शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६३५३ - मोही प्रमाण पत्र

भाग: ३९ साल: २०५४ महिना: श्रावण अंक:

निर्णय नं.- ६३५३           ने.का.प, ०५४      अङ्क ४

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा

माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय

सम्वत् २०५१ सालको दे.पु.नं. .... २०६९

फैसला मितिः २०५३।९।२३।३

 

मुद्दाः मोही प्रमाण पत्र ।

 

पुनरावेदक/वादी : जिल्ला धनुषा, इकराही गाउँ विकास समिति वडँ नं. ४ वस्ने वर्ष ५२ को वुधन साहु सुडी ।

विरुद्ध

विपक्षी/ प्रतिवादीः  ऐ.ऐ. वडा नं. ३ वस्ने जमुना मण्डल केवट ।

 

§  पुनरावेदक वादीले भरेको भनीएको मिसिल संलग्न १ नं. लगत र सो वमोजिम प्रकाशित २ नं. अनुसूचीको प्रतिलिपी हेर्दा सम्वन्धित जग्गाको जग्गाधनीमा रमेशचन्द्र भट्टाचार्य, पंचु भट्टाचार्य र क्षेत्रफल ०--० उल्लेख भएको देखिन आउनुको अतिरीक्त विवादको जग्गा वडा नं. ४ मा रहेकोमा वडा नं. ३ मा अनुसूची प्रकाशित भएको  देखिन्छ । यसरी एउटा वडामा जग्गा रहेको र अर्को वडामा २ नं. अनुसूची प्रकाशित भएको स्थितिमा मोहीको प्रमाण पत्र दिन मिल्दैन भनी नि.नं. ४४१९, २०४८ सालको रिट नं. १२६५ को उत्प्रेषण विषयमा श्री सर्वोच्च अदालतबाट सिद्धान्त प्रतिपादन भएको देखिंदा सो प्रकाशित अनुसूचीलाई मान्यता दिन नमिल्ने ।

 (प्र.नं. ११)

§  जग्गाधनी नै नदेखिएका व्यक्तिको नाम १ नं. अनुसूचीमा भरी २ नं. लगत प्रकाशित भएकै कारणले अहिले आएर मोही प्रमाण पत्र पाउनु पर्ने भन्ने पुनरावेदकको कथन मिल्न नसक्ने ।    

(प्र.नं. ११)

 

पुनरावेदक तर्फवाटः विद्वान अधिवक्ता श्री पन्नामान तुलाधर

प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री महादेव यादव

अवलम्बित नजीरः नि.नं. ४४१९, २०४८ सालको रिट नं. १२६५ को उत्पे्रषण विषयमा यस अदालतबाट सिद्धान्त प्रतिपादन ।

 

फैसला

            न्या.मोहन प्रसाद शर्मा : पुनरावेदन अदालत, जनकपुरको मिति २०५०।४।२० को फैसला उपर वादीको पुनरावेदन परी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छः-

            २. साविक सोमन कुमार भट्टाचार्यको नाममा दर्ता रहेको जिल्ला महोत्तरी एकराही वडा नं. ४ कि.नं. ९२ को ०--६ मध्ये ०--१८-६ जग्गा मोहीमा कमाई १ नं. अनसूची २ नं. लगत प्रकाशन भई ४ नं. अस्थायी निस्सा प्राप्त गरेको छु । कि.नं. ९२ को ०--६ जग्गा समेत सोमन कुमारले जमुना मण्डललाई मिति २०४७।५।२१ मा विक्री गरीदिएकोले मैले जोती कमाई आएका जग्गाको मोही प्रमाण पत्र पाउँ भन्ने समेत व्यहोराको फिराद ।

            ३. विपक्षीले उक्त जग्गा मोहीमा कमाई आएको भए सर्भेमा फिल्डवुकमा नाम लेखाउनु पर्ने कुत वाली जग्गाधनीलाई वुझाई भरपाई लिनु पर्ने लिन सकेको छैन भन्ने समेतको प्रत्यूत्तरपत्र ।

            ४. कि.नं. ९२ को ०-७-६ मध्ये पुर्व तर्फबाट ०-३-१८-६ जग्गाको वादीले मोहियानी हकको प्रमाणपत्र पाउने ठहर्छ भन्ने समेत मिति २०४८।११।१४ को भूमि सुधार कार्यालय, धनुषाको निर्णय ।

            ५. सोमन कुमारको नाममा दर्ता रहेको जग्गामा १ नं. फाराम भरी २ नं. अनुसूची भूमि सुधार लागु हुँदा सोमन कुमारको नाममा दर्ता नै नरहेको जग्गाको मोही प्रमाण पत्र दिने ठहर गरेको निर्णय त्रुटीपूर्ण हुँदा वदर गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीको पुनरावेदन पत्र ।

            ६. निवेदकले अशिष कुमार भट्टाचार्यलाई जग्गा धनी नदेखिएका र नापीका वखत मोही महल खाली नजिएको हुँदा १ नं. लगत २ नं. अनुसूची प्रकाशन भएको भन्ने आधार प्रमाण लिई भूमि सुधार कार्यालय, धनुषाले २०४२ सालको ने.का.प. अं. ६४ नि.नं. २३४४ को विपरित गरी मोही प्रमाणपत्र दिने ठहर्‍याएको भूमि सुधार कार्यालयको फैसला फरक पर्ने भएवाट अ.वं. २०२ नं. वमोजिम विपक्षी झिकाई पेश गर्नु भन्ने पुनरावेदन अदालत, जनकपुरको आदेश ।

            ७. अशिष कुमार जग्गाधनी नरहेको असम्बन्धित व्यक्ति देखिएको र त्यस्तो उनाउ व्यक्तिले दिएको वाली वुझेको कवुलियत विनाको भरपाइलाई मान्यता दिनु उपयुक्त नभएकोले जोताहा वादी हुँ भन्ने समेत मिसिल सामेल रहेको प्रमाणवाट पुष्टि हुन नसकेको अवस्थामा भूमि सुधार कार्यालय, धनुषाले वादीलाई मोहियानी प्रमाण पत्र पाउने ठहर्‍याएको निर्णय मिलेको नहुँदा उल्टी हुने ठहर्छ भन्ने समेतको पुनरावेदन अदालत, जनकपुरको मिति २०५०।४।२० गतेको  फैसला ।

            ८. कानून वमोजिम १ नं. लगत भरी २ नं. अनुसूची प्रकाशित भएको र वास्तविक रुपमा दावीको जग्गा मैले नै जोती आइरहेको अवस्थामा मोहीको प्रमाणपत्र नपाउने भनी ठहर गरेको पुनरावेदन अदालत, जनकपुरको उपरोक्त फैसलामा चित्त नवुझेकोले वदर गरी मोही प्रमाणपत्र पाउँ भन्ने समेतको वादी वुधन साहु सुडीको यस अदालतमा पर्न अएको पुनरावेदन पत्र ।

            ९. यसमा घरको मुख्य धनी रमेश भट्टाचार्यका नाममा विवादको जग्गाको १ नं. अनुसूची २ नं. लगत प्रकाशित भएकोमा विवाद नदेखिएको अवस्थामा पुनरावेदकलाई मोही कायम नगर्ने गरेको पुनरावेदन अदालत, जनकपुरको फैसला विचारणीय हुँदा छलफलको लागि अ.वं. २०२ नं. वमोजिम विपक्षी झिकाई आएपछि पेश गर्नु भन्ने यस अदालत संयुक्त इजलासको मिति २०५२।११।१४ को आदेश ।

            १०. नियम वमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीको तर्फवाट विद्वान अधिवक्ता श्री पन्नामान तुलाघरले मेरो पक्षले विवादको जग्गा पहिले देखि नै जोतेको कुरालाई सरजमिनले पनि समर्थन गर्दछ । भूमि सुधार लागु हुँदा मेरो पक्षले भरेको १ नं. लगतको आधारमा प्रकाशित २ नं. अनुसूची उपर मौकामा कुनै उजुर वाजुर छैन । तसर्थ मेरो पक्षले मोही प्रमाण पत्र पाउने ठहर्‍याएको शुरु भूमि सुधार कार्यालयको निर्णय सदर रही मोही प्रमाण पत्र नपाउने गरी भएको पुनरावेदन अदालत, जनकपुरको फैसला वदर हुनु पर्छ भनी वहस प्रस्तुत गर्नु भयो । त्यस्तै विपक्षी प्रतिवादीको तर्फवाट विद्वान अधिवक्ता श्री महादेव यादवले साविक जग्गाधनी सोमन भनीएकोमा प्रकाशित २ नं. अनुसूचीमा सोमनको नाम प्रकाशित छैन कुन मितिमा २ नं. अनुसूची प्रकाशित भयो मिति खुल्दैन, आकंडामा प्रकाशित अनुसूचीले कानूनी मान्यता पाउने पनि भएन, फिरादीले एक पटक तारिख गुजारी तामेली रहेको अवस्थामा पुनः त्यही जग्गाको विषयमा प्रस्तुत फिराद दिएकोले अ.वं. ८५ नं.ले विवन्धित  छ । तसर्थ पुनरावेदन अदालतको फैसला मिलेकै हुँदा सदर कायम हुनु पर्छ भनी गर्नु भएको वहस समेत सुनियो । विद्वान अधिवक्ताहरुको उपरोक्त वहस जिकिरलाई हृदयंगम गर्दै पुनरावेदन सहितको मिसिल कागजात अध्ययन गरी वादी दावीको जग्गामा मोही प्रमाणपत्र नपाउने गरी शुरु भूमि सुधार कार्यालयको निर्णय उल्टी गर्ने गरेको पुनरावेदन अदालत, जनकपुरको फैसला मिले नमिलेको के रहेछ, त्यसतर्फ निर्णय दिनु पर्ने हुन आयो ।

            ११. निर्णय तर्फ विचार गरी हेर्दा यसमा साविक सोमन कुमार भट्टाचार्यको नाममा दर्ता रहेको जिल्ला महोत्तरी एकराही वडा नं. ४ कि.नं. ९२ को ०-७-६ मध्ये ०-३-१८-६ जग्गा मोहीमा कमाई १ नं. अनुसूची २ नं. लगत प्रकाशन भई ४ नं. अस्थायी निस्सा प्राप्त गरेको र जग्गा धनीलाई साल सालै कुत वुझाई आइरहेकोले सो जग्गाको मोही प्रमाणपत्र पाउँ भन्ने नै फिरादीको मुख्य दावी रहेको र २०४७।५।२१ मा मैले खरिद गरेको वखतदेखि नै आफैले जोती कमाई आएकोले वादी दावी अनुसार मोही प्रमाणपत्र पाउनु पर्ने होइन भन्ने प्रत्युत्तर जिकिर लिएको पाइन्छ । पुनरावेदक वादीले भरेको भनिएको मिसिल संलग्न १ नं. लगत र सो वमोजिम प्रकाशित २ नं. अनुसुचिको प्रतिलिपी हेर्दा सम्वन्धित जग्गाको जग्गाधनीमा रमेशचन्द्र भट्टाचार्य, पंचु भट्टाचार्य र क्षेत्रफल ०-९-० उल्लेख भएको देखिन आउनुको अतिरीक्त विवादको जग्गा वडा नं. ४ मा रहेकोमा वडा नं. ३ मा अनुसूची प्रकाशित भएको देखिन्छ । यसरी एउटा वडामा जग्गा रहेको र अर्को वडामा २ नं. अनुसूची प्रकाशित भएको स्थितिमा मोहीको प्रमाणपत्र दिन मिल्दैन भनी नि.नं. ४४१९, २०४८ सालको रिट नं. १२६ को उत्प्रेषण विषयमा श्री सर्वोच्च अदालतबाट सिद्धान्त प्रतिपादन भएको देखिंदा सो प्रकाशित  अनुसूचीलाई  मान्यता दिन मिलेन । प्रकाशित

२ नं. अनुसूची कहिले प्रकाशित भएको हो भन्नलाई मिति पनि खुलेको पाईदैन । अर्को महत्वपूर्ण कुरा के देखिएको छ भने यही विवादको कि.नं. ९२ को जग्गामा मोहीको प्रमाणपत्र पाउँ भनी  आशिष कुमार भट्टाचार्यलाई जग्गा धनी देखाई यीनै वादी पुनरावेदकले २०४५।२।६ मा फिराद दिएकोमा भूमि सुधार कार्यालय, धनुषावाट २०४६।१०।९ मा वादीले तारीख गुजारेको भनी तामेलीमा रहेको प्रमाण मिसिलवाट देखिन आएकोले एक पटक कारवाही टुंगी सकेको सोही जग्गाको सोही विषयमा पुनः १ नं. लगत २ नं. अनुसूची र ४ न. जोताहा निस्सालाई आधार वनाई दिएको फिराद अ.वं. ८५ नं. ले दिन नमिल्नेप्रष्ट छ । जग्गाधनी नै नदेखिएका व्यक्तिको नाम १ नं. अनुसूचीमा भरी २ नं. लगत प्रकाशित भएकै कारणले अहिले आएर मोही प्रमाणपत्र पाउनु पर्ने भन्ने पुनरावेदकको कथन नमिल्ने छ, उसमा पनि सो जग्गा के कसरी सोमन कुमारको नाममा आयो भन्ने कुरा पनि फिरादवाट खुलेको पाइदैन । पुनरावेदकको कथन अनुसार यदी सो जग्गा साविक देखि नै मोहीमा कमाई आएको भए यत्तिका अवधि वितिसक्दा पनि के कति कारणले मोहीको स्थायी प्रमाणपत्र लिन नपाएको हो त्यसको कुनै तथ्ययुक्त कारण पनि खुलेको पाइदैन । साविक जग्गा धनी सोमन कुमार कै पाला पुर्व देखि नै आफनो जोतमा रहेको भनी दावी गर्ने पुनरावेदकले सो जग्गा प्रत्यर्थी जमुना मण्डललाई राजीनामा गर्नु अधिका दाता सोमन कुमारलाई प्रतिवादी पनि वनाइएको देखिदैन । वस्तुतः २ नं. अनुसूचीमा प्रकाशित रमेश चन्द भट्टाचार्यको नाममा जग्गा नरही सोमन कुमार नै वास्तविक जग्गाधनी भई निजकै नामवाट प्रतिवादी जमुना मण्डलले राजीनामा गरी लिएको अवस्थामा सोमन कुमार भट्टाचार्यलाई वाली वुझाएको भरपाई पेश गर्न नसकि आशिष कुमारले वाली वुझी गरी दिएको भरपाई पेश भएवाट यस्तो जग्गाधनी नै नभएको असंवन्धित व्यक्तिलाई वाली वुझाएको भरपाईबाट मोही कायम गर्न नमिल्ने देखिएकोले मोही प्रमाणपत्र पाउनु पर्ने भन्ने पुनरावेदन जिकिर र तदनुरुप पुनरावेदक तर्फका विद्वान अधिवक्ताको वहस जिकिरसँग सहमत हुन सकिएन । तसर्थ वादीलाई मोही प्रमाणपत्र दिने गरेको शुरु भूमि सुधार कार्यालय, धनुषाको निर्णय उल्टी गरी वादीले मोही प्रमाण पत्र नपाउने ठहर गरेको पुनरावेदन अदालत, जनकपुरको फैसला मिलेकै देखिंदा मनासिव ठहर्छ । पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन, दस्तूर राखी पुनरावेदन परेको देखिंदा केही गर्न परेन, मिसिल नियम वमोजिम गरी बुझाई  दिनु ।

 

उक्त रायमा मेरो सहमति छ ।

 

न्या. हरिश्चन्द्र प्रसाद उपाध्याय ।

 

इति सम्वत् २०५३ साल पौष २३ गते रोज ३  शुभम्

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु