शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २६१६ - जग्गा कायम गरी चलन चलाई पाउँ भन्ने

भाग: २८ साल: २०४३ महिना: जेष्ठ अंक:

निर्णय नं. २६१६     ने.का.प. २०४३ अङ्क - २

फुलबेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

सम्वत् २०४२ सालको दे.फुलबेञ्च नम्बर १०९

फैसला भएको मिति : २०४२।१२।२९।६ मा

 

निवेदक/प्रतिवादी : का.न.पं.वडा नं.१ बस्ने अखण्ड शमशेर ज.ब.रा.समेत

विरुद्ध

विपक्षी/वादी :       हेमकुमारी राणाको मु.स.गर्ने का.न.पं.वडा नं.१ बस्ने रुद्र राणा

 

मुद्दा : जग्गा कायम गरी चलन चलाई पाउँ भन्ने

 

(१)                                       निश्चित साँध किल्लाभित्रको प्रतिवादीको जग्गा नरबढी भएको कारणले मात्र अन्य यकीनन् सबूद प्रमाणको अभावमा बढ हुन आएको जग्गा वादीको भन्न मिल्ने अवस्था नरहने ।

(प्रकरण नं. १६)

(२)         वादी र वादीका पति समेतले प्रतिवादीलाई हक छाडी मायामारी सकेको र प्रतिवादीले घर समेत बनाई हक भोग बिक्री व्यवहार समेत गरेको देखिएकोबाट हक नपुग्ने गोठ, तबेला, टहरा र जग्गामा वादीले उजूर गरेको देखिएको हुँदा वादी दावी नपुग्ने ।

(प्रकरण नं. १७)

 

निवेदक/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त र विद्वान अधिवक्ता श्री अनुपराज शर्मा

विपक्षी/वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली र विद्वान अधिवक्ता श्री रामगोपाल श्रेष्ठ

 

फैसला

प्र.न्या. धनेन्द्रबहादुर सिंह : सर्वोच्च अदालत डिभिजनबेञ्चको मिति २०४१।१।५।३ को निर्णय उपर निवेदकको श्री ५ महाराजाधिराजका जुनाफमा विन्तिपत्र पर्दा नेपालको संविधानको धारा ७२(ख) बमोजिम उक्त मुद्दा दोहर्‍याई दिनु भन्ने बक्स भई आएका हुकुम प्रमांगी बमोजिम फुलबेञ्चको लगतमा पेश भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ ।

२. पति जन शमशेरको हक भोगको विर्ता जग्गा २०१६ सालको सर्भे नापीमा २३३ नं.को लालदरबारको रोपनी १०९० ठहर कायम भए मध्ये लोकनाथ पाध्यालाई ९० बिक्री भई बाँकी रोपनी १००० मिति २०१७।४।१२।४ को विवरण मुताविक मिति  २०१९।१०।१४।१ मा रैकरमा परिणत भई मौ.लाल दरबार हा.नं.४२ मा पति जन शमशेरको नाममा का.माल दोश्रामा दर्ता भयो । विपक्षीहरूले घर बनाउन रोपनी १६ मोहियानी हक पाउँ भनेकाले सो जग्गामध्ये मेरो मोहियानी हकको सालको धान मुरी १६ कूत बुझाउनु पर्ने पूर्व टुकुचा खोला, पश्चिम जन शमशेरको पर्खाल, उत्तर मूल सडक, दक्षिण जन शमशेरको जग्गा यति ४ किल्ला भित्रको कमलादी भन्ने जग्गा रोपनी १६ घरसारमा मिति २०१७।११।२।२ मा राजीनामा लेखी मिति २०१८।३।११।३ मा का.रजिष्ट्रेशन अड्डा मार्फत पास गरी दिएँ । सो जग्गा मध्ये पूर्वतर्फमा निज सौभाग्य लक्ष्मीले घर बनाएको सो घर र केही जग्गा समेत अमेरिकन दूतावासलाई बिक्री गर्नुभएको र मोही हक सौभाग्य लक्ष्मीको भए पनि जग्गाधनी हक पति जन शमशेरको भएकोले खरीद गर्नेले जग्गाधनी हक समेत खरीद गर्न नपाएमा खरीद नगर्ने भएकोले उस अवस्थामा जन शमशेर कलकत्तामा बस्नु भएकोमा विपक्षीहरू त्यहीं गई जग्गाधनी हक समेत बिक्री गर्न इजाजत पाउँ भन्दा मिति २०१८।९।७।५ मा रोपनी १०९।। मध्ये मेरा घर कम्पाउण्ड बाहेक भएको पूर्व टुकुचा, उत्तर कमलादी गणेश जाने मुल बाटो, पश्चिम दक्षिण मेरो बाँकी जग्गा यति ४ किल्लाभित्रको तपाइको मोहियानी हक भई घर समेत बिक्री हुने भएको सो रोपनी १६ जग्गाको मेरो विर्ता हक समेत मेरो तर्फबाट पनि सुक्री बिक्री गरी दिए मात्र खरीद गर्नेको हक पक्का हुने भएकोले तपाई बुहारी सौभाग्य लक्ष्मीले सुक्री बिक्री गरी आएको रुपैयाँ निजले बुझी लिएमा मेरो मञ्जुर छ भन्ने समेत व्यहोराको कागज कलकत्ता स्थित शाही नेपाली कंसुलेट अफिसका रोहवरमा बसी लेखी सही छाप गरी दिएको सो कागज समेत पेश गरी सौभाग्य लक्ष्मीले अमेरिकन दूताबासको लागि परराष्ट्र मन्त्रालयलाई घर र घर वरिपरि समेत गरी जग्गा ११ रोपनी समेतको लिखत मिति २०१८।९।२१।५ मा पास गरी सुक्री बिक्री गरी दिइछन् । जन शमशेरले विपक्षी अखण्ड शमशेरलाई मिति २०२२।८।१५ मा पुनः सो रोपनी १६ मध्ये अमेरिकन दूतावासको घर क्याम्प र बाँकी जग्गा पश्चिम आफ्नै जग्गा उत्तर मूल सडक र रोपनी १६ मध्ये बिक्री भई बाँकी रहेको जग्गा दक्षिण आफ्नै घर कम्पाउण्डको पर्खाल यति ४ किल्ला भित्रको जग्गा रोपनी ४१२० र सो जग्गामा उत्तर सडकतर्फ बनेको पूर्व पश्चिम ७७ फूट मध्ये पूर्वतर्फ ५२ फिटको गोठ पश्चिमतर्फ २५ फिटको तबेला समेत रु.१०,०००।को भोगबन्धकीको लिखित घरसारमा विपक्षी अखण्ड शमशेरलाई गरी दिएको थियो । २०३३ सालमा सर्भे नापी हुँदा जन शमशेर २०२९ सालमा परलोक भएको म लाजिम्पाटमा हुँदा थाहा हुन सकेन र नापी भयो भन्ने सुनिएकोले बुझ्दा नापी हुँदा कि.नं.४९३ को जग्गा रोपनी १४३ अमेरिकन दूतावासको र कि.नं. ५७५ को रोपनी ६१२३ शौभाग्य लक्ष्मीको भन्ने जनाई नापी भएकोरहेछ । उजूर गर्दा कि.नं. ४९३ मा ३३ बढी देखिए पनि भोग चलन गरी रहेको घट बढ हुन सक्ने हुँदा चित्त नबुझे अदालतमा उजूर गर्न जानु सूचना दिने कि.नं.५७५ को जग्गा भोग शौभाग्य लक्ष्मीको देखिएकोले निजको नाममा अस्थायी दर्ता गर्ने चित्त नबुझे ३५ दिनभित्र अदालतमा जानु भनी मिति २०३३।५।११ को निर्णय भएको मिति २०३३।८।२२ मा सूचना पाएको र बेनिस्साबाट अखण्ड शमशेरको सल्लाहबाट शौभाग्य लक्ष्मीले दोहोरो पारी दर्ता गरेको बदर गरी उक्त दर्ताको आधारबाट जम्मा रोपनी २१४३ मोहियानी हक मात्र भएको जग्गा रोपनी ६१२२ को मोही र जग्गाधनी समेत आफैं हुँ भनी दुई कित्ता जग्गालाई कि.नं. ५७५ को एक कित्ता गरी विपक्षी शौभाग्य लक्ष्मीले अखण्ड शमशेरको सल्लाहबाट नापी नक्शा गराएको हुँदा सो बदर गरी रोपनी २१४३ र रोपनी ३१४२ जग्गाको जग्गाधनी र मोही हकमा र गोठ तबेला टहरा समेतको घर जग्गामा समेत खिचोला गरे गराएमा विपक्षीलाई कानुन बमोजिम गरी निज शौभाग्य लक्ष्मी मोही भएको निजको घर समेत बनेको जग्गालाई १ कित्ता र बाँकी जग्गालाई अर्को  कित्ता कायम गराई अड्डैबाट चलन चलाई पाउँ भन्ने मिति २०३३।९।२८।३ को फिराद दावी रहेछ ।

३. यो वादीले म शौभाग्य लक्ष्मीलाई आफ्नो हक बिक्री गरी दिँदा पूर्व टुकुचा खोलो, पश्चिम क.जन शमशेरको पर्खाल, उत्तर मुल सडक, दक्षिण निजै जन शमशेरको जग्गा भन्ने छ । जन शमशेरले छोरा उत्तर शमशेर साक्षी राखी २०१५ सालमा घर क्याम्प बनाउने छाडी लेखिदिएको कागजमा टुकुचा नदी देखि पश्चिम कमलादी सडकदेखि दक्षिण मेरो घरको निलकाँडा देखि १२ हात छोडी पूर्व बकैनाको रुखदेखि उक्त जम्मा रोपनी १६ घर क्याम्प बनाउन छाडी दिएँ । आफ्नो तर्फबाट घर क्याम्प जे बनाउनु पर्छ बनाई सकेपछि यी वादीले खिचोला निकालेकोबाट रु.९५,००१।दिई वादीबाट राजीनामा गराउँदा उनका पति जन शमशेर साक्षी बस्नु भएको छ । जन शमशेरले मदनलाल तोडीलाई मिति २०२६।६।१।३ मा जग्गा राजीनामा दिँदा र यिनै वादीले मिति २०२६।५।१० मा जग्गा राजीनामा दिँदा पूर्व अखण्ड शमशेरको पर्खाल भन्ने लेखेका छन् । जन शमशेरले सुभाषचन्द्रलाई मिति २०२८।३।२४ मा राजीनामा दिँदा पूर्व अमेरिकनको नाममा जोडिएको मेरो पर्खाल, उत्तर अखण्ड शमशेरको जग्गामा जोडिएको मेरो आफ्नै पर्खाल भन्ने लेखेको छ । हाम्रो पर्खालदेखि पश्चिममा मदनलाल र मेरो जग्गादेखि दक्षिणमा पर्खाल भई सो पर्खालदेखि दक्षिणमा सुवासचन्दको जग्गा रहेछ भन्ने सिद्ध छ । मेरो जग्गा मिच्यो र क्षेत्रफल घट्यो भन्ने वादीको उजूर छैन भने अघि दिँदाको क्षेत्रफल भन्दा बढी भएको फिर्ता आउनु पर्छ भनी अहिले भनेर पाइने कानुनी व्यवस्था छैन । २०१९ सालमा दर्ता गराई लिई सकेको कुरा वादी स्वयं र जीवित छँदै निजका पति समेतले हाम्रो भनी लेखेकाबाट उसै बखत जानकारी भएको देखिने र दर्ता बदर गरिपाउँ भनी आउन नसकेको भोगबन्धकी भन्ने कुरा वादीको लेखबाटै फजुल देखाई राखेको विर्ता उन्मूलन ऐन समेतले दर्ता गराउन पाउने भई दर्ता गराएको वादीका नाममा दर्ता कायम रहन पर्ने कुनै कारण र प्रयोजन नभएको हुँदा वादीका उजूर लाग्न नसक्ने हुँदा खारेज गरिपाउँ भन्ने समेतको प्रतिउत्तरपत्र ।

४. प्रतिवादीले जग्गा लिंदाको पश्चिम साँध पर्खाल सो पर्खाल पश्चिम बाटो उत्तर ५७४ को जग्गा साँध पर्खाल पूर्वको जग्गा घर वादीबाट हक छुट्याएको सबूद प्रमाणबाट प्राप्त नभएकोले सो जग्गा घर प्रतिवादीको लिखत किल्लाभित्र परेको भन्न भएन । वादीकै हकको देखिन आउँदा प्र. का नाममा अस्थायी दर्ता भएको कायम मान्न मिलेन सो दर्ता बदर हुने र वादीले चलन समेत पाउने सो देखि पूर्व पश्चिम पनि मेरो जग्गा हो घर बनाउँदा भित्र पारे भन्ने समेत दावीमा उल्लेख छ । त्यसमा प्रतिवादीले घर बनाई भोगेको समेतमा मौकैमा विवाद नभएकोले हाल वादीको भन्न नसकिने हुनाले पर्खाल पूर्व प्रतिवादीले घर बनाएको ठाउँमा पनि हक छ भन्ने दावी नपुग्ने हुँदा त्यसतर्फ बढी दावी लिएको ठहर्छ भन्ने काठमाडौं जिल्ला अदालतको फैसला ।

५.    शुरु काठमाडौं जिल्ला अदालतको फैसलामा चित्त बुझेन भनी वादी प्रतिवादी दुवैपक्षको मध्यमाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदनपत्र ।

६. यिनै वादीको लोग्ने जन शमशेरले सुभाष चन्द्रलाई राजीनामा पास गरी दिएको २०२८ सालको लिखतको ४ किल्ला मध्ये उक्त किल्लामा अखण्ड शमशेरको जग्गामा जोडिएको मेरो आफ्नै पर्खाल भनी लेखिएको देखिनाले समेत विवादास्पद जग्गा वादीको कायम गरेको शुरु अदालतको फैसला मिलेको देखिन आएन । अ.बं. २०२ नं. बमोजिम विपक्षी झिकाउनु भन्ने मिति २०३८।२।३१ को मध्यमाञ्चल क्षेत्रीय अदालतको सिंगलबेञ्चको आदेश ।

७. झगडा परेको जग्गाको नाप नक्शा भएको नदेखिनाले विवादको जग्गा र विवादमा उत्पन्न गरेको गोठ, तबेला, घर र अमेरिकन दुताबासलाई बिक्री भएको भनेको घर जग्गा र विवादको जग्गादेखि पश्चिमतर्फको जग्गा र साँध संधियार समेत देखिने गरी जस्ताको तस्तै दुरुस्त पारी सम्बन्धित कार्यालयबाट अमीन झिकाई अ.बं.१७१ नं. अनुसार नाप नक्शा भई आएपछि पेश गर्नु भन्ने मध्यमाञ्चल क्षेत्रीय अदालतको डिभिजनबेञ्चको मिति २०३८।१।१८।५ को आदेश ।

८. वादीले दावी लिएको टहरा, घरहरू वादी र वादीका पति समेतले गरी दिएको २०१५ साल र २०१२ सालका लिखतहरूबाट उत्तर साँध सडक लेखेपछि सडकदेखि दक्षिणको टहरा घरहरू प्रतिवादीकै लिखतभित्र पर्ने र १६ रोपनी मध्ये ११० रोपनी जग्गा बिक्री गरेको राजीनामाबाट देखिन आएकोले बिक्री भइसकेपछि मात्र नाप जाँच हुँदा कायम हुन आएको बढी जति वादीले आफ्नो हक कायम गराउन सकेको देखिँदैन । प्रतिवादीले ११ रोपनी जग्गा बिक्री गरी ५ रोपनी आफ्नो बाँकी रहन आएको भनी जिकिर लिएको जग्गा पटक पटकमा राजीनामा किल्ला समेतबाट प्रतिवादीकै लिखत किल्ला भित्रको जग्गा देखिन आएको ५० रोपनीमा बढ हुन आएको जति वादीको भन्न मिल्ने अवस्था देखिएन । हक नपुग्ने गोठ तबेला, टहरा र जग्गामा वादीले उजूर गरेको देखिनाले वादी दावी नपुग्ने र शुरुको फैसला केही उल्टी हुने ठहर्छ भन्ने मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०३८।९।२८।३ को फैसला ।

९. म.क्षेत्रीय अदालतको इन्साफमा चित्त बुझेन पुनरावेदन गर्ने अनुमति पाउँ भनी पुनरावेदक वादी हेमकुमारी देवी राणाको मु.स. गर्ने रुद्र राणाको यस अदालतमा परेको पुनरावेदनपत्र ।

१०.    वादीबाट प्रतिवादीले विवादीत जग्गाको हक गराई लिएको सबूद प्रमाणको अभावमा वादी दावी नपुग्ने ठहराई मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला अ.बं.१८४ नं. को त्रुटि हुँदा न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(५)(ख) बमोजिम पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत यस अदालत डिभिजनबेञ्चको मिति २०३९।१२।२ को आदेश ।

११. निर्णयार्थ डिभिजनबेञ्च समक्ष पेश हुँदा जन शमशेर ज.ब.रा को जग्गा सालको कूत धान मुरी १६ बुझाउनु पर्ने गरी पूर्व टुकुचा खोलो, पश्चिम जन शमशेर ज.ब.रा.को पर्खाल, उत्तर मूल सडक दक्षिण निजै जन शमशेरको जग्गा यति ४ किल्ला भित्रको कमलादी भन्ने जग्गा रोपनी १६ काठमाडौं रजिष्ट्रेशनबाट मिति २०१८।३।१४।४ मा प्रतिवादी मध्येको शौभाग्य लक्ष्मी राणाले मोहियानी हक राजीनामा गरी लिएको पाइन्छ र २०१८ सालदेखि आइन्दालाई कूत धान मुरी १६ साल बसाली बुझाउनु नपर्ने गरी माफी बक्सी बुहारी शौभाग्य लक्ष्मीराणालाई जन शमशेरले मिति २०१८।८।१० मा कूत माफीको कागज गरी दिएको पाइन्छ । उक्त लिखतहरूबाट प्र.शौभाग्य लक्ष्मी राणाले मोहियानी हक मात्र पाएको र टहरो घर पाएको देखिएन । त्यस्को अतिरिक्त कि.नं. ४९३ मा रो. १४२ र कि.नं. ५७५ मा रोपनी ६१२२ उल्लेख भएको ३ नं. नापी गोश्वारा १ नं. नापी टोली काठमाडौंको मिति २०३५।११।४ को पत्र बमोजिम जम्मा दुई कित्ताको कुल हिसाब गर्दा १६ रोपनी भन्दा बढी नै देखिएकोले समेत दर्ता बदर हुने र वादी हेमकुमारी राणाले चलन चलाउन पाउने ठहराएको काठमाडौं जिल्ला अदालतको इन्साफ सदर ठर्हछ । म.क्षे.अ.ले वादी दावी नपुग्ने ठहराएको इन्साफ गल्ती ठर्हछ भन्ने समेत डिभिजनबेञ्चको मिति २०४१।१।५ को फैसला ।

१२. निवेदिका शौभाग्य लक्ष्मीले अमेरिकी दूताबासलाई घर जग्गा बिक्री गरेको भन्ने कुरा वादीलाई थाहा जानकारी भएको र कि.नं. ५७५ मा नापीबाट जग्गा बढ ११२२ मात्र देखिएकोमा वादीको अस्पष्ट दावी २१४३ र ३१४२ जग्गाको दावी मुद्दाको वास्तविक तथ्य अनुकूल नरहेको पनि देखिएको अमेरिकी दूताबासलाई घर जग्गा बिक्री गरी दिएपछि बाँकी रहेको आफ्नो जग्गा मिति २०१९।११।२।५ मा परिणत गरेको र भू.सं.ऐन लागू भएपछि जग्गाको ७  नं. फाँटवारी प्रतिवादीले पेश गरेको र रैकरमा परिणत गरी प्रतिवादीले भोग गरेको र ७ नं. फाँटवारी समेत कुराहरू वादीलाई जानकारी भएकोमा पनि उजूर नगरी बसेबाट समेत अहिले आएर जग्गाधनी हकको प्रश्‍न उठाउन सक्ने देखिँदैन वादी र वादीको पतिले मदनलाल सुभाषचन्द्रसमेतलाई गरी दिएको राजीनामाबाट वादीको यस ठाउँमा जग्गा बाँकी रहेको देखिँदैन । गोठ, तबेला पनि यही जग्गामा रहेकोले वादीको यसतर्फ पनि दावी पुग्ने देखिन आउँदैन भन्ने समेत न्यायिक समितिको पर्चा ।

१३. निवेदकतर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त तथा विद्वान अधिवक्ता श्री अनुपराज शर्माले प्रतिवादीको जग्गामा स्वामित्व भएको कुरालाई जिल्ला अदालत देखि सर्वोच्च अदालतसम्मले मानेको छ र सो मा वादीले चित्त बुझाई बसेकोले अब स्वामित्वको कुरामा विवाद गर्ने ठाउँ छैन । वादीले भोगबन्धकीको कागज देखाउन सकेको छैन । बार्‍ह तेर्‍ह वर्ष देखि घर बनाई बसेको जग्गामा नापीबाट मात्र विवाद उठाउन खोजेको छ । अमेरिकन दूताबासलाई बिक्री गरेको जग्गा ११ रोपनीबाट १४ रोपनी हुन सक्छ भने विवादको ५७५ को कित्तामा नर बढी किन हुन सक्दैन तसर्थ डिभिजनबेञ्चको इन्साफ मिलेको छैन भन्ने समेत बहस गर्नुभयो । विपक्षी वादीतर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली तथा विद्वान अधिवक्ता श्री रामगोपाल श्रेष्ठले वादीले प्रतिवादीलाई मोही हक मात्र प्रदान गरेको छ, जग्गाधनी हक होइन । वादीको हक टुटेको कुनै प्रमाण प्रतिवादीले पेश गर्न सकेको छैन । अखण्ड शमशेरको स्वामित्व दर्ता तिरोको कुनै जग्गा विवादीत जग्गामा रहेको ठाउँमा छैन प्रतिवादीले रै.प.गराउँदा बेनिस्सा भनी गराएकोछ । यसस्थितिमा वादी दावी नपुग्ने ठहराएको इन्साफ मिलेको छैन, भन्ने समेत बहस गर्नुभयो । वहाँहरूले प्रतिवादीतर्फबाट बहस नोट समेत पेश गर्नुभयो ।

१४. मिति २०४२।१२।१५।६ मा यस बेञ्च समक्ष पेश भई आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दामा निर्णयतर्फ हेर्दा प्रतिवादीलाई लालदरबार मौजाको जग्गा १६ रोपनी घर बनाउन दिएको, मोहियानी हक दिएको तथा सो मध्ये एघार रोपनी अमेरिकन दूताबासको निमित्त परराष्ट्र मन्त्रालयलाई बिक्री गर्न मन्जूरी दिई बिक्री भएको र बाँकी जग्गा र गोठ, तबेला समेत अखण्ड शमशेरलाई भोगबन्धकी दिएको जग्गा समेत विपक्षीहरूले भोगेकोमा २०३३ सालमा सर्भे नापी हुँदा कि.नं. ४९३ को ज.रो. १४३ अमेरिकन दूताबासको र कि.नं. ५७५ को ज.रो. ६१२३ शौभाग्य लक्ष्मीको भन्ने जनाई नापी भएको रहेछ सो उपर उजूर गर्दा विपक्षीका नाममा अस्थायी दर्ता गर्ने चित्त नबुझे ३५ दिनभित्र अदालतमा उजूर गर्न जानु भनी मिति २०३८।८।११।६ मा निर्णय भएको भनी २०३३।८।२२।३ मा सूचना दिएकोले फिराद गरेको छु । उल्लिखित जग्गालाई आफ्नो भनी बेनिस्साबाट विपक्षीले दोहरा पारी दर्ता गराएको बदर गरी र कि.नं. ५७५ को दुई कित्तालाई एककित्ता गरी नापी गराएको बदर गरी २१४३ को जग्गाधनीहकमा र ३१४२ को जग्गाको जग्गाधनी र मोही हकमा र गोठ तबेला टहरा समेतको घर जग्गामा खिचोला गरेमा सजायँ गरी शौभाग्य लक्ष्मी मोही भएको निजको घरसमेत बनेको जग्गालाई एक कित्ता र सो बाहेकको जग्गालाई अर्को कित्ता कायम गरी चलन समेत चलाई पाउँ भन्ने समेत वादी दावी देखिन्छ ।

१५.   वादीको पति जन शमशेर ज.ब.रा.आगे भई टुकुचा नदी देखि पश्चिम, कमलादी सडक देखि दक्षिण, मेरो घरको निलकाटा देखि १२ हात छोडी पूर्व, बकैनाको रुख देखि उत्तरको जग्गा रोपनी १६ घर क्याम्प बनाउन अखण्ड शमशेरको रानी शौभाग्य लक्ष्मीलाई मिति २०१५।९।२ मा दिएको र हेमकुमारी देवी राणाले पूर्व टुकुचा खोलो, पश्चिम जन शमशेरको  पर्खाल, उत्तर मूल सडक दक्षिण जन शमशेरको जग्गा भन्ने चार किल्ला खुलाई १६ रोपनी जग्गा आफ्नो हक जानी लागेको कूत तिरी खानु भनी राजीनामा गरी दिएको देखिन्छ । त्यस्तै गरी सोही जग्गाको २०१८ सालदेखि कूतमाफी गरी जनशमशेरले २०१८।८।१० मा कागज गरीदिएको देखिन्छ । सो लिखतहरूलाई वादीले अन्यथा भन्न सकेको छैन । सोही १६ रोपनी मध्येबाट ११ रोपनी जग्गा अमेरिकन दूताबासको निमित्त परराष्ट्र मन्त्रालयलाई शौभाग्य लक्ष्मीले मिति २०१८।९।२१ मा बिक्री गरेको देखिन्छ । सो जग्गामा घरहरू समेत बनाई भोग गरी पछि बिक्री गरेको व्यहोरा उल्लेख भएको र जन शमशेर तथा हेमकुमारी राणाले गरी दिएका माथि वर्णित लिखतहरूको आधार प्रमाण समेतबाट विवादीत जग्गामा प्रतिवादीहरूको भोग चलन रहेको कुरा प्रमाणित हुन आउँछ । प्रतिवादीको जग्गामा स्वामित्व छ, भन्ने कुरालाई काठमाडौं जिल्ला अदालतको मिति २०३७।२।२२ को तथा सर्वोच्च अदालत डिभिजनबेञ्चको मिति २०४१।१।५ को फैसला समेतले स्वीकार गरेको र सो उपर वादीको विन्तीपत्र परी दोहरी नआएकोबाट हक स्वामित्वको कुरामा निर्णय हुन सक्ने अवस्था पनि रहेन ।

१६. अब वादीको जग्गा तथा गोठ तबेलामा प्रतिवादीले खिचोला गरेको हो वा होइन भन्नेतर्फ हेर्दा मध्यमाञ्चल क्षेत्रीय अदालतको आदेश बमोजिम तयार भई आएको मिति २०३८।७।१७।२ को नक्शामा न.नं. ७ मा झगडा परेको जग्गा र पश्चिम मदनलालको घरको पूर्वतर्फ अखण्ड शमशेरको पर्खाल भन्ने जनाइएको छ । सो जग्गाको पश्चिमतर्फ न.नं.२ मा मदनलालको घर जग्गा भन्ने जनाइएको त्यस्तै गरी विवादको जग्गाको दक्षिणतर्फ न.नं. १७ मा सुभाषचन्द्रको घर जग्गा जनाइएको छ । मदनलाल तथा सुभाष चन्द्रले वादी तथा वादीका पति जन शमशेरसँग उक्त जग्गाहरू खरीद गरी लिएको देखिन्छ र उक्त लिखतहरू प्रस्तुत मुद्दाको निरोपणको लागि महत्वपूर्ण प्रमाणको रुपमा देखिएका छन् । प्र.शौभाग्य लक्ष्मी राणालाई वादीले मिति २०१८।३।१४ मा मोहियानी हक बिक्री गरेको जग्गाको दक्षिण र पश्चिम साँधमा वादीको पतिको नै जग्गा भनी उल्लेख भएको र यहि दक्षिण र पश्चिम साँधका जग्गाहरू वादीले मदनलाल तथा सुभाष चन्द्रलाई बिक्री गरेको देखिन्छ । वादी हेमकुमारी देवी राणाले मिति २०२६।५।१० मा र जन शमशेरले २०२६।६।१४ मा मदनलाल टोडी अग्रवाललाई बिक्री गरी दिँदा दुवै लिखतमा पूर्व साँधमा अखण्ड शमशेरको पर्खाल भन्ने उल्लेख भएको देखिन्छ । उक्त लिखतमा अखण्ड शमशेरको पर्खाल भनिएको पर्खाल नक्शामा न.नं.७ मा पश्चिमतर्फ देखिएको छ । अखण्ड शमशेर शौभाग्य लक्ष्मीको पति भएकोमा विवाद छैन । उक्त लिखतको पूर्व साँधको पर्खाल प्र.अखण्ड शमशेरको पर्खाल भन्ने जनिएपछि सो देखि पूर्वको जग्गा प्रतिवादीहरूको रहेछ, भन्ने प्रष्ट हुन आउँछ । त्यस्तै गरी जन शमशेरले सुभाष चन्द्रसँग समेतलाई २०२८।३।२४ मा बिक्री गरी दिएको जग्गा जुन नक्शामा न.नं. १७ मा देखाइएको छ, उक्त जग्गाको उत्तर साँधमा अखण्ड शमशेरको जग्गामा जोडिएको मेरो आफ्नै पर्खाल भन्ने उल्लेख भएको देखिएबाट पनि विवादको न.नं. ७ को जग्गा प्र.हरूको रहेछ, भन्ने देखिन्छ । यसको अतिरिक्त हेमकुमारीले मिति २०२६।५।१० मा मदनलाललाई बिक्री गर्दा उत्तर जन शमशेरको जग्गा भन्ने जनिएको र जन शमशेरले गरेको २०२६।६।१४ को राजीनामामा दक्षिण साँध तपाई साहूकै जग्गा भन्ने उल्लेख भएकोबाट समेत वादीले दावी गरेको ठाउँमा वादी र वादीको पतिको जग्गा रहेनछ भन्ने स्पष्ट हुन आउँछ । विवादको गोठ र तबेला पनि यही जग्गामा रहेको र जग्गाको साँधमा वादीको जग्गा नै नभएपछि वादीको जग्गामा प्रतिवादीहरूले खिचोला गरे भन्न मिल्ने देखिँदैन । निश्चित साँध किल्ला भित्रको प्रतिवादीको जग्गा नरबढी भएको कारणले मात्र अन्य यकीनन् सबूद प्रमाणको अभावमा बढ हुन आएको जग्गा वादीको भन्न मिल्ने अवस्था रहेन ।

१७. अतःउपर्युक्त कारणहरूबाट वादी र वादीका पति समेतले प्रतिवादीलाई हक छाडी मायामारी सकेको र प्रतिवादीले घर समेत बनाई हक भोग बिक्री व्यवहार समेत गरेको देखिएकोबाट हक नपुग्ने गोठ, तबेला, टहरा र जग्गामा वादीले उजूर गरेको देखिएको हुँदा वादी दावी नपुग्ने ठहराएको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ । शुरु काठमाडौं जिल्ला अदालतको इन्साफ सदर गरेको सर्वोच्च अदालत डिभिजनबेञ्चको मिति २०४१।१।५ को इन्साफ मिलेको देखिएन । अरु तपसील बमोजिम गर्नु ।

तपसील

माथि इन्साफ खण्डमा वादी दावी नपुग्ने भई म.क्षे.अ.को इन्साफ सदर ठहरेकोले स.अ.डिभिजनबेञ्चको मिति २०४१।१।५ को फैसलाले मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०३८।९।२८ को फैसला बमोजिम कसिएको २०३८।११।२७ को लगत कट्टा गर्ने गरेकोमा सो डिभिजनबेञ्चको फैसला बमोजिम लगत दिई नसकेको हुँदा सो लगत दिई रहन परेन र अब वादी दावी नपुग्ने ठहराएको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ नै सदर ठहरेकोले क्षेत्रीय अदालतको फैसला बमोजिमको लगत कायम नै रहने हुँदा सोही लगत बमोजिम कायम रहने भएकोले छुट्टै लगत दिई रहन परेन ................ १

प्रतिवादी अखण्ड शमशेर राणा तथा शौभाग्य लक्ष्मी राणाले डि.बे.को फैसलाले निजलाई लाग्ने ठहराएको कोर्टफी रु.८०३।७५ मिति २०४२।२।८ को पत्र साथ स.अ.ल.न.शाखा मार्फत धरौट रहेको देखिँदा उक्त धरौटी नलाग्ने हुँदा फिर्ता पाउँ भनी ऐनका म्यादभित्र प्रतिवादीहरूको दर्खास्त पर्न आए कानुनको रीत पुर्‍याई दस्तूर केही नलि निजहरूलाई फिर्ता दिनु भनी का.जि.अ.त.मा लगत दिनु .......२ 

प्रतिवादीहरू अखण्ड शमशेर राणा शौभाग्य लक्ष्मी राणा के मुद्दा दोहर्‍याउँदा राखेको कोर्टफी.६५।वादीबाट भराई पाउँ भनी ऐनका म्यादभित्रका निजहरूको दर्खास्त पर्न आए दस्तूर केही नलिई प्रतिवादीहरूलाई बराबरका दरले एनेको रीत पुर्‍याई भराई दिनु भनी ऐ.ऐ.मा लगत दिनु ......३

मिसिल नियम बमोजिम गरी बुझाइदिनू........... .४

 

उक्त रायमा हामीहरूको सहमती छ ।

न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव

न्या.हरगोविन्द सिंह प्रधान

 

इति सम्वत् २०४२ साल चैत्र २९ गते रोज ६ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु