नेपाल कानून पत्रिका

शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७८०९ - खुन डाँका

भाग: ४९ साल: २०६४ महिना: बैशाख अंक:

निर्णय नं. ७८०९     ने.का.प.२०६४ अङ्क १

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री बलराम के.सी.

माननीय न्यायाधीश श्री पवनकुमार ओझा

सम्वत् २०६० सालको फौ.पु.नं.३०५६

सम्वत २०६० सालको फौ.पु.नं. ३५३४

फैसला मितिः २०६३।३।७।४

 

मुद्दा :खुन डाँका  ।

 

पुनरावेदक/वादीः टंकप्रसाद राजवंशीको जाहेरीले श्री ५ को सरकार

विरूद्ध

प्रत्यर्थी/प्रतिवादीः जिल्ला मोरङ आमगाछी गा.वि.स. वडा नं. ९ बस्ने बैद्यनाथ पण्डित समेत

 

पुनरावेदक/प्रतिवादीः जिल्ला मोरंग आमगाछी गा.वि.स. वडा नं. ९ घर भई हाल कारगार शाखा मोरंग विराटनगर मा थुनामा रहेको वैद्यनाथ पण्डीत

विरूद्ध

प्रत्यर्थी/वादीः टंकप्रसाद राजवंशीको जाहेरीले श्री ५ को सरकार

 

§  फौज्दारी मुद्दामा शंकारहित सवुद प्रमाणको महत्त्वपूर्ण भूमिका हुन्छ । बिना सवूद सजाय गर्न मिल्दैन । प्रमाण कानूनमा Eye Witness अर्थात चश्मदीत गवाहको महत्त्वपूर्ण भूमिका हुन्छ । चश्मदीद गवाहहरूले घटना देखेको भन्ने भनाईलाई अभियोग लागेको अभियुक्तले अदालत समक्ष जाँच्नु पाउन पर्ने ।

§  अदालत समक्ष त्यस्ता गवाहलाई पेश गरी अभियुक्तलाई गवाहको भनाई, बकाई सांचो हो होइन जिरह मार्फत परीक्षण गर्ने मौका प्रदान गर्नु पर्छ र त्यसरी त्यस्ता चश्मदीत गवाहलाई जाँच्न दिई साक्षी परीक्षणबाट गवाहको शंकारहित तवरबाट परीक्षण भएपछि  मात्र त्यस्ता गवाहहरूको बकाईलाई DirectOriginal Evidence  मानिन्छ र त्यस्ता गवाहको आधारमा अभियोग प्रमाणित भएको मानिने ।

 

§  जिरहबाट समेत प्रत्यक्षदर्शी गवाह भन्ने देखिएको हुँदा यी साक्षीहरू प्रमाण ऐन, २०३१ बमोजिम साक्षी हुन सक्ने व्यक्ति भई दफा ५० बमोजिम जिरह समेत भएको हुँदा उक्त साक्षीहरूको बकाई Legally admissible evidence मान्नुपर्ने ।

(प्रकरण नं.३४)

 

पुनरावेदक वादी तर्फबाटः विद्धान सहन्यायाधिवक्ता श्री राजेन्द्र पोखरेल

प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्धान अधिवक्ता श्री हरिहर दाहाल अधिवक्ता श्री कमल नयन पन्त

अवलम्बित नजीरः

फैसला

            न्या.वलराम के.सी.: न्याय प्रशासन ऐन, २०४८ को दफा ९ को उपदफा (१) को खण्ड (ख) र (ग) बमोजिम पुनरावेदन अदालत विराटनगरको मिति २०६०।१।१८।५ को फैसला उपर वादी एवं प्रतिवादी दुवै पक्षका तर्फबाट यस अदालतमा पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ ।

२.    मिति ०५२।१२।९ गतेका दिन साझको समयमा अपरिचित ७,८ जना मानिसहरू मेरो घरमा प्रवेश गरी आगनमा उभी राख्नु भएका वर्ष ६५ को मेरो बाबु वकलु लाल राजवंशीलाई तेरो धन सम्पति कहा, निकाल नभए तलाई मारी दिन्छौ भनी लाठी, कटुवा बन्दुक देखाई हप्काउदा तिमीहरूलाई मैले चिने भन्ना साथ बाबुलाई एक्कासी टाउको र छातिमा भालाले हानी दुब्लो पातलो शरीर भएको र्ण केही कालो अं. ३०,३५ वर्षको छोटो पातलो जुंगा, मसिनो सोर खबटे अनुहार भएको हिन्दु मधिसे जातको १ र अन्य ६,७ जना हुलिया प्रष्ट नभएका मधिसे मिया जातका देखिने मानिसहरू भई घटनास्थलमै बाबुलाई मारी नगद जिन्सी गरी रु ५८,१७०।बराबरको धनमाल डाँका गरी लगेका , गाउँका मानिस जम्मा हुँदा डाँकाहरू फरार भई गएकोले अपराधीहरू खोज तलास गरी पत्ता लगाई डाँका गरेको धनमाल दिलाई डाँका खुन गरेमा अपराधीहरलाई हदैसम्म सजाय गरिपाऊँ भन्ने ०५२।१२।१० को टंकप्रसाद राजवंशीको जाहेरी दरखास्त ।

३.    पूर्वमा कबुवा राजवंशीको घर, पश्चिम गोविन्दपुरबाट सुगाहाट जाने उत्तर दक्षिणको बाटो,उत्तरमा उदास राजवंशीको घर, दक्षिणमा सुकारु राजवंशीको घर यति ४ किल्ला भित्र पर्ने जिल्ला मोरंग गोविन्दपुर ४ बस्ने टंकप्रसाद राजवंशीको घर उत्तर दक्षिण लम्बाई भएको पूर्व मोडहा,पूर्व नै वरण्डा भएको फुसको २ तले घर, सो घरमा रहेका नगद तथा जिन्सी सामान गरी विगो रु ५८१७०।बराबरको धनमाल डाँका गरी लगेका उक्त ४ किल्ला भित्रमा रहेको बैठक घर आँगनमा  पूर्व पश्चिम पारी अं. १२ फिटको २ वटा सखुवाको बिम राखेको सो विम माथि टाउको अर्ध पश्चिम तर्फ ढल्की दाहिने खुटृा सिधा सो खुटृा हवाई चप्पल लगाई राखेको, बायाँ खुटृा फाटी तन्कीएको, र सो खुटृाको चप्पल २ मीटरको दुरी पश्चिममा लोटी चुडिई रहेको उक्त मृतक लासको दुवै खुटृाको पैतालाहरू खुनले भिजेको अवस्थामा रहेको मृतक लासलाई सेतो रंगको सुतिको धोतीले टाउको देखि खुटृा सम्म ढाकेको उघारी हेर्दा कपाल फुलेको निधारको बायाँ भागमा अं.१भालाले हानेको डोब, आखा दुवै खुल्ला, नाक सुख्खा, निधारबाट रगत चुहिघाटी छाति पुरै भिजेको र सुकेको मृतकको छातीको दाहिने पटिृ २गोलाई गहिरो निकै भएकोले भालाले हानेको प्वाल भएको अन्य भागमा कुनै चोटपटक नभएको, मृतक लाशको कपडा खोली हेर्दा लिङ्गबाट बिर्य निस्केको, मलद्धाराबाट दिसा ननिस्केको साथै उक्त लाशलाई पल्टाई वल्टाई हेर्दा थान १ गोलीको टुप्पो समेत फेला परेको हुँदा उक्त गोलीको टुप्पो प्रहरीले बरामद गरी लगेको हो भन्ने समेत व्यहोराको सूर्यकुमार भटृराई समेतको ०५२।१२।१० को घटनास्थल  लाश प्रकृति र बरामदी मुचुलका ।

४.    जाहेरवालाको घरमा खुन डाँका हुँदा म गाउँ घरमै छु हल्ला सुनी वारदातस्थलमा आई हेर्दा खबटे अनुहार अग्लो ५’’ जति भएको मधिसे जातको मानिसले मृतक बकलुलाल राजवंशीलाई भालाले रोपी सकेको रहेछन् । मलाई देख्नासाथ साले इधर आओ नहितो भाग जाओ तुमकोभी मारदेगें भन्ने सुन्नासाथ म डरले भागे, जाहेरवालाको घरमा के कति धन माल डाँका गरे एकीन खुलाउन सक्दिन भन्ने समेत व्यहोराको जिल्ला मोरंग गोविन्दपुर ४ बस्ने मौकामा गरिदिएको सूर्यनारायण चौधरीको ठाडो कागज ।

५.    मिति ०५२।१२।९ मा मेरा घरमा राति डाँका भए सम्बन्धमा हुलिया खोली जाहेरी दिई अनुसन्धान भई रहेकोमा हाल सुराक पत्ता लगाउदै जाँदा पूर्व हुलियामा उल्लेख भएको ठेगाना एकिन थाहा हुन नसकेको जिल्ला मोरङ्ग आमगाछी गा.वि.स.मा बस्ने बैद्यनाथ पण्डित १ समेतका महमद सुलेमान मिया, हैदरअली मिया, युदुस मिया, महमद सबीर मिया, किसन पासमान, हव्वु मिया समेतका ७ जना प्रतिवादी अपराधीहरूको नाम थाहा भयो मलाई पूर्ण विश्वास भई जाहेरी दिन आएको छु । निज बैजनाथ पण्डितबाटै अन्य अपराधीहरूको ठेगाना खुलाई आवश्यक कारवाही गरिपाऊँ भन्ने व्यहोराको पुनः ०५३।३।१४ मा टंकप्रसाद राजवंशीले दिएको थप जाहेरी दरखास्त ।

६.    जाहेरवालाको घरमा डाँका गर्ने योजना ०५२।१२।६ मा बनाई ०५२।१२।९ गते साझ ७.३० बजे म र मेरा साथी म. सुलेमान मिया, हैदर अली, युदुस मिया, , सगिर मिया, किसन पासमान, हव्वु मिया समेत भई डाका गरी जाहेरवालाले धान बेचेर ल्याएको रु २५ हजार मैले लिए मेरा साथीहरूले जिन्सी चाँदी संकलन गर्न थाले बकतुलालले तुमको चिन्ते है भने पछि हामी मध्येका साथीहरूले निजलाई भालाले हिर्काई मर्नेसम्मको अवस्था बनाएका थिए निजको मृत्यु भएको थिएन । हामीसँग बन्दुक भाला खुकुरी र पटका थिए । बन्दुक हाल जिल्ला प्र.का.सुनसरीमा छ । अन्य साथीहरू हात हतियार मुद्दामा कारागार शाखा मोरंगमा थुनामा छन् भन्ने समेत व्यहोराको प्रतिवादी वैद्यनाथ पण्डितको अधिकार प्राप्त अधिकारी समक्ष भएको बयान।

७.    जाहेरवालाको घरमा २,३ महिना अगाडि देखि काम काज गर्दै आएको छु, ०५२।१२।९ गते जाहेरवाला र म रंगेली आई साझमा घर पुगेको थियो, केही छिन पछि नचिनेका ७, ८ जना मानिस जाहेरवालाको घरमा प्रवेश गरी धनसम्पति खोजी गर्न थाले म ढोकाको च्यापबाट हेरी रहेको थिए । यहा प्रतिवादी भनी ल्याएका वैद्यनाथ पण्डित पनि रहेछन् मैले चिने अन्य डाकाहरू देखे चिन्छु डाकाहरूले परालको टालीमा आगो लाउदा डाकाहरू डगरमा निस्केका रहेछन् अरु मानिस जम्मा गरी घर आउँदा निज बकतुलाललाई भालाले हानी नगद जिन्सी डाका गरी लिई गएका हुन भन्ने समेत व्यहोराको राजकुमार राजवंशीको मौकामा भएको कागज ।

८.    ०५२।१२।९ गते म बिमारी भई घरकै वरण्डामा सुतिरहेको थिए । मेरो पति घर बाहिर गेट नेर उभिनु भएको थियो । त्यस्तैमा ७,८ जना मानिसहरू घरभित्र पसी हप्काइ दप्काई एकजना आगनमा रगाली बसी अर भित्र पसी धनमाल डाका गरी मेरो घाटीको चादीको माला समेत लुछी लगे भित्रबाट बाहिर निस्कदा मेरो पतिलाई भालाले हानी मारेका हुन । त्यहा आएका मानिसहरू मध्ये हालैमात्र देखिएका वैद्यनाथ पण्डित एक जना हुन् भन्ने समेत व्यहोराको हेमन देवी राजवंशीले मौकामा गरेको कागज ।

९.    ०५२।१२।९ गते साँझ अं.७ बजे म आगनको भान्सामा खाना बनाउन लागेकी थिए। आमा दलानमा सुत्नु भएको थियो । सोही बेला नचिनेको ७, ८ जना मानिस आई हिन्दी भाषामा बोली मलाई लौराले २ पटक हिर्काए र घरमा पसी डाका गरेर परालको टायलमा आगो लगाई दिए हाल देखाएका बैद्यनाथ पण्डित पनि सो अवस्थामा  थिए । म भागे को थिए, घर आउँदा डाँका भागि सकेका थिए । बुवालाई भालाले हानी मारी सकेका रहेछन् भन्ने समेत व्यहोराको मौकामा राजकुमारी राजवंशीले गरेको कागज ।

१०.    मिति ०५२।१२।९ गते साँझ ७ बजे जाहेरवालाको घरमा ठलो आवाज आएकोले के भयो भनी हामी गाउँका १०, १५ जनाको समुह भई वारदातस्थलतर्फ जाँदा जाहेरवालाको घर नजिक पुग्नासाथ नया व्याट्रिको फोर्स भएको टर्चले आँखामा बाली ज्यानको माया छैन भने यता आइज भनी डाकाहरूले भनेकोले हामी वारदात समयमा वारदातस्थल जान नसकी भाग्यौं । जाहेरवालाको घरको पश्चिम पट्टी रहेको परालको टालीमा आगो लगाइयो सो उज्यालोमा हेर्दा डाकाहरू सबै डगरमा निस्केका थिए । डाँकाहरूमध्ये घटनास्थलमा ल्याइएका प्रतिवादी भनिएका वैद्यनाथ पण्डित पनि थिए । अरु डाँकाहरू चिनिएनन्, डाँका गइसकेपछि घटनास्थलमा जाँदा बकतुलाल राजवंशीलाई भालाले हानी मारीसकेका रहेछन् पछि सुन्दा जाहेरीमा उल्लेख धनमाल डाका गरी लगेछन् भन्ने समेत व्यहोराको स्तुस्थिति मुचुलकाका भक्तिप्रसाद भटृराई समेतको मानिसहरूले बकी लेखाइ दिएको वस्तुस्थिति मुचुल्का ।

११.    मिति ०५२।१२।९ गते साझ ७ बजेको समयमा अपरिचित ७,८ जना मानिसहरू हातमा लाठी भाला हतियार बोकी घरमा आई आगनमा २,३ पटक पटका पडकाए सो बेला दाजु टंकप्रसाद डगरमा र बाबु ग्वाली घरमा हुनुहुन्थ्यो हामी दक्षिणकोठा भित्र राजकुमारसँग गफ गरी बसेको थियौं । डाकाहरू आई कुटपीट गरी डाका गर्न लागे । मैले लगाएका कान नाकको गहना समेत लुटे, डाँकाहरूले सामान लुटी आगनमा आएपछि बुवाले तोराहम चिनैछो भनेपछि पातलो शरिर भएको पहाडे मानिस जस्तो देखिने हाल नाम थाहा भएको वैद्यनाथ पण्डितले मेरो बुवालाई भालाले हान्यो बुवा लडेपछि २ जना भई लातले छातिमा टेकी भाला निकाली भागे सो बेला गाउँका मानिसहरू जम्मा भई पश्चिम पटिृको परालको टालीमा आगो लगाई डाँकाहरू पूर्वतर्फ भागे भन्ने समेत व्यहोराको मौकामा कागज गर्ने अगरबत्ती राजवंशीको कागज ।

१२.   उपरोक्त मैले जाहेरी दरखास्तमा भनिएका व्यक्ति दायाबाट हेर्दा तेस्रो र बायाँबाट हेर्दा दोश्रो व्यक्तिनै वैद्याथ पण्डित हुन । ०५२।१२।९ को खुन डाका वारदातमा निजलाई देखेको हो। मैले चिने सनाखत गरिदिए भन्ने समेत व्यहोराको मिति ०५३।३।२० को जाहेरवाला टंकप्रसाद राजवंशीको सनाखत कागज ।

१३.   विरूद्ध खण्डमा लेखिएका प्रतिवादीहरूले नै जाहेरवालाको घरमा वारदात घटाएको प्रष्ट भएकोले मुलुकी ऐन चोरीको १ नं. एवं ६ नं. बमोजिम कसूर गरी ऐ. ऐनको ज्यान सम्बन्धी महलको १ नं. एवं १३ नं. बमोजिमको समेत कसूर अपराध गरेकोले सम्पूर्ण प्रतिवादीहरूलाई मु. ऐन चोरीको १४(४) एवं ज्यान सम्बन्धी महलको १३(३) नं. बमोजिम सजाय गरी चोरीको १०(३) नं. बमोजिम डाँका गरी लगेको विगो समेत जाहेरवालालाई प्रतिवादीहरूबाट दिलाई भराई पाउँ साथै विरूद्ध खण्डमा २ नं. देखि ७ नं. सम्मका प्रतिवादी हाल जिल्ला प्र.का. सुनसरीको हात हतियार मुद्दाबाट कारागार शाखा, मोरङ्गमा थुनामा रहेकोले कानून बमोजिम उपस्थित गराई पाउँ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारको अभियोग पत्र मागदावी ।

१४.   ०५२।१२।९ का दिन म विराटनगरमा आदिवासी बैठकमा भाग लिन आई ऐ. १० गते ३ बजे मात्र घर आपगाछीमा फर्केको हुँ । जाहेरवाला टंकप्रसाद राजवंशीसँग  चिनजान इवि समेत छैन । मैले डाँका गरी जाहेरवालाका बाबुलाई मारेको होइन । वारदात सम्बन्धमा मलाई थाहा छैन । म ०५३।३।१० गते हात हतियार मुद्दाबाट तारेखमा छुटनासाथ प्रहरीले पक्राउ गरी १७ गते सम्म त्यसै राखी ऐ. १८ गते अदालतमा म्याद थप गरेका हुन् । मैले २० गते इन्कारी बयान सरकारी वकील समक्ष गरेकोमा सो च्याति मलाई रंगेली थानमा कुटपीट गरी जबरजस्ती अर्को बयान लेखी सही गराएका हुन् । मौकाको मेरो बयान स्वेच्छाले गरेको होइन, यस अदालतमा निवेदन दिई अस्पतालबाट घाँ जाच समेत भएको छ । अतः मैले कुनै कसूर नगरेकोले अभियोग दावीबाट सफाई पाउँ भन्ने समेत व्यहोराको अभियोग पत्र साथ उपस्थित गराइएका प्रतिवादी वैद्यनाथ पण्डितले अदालतमा गरेको बयान ।

१५.   ०५२।१२।९ गते म आफ्नै घरमा छु । जाहेरवालाको घरमा डाँका खुन म समेत भई गरेको होइन । वारदात भए सम्बन्धमा मलाई केही थाहा छैन । अन्य प्रतिवादीहरूलाई चिन्दिन । म हात हतियार मुद्दामा यही श्रावण ३२ गते कारागारबाट छुटी प्रहरीले पक्राउ गरी उपस्थित गराएका हुन । म उपर झुठा अभियोग हुँदा अभियोग दावीबाट फुर्सत पाउँ भन्ने समेत व्यहोराको प्र. मोहम्मद सगिर मियाले शुरु अदालतमा ०५३।५।३ मा गरेको बयान ।

१६.    मिति ०५२।१२।९ गते दिन रात म आफ्नो घर गाउँमा नै छु । जाहेरवालालाई चिन्दिन । उक्त दिन जाहेरवालाको घरमा डाँका खुनको वारदात घटे सम्बन्धमा मलाई थाहा छैन। मैले गरेको होइन । सुनाइएका प्रतिवादीहरूलाई कारागार शाखा मोरङ्गमा थुनामा रहदा चिनजान भएको हो । म हात हतियार मुद्दामा ०५३।२।३१ देखि थुनामा रही ०५३।५।१० गते धरौटीमा छुटेको हुँ । म उपरको अभियोग मागदावी झुठा हुँदा फुर्सत पाउँ भन्ने समेत व्यहोराको प्र.हव्वु मियाँले ०५३।५।११ मा शुरु अदालतमा गरेको बयान ।

१७.   जाहेरवाला प्रतिवादीहरू समेतलाई चिन्दिन । ०५२।१२।९ गते दिन रात उर्लाबारी पश्चिम तेजबहादुर ईंटा भटृामा काम गरी बसेको छु । जाहेरवालाको घरमा भएको डाँका वारदातका सम्बन्धमा मलाई थाहा छैन । मैले डाँका वारदात गरेको होइन । म ०५३ साल बैशाख २९ गते हात हतियार मुद्दामा पक्राउ परी थुनामा रहेको छु । मैले अभियोग बमोजिमको कुनै कसूर नगरेको हुनाले अभियोग दावीबाट सफाई पाउँ भन्ने समेत व्यहोराको प्र. किसन पासवानले अदालतमा गरेको बयान ।

१८.   जाहेरवालालाई चिन्दिन सुनाइएका प्रतिवादीहरूलाई हातहतियार मुद्दामा कारागार शाखामा चिनजान भएको हो । ०५२।१२।९ गते म आफ्नो घर डेरामै छु । अन्य प्रतिवादीहरूसँग भेट भएन । जाहेरवालाको घरमा वारदात भयो भएन मलाई थाहा छैन, मैले खुन डाँका वारदात गरेको छैन । बैद्यनाथले अधिकार प्राप्त अधिकारी समक्ष किन पोल गरे भन्न सक्तिन । मैले अभियोग दावी बमोजिमको कुनै कसूर नगरेको हुँदा सफाई पाउँ भन्ने समेत व्यहोराको प्र.हैदर अलि मियाले अदालतमा गरेको बयान ।

१९.    ०५२।१२।९ गते म दिनरात आफ्नै घरमा छु । प्रतिवादीहरू कसैसँग पनि भेट भएन । जाहेरवालाको घरमा सो दिन भएका खुनडाँकाका सम्बन्धमा मलाई थाहा छैन, मैले जाहेरवालाका घरमा खुन डाँका गरेको होइन । प्र .वैद्यनाथ पण्डितलाई चिन्दिन । निजले प्रहरीमा बयान गर्दा किन पोल गरे भन्न सक्तिन । मैले अभियोग दावी बमोजिमको कुनै कसूर नगरेको हुनाले अभियोग दावीबाट सफाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी महमद सुलेमान मियाले अदालतमा गरेको बयान ।

२०.   ०५२।१२।९ गते म भारतको बनारसमा गलैचा फ्याक्ट्रीमा काम गरी बसेको थिए । ०५३ साल बैशाख २६ गते मात्र नेपाल आएको थिए । जाहेरवालाको घरमा भएको खुन डाँका वारदातका सम्बन्धमा मलाई केही थाहा छैन । मैले खुन डाँका गरेको होइन, अभियोग दावी बमोजिम मैले कुनै कसूर नगरेकोले निर्दोष हुँदा सफाई पाउँ भन्ने समेत व्यहोराको प्र.युदुस मियाले कारागार मार्फत उपस्थित भई शुरु अदालतमा गरेको बयान ।

२१.   यसमा प्रतिवादीहरू उपरको आरोपको सवुत प्रमाणहरूबाट पुष्ट्याई हुन नसकेकोले प्रतिवादीहरूले सफाई पाउने र वादी श्री ५ को सरकारको अभियोग दावी पुग्न नसक्ने ठहर्छ भन्ने शुर मोर जिल्ला अदालतको मिति ०५७।१।६।३ को फैसला ।

२२.   प्रतिवादी वैद्यनाथ पण्डितले अधिकार प्राप्त अधिकारी समक्ष बयान गर्दा कसूरमा सावित रही अन्य प्रतिवादीहरू समेतलाई पोल गरी कसूर पुष्टयाई भइरहेको स्थितिमा अदालतमा इन्कारी बयान गर्दैमा प्रतिवादीहरूलाई सफाई दिने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा सो फैसला उल्टी गरी प्रतिवादीहरूलाई अभियोग मागदावी बमोजिम सजाय गरि पाउँ भन्ने समेत पुनरावेदन अदालत विराटनगरमा परेको पुनरावेदन पत्र ।

२३.   यसमा ०५३।३।१४ को किटानी जाहेरीलाई समर्थन गर्दै जाहेरवालाले अदालतमा गरेको बकपत्र, मौकामा कागज गर्ने चश्मदीद राजकुमारीको बकपत्र, र कर्तव्य तथा डाँकाको वारदातमा विवाद नभएको तथ्यबाट प्र. वैद्यनाथ पण्डितको मौकाको साविती प्रमाणित भइ रहेको समेतको प्रमाणलाई वेवास्ता गरी प्रतिवादीहरूलाई सफाई दिएको शुरु फैसला फरक पर्ने देखिंदा अ.वं. २०२ नं. बमोजिम विपक्षी झिकाउनु भन्ने अदालतको मिति ०५७।११।२८ को आदेश ।

२४.   अदालतमा बकपत्र गर्ने राजकुमारी राजवंशीले वैद्यनाथलाई चिने तर अध्यारो थियो भनी उल्लेख गरेको र मानिस चिनेपछि सो कुरा घरमा व्यक्त नगर्नु र जाहेरीमा उल्लेख हुन नसक्नु र पछि आएर नमिल्नुलाई तथ्यपरक भनाई मान्न मिल्दैन । राजकुमारी र अगरबत्तिको भनाई र ०५२।१२।१० को जाहेरी दरखास्तसँग  मेल नखाएपछि निजहरूको किटानी विश्वासप्रद नभएकोले शुरुले न्यायीक मनको प्रयोग गरी सफाई दिने ठहराई गरेको फैसला सदर गरी पाउँ भन्ने समेत प्रतिवादी बैद्यनाथ पण्डितको लिखित प्रतिवाद ।

२५.   अभियोग माग दावी बमोजिम प्र.वैद्यनाथ पण्डितले मृतक बकतुलाल राजवंशीलाई कर्तव्य गरी मारेकोले ज्यान सम्बन्धीको १३(१) बमोजिमको कसूर गरी मृतकको घरबाट रु २५०००।अन्य व्यक्तिहरूसँग मिली जबरजस्तीसँग लगेकोमा पनि सावितै हुँदा चोरीको महलको १४(४) नं. बमोजिमको कसूर गरेको ठहर्छ । सो ठहर्नाले निज प्र. वैद्यनाथ पण्डितलाई ऐ. ज्यान सम्बन्धीको १३(३) नं. बमोजिम जन्मकैदको सजाय हुन्छ । अरु बाँकी प्रतिवादीहरूलाई आरोपित कसूरबाट सफाई दिएको हदसम्म शुरु फैसला मिलेकैले मोरङ्ग जिल्ला अदालतबाट मिति ०५७।१।६।३ मा भएको फैसला केही उल्टी हुन्छ भन्ने समेत पुनरावेदन अदालत विराटनगरको मिति २०६०।१।१८।५ को फैसला ।

२६.   बकतुलाल राजवंशीलाई भाला प्रहार गरी मारी विगो रु ५८,१७०।डाँका गरी लगेको पुष्टी भैरहेको अवस्था प्रतिवादी मध्येका वैद्यनाथ पण्डितको हकमा कसूर ठहर गरे पनि आधार कारण नखुलाई माग दावी भन्दा घटी विगो कायम गर्न मिल्ने होइन । जाहेरीमा उल्लेखीत तौर तरिकाबाट गरिएको वारदात एकजना व्यक्तिले गर्न सम्भव छैन । मौकामा दिएको हुलिया जाहेरीबाट सबै प्रतिवादीहरू वारदातमा संलग्न रहेको देखिन्छ । प्रतिवादी वैद्यनाथ पण्डित लगायत उक्त वारदातमा संलग्न रहेका अन्य प्रतिवादीहरू हात हतियार सहित सुनसरी जिल्लामासगै पक्राउ परेको तथ्य मिसिलबाट खुली रहेको हुँदा प्रतिवादी वैद्यनाथको भनाई पुष्टी भै सबै प्रतिवादीहरू अपराधीक कृयाकलापमा संलग्न रहेको पुष्टि भैरहेको छ । वारदातमा संलग्न रहेको भनी घटनाबाट पीडित तथा प्रत्यक्षदर्शीहरूले अदालत समक्ष उपस्थित भै गढाउ गरेका प्रतिवादी वैद्यनाथ पण्डीत र निजको मौकाको बयानबाट निजको सहयोगीको रुपमा वारदातस्थलमा उपस्थित भै डाँका गर्ने अन्य प्रतिवादीहरू समेतलाई कसूरदार ठहर गरिनु पर्नेमा प्रमाणहरूको यथोचित मूल्याङ्कन नगरी प्रतिवादीहरूलाई सफाई दिनुपर्ने आधार कारणहरू समेत प्रष्ट उल्लेख नगरी भएको पुनरावेदन अदालत विराटनगरको फैसला वैद्यनाथ पण्डितको हकमा कम विगो कायम गरेको र अन्य प्रतिवादीहरूको हकमा आरोपित कसूर ठहर नगरेको हदसम्म त्रुटीपूर्ण हुँदा सो हदसम्म उक्त फैसला बदर गरी प्रतिवादीहरूलाई अभियोग मागदावी बमोजिम सजाय गरिपाऊँ भन्ने समेत यस अदालतमा पर्न आएको वादी श्री ५ को सरकारको पुनरावेदन पत्र ।

२७.   हेमन देवी समेतका प्रत्यक्षदर्शीहरूले मलाई चिनेको भए वारदातको भोलिपल्ट दिएको जाहेरीमा मेरो नाउँ उल्लेख हुनुपर्नेमा सो उल्लेख गर्न नसकी ३ महिनापछि दिएको जाहेरीमा मात्र प्रतिवादीहरूको नाम उल्लेख गरेको देखिन्छ । अभियुक्त पहिचान भएको भए मौकाकै जाहेरीमा उल्लेख गर्न सक्नुपथ्र्यो  । प्रहरी र जाहेरवालाको मिलेमतोबाट मात्र दोश्रो जाहेरीमा नाम उल्लेख गरेको हो । प्रत्यक्षदर्शी एवं जाहेरवालाको बयान बकपत्रबाट नै ठाडो कागज गर्ने व्यक्तिहरूको भनाई र जाहेरवालाको भनाई परस्पर बाझी झुठा प्रमाणित भएको छ । मलाई कुटपीट गरी गराएको बयानलाई आधार प्रमाण बनाई फैसला भएको मिलेको छैन । वारदातको दिन मिति ०५२।१२।९ मा म विराटनगरमा भएको कुरा साक्षी बासुदेव सुतिहारले अदालतमा गरेको बकपत्रबाट पुष्टि भैरहेको छ । विभिन्न विगो रकम उल्लेख गरी विगोको अंकको हकमा फैसला खण्ड आफै बाझिएको छ । शुरु इन्साफ उल्टी गरी मलाई कसूरदार ठहराएको पुनरावेदन अदालत विराटनगरको त्रुटीपूर्ण फैसला बदर गरी मलाई सफाई दिने गरेको शुरु मोरङ्ग जिल्ला अदालतको फैसला सदर कायम गरिपाऊँ भन्ने समेत व्यहोराको यस अदालतमा पर्न आएको प्रतिवादी वैद्यनाथ पण्डितको पुनरावेदन पत्र ।

२८.   यसमा प्रत्यक्षदर्शी भनीएका मृतककी श्रीमती हेमन देवी छोरी राजकुमारी, अगरबत्ती राजवंशी समेतका व्यक्तिहरूले मौकामै प्रतिवादीहरूलाई देखे चिनेको भए सो कुरा समेत उल्लेख गरी पहिलो पटक मिति २०५२।१२।१० मा दिएको जाहेरी दरखास्तमै प्रतिवादीहरूको नाम खुलाई जाहेरी दिनुपर्नेमा सो गर्न सकेको देखिदैन । अधिकार प्राप्त अधिकारी समक्ष भएको बयान कुटपीटबाट जबरजस्ती गराइएको भन्ने प्रतिवादीको भनाई भई अदालतको आदेशानुसार गराइएको २०५३।३।२१ को घाँ जाँच प्रतिवेदनबाट प्रतिवादी वैद्यनाथको शरीरमा घाउचोट आदि देखिएको अवस्थामा त्यस्तो बयानलाई समेत आधारमा लिई अदालतमा इन्कारी बयान गर्ने प्रतिवादीलाई आरोपित कसूर शंकारहित तवरबाट प्रमाणित हुने ठोस सवुत प्रमाणको अभावमा ज्यान सम्बन्धी महलको १३(३) नं.को कसूर गरेको एवं एक जना प्रतिवादीले डाँकाको वारदात गरेको ठहराएको पुनरावेदन अदालत विराटनगरको मिति ०६०।१।१८ को फैसला फरक पर्न सक्ने देखिदा अ.वं.२०२ नं. बमोजिम छलफलको लागि महान्यायाधिवक्ताको कार्यालयलाई पेशीको सूचना दिई नियमानुसार पेश गर्नु भन्ने यस अदालत संयुक्त इजलासबाट भएको आदेश । 

२९.   यसमा किटानी जाहेरी दरखास्त रहेको र प्रतिवादीहरूले अधिकार प्राप्त अधिकारी समक्ष सम्पूर्ण एवं घटनाक्रमलाई उल्लेख गरी बयान गरेकोमा एउटै वारदातमा संलग्न रहेका विभिन्न व्यक्तिहरू मध्ये प्रतिवादी वैद्यनाथ पण्डितलाई मात्र कसूरदार ठहर्याई अर प्रतिवादीहरूलाई सफाई दिई पुनरावेदन अदालतले फैसला गरेको अवस्था देखिन्छ । डाँकाको वारदात स्थापित हुन चोरीको ६ नं.ले अनिवार्य रपमा कम्तीमा चार जना भन्दा बढी व्यक्तिहरूको संलग्नता हुनुपर्ने कानूनी व्यवस्था गरेको र अन्य प्रतिवादीहरूले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयानलाई कसूरदार कायम गरेका प्रतिवादी वैद्यनाथ पण्डितको बयानबाट पुष्टि भै रहेको परिप्रेक्ष्यमा अन्य प्रतिवादीहरूलाई सफाई दिई गरेको पुनरावेदन अदालत विराटनगरको फैसला फरक पर्न सक्ने हुँदा छलफलको निमित्त अ.वं.२०२ नं. बमोजिम प्रत्यर्थी प्रतिवादीहरू किसन, हव्वु मिया, हैदरअलि मिया, युदुस मियाँ, हम्मद सगिरमियाँ र सुलेमान मियाँ समेतलाई झिकाई लगाउको फौ.पु.नं.३५३४ समेत साथै राखी नियमानुसार पेश गर्नु भन्ने यस अदालत संयुक्त इजलासको मिति ०६२।१।२ को आदेश ।

३०.   नियम बमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको सम्बन्धित मिसिल अध्ययन गरी पुनरावेदक वादी श्री ५ को सरकारका तर्फबाट खटी आउनु भएका महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता श्री राजेन्द्र पोख्रेलले वारदातको प्रकृतिबाट पनि एक जनाले मात्र घटना घटाउन सक्ने देखिदैन । प्रतिवादीले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयानलाई घटनाका प्रत्यक्षदर्शीहरूको बयानबाट समेत पुष्टि भै घटनाको प्रकृतिले पनि समर्थित भैरहेको अवस्था छ । अपराध भएको पुष्टि भैरहेको अवस्थामा प्रतिवादी वैद्यनाथ पण्डितबाट मागदावी भन्दा कम विगो भराउने गरेको नमिल्नुका साथै डाँका वारदात भएको अवस्थामा अन्य प्रतिवादीहरूलाई सफाई दिने गरेको पुनरावेदन अदालतको फैसला नमिलेकोले सबै प्रतिवादीहरूलाई अभियोग मागदावी  बमोजिम सजाय गरी पाउँ भन्ने समेत बहस प्रस्तुत गर्नु भएको र अर्का पुनरावेदक प्रतिवादी वैद्यनाथ पण्डितका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री हरिहर दाहाल र अधिवक्ता श्री कमल नयन पन्तले मौकामा नै देखेको भनी प्रत्यक्षदर्शीले बयान गरेको भएपनि वारदातको भोलीपल्टै दिएको जाहेरीमा नाम खुलाउन सकेको छैन । ३ महिना पछि नाम उल्लेख गरी पुन जाहेरी दिएको छ । पक्राउ भएको प्रतिवादीलाई कुटपीट गरी अनुचीत दबावमा पारी बयान गराएको छ । सो कुरा घा जाँचबाट पनि पुष्टि हुन्छ । भालाले रोपेको भनेकोमा भाला बरामद भएको छैन । अन्य प्रतिवादीहरूले सफाई पाइरहेको अवस्थामा एकजनाले मात्र डाँका गरेको भन्न मिल्दैन । शंकाको सुविधा अभियुक्तले पाउनु पर्दछ । घटनाक्रम हेर्दा अ.वं.१८८ नं. प्रयोग गरी कम मात्र सजाय गर्न सक्ने अवस्थाको विद्यमानता देखिन्छ भन्ने समेत प्रस्तुत गर्नु भएको बहस समेत सुनियो ।

३१.   निर्णय तर्फ विचार गर्दा पुनरावेदन अदालतको फैसला मिलेको छ छैन ? पुनरावेदकहरूको पुनरावेदन जिकीर पुग्न सक्ने नसक्ने के हो हेरी सो को निर्णय दिनुपर्ने देखिन आयो ।

३२.   यसमा वादी श्री ५ को सरकारको पुनरावेदन तर्फ विचार गर्दा सफाई पाएका सुलेमान  मिया लगायतका प्रतिवादीहरू अदालतमा बयान गर्दा कसूर गरेमा इन्कार रही आफू निर्दोष रहेको भन्ने बयान गरेको देखियो । प्रहरीले अनुसन्धानको बखत कागज गराएको व्यक्तिहरू टंकप्रसाद राजवंशी, हेमन देवी राजवंशी, राजकुमारी राजवंशी समेतका र सनाखत मुचुल्का तथा वस्तु स्थिति मुचुल्कामा बस्ने व्यक्तिहरू भक्तिप्रसाद भट्टराई, तिलबहादुर लिम्बु र सुखारु राजवंशी समेत कसैले पनि प्रतिवादीहरूलाई वारदातस्थल र वारदात गरे गराएको देखेको भनी पोल गरी बकेको देखिएन । सो बाहेक प्रतिवादीहरू घटनास्थलमा पक्राउ भएको पनि नदेखिएको र प्रतिवादीहरूका साथबाट र निजहरूको घरबाट समेत अपराधसँग  सम्बन्धित कुनै वस्तु समेत बरामद भएको नदेखिएको प्र.बैद्यनाथको पोल बाहेक अन्य कुनै स्वतन्त्र प्रमाणद्धारा पुष्टि हुन नसकेकोले प्रतिवादीहरू किसन पासवान, हव्वु मियाँ, हैदर अलि मियाँ, महम्मद सुलेमान मियाँ, युदुस मियाँ, महम्मद सगिर मियाँलाई शुरु जिल्ला अदालतबाट सफाई दिने ठहराएको फैसला सदर गर्ने गरेको अर्को पुनरावेदन अदालत विराटनगरको इन्साफ मनासि ठहर्छ ।

३३.   प्रतिवादी वैद्यनाथ पण्डितको पुनरावेदन जिकीरको हकमा विचार गर्दा अधिकार प्राप्त अधिकारी समक्ष बयान गर्दा वारदात गरे गराएमा निज वैद्यनाथ सावित भई बयान गरेको देखिन्छ । प्रतिवादी वैद्यनाथ पण्डितले अदालतमा बयान गर्दा कसूर गरेकोमा इन्कार रही बयान गरेपनि मौकामा मृतकको छोराले दिएको जाहेरीमा निजको नाउँ उल्लेख नभएपनि निजको मिल्दो जुल्दो वर्णनात्मक हुलिया जाहेरी दिएकोमा निजको हुलियासँग प्रतिवादी वैद्यनाथको हुलिया नमिलेको भन्ने नदेखिएको र यसको साथै वारदात हुँदा वारदातस्थल, मृतकको घरमा रहेको मृतकको श्रीमती हेमनदेवी छोरी राजकुमारी, छोरी अगरबत्ति लगायत वरपरका मानिसहरूको अनुसन्धानको क्रममा प्रहरीले कागज गराउँदा मृतककी छोरी अगरबत्ती राजवंशी, टंकप्रसाद राजवंशी, राजकुमारी राजवंशी, वस्तुस्थिति मुचुल्काका मानिसहरू तिलबहादुर लिम्बु र भक्तिप्रसाद भटृराई, प्रेमलाल राजवंशी लगायतका मानिसहरूले प्रतिवादी वैद्यनाथलाई सनाखत समेत गर्दै उक्त वारदातमा प्रतिवादी वैद्यनाथ संलग्न भई वारदात गरे गराएको आफ्नो आँखाले देखेको भनी किटानी बकपत्र गरिदिएको देखियो ।

३४.   फौज्दारी मुद्दामा शंकारहित सवुद प्रमाणको महत्त्वपूर्ण भूमिका हुन्छ । बिना सवद सजाय गर्न मिल्दैन । प्रमाण कानूनमा Eye Witness अर्थात चश्मदित गवाहको महत्वपूर्ण भूमिका हुन्छ । प्रमाण कानून अनुसार त्यस्ता चश्मदिद गवाह DirectOriginal Evidence मानिन्छ । त्यस्ता चश्मदीद गवाहरूले घटना देखेको भन्ने भनाईलाई अभियोग लागेको अभियुक्तले अदालत समक्ष जाँच्नु पाउनु पर्दछ । मुद्दा चलाउने निकाय अर्थात वादी जसले आफ्नो अभियोगको समर्थनमा चश्मदीद गवाह पेश गर्ने दायित्व राख्दछ । अदालत समक्ष त्यस्ता गवाहलाई पेश गरी अभियुक्तलाई त्यस्तो गवाहको भनाई बकाई साचो हो होइन जिरह मार्फत परीक्षण गर्ने मौका प्रदान गर्नु पर्छ र त्यसरी त्यस्ता चश्मदीत गवाहलाई जाँच्न दिएपछि साक्षी परीक्षणबाट त्यस्तो गवाहको शंकारहित तवरबाट परीक्षण भएपछि  मात्र त्यस्ता गवाहहरूको बकाईलाई DirectOriginal Evidence मानिन्छ र त्यस्ता गवाहको आधारमा अभियोग प्रमाणित भएको मानिन्छ । त्यसै कारणले गर्दा हाम्रो प्रमाण सम्बन्धी कानून प्रमाण ऐन, २०३१ ले कुनै काम घटना वा अवस्था प्रत्यक्ष रपले देख्ने वा थाहा पाउने व्यक्ति र कुनै काम घटना वा अवस्थाबाट पित व्यक्तिले व्यक्त गरेको कुरा प्रमाणमा लिन हुन्छ भन्ने व्यवस्था गरेको छ । मौकामा वारदात भएको देख्ने राजकुमार राजवंशी, हेमनदेवी राजवंशी, अगरबत्ती राजवंशी, राजकुमारी राजवंशी, मुक्तीप्रसाद भटृराई, टंकप्रसाद राजवंशी समेत यी प्रतिवादी वैद्यनाथ पण्डितले भाला प्रहार गरी मृतक बकतु लाल राजवंशीलाई कर्तव्य गरी मारेको हो भनी मौका एंव अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयानलाई पुष्टि हुने गरी वैद्यनाथ पण्डितको कर्तव्यबाट नै मृतकको मृत्यु भएको हो भनी अदालतमा उपस्थित भै बकपत्र समेत गरेको पाइन्छ । उल्लेखित व्यक्तिहरू जिरहबाट समेत प्रत्यक्षदर्शी गवाह भन्ने देखिएको हुँदा यी साक्षीहरू प्रमाण ऐन, २०३१ बमोजिम साक्षी हुन सक्ने व्यक्ति भई दफा ५० बमोजिम जिरह समेत भएको हुँदा उक्त साक्षीहरूको बकाई Legally admissible evidence मान्नु पर्छ ।

३५.   उपरोक्त गवाहहरूले प्रतिवादी वैद्यनाथलाई किटानी पोल गरी वारदातस्थलमा देखेको भनी किन पोल गर्न परेको हो सो को कुनै आधार कारण द्धारा प्रतिवादी वैद्यनाथ पण्डितले पुष्टि गर्न सकेको देखिदैन । अतः घटनास्थलमा प्रतिवादी वैद्यनाथ पण्डितलाई देखेको भनी लेखाउने उक्त गवाहरूको बकपत्रलाई विश्वास गर्न नपर्ने कुनै कारण देखिएन । तसर्थ उक्त गवाहहरूको बकपत्रबाट प्रतिवादी वैद्यनाथ पण्डित वारदातस्थलमा उपस्थित भै घटना घटाएको स्थापित भएको र निजको कर्तव्यबाट मृतक बकतुलालको मृत्यु भएको पुष्टि हुन आएको हुँदा प्रतिवादी वैद्यनाथ पण्डितको हकमा पुनरावेदन अदालतले गरेको सजाय मिलेकै देखिदा सदर हुन्छ । चोरी गर्न जाँदा भाला प्रयोग गरी ज्यान समेत मारेको ज्यान सम्बन्धी कसूर गरेकोमा प्रतिवादीहरूलाई समेत सजाय गरिपाऊँ भन्ने वादीको पुनरावेदन जिकीर पुग्न सक्दैन । प्रतिवादी वैद्यनाथ पण्डितलाई हुने सजायको हकमा विचार गर्दा अपराध गरेको अवस्था परिस्थिति दृष्टिगत गर्दा कसूरदारलाई ऐनले गर्नुपर्ने बमोजिमको सजाय दिदा चर्को हुने देखिदा अ.वं.१८८ नं.ले १५ पन्ध्र वर्ष कैद हुन्छ। अर तपसील बमोजिम गर्नु ।

 

तपसिल

 

माथि इन्साफ खण्डमा लेखीए बमोजिम प्रतिवादी वैद्यनाथ पण्डितलाई अ.वं.१८८ नं.ले १५(पन्ध्र) वर्ष कैद हुने भएको र अरुमा पुनरावेदन अदालत मोरंगको फैसला सदर हुने ठहरेकोले पुनरावेदन अदालत मोरंगको मिति २०६०।१।१८।५ को फैसलाको तपसिल खण्ड मध्यको देहाय (१) को लगत कटृा गरी सो को सटृामा प्रतिवादी वैद्यनाथ पण्डितलाई कैद वर्ष १५(पन्ध्र) हुने भएकोले निजको हकमा  कैद  वर्ष  १५ (पन्ध्र) को सजायको लगत कसी असुल गर्नु भनी शुरु मोरंग जिल्ला अदालतमा लेखी पठाई दिनु ..........................१ सरोकारवालाले नक्कल माग गरेमा लाग्ने दस्तुर लिई कानूनको रित पुर्याई नक्कल दिनु .....१ मिसिल नियमानुसार गरी बुझाई दिनु.....................१

        

उक्त रायमा म सहमत छु ।

 

न्या.पवनकुमार ओझा

 

इति सम्वत २०६३ साल आषाढ महिना ७ गते रोज ४ शुभम् ................

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु