शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३९२८ - जग्गा छुट्याई नामसारी गरिपाउँ

भाग: ३१ साल: २०४६ महिना: मंसिर अंक:

निर्णय नं. ३९२८     ने.का.प. २०४६                        अङ्क ८

संयुक्त इजलास

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान

सम्वत् २०४४ सालको दे.पु.नं. ७८७

फैसला भएको मिति :      २०४६।७।२०।१ मा

पुनरावेदक/प्रतिवादी : का.न.पं. वडा नं. ३२, पुतलीसडक बस्ने नारायण तण्डुकार

विरुद्ध

विपक्षी/वादी : ऐ.ऐ. बस्ने सूर्यबहादुर तण्डुकार

मुद्दा : जग्गा छुट्याई नामसारी गरिपाउँ

§  साविक दर्तामा अंशियारहरूको हक देखाउन सम्म संयुक्त जग्गाधनी देखाइएकोलाई बहस जिरह बमोजिम अबण्डा रहेकोले नै सो हुन गएको भन्न मिल्ने नदेखिने ।

(प्रकरण नं. ९)

पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त

विपक्षी/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री पिताम्वरप्रसाद सिलवाल

फैसला

     न्या. हिरण्येश्वरमान प्रधान : म.क्षे.अ. को मिति २०४३।४।२० को फैसलाउपर पुनरावेदनको अनुमति प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ ।

      २.    का.न.पं. वडा नं. १क कि.नं. २१० को क्षेत्रफल १, कि.नं. २११, को १, कि.नं. २१२ को ११ समेत कित्ता ३ को क्षेत्रफल ४३ जग्गा प्रतिवादी कृष्णमाया र म, जेठा बाबुनारायण जेठी आमा र बाबु आशा तण्डुकार समेतका नाउँमा दर्ता भएको बराबर हक लाग्ने जग्गा हो, जुन कुरा फिल्डबुक स्रेस्ता र प्रतिवादी र निजका छोराहरू बीच भएको २०३२।११।२ को पारीत बण्डापत्रबाट समेत प्रमाणित भएको छ । दर्तावाला कृष्णमाया २०३१ चैत्रमा र बाबु आशा २०३२ सालमा परलोक हुनु भएकोले बाबुको शेष पछिको उक्त ३ कित्ताको जग्गाको ३ खण्डको १ खण्ड मेरो हक हुन आएको जग्गा छुट्याई दिन विपक्षीलाई भन्दा इन्कार गरेकोले मोल रु. ५,००० जाने ज.रो. ११ जग्गा छुट्याई मेरा नाउँमा दर्ता गरी नामसारी समेत गरिपाउँ भन्ने समेत व्यहोराको फिराद ।

      ३.    विपक्षीका बाबुका नाउँमा रहेको कि.नं. २१० को ११ मात्र विपक्षीको हकको हुँदा ३ कित्ताबाट कित्तै पिच्छे पाउँ भन्ने दावी झुठ्ठा हो कि.नं. २१० को मात्र छुट्याउनु पर्ने हो भन्ने समेत प्रतिवादी नारायण तण्डुकारको प्रतिउत्तर ।

      ४.    तीन कित्ता जग्गाको क्षेत्रफल ४३ मध्ये ११ वादीलाई छुट्याई निजको नाउँमा नामसारी दर्ता गराई दिनु पर्ने ठहर्छ भन्ने समेत का.जि. अ. को २०३९।३।१७ को फैसला ।

      ५.    उक्त फैसला उपर परेको प्रतिवादीको पुनरावेदनमा कि.नं. २१० को क्षेत्रफल ११ जग्गा वादीका नाउँमा नामसारी दर्ता गरी दिने ठहर्छ । कित्तै पिच्छे कित्ताकाट गरी दिने भनी गरेको शुरुको फैसला बदर हुने ठहर्छ भन्ने समेत बा.अं.अ. को २०४०।२।४ को फैसला ।

      ६.    बागमती अञ्चल अदालतको त्रुटिपूर्ण फैसला उल्टाई कित्तै पिच्छे जग्गा छुट्याई पाउँ भन्ने समेत वादीको पुनरावेदनमा कित्तै पिच्छे गरी बण्डा गरेको का.जि. अ. को फैसला बदर गरेको बा.अं.अ.को फैसला त्रुटिपूर्ण देखिँदा उल्टी हुन्छ । वादी दावी बमोजिम कि.नं. २१०, २११, २१२ को जग्गा कित्तै पिच्छे वादीले छुट्याई नामसारी दर्ता गरी पाउने ठहर्छ भन्ने समेत म.क्षे.अ. को २०४३।४।२०।२ को फैसला ।

      ७.    म.क्षे.अ. को फैसला त्रुटिपूर्ण हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत प्रतिवादीको यसै अदालतमा पर्न आएको निवेदनमा न्या. प्र.सु. (संशोधन सहित) ऐन, २०३१ को दफा १३(५)(ख) बमोजिम पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत यस अदालत संयुक्त इजलासको २०४४।३।३।४ को आदेश ।

      ८.    नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी तर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्तको तथा विपक्षी वादीतर्फका विद्वान अधिवक्ता श्री पिताम्वरप्रसाद सिलवालको बहस जिकिर सुनी पुनरावेदन सहितको मिसिल अध्ययन गरी वादी दावी बमोजिम कित्तै पिच्छे जग्गा छुट्याई नामसारी दर्ता गरिपाउने ठहर गरेको म.क्षे.अ.को इन्साफ मिले नमिलेको के रहेछ सोको निर्णय दिनु पर्ने हुन आयो ।

      ९.    यस्मा म.क्षे.अ. बाट वादी दावी बमोजिम कित्ता पिच्छे बण्डा गर्नुपर्ने भनी ठहर गर्नाको मुख्य आधार विवादको जग्गाहरू नापी हुँदा ३ जनाको संयुक्त हक लाग्ने भनी देखाई पुनरावेदक प्रतिवादी नारायण तण्डुकारले र आफ्ना छोराहरू बीच पास समेत गरी बण्डापत्र गर्दा समेत विवादको जग्गाहरूको भाग छुट्याई ल्याएपछि मात्र बण्डा गर्ने भनी अबण्डा राखेको भनी देखाएको देखिन आउँछ । विवादको जग्गा साविकमा पुनरावेदक प्रतिवादी तथा विपक्षीका बाजे सिद्धिमानको नाउँमा दर्ता रहेको धोवीखोला कुरिया खेत हो भन्ने कुरामा दुवै पक्षको मुख मिलेको देखिन्छ र प्रमाणको रुपमा आएको १९९८ सालको वादी र प्रतिवादी तथा कृष्णमायाको बीच भएको बण्डापत्र र २०३२ सालको प्र.नारायण तथा निजका छोराहरूको बीच भएको बण्डापत्र र सोमा परेको व्यहोरामा कुनै विवाद रहेको पनि देखिन आउँदैन, अतः १९९८ सालको बण्डापत्रमा सम्बन्धित जग्गा सम्बन्धमा उल्लेख भएको व्यहोरा हेरिएमा सो बण्डापत्रको देहाय ४ मा बाजे सिद्धिमानका नाउँको पूर्व १०४० नं. का पोता लगतमा दर्ता भएको बिर्ता धोवी खोला खेत रोपनी ४।।। र कुरिया खेत रोपनी ३। समेत जम्मा रोपनी ८। जग्गा हामी जेठी आमा कृष्णमाया, नारायण, आशा समेत ३ जनाले खलै पिच्छे ३ बण्डा गरी एक एक आफ्नो बण्डा आफू आफूले बुझी लिएँ भन्ने उल्लेख भएकोबाट विवादको कुरिया खेत ३ अंशियारले आपसमा ३ बण्डा गरी आफ्नो आफ्नो भाग आफू आफूले बुझी लिएको कुरामा विवाद गर्ने कुनै ठाउँ रहन आउँदैन तर सो बण्डा गर्दाको अवस्था सो विवादको जग्गा बाजे सिद्धिमानको नाउँमा दर्ता रहेको र नापी आउँदा सम्म सो बण्डा बमोजिम आफ्नो आफ्नो भाग आफ्नाफ्ना नाउँमा नामसारी गराउन नसकेकोबाट नापी दर्ता गराउन साविक भिडाउन सो जग्गामा अंशियार तीनैजनाको हक देखाउन परेकोबाट जग्गाधनीमा तीनै अंशियारको नाउँमा संयुक्त देखाई पुनरावेदकले सो कुरा देखाउँन किसानको महलमा पनि सोही कुरा देखाई जेठा बाठा प्र.नारायणले सही समेत गरेको फिल्डबुकको किसान व्यहोरामा लेखी देखाएकोबाट देखिन आएको छ । उक्त बण्डा बमोजिम भाग छुट्याई आफ्नो आफ्नो भाग आफू आफूले कमाई भोगेकै हुँदा सोही भोग बमोजिम विवादको एकै दर्ताको जग्गा पनि कित्ता छुट्याई नापी गराई आफ्नो आफ्नो कमाईको जग्गामा आफ्नो आफ्नो मोही लेखाएको स्पष्ट हुन आएको छ । सोबाट प्र.नारायणले किसानको व्यहोरामा विवादको जग्गामा आफ्नो र आफ्ना भाइहरू देखाई सो बण्डा बमोजिम कित्ताकाट गरेको कुरासम्म समर्थन गरेको देखिन आएकोले साविक दर्तामा अंशियारहरूको हक देखाउनसम्म संयुक्त जग्गाधनी देखाइएकोलाई बहस जिरह बमोजिम अबण्डा रहेकोले नै सो हुन गएको भन्न मिल्ने देखिन आउँदैन । जहाँसम्म प्र.नारायण तण्डुकार र निजका छोराहरूको बीच भएको २०३२ सालको बण्डापत्रमा भाग नछुट्टिएकै कारणबाट अबण्डा राखेको भन्ने हकमा सो बण्डापत्रको सम्बन्धित दफामा पनि म नारायण, आशा र कृष्णमायाका नाउँमा सगोल दर्ता भएको कि.नं. २१०, २११, २१२ का जग्गा हामीहरूले पछि नामसारी गरी मेरा नाममा आएपछि बण्डा गर्ने भनी अबण्डा राखेको भन्ने भएकोबाट नापीमा आफ्नो कमाई भोग बमोजिम कित्ता छुट्याई नापी गराए पनि जग्गा सो बमोजिम आफ्नाफ्ना नाउँमा नामसारी भई नसकी संयुक्त रुपमा जग्गाधनी देखाएको हुनाले सो बमोजिम नामसारी भई आएपछि बण्डा गर्ने भनी सम्म उल्लेख भएको देखिने र सो व्यहोरामा संयुक्त दर्ता रहेको बण्डा गरी भाग छुट्याई नामसारी भएपछि बण्डा गर्ने भन्ने नपरेकोबाट बहस जिकिर बमोजिम विवादको जग्गा बण्डा छुट्याउनै बाँकी रहेको भन्ने अर्थ गर्न नमिल्ने हुँदा यिनै आधारहरूबाट बा.अं.अ. को इन्साफ उल्टाई दावी बमोजिम जग्गा छुट्याउने ठहर्‍याएका म.क्षे.अ.को इन्साफ गल्ती देखिई बा.अं.अ. को इन्साफ मनासिब ठहर्छ । अरुमा तपसील बमोजिम गर्नु ।

 

तपसील

माथि इन्साफ खण्डमा लेखिए बमोजिम म.क्षे.अ. को इन्साफ गल्ती भई बा.अं.अ.को इन्साफ मनासिब ठहरेकोले म.क्षे.अ. को मिति २०४३।४।२०।२ को फैसलाले राख्ने गरेको सम्पूर्ण लगत कट्टा गरी बा.अं.अ. को मिति २०४०।२।४।४ को फैसलाले राख्ने गरेको लगत कायम राख्नु भनी का.जि. अ.त. मा लगत दिनु.....१

पुनरावेदक प्रतिवादी नारायण तण्डुकार के माथि इन्साफ खण्डमा लेखिए बमोजिम हुने ठहरेकाले निजले यस अदालतमा पुनरावेदन गर्दा राखेको कोर्टफी रु. ३६।वादीबाट भराई पाउने हुँदा ऐनका म्याद भित्र रीत पूर्वकको दर्खास्त पर्न आए ऐनको रीत पुर्‍याई वादी सूर्यबहादुर तण्डुकारबाट भराई दिनु र म.क्षे.अ. को फैसलाले प्रतिवादीबाट वादीलाई भराई दिने गरेको कोर्टफी २७३।यस अदालतमा पुनरावेदन गर्दा धरौटी राखेको देखिँदा फिर्ता पाउँ भनी ऐनका म्याद भित्र प्रतिवादीको दर्खास्त पर्न आए ऐनको रीत पुर्‍याई फिर्ता दिनु भनी का.जि. अ.त मा लगत दिनु .....२

नियम बमोजिम मिसिल बुझाई दिनु ..............३

 

उक्त रायमा म सहमत छु ।

 

न्या. बब्बरप्रसाद सिंह

 

इति सम्वत् २०४६ साल कार्तिक २० गते रोज १ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु