शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३५० - गुठी

भाग: साल: २०२३ महिना: बैशाख अंक:

निर्णय नं. ३५०            ने.का.प. २०२३

फुल बेञ्च

प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह

न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री

न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

२०२१ साल पहिलो रिभिजन दे.फु.नं.२४२

निवेदक : चौ.डोर दण्ड जं.पराक्रम शाहा

विरुद्ध

विपक्षीको : प्र.पं.कृष्ण दास महर्जन

मुद्धा : गुठी

(१)   राजगुठी बाहेकको अन्य गुठी श्री ५ स.अ.गुठी जाँच अड्डामा दर्ता हुन नसक्ने १९५० मार्ग ८ को सदनमा राजगुठी रहेको भन्ने समेत जनिएको र निवेदकले राजगुठी होइन भन्ने सबुद गुजार्न नसके राजगुठी नै देखिने ।

            राजगुठी नभई यस अड्डामा दर्ता हुनै नआउने भन्ने श्री ५ स.त.गुठी लगत जाँच अड्डाले ०१३।९।१५ मा जवाफ दिएको समेत देखिन्छ । निवेदक वादीले नै मुख्य आधार लिएको १९५० साल मिति मार्ग वदी ८ रोज ६ के सनद भए पनि हाल बुझ्दा बिर्ता नठहरी राजगुठी कचहरीमा लगत राख्नु भन्ने बोली लेखिएको समेत पाइयो । निवेदक वादी तर्फबाट हाल बहस समेतमा राजगुठी होइन भन्नेतर्फ कुनै तथ्य जिकीर लिन र त्यस कुराको सबुद प्रमाण देखाउन समेत सक्नु भएन । तसर्थ, उपरोक्त कारणहरूबाट उक्त नन्दीकेश्वर गुठीराजगुठी नै रहेछ भन्ने सिद्ध हुन्छ ।

(प्रकरण नं. १०)

(२)   सरकारको निर्णयले गुठीतर्फ आधा नगदी र आधा जिन्सी लिने भएकोमा छुट गुठी भनी दर्ता भएको नाताले सम्पूर्ण जिन्सीले नै लिन पाउने । सबुद देखाउन नसके सरकारको निर्णयबमोजिम नै लिनु पर्ने ।

            छुट गुठी भनी दर्ता भएको नाताले सबै जिन्सी नै लिन पाउनु पर्ने भन्ने निवेदक वादीको वारेसले बहसमा मुख्य जिकीर लिएकोमा त्यस्तो छुट गुठीमा सबै जिन्सी नै लिन पाउने सबुद प्रमाण कुनै पनि देखाउन सक्नु भएन । अतः आधी जिन्सी आधी नगदी लिने सरकारले व्यवस्था गरी सकेको कुरामा सबै जिन्सी नै लिन पाउनु पर्ने भन्ने निवेदक वादीको दावी जिकीर मनासिव देखिंदैन ।

(प्रकरण नं. ११)

विपक्षी तर्फबाट      : ए. कृष्णप्रसाद घिमिरे

फैसला

      १.     हामीहरूका पुर्खा बज्यैज्यूबाट राखी बक्सेको नक्साल श्री नन्दीकिशोर गुठी बिर्ताको जग्गा ५ मध्ये पञ्च प्रधान कृष्ण दास महर्जनले कमाएको नखु बेखाहिटी रोपनी ९ ।।ऽ।। को ०९।०१०।०११।०१२ सालको बाली जिन्सी दिए जिन्सी नै र नदिए त्यसको हुनै नगदी जम्मा मो.रु.२०३९।७९ दिलाई पाउँ भन्ने समेत वादी ।

      २.    प्रकाशित गजेट अनुसार अर्जि खबर गर्न र शुरु म्याद थाम्न नपाउने हुँदा अर्जि म्याद गुज्रि सकेको म्याद थामी दर्ता भएको प्रतिवादी बदर गर्ने ठहराई यस अड्डाबाट ०१२।९।१७ मा पर्चा भई प्रतिवादी बदर भएको र ०११ साल समेतको ७ दिन भित्र बुझाउने ०११।१०।४ मा भाखापत्र गरी दिएको देखिँदा वादीको दावीबमोजिम बालीको बिगो प्रतिवादीबाट भरी पाउने ठहर्छ भन्ने समेत ल.पु.मेजिष्ट्रेट अफिसको ०१३।४।१२।६ को फैसला ।

      ३.    वादी दाबीको जग्गा कमाएकोमा ०८ सालसम्म केहि खर खिचोला थिएन ०९ सालमा खोलो लागी खोलो कट्टी मुचुल्का भएकोमा खोला कट्टी मिन्हाबमोजिम बाली तिरी सकेको र ०१० सालको समेत द्वारे मोहि नाईकेलाई बुझाई साल सालको भरपाई गरी लिएको छु ०११ सालको बाली देखि श्री ५ ।३ स.गुठी सरह बाली बुझाए हुन्छ भनेका थिए तर मोहि नाइके समेतले बीचबाटोमा पक्रि थुनि जवरजस्तिसँग मेरो सहीछाप लिई भाखा पत्र गराएका हुन । भवानीदास समेतले यहि गुठीको बाली ५।३ स.गुठी सरह बुझाउन पाउँ भनी रा.का.दे.दो.मा दिएको नालेसमा पनि राजगुठी ठहरी फैसला भईसकेको छ र सवालले पनि ०९ सालदेखि श्री ५ ।३ स.गुठी सरह बुझाउन पाउने हुनाले मैले चौ.डोर दण्ड जंगलाई बुझाई सकेको २००९ साल देखि ११ साल तकको बाली फिर्ता दिलाई भराई ०९ साल देखिको बालीमा खोलो नापजाँच गरी ठहराई श्री ५ ।३ स.गुठी सरह बाली बुझाउनु भन्ने पूर्जि गरी पाउँ भन्ने मेरो ल.पु.अ.मा नालेस परी सकेको हुँदा झुट्टा वादीका दावीबाट फुर्सद पाउँ भन्ने समेत प्रतिवादी सरहको अपील ।

      ४.    गुठी चलाउने चौतरीयाहरूले आजसम्म पोता वा अरू कुनै श्रेस्तामा देखाउन लेखाउन नसकी राजगुठी भई दर्ता गराई सकेको लगतसम्म आलटाल गरी गुठीमा नदिई राखेको भन्ने कुरा मिसिल र गुठीका जवाफबाट सिद्ध हुन आएको र यस्तो सरकारबाट राखीबक्सेको गुठीराजगुठी नै कायम हुने कुरामा दुबै थरका विद्वान एडभोकेट प्लीडरहरूले यस बेञ्चका अगाडि बहसमा स्वीकार गर्नु भएकोले समेत राजगुठी नै हो भन्ने कुरा निरबिरोध यो बेञ्चले ठहरमा निर्णय गर्दछ । राजगुठीको निर्णय सरकारले नियम बद्धगरी सकेकोले वादी दावीबमोजिम जिन्सि लिने गरी आएकोले सोहिबमोजिम पाउनु पर्छ भनी दुनियाँ गुठी सरहको बिगो मोरु.१९८८२।६२ भराउने ठहराएको मैजिष्ट्रट अफिसको ठहर कायम हुन सक्तैन भन्ने समेत डिभिजन बेञ्चको १९।१।३।१ को फैसला ।

      ५.    फुल बेञ्चबाट मुद्दा दोहर्‍याई पाउँ भनी चौ.डोर दण्ड जंगको वा.गुरुप्रसाद बराल दिएको निवेदन पत्रमा व्यहोरा साँचो भए राजगुठी या दुनियाँ गुठी के हो र सबै जिन्सी असुल गर्न पाउने नपाउने के हो ? त्यसको निर्णय गर्नुपर्ने देखिनाले दोहर्‍याई हेर्ने निस्सा दिएको छ । दुवै थर झगडीया राखी फुल बेञ्चमा पेश गर्नु भन्ने श्री माननीय प्रधान न्यायाधीशज्यूको ०१९।७।२०।२ को आदेश ।

      ६.    उक्त आदेशबमोजिम फुल बेञ्चमा पेश हुँदा सर्वोच्च अदालत (संशोधित) नियमावली नियम ६३ (४) अनुरूप नदेखिएकोले दोहर्‍याई हेर्न नमिल्ने हुँदा मिसिल बुझाई दिुन भन्ने ०२१।३।१०।३ को आदेश ।

      ७.    फुल बेञ्चबाट मुद्दा दोहर्‍याई हक इन्साफ गरी दिनु भन्ने हुकुम प्रमांगी पाउँ भन्ने समेत चौ.डोर दण्ड जंगले श्री ५ महाराजाधिराजका हजुरमा चढाएको निवेदन पत्रमा व्यहोरा साँचो भए राजदरवार प्रमुख सचिवालयको नं.७९ डा.अ.१।०२१ को पत्रमा लेखिएबमोजिम गर्नु गराउनु भनी लेखी पठाई दिनु भन्ने हुकुम बक्सेको छ भनी श्री ५ महाराजाधिराजका प्रमुख सचिवालय नं.१६ (न्या.स.) ०२१ मिति ०२१।४।१८।१ मा लेखिएको र उक्त ७९ डा.अ.१।०२१ को पत्रमा २०१३ (संशोधन) नियम ६३ (४) अनुसार प्रधान न्यायाधीशले दोहर्‍याउने आदेश दिएकोमा खारेज गरी सकेको पनि सबै पुनः जगाई हेरि ऐन नियमबमोजिम दोहर्‍याई हेर्नु भनी लेखी पठाई दिनु भन्ने हुकुम बक्सेको छ भन्ने समेत उल्लेख भएको व्यहोरा र यो बिन्ति पत्रको ब्यहोरा समेत पेश भयो यसमा ब्यहोरा साँचो भए बक्स भई आएका हुकुम प्रमांगीबमोजिम दोहर्‍याई हेर्न प्रस्तुत केश लगतमा दर्ता गरी दुबै पक्षलाई राखी नियमबमोजिम फुल बेञ्चमा पेश गर्नु र यसको अन्तिम निर्णय भएपछि त्यस्तो निर्णयको दुई प्रतिलिपि जाहेर गर्न श्री ५ महाराजाधिराजको प्रमुख सचिवालय राजदरवारमा रजिष्ट्रार अफिस मार्फत पठाई दिनु भन्ने ०२१।४।१९।२ को श्री माननीय प्रधान न्यायाधीशज्यूको आदेश ।

      ८.    तारेखमा रहेका पक्षहरू रोहवरमा रही ०२२।६।२९।६ मा पेश भई निवेदक वादी तर्फबाट निजको वा कल्याण जङ्गले र विपक्षीको प्रतिवादी तर्फबाट विद्वान एडभोकेट कृष्णप्रसाद घिमिरेले गर्नु भएको बहस समेत सुनी आजको निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा बाली भराई पाउँ भनी निवेदक वादीले दावी जिकीर लिएको श्री नन्दीकेश्वर गुठी राजगुठीया दुनियाँ गुठी के हो । सो गुठीको बाली सबै जिन्सी नै लिन पाउने हो होइन ? भन्ने कुराको मुख्य निर्णय दिनु पर्ने देखिन्छ ।

      ९.    सो गुठी कसबाट कसरी राखिएको रहेछ भन्नेतर्फ सर्वप्रथम हेरमा श्री ५ महाराजाधिराज गीर्वाणयुद्ध विक्रम शाहा देवबाट गरी बक्सेको सो गुठी १८६३ साल मिति मार्ग शिर्ष शुक्ल १४ को लालमोहरमा गुठी सदावर्त राख्ना निमित्त श्री माइला मुमाज्यू सुबर्ण प्रभादेवीलाई बिर्ता बितलब सर्वकर अकर सर्वाङ्ग माफ गरी कुस पानि गरी बक्स्यो । श्री माइला मुमाज्यू सुवर्ण प्रभादेवीले श्री नन्दीकेश्वरको गुठी सदावत र धारा बारीलाई संकल्प गरी राख्नु भयो भन्ने उल्लेख भएको पाइन्छ । जसबाट श्री ५ महाजारजाधिराज गीर्वाणयुद्ध वीर विक्रम शाहदेवले मौसुफ कि माइली मुमा श्री ५ महारानी सुवर्ण प्रभादेवीलाई बिर्ता बक्सी उहाँबाट श्री नन्दीकेश्वरलाई संकल्प गरी उक्त गुठी राखी बक्सेको रहेछ भन्ने प्रष्ट हुन आयो ।

      १०.    राजा या रानीबाट देव देवतालाई यो काम गर्नु खानु भनी सनद लालमोहर गरी राखिएको गुठी श्री ५ सरकारतर्फ गुठीको लगतमा दर्ता हुने श्री ५ स.त.गुठी जाँच अड्डालाई भएको सवालको ५५ दफाले ब्यवस्था गरी राखेको र, राजगुठी नभई यस अड्डामा दर्ता हुनै नआउने भन्ने श्री ५ स.त.गुठी लगत जाँच अड्डाले ०१३।९।१५ मा जवाफ दिएको समेत देखिन्छ । निवेदक वादीले नै मुख्य आधार लिएको १९५० साल मिति मार्ग वदी ८ रोज ६ को सनद मै पनि हाल बुझ्न बिर्ता नठहरी राजगुठी रहेको भन्ने र गुठी कचहरीमा लगत राख्नु भन्ने बोलि लेखिएको समेत पाइयो निवेदक वादी तर्फबाट हाल बहस समेतमा राजगुठी होइन भन्नेतर्फ कुनै तथ्य जिकीर लिन र त्यस कुराको सबुद प्रमाण देखाउन समेत सक्नु भएन । तसर्थ, उपरोक्त कारणहरूबाट उक्त नन्दीकेश्वर गुठी राजगुठी नै रहेछ भन्ने सिद्ध हुन्छ ।

      ११.    अब सो गुठीको बाली सबै जिन्सिी नै असुल गर्न पाउने हो होइन भन्नेतर्फ हेरेमा यस्तो राजगुठीको बाली आधी जिन्सी आधी नगदी लिने समेत निर्णय सदर भएको भन्ने मालपोत तथा वनमन्त्रालयले उपत्यका मालपोत तथा वनमन्त्रालयले उपत्यका मालपोत निक्सारीलाई लेखेको ०११।६।१।६ को पत्र नक्कल र आधी जिन्सी आधी को रु.१ को धान पाथी ३।२ का दरले नगदी लिने सरकारबाट निकाशा भईराखेको भन्ने काठमाडौं गुठी तहसिलको १८।१२।२८ को जवाफ समेत यसै नन्दीकेश्वर गुठीको भक्तपुरतर्फको बाली बुझाई पाउँ भनी रामकुमार समेतले दिएको दे.फु.नं २३७ को अर्को मिसिल सामेल रहेको देखिन्छ । छुट गुठी भनी दर्ता भएको नाताले सबै जिन्सी नै लिन पाउने पर्ने भन्ने निवेदक वादीको वारेसले बहसमा मुख्य जिकीर लिएकोमा त्यस्तो छुट गुठीमा सबै जिन्सी नै लिन पाउने सबुद प्रमाण कुनै पनि देखाउन सक्नु भएन अतः आधी जिन्सी आधी नगदी लिने सरकारले ब्यवस्था गरी सकेको कुरामा सब जिन्सी नै लिन पाउनु पर्ने भन्ने निवेदक वादीको दावी जिकीर मनासिव देखिंदैन । यहि गुठीको बाली भराई पाउँ भनी यिनै निवेदक वादीले बुलाल महर्जन समेत उपर दिएको दे.फु.नं २४१ को बाली भराई पाउँ भन्न मुद्दामा पनि जग्गाका हकमा राजगुठी र बालीका हकमा सरकारले निर्धारीत गरेको गुठीको दर रेटबमोजिम आधी जिन्सी आधी नगदी लिनु दिनु पर्ने ठहराएको डिभिजन बेञ्चको इन्साफ सदर भई आजै यस बेञ्चबाट फैसला भएकोले प्रस्तुत मुद्दामा पनि जग्गाको हकमा राजगुठी र सो जग्गाको बाली सरकारले निर्धारीत गरेको गुठीको दर रेटबमोजिम आधी जिन्सी आधी नगदी लिनु दिनु पर्ने ठहराएको समेत इन्साफ ०१९।१।३।१ को डिभिजन बेञ्चको मुनासिवै छ, अरु तपसीलबमोजिम गर्नु ।

     

तपसील

निवेदक वादी चौ.डोर डण्ड जं पराक्रम शहाके इन्साफ दोहर्‍याएमा निजले राखेको शुरु कोर्ट फि रु.१०२ को कोर्टफि ऐन, ०१७ को दफा १९ को उपदफा १ (२) ले दस्वद रु.१०।२० कोर्टफि लाग्छ वारेस हुँदा असुल गर्न का.श्रे.अ.त.मा.लगतदिनु .........................१

प्रतिवादी कृष्णदास महर्जन के निज तर्फबाट रहनु भएको विद्वान एडभोकेट को सर्वोच्च अदालत नियमावली दफा २४ बमोजिम वकिलफि रु.२० वादी चौ.डोर जङ्ग पराक्रम शाहबाट भराई पाउँ भनी ऐनका म्याद भित्र दर्खास्त गरेमा दस्तुर केहि नलिई भराई दिनु भनी ऐ.ऐ .........................२

नियमबमोजिम मिसिल बुझाई दिनु ......................३

 

इति सम्वत् २०२२ साल कार्तिक ६ गते रोज ६ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु