शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २६३८ - कर्तव्य ज्यान

भाग: २८ साल: २०४३ महिना: जेष्ठ अंक:

निर्णय नं. २६३८     ने.का.प. २०४३ अङ्क - २

डिभिजनबेञ्च

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

सम्वत् २०४१ सालको फौ.पु.नं. ६२५,६२९

सम्वत् २०४२ सालको फौ.पु.नं. ४३२

सम्वत् २०४२ सालको फौ.सा.नं. ९०

फैसला भएको मिति : २०४३।२।२२।५ मा

 

पुनरावेदक/प्रतिवादी : कपिलवस्तु होमवानीपुर गा.पं.वडा नं.९ कटैया बस्ने चमारी थारु

विरुद्ध

विपक्षी/वादी : श्री ५ को सरकार

 

पुनरावेदक/प्रतिवादी : कारागार शाखा कपिलवस्तुमा थुनामा रहेको जग्गु डगोरिया थारु

विरुद्ध

विपक्षी/वादी : श्री ५ को सरकार

 

पुनरावेदक/वादी : श्री ५ को सरकार

विरुद्ध

विपक्षी/प्रतिवादी : कपिलवस्तु होमवानीपुर गा.पं.वा.नं.९ जगनारायण दगोरिया थारुसमेत

 

मुद्दा : कर्तव्य ज्यान

 

(१)         लाश गाडेको देखिएको हुँदा ज्यानसम्बन्धीको ४ नं. अनुसार थप कैद ६ महीना र ज्यानसम्बन्धीको २५ नं. अनुसार २० जरिवाना हुन्छ, भन्ने ठहराएको क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्ने ।   

(प्रकरण नं. ४३)

 

पुनरावेदक/प्रतिवादीहरूतर्फबाट : विद्वान अधिवक्ता श्री चुडामणीराज सिंह मल्ल र विद्वान वै.अधिवक्ता श्री पृतम राणा

पुनरावेदक/वादीतर्फबाट            : विद्वान मुख्यन्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा

 

फैसला

न्या.गजेन्द्रकेशरी बास्तोला : पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसलामा चित्त बुझेन भन्ने समेत वादी तथा प्रतिवादीको यस अदालतमा पर्न आएको पुनरावेदन तथा प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ ।

२. यही गत दशैं टिकाको दिन विहान १०, ११ बजे दिशा गर्न भनी जाँदा जग्गु थारुले बन्दूक लिई घुमेको देखेको र केही वेरमै बन्दूकको आवाज आई गई हेर्दा भूँइमा (पिडालु वारीमा) मेरा छोरा रामप्रसाद छातिमा रगत आई मरेको देखी हल्ला गर्दा निज जग्गु आई हल्ला गरेमा मारी दिन्छु भन्ने धम्की दिएकोले मौकामा जाहेर गर्न सकिन । लाश वेपत्ता परेकोले पत्ता लगाई निज उपर कारवाही गरिपाउँ भन्ने समेत व्यहोराको मिति २०३६।६।२५ को जाहेरी ।

३. पिडालु वारीमा रगतको कुनै दाग चिन्ह नभएको लाशलाई गाडेको माटो हटाई हेर्दा लाशको पछाडि डडाल्नो बीच बाँया भागमा कान्छी औंला छिर्ने प्वाल भएको आँखा चिम्लिएको मुख केही खुल्ला भुँडी र छातीको बीचमा बुढी औंला छिर्ने प्वाल भएको दुवै हात अर्धमुठी पारेको गुद्धारमा केही नदेखिएको लाश सडी गली दुर्गन्ध फैलिएको भन्ने समेत मिति २०३६।६।२५ को घटनास्थल र लाश प्रकृति मुचुल्का । There is communicating injury the chest a bullet of gun and probably person expired due to humerage amd shock भन्ने समेत मिति २०३६।६।२६ को लाश जाँच प्रतिवेदन ।

४. यही वडा दशैं टिकाको दिन जन नारायणले ढुकुर मार्ने भनी बन्दूक माथि लिई गएकाले हामी सबै टिका लगाई जाँड खाने धुनमा हुँदा बन्दूकको आवाज आएको थियो । जाँड खाई सकेपछि घर आई छोरो जस्तै गरी पालेको रामप्रसादको सोधी खोजी गरी खोज्न जाँदा गोली लागी मरेको अवस्थामा फेला परेको र सो ठाउँमा मेरै बन्दूक देखी बन्दूक लगी गोठमा राखी हल्ला खल्ला गर्दा राजाराम थारु, बेरु थारु समेत आई वडा अध्यक्ष चमरिले जग्गुको बन्दूकले मारेकोले रु.२०००५।दिई देउ भनी लाश गाड्न भनेबाट बेरु थारु, ठगी थारु हाउ थारु, समेत भई लाश गाडी आएका र मैले भोलीपल्ट ऋण गरी रु.१८००।चमारीलाई दिएको हो रामप्रसादलाई राजारामको छोरा जग नारायणले मारेको हुनु पर्दछ । रामप्रसादलाई मैले मारेको होइन साथै जाहेर गर्न नदिएको होइन । चमारीले समेत व्यहोराको प्रतिवादी जग्गु दगोरियाको प्रहरीमा गरेको इन्कारी बयान ।

५.    टिकाको दिन चिडिया मार्नलाई भनी बन्दूक लिएर आइज र रामप्रसादलाई मारेमा तिमीहरू बसेको घर जग्गा र रामप्रसादको तिम्रो बाबुको नाममा भएको जग्गा पनि तिमीहरूकै हुन्छ भनी भनेबाट घुइया बारीमा गोली हानी रामप्रसादलाई मारी बन्दूक फाली हिंडे वडा बाबु चमारले जग्गुले पैसा खर्च गर्छ भने दवाई दिन्छु भनेबाट पैसा दिने कबूल गरी दबाएका हुन म गइन भन्ने समेत प्रतिवादी जगनारायण दगोरिया थारुले मिति २०३६।६।३१ मा प्रहरीमा गरेको बयान ।

६. रामप्रसादले जग्गा बेची खायो भनी बदनाम गरेकोले राजारामको नाममा दर्ता भएको जग्गा रामप्रसादलाई मारी दिए जग्गा खोज्ने मानिस अरु हुँदैन भन्ने लागी राजारामको छोरा जग नारायणलाई हात लिई बन्दूकले हानी मारी दिनु भनी घर आएँ । आएपछि रामप्रसाद मरेको थाहा पाई रु.दुई हजार दिने कबूल गराई जाहेर गर्न रोकी घर आएँ । क कस्ले दबाए भन्न सक्दिन रामप्रसादलाई मार्न भनी अराएको सम्म हो । राजाराम र अरुसँग सल्लाह भएको छैन भन्ने समेत प्रतिवादी चमारी थारुको मिति २०३६।६।३१ मा प्रहरीमा भएको बयान ।

७. दशैंको दिन जाँड खाएर सुतेको अवस्थामा जग्गु गई रामप्रसाद मार्न हिंड भनी भन्दा घुईया बारीमा रामप्रसाद मरेको देखें । ९, १० दिन पछाडि  रामप्रसादका आमाले जग्गुले बन्दूकले हानी मारेको भनी हल्ला गरेको सुनेको र मारेको कुरा दबाउन चमारीले पैसा लिएको भन्ने सुनेको हुँ मार्नु पर्ने कारण मलाई थाहा छैन भन्ने समेत प्रतिवादी राजारामको मिति २०३६।७।९ को बयान ।

८. दशैंको टिकाको दिन नाच गाँन गर्दाको अवस्थामा जग्गुले भन्दा रामप्रसाद मरेको थाहा भयो । लाश जाँचमा लगी गाडी जग्गुले जाहेर नगर्नु भनेको थियो । कसले किन कसरी मारे थाहा छैन, भन्ने प्रतिवादी गेदु थारुको मिति २०३६।७।९ को बयान ।

९. मृतकको आमाले जग्गुले रामप्रसादलाई बन्दूकले मारे भनेबाट थाहा पाएको हुँ । नदेखेको हुनाले कसले मारे भन्न सक्दिन । चमारीले केश दबाई दिन्छु भनेबाट जग्गुले पैसा मागेकोले दिएको हुँ भन्ने समेत प्रतिवादी बेरु थारुको मिति २०३७।७।९ को बयान ।

१०.    वडा दशैंको दिनमा करीब १० बजे बन्दूक पड्की आमा रोएको सुनी आउँदा आमाले रामप्रसाद पिडालु वारीमा मरेको देखि छोरातर्फ जानलाग्दा बन्दूक लिई घरतर्फ आउन लागेको जग्गुले हल्ला गरेमा मारी दिन्छु भनी घर आए भनी भनेबाट थाहा भयो । जग्गुले मलाई पनि धम्क्याएको थियो । लाश पूर्वी जंगलमा लगी गाडेको हो भन्ने समेत थागे थारुको मिति २०३६।७।९ को बयान ।

११. गत आश्विन महीनामा बेलौतीमा प्रहरीले भेटी बलुहवा जानु पर्‍यो भनेकाले जाँदा रामप्रसाद मरेको थाहा भयो । ठगो थारुले जग्गुले मारी गाडेको भनेको सुनेको हुँ । को कस्ले कसरी मारे थाहा छैन भन्ने समेत उप प्र.पं.मोतीराम थारुको मिति २०३६।७।९ को बयान ।

१२. मैले र चमारीले कुनै कागज पनि राजारामसँग गराएको छैन । मर्ने रामप्रसादकी आमाले भनेबाट रामप्रसाद मरेका थाहा भयो । ढागे थारुले जग्गुले मारी गाडेको हो भनेको सुनें । को कसले कसरी मारे थाहा छैन मारेको कुरामा जग्गु उपर शङ्का लाग्छ भन्ने समेत प्र.पं.देवेन्द्रप्रसाद निरौलाको मिति २०३६।७।९ को कागज ।

१३. गएको दशहराको दिन देउताको स्थानमा थिएँ । फर्कदा रामप्रसाद अचानक मरी लगी मट्टि दिइसकेको कुरा थाहा भयो । मट्टि दिन को गए थाहा छैन । रामप्रसादको आमाले जग्गुले मारेको भनेबाट थाहा भयो । दबाउने रुपमा उठाए खाएको थाहा छैन भन्ने समेत व्यहोराको लक्ष्मण थारु र पहिले रामप्रसाद मरेको र पछि जग्गुले मारेको भन्ने सुनेको हुँ के कस्ले किन मारे थाहा छैन चमारी र जग नारायणले मारेको भन्ने थाहा छैन भन्ने समेत व्यहोराको रैनु थारु समेतको मिति २०३६।७।९ को सरजमीन मुचुल्का ।

१४. चमारीले बैंकबाट टेक्टर लिएका हुन त्यसमा मेरो कुनै हिस्सा छैन । रामप्रसाद थारु कर्तव्य भई मरेमा कुनै थाहा छैन भन्ने समेत कृषि विकास बैंक कृष्णनगर उपशाखाका प्रबन्धक लक्ष्मणप्रसाद निरौंलाको मिति २०३६।७।१० को कागज ।

१५.   जग नारायण थारुले बन्दूक फायर गरी रामप्रसादलाई मारेकोमा ज्यानसम्बन्धीको १३(१) नं. ले र चमारी थारु, जग्गु थारुलाई सोही १३(४) ले सजायँ हुन र अन्य राजाराम थारु, बेरु भोम्है, लाटैन हाड, चुल्हई जगंसर, मगन, पञ्चम भिखू, जेदू, टिकाराम अडवड, रामबहादुर, लखन पोडे समेतलाई ज्यानसम्बन्धीको २५ नं.ले सजायँ हुन र अभियुक्त जग्गु थारु प्रहरी हिरासतबाट भागेकोले निज र फेला नपरेका अरु व्यक्तिहरू उपर समाव्हान जारी हुन माग दावी लिएको संयुक्त प्रहरी प्रतिवेदन ।

१६. प्रहरीमा करकापबाट कागज गराएका हुन । २०३६ साल टिकाको दिन म घरै छु । जग्गुसँग बन्दूक मागी ल्याएछ रामप्रसादलाई मारी देउ जग्गा तिम्रो हुन्छ भनी जग नारायणलाई भनेको होइन । रामप्रसादलाई कसले कसरी मारे थाहा छैन । जग्गुसँग भेट भएको र रु.२०००।रु.समेत मागेको र लाश दबाउने  कुरा समेत गरेको होइन भन्ने समेत प्रतिवादी चमारी थारुको मिति २०३६।७।१६ मा अदालतमा भएको बयान ।

१७. मेरो प्रहरीमा भएको बयान जग्गुले सिकाए अनुसार गरेको हुँ । मैले जग्गु कहाँबाट बन्दूक मागी ल्याई रामप्रसादलाई हानी मारेको समेत होइन । हामी देवताकै स्थानमा भएको बेला रामप्रसाद मरेकोले मलामी जाउँ भनी जग्गु गई थिए । तर म गइन । रामप्रसादको आमाबाट ३, ४ दिन पछि जग्गुले बन्दूकले हानी मारेको भन्ने सुनेको हुँ भन्ने समेत प्रतिवादी जग नारायण थारुको मिति २०३६।६।१७ मा अदालतमा बयान ।

१८. २०३६ सालको दशैंको टिकाको दिन घरमै सुतेको अवस्थामा जग्गु आई रामप्रसाद विरामी भई मर्‍यो फाल्न जाउँ भनी जाँदा लाश ढाकी राखेको थियो । लगी गाडी आएका हौं । रामप्रसादको आमाले ३, ४ दिन पछि जग्गुले गोली हानी मारेको हो भनेबाट थाहा भयो । तसर्थ जग्गु उपर शंका लाग्छ पैसा उठाएको थाहा छैन अरु मलाई थाहा छैन भन्ने समेत प्रतिवादी पोडे थारुले मिति २०३६।७।१९ मा अदालतमा गरेको बयान ।

१९. २०३६ सालको दशैंको टिकाका दिन बिहान बाबाको स्थानमा भएको बेला जग्गु आई रामप्रसाद ४, ५ दिन देखि विरामी भई मरेछ हिंड मारी दिउँ भनेकोले गएको रामप्रसादको आमाले जग्गुले गोलीबाट मारेको भनेबाट जग्गुले नै हानेको जस्तो लाग्छ चमारीले बन्दूक ल्याउन लगाएको दबाउन पैसा लिएको बैंकबाट टेक्टर लिएको समेत थाहा छैन, भन्ने समेत प्रतिवादी राजारामको मिति २०३६।७।१९ मा अदालतमा बयान ।

२०.   २०३६ साल टिकाको दिन टिका लगाई नाच हेरी घर आई सुतेको जग्गु आई रामप्रसाद विरामी थिए मरे भनी गए । के भएर कसरी मरे थाहा भएन लाश गाड्न म गइन लाश पनि देखिन रामप्रसादकी आमाले भनेकोले जग्गुले मारेको भन्ने थाहा भयो ।

२१. मैले जग्गुलाई रु.१०००।दिएको किन मागे रु.१८००।बनाई किन राख्‍न दिए जान्दिन प्रहरीमा गरेको कागज पढी बाची सुनाई गराएको होइन जग्गुले रामप्रसादको लाश दबाउन चमारीलाई रुपैयाँ दिई मलाई पठाएको समेत होइन भन्ने समेत प्रतिवादी बेरु थारुको मिति २०३६।७।१९ मा अदालतमा गरेको बयान ।

२२. रामप्रसादलाई कसले मारे थाहा भएन । ९ दिन पछि जग्गुले मारे भन्ने सुनेको हुँ त्यस भन्दा पहिले केही थाहा थिएन भन्ने समेत व्यहोराको प्रतिवादी लखन थारुको मिति २०३६।११।१३ मा अदालतमा बयान ।

२३. बडा दशैंको दिन जाँड रक्सी खाई आफ्नै घरमा थिएँ । रामप्रसादलाई कसले कसरी मारे थाहा भएन । रामप्रसादकी आमाले भन्दा जग्गुले मारेको भन्ने थाहा पाएँ भन्ने समेत प्रतिवादी अग्नु थारुको मिति २०३६।११।१३ मा अदालतमा बयान ।

२४. वारदात भएको भनेको दिन म घरमै छु । रामप्रसादलाई कसले मारे मलाई थाहा छैन । जग्गुका घरमा मानिसले लाश गाडेको ठाडै बताएपछि म समेत गई निकालेको हो मारेको कुरा मात्र थाहा भएको हो भन्ने प्रतिवादी चुल्ही थारुको अदालतमा बयान ।

२५.   बडा दशैंको दिन रक्सी खाई घरमै थिएँ । रामप्रसादलाई कसले मारे थाहा छैन भन्ने प्रतिवादी हाड थारु र पञ्चम थारु मिति २०३६।११।१३ को अदालतमा गरेको बेग्ला बेग्लै बयान ।

२६. वडा दशैंको दिन रक्सी खाई घरमै बसेको थिएँ सो दिन केही थाहा भएन । रामप्रसादको आमाले भन्दा जग्गुले मारेको थाहा भयो भन्ने प्रतिवादी भिखु थारु र प्र.आडवड थारुले अदालतमा गरेको बेग्ला बेग्लै मिति २०३६।११।१३ को बयान ।

२७. रामप्रसादलाई कसले मारे थाहा छैन म  मलाम गएको र लाश गाड्ने समेतको कुनै कुरा गरेको छैन भन्ने समेत व्यहोराको प्रतिवादी मंगल थारु र प्र.लौटन थारु र प्र. भोमे थारु समेतको मिति २०३६।११।१३ को अदालतमा गरेको बेग्ला बेग्लै बयान ।

२८. गत वडा दशैंमा झाडा गर्न गएको बखतमा जग्गुलाई बन्दूक लिई घुमेको देखेको हुँ बन्दूकको आवाज र धुँवा आएको हुनाले जाँदा छोरा रामप्रसाद गोली लागी मरेको देखी हल्ला गर्दा मार्ने जग्गु आई मार्ने धम्की दिएकोले निजैले मारेकोमा विश्वास लाग्छ । जगनारायणले मारेको होइन भन्ने समेत जाहेरीवाली बुझौला थरुनीको मिति २०३७।१०।२० मा अदालतमा गरेको बकपत्र । साथै अन्य साक्षीहरूको बकपत्र ।

२९. अभियुक्त जग्गु थारु प्रहरी हिरासतबाट भागी फरार भएकोले निजको हकमा मुलतवी राखी दिने । जगनारायण थारुलाई कसैले शंकासम्म देखाएको नदेखिँदा प्रहरीमा भएको सावितीकै आधारमा कसूरदार ठहर्‍याउन न्यायोचित नहुने हुँदा निजले बन्दूकले फायर गरी रामप्रसादलाई मारेको ठहर्दैन चमारी थारुले बचन दिई जगनारायणलाई भनी ज्यान मार्न लगाएको भन्ने कुरा प्रमाणको अभावमा निजले समेत कसूर गरेको ठहर्दैन अरुको हकमा ज्यानसम्बन्धीको ४ नं. र अरुको हकमा २५ नं. दावी देखाएको हुँदा सबैको हकमा एकै अभियोगमा एउटै सजायँको दावी हुनुपर्ने हुँदा निज अगनूका हकमा समेत सोही २५ नं. अनुसार नै अभियोग कायम गरी संकलित प्रमाणको आधारमा रु.२०।जरिवाना हुने र पाँडे थारु चुल्ही थारु, मंगन थारु, टिकाराम, थारु तथा राजाराम थारु, बेरु थारुलाई निजहरूको बयान र संकलित प्रमाणको आधारमा रु.२०।जरिवाना हुन्छ । अरुले सफाई पाउनेठहर्छ भन्ने समेत शुरु कपिलवस्तु जिल्ला अदालतको मिति २०३८।७।१७ को फैसला ।

३०.   उक्त कपिलवस्तु जिल्ला अदालतको फैसलामा चित्त नबुझी अदालतबाट तथ्यको निरोपण भएको देखिँदैन मर्ने रामप्रसादलाई निजको जग्गा लिने खाने मुख्य उद्देश्यले चमारीले षड्यन्त्र गरी जग्गुको बन्दूकबाट जगनारायणद्वारा मार्न लगाएको र अन्य प्रतिवादीहरूको सहयोगबाट लाश दबाउने गाड्ने काम समेत भएको प्रमाणित रुपमा देखिएको हुँदा यस्तो स्थितिमा वादी केही असफल गराई शुरु अदालतले गरेको निर्णय न्यायसंगत भएको नदेखिएकोले यसमा पूर्णतया विचार भई उक्त अभियुक्तहरूलाई शुरु प्रहरी प्रतिवेदन अनुसार हुनुपर्ने भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकार तर्फबाट प.क्षे.अ.मा दिएको पुनरावेदनपत्र ।

३१. मिसिल अध्ययनबाट जगनारायण चमारीले रामप्रसादलाई मारेको भनी ठहर गर्न सकिने देखिएन । ज्यानसम्बन्धीको १३ नं. अनुसार सजायँ हुन सक्दैन । अब प्रतिवादीहरूले लाश दबाए गाडेको तथा कसूरदारलाई दबाएको हो होइन भनी विचार गर्दा रामप्रसाद कर्तव्यमा परी मरेको देखिन्छ । कर्तव्य परी मरेका लाशलाई लाश जाँच नगराई गाडेको भन्ने देखिन्छ । कसूरदार दबाएकोमा अन्य प्रतिवादीलाई सजायँ भएकोमा पुनरावेदन परेको देखिएन । बेरुले चमारीलाई रुपैयाँ दिएको तथा प्रहरी अनुसन्धान शुरु भएपछि चमारीले रुपैयाँ फिर्ता दिएको भन्ने देखिन्छ । चमारी वडा अध्यक्ष रहेको भन्ने देखिन्छ यसस्थितिमा चमारीले लाश दबाएको तथा कसूरदार दबाएको भगाएको ठहर्छ । प्रतिवादी चमारीलाई ज्यानसम्बन्धीको ४ नं. बमोजिम ६ महीना र ज्यानसम्बन्धीको २५ नं. अनुसार वडा अध्यक्ष भएको हुँदा १½ वर्ष कैद हुन्छ । प्र.जगनारायणका हकमा विचार गर्दा पनि रामप्रसाद कर्तव्यबाट मरेको कुरा निजले थाहा पाएको देखिन्छ । निजले जाहेर प्रकाश गरेको देखिएन । यस स्थितिमा प्रतिवादी जगनारायण थारुले लाश गाडेको देखिएको हुँदा ज्यान सं.को.४ नं. बमोजिम थप कैद ६ महीना र ज्या. सं. २५ नं. अनुसार रु.२०।जरिवाना हुन्छ भन्ने समेत व्यहोराको प.क्षे.अ.को मिति ०४०।१२।२ को फैसला ।

३२. दशैंको दिन जगनारायणले ढुकुर मार्न भनी  बन्दूक मागेकोले बन्दूक दिएको रामराजसँग रक्सी खाई घरमा रामप्रसादले खाना खायो खाएन भनी खोज्दा खाएको छैन रक्सी खाई पल्टेको होला भन्ने श्रीमतीले भनेबाट खोज्न जाँदा मेरो घुइया बारीमा रामप्रसाद मरी पडिरहेको छेउमै मेरो बन्दूक देखि बन्दूक घरमा राखी रामप्रसाद मरेको हुँदा गाउँ घरमा हल्ला गरें त्यसपछि मानिस जम्मा भए । बेरु थारु आएपछि कहरियाको चमारी थारु आए निजले जग्गुको बन्दूकबाट मानिस मरेकोले रु.२०००।दिन्छु । लाश गाड्नु पर्छ भनेबाट पैसा कबूल गरी लाश गाडी दिनु भनी चमारीले भनेको हुँदा बेरु थारु समेत २०।२१ जना भई लाश गाड्न गएका थियौं । रामप्रसादको जग्गा राजारामको नाममा दर्ता भएको हुँदा सो जग्गा खाने नियत गरी जाहेर गर्न नदिई जग नारायणबाट हान्न लगाई मारेको हो भन्ने समेत प्रतिवादी जग्गु थारुले प्रहरीमा गरेको बयान ।

३३. रामप्रसादलाई जग्गुले बन्दूकले हानी मारेको भनी रामप्रसादकी आमाबाट सुनेको हो । किन मारे थाहा छैन भन्ने समेत केही व्यक्तिको सरजमीन मुचुल्का ।

३४. लाश जाँच पोष्र्टमार्टम अभियुक्तको कागज सरजमीन समेतबाट रामप्रसादका कर्तव्यबाट मृत्यु भएको देखिन्छ । जग्गु थारु मारेकोमा इन्कारी भए पनि बन्दूक लुकाउने लाश लुकाउने गरेकोमा साविती भएको मार्नमा आफ्नो हात नभए दबाउन पट्टी नलागी आफ्नै छोरा सरह पालेको रामप्रसादको मृत्यु भएपछि जाहेर गर्नुपर्नेमा सो गरेको नदेखिँदा जग्गु थारु समेतका जना ३ का हकमा ज्यानसम्बन्धी १३(४) नं. ले सजायँ गरिपाउँ भन्ने प्रहरी प्रतिवेदन । जग्गु थारु समेत फरार रहेकोले निजको हकमा मुलतवी रहेको र अरुको हकमा कपिलवस्तु जिल्ला अदालतबाट मिति २०३८।७।१७ मा फैसला भएको र प्र.जग्गुलाई प्रहरीले पक्राउ गरी मिति २०३९।६।३ मा दाखिल गरी निजका हकमा पुनः कारवाही शुरु भएको रहेछ ।

३५.   २०३६ साल दशैंको दिन १० बजे राजाराम साथ हिन्हारवालाको साथमा टिका लगाई १ घण्टापछि घर आउँदा रामप्रसाद मरी रहेको देखी हल्ला खल्ला गरें चमारी र राजाराम समेत गाउँका मानिस जम्मा भए म जाहेर गर्न जान्छु भन्दा गइस भने फसाई दिन्छु भनेर राजाराम र चमारीले भने चमारी र राजाराम मिलेर १६००।रामप्रसादकी आमालाई दिएर रु.४००।को दारु खुवाए । चरा मार्ने सिकार खेल्ने भनी बन्दूक मागेकोले जग नारायणलाई दिएको हुँ पछि लाश भएको ठाउँमा फेला पारेको थिएँ । मृतकलाई जगनारायणले नै मारेको हुनु पर्दछ मार्न चमारी र राजारामले लगाएका हुन । मैले मारेको र मार्न लगाएको समेत होइन भन्ने समेत व्यहोराको मिति २०३९।६।११ मा प्रतिवादी जग्गु थारुको अदालतको बयान ।

३६. प्रतिवादी जग्गु थारुले मारेको प्रत्यक्षदर्शि कोही नदेखिए पनि मृतकको मृत्यु हुनु पूर्व बन्दूक लिएको देखिनु, बन्दूक पड्किनु मृतक मर्नु यीकुराले सो घटनामा प्र.जग्गु संलग्नता भएकै होइन भन्न सकिएन । परिस्थितिजन्य प्रमाणबाट निज मृतकलाई मार्ने कार्यमा संलग्नता भएको देखी प्रहरी प्रतिवेदन अनुसार जन्मकैद हुने ठहर्छ भन्ने कपिलवस्तु जिल्ला अदालतको मिति २०४०।३।२८ को फैसला ।

३७. शुरु जिल्ला अदालतको फैसला उपर जग्गु थारुको प.क्षे.अ.मा परेको पुनरावेदन ।

३८. बुझौनी थरुनीको जाहेरी र निजले अदालतमा गरेको बकपत्रमा मृतक रामप्रसादलाई जग्गु थारुले मारेको भनी किटानी लेखाएको रहेछ । जग्गु कै बन्दूकबाट रामप्रसादको मृत्यु भएको देखियो लाश दबाउने प्रक्रियामा प्र. चमारी समेतका साथ रुपैयाँ उठाउने कार्यमा जग्गुको संलग्नता पाइयो प्रहरी अनुसन्धान पूरा नहुँदै प्र.जग्गु हिरासतबाट भागेको देखियो । कसूरमा इन्कार रहने जग्गुले आफ्नो अपराध लुकाउन अरुलाई देखाए तापनि आफ्नो निर्दोशिता सिद्ध  गर्न साक्षीसम्म गुजार्न सकेको छैन । यस स्थितिमा जग्गू कै कर्तव्यबाट रामप्रसादको मृत्यु भएको ठहर्‍याई गरेको शुरु कपिलवस्तु जिल्ला अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने समेतको प.क्षे.अ.को मिति २०४२।६।१८ को फैसला ।

३९. प.क्षे.अ.को फैसला उपर चित्त नबुझी श्री ५ को सरकार, चमारी थारु तथा जग्गु थारुको यस अदालतमा पुनरावेदन परेको छ ।

४०.   जग्गू डगौरियाको प.क्षे.अ.को फैसला उपर यहि मुद्दामा पुनरावेदन परेको देखिएकोले साधक तर्फबाट हेर्न नपर्ने हुँदा साधकको लगत कट्टा गरी दिनु र यो प्रतिवादी जग्गुको पुनरावेदन परेको तर निजको तर्फबाट कानुन व्यवसायी रहेको नदेखिएकोले निजको तर्फबाट वैतनिक अधिवक्ता राखी नियम बमोजिम पेश गर्नु भन्ने डिभिजनबेञ्चको मिति २०४२।१२।२१ को आदेश ।

४१. नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दा पुनरावेदक प्रतिवादी चमारी थारु तर्फका विद्वान अधिवक्ता श्री चूडामणिराज सिंह मल्ल पुनरावेदक प्रतिवादी जग्गु थारु तर्फका विद्वान वैतनिक अधिवक्ता श्री पृतम राणाले क्षे.अ.ले कानुनको मूल्याङ्कन नगरी मेरो पक्षलाई दोषी ठहर्‍याई गरेको इन्साफ उल्टी हुनु पर्दछ भन्ने र पुनरावेदक वादी श्री ५ को सरकार तर्फबाट खटिई बस्नु भएका विद्वान मुख्यन्यायाधिवक्ता श्री केदारप्रसाद शर्माले क्षे.अ.ले इन्साफ गर्दा तल माथि पारी जगनारायणलाई आंशिक सफाई दिने गरेको इन्साफ नमिलेकोले उल्टी हुनु पर्दछ भन्ने समेत व्यहोराको गर्नुभएको बहस समेत सुनी प्रस्तुत मुद्दामा क्षे.अ.को इन्साफ मनासिब बेमनासिब के रहेछ निर्णय दिनु परेको छ ।

४२. यसमा पुनरावेदक प्रतिवादी जग्गू डगोरिया थारुको हकमा यहि गएको वडा दशैं टिकाको दिन विहान १०, ११ बजे दिशा गर्न भनी जाँदा जग्गू थारुले बन्दूक लिई घुमेको देखेको र केही बेरमा नै बन्दूकको आवाज आई हेर्दा घुइया (पेडालु) वारीमा मेरा छोरा रामप्रसाद छातिबाट रगत आई मरेको देखी हल्ला गर्न लाग्दा निज जग्गु आई हल्ला गरे मार्ने धम्की दिएकोले मौकामा जाहेर गर्न नपाए पनि मौका पाएकीले जाहेर गरेकी छु । लाश वेपत्ता पारेको पत्ता लगाई निज उपर कारवाही गरिपाउँ भन्ने समेत बुझौनी थरुनीको मिति २०३६।६।२५।५ को जाहेरी दर्खास्त भएकोमा दशैंको दिन विहान राजारामको छोरा जगनारायणले ढुकुर मार्न जान्छु भनी बन्दूक मागेकोले बन्दूक दिएको राजाराम मेरो घरमा आई टिका लगाउन जाउँ भनेबाट संगै गई टिका लगाई जाँड रक्सी खाई घरमा रामप्रसादले खाना खायो खाएन भनी सोद्धा खाएको छैन रक्सी खाई पल्टेको होला भनी श्रीमतीले भनेबाट खोज्न जाँदा मेरो घुइयावारीमा घोप्टो परी मरी रहेको बगलमा मेरो भरुवा बन्दूक पडी रहेको देखि बन्दूक राखी घरमा रामप्रसाद मरेको कुरा बताई गाउँमा हल्ला गरें त्यसपछि बेरु थारु समेत हेर्न गए हेरी आएपछि कटहरियाको चमार थारु आए निजले जग्गुको बन्दूकबाट मानिस मरेको छ रु.२०००।देउ भनी लाश गाड्न भनेबाट डरले पैसा कबूल गरी लाश गाडी दिनु भनी चमारीले भनेको हुँदा बेरु थारु समेत २०, २१ जना भई लाश गाड्न गएका थियौं । रामप्रसादको जग्गा राजारामका नाममा दर्ता भएको हुँदा सो जग्गा खाने नियत गरी जाहेर गर्न नदिई जगनारायणबाट हान्न लगाई मारेको हो भन्ने समेत प्र.जग्गु थारुले प्रहरीमा बयान गरेको पाइन्छ । सो जाहेरी दर्खास्त समर्थनको बुझौना थरुनीले अदालतमा गरेको बकपत्र मृतक रामप्रसादलाई जग्गु थारुले मारेको भनी किटानी साथ वकी लेखी दिएको देखिन्छ । घटनास्थलबाट बन्दूक ल्याई घरमा राखेकोमा प्रतिवादी साविती भएबाट पुनरावेदक प्रतिवादी जग्गू डगोरिया थारुलाई प्रहरी प्रतिवेदन माग दावी अनुसार जन्मकैद हुने ठहराएको शुरु कपिलवस्तु जिल्ला अदालतको इन्साफलाई  पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट सदर गरेको इन्साफ मनासिब ठहर्छ । पुनरावेदक प्रतिवादी चमारी थारुको हकमा विचार गर्दा लाश गाड्न भनेबाट कबूल गरी बेरु थारु ठागे थारु, हाउ थारु समेत भई लाश गाडी आएका र मैले भोलिपल्ट ऋण गरी रु.१८००।चमारीलाई दिएको हो भन्ने समेत किटानी साथ प्र.जग्गू डगोरिया थारुको बयानबाट खुल्दछ । पुनरावेदक प्रतिवादी चमारी थारुको प्रहरी समक्ष बयान गर्दा अघि पनि रामप्रसादलाई मार्ने मत सल्लाहमा पसेको र पछि रु.१८००।लिएमा समेत सावित भएको देखिँदा प्रतिवादी चमारी थारुलाई ज्यानसम्बन्धीको ४ नं. बमोजिम ६ महीना र ज्यानसम्बन्धीका २५ नं. बमोजिम वडा अध्यक्ष भएको हुँदा १½ वर्ष कैद हुने ठहराएको पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ ।

४३. प्रतिवादी जगनारायण डगौरिया थारु समेतको हकमा विचार गर्दा रामप्रसाद कर्तव्यबाट मरेको कुरा निजले थाहा पाएको देखिन्छ । निजले जाहेर प्रकाश गरेको देखिएन । यस स्थितिमा प्रतिवादी जगनारायण थारुले लाश गाडेको देखिएको हुँदा ज्यानसम्बन्धीको ४ नं. अनुसार थप कैद ६ महीना र ज्यानसम्बन्धीको २५ नं. अनुसार २० जरिवाना हुन्छ भन्ने ठहराएको पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रतिवादी जग्गु डगौरिया थारुको पुनरावेदन परेकोले साधकको लगत कट्टा गरी दिनु नियम बमोजिम मिसिल बुझाइदिनू ।

 

उक्त रायमा म सहमत छु ।

न्या. महेशरामभक्त माथेमा

 

इति सम्वत् २०४३ साल ज्येष्ठ २२ गते रोज ५ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु