शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६३६४ - परमादेशको आदेश जारी गरी पाउँ ।

भाग: ३९ साल: २०५४ महिना: श्रावण अंक:

निर्णय नं.- ६३६४          ने.का.प, ०५४       अङ्क ४

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री नरेन्द्र वहादुर न्यौपाने

माननीय न्यायाधीश श्री केदारनाथ आचार्य

सम्वत् २०५१ सालको रिट नं. .... २८२६

आदेश मितिः २०५३।१।३।२

 

विषय : परमादेशको आदेश जारी गरी पाउँ ।

 

निवेदकः का.जि. जोरपाटी गा.वि.स. वडा नं. ५ बस्ने दिनेश प्रसाद प्याकुरेल ।

विरुद्ध

विपक्षीः श्री पशुतिनाथ भण्डार तहविल कार्यालय देवपत्तन काठमाण्डौ समेत जम्मा २ ।

           

§  दर्ता नै कायम भै नसकेको अवस्थामा बिपक्षीलाई कुत बुझी लिन बाध्य गर्न नमिल्ने ।

(प्र.नं. ६)    

§  दर्ता नै कायम न भै सकेको अवस्थामा तिरो बुझने समेतको कार्य गर्नु भनी परमादेश जारी गर्न नमिल्ने ।                  

(प्र.नं. ६)

 

निवेदक तर्फवाटः विद्वान अधिवक्ता श्री सानुवावु पोखरेल

विपक्षी तर्फवाटः विद्वान अधिवक्ता श्री कमल वहादुर बोगटी

अवलम्बित नजीरः x

 

आदेश

            न्या.नरेन्द्र वहादुर न्यौपाने: नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(२) अन्तर्गत पर्न आएको प्रस्तुत निवेदनको संक्षिप्त तथ्य् एवं ठहर यस प्रकार छ ।

            २. हाम्रा आराध्य देव श्री पशुपतिनाथको दैनिक नित्य पुजा आजा गर्नलाई नेपाल अधिराज्यका विभिन्न जिल्लामा विभिन्न किसिमका संपत्ति रहेका छन । विभिन्न जिल्लाहरुमा रहेका जग्गाहरु मध्ये श्री पशुपतिनाथका नाउँमा दर्ता हुन छुट भै रहेको जग्गा मध्ये म मोही भएको मेरा पिता पुर्खाका पालादेखि जोतभोग गरी आएको श्री पशुपतिनाथ गुठीको पुर्व मोही देव नारायणको गुठी जग्गा पश्चिम सोही गुठी उत्तर गुठी दक्षिण गुठी यति चार किल्ला भित्रको सर्लाही जिल्ला लगत नं. २ हरिपुर गा.वि.स. वडा नं. ७ कित्ता कायम हुन बांकी मौजा नं. ५ क्षेत्रफल २--० मध्ये पुर्वतर्फ मोही देव नारायण धामी कै लगत मध्येको भनी जोतभोग चलन कै आधारमा जोती भोगी आएको जग्गा हो । विपक्षीबाट प्रतिनिधि ज्ञान प्रसाद पोखरेललाई खटाई निजले वाली म सँग लिई मोही दर्ता प्रमाण पुर्जा पनी प्रदान गरिएको थियो । पछिल्लो साल देखि वाली बुझाउन जांदा बिपक्षी कार्यालयले बाली बुझि लिन इन्कार गरेको एक वर्षसम्म वाली नबुझाए, मोही पजनी गर्ने लालमोहरीया व्यवस्था अनुसार विपक्षीले मोही पजनी गर्ने भएकोले आफ्नो लगत दर्ता तिरोको जग्गामा वाली बुझि लिई उक्त जग्गाको भोग चलन र पुर्जा अनुसार कित्ताकाटं गरी दर्ता कायम गरी अव आईन्दा यस्तो लगत दर्ताको जग्गामा वाली लिन आलटाल नगर्नु भनी विपक्षीहरुको नाउँमा परमादेशको आदेश लगायत जो चाहिने आज्ञा आदेश वा पूर्जी जारी गरी पाउँ भन्ने समेत व्यहोराको निवेदकको यस अदालतमा पर्न आएको निवेदन ।

            ३. यसमा निवेदकको माग वमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? वाटाका म्याद बाहेक १५ दिनभित्र लिखित जवाफ लिई आफै वा आफ्नो प्रतिनिधिद्वारा उपस्थित हुनु भनी विपक्षीलाई सूचना पठाई पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालतको मिति २०५१।१२।६ को आदेश ।

            ४. विपक्षीको रिट निवेदनमा दावी गरेको सर्लाही समेतका जग्गा यस गुठीका लगतमा दर्ता थिएन अर्थात सो ठाउँमा जग्गा छन भन्ने कुरा अवगत थिएन । यस्तैमा श्री पशुपतिनाथको जग्गा पत्ता लागेको छ पशुपतिनाथको लगतमा दर्ता गरी पाउँ भनी स्थानिय व्यक्तिहरुको पत्राचार भै आएकोले तत्कालिन मुल पुजारीबाट सो कुरा खोली  श्री ५ महाराजाधिराज सरकारमा जाहेर भै त्यहाँबाट फाइल कारवाही क्रममा मंत्रीपरिषदमा गई सचिवस्तरबाट निर्णय समेत भएको छ । जग्गा दर्ता क्रममा वन विभाग र राजनैतिक सँगठनहरुले विरोध देखाएकोले श्री ५ को सरकार स्तरबाटै निर्णय हुन लेखापढी भै गएको छ । उक्त अनुसार पुर्जा प्राप्त नभै वाली नबुझेको सम्म हो । निर्णय भै आएमा वाली नलिने भन्ने प्रश्न नै आउदैन । मोही पजनी गर्ने नियतले वाली नबुझेको भन्ने झूठा निवेदन खारेज गरी पाउँ भन्ने समेत व्यहोराको पशुपतिनाथ भण्डार तहविल कार्यालय समेतको तालुकवाला मुल पुजारीको यस अदालतमा परेको लिखित जवाफ ।

            ५. नियम वमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत निवेदनमा निवेदन सहितको मिसिल अध्ययन गरी निवेदक तर्फबाट उपस्थित विद्वान अविधक्ता श्री सानुवावु पोखरेलले निवेदक विवादित जग्गाको मोही भएको कुरामा विवाद नभएको र यस्तो मोहीले वाली बुझाउनु पर्नेमा अन्यत्र कतै वाली बुझाउने व्यवस्थाको अभावमा विपक्षीले वाली बुझि लिन पर्नेमा नबुझेकोले कुत बुझि लिनु भन्ने परमादेशको आदेश जारी गरी पाउँ भन्ने वहस प्रस्तुत गर्नु भयो । त्यसैगरी विपक्षी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री कमल वहादुर बोगटीले उक्त जग्गा दर्ता गर्ने क्रममा श्री ५ को सरकार स्तरबाट कारवाही भै रहेको र उक्त कारवाही निर्णय भै पुर्जा प्राप्त भएपछि मात्र वाली बुझ्न मिल्ने हुँदा पुर्जा प्राप्त नभएको कारणले मात्र वाली नबुझेको हो । पुर्जा प्राप्त नभै सकेको अवस्थामा बाली बुझ्न पर्छ भन्ने निवेदन खारेज गरी पाउँ भन्ने वहस प्रस्तुत गर्नुभयो । दुवै पक्षका बहस समेत सुनी निवेदन सहितको मिसिल अध्ययन गरी उक्त निवेदन माग बमोजिमको आदेश जारी गर्नु पर्ने हो होईन भन्ने विषयमा निर्णय दिनु पर्ने हुन आयो ।

            ६. निर्णय तर्फ विचार गरी हेर्दा यस्मा निवेदनमा उल्लेखित जग्गाहरु श्री पशुपतिनाथ गुठीको नाममा दर्ता भै नसकेको कुरा निवेदक समेतले स्वीकार गरेका र सो जग्गाहरु दर्ता गराउन सम्वन्धित विभाग मन्त्रालय समेतमा विपक्षीबाट लेखापढी भै रहेको कुरालाई समेत अन्यथा भन्न सकिने देखिंदैन र विपक्षीले निवेदकले नै सो जग्गाहरु कमाई आएको कुरालाई स्वीकारै गरेको देखिन्छ । यसरी श्री पशुपतिनाथको नाममा दर्ता नै कायम नभै सकेको अवस्थामा दर्ता भए सरहको कुत बुझि लिने काम समेतमा वाधा पर्ने  स्वभाविक नै हो । यसरी दर्ता नै कायम भै नसकेको अवस्थामा विपक्षीलाई कुत बुझि लिन वाध्य गर्न नमिल्ने प्रष्टै देखिन्छ । विपक्षीको लिखित जवाफबाटै विवादित जग्गा समेत २०४८ साल देखि नै दर्ता तर्फ कारवाही चलि रहेको भन्ने देखिंदा त्यसतर्फ तदारुकताका साथ दर्ता कायम गराई पुर्जा प्राप्त गरी निवेदक समेतका जग्गा कमाउने हकबाट तिरो बुझि कित्ता छुट्याई कित्ताकांट दर्ता कायम समेत गराउनु विपक्षीको दायित्वलाई विपक्षी  समेतले ईकार गर्न सकेको देखिंदैन । सो कार्य विपक्षीबाट तदारुकता साथ सम्पन्न हुन पर्ने प्रष्टै देखिन्छ । हाललाई दर्ता नै कायम न भै सकेको अवस्थामा तिरो बुझ्ने समेतको कार्य गर्नु भनी परमादेश जारी गर्न नमिल्ने हुँदा रिट निवेदन खारेज हुन्छ । मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त  रायमा म सहमत छु ।

 

न्या. केदारनाथ आचार्य

 

इति सम्वत् २०५३ साल वैशाख ३ गते रोज २ शुभम्

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु