शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १५६ - ज्यान

भाग: साल: २०१८ महिना: माघ अंक:

निर्णय नं. १५६                 ने.का.प.२०१८

डिभिजन बेञ्च

प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान

प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह

अ. नं. ६०

अपीलाट : मेघबहादुर पाखा राई

विरुद्ध

विपक्ष : दलबहादुर लिम्बु

मुद्दा : ज्यान

(१)   सरजमिन समेतका बकाइबाट कुटपीट लछार पछार गरेको कुरा नदेखिए वादीले पनि कुछपीट गरेकै हो भनी किटानसाथ भन्न नसके, केवल शंकामात्र देखाएमा र कुटपिटको चिच्चाहट आदि नसुनिए कुटपीट गरेको रहेछ भन्ने शंका उठाउन उचित नपर्ने अनुमानी कुराको अधारमा अपराध कायम गर्न उचित नपर्ने ।

            मर्ने नारायणबहादुर प्रतिवादीहरूकै कुटपिटका चोटपीरबाट मरेको रहेछ कि भन्ने थोरै अभास पर्न आउँछ तापनि वास्तव अरु प्रमाण परिबन्द तर्फ बिचार गर्दा बुझिएका सारा सरजमिन समेत कसैका बकाइबाट पनि मेघबहादुर समेतका प्रतिवादीहरूले मर्ने नारायणबहादुरलाई हात छोडी कुटपिट लछारपछार गरेको भन्ने कुरा देखिन नआएको । खूद नारायणबहादुरको बुबा वादी दलबहादुर तालुकदार तिलक सिंले पनि नारायणबहादुरलाई कुटपीट गरेकै हो भनि किटानसाथ भन्न नसकी शंका लाग्छ भनि शंकाको कुरासम्म देखाएका । मानिसहरू सुती निदाई सकेको बखत मध्यरातका अबस्थामा वारदात भएको हुनाले कुटेको साक्षी सरजमिनहरूले देख्न नपाएकाबाट नभनेका रहेछन् कि भन्ने शंका लिनलाई पनि त्यसरी कुटपिट लछारपछार परेको भए मलाई कुटपिट गरी मार्न लागे भनि मर्ने नारायणबहादुरले अबश्य कराउनु चिच्याउनु पथ्र्यो । सो कराए चिच्याएको थियो भन्ने कुरा घटनास्थल नगिचै घर हुने पूर्णबहादुरकी सासु आसमणी र रामप्रसादको आमा लाखमणी समेत कसैले पनि भन्न नसकी चोर पक्रीयो भन्ने खलबलसम्म गरेको सुन्यौं भनी बकेका । शेरबहादुर एकजनाले बकपत्र गर्दा नारायणबहादुरलाई पक्राउ गरी ल्याएपछि अ‍ैया भनेको थियो भनि लेखाएको हूँदा कुटपिट गरेकै रहेछ कि भन्ना पनि मर्नेले कुटे भन्ने शब्द उच्चारण गरेको थियो भन्ने कुरा कतैबाट देखिन नआएकोले त्यसबाट पनि कुटपिट गरेको रहेछ भन्ने शंका उठाउन उचित परेन ।

 (प्रकरण नं. ९)

            पछारिदा पनि त्यस्तो चोट पर्न सक्ने हुनाले सो चोटहरू त्यसै कारणबाट पर्न गएको हुनु पर्छ । सो चोटहरू मर्न सक्ने किसिमको होइनन् । सामान्य छन् भनि रिपोट दिनु भएको र मेडिकल जुरिस्प्रोडेन्स भन्ने किताब हेर्दा पनि सोही कुराहरू उल्लिखित भएको देखिन्छ । माथि लेखिए अनुसार प्रतिवादीहरूले कुटपिट लछारपछार गरेको भन्ने कुरा साक्षी सरजमिन समेत कतैबाट देखिन नआएको र लासजाँचका फाराममा लेखिएका प्रकृतिहरूका हकमा पनि डाक्टरका रिपोर्ट अनुसार अरु कारणबाट पनि हुन पर्न सक्ने भएकोले कुटपिट गरेको पक्का प्रमाण बेगर लासको प्रकृति आफ्नो स्वास्नी लैजाने जारलाई फेला पारेपछि कसो कुटपिट गरेन होला भन्ने केवल अनुमानित कुराको आधार मात्र लिई खून जस्तो कडा सजाय पाउने बिषयमा अपराध कायम गर्न उचित पर्दैन ।

 (प्रकरण नं. ९)

(२)   मुख्य प्रतिवादी शुरु देखि अन्तसम्म रही उम्कन चेष्टा नगरी इन्कारी लिई पुर्पक्ष भई आएमा लगाएको दोष मान्न मुनासिब पर्ने, नपर्ने ?

            कुटपिट गरेकै चोट पीरबाट मरेको भए नारायणबहादुर मर्नासाथ प्रतिवादीहरू कसुरदारले अबश्य भाग्नु पथ्र्यो । तर नभागी मेधबहादुर समेतका अरु प्रतिवादीहरू लास कुरी बसी प्र. डम्बरबहादुर १ जना तालुकदारलाई बोलाउन गई तालुकदार आउँदासम्म उनीहरू लास भएकै ठाउँमा बसेका थिए भन्ने कुरा तालुकदार तिलक सिंले बयान गरेको केही बेरपछि निज डम्बरबहादुर समेतका प्रतिवादी जवान ८ भागेको देखिन आउँछ । तापनि तालुकदारले अब तिमीहरू जान पाउँदैनौं । रोकियौ, भनि थुन्ने डर देखाएपछि मात्र भागेको देखिन आएको हुँदा अर्काको कुरामा व्यर्थै थुनामा पर्ने भयौं भन्ने डरछेरूवा मनले मात्र भागेको रहेछन् भन्ने सम्झनु पर्ने र सो कारणबाट अरु प्रतिवादीहरू भागे पनि मुख्य प्रतिवादी मेघबहादुर चाही शुरु देखि अन्तसम्म भाग्न उम्कन पछि नलागि कसूरमा पनि इन्कारी लिई पुर्पक्ष भई रहे बसेको देखिन आएकोले यसबाट पनि प्रतिवादीहरूले कुटपिट गरेका रहेछन् भन्न भएन ।

(३)   जारलाई पक्रन चेष्टा गरेकोसम्मलाई अपराध धोषित गर्न नमिल्ने

            पक्रन खोजेकोबाट भागेको भनि दोष दिनलाई पनि हाम्रो देशमा स्वास्नी लैजाने जार पक्री अड्डामा सुम्पने अधिकार हरेक विवाहिता पतिलाई कानूनद्वारा प्राप्त भईरहेकोले जारलाई पक्रने चेष्टा गरेकोसम्म कुरालाई अपराध धोषित गर्न उचित नपर्ने ।

(प्रकरण नं. ९)

(४)   कस्तो परिस्थितिमा ज्यान सम्बन्धीका ३२ नम्बर बमोजिम सजाय दिन नमिल्ने

            मेघबहादुरले जार नारायणबहादुरलाई पक्रेपछि कुटपिट गरेको वा अन्त लगेको समेत नभई पक्राउसम्म गरी उस गाउँको अमाली तालुकदार कहाँ पुर्‍याएपछि मात्र आफू पुरानो व्यथाको जरिया र भाग्दाको पिडा परिश्रमबाट नारायणबहादुर मरेकै देखिन आएको हुनाले यस्तो परिस्थितिमा प्रतिवादीलाई सो ज्यान सम्बन्धीका ३२ नं. को सजाय दिन समेत उचित नपर्ने ।

(प्रकरण नं. ९)

            ३२ नं. मा अपराधको व्याख्या गर्दा रीस इवीले तर्साउनका लागि गरेको भए भन्ने लेखिएको ।

(प्रकरण नं. ९)

(५)   अदालतले डाक्टरको रिपोर्टको मतलब बुझी कारबाई गर्न पर्ने नबुझे रिपोर्ट दिने वा अरुनै डाक्टरबाट भए पनि रिपोर्टको मतलब खुलाउनु पर्ने ।

            डाक्टर जाँचको रिपोर्टको मुद्दा छिन्ने अड्डाहरूले राय मतलब नबुझी मुद्दा छिनेको देखियो । आइन्दा यस्तो हुन नपाउने गरी जाँच गर्ने डाक्टर पाएसम्म सोही डाक्टरबाट पनि र नपाए अरु मतलब बुझ्ने डाक्टर समेत सँग लासजाँच रिपोर्टको राम्रो मतलब बुझी मात्र कारवाई गरी किनारा गर्ने गर्नु भनी नसिहत दिनु ।

(प्रकरण नं. ९)

फैसला

      १.     यसमा देवीबहादुरकी छोरी मेघबहादुरकी स्वास्नी पार्वतीलाई मेरा छोरा नारायणबहादुरले ९६ सालमा जारी गरी ल्याई निज दुवै जना आसाम तेजपुर १ बर्ष बसी यही चैत्रमा आएको बखत यही मार्ग ८।८।१७ गते बृटिस नोकरीबाट निज मेघबहादुर घर आई उसै रात ऋषी मान १ कृष्णबहादुर १ काजी मान १ मनबीर १ गर्भे १ धनबहादुर १ डम्बरबहादुर १ सेनबहादुर १ समेत ८ जना मद्दत लिई देवीबहादुरको घर घेरा दिई पक्राउ गरी बाँधी सबै जनाले लछार पछार गरी तालुक तिलक सिंका घर लगी मारे छन् । सो कुरा प्रमाणका मानिसले ऐ १८ गते बिहान सुनाएकाले हेर्न जाँदा छोरा नारायणबहादुर मरी रहेको । सबै मानिस भेला गरी निजहरूलाई पक्रन खोज्दा अरु भागे मेघबहादुर मात्र पक्राउ गरेछन् । निज ९ जना प्रतिवादी उपर कर्तव्यको शंका लाग्छ । ऐन बमोजिम सजाय गरी पाउँ भन्ने समेत दलबहादुरको ८।८।२० को जाहेरी फिराद बमोजिम बयान रहेछ ।

      २.    सो रात म घरमा नभई गाउँमा हुँदा रातको अं. ११ बजेको टायममा प्र. मध्येको डम्बरबहादुर म भएमा आई देवीबहादुरका उजुरी बमोजिम सबै खवर मलाई भनेकाले घरमा आई पुग्दा नारायणबहादुर मरी सकेको थियो । तिमीहरूले कुटी मा¥यौं भन्दा अरु भागे प्र. मेघबहादुर पक्राउ गरी लास समेत दाखिल गरेको छु । निजहरूका घुस्सा मुडकी लछार पछार गरी ल्याएकै चोटपीटबाट मरेको भन्ने शंका लाग्छ भन्ने समेत तालुक तिलकसिंको ऐजन मितिको जाहेरी रिपोर्ट बमोजिम बयान समेत रहेछ ।

      ३.    म बृटिस सरकारको नोकरीमा गएको थिएँ । ७ सालमा बिदा लिई घर आउँदा मेरा स्वास्नी पार्वतीलाई नारायणबहादुरले जारी गरी लगेछ । थाहा पाई खोज तलास गर्दा पक्राउ गर्न सकेको थिएन । बिदा सकिएकोले म नोकरी तर्फ गएं । फेरि ३ महिनाको छुट्टीलीई ८।८।१७ गतेका दिन घर आई पुगी ऋषीमान् १ सेन्बहादुर १ कृष्णबहादुर १ काजीबहादुर १ माविर १ गर्भे १ धनबहादुर १ डम्मर बहमदुर १ समेतलाई सबै कुरा सोद्धा निजहरूले देवीबहादुरको घरमा नारायणबहादुर बसेको छ भन्ने खवर गरेकाले मलाइइ मद्दत देउ भन्दा जारीमा झगडा हुन्छ जाँदैनौं भनेकोमा पक्रनेसम्म हो भनेबाट निजहरूले साथ दिएकाले मेरो घरबाट राती ८ बजे हिंडी अं. १०।११ बजेका टायममा हो । देवीबहादुरका घर माथि १०० गज फरक विकरानीको घरमा ऋषीमान १ मन बीर १ लाई र डम्बरबहादुर धनबहादुर २५ हात फरक पारी राखी अरु म समेतका ५ जना देबीबहादुरका घरमा पुगी अरु ४ जना प्र. हरूलाई ६।७ गज फरक पारी राखी मैले चाहीं ढोका खोल भनी कराउँदा रातको बीचमा ढोका खोल्दिन भने बास बस्न दिनु हवस भन्दा सोरांग आवाज आएकाले लाइट बाली हेर्दा घरको पश्चिम डिलबाट नारायणबहादुर बसेको देखि चिनी म खेद्दै गए । अरु साथि पछि आउँदै थिए । लखेड्दै जाँदा डिल परेकाले तल तीर निज नारायणबहादुर लडदै पछारिदै उठदै भागेको । मसँग लाइट हुँदा बाटै बाट गएं । कांडाको झाङ्गमा घोप्टो परी लडी रहेको भेटी पक्री उठाउँदा अ‍ैया अ‍ैयाको शब्द मात्र निकाल्यो । सो टायममा कृष्णबहादुर १ गर्भे १ काजीबहादुर १ सेन्बहादुर १ समेत आई पुगेपछि निजलाई बाधी लौ अमालमा हिँड भन्दा सक्दिन बोकी लौजाउ भनी उत्तानो पर्‍यो । अरुले बोकी ५० गज माथि शेरबहादुरको घरमा पुगेपछि पानी भनी माग्यो । निज शेरबहादुरको स्वास्नीले पानी ल्याई पिलाई दियो । तहाँबाट बोकी तालुक तिलक सिंको घरमा रातको १२ बजे पुर्‍याएकोमा निज तालुक घरमा नभएकोले डम्बरबहादुरलाई बोलाउन पठाएको आई नपुग्दै हामी पुगेको ६।७ मिनेटमै औंल्या मानिस हुँदा मरेकाले निज नारायणबहादुरलाई कर्तव्य गरी मारेको होइन भन्ने समेत मेघबहादुरको ऐजन मितिको बयान रहेछ ।

      ४.    सो वारदातका टायम भन्दा अगावै हाम्रा घरबाट १४।१५ कोस टाढा भुवाने डाँगी मधेश खेतीमा गए बसेको हुँदा हाम्रा उपर झुट्टै शंका देखाई उजुर गरेका हुन् । निज नारायणबहादुर भाग्दै लड्दै जाँदा भवितव्यबाट मर्न गएको हुन पर्छ भन्ने समेत डम्बरबहादुर, मनबीरहरूको पृथक पृथक बयान भएको रहेछ ।

      ५.    ८।८।१३ गते देखि बहिनी विरामी भएको खबर आएकाले तिन कोस फरक चौबिसे गाउँमा गई ऐ. २७ गते घर आएको हुँदा सो वारदातमा म नभएकाले मेरो कसूर छैन भन्ने समेत ऋषीमानको बयान रहेछ ।

      ५.    ८।८।१३ गते देखि बहिनी विरामीको खवर आएकोले हेर्न गई ऐजन २२ गते घर आई पुगेको हुँ । सो वारदातमा म नभएकाले मेरो कसूर छैन भन्ने समेत धनबहादुरको बयान भएको रहेछ ।

      ६.    प्र. सेनबहादुर १ कृष्णबहादुर १ गर्भे १ काजीबहादुर १ समेत ४ जनाले म्यादै गुजारेको र मौका तहकिकात सरजमिन मुचुल्का समेत भएको रहेछ ।

      ७.    बुझिएसम्मका प्रमाणबाट गर्भे १ कृष्णबहादुर १ काजीबहादुर १ सेन्बहादुर १ समेत ४ जना प्रतिवादीहरूले म्यादै गुजारी पक्राउमा समेत फेला नपरेकाले निजहरुको अंश रोक्का गरी फैसला परेका बखत ठहरे बमोजिम गर्ने ठहराई मुलतबी राख्ने ऋषीमान १ मनबीर १ धनबहादुर १ डम्बरबहादुर समेत ४ जना प्रतिवादीहरूको कसूर नदेखिए पनि प्र. मेघबहादुर समेतका लेखाईबाट सो वारदातमा रही नारायणबहादुर मरेको कुरा जाहेर नगरे वापस ज्यान सम्बन्धीका ५० नं. ले मोरु २०। का दरले दण्ड गर्ने र प्र. मेघबहादुरका हकमा उजुरवाला दलबहादुर तालुक तिलक सिं र सरजमिन समेतका लेखाईबाट नारायणबहादुरलाई मेघबहादुरले कर्तव्य गरी मारेकै शंका देखाई लेखेको र आफ्नु स्वास्नी लाने जार नारायणबहादुरलाई पक्राउ गरे पछि कुटपटि गर्नाको सम्भव समेत भएको निज मेघबहादुरको कर्तव्यबाट निज नारायणबहादुर मरेको ठहर्छ । सो ठहर्नाले निज मेघबहादुरलाई ज्यान सम्बन्धीका २६ नं. ले कैद बर्ष २० गर्ने र सो बमोजिमको सजाय गर्न चर्को पर्ने देखिएकोले ज्यान सम्बन्धीको ३२ नं. ले ३ बर्ष देखि ६ बर्ष सम्म कैद गर्न र निज १ बर्ष कैद परी सकेकाले यतिकैबाट छोडी दिन समेत सरकारकाले तजविज भन्ने समेत ठहराई धनकुटा अदालतले ९।९।२९ गते जाहेर गरेको मुनासिब ठहराई धनकुटा अपीलले ९।१२।२३ गते जाहेरी फैसला गरेको रहेछ ।

      ८.    मैले कर्तव्यको कसूर गरेको होइन भन्ने समेत प्र. मेघबहादुरको अपीलपत्र रहेछ ।

      ९.    पेश हुन आएको यो मुद्दा बुझ्दा आफ्नु स्वास्नी लैजाने जारलाई भेटेपछि कुटपीट लछारपछार गर्नको धेरै सम्भावना पर्ने र मर्ने नारायणबहादुरको बाबु वादी दलबहादुर र तालुकदार तिलक सिंले बयान गर्दा पनि नारायणबहादुरलाई प्रतिवादीहरूले पक्राउ गरेपछि घुस्सा मुडकीले हानी लछारपछार गरेका चोटपीरबाट कर्तव्य परी मरेको शंका लाग्छ भनी बयान गरेका । पक्राउ गरी शेरबहादुरको घरमा पुर्‍याएपछि नारायणबहादुरले गुहु आयो हग्छु, भन्दा मेघबहादुरले हग्न नदिई झन ढुंगो उपकाई हान्न जाई लाग्दा शेरबहादुरले हान्न नदिई मनाही गरेबाट नहानेको भन्ने कुरा घरवाला शेरबहादुरका बकाईबाट पनि देखिन आएको र नारायणबहादुरको लास चिरफार गर्ने डाक्टरले पोष्टमार्टम फाराममा लासको प्रकृति तथा मृत्युको कारण लेख्दा फोक्सोको दायाँ बायाँ दुबै भाग र पेटमा समेत रक्त मिश्रीत पानी धेरै मात्रामा भरिई रहेको । दिसाको आन्द्रा गुद्वार देखि बाहिर निस्की राखेको । आन्द्राको भित्रमा ठाउँ ठाउँ रक्तका ढिकाहरू जमीरहेको । खुट्टा र कपालको पछिल्लो भागमा छाला खोस्रिएको । चोटहरू भएकोले कुनै प्रकारको ठूलो आघात परेबाट मृत्यु भएको हुनु पर्छ भनी लेखेको हुँदा सामान्य बिचारबाट भने मर्ने नारायणबहादुर प्रतिवादीहरूकै कुटपिटका चोटपीरबाट मरेको रहेछ कि भन्ने थोरै आभास पर्न आउँछ तापनि वास्तवमा अरु प्रमाण परिबन्द तर्फ बिचार गर्दा बुझिएका सारा सर्जमिन समेत कसैका बकाईबाट पनि मेघबहादुर समेतका प्रतिवादीहरूले मर्ने नारायणबहादुरलाई हात छोडी कुटपीट लछारपछार गरेको भन्ने कुरा देखिन नआएको खूद नारायणबहादुरको बाबु वादी दलबहादुर तालुकदार तिलक सिंले पनि नारायणबहादुरलाई कुटपीट गरेकै हो भनी किटान साथ भन्न नसकी शंका लाग्छ भनी शंकाको कुरासम्म देखाएका मानिसहरू सुती निदाई सकेको बखत मध्यरातका अबस्थामा वारदात भएको हुनाले कुटेको साक्षी सरजमिनहरूले देख्न नपाएकाबाट नभनेका रहेछन् कि भन्ने शंका लिनलाई पनि त्यसरी कुटपीट लछारपछार गरेको भए मलाई कुटपीट गरी मार्न लागे भनी मर्ने नारायणबहादुरले अबश्य कराउनु चिच्याउनु पथ्र्यो । सो कराए चिच्याएको थियो भन्ने कुरा घटनास्थलको नगिचै घर हुने पूर्णबहादुरकी सासु आसमणी र रामप्रसादको आमा लाखमणी समेत कसैले पनि भन्न नसकी चोर पक्रियो भन्ने खलवल सम्म गरेको सुन्यौं भनी बकेका । शेरबहादुर एकजनाले बकपत्र गर्दा नारायणबहादुरलाई पक्राउ गरी ल्याएपछि अ‍ैया अ‍ैया भनेको थियो भनी लेखाएको हुँदा कुटपीट गरेकै रहेछ कि भन्न पनि मर्नेले कुटे भन्ने शब्द उच्चारण गरेको थियो भन्ने कुरा कतैबाट देखिन नआएकाले त्यसबाट पनि कुटपीट गरेको रहेको भन्ने शंका उठाउन उचित परेन । लासजाँचको पोष्टमार्टम फाराममा फोक्सोको दायाँबायाँ दुबै भाग र पेटमा समेत रक्त मिश्रित रक्षाहा पानी धेरैमात्रमा भरिईरहेको र दिसाको आन्द्रा गुदद्वार देखि बाहिर निस्केको । आन्द्राका भित्तामा ठाउँ ठाउँमा रक्तका ढिकाहरू जमी राखेको । खुट्टा र कपालको पछिल्लो भागमा छाला खोस्रिएको चोटहरू भएकोले कुनै सांघातिक आघातबाट मृत्यु भएको हुनु पर्छ भनी डाक्टरले राय समेत लेखेको हुनाले उपरोक्त बिषयहरूबाट प्रतिवादीहरुले कुटपीट लछारपछार गरेका ठहर्न आउने हो कि ? भन्नालाई डाक्टर जगदिशप्रसाद सिंह एम. बी. बी. एस. लाई सो पोष्टमार्टम फाराम हेर्न दिई उक्त बिषयहरू के कारणबाट पर्न सक्छ भनी सोद्धा फोक्सोको दायाँ बायाँ भागमा रक्त मिश्रित पानी भरिनु, टि. वि. प्लीउटिसी भन्ने विरामीबाट हुन सक्दछ । यदि फोक्सोमा कुनै कडा आघात लागी रक्त फुटी भरिएको भए शुद्ध रगत ढिका परी जमीरहेको हुनु पर्दथ्यो र त्यस्तो रक्त फुट्ने गरी कडा आघात पर्दा फोक्सोको बाहिरी भाग अर्थात् छाती करङ्मा फुटे भाँचिएको चिन्ह पनि हुनु पर्दथ्यो । परन्तु त्यसलाई जोरी अर्थात आघात चिन्ह भए परेको फारामबाट केहि देखिदैन । पेटमा रक्षाहा पानी भरिएको हकमा बिरामीको कारणबाट पनि हुन सक्दछ । पेटको बाहिरी भागमा त्यस्तो कडा आघात परी रगत भरिएको भए सो रक्त पनि शुद्ध रातो र ढिका परी जमेको हुन पथ्र्यो र पेटको बाहिरी भागमा पनि सो घाउ चोटको प्रष्ट चिन्ह हुनुपथ्र्यो । परन्तु फारामबाट त्यस्तो भए परेको यी जोरी अर्थात् आघात चिन्ह देखिन नआएको हुनाले सो रक्षाहा पानी विरामीबाट भरिएको हुनु पर्छ । आन्द्रका भित्तामा रक्तका साना साना ढिकाहरू जमेको हकमा पेटका साना साना किटाणुहरुले आन्द्रा टोकिदिदा पनि त्यसरी रक्तका ढिकाहरू जम्न सक्छ । दिसाको आन्द्रा गुद्वारबाट बाहिर निस्केको हकमा पाइल्स अर्थात् अलकाईको विरामीबाट र कुनै प्रकारले श्वास अबरुद्ध भएमा पनि हुन सक्छ । त्यसरी श्वास अबरुद्ध हुँदा पानीको प्यास लागि दिसाको उद्वेग समेत हुन्छ । गोडा र कपालका पृष्ट मार्गमा परेका चोटहरूका हकमा सो ठाउँहरू भाँचिने फुट्ने गरी चोट परेको नभई छालासम्म खोस्री ताछिई सामान्य किसिमको चोट परेको र भिरालो ठाउँमा लोट्दा पछारिन पनि त्यस्तो चोट पर्न सक्ने हुनाले सो चोटहरू त्यस्तै कारणबाट पर्न गएको हुनु पर्छ । चोटहरू मर्न सक्ने किसिमका होइनन् । सामान्य छन् भनि रिपोट दिनुभएको र मेडिकल जुरिस्प्रोडेन्स भन्ने किताब हेर्दा पनि सोही कुराहरू उल्लिखित भएको देखिन्छ । माथि लेखिए अनुसार प्रतिवादीहरूले कुटपीट लछारपछार गरेको भन्ने कुरा साक्षी सरजमिन समेत कतैबाट देखिन नआएको र लासजाँचका फाराममा लेखिएका प्रकृतिहरूका हकमा पनि डाक्टरका रिपोर्ट अनुसार अरु कारणबाट पनि हुन पर्न सक्ने भएकोले कुटपीट गरेको पक्का प्रमाण बेगर लासको प्रकृति र आफ्नो स्वास्नीको लैजाने जारलाई फेला परेपछि कसो कुटीपीट गरेन होला भन्ने केवल अनुमानी कुराको आधर मात्र लिई खुन जस्ता कडा सजाय पाउने बिषयमा अपराध कायम गर्न उचित पर्दैन । अर्को बिचारणीय कुरा के भने यदि मृत नारायणबहादुर प्रतिवादीहरूले कुटपीट गरेको चोट पिरबाट मरेको भए नारायणबहादुर मर्नासाथ प्रतिवादीहरू कसूरदारले अबश्य भाग्नुपथ्र्यो । तर नभागी मेघबहादुर समेतका अरु प्रतिवादीहरू लास कुरी बसी प्र. डम्बरबहादुर १ जना तालुकदारलाई बोलाउन गई तालुकदार आउँदासम्म उनीहरू लास भएकै ठाउँमा बसेका थिए भन्ने कुरा तालुकदार तिलक सिंले बयान गरेको केही बेरपछि निज डम्बरबहादुर समेतका प्रतिवादी जवान ८ भागेको देखिन आउँछ तापनि तालुकदारले अब तिमीहरू जान पाउँदौनौं । रोकियौं, भनि थुन्ने डर देखाएपछि मात्र भागेको देखिन आएको हुँदा अर्काको कुरामा व्यर्थै थुनामा पर्ने भयौं भन्ने डरछेरुवा मनले मात्र भागेको रहेछन् भन्ने सम्झनु पर्ने र सो कारणबाट अरु प्रतिवादीहरू भागे पनि मुख्य प्रतिवादी मेघबहादुर चाहीं शुरु देखि अन्त्यसम्म भाग्न उम्कन पछि नलागि कसूरमा पनि इन्कारी लिई पुर्पक्षमै रहे बसेको देखिन आएकाले यसबाट पनि प्रतिवादीहरूले कुटपीट गरेका रहेछन् भन्न भएन । उपरोक्त प्रमाण परिबन्दबाट मर्ने नारायणबहादुरलाई मेघबहादुर समेतका प्रतिवादीहरूले हात छोडी कुटपीट लछार पछार गरेको भन्ने अपराध प्रामाणित हुन नआएपछि सो अपराधमा शुरु धनकुटा अदालतले लगाउन ठहराएको ज्यान सम्बन्धीका २६ नं. को सजाय प्रतिवादीलाई लाग्न सक्तैन । त्यसो भएपछि नारायणबहादुरको मृत्युको प्रमुख कारण के रहेछ भन्ने प्रश्न उठ्ने भई त्यस कुराको पनि बिचार गर्नु पर्ने अबस्था पर्न आएकोले अब त्यस तर्फको बिचारलाई लासजाँचको पोष्टमार्टम फाराममा डाक्टरले स्पिलिम अर्थात फियो र लिभर अर्थात् कलेजो धेरै बढेको ग्लब्लाडर अर्थात् पित्तको थैलीमा पत्थर जमेको भन्ने पनि लेखेको र माथि लेखिए बमोजिमको फोक्सोलाई टि. वि. प्लीउरिसी भन्ने रोगबाट हुने रक्ष्याहा पानी पनि धेरै मात्रामा भरिईरहेको देखिन आएको हाल डाक्टरसँग सोद्धा फियो र कलेजाको बढाब मलेरिया विरामीबाट हुन सक्छ भनी रिपोर्ट दिनुभएको । मेघबहादुर समेतका प्रतिवादीहरूले बयान गर्दा नारायणबहादुर औल्याहा अर्थात् रोगी किसिमको मानिस थियो भनी बयान गरेको र खूद मर्ने नारायणबहादुरको बाबु दलबहादुर र तालुकदार तिलक सिं समेतका बयानबाट मर्ने नारायणबहादुर प्र. मेघबहादुरकी स्वास्नी पार्वतीलाई जारी गरेपछि भागी मेलरिया क्षेत्र आसाम जिल्ला तेजपुरको दिगराई भन्ने गाउँमा बर्ष दिन बसी आएको भन्ने देखिन आएकोले लासमा देखिएको प्रकृति र डाक्टरको रिपोर्ट बाबुको बयान समेतबाट निज नारायणबहादुर मलेरिया समेतको विविध रोगले अस्वस्थ रोगी मानिस रहेछ भन्ने कुरा हरेक दिसाबाट सिद्ध हुन आएको र त्यस्तो मानिस स्वभावैले निफर नातागतको हुने हुँदा प्रतिवादी र सरजमिनका भनाई अनुसार कुनै ५ फिट र कुनै ६।७ फिटसम्म अग्लो कान्ला भएको भिरालो ठाउँबाट रातको बीचमा जता पायो उतै फाल हाल्दै लड्दै पछारिदै भाग्दा खुट्टा कपालमा चोट् पटक लाग्नको र दम फुली श्वास अबरुद्ध हुनको पनि प्रशस्त सम्भव पर्ने र त्यस्तो श्वास अबरुद्ध हुँदा प्यास लागि दिसाको, उद्वेग समेत हुन्छ भन्ने डाक्टरका रिपोर्टमा लेखिएको भई नारायणबहादुरलाई पक्री शेरबहादुरका घरमा पुर्‍याउँदा पानी खान मागी सो खाएपछि हग्छु भन्ने कुरा गरेको समेत निज शेरबहादुरका बकाईबाट देखिन आएको हुनाले निज नारायणबहादुर प्रतिवादीहरूले कुटपीट लछारपछार गरेको चोट पीरबाट मरेको नभई माथि लेखिए बमोजिम रोगी निफर मानिस प्रतिवादीहरूले पक्राउ गर्न लागे भन्ने अत्यासका मारे भिरालो अग्लो कान्लाहरूबाट फाल हाल्दै लड्दै भागेका कारणबाट चोट पटक लागि पिडा मर्म परेको र दम फुली श्वास अबरुद्ध भई मरेको रहेछ भन्नु पर्ने । त्यसरी मर्न गएको भए पनि सो मर्ने अबस्था प्रतिवादीहरूले रातका बीचमा लखेटेकै कारणबाट पर्न गएको हुनाले धनकुटा अपीलको जाहेरी फैसलामा लेखिए अनुसार प्रतिवादीहरू ज्यान सम्बन्धीका ३२ नं. बमोजिमको दोषी मानिस भई ३ बर्षसम्मको कैद सजाय पाउने नै हुन् कि भन्ने शंका लिनलाई पनि सो ३२ नं. मा अपराधको व्याख्या गर्दा रीसइवीले तर्साउनाका लागि गरेको भए भन्ने लेखिएको । स्वास्नी लैजाने जार हुँदा नारायणबहादुर सँग प्र. मेघबहादुरको रीसइवी परेकै देखिन आए पनि तँलाई पक्राउ गरी मार्छौ वा अरु यसो उसो गर्छौं भनी ठूलो डर त्रास देखाएबाट मात्र नारायणबहादुर भिरालोमा फाल हाल्दै भागेको भन्ने कुरा बुझियसम्मका सारा साक्षी सरजमिन समेत कतैबाट देखिन नआई प्रतिवादीहरू निज नारायणबहादुर बसेका ससुरा देवीबहादुरहरूका घरमा पुग्नासाथ नारायणबहादुर जसकेला दैलाबाट निस्की भागेको देखिन आएको हुनाले स्वास्नी जारी गरेको कुरामा साधु अर्थात् विवाहितेले पक्रन आट्यो भनी आफ्नु कसूरको भय लिई आफै भागेको रहेछ भन्नु पर्ने र पक्रन खोजेकोबाट भागेको भनी दोस दिनालाई पनि हाम्रो देशमा स्वास्नी लैजाने जारलाई पक्री अड्डामा सुम्पने अधिकार हरेक विवाहिता पतिलाई कानूनद्वारा प्राप्त भईरहेकोले जारलाई पक्रने चेष्टा गरेकोसम्म कुरालाई अपराध घोषित गर्न उचित नपर्ने र माथि उल्लेख गरिए अनुसार निज मेघबहादुरले जार नारायणबहादुरलाई पक्रेपछि कुटपीट गरेको वा अन्त लगेको समेत नभई पक्राउ सम्म गरी उस गाउँको अमाली तालुकदार कहाँ पुर्‍याएपछि मात्र आफू पुरानो व्यथाको जरिया र भाग्दाको पिडा परिश्रमबाट नारायणबहादुर मरेकै देखिन आएको हुनाले यस्तो परिस्थितिमा प्रतिवादीलाई सो ज्यान सम्बन्धीका ३२ नं. को सजाय दिनु समेत उचित नपर्ने हुनाले मर्ने नारायणबहादुर कर्तव्यबाट मरेको नभई रोगले मरेको ठहर्छ । डाक्टरले जाँच गरिएको रिपोर्टको मतलब नबुझी कर्तव्यको मुद्दा चलाएको भए पनि कर्तव्य परी मरेको नठहरेकाले वादी प्रतिवादी कसैलाई सजाय नगर्ने गरी यो मुद्दा खारेज गरी दिई शूरु र अपीलले गर्ने गरेका तपसिल बमोजिमका दण्ड जरिवाना कैद समेतको लगत कट्टा गरी दिनु भनी तहसीलमा लगत दिने । डाक्टर जाँचको रिपोर्टका मुद्दा छिन्ने अड्डाहरूले राय मतलब नबुझी छिनेको देखियो । आयन्दा यस्तो हुन नपाउने गरी जाँच गर्ने डाक्टर पाएसम्म सोही डाक्टरबाट पनि र नपाए अरु मतलब बुझ्न सक्ने डाक्टर समेतसँग लासजाँच रिपोर्टको राम्रो मतलब बुझीमात्र कारवाई गरी किनारा गर्ने गर्नु भनी नसिहत दिनु । यसबाट हाल उल्टीमा सजाय गर्नु पर्दैन । प्रतिवादीहरूको रोक्का रहेको अंश सर्वश्व फिर्ता दिने काम बाँकी हुँदा सो बमोजिम गर्न मिसिल शुरु अदालतमा पठाउन जिल्ला अपीलमा पठाई दिनु ।

 

तपसिल

देहायका मानिसके माथि इन्साफ खण्डमा लेखिएबमोजिम भएकाले धनकुटा अदालतका ९।९।२९ का फैसलाले गर्ने गरेको देहाय बमोजिमको दण्ड जरिवाना कैद र धनकुटा अपीलाका ९।१२।२३ का फैसलाले गर्ने गरेको कैदको लगत समेतमा लेखिए बमोजिम जम्मै नलाग्ने हुँदा दण्ड जरिवानाको हकमा असूल भए फिर्ता दिने र नभए व्यहोरा जनाई लगत काटी दिनु कैदका हकमा जेल खान परेका समेत तुरुन्त छाडी दिनु ।

धनकुटा हाँचौविसे बोधे डाडा गाउँ बस्ने हाल धनकुटा अदालतको जेलमा थुनियाको मेघबहादुर याखाके शुरु अदालतका फैसलाको कैद बर्ष २०। र ऐजन अपीलका फैसलामा लेखिएको कैद बर्ष २। दुई समेतको कलम

ऐजन ऐजन बस्ने डम्बरबहादुर याखाके शुरुका फैसलाले लागेको दण्ड मोरु २०।

जिताउरी मोरु ५ समेत जग्गा मोरु २५। को कलम

ऐजन ऐजन बस्ने ऋषी मान याखा के ऐजन ऐजनका मोरु २५। को कलम

ऐजन ऐजन बस्ने मन् बीर याखा के ऐजन ऐजनका मोरु २५। कि कलम

ऐजन ऐजन बस्ने धनबहादुर राई के ऐनज का मोरु ५। कलम

ऐजन ऐजन बस्ने गन्जबहादुर राई के ऐजन का मोरु ५। कलम

ऐजन मिकलं पाहाड राडे भन्ज्याङ बस्ने सुब्बा क्षत्रबहादुर लिम्बु के ऐजनले मोरु ५। को कलम

ऐ चौविसे सिकारपुर बस्ने पन्च दल लिम्बु के ऐजनले मोरु ५। को कलम

ऐजन ऐजन बस्ने धनबहादुर लिम्बु के ऐजनले मोरु ५। को कलम

मो. वि. ई. प्र. वारियाली मौजे मुवाने डांगी बस्ने सुकबहादुर राई के ऐजनले मोरु ५। को कलम

ऐजन ऐजन बस्ने धर्म ध्वज राईके ऐजनले मोरु ५। को कलम

ऐजन ऐजन बस्ने मानबहादुर राना मगर के ऐजनले मोरु ५ को ऐजन  

चौविसे बोघे डाडा गाउँ बस्ने हर्कबहादुर राई के ऐजनले मोरु ५। को कलम

ऐजन अ‍ैसेलु खर्क बस्ने खड्ग सिं याखा के ऐजनले मोरु ५। को कलम

ऐजन डांडा गाउँ बस्ने जंगबहादुर याखा के ऐजनले मोरु ५। को ऐजन

ऐजन चौविसे सेतुवा बस्ने टेकबहादुर याखा के ऐजन रु. ५। को ऐनज

ऐजन औसेलु खर्च बस्ने मुवारां याखा के ऐजन रु. ५। को कलम

ऐजन डाडाँ गाउँ बस्ने चैन बहादुुर याखा के ऐजन रु. ५। को ऐनज

ऐजन ऐजन बस्ने चन्द्र ध्वज याखा ऐ ऐजन रु. ५। को ऐजन  

ऐजन ऐजन बस्न चन्द्र ध्वज याखा के ऐजन रु. ५। को ऐजन

ऐजन डाडा गाउँ बस्ने रंदलबहादुर याखा के ऐजन रु. ५। को ऐजन

ऐजन गडी गाउँ बस्ने चामु राई के ऐजन के ले मोरु ५। को कलम

ज्यान मुद्दामा फिरार रहेका देहायका जवान ४ लाई मुल्तवी राख्ने ठहराएको शुरुको लगत बमोजिम गर्नु पर्दैन त्यसको लगत काटी दिने कलम ध. ई. चौविसे बोधे गाउँ बस्ने सेन्बहादुर याखा १

ऐजन ऐजन बस्ने कृष्णबहादुर याखा १

ऐजन ऐजन कस्ने काजबहादुर याखा १

ऐजन ऐजन बस्ने गर्भे याखा १

 

इति सम्बत् १० साल श्रावण २१ गते रोज ४ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु