शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६२५६ - लेनदेन

भाग: ३८ साल: २०५३ महिना: पौस अंक:

निर्णय  नं.६२५६   अङ्क ९ ने.का.प. ०५३

 

संयूक्त इजलास

माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ

माननीय न्यायाधीश श्री केदारनाथ आचार्य

सम्बत् २०५१ सालको दे.पू.नं. २८९९

फैसला मितिः २०५३।३।२८।३

 

मुद्दा : लेनदेन ।

 

पुनरावेदक

वादीः  का.जि.का.न.पा.वडा नं. ज्ञ

      कमलपोखरी वस्ने तिर्थ सम्शेर थापा

विरुद्द

विपक्षी

प्रतिवादीःजि.सप्तरी रामपुर गा.बि.स.वडा नं.७ वस्ने विश्‍वनाथ यादव ।

 

      वादीले फिराद साथ पेश गरेको २०३६।१०।८ को सक्कल तमसूक हेर्दा लिखतको तेश्रो हरफमा अक्षर थपिएको तर थपिएको ठाउंमा कारणीको सही नपरेको र लिखतको एघारौं हरफमा लिखतको मुख्य थैलीको शुरू अंक सच्याएको र त्यसैको माथि सताइस सौं पैतालिस भन्ने लेखि कारणीको सहिछाप नभएको र लिखतको बिभिन्न ठाउंमा नमिल्दो तरिकावाट अक्षर थपिएको देखिन्छ कूनै कागज पत्रमा गल्तिले केरमेट गरेको र थपेकोमा समेत अरु अंक अक्षर थप्न नहुने गरि दांया दुवै तर्फ सो कागजमा सहि गर्ने मुख्य कारणीको सहि गराउनु पर्ने कानूनी व्यवस्था मुलुकी ऐन कागज जांचको ४ नं. मा भएको पाइन्छ । उक्त कानूनी व्यवस्था वमोजिम सो लिखतमा थपिएको र सच्याइएको ठाउंमा कारणीको सहिछाप भएको नदेखिंदा सो २०३६।१०।८ को तमसूक कागज जांचको ४ नं.को कानूनी व्यवस्था वमोजिम रीत पूर्याई तयार भएको नदेखिने ।       

(प्र.नं.११)

      विवादित लिखतमा मुख्य थैलीको अंक नै सच्याएको प्रष्ट देखिनुको साथै कागज जांचको ४ नं. बमोजिम रीत पूगेको समेत नदेखिंदा त्यस्तो विवादास्पद लिखतवाट वादी दावी वमोजिम सांवा व्याज भराउन नमिल्ने ।                    

 (प्र.नं. १२)

 

पुनरावेदक वादी तर्फवाटः

विपक्षी प्रतिवादी तर्फवाटः

अवलम्वित नजीरः

 

फैसला

     न्या.ओमभक्त श्रेष्ठः पुनरावेदन अदालत राजविराजको मिति २०४८।९।१ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२ अन्तरगत मुद्दा दोहोर्‍याई पाउं भन्ने निवेदन परि दोहोर्‍याउने निस्सा प्रदान भएको प्रस्तुत मुद्दाको तथ्य एवं ठहर यस प्रकार छ ।

      १. विपक्षी विश्‍वनाथका वाबू जनक यादवले ०३४।३५ सालको हिसावहरु भै ०३४ सालको सांवा रु २७४५। र २०३५ सालको सांवा रु.२०४३। भएकोमा लेखतमा उल्लेख भए वमोजिम राष्ट्रिय वाणिज्य वैंक रा.वि. समेतमा दाखिला गर्नू पर्ने सो समेत नगरि वसि आएकोले सो सांवा ४७८८। लिखत मिति ०३६।१०।८ गते लिई १५ दिन भित्र वुझाउने छु भनी भाखा राखि ०३६।१०।८ गतेमा साक्षीहरु र विपक्षी प्रतिवादी विश्‍वनाथ समेतका रोहवरमा सहिछाप गरि कागज गरि दिएको सो सांवा रु ४७८८। माग्दा आजभोली गरि टार्दै आई २०४०।४१ सालमा जनक यादव, आफना कालगतीले परलोक भै निज स्व.जनक यादवको अपुताली खाने छोरा एक मात्र विपक्षी प्रतिवादी विश्‍वनाथ भएकोले निज संग सो सांवा र दशौंदका दरले हुने व्याज समेत माग्दा निजले पनि टार्दै आइ मनमा वदनियत चिताइ सो सावा समेत पचाउने नियत लिएको हुंदा मु.ऐ.लेनदेन व्यवहारको २ नं. को हदम्याद भित्र ०४६।१०।७ गते सम्ममा फिराद दायर गर्नु पर्नेमा सो दिन शनिवार भै अडृा अदालत तातिल रहेको भोलीपल्ट मिति २०४६।१०।८ गते म्याद भित्र आउनु पर्नेमा सो म्याद पनि गूज्री विन्तिपत्रवाट थामी आएको छू । उक्त कागज भएको २०३६।१०।८ गतेले २०४६।१०।८ सम्मको दशौदका दरले हुने व्याज ४७८८। समेत ९५७६। दिलाई भराई पाउं भन्ने समेत फिराद दावी ।

      ३. २०४७।३।९ को तामेली म्यादमा प्रतिवादीले प्रतिउत्तर नफिराई म्याद गुजारी  वसेको ।

      ४. वादी दावी पुग्दैन भन्ने समेत शुरु सप्तरी जिल्ला अदालतको फैसला ।

      ५. सप्तरी जिल्ला अदालतको उक्त फैसलामा चित्त वुझेन सो फैसला वदर गरि शुरू फिराद दावी वमोजिम हक ईन्साफ गरि पाउं भन्ने समेत व्यहोराको वादीको सगरमाथा अन्चल अदालतमा परेको पुनरावेदन पत्र ।

      ६. वादीले दावी वमोजिम सांवा व्याज भरी नपाउने ठहरर्‍याएको शुरू सप्तरी जिल्ला अदालतको फैसला मनासिव ठहर्छ भन्ने समेत पुनरावेदन अदालत राजविराजको फैसला ।

      ७. प्रस्तुत मुद्दामा मेरो दावीलाई स्वीकार गरि विपक्षीले प्रतिवाद नै नगरि स्वीकार गरि विवादित लिखतमा स्वयं यी प्रतिवादी साक्षी समेत रहेको अवस्थामा मुख मिलेको कुरामा ठहर गरेको अ.वं. १८४(क) नं. को र प्रतिवादीले अ.वं. ७८ नं. को प्रकृयावाट लिखतलाई अन्यथा भन्न नसके पछि अदालतले नकरा ठहर गरेको अ.वं. ७८ नं. तथा प्रमाण ऐन, २०३१ को दफा ५४ को व्याख्यात्मक त्रुटी भै वादी दावी र प्रतिवादी जिकिरवाट विवाद उठेको कुरामा सम्म सवूद प्रमाणको आधारमा निर्णय  दिन पाउने भनी विष्णु वहादुर विरुद्ध भू.सु.का. ललितपुर भएको उत्प्रेषण मूद्दँमा मिति ण्घज्ञ।घ।ट मा सर्वोच्च अदालतवाट प्रतिपादित सिद्धान्त समेतको विपरित भएकोले शुरू सप्तरी जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत राजविराजको फैसलामा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (ज्ञ) को ख०ड (क) (ख) समेतको आधारमा मुद्दा दोहोर्‍याउने आदेश भै शुरू सप्तरी जिल्ला अदालत र पुनरावेदन अदालतको फैसला उल्टाई दावी वमोजिम सांवा व्याज भराई पाउं भन्ने वादीको यस अदालतमा परेको निवेदन ।

      ८. प्रतिवादीले प्रतिउत्तर नफिराई अपुताली खाने छोरावाट सांवा व्याज समेत भराई पाउं भन्ने वादीको दावी स्वीकार गरि रहेको र लिखतको पेट व्यहोरामा सही समेत परेको विवाद नउठाएको विषयमा नालेस दर्ता भई कारवाही चलेको मुद्दामा दावी वमोजिमको सांवा व्याज भरी भराउ हुन नसक्ने भनी गरेको पुनरावेदन अदालत राजविराजको फैसलामा प्रमाण ऐन, २०३१ को दफा ५४ को त्रुटी देखिंदा न्याय प्रशासन ऐन, २०४८को दफा १२(१) को खण्ड (क) को आधारमा दोहोर्‍याउने निस्सा दिइएको छ भन्ने यस अदालतको आदेश ।

      ९. नियम वमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको मिसिल अध्ययन गरि वादीले दावी वमोजिम सांवा व्याज भरी नपाउने ठहराएको शुरू सप्तरी जिल्ला अदालतको फैसला मनासिव ठहर्‍याएको पुनरावेदन अदालत राजविराजको फैसला मिलेको छ छैन सो सम्बन्धमा निर्णय  दिनु पर्ने हुन आयो ।

      १०. विपक्षीको वावु जनक यादवले १५ दिन भित्र वुझाउने भाखा राखि ०३६।१०।८ गते विपक्षी विश्‍वनाथको रोहवरमा सहीछाप गरि कागज गरि दिएको सांवा रु. ४७८८। नदिई निजको परलोक भएकोले निजको अपुताली खाने छोरा विश्‍वनाथवाट सो कागज वमोजिमको सांवा व्याज दिलाई पाउं भन्ने फिराद दावी भएकोमा प्रतिवादीले म्याद भित्र प्रतिउत्तर नदिई वसेको देखिन्छ ।

      ११.निर्णय  तर्फ बिचार  गर्दा  वादीले फिरादसाथ पेश गरेको २०३६।१०।८ को सक्कल तमसूक हेर्दा लिखतको तेश्रो हरफमा अक्षर थपिएको तर थपिएको ठाउंमा कारणीको सही नपरेको र लिखतको एघारौं हरफमा लिखतको मुख्य थैलीको शुरू अंक सच्याएको र त्यसैको माथि सत्ताईस सौ पैतालिस भन्ने लेखि कारणीको सहिछाप नभएको र लिखतको विभिन्न ठाउंमा नमिल्दो तरिकावाट अक्षर थपिएको देखिन्छ । कुनै कागज पत्रमा गल्तिले केरमेट गरेको र थपेकोमा समेत अरु अंक अक्षर थप्न नहुने गरि दाया दुबै तर्फ सो कागजमा सही गर्ने मुख्य कारणीको सही गराउनु पर्ने कानूनी व्यवस्था मुलुकी ऐन कागज जांचको ४ नं. मा भएको पाइन्छ। उक्त कानूनी व्यवस्था वमोजिम सो लिखतमा थपिएको र सच्याइएको ठाउंमा कारणीको सहीछाप भएको नदेखिंदा सो २०३६।१०।८ को तमसूक कागज जांचको ४ नं. को कानूनी व्यवस्था वमोजिम रीत पुरर्‍याई तयार भएको देखिएन ।

      १२. प्रतिवादीले प्रतिउत्तर नफिराएको आधारमा मात्र वादी दावी स्वीकारेको भनी ठानेको धारणावाट पुनरावेदन अदालत राजविराजको फैसलामा प्रमाण ऐन, द्दण्घज्ञ को दफा छद्ध को त्रूटी भएको भन्ने यस अदालतको संयूक्त इजलासवाट मिति २०३१।११।२६ मा भएको मुद्दा दोहोर्याउने आदेश संग सहमत हुन सकिएन । अतः मिति  २०३६।१०।८ को विवादित लिखतमा मख्य थैलीको अंक नै सच्याएको प्रष्ट देखिनुको साथै कागज जांचको ४ नं. वमोजिम रीत पुगेको समेत नदेखिंदा त्यस्तो विवादास्पद लिखतवाट वादी दावी वमोजिम सांवा व्याज भराउन नमिल्ने हूंदा सप्तरी जिल्ला अदालतले वादी दावी पुग्न नसक्ने भनी गरेको इन्साफ  सदर  गरेको पुनरावेदन अदालत राजविराजको फैसलामा कुनै कानूनी त्रुटी भएको गरेको नदेखिएकोले सो फैसला मनासिव   ठहर्छ । मिसिल नियमानुसार वुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

न्या.केदारनाथ आचार्य

 

इति संवत् २०५३ साल असार १९ गते रोज ३ शुभम .... ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु