

 

२. यसमा निर्णयतर्फ विचार गर्दा शैलेस लिम्बूको मृत्यु कसरी भएको रहेछ भनी हेर्दा शैलेस लिम्बूलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको र सडकको डीलमा आलो रगत जमी बाटोभन्दा मुनी ५ फिट मडारिएको र रगत  यत्रतत्रसमेत लागेको भन्ने घटनास्थल प्रकृति मुचुल्का रहेको देखिन्छ । मृतक शैलेस लिम्बूको गर्धनमा १ फिट लम्बाई ६ इञ्च गहिराई भएको ठूलो चोट तथा बाँया हातको कुममा ६ इञ्च लम्बाई ४ इञ्च गहिराई चोट भएको, मृतकले लगाएको कपडाहरूमा रगत लागेको, मृतकको मलद्वारबाट दिसा निस्किएको लासजाँच प्रकृति मुचुल्काबाट देखिएको अवस्था तथा भई आएको शव परीक्षण प्रतिवेदन व्यहोरा र मिसिल संलग्न मृतकको फोटोहरूबाट पनि मृतकको घाँटी तथा कुमसमेतमा परेका घाउ चोटहरू एवं प्रतिवादीहरूले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयानसमेतका सबूद प्रमाणहरूबाट शैलेस लिम्बूको मृत्यु कर्तव्यबाट भएको  तथ्य प्रमाणित हुन आयो ।

            ३. अब शैलेस लिम्बूलाई को कसले कर्तव्य गरी मारेको हो भन्नेतर्फ विचार गर्दा जाहेरवाला दिलबहादुर लिम्बूका साहिँला छोरा शैलेस लिम्बू मिति २०६४।१०।१३ गते पृथ्वीनगर ४ स्थित ज्ञानेचोक बजार गएकोमा घर फर्की नआएकोले सोही दिन खोजतलास गर्दा राति ११ बजेको समयमा खुकुरी प्रहार गरी लडाई रहेको अवस्थामा महेशपुरस्थित सिमसारे काठको पुलछेउमा भेटिएकोमा निज शैलेस लिम्बूलाई उपचार गर्न तत्कालै मेची अञ्चल अस्पतालमा ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको भनी जाहेरीमा उल्लेख भएको देखिन्छ । शैलेस लिम्बूलाई जुलूमीहरू बुद्धिराज लिम्बू, सुनिलकुमार वसेल (सार्की) र रञ्जित राईसमेतले खुकुरी प्रहार गरी कर्तव्य गरी मारेको देखेको भनी गणेश लिम्बूले भनेको हो । घटनाको सम्बन्धमा कसैले भनेमा त्यसको पनि ज्यान मारी दिन्छु भनी धम्की दिएको भनी मिति २०६४।१०।१८ गते मिति उल्लेख भए पनि मिति २०६४।१०।२० मा जिल्ला प्रहरी कार्यालय, झापामा जाहेरी परेको देखिन्छ । प्रतिवादीहरू तीनैजनालाई मिति २०६४।१०।१९ मा पक्राउ गरी प्रहरी कार्यालयमा दाखिल गरेको देखिन्छ । अब शैलेस लिम्बूलाई को कसले कसरी मारेको हो भन्नेतर्फ हेर्दा प्रतिवादीहरूले अदालतमा बयान गर्दा घटनास्थलमा आफू नरहेको अपराध गरेमा इन्कार रही बयान गरे पनि प्रतिवादी सुनिलकुमार वसेलले मृतकको कुम गर्धनमा खुकुरी प्रहार गरी काटी मारेकोमा, प्रतिवादी रञ्जित राई सुनिलकुमारले बोक्न दिएको खुकुरी लिई घटनास्थल नजिकको पुलमुनिबाट निस्की खुकुरी सुनिललाई दिएमा र अर्को प्रतिवादी अंगे भन्ने बुद्धिराज लिम्बू मृतकलाई सफाया गर्ने योजना बनाई आफ्नो घरको खुकुरी सुनिलकुमारलाई दिई आफूसमेत भई सिमसारे काठको पुलमुनि लुकीबसी मृतकले पुल कट्नसाथ गाली गर्न थालेकाले आफूसमेत गई सुनिलकुमारले मृतकको कुम र टाउकोमा खुकुरी प्रहार गरी ढालेकोमा मौकामा  अधिकारप्राप्त अधिकारीकासमक्ष बयान गर्दा साबित रहेको पाइन्छ भने लास जाँच प्रकृति मुचुल्काबाट मृतकको गर्धनमा  १ फिट लम्बाई, ६ इञ्च गहिराई भएको ठूलो चोट तथा बाँया हातको कुममा ६ इञ्च लम्बाई, ४ इञ्च गहिराई चोट रहेको देखिन्छ अर्कोतर्फ The cause of death is spinal cord dislocation भनी शैलेस लिम्बूको शवपरीक्षण प्रतिवेदनमा उल्लेख भएको र शैलेस लिम्बूको खुकुरीको चोट घाउसहितको फोटोबाट पनि टाउकोसँगै जोडिएको गर्धनको पछाडिको भागमा काटेको ठूलो चोट देखिई Spinal cord dislocated भएको देखिएबाट खुकुरीले हानेको चोटकै कारणबाट शैलेस लिम्बूको मृत्यु भएको तथ्य प्रमाणित भै साबिती समर्थित भैरहेको पाइन्छ ।

४. अब उक्त चोट कसले प्रहार गरेबाट लागेको हो भन्नेतर्फ हेर्दा महेशपुर बस्ने शैलेस लिम्बू मादक पदार्थ सेवन गरी मातेर बजारमा प्रतिवादीहरू समेतका जो सुकैलाई गालिगलौज गरिरहेका भनी बुद्धिराज लिम्बूले आफ्नो घरमा बसी सुनिलकुमार र रञ्जित राईसमेत भै शैलेस लिम्बूलाई सफाया गर्ने योजना बनाएको कुरामा प्रतिवादीहरू तीनैजना अधिकारप्राप्त अधिकारीसमक्ष साबित भै बयान गरेको पाइन्छ । प्रतिवादी सुनिलकुमार वसेलले शैलेस लिम्बू महेशपुर गा.वि.स. १ स्थित रहेको सिमसारे पुल पारी अं.२५ फिट उत्तर पश्चिमपटिृ सडकको बायाँपटिृको भागमा रहेको डीलमा मादकपदार्थ सेवन गरी नसाको सुरमा अश्लील शब्दहरू प्रयोग गरी एक्लै कराई बसिरहेको अवस्थामा आफूसमेत तीनजना त्यस ठाउँमा पुगेको अवस्थामा शैलेस लिम्बूले सुनिलकुमार वसेलसमेतलाई को हो भनी सोध्दा हामी भनी जवाफ दिएपछि निज शैलेस लिम्बूले गालीगलौज गरेकोले सहनै नसकी मैले बोकेको खुकुरीले टाउकोमा ताक्दा निजले शरीर हल्लाउँदा निजको बायाँ हातको कुममा प्रहार हुन पुग्यो, त्यति गर्दा पनि नढलेकोले पुनः अर्को पटक घाँटीको गर्धनका काटेपछि निज शैलेस लिम्बू डीलमा ढल्ने वित्तिकै खुकुरी हातमा बोकेरे मसमेत तीनजना बाटैबाटो भाग्यौँ भनी सुनिलकुमार वसेल (सार्की) ले अधिकारप्राप्त अधिकारीसमक्ष साबित भै बयान गरेको पाइन्छ भने रञ्जित राईले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा प्रतिवादी सुनिलले मलाई खुकरी राख्नु भनी बोक्न दियो । बुद्धिराज र सुनिल पुलबाट बाहिर निस्के र म पनि एकछिनपछि खुकुरी लिएर बाहिर निस्केँ खुकुरी पुनः सुनिलले मागेर लग्यो र प्रतिवादी सुनिलले पहिलो पटक प्रहार गर्दा मानिस नढलेपछि पुनः अर्को पटक गर्धनमा प्रहार गर्दा शैलेस लिम्बू ढलेपछि प्रतिवादी सुनिलले खुकुरी बोक्यो र हामी भाग्यौँ भनी बयान कागज गरेको पाइन्छ । त्यसैगरी बुद्धिराज राईले कागज गर्दा पनि मेरो घरमा मसमेतले शैलेसलाई सफाया गर्ने योजना बनायौँ र मेरो घरमा रहेको खुकुरी सुनिललाई दिएँ र हामी तीन नै जना सिमसारे काठको पुलतर्फ लाग्यौँ । प्रतिवादी सुनिलकुमार वसेलले शैलेसको टाउकोमा प्रहार गर्न खोज्दा निज हल्लिएकोले निजको बायाँ हातको कुममा लाग्दा नढलेपछि पुनः अर्को पटक गर्धनमा प्रहार गर्दा मानिस ढल्यो, ऐया भन्ने आवाज पनि आयो, त्यसपछि हामी भाग्यौँ भनी कागज गरिदिएको देखिन्छ । यसरी तीनैजना प्रतिवादीहरूले सुनिलकुमारले खुकुरीले प्रहार गरेको हो भनी एकै मिलानको बयान कागज गरेको पाइन्छ । अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा प्रतिवादीहरू तीनैजना अपराध कसूर गरेमा साबित रहेपनि निज प्रतिवादीहरूले अदालतमा उपस्थित भै बयान गर्दा आफूहरूले मृतकलाई कर्तव्य गरी मारे मराएको होइन हामी वारदातको दिनमा घटनास्थलमा नभै अन्यत्रै  रहेबाट को कसले शैलेस लिम्बूलाई मारेको हो थाहा छैन भनी कसूर अपराधमा इन्कार गरी बयान गरेको तर मौकामा भएको कागजमा परेको सहिछाप हाम्रो हो भनी स्वीकार गरी सो बयानलाई प्रहरीले प्रतिवादीहरूलाई सुनाई पहिले नै तयार गरी राखेको कागजमा इच्छाविरुद्ध सहिछाप गराएका हुन् भन्ने व्यहोरा लेखाएको पाइन्छ । अब प्रतिवादी घटना घट्दा वारदातस्थलमा मौजूद थियो कि थिएन भन्नेतर्फ हेर्दा प्रतिवादीहरूले अधिकारप्राप्त अधिकारीसमक्ष कागज गर्दा २०६४।१०।१३ गतेका दिन ज्ञानेचोकमा बजार लागेको दिन थियो । बजारमा शैलेस लिम्बू मातेर जोसुकैलाई गालीगलौज गरी रहेको थियो । साँझ परेपछि सुनिलकुमारले आफ्नो पसल बन्द गरी घर गएपछि बुद्धिराज लिम्बूको घरमा गएको र त्यहाँ रञ्जित राई, सुनिलकुमार वसेलसमेत एकै ठाठँमा भेट भएको र सबैजना भै साइकलमा डेक फिट गरी शारदा राईको विहे घर तीनकठ्ठेतर्फ पठाएपछि तीनैजना प्रतिवादीहरू सिमसारे काठेपुलतिर लागेको र वारदात घटाएपछि तीनजना नै साइकल चढी तीनकठ्ठेमा विवाहतर्फ लाग्यौ भनी अधिकारप्राप्त अधिकारीसमक्ष बयान कागज भएको अवस्थामा वारदात घटाएको कुरामा इन्कार रही अरू व्यहोरा उक्त वयान कागजको व्यहोरा मिलान हुने गरी अदालतमा समेत बयान गरेको देखिएको अवस्था रहेको र ज्ञानेचोक र शारदा राईको विवाह भएको घरको बीचको दूरी साइकलमा आधा घण्टा जति लाग्ने दूरीमा पर्छ भनी शारदा राईले अदालतमा बकपत्रसमेत गरिदिएको पाइन्छ । वारदातस्थलबाट विवाह घरमा पुग्न लाग्ने समय भनी प्रतिवादीहरूले बेलुका ७:३० बजेतिर घटना वारदात भएको भनी गरेको कागज व्यहोरालाई शारदा राईले बकपत्र गर्दा प्रतिवादीहरू विवाहघर आइपुगेको भनिएको समय विचार गर्दा उक्त वारदात घटनापछिको समयतिर विवाह घरमा पुगेको समय मिल्न आएको पाइन्छ । अतः प्रतिवादीहरू घटनामा उपस्थित थिएनौं अन्यत्र रहेको थिएँ भनी जिकीर लिएतापनि प्रतिवादीहरूले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान व्यहोरालाई अदालतमा बयान गर्दा उल्लेख गरी बयान गरेबाट अधिकारप्राप्त अधिकारीसमक्षको बयान अन्य सम्वद्ध प्रमाणहरूबाट पुष्टि गरी रहेको अवस्थामा अधिकारप्राप्त अधिकारीसमक्षको बयान व्यहोरा अन्यथा प्रमाणित गर्न सकेको नदेखिएको अवस्थामा व्यहोरा पूर्णरूपमा झूठा हो भन्ने कुरा विश्वसनीय देखिँदैन । अधिकारप्राप्त अधिकारीसमक्ष भएको प्रतिवादीहरूको बयान कागजमा भएको सहिछापलाई स्वीकार गर्दै सो बयान प्रहरीले नपढी नसुनाई इच्छा विरुद्ध सहिछाप गर्न लगाएको हो भन्नेसम्म व्यहोरा लेखाई दिएकोमा प्रहरीले कुनै मानसिक वा शारीरिक यातना दिई प्रलोभनमा पारी अनुचित प्रभाव करकापमा पारी त्यस्तो बयान गराएका हुन् भनी निज प्रतिवादीहरूले जिकीर लिन नसकेको अवस्थामा विना ठोस आधार प्रमाणको अभावमा अदालतमा इन्कारी बयान गरेकै आधारमा यी प्रतिवादीहरू वारदात घटाएको वेलामा घटनास्थलमा मौजूद नरही अन्यत्र थिए भनी लिएको जिकीर प्रमाणद्वारा पुष्टि गर्न सकेको पाइएन । यस्तो अवस्थामा अधिकारप्राप्त अधिकारीसमक्षको बयानलाई स्वेच्छाले गरेको बयान होइन रहेछ भन्नु तर्कसङ्गत हुन आउने देखिँदैन ।

५. अब प्रतिवादीहरू वारदात हुँदाका बखत घटनास्थलमा थिएनौँ शरदा राईको विवाहमा थियौं भनी लिएको जिकीरका सम्बन्धमा विचार गर्दा यी तीनैजना प्रतिवादीहरू उपर किटानी जाहेरी परेको पाइन्छ । वारदात घटना प्रत्यक्ष देख्ने घटनास्थलबाट १०० मिटर जतिको नजिकमा घर हुने गणेश लिम्बूले बकपत्र गर्दा प्रतिवादीहरूले मृतक शैलेस लिम्बूलाई कर्तव्य गरी मारेका हुन् । घटना घटाई भाग्दै गरेका व्यक्तिहरू रञ्जित राई, सुनिल वसेल, बुद्धिराज लिम्बू हुन् भनी स.ज. ७ र ८ मा खुलाइ लेखाई दिएको पाइन्छ । प्रत्यक्षदर्शी साक्षीले प्रतिवादीहरूको नाउँ किटानीसाथ लेखाई दिएको र निज प्रतिवादीहरू तीनजनामात्र वारदातमा संलग्न रहेको तथ्य स्पष्ट खुलाई अदालतमा उपस्थित भै बकपत्र गरिदिएको अवस्थामा प्रतिवादीहरू बुद्धिराज लिम्बू, सुनिलकुमार वसेल र रञ्जित राईले अदालतमा बयान गर्दा वारदात घटेको बेलामा वारदात स्थलमा नभै अन्यत्र शारदा राईको विवाह भोजमा थियौं भनी वारदात घटाएकोमा इन्कार रही बयान गरेपनि निजहरूले अधिकारप्राप्त अधिकारीसमक्ष कागज गर्दा कसूर गरेकोमा साबित रहेको तथ्यलाई प्रत्यक्षदर्शी गणेशबहादुर लिम्बूको अदालतको बकपत्रसमेतबाट यी तीनैजना प्रतिवादीहरू घटनास्थलमा मौजूद रहेको पुष्टि हुन आएको देखियो । प्रतिवादीहरू शारदा राईको विवाहमा रहेको भनी लिएको जिकीरतर्फ हेर्दा घटनास्थल र विवाह घर भनिएको स्थानको दूरी साइकलमा करीब आधा घण्टाको दूरीमा रहेको देखिएको छ । प्रतिवादी सुनिलकुमार वसेलले अधिकारप्राप्त अधिकारीसमक्ष  कागज गर्दा शैलेस लिम्बूलाई खुकुरीले काटी, खुकुरी बाँसघारीमा फाली साइकल भएको ठाउँमा पुगी तीनैजना साइकल चढी तीनकठ्ठे विवाह घर पुग्यौं भनी बयान गरेको पाइन्छ । जसबाट प्रतिवादीहरूले वारदात घटाई सकेपछि विवाहमा सामेल हुन गएको देखिएको र विवाह हुने दुलही शारदा राईले यी प्रतिवादीहरूलाई देखेको भनेपनि प्रतिवादीहरू एकै स्थानमा बसिरहनु पर्ने नभई आफूखुशी विवाहस्थल छोडी हिड्न सक्ने अवस्था भई केही समय कतै गई फर्की आउन सक्ने सम्भव भएको बाटोको दूरी रहेको देखिँदा विवाहमा पटकपटक देखभेट हुने हुँदा यति नै समयमा उपस्थित भएको भनी समय यकीन गर्न सक्ने स्थिति हुँदैन भने अर्कोतर्फ गणेश लिम्बूले भाग्नेमध्ये रञ्जित राईलाई प्रष्ट चिनेकोमा दौडने व्यक्तिहरू अरू नै थिए भनी कुनै प्रमाण पेश गरी प्रतिवादीहरूले अन्यत्रै थिए भनी लिएको जिकीर पुष्ट्याई हुने प्रमाण पेश गर्न सकेको नदेखिनुका साथै निजहरूको अधिकारप्राप्त अधिकारीसमक्ष  गरेको बयान व्यहोरालाई अदालतमा इन्कार गरे पनि सोमा परेको सहिछापलाई प्रतिवादीहरूले स्वीकारेको अवस्था देखिन्छ । यसबाहेक प्रतिवादी रञ्जित राई र बुद्धिराज लिम्बूले आफ्नो साक्षीद्वारा आफूहरू निर्दोष रहेको भन्ने भनाई पुष्टि हुने गरी प्रमाण ऐन, २०३१ को दफा २७ बमोजिम बकपत्र गराउन सकेको पाईंदैन । प्रतिवादी सुनिलकुमार वसेलका साक्षी सन्तबीर लिम्बूले गरेको बकपत्रको स.ज.५ मा मिति २०६४।१०।१३ मा प्रतिवादी सुनिलकुमारसँग भेट भएको छैन भनी लेखाई दिएको देखिएको अवस्था समेतका प्रमाणहरूबाट वारदात मिति समयमा प्रतिवादीहरू शारदा राईको विवाह मै रहे बसेका रहेछन् घटनास्थलमा थिएनौं भन्ने जिकीर समर्थन हुन सक्ने अवस्था देखिएन । निजहरू वारदातपछि तत्कालै घटनास्थलबाट विवाह घर फर्कन सक्ने नै देखियो ।

६. घटना घट्नुको कारणतर्फ हेर्दा बुद्धिराज लिम्बूको सुपारीको बोट काटिएको भनी  बुद्धिराज र निजका बाबुले शैलेस लिम्बूउपर आरोप लगाएको सुपारी काटे झैं मान्छे काटिन्छ भन्ने गरेको हुँदा प्रतिवादीहरूले नै शैलेस लिम्बूले हत्या गरेका हुन् भनी घटनास्थल मुचुल्काको मानिस सुरेन्द्र लिम्बूले अदालतमा बकपत्र गरिदिएकोबाट हत्या हुनाको कारणसमेत खुलाई दिएको देखिन्छ ।

७. अब खुकुरी बरामदी मुचुल्का रीतपूर्वक नदेखिएको अवस्थामा उक्त खुकुरी प्रमाण ग्राह्य छैन भनी लिएको प्रतिवादीहरूको पुनरावेदन जिकीरतर्फ विचार गर्दा शैलेस लिम्बूको हत्या गर्न प्रयोग गरेको खुकुरी बुद्धिराज लिम्बूको हो भन्ने कुरालाई प्रतिवादीहरूले अधिकारप्राप्त अधिकारीसमक्ष साबित भै बयान गरेकोमा साबिती बयान मुताबिक शैलेस लिम्बूलाई हत्या गर्न प्रयोग गरेको खुकुरी सुनिलकुमार वसेलले प्रहारपछि खुकुरीसाथै लिई भागेकोमा खुकुरी कहाँ फाल्यो भनी बुद्धिराजले सोधेपछि बाँसको घारीमा फाले भनेपछि उक्त खुकुरी बुद्धिराजले त्यहाँबाट ल्याई रणबहादुर लिम्बूको चर्पीको खाल्डोमा गाडेको भन्ने बयान मुताबिक उक्त खाल्डोबाट खुकुरी बरामद भएको अवस्था छ । दिसाको खाल्डोको फोहोरमा वारदातमा प्रयोग गरेको लम्बाई २२ इञ्च भएको खुकुरी१ थान फालेको अवस्थामा प्रतिवादी बुद्धिराज लिम्बूले नै देखाई फेला परेको र निजले सो खुकुरी दिसाको खाल्डोबाट निकालेको, निकाल्दा पूरै दिसा (फोहोर) रहेकोले खुकुरीमा लागेको दिसा (फोहोर) पुछेको २०६४।१०।२२ को अवस्था बरामद मुचुल्काबाट देखिन्छ । प्रतिवादीहरू तीनजनाको रोहबरमा प्रहरी नायब निरिक्षकको नेतृत्वमा खुकुरी बरामद मुचुल्का भएको देखिन्छ । सनाखत कागज तथा बरामदी मुचुल्काका प्रेमप्रसाद लिम्बू, रोहित सुब्बासमेतले प्रतिवादीहरूसँग सोध्दासमेत खुकुरी हाम्रै हो र हामीले मारेका हौँ भनी स्वीकारेका हुन् भनी लेखाई दिएको देखिन्छ ।

८. मुलुकी ऐन, अ.बं. १७२ नं.बमोजिम तत्काल तलासी लिँदा भलाद्मीलगायत कम्तीमा प्रहरी सहायक निरीक्षक दर्जाको प्रहरीले खानतलासी लिनुपर्ने कानूनी प्रावधान रहेकोमा प्रहरी नायब निरीक्षकको नेतृत्वको प्रहरी टोलीले बरामद गरेको देखिन्छ । तीनैजना प्रतिवादीहरू तथा अन्य भद्रभलादमीहरूको रोहबरमा बरामदी मुचुल्का भएको देखिन्छ । कुनै घरभित्र खुकुरी फेला नपरी घरबाहिर छुट्टै बनेको रणबहादुर लिम्बूके चर्पीको खाल्डोबाट खुकुरी बरामद भएको देखिएको अवस्थामा बरामदी मुचुल्कालाई अन्यथा भन्न मिल्ने भन्ने देखिएन । बेरीतको भन्ने पुनरावेदन जिकीरसँग सहमत हुन सकिएन । बरामद भएको खुकुरी सनाखत मुचुल्का सञ्जु सुव्वाको रोहबरमा भएको व्यहोरा निजले अदालतमा बकपत्रसमेत गरिदिएको देखिन्छ । यसरी प्रतिवादीहरूको बयान कागज मुताबिकको ठाउँमा दर्जा पुगेको प्रहरीसमेत भै तीनैजना प्रतिवादीहरू समेत एवं खानतलासी गर्दा स्थानीय भलादमीहरू समेतको रोहबरमा बरामद भएको खुकुरी अपराधसँग सम्बन्धित देखिएकोले सम्बद्ध प्रमाण प्रमाण गाह्य नहुने भन्न मिल्ने देखिँदैन ।

९. अब प्रतिवादीहरू घटनामा थिएनौ अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान स्वेच्छाको बयान होइन भन्ने पुनरावेदन जिकीरको हकमा विचार गर्दा प्रतिवादीहरूलाई अधिकारप्राप्त अधिकारीसमक्ष कागज गराउँदा तपाईंहरू बयान गर्न सक्ने अवस्थामा छ छैन होस ठेगानमा छ छैन भनी सोध्दा जवाफ दिन सक्छौँ भनी लेखाई दिएको देखिन्छ । साथै प्रतिवादीहरूलाई कागज गराउँदा कुनै शारीरिक यातना दिई स्वेच्छाविरुद्ध कागज गराइएको भए अनुसन्धानको सिलसिलामा म्यादथपको लागि अदालतमा उपस्थित गराउँदा निजहरूले त्यस्तो व्यहोरा खुलाई लेखाई दिएको पनि पाइएको छैन । त्यस्तो स्वेच्छाविपरीत बयान गराएको भए सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा १५ को उपदफा ३ मा सरकारवादी हुने फौजदारी मुद्दामा तहकीकातको लागि थुनामा राख्ने म्यादथपको लागि अदालतमा उपस्थित गराउँदा आफ्नो शारीरिक जाँचको लागि अदालतमा निवेदन गर्न सक्ने व्यवस्था गरिएको देखिन्छ । जसबाट मुद्दाको अनुसन्धान तहकीकातको अवस्थामा प्रहरीबाट गैरकानूनी बल प्रयोग गरी स्वेच्छाविरुद्ध बयान गराएको प्रमाणित हुन आएमा त्यस्तो बयान प्रमाणग्राह्य हुँदैन तर त्यस्तो बयान स्वेच्छाविरुद्ध भएको भनी सरकारवादी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा १५(३) को व्यवस्थाबमोजिम अदालतमा निवेदन दिई स्वेच्छाविरुद्धको बयान हो भनी प्रमाणित गराउन सकेको नदेखिएको अवस्थामा त्यस्तो अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयानलाई स्वेच्छाविपरीतको बयान भन्न मिल्दैन । त्यस्तो बयान प्रमाणमा लिन मिल्ने नै हुन्छ ।

१०. अब पुनरावेदन अदालत इलामको फैसला मिले नमिलेको के छ भन्नेतर्फ विचार गर्दा शैलेस लिम्बू मिति २०६४।१०।१३ गते पृथ्वीनगर गा.वि.स. वडा नं.४ स्थित ज्ञानेचोकमा लाग्ने हटिया बजारमा गएकोमा घर फर्की नआएकोले खोजतलास गर्दा राती ११.०० बजेको समयमा छोरालाई खुकुरी प्रहार गरी घाइते अवस्थामा महेशपुर सिमसारे काठको पुलछेउमा भेटिएकोले अस्पताल लैजाँदा बाटैमा मृत्यु भएको भन्ने मृतकका पिता दिलबहादुर लिम्बूको जाहेरी परेको र महेशपुर गा.वि.स. वडा नं. १ स्थित पूर्वमा देउराली साहिँला लिम्बूको बाँसघारी, पश्चिममा करबीर लिम्बूको बाँसघारी, उत्तर दक्षिणमा ज्ञानेचोकदेखि महेशपुर, फागो चोक जाने कच्ची बाटो यति ४ किल्लाभित्र रहेको सिमसारे होलीको काठे पुलभन्दा उत्तर, पश्चिमपटिृ कच्ची सडकको बायाँतर्फको भागमा रहेको डीलमा आलोरगत जमेको देखिएको बाटोभन्दा मुनि ५ फिट मडारिएको र रगत यत्रतत्रसमेत लागेको र शैलेस लिम्बूलाई खुकुरी प्रहार गरी घाइते बनाएको भन्नेसमेत व्यहोराको घटनास्थल प्रकृति मुचुल्काबाट देखिएको र मृतकको गर्धनमा १ फिट लम्बाई, ६ इञ्च गहिराई भएको ठूलो चोट तथा बायाँ हातको कुममा ६ इञ्च लम्बाई, ४ इञ्च गहिराई चोट भएको देखिएको भन्ने लासजाँच प्रकृति मुचुल्का देखिन्छ । प्रतिवादी सुनिलकुमार वसेल मृतकको कुम गर्धनमा खुकुरी प्रहार गरी काटी मारेकोमा प्रतिवादी रञ्जित राई सुनिलले बोक्न दिएको खुकुरी लिई घटनास्थल नजिकको पुलमुनिबाट निस्की खुकुरी सुनिलकुमारलाई दिएमा र अर्को प्रतिवादी अंगे भन्ने बुद्धिराज लिम्बू मृतकलाई सफाया गर्ने योजना बनाई आफ्नो घरको खुकुरी सुनिललाई दिई आफूसमेत भई सिमसारे काठको पुल मुनि लुकी बसी मृतकले पुल काट्नसाथ आफूसमेत गई सुनिलकुमारले शैलेस लिम्बूको कुम र टाउकोमा खुकुरी प्रहार गरी ढालेकोमा अधिकारप्राप्त अधिकारीसमक्ष साबित भै बयान गरेकोमा सो साबिती बयानलाई अदालतमा इन्कार रही आरोपित कसूर अपराध नगरेको भनी बयान गरेको देखिएतापनि माथि उल्लिखित भएबमोजिम प्रहरीमा भएको प्रतिवादीहरूको साबिती बयान अन्यथा प्रमाणित गर्न नसकेको र अपराध गर्न प्रयोग गरेको खुकुरीसमेत रीतपूर्वक बरामद भै खुकुरीको साइज र घाउको चोटको साइजसमेतमा तादात्म्यता  देखिएको र लासजाँच प्रकृति मुचुल्का र शवपरीक्षण प्रतिवेदनसमेतबाट खुकुरी प्रहारको चोटले मेरुदण्डको हड्डी छुट्टिएको कारणबाट मृत्यु भएको भनी लासजाँच मुचुल्कामा  Deep cut injury over back of neck (20cm) inviting carnal bone, deep cut injury inviting head of humorus over left shoulder 3 cm.  भन्ने चोटको उल्लिखित भई मृत्युको कारणमा Cause of death is spinal cord dislocate भन्ने मृतकको मेची अञ्चल अस्पतालबाट भै आएको शवपरीक्षण प्रतिवेदनसमेतबाट मृतकको मृत्यु धारिलो हतियारको प्रहारबाट कर्तव्य गरी भएको हो भन्ने देखिई उक्त चोट सुनिलकुमार वसेल (सार्की) ले प्रहार गरेको खुकुरीको चोटबाट नै शैलेस लिम्बूको मृत्यु भएको तथ्य उल्लिखित प्रमाणहरूबाट समेत पुष्टि हुन आयो ।

११. तसर्थ, खुकुरीको चोटबाटै मृतकको मृत्यु भएको भन्ने जाहेरवालाको जाहेरी रहेकोमा प्रतिवादीहरूले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको साबितीसमेतलाई धारीलो हतियारको प्रहारबाट मृत्यु भएको भन्ने शव परीक्षण प्रतिवेदनबाट समर्थन भएको देखिएबाट प्रतिवादी सुनिलकुमार वसेल (सार्की) ले प्रहार गरेको खुकुरीको चोटकै कारणबाट मृतकको मृत्यु भएको प्रमाणद्वारा पुष्टि भएको देखिएको भनी पुनरावेदक प्रतिवादी सुनिलकुमार वसेल (सार्की) लाई शुरू जिल्ला अदालतबाट मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(१) नं. आकृष्ट हुने देखिएकोमा ऐ. १३(३) नं. बमोजिम दण्ड सजाय हुने ठहर्‍याएकोमा दुवै नं. का प्रावधानमा ज्यान मर्ने गरी हतियार छोड्ने अभियुक्तको हकमा एकै प्रकारको सजायको व्यवस्था भएको देखिँदा सजायको हकमा कुनै तात्विक अन्तर नपरेको भनी जिल्ला अदालतको फैसला सदर गर्ने ठहर्‍याएको पुनरावेदन अदालत, इलामको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ ।

१२. अर्का प्रतिवादीहरू रञ्जित राई र अंगे भन्ने बुद्धिराज लिम्बूको हकमा विचार गर्दा रञ्जित राईले मौकामा गरेको बयानबाट शैलेस लिम्बू पुलपारी कट्नासाथ प्रतिवादीमध्येका सुनिलकुमार वसेल (सार्की) ले बोक्न दिएको खुकुरी सुनिलले मागी लगेको र शैलेस लिम्बूलाई प्रहार गरेको भनी बयान गरेको र उक्त व्यहोरालाई अर्का दुवैजना प्रतिवादीहरूले समर्थन गरी बयान गरेको पाइन्छ । प्रतिवादी बुद्धिराज लिम्बूको सुपारीको रुख शैलेस लिम्बूले काटेकोले सोही निहुँमा निजलाई पनि सुपारीको रुख काटेझैं काटी मार्ने कुरा बुद्धिराज लिम्बूले गर्दै हिँडेको र निजकै घरमा बसी शैलेस लिम्बूलाई मार्ने योजना बनाई, घरको खुकुरी सुनिलकुमारलाई बोक्न दिएको र पछि अपराध घटाई सकेपछि पनि आफ्नै घर नजिकको ट्वाइलेटमा खुकुरी गाडेको अवस्थामा निजकै बयानबमोजिम खुकुरी बरामद भएको देखिएको  तर यी दुवैजना प्रतिवादीहरू रञ्जित राई र अंगे भन्ने बुद्धिराज लिम्बूले मृतकमाथि चोट छाडेको नदेखिएको र मृतकको जीउ ज्यानमा हात हाली मार्न संयोग पारिदिएको नदेखिई निजहरू शैलेस लिम्बूको ज्यान मार्ने मत सल्लाहमा सामेल भै हतियारसमेत साथ लिई घटनास्थलमा उपस्थितसम्म रहेको देखिएको अवस्थामा प्रतिवादीहरू रञ्जित राई र अंगे भन्ने बुद्धिराज लिम्बूलाई ज्यानसम्बन्धी महलको १३(४) नं. को अभियोग दावी पुग्न नसक्ने भनी सोही महलको १७(१) नं. बमोजिमको कसूर गरेको ठहर्‍याई सोही १७(१) नं. बमोजिम निजहरूलाई जनही कैद वर्ष दश (१०) गर्ने ठहर्‍याएको झापा जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत, इलामको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । अभियोग माग दावीबमोजिम प्रतिवादीहरूलाई सजाय गरिपाऊँ भन्ने वादी नेपाल सरकारको र मौकामा भएको बयान स्वेच्छाको बयान होइन, वारदात घट्दा घटनास्थलमा थिएनौँ अभियोग मागदावीबाट सफाइ पाऊँ भन्ने प्रतिवादीहरूको पुनरावेदन जिकीर पुग्न सक्दैन । फैसलाको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई दिई दायरीको लगत कटृा गरी मिसिल नियमानुसार गरी बुझाई दिनू ।

उक्त रायमा सहमत छु ।

 

न्या.तर्कराज भटृ

 

इति संवत् २०७० साल असार १२ गते रोज ४ शुभम्..

 

इजलास अधिकृतःलालकाजी श्रेष्ठ

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु