शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २६२२ - उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ

भाग: २८ साल: २०४३ महिना: जेष्ठ अंक:

निर्णय नं. २६२२     ने.का.प. २०४३ अङ्क - २

फुलबेञ्च

माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी

सम्वत् २०४१ सालको रि.फु.नं. ५२

आदेश भएको मिति : ०४३।२।२७।३ मा

 

निवेदक  : भक्तपुर नगर पञ्चायत वडा नं.११ बस्ने विष्णुभक्त हिम्सुतु

विरुद्ध

विपक्षी : ऐ.वडा नं.१४ मंगलाछे बस्ने कान्छी के.सी.समेत

 

विषय : उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ

 

(१)         मोही निष्कासन गर्ने निर्णय गरेको अवस्थामा कूत पनि अनिवार्य रुपले भराउन पर्छ भनी भन्न दफा २९(३) को व्यवस्थाबाट मिल्ने नदेखिने ।

(प्रकरण नं. १०)

(२)        बाली मुद्दा पर्दापर्दैको अवस्थामा बुझेको भन्ने देखाउन नसकेको अवस्थामा बाली बुझेको भन्ने दोष पनि जग्गा धनीलाई लगाउन मिल्ने देखिँदैन ।

(प्रकरण नं. ११)

 

निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री कुलदेव राज शाही

विपक्षीतर्फबाट : विद्वान का.मु.अतिरिक्त न्यायाधिवक्ता श्री भैरवप्रसाद लम्साल र विद्वान व.अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल

 

आदेश

न्या.पृथ्वीबहादुर सिंह : सर्वोच्च अदालत डिभिजनबेञ्चको निर्णय उपर निवेदकको श्री ५ महाराजाधिराजका जुनाफमा विन्तिपत्र पर्दा व्यहोरा साँचो हो र मुद्दा पर्दापर्दै धरौटी बाली समेत बुझी सकेको रहेछ भने त्यस अदालतबाट निर्णय भएको बिन्ति पत्रमा लेखिएको उत्प्रेषणको आदेश जारी गरिपाउँ भन्ने रिट निवेदन सम्बन्धी मुद्दाको मिसिल झिकी फुलबेञ्चबाट दोहर्‍याई हेरी कानुन बमोजिम गर्नु भन्ने समेत मौसुफका विशेष जाहेरी विभाग मार्फत बक्स भई आएको हुकुम प्रमांगी बमोजिम फुलबेञ्चको लगतमा दर्ता भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण निम्न बमोजिम छ ।

२. महेन्द्र वालेश्व सिपाडोल गा.पं.वडा नं.२(क) कि.नं. २७६ बाट नापी भएको खेत रोपनी ४० मा जग्गा धनीमा विपक्षीहरू जनिएको र जग्गा मैले कमाई भोगी आएको जग्गा हो विपक्षीहरूलाई याम टायममा मैले बाली बुझाई आएकोमा विपक्षीले पहिले देखि बदनियत चिताई बाली बुझाई सकेपछि भनी बाली भराई जग्गा निष्कासन गरिपाउँ भनी विपक्षले विपक्ष नं. ४ कहाँ फिराद गरेको रहेछ । सो फिरादपत्रमा कारवाही चल्दाचल्दै मैले दाखेल गरेको भर्पाई कीर्ते ठहराई फैसला भएपछि विपक्ष नं. ४ ले थामी आएको म्यादसम्मलाई पनि नपर्खी प्रतिवाद गर्ने मौका सम्म पनि  नदिई बाली नभराउने जग्गा मात्र निष्कासन गर्ने गरी प्राकृतिक न्याय सिद्धान्तको विपरीत ०३०।१२।१६।३ मा फैसला गर्नुभएको छ जुन मलाई जानकारी दिएपछि मात्र थाहा पाएँ ।

३. मलाई भू.सु.शाखा भक्तपुरले २०३८ साल फाल्गुण १८ गते हाजिर हुन आउनु भनी तारेख तोकी दिएको र सो तारेख गुज्रन गएकोले ७ दिनभित्र थामी पाउँ भनी विन्तिपत्र चढाएकोमा थामी दिनु भन्ने हुकुम प्रमांगी बक्स भएपछि उक्त हुकुम प्रमांगी सहितको बिन्तिपत्र विपक्ष कहाँ ०३८।१२।२४ मा दाखेल हुन आएको हु.प्र.दाखेल हुन बाँकी छँदै धरौटी तारेखमा बस्न जाँदा धरौटी तारेखमा सम्म नराखी प्रतिवाद गर्ने मौका समेत पनि नदिई फैसला गर्नुभएको रहेछ । विपक्षको पहिलो माग बाली भराई पाउँ भन्ने र दोश्रो माग जग्गाबाट निष्कासन गरिपाउँ भन्ने माग हो पहिलो माग नै पूरा नभई दाश्रो माग पूर्ति हुन आउने वा हुन सक्ने अवस्था नै आउँदैन । बाली भराई पाउने ठहराएपछि मात्र जग्गा निष्कासन गर्न पाउने हो । बाली नै भराउन नपर्ने ठहराएपछि जग्गा निष्कासन गर्न पाउने स्थिति नै छैन । मैले पेश गरेको भर्पाईलाई अदालतले कीर्ते ठहराई कीर्ते बापत सजायँ भइसकेपछि कीर्ते ठहरिएको नाताले सजायँ हुनुपर्छ भन्ने बाली सम्म विपक्षले भराई पाउने हो जग्गाबाट निष्कासन गर्न मिल्ने होइन विपक्षको निर्णयबाट नेपालको संविधानको धारा १०(१) ११(२)(ङ) द्वारा प्रदत्त अधिकार हनन् गरेको हुनाले विपक्षको निर्णय उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश वा पुर्जीद्वारा बदर गरी फैसलाको आधारमा दाखिल गरेको कारबाई समेत बदर गरिपाउँ भन्ने समेत निवेदन जिकिर ।

४. विपक्षबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने समेत सिंगलबेञ्चको ०३२।३।७ को आदेश ।

५.    विपक्षीले ०३४ सालको कूत बुझाएको भर्पाई पेश गरेकोमा भक्तपुर जिल्ला अदालत तथा अञ्चल अदालतबाट समेत भर्पाई कीर्ते ठहराई फैसला भएको मिसिलबाट देखिन आएको र ०३४ सालको बाली बुझाएको भन्न नमिल्ने भएको हुँदा ०३४ सालको कूत नबुझाएकै ठहराई आफ्नै कार्य क्षेत्रभित्र रही भूमिसम्बन्धी ऐन, २०२१ को दफा २९(१) अनुसार जग्गाबाट निष्कासन गर्ने गरी मिति ०३८।१२।१६ मा यस कार्यालयले गरेको निर्णय कानुन बमोजिम नै गरे भएको हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत जिल्ला कार्यालय भूमिसुधार शाखा भक्तपुरको लिखितजवाफ ।

६. बाली नै नभराउने भएपछि निष्कासन गर्न नहुने भन्ने विपक्षीको भनाई पनि आफ्नो मन माफिकको भनाई सम्म हो कानुन अन्तर्गतको कुरा होइन । बाली भराई मोहियानी निष्कासन गरिपाउँ भन्ने माग हाम्रो हो बाली नभराउने निर्णयबाट हामीलाई भएको हानी नोक्सानीलाई आधार बनाई प्रतिवाद गर्ने काम हाम्रो हो विपक्षीको होइन । हामीले दावी गर्ने उक्त कुरालाई विपक्षीले निवेदन गर्ने आधार बनाउन पाउने होइन । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २९(१) अनुसार मोही निष्कासन गर्ने र उपदफा (३) अनुसार बाली भराउने नभराउने निर्णयकर्ताको स्वविवेकमा राखिएको छ । भू.सु. शाखाबाट निष्कासन भएपछि बाली भराउने नभराउने कुरा निर्णयकर्ताको विवेकमा छोडिएको हुँदा बाली भराउनु र निष्कासन गर्नु विलकूल फरक कुरालाई गोल मटोल पारी कोरा तर्कको आधारमा रिट निवेदन दिन आउनु भएको हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत कान्छी के.सी.१ बलराम के.सी.१ समेत २ जनाको वारेस भई आफ्नो हकमा समेत इन्दुल के.सी. को लिखितजवाफ ।

७. निर्णयार्थ डिभिजनबेञ्च समक्ष पेश हुँदा मोहीले कूत नबुझाएकोले बाली भराई जग्गाबाट निष्कासन गरिपाउँ भन्ने समेत प्रत्यर्थी जग्गा धनीको उजूर परेको र सो उजूरीमा मोहीले बाली बुझाएको भन्न मिलेन  भन्ने कुराको ठहर गर्दै मोहिबाट निष्कासन हुने ठहर्छ भनी भूमिसुधार शाखा भक्तपुरले गरेको निर्णयमा कानुनको त्रुटि गरी निर्णय गरेको देखिन नआई कानुन बमोजिम निर्णय फैसला गरेको देखिँदा प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ भन्ने समेत डिभिजनबेञ्चको ०३९।९।५।२ को निर्णय ।

८. निवेदकतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री कुल देवराज शाहीले बाली विषयमा निर्णय गरेपछि मात्र मोही निष्कासन गर्न सक्ने हुन्छ । मेरो पक्षले नगर पञ्चायतमा धरौट राखेको बाली समेत जग्गा धनीले बुझी लगेको समेतबाट मोहियानी हकबाट निष्कासन हुने ठहराएको विपक्षी कार्यालयको निर्णय त्रुटिपूर्ण हुँदा बदर हुनुपर्छ भन्ने समेत बहस गर्नुभयो । विपक्षी भू.सु.शाखाको तर्फबाट उपस्थित विद्वान का.मु. अतिरिक्त न्यायाधिवक्ता श्री भैरवप्रसाद लम्सालले रिट निवेदकले पेश गरेको बाली बुझाएको भर्पाई कीर्ते ठहरी फैसला भएको कारणबाट मोही निष्कासन गर्ने ठहराएको भू.सु.का.को निर्णय कानुन अनुरुप नै हुँदा रिट निवेदन खारेज हुने ठहराएको डिभिजनबेञ्चको इन्साफ सदर हुनुपर्छ भन्ने समेत बहस गर्नुभयो । विपक्षी इन्दुल के.सी. समेतको तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्यालले रिट निवेदकले पेश गरेको भर्पाई कीर्ते ठहरेको कारणबाट मोही निष्कासन भएको छ । जग्गा धनीले बाली बुझेको भन्ने हकमा मुद्दामा भू.सु.का.बाट निर्णय भइसकेपछि बुझेको हो र विवाद परेको ०३४ सालको बाली बुझेको पनि हैन । मेरो पक्षको आचरण उपरको रिट नभई भू.सु.का.को निर्णय उपरको रिट हुँदा बाली बुझेको कुराले कुनै असर गर्दैन भन्ने समेत बहस गर्नुभयो ।

९. मिति २०४३।२।२०।३ मा यस बेञ्च समक्ष पेश भई आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत रिट निवेदनमा निर्णयतर्फ हेर्दा प्रतिवादीले पेश गरेको भर्पाई सद्देकीर्ते सम्बन्धमा मुद्दा चली भर्पाई कीर्ते भन्ने फैसला भएकोबाट मोहीले कीर्ते भर्पाई पेश गरेको भन्ने प्रमाणित भएको देखिन आएको हुँदा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २९(१) अनुसार मोही निष्कासन हुने ठहर्छ र कूत भराउन पर्छकी भन्नलाई कूत नतिरे बापत निष्कासन नै हुने भइसकेकोले र भू.सं. ऐन, २०२१ को दफा २९(३) अनुसार कूत भराउन नै पर्ने गरी फैसला गर्नुपर्ने बाध्यता नभएकोले कूत भराउन नपर्ने ठहर्छ भन्ने समेत भूमिसुधार शाखा भक्तपुरबाट ०३८।१२।१६ मा निर्णय भएको देखिन्छ ।

१०.    ०३४ सालको कूत बाली मोहीले नबुझाएको भनी जग्गा धनीको उजूर परेको र रिट निवेदक (मोही) ले पेश गरेको भनेको भर्पाई कीर्ते ठहरेबाट मोहीले बाली बुझाएको भन्न भएन भन्ने कुरा भू.सु.शाखाको निर्णयमा परेको छ । मोहीले कूत नबुझाएको ठहराएपछि मोहियानी हकबाट निष्कासन गर्न पाउने अधिकार भूमिसुधार अधिकारीलाई भूमिसम्बन्धी ऐनको दफा २९(१) ले प्रदान गरेको देखिन्छ । कूत नबुझाएको ठहराएको अवस्थामा कूत भरी पाउने ठहराएर मात्र मोही हकबाट निष्कासन गर्न सकिन्छ भन्न उक्त दफा २९(१) को व्यवस्थाबाटै मिल्दैन । कूत नबुझाएको ठहराएपछि जग्गावालालाई मोहीबाट कूत समेत भराई दिन सक्ने अधिकार दफा २९(३) ले भू.सु.अ. लाई दिएकोले अवस्था हेरी कूत भराउन तथा नभराउन पनि सक्ने स्वविवेक भएको देखिन आउँछ । तसर्थ मोही निष्कासन गर्ने निर्णय गरेको अवस्थामा कूत पनि अनिवार्य रुपले भराउन पर्छ भनी भन्न उक्त दफा २९(३) को व्यवस्थाबाट मिल्ने देखिँदैन ।

११. मुद्दा चलिरहेको अवस्थामा मोहीले धरौट राखेको बाली जग्गाधनीले बुझेको छ भन्ने जिकिर निवेदकतर्फका विद्वान अधिवक्ताले लिनु भएको हकमा ०३४ सालको बाली विषयलाई लिएर प्रस्तुत रिट निवेदन परेको देखिन्छ । ०३४ सालको बाली मुद्दा पर्दापर्दैको अवस्थामा जग्गा धनीले बुझेको भन्ने कतैबाट  देखिँदैन । जग्गाधनीले बाली बुझेको भनी रिट निवेदकले पेश गरेको भराई नक्कलहरूबाट निवेदकले ०३५ सालको धरौट बाली बुझेको देखिन्छ । तसर्थ विवाद परेको ०३४ सालको बाली मुद्दा पर्दापर्दैको अवस्थामा बुझेको भन्ने देखाउन नसकेको अवस्थामा बाली बुझेको भन्ने दोष पनि जग्गा धनीलाई लगाउन मिल्ने देखिँदैन ।

१२. अतः उपर्युक्त कारणहरूबाट रिट निवेदकलाई मोहियानी हकबाट निष्कासन गर्ने गरेको भूमिसुधार शाखा भक्तपुरको निर्णय कानुन अनुरुप नै देखिँदा निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिल्ने देखिएन । प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । रिट निवेदन खारेज हुने ठहराएको डिभिजनबेञ्चको इन्साफ मनासिब ठहर्छ ।

 

उक्त रायमा हामीहरूको सहमती छ ।

न्या. हरगोविन्द सिंह प्रधान

न्या.हरिहरलाल राजभण्डारी

 

इति सम्वत् २०४३ साल ज्येष्ठ २७ गते रोज ३ शुभम्



 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु