शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २६१७ - ज्यान मार्ने उद्योग

भाग: २८ साल: २०४३ महिना: जेष्ठ अंक:

निर्णय नं. २६१७     ने.का.प. २०४३ अङ्क - २

फुलबेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

सम्वत् २०४२ सालको फौ.फु.बे.नम्बर. १३

फैसला भएको मिति : २०४३।१।१६।३ मा

 

निवेदक/प्रतिवादी : सप्तरी जिल्ला शम्भूनाथ गा.पं.वडा नं.५ बस्ने राधेश्याम साहू तेली

विरुद्ध

विपक्षी/वादी : श्री ५ को सरकार

 

मुद्दा : ज्यान मार्ने उद्योग

 

(१)         कुनै व्यक्तिले गरेको कार्य कस्तो छ सो हेरी निजले गरेको अपराधजन्य कार्यबाट नै मनसाय तत्व पहिल्याउन सकिने हुन्छ ।

(प्रकरण नं. २२)

(२)        अपराधजन्य कार्य नै मनसाय तत्व पहिल्याउने शसक्त एवं भरपर्दो माध्यम हो ।

(प्रकरण नं. २२)

 

निवेदक/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त र विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ

विपक्षी/वादीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री भैरवप्रसाद लम्साल

 

फैसला

प्र.न्या.धनेन्द्रबहादुर सिंह : श्री ५ महाराजाधिराजका हजूरमा सर्वोच्च अदालत डिभिजनबेञ्चको फैसला दोहराई हेरी दिनु भन्ने फुलबेञ्चका नाममा हुकुम प्रमांगी बक्स पाउँ भनी चढाएको विन्तिपत्रमा व्यहोरा साँचो भए फुलबेञ्चबाट दोहर्‍याई कानुन बमोजिम गरी निर्णय गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ, भनी मौसुफ सरकारका विशेष जाहेरी विभागबाट मिति २०४२।३।११ मा तोक लागि आई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ :

२. मिति २०३४।८।१९ को दिन अं. ५.३० बजे डाँकाद्वारा भएको गोली फायरबाट गोली लागी घाइते भई उपचारार्थ सगरमाथा अञ्चल अस्पतालमा भर्ना हुने मध्ये जयप्रसाद सरदार वातरले मिति २०३४।८।१९।१ को बेलुकी अं. ५।३० बजेको समय उज्यालोमा झुमर मलको कामतबाट ग्वाहार डकैत भयो भन्ने हल्ला सुनी म हल्ला भएतर्फ जाँदा झुमरमलको कामतदेखि दक्षिण रहेको स्कूल बाँसघारी नजिकमा चिनेका जुगेश्वरप्रसाद गुप्ता, जिबछ मियाँ, वचुवा वातर, महाबीर साहू तेली राधेश्याम साहू तेली, भोली साहू तेली, सीताराम गडेरी, असर्फी गडेरी समेत चिनेका र हरू नचिनेका थिए सो मध्ये राधेश्यामको हातमा टुटु बन्दूक र अरुका हातमा टोटावाल बन्दूक भएको देखें । म अगाडि बढ्दै दौडदै गरेको देखि सो मध्येको जुगेश्वरले केही नभन्दै राधेश्यामले साइड दे भनी भनेकोले मैले साइड दिँदा सो मध्येमा जुगेश्वरले ठोक्दे यसलाई भनी राधेश्यामलाई अडर दिएकोले राधेश्यामले निजको हातमा भएको टुटु बन्दूकद्वारा मलाई गोली फायर गरेको र मेरो दाँया करङ मुनी भागमा गोली लाग्न गएकोमा म सोही स्थानमा नै केही क्षण पछि व्यहोस भई लडे भन्ने र चनर चौधरीको अगाडि बढिस भने गोली हानी दिन्छु भनी जुगेश्वरले भने र सो कुरामा वास्तै नगरी उक्त कामततर्फ बढ्न लागेमा महाबीर तेली, जीवछ मियाँ, सीताराम गडेरी, राधेश्याम तेली, बच्चु वातर, जुगेश्वर कलवार गुप्ता र अरु नचिनेका एक डेढसय मानिसको हुल थियो । सो मध्येका जुगेश्वरले अडर दिएपछि हुल मध्येका डाँकाहरू के कसले मलाई गोली फायर गरे मैले गोली हान्नेलाई चिनिन मलाई मेरो बायाँ काखी मुनीको भागमा गोली लागेकोमा व्यहोस भई लडें भन्ने मिति २०३४।८।२१ मा बयान भई म अगाडि बढेमा मेरो पछि गाउँलेहरू पनि बढ्ने भई डाँकाहरूसँग भिडन्त हुने भएको र मेरो ज्यानै मारेमा मात्र गाउँलेहरू भागी जाने भएको हुँदा ज्यान मार्ने उद्देश्य राखी यस ठाउँमा गोली हाने मर्न सक्दछ भनी अंजाम गरी गोली फायर गरेको हुँदा राधेश्याम साहू तेली समेतलाई पक्राउ गरी ज्यान मार्ने उद्योगतर्फ कारवाही गराई पाउँ भन्ने समेत जयप्रसाद सर्दार वातर र चनर चौधरीको एकै व्यहोराको छुट्टाछुट्टै जाहेरी दर्खास्त ।

३. मिति २०३४।८।१९ गते डाँका गर्ने करीब ५० जनाको जमात झुमरमलको कामत घरमा आई सीताराम गडेरी र भोला साहू तेली समेत आई झुमर मलको रु.४,०७५।को धनमाल डाँका गरी त्यसपछि सोती मियाँको घरमा डाँका गरी बिगो रु.२४।को धनमाल लिए त्यसपछि सोती मियाँको सँगैको पीर महमत मियाँको  घरमा डाँका गरी बिगो रु.१०६५।को धनमाल लिए त्यसपछि केशवर साहू हलुवाई, सुदामा साहू र रवी साहूको घरमा डाँका गरी क्रमशः बिगो रु.१३३५। रु.४२६।र रु.११९८।को धनमाल डाँका गरी लग्न थाल्दाको बखत गाउँलेहरूसँग मुठभेड हुँदा चनर चौधरी र जयप्रसाद वातर समेत २ जनालाई डाँकाहरूले फायर गरेको बन्दूकको गोली लागि लडेपछि गाउँलेहरू भागे जुगेश्वरले खबर दिएपछि राधेश्याम साहू तेलीले निजको हातमा रहेको बन्दूकको फायर गरेको थियो । जुगेश्वर गुप्ता समेत ३८ जना चिनेको र अरु नचिनेको अन्दाजी १०।१२ जना थिए डाँकाहरू पक्राउ गरी ज्यान मार्ने उद्योग र डाँका गरेमा कानुन बमोजिम कारवाही गरिपाउँ भन्ने समेत सुकदेव चौधरी समेत ६ जनाको संयुक्त जाहेरी ।

४. मिति २०३४।८।१९ गतेको दिन प्र.जि.अ. कार्यालय, सप्तरी राजविराजमा आई सो दिनभर राजविराजमा थिएँ सो दिन मेरो कामत घर समेतमा दर्खास्तमा लेखिएका व्यक्तिहरूले डाँका ज्यान मार्ने उद्योग गरी धनमाल समेत लुटी लग्यो भन्ने कुरा सुने थाहा पाएको हो । घरमा गई हेर्दा जाहेरीमा लेखिएको धनमाल समेत नभएकोले बिगो रु.४०७५।को धनमाल प्रतिवादी जुगेश्वर गुप्ता समेतका मानिसहरूले डाँका गरी ज्यान मार्ने उद्योग गरेकै हुन भन्ने समेत झुमर मल माडवारीले गरेको कागज ।

५.    डाँका मध्ये जुगेश्वरले अडर दिएपछि राधेश्याम साहू तेलीले बन्दूक फायर गर्दा जयप्रसाद र चनर चौधरीलाई गोली लागेको देखेका हौं भन्ने ईश्वरलालदेव बैद्य समेतको ८ जना मानिसहरू र बन्दूक खोसा खोस हुँदा गोली चली गोली लागेको हो भन्ने कलमनारायण लाल कर्ण समेतका ८ जना व्यक्तिहरूले लेखाई दिएको सरजमीन मुचुल्का ।

६. डाँकातर्फ प्रमाण परिबन्द समेतबाट डाँका वारदात भए गरेको देखिन नआएकोले त्यसतर्फ माग दावी गर्नु नपरेको राधेश्याम साहू तेलीले जानी बुझी चनर र जयप्रसादलाई आफ्नो साथमा रहेको बन्दूकले गोली हानी ज्यान मार्ने उद्योग गरेकै देखिएकोले निज राधेश्याम साहू तेलीलाई ज्यानसम्बन्धीको १५ नं. बमोजिम सजायँ गरिपाउँ । राधेश्याम बाहेकका अरु प्रतिवादी मध्येका हरि नारायण, भगत कलवार समेतका ३९ जना प्रतिवादीहरू उपर मुद्दा नचलाउने राय साथ प्रस्तुत गरिएको छ, भन्ने प्रहरी प्रतिवेदन ।

७. मिति २०३४।८।१९ का दिन म आफ्नो घरमा थिइन । मिति २०३९।८।१ गते देखि सानो छोरीलाई पोलियो भएकोले उपचार गर्न भारतको लहरिया सरायमा गई उपचार गराई मिति २०३४।१२।२४ गते घर आएँ । कसले गोली हाने थाहा छैन । सोही मितिमा गाउँकै बुद्धिलालको घरमा डाँका भएको थियो सोही वारदातमा निजहरूलाई गोली लागेको हुनुपर्छ । सरजमीनका व्यक्तिहरूले मलाई फसाउन झुठ्ठा पोल उजूर गरेका हुन मैले ज्यान मार्ने उद्योग गरेको छैन, भन्ने समेत व्यहोराको राधेश्याम साहूको अदालतमा बयान ।

८. साइड देउ भनी जुगेश्वरले भनेको साइड नदिँदा राधेश्यामलाई जुगेश्वरले गोली ठोक भनी भनेको राधेश्यामले गोली फायर गरेको र चनर चौधरी र जयप्रसादलाई लागेको हो भन्ने समेत जाहेरवाला मध्येको सुदामा साहू तेलीको अदालतमा बकपत्र ।

९. जुगेश्वरले राधेश्यामलाई लौ गोली हान भनी बचन दिँदा राधेश्यामले बन्दूक फायर गर्दा चनर चौधरी र जयप्रसाद समेतलाई गोली लागी निजहरू लडे भन्ने समेत जाहेरवाला मध्येको रबी साहूले अदालतमा गरेको बकपत्र ।

१०.    जुगेश्वरले गोली ठोक भनी राधेश्यामलाई भन्दासाथ राधेश्यामले दुई फायर गोली हान्यो सो फायर चनर चौधरी र जयप्रसादलाई लाग्यो । निजहरू भुईमा खसे भन्ने समेत जाहेरवाला मध्येको पिर महमत मियाँले अदालतमा गरेको बकपत्र ।

११. हामी गाउँलेहरूले घेरा गर्दा साईड दे भनी जुगेश्वर गुप्ताले भने हामीहरूले नमान्दा जुगेश्वरले लौ गोली ठोक भने पछि राधेश्याम साहूले गोली फायर गरे निजले २ फायर गरे सो मध्ये १ गोली मलाई लाग्दासाथ म भूइँमा लडें । त्यसपछि के के भयो मलाई थाहा छैन भन्ने समेत जाहेरवाला चनर चौधरीको अदालतमा बकपत्र ।

१२. म समेतका गाउँलेहरूले डाँकाहरूलाई घेरा गरी अगाडि बढ्दा डाँकाहरूले साइड दे भन्दा हामी गाउँलेहरू नमानेबाट जुगेश्वरले राधेश्यामलाई लौ गोली हान भनी वचन दिनासाथ राधेश्याम साहूले एक फायर गर्नासाथ मलाई छाती मुनी दायाँतर्फ लागि व्यहोस् भई म लडे भन्ने समेत जाहेरवाला जयप्रसाद वातरले अदालतमा गरेको बकपत्र ।

१३. प्रतिवादी राधेश्याम साहू तेलीको गोलीको फायरबाट चनर चौधरी र जयप्रसादलाई चोट लाग्न गएको देखिन्छ । त्यसबाट मर्नेसम्मको काम गरी सकेको समेत देखिएन । तसर्थ ज्यान मार्ने उद्योगमा कारवाही गर्न नपर्ने भई कुटपिटमा मुद्दा चलाउनु पर्ने भएको हुँदा सरोकारवाला व्यक्तिलाई झिकाई निजले कुटपिटमा मुद्दा सकार गरेमा वादी पक्ष कायम गरी प्रचलित कानुन बमोजिम कारवाही किनारा गर्नुपर्ने ठहर्छ भन्नेसमेत व्यहोराको सप्तरी जिल्ला अदालतको फैसला ।

१४. उक्त निर्णय उपर वादी श्री ५ को सरकारको पूर्वाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदनपत्र ।

१५.   गोली प्रहार गरी ज्यान मार्ने उद्योग गरे भन्ने हुँदा कुटपिट अन्तर्गत कारवाही चलाउने गरेको सप्तरी जिल्ला अदालतको फैसला नमिलेको हुँदा अ.बं.२०२ नं. बमोजिम विपक्षीलाई झिकाई आएपछि पेश गर्नु भन्ने आदेश ।

१६. ज्यानसम्बन्धीको १५ नं. मा ज्यान मार्नका लागि भन्ने वाक्यांश रहेबाट ज्यान मार्ने नियत रहेको हुनुपर्ने स्पष्ट छ । अभियुक्तको ज्यान मार्ने नियत थियो अथवा सामान्य कुटपिट गर्ने नियत थियो भनी अभियुक्तले गरेको प्रत्यक्ष कृयाबाट व्याख्या गरिने हो । एउटा सामान्य विवेकशील मानिसले त्यसप्रकारका कृयाका परिणाम के हुन्छ भनी सोच्न सक्ने अवस्था छ, छैन भनी हेरिन्छ । लाठीको प्रकार र गोलीको प्रहारको परिणाममा भिन्नता हुन्छ । लाठी प्रहारबाट मृत्यु हुनु स्वाभाविक परिणाम होइन तर गोली प्रहारबाट स्वाभाविक परिणाम मृत्यु हो । मर्म स्थलमा गोली प्रहार गरिएमा स्वाभाविक परिणाम मृत्यु हो नमर्नु असाधारण घटना हो । अभियुक्तले अन्य स्थलको जिकिर लिएको छ । घाइते जयप्रसादको प्रहरी अदालतको बयान हेर्दा राधेश्यामलाई पहिचान गरेको भनी लेखाई दिएको देखिन्छ । राधेश्यामको नाममा लाइसेन्स भएको बन्दूक गोली र घाइतेको आङ जिउबाट निकालिएको गोली मिल्न आएको देखिन्छ । यस स्थितिमा प्र.को अन्य स्थलको जिकिर स्वीकार गर्न मिलेन राधेश्यामलाई ज्यानसम्बन्धीको १५ नं.बमोजिम दश वर्ष कैद हुन्छ भन्ने समेत पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला ।

१७. उक्त निर्णय उपर प्रतिवादी राधेश्यामको यस अदालतमा पुनरावेदनको अनुमतिको लागि निवेदन पर्दा मार्ने नियत भएको प्रमाण नभएको घाइते चनर चौधरीले कागज गर्दा पनि ज्यान मार्ने उद्योग गरेको भनी भन्न नसकेको समेतबाट प्रमाणको सही मूल्याङ्कन नगरी अ.बं. १८५(क) को त्रुटि गरी पूर्वाञ्चल क्षेत्रीय अदालतले फैसला गरेको देखिँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने सर्वोच्च अदालत डिभिजनबेञ्चको आदेश ।

१८. प्रतिवादी राधेश्याम साहू तेलीले ज्यान मार्ने नियतले नै जयप्रसाद तथा चनर चौधरी समेत उपर गोली प्रहार गरेको देखिँदा ज्यानसम्बन्धीको १५ नं. बमोजिम १० वर्ष कैदको सजायँ हुने ठहराएको पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति २०३९।११।२४।३ को इन्साफ मनासिब ठहर्छ भन्ने समेत सर्वोच्च अ. डिभिजनबेञ्चको मिति २०४१।११।२२।३ को फैसला ।

१९. श्री ५ महाराजाधिराजका हजूरमा डिभिजनबेञ्चको फैसला फुलबेञ्चबाट दोहोर्‍याई पाउँ भनी प्रतिवादी राधेश्याम साहूतेलीले चढाएको विन्ती पत्रमा व्यहोरा साँचो भए फुलबेञ्चबाट दोहराई कानुन बमोजिम निर्णय गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हुकूम बक्सेको छ, भनी मौसूफ सरकारका विशेष जाहेरी विभागबाट लेखी आए अनुसार पेश हुन आएको प्रस्तुत मुद्दामा निवेदक प्रतिवादी राधेश्याम साहू तेलीको तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त तथा विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठले प्रतिवादीको ज्यान मार्ने मनसाय थियो भन्ने प्रमाणित भएको छैन । हतियार प्रयोग हुँदैमा मार्नु पर्ने मनसाय हुँदैन । कुटपिट मुद्दा चलाउने निर्णय जिल्ला अदालतबाट भएकोले पुनरावेदन नगरेको कारणले ज्यान मार्ने उद्योग गरेको भन्न मिल्दैन । पीडित व्यक्तिहरूको भनाई एक रुपता छैन । राधेश्यामको बन्दूकबाट गोली पड्केको हो भनी प्रमाणित भएको छैन । तसर्थ प्रतिवादी राधेश्यामलाई ज्यान मार्ने उद्योगमा सजायँ गरेको मिलेको छैन । सो फैसला बदर हुनु पर्दछ भन्ने समेत र वादी श्री ५ को सरकार तर्फबाट बहस गर्न उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री भैरवप्रसाद लम्सालले विदेश गई औषधी उपचार गराएको सबूद दिन सक्नु भएको छैन । जिल्ला अदालतले वारदातमा रहेको गोली फायर गरेको ठहर गरेकोमा चित्त बुझाई बसेको छ । बन्दूक जस्तो हतियार मार्ने काम बाहेक अरुमा प्रयोग हुने वस्तु हैन । जाहेरवाला सरजमीनका व्यक्ति सबैले मार्ने नियतले गोली फायर गरेको भनी लेखाई दिएको छ । न्यायिक मन प्रयोग गरी भएको निर्णय सदर हुनु पर्दछ भन्ने समेत बहस गर्नुभयो ।

२०.   आज निर्णय सुनाउने तोकिएको प्रस्तुत मुद्दामा सर्वोच्च अदालत डिभिजनबेञ्चको इन्साफ मिलेको छ, छैन सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।

२१. यसमा निर्णयतर्फ हेर्दा राधेश्याम साहू तेलीलाई ज्यानसम्बन्धीको १५ नं. बमोजिम सजायँ गरिपाउँ भन्ने प्रहरी प्रतिवेदन दावी देखिन्छ । निवेदक प्रतिवादी राधेश्यामले बयान गर्दा मिति २०३४।८।१९ का दिन म आफ्नो घरमा थिइन । मिति २०३४।८।१ गते सानो छोरालाई पोलियो भएकोले उपचार गर्न भारत लहरिया सराय गई मिति २०३४।१२।२४ गते घर आएकोले मैले ज्यान मार्ने उद्योग गरेको छैन भनी इन्कार रहेको पाइन्छ । तर भारतमा औषधी उपचार गराएको प्रमाण दिन नसकेको घाइते जाहेरवालाहरू र सरजमीनको भनाई डाक्टरको रिपोर्टबाट समेत राधेश्यामको गोलीको फायरबाट चनर चौधरी र जयप्रसादलाई चोट लाग्न गएको देखिन्छ । ज्यान मार्ने उद्योगमा कारवाही गर्न नपर्ने कुटपिटमा कारवाही गर्नुपर्ने देखिनाले सरोकार व्यक्तिले कुटपिटमा मुद्दा सकार गरेमा कारवाही किनारा गर्न ठहराई जिल्ला अदालतबाट फैसला गरेको देखिन्छ । त्यसरी प्रतिवादी जिकिर अनुसार भारतमा औषधी उपचार गराएको प्रमाण दिन नसकेको राधेश्यामको गोलीको फायरबाट चनर चौधरी र जयप्रसादलाई चोट लाग्न गएको भन्दै कुटपिटमा कारवाही गर्नुपर्ने भनी ठहर फैसला गरे उपर निवेदक प्रतिवादी राधेश्यामले पुनरावेदन नगरी जिल्ला अदालतको ठहरलाई स्वीकारी चित्त बुझाई बसेबाट वारदातको समय औषधी उपचार गराउन गएको भन्ने र मैले बन्दूक फायर गरेको होइन भन्ने निज प्रतिवादी राधेश्यामको भनाईतर्फ अब विचार गर्नुपर्ने अवस्था रहेन ।

२२. ज्यान मार्ने मनसाय निवेदक प्रतिवादी राधेश्याम साहू तेलीको थियो थिएन ? भन्नेतर्फ हेर्दा कुनै व्यक्तिले गरेको कार्य कस्तो छ सो हेरी निजले गरेको अपराधजन्य कार्यबाट नै मनसाय तत्व पहिल्याउन सकिने हुन्छ । अपराधजन्य कार्य भन्दा अलावा अन्य आधारबाट निकाल्न खोजिने मनसाय तत्व बस्तुगत  परीक्षण आधारित रहँदैन । त्यसैले यस्तो माध्यम असम्भव नभए पनि जोखिमपूर्ण भन्ने अवश्य हुन्छ । अपराधजन्य कार्य नै मनसाय तत्व पहिल्याउने शसक्त एवं भरपर्दो माध्यम हो । बस्तुगत परीक्षणमा आधारित भएर निकालिने निष्कर्ष हुँदा यस्तो निष्कर्ष सधैं कसी लगाएर जाँच्न सकिने खालको हुन्छ । यस परिप्रेक्षमा अब प्रस्तुत मुद्दाको तथ्यतर्फ हेर्दा मार्ने नियतले प्रतिवादी राधेश्यामले गोली चलाएको हो भन्ने घाइते जयप्रसादले मौकाको बयानमा र जाहेरी दर्खास्तमा समेत लेखाई दिएको देखिन्छ । प्रतिवादी राधेश्याम साहू तेलीले चलाएको गोली जयप्रसादलाई छातीको दायाँ भागमा लागेको र सो गोली शल्य कृया गरी झिक्नु परेको मिसिल प्रमाणबाट देखिन्छ । त्यस्तै चनर चौधरीलाई पनि छातीमा गोली लागेको पाइन्छ । सो गोलीको प्रहारको परिणाम मृत्यु हो भन्ने कुरामा शंका छैन । पीडित व्यक्तिहरू जयप्रसाद तथा चनर चौधरी उपचारको अवस्था अस्पतालमा चिन्ताजनक स्थितिमा रहेको भन्ने अस्पतालको पत्रबाट देखिन्छ । यस्तोमा मार्नेसम्मको काम गरेको होइन भन्न मिल्ने देखिँदैन । सरजमीनका टिकाराम चौधरी, लक्ष्मी नारायण चौधरी, जुगती खत्वे, विजयकुमार चौधरी, रवी साहू तेली समेतले प्रतिवादी राधेश्यामले गरेको फायरबाट जयप्रसाद र चनर चौधरीलाई लागेको भनी अदालतमा समेत आई बकपत्र गरेको पाईन्छ । यस अवस्थामा चनर चौधरी र जयप्रसाद उपर बन्दूक प्रहार गर्ने प्रतिवादी राधेश्याम साहू तेलीको निजहरूलाई पनि मारौं भन्ने मनसाय थिएन भनी मान्न सकिने अवस्था देखिएन । साथै तर्साउने नियतले बन्दूक प्रहार गरेको भन्ने प्रतिवादी राधेश्यामले भन्न सकेको पनि छैन । यस्तोमा ज्यानसम्बन्धीको १५ नं. अनुसारको अपराध गरेको होइन भन्न मिल्ने स्थिति रहेन ।

२३. तसर्थ उपयुक्त आधारमा प्रतिवादी राधेश्याम साहू तेलीले ज्यान मार्ने उद्योग गरेको भन्ने देखिँदा सफाई पाउनुपर्ने भन्ने निवेदक प्रतिवादी राधेश्याम साहू तेलीको जिकिर पुग्न सक्तैन । प्रतिवादी साहू तेलीले ज्यान मार्ने उद्योग गरेको ठहराई निजलाई ज्यानसम्बन्धीको १५ नं. बमोजिम कैद वर्ष दश गर्ने गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ सदर ठहराएको सर्वोच्च अदालत डिभिजनबेञ्चको इन्साफ मनासिब ठहर्छ । प्र.राधेश्याम साहू तेलीके मुद्दा दोहराए बापत अ.बं. २०४ नं.ले शुरु कैद वर्ष १० को सयकडा १० ले कैद वर्ष १ एक थप कैद लाग्छ बेरुजु हुँदा ऐन बमोजिम असूल गर्नु भनी र यस अदालत डिभिजनबेञ्चको मिति २०४१।११।२२ को फैसलाले लाग्ने गरेको कैद महीना ६ को अ.बं. १९४ नं. बमोजिम हुने रु.२७०।प्रतिवादी राधेश्याम साहू तेलीले दाखिल गरेको मिति २०४२।४।२ को पत्रसाथ सर्वोच्च अदालत (ल.नं.शाखा) मार्फत का.जि.अ.त.मा धरौट रहेको सो धरौटी निज राधेश्यामलाई कैद असूल भएपछि कानुनको रीत पुर्‍याई फिर्ता दिनु भनी का.जि.अ.मा लगत दिई मिसिल नियम बमोजिम गरी बुझाइदिनू ।

 

उक्त रायमा हाम्रो सहमत छ ।

न्या. बब्बरप्रसाद सिंह,

न्या.महेशरा भक्त माथेमा

 

इति सम्वत् २०४३ साल बैशाख १६ गते रोज ३ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु