शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६८८८ - उत्प्रेषणयुक्त परमादेश

भाग: ४२ साल: २०५७ महिना: श्रावण अंक:

निर्णय नं. ६८८८       ने.का.. २०५७         अङ्क ४

संयुक्त इजलास

माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल

माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी

सम्वत २०५४ सालको रिट नं. ... ३०१६

आदेश मितिः २०५७।१।९।६

विषयः उत्प्रेषणयुक्त परमादेश  

 

निवेदकः काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडानं. २३ बस्ने साधुराम मानन्धर

विरुद्ध

प्रत्यर्थीः प्रमुख, काठमाडौं महानगरपालिका समेत

§  यसमा प्रत्यर्थी काठमाडौं महानगरपालिकाबाट भएको मिति २०५३।६।११ को निर्णयलाई दुई भागमा विभाजित गर्न सकिन्छ र ती दुई भाग खण्डको वैधानिकताको परीक्षण गर्नुपर्ने हुन आएको छ । पहिलो भागमा निवेदक समेतले मिति २०३३।९।१५ मा तत्कालिन काठमाडौं नगर पंचायतमा दिएको निवेदनमा विवादित पर्खाल सार्वजनिक शौचालयको पर्खाल भनी स्वीकार गरेको आधारमा पर्खाल सार्वजनिक भन्‍ने ठहराएको अंश २०३३।९।१५ मै सार्वजनिक शौचालयको पर्खाल भनी निवेदक समेतले निवेदनमा उल्लेख गरेको रिट निवेदनको प्रकरण ६ मा त्यो निवेदन दिएको होइन, छैन नभनी मलाई थाहा छैनसम्म भनेको हुँदा महानगरपालिका जस्तो संगठित संस्थामा २०३३ साल मै निवेदन दिई सो निवेदन अनुसार चैत्यको स्थापना भएको तथ्यमा पनि विवाद नभएकोले प्रमाण ऐन, २०३१ को दफा ३४ मा व्यवस्थित बिवन्धनको सिद्धान्तले नकार्न नपाउने कानूनी व्यवस्थाको परिप्रेक्ष्यमा त्रुटीपूर्ण कथन भन्‍न नमिल्ने ।     

(प्र.नं. १२)

§  अब दोश्रो, पश्‍चिमतर्फ शौचालयको पर्खाल भन्‍ने बारेको २०३३।९।१५ को निवेदन पुष्टी भएको हुँदा कि.नं.६५६ को पश्‍चिममा सार्वजनिक पर्खाल भएकोले सोतर्फ कुनै खुल्ला झ्याल ढोका राख्‍न नपाउने गरी नक्सा संशोधन गरी दिने भन्‍ने निर्णयको खण्डको वैधानिकता तर्फ हेर्दा सार्वजनिक शौचालयको पर्खालमा घर बनाउन नपाउने सम्म भन्‍नु  पर्नेमा पर्खाल देखि पूर्व तर्फको निवेदकको जग्गामा निर्माण गरिने घरमा खुल्ला झ्याल ढोका राख्‍न किन नपाउने हो ? महानगरपालिकाका का.वा.प्रमुखको मिति २०५३।६।११ समेतको निर्णयमा उल्लेख भएको पाइदैँन । निवेदक समेतले कि.नं. ६६० स्थित सार्जनिक चोक शौचालय हुँदा देखिने अन्य चोक वरपरका छिमेकीलेझै भोगचलन गरी आएको तथ्यमा विवाद नभएको सो सार्वजनिक सम्पत्तिको रक्षार्थ निवेदक समेतले चैत्य निर्माण गर्नमा तदारुकता देखाएको भन्‍ने २०३३।९।१५ को निवेदनबाट समेत पुष्टि भएको छ । त्यस्तो सार्वजनिक पर्खाल चोक तर्फ अन्य व्यक्तिले झै खुल्ला झ्याल ढोका राख्‍न नपाउने कुनै कानून संगत आधार नभएको यस्तो कानूनले वर्जित नगरेको निवेदक सरहका अन्य व्यक्तिहरु सरह सार्वजनिक चोक, पर्खाल साविक बमोजिम भोग चलन गर्न नपाउने भन्‍न समानताको भावना समेत विपरीत हुन जाने हुँदा निवेदकले घर बनाउन दिएको नक्सामा पश्‍चिमतर्फ झ्याल ढोका राख्‍न नपाउने गरी संशोधित नक्सा पास गर्ने भन्‍ने अंश कानूनी त्रुटीपूर्ण हुँदा सो निर्णयको दोश्रो भाग खण्डको पश्‍चिमतर्फ सार्वजनिक पर्खाल भएकोले कुनै झ्याल ढोका राख्‍न नपाउने गरी भन्‍ने मिति २०५३।६।११ को निर्णयको अंश र प्रत्यर्थी काठमाडौं नगरपालिकाका प्रमखुको अध्यक्षतामा बसेको वोर्डको मिति २०५३।९।९ को निर्णयको अंश उत्प्रेषणको आदेशद्बारा वदर हुन्छ । अब उपर्युक्तानुसार निवेदकले दिएको घर निर्माणको नक्सामा पश्‍चिमतर्फ खुल्ला झ्याल ढोका राख्‍न पाउने गरी नक्सा पास गरी दिनु भन्‍ने परमादेश जारी हुने ।                                                             

(प्र.नं.१३)

 

निवेदक तर्फबाटः विद्बान अधिवक्ता श्री हरिहर दाहाल

विपक्षी तर्फबाटः विद्बान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्‍न तुलाधर

अवलम्बित नजिरः

आदेश

न्या.लक्ष्मणप्रसाद अर्यालः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८() अन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ ।

2.          काठमाडौं महानगरपालिका वडा नं. २३ स्थित कि.नं. ६५६ को जग्गा मेरो नाउँमा दर्ता भई जग्गाधनी प्रमाणपूर्जा प्राप्त छ । सो जग्गा आफ्नो हक भोगमा हुँदा त्यसमा अवस्थित पर्खाल समेत मेरो आफ्नै हकभोगको हो । उक्त जग्गाको पश्‍चिमतर्फको कि.नं. ६६० को साझा चोकबाट आवात जावत गर्ने हिसाबले मेरो जग्गाको पश्‍चिमतर्फका स्थानमा ढोका राखी उपभोग गर्दै आएको छु ।

3.          उपयुक्त मेरो जग्गामा घर बनाउन नक्सापासको लागि काठमाडौं महानगरपालिकामा दरखास्त दिई कारवाही हुँदा विपक्षी भरतलाल श्रेष्ठ समेत २२ जनाले ढोका समेत जडान भएको पश्‍चिमतर्फको मेरो पर्खाललाई कि.नं. ६६० को शौचालयको पर्खाल भएकोले पेश भएको नक्सा बमोजिम घर बनाउन दिँदा सो पर्खाल समेत मिचिने भनी मेरो विरुद्ध हचुवा उजुर दिनुभयो । सोही उजुरीका आधारमा २०५३।६।११ मा विपक्षी महानगरपालिकाका कार्यवाहक प्रमुखले पेश भएको नक्सा बमोजिम कि.नं. ६५६ मा अवस्थित पर्खाल अर्थात् पश्‍चिमतर्फ खुला झ्याल ढोका राख्न नपाउने निर्णय गर्नु भयो । उक्त निर्णय उपर मैले नगरपालिका ऐन, २०४८ को दफा ५७() अन्तर्गत २०५३।७।१२ मा महानगरपालिका समक्ष उजुरी दिएकोमा त्यहाँका प्रमुखको अध्यक्षतामा बसेको मुद्दा सम्बन्धी बोर्डको बैठकबाट उल्लेखित निर्णयलाई नै मनासिव ठहराइयो ।

4.         विवादित पर्खाल सर्भे नापीको नक्सामा मेरै जग्गामा रहेको प्रष्ट छ । मेरो हकभोगको नभए नापीका बखत नै विपक्षीहरुले उजुर गर्न सक्नु पर्दथ्यो । चोकमा चैत्य निर्माण गर्ने क्रममा निवेदक समेतले साविकको शौचालयको पर्खाल भनी तत्कालीन नगरपंचायत समक्ष निवेदन दिएको बारे निवेदकलाई थाहा छैन । विवादित पर्खाल मेरो भएकोले चैत्य निर्माण गर्दा भत्काएको हो । मैले घर बनाउन पेश गरेको नक्सा प्रचलित मापदण्ड विपरित छ भनी निर्णय गर्न सकेको पनि छैन । कि.नं. ६६० को सार्वजनिक चोकबाट कि.नं. ६५९, ६६१, ६५८, ६६२, २०१७, २०१८ लगायतका घर जग्गावालाहरुले खुला झ्याल ढोका राखी उपभोग गरेका छन् ।

5.          नक्सा पासको कारवाहीको सिलसिलामा उजुर गर्ने मध्येका प्रज्वल मेहर श्रेष्ठ समेतका केही व्यक्तिले महानगरपालिकामा उपस्थित नभई तारेख गुजारेका छन् । शिवराज मास्के लगायतका केही व्यक्तिले आफूहरुले व्यहोरा नहेरी सही गरी दिएको हुँदा उजुरी झुठ्ठा हो भनी महानगरपालिका समक्ष अर्को निवेदन दिएका छन् ।

6.          काठमाडौं महानगरपालिकाबाट झुठ्ठा उजुरीलाई आधार मानी भएको निर्णयबाट सम्पत्ति सम्बन्धी निवेदकको हकमा असर पर्‍यो । महानगरपालिकालाई हक बेहकको प्रश्‍नमा निर्णय गर्ने अधिकार छैन ।

7.          अतः संविधानको धारा ११()()() धारा १२()()() धारा १७ समेतको मौलिक हक हनन् गरी २०५३।६।११ मा काठमाडौं महानगरपालिकाका तत्कालीन कार्यवाहक प्रमुख तथा २०५३।९।९ म प्रमुखको अध्यक्षतामा गठित मुद्दा हेर्ने बोर्डबाट भएको निर्णय वदर गरी नक्सा बमोजिम कि.नं. ६५६ को पश्‍चिम पट्टिको कि.नं. ६६० को चोकतर्फ खुल्ला झ्याल ढोका राख्न पाउने गरी नक्सापास गरी दिनु भनी प्रत्यर्थी काठमाडौं महानगरपालिकाका नाउँमा परमादेश जारी गरी पाउँ भन्ने समेत व्यहोराको रिट निवेदन ।

8.         यसमा विपक्षीहरुबाट लिखित जवाफ मगाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने यस अदालत एक न्यायाधीशको इजलासको २०५४।२।१६ को आदेश ।

9.          विपक्षीले नक्सा पेश गर्दा प्रचलित मापदण्ड विपरित खुल्ला झ्याल राखेका छन् । निवेदकले आफू समेत भई तत्कालीन नगरपंचायतका प्रधानपंचलाई सहायता माग गर्न सम्बोधन गरी दिएको निवेदनमा विवादित पर्खाल शौचालयको भनेका छन् । महानगरपालिकाले प्राविधिक ओ.सी.को प्रतिवेदनको आधारमा निर्णय गरेको हो । नगरपालिका ऐन, २०४८ को दफा १५ बमोजिम भएको निर्णय उपर वेहिसाबसँग नक्सापास भएको भए ऐ.ऐनको दफा ५७() बमोजिम बोर्डमा उजुर गर्नुपर्नेमा सिधै रिट क्षेत्रमा प्रवेश गरेकाले समेत रिट निवेदन खारेजभागी छ भन्ने समेत प्रत्यर्थी महानगरपालिका तथा ऐ.का का.वा.प्रमुखको लिखित जवाफ ।

10.       विपक्षी निवेदकको कि.नं. ६५६ को जग्गाको पश्‍चिमतर्फको कि.नं. ६६० को जग्गा सार्वजनिक चोकमा फोहर हुँदा चैत्य निर्माण गर्न स्वीकृति र सहायताका लागि निजी समेतले तत्कालीन नगरपंचायतमा २०३३।९।१५ मा निवेदन दिई स्थापित चैत्य यथावत छ । उक्त निवेदनमा कि.नं. ६६० को पूर्वतर्फको पर्खाललाई साविक शौचालयको पर्खाल भनी स्पष्ट उल्लेख छ । निवेदनमा करकापले सही गरेको भए मौकामा उजुर गर्नुपर्ने थियो । लिखित रुपमा स्वयंले स्वीकारेको कुरा हुँदा प्रमाण ऐन, २०३१ को दफा ३४ ले निवेदक विबन्धित हुनुहुन्छ । सार्वजनिक चोक र पर्खालमा निजको हकदैया छैन । तारेख गुजार्ने र अन्य व्यहोराको निवेदन दिएको भन्ने कुराले हाम्रो हितमा प्रतिकूल असर पर्दैन । तसर्थ सार्वजनिक पर्खाल बाहेक गरी सो तर्फ खुल्ला झ्याल ढोका राख्न नपाउने गरी संशोधित नक्सा पास गर्ने ठहराएको २०५३।६।१ र २०५३।९।९ को निर्णय कानुनसम्मत हुँदा रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत प्रत्यर्थी भरतलाल श्रेष्ठ समेतका व्यक्तिहरुको संयुक्त लिखित जवाफ ।

11.       नियम बमोजिम पेश भएको प्रस्तुत रिट निवेदनमा निवेदक तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री हरिहर दाहालले विवादित पर्खाल निवेदकको हक भोग स्वामित्वको हो भन्ने कुरा सर्भे नापी र जग्गाधनी दर्ता प्रमाण पुर्जाबाट स्पष्ट भएको छ । सार्वजनिक चोकतर्फ खुला झ्याल राख्ने गरी निवेदकबाट पेश भएको नक्सा मापदण्ड विपरित पनि छैन र कसैको हकमा असर पर्ने गरी नक्सा पेश पनि छैन । महानगरपालिकाले हक बेहक हुने गरी निर्णय गर्न मिल्दैन । त्यस्तो विवाद आए अदालतबाट हक कायम गराई ल्याउन सुनाउनु पर्छ । तसर्थ निवेदकको माग बमोजिम आदेश हुनुपर्दछ भन्ने तथा प्रत्यर्थी महानगरपालिका तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधरले निवेदक स्वयं समेत भई तत्कालिन नगरपंचायतमा दिएको निवेदनमा विवादित पर्खाल शौचालयको हो भन्ने उल्लेख छ । अड्डा खानामा दिएको निवेदन निजलाई सुनाउनु पर्ने अवस्था आउँदैन । निजले हस्ताक्षर गरेको किर्ते भए अदालतमा जानु पर्ने थियो । महानगरपालिकामा भएको रेकर्ड अनुसार निर्णय भएको छ । नगरपालिकाको निर्णय कानुनसम्मत छ भन्ने समेत बहस गर्नुभयो ।

12.      उपयुक्त बहस समेत सुनी निर्णयतर्फ विचार गर्दा यसमा प्रत्यर्थी काठमाडौं महानगरपालिकाबाट भएको मिति २०५३।६।११ को निर्णयलाई दुई भागमा विभाजित गर्न सकिन्छ र ती दुई भाग खण्डको वैधानिकताको परीक्षण गर्नुपर्ने हुन आएको छ । पहिलो भागमा निवेदक समेतले मिति २०३३।९।१५ मा तत्कालिन काठमाडौं नगर पंचायतमा दिएको निवेदनमा विवादित पर्खाल सार्वजनिक शौचालयको पर्खाल भनी स्वीकार गरेको आधारमा पर्खाल सार्वजनिक भन्‍ने ठहराएको अंश २०३३।९।१५ मै सार्वजनिक शौचालयको पर्खाल भनी निवेदक समेतले निवेदनमा उल्लेख गरेको रिट निवेदनको प्रकरण ६ मा त्यो निवेदन दिएको होइन, छैन नभनी मलाई थाहा छैनसम्म भनेको हुँदा महानगरपालिका जस्तो संगठित संस्थामा २०३३ साल मै निवेदन दिई सो निवेदन अनुसार चैत्यको स्थापना भएको तथ्यमा पनि विवाद नभएकोले प्रमाण ऐन, २०३१ को दफा ३४ मा व्यवस्थित बिवन्धनको सिद्धान्तले नकार्न नपाउने कानूनी व्यवस्थाको परिप्रेक्ष्यमा त्रुटीपूर्ण कथन भन्‍न नमिल्ने ।    

13.       अब दोश्रो, पश्‍चिमतर्फ शौचालयको पर्खाल भन्‍ने बारेको २०३३।९।१५ को निवेदन पुष्टी भएको हुँदा कि.नं.६५६ को पश्‍चिममा सार्वजनिक पर्खाल भएकोले सोतर्फ कुनै खुल्ला झ्याल ढोका राख्‍न नपाउने गरी नक्सा संशोधन गरी दिने भन्‍ने निर्णयको खण्डको वैधानिकता तर्फ हेर्दा सार्वजनिक शौचालयको पर्खालमा घर बनाउन नपाउने सम्म भन्‍नु  पर्नेमा पर्खाल देखि पूर्व तर्फको निवेदकको जग्गामा निर्माण गरिने घरमा खुल्ला झ्याल ढोका राख्‍न किन नपाउने हो ? महानगरपालिकाका का.वा.प्रमुखको मिति २०५३।६।११ समेतको निर्णयमा उल्लेख भएको पाइदैँन । निवेदक समेतले कि.नं. ६६० स्थित सार्जनिक चोक शौचालय हुँदा देखिने अन्य चोक वरपरका छिमेकीलेझै भोगचलन गरी आएको तथ्यमा विवाद नभएको सो सार्वजनिक सम्पत्तिको रक्षार्थ निवेदक समेतले चैत्य निर्माण गर्नमा तदारुकता देखाएको भन्‍ने २०३३।९।१५ को निवेदनबाट समेत पुष्टि भएको छ । त्यस्तो सार्वजनिक पर्खाल चोक तर्फ अन्य व्यक्तिले झै खुल्ला झ्याल ढोका राख्‍न नपाउने कुनै कानून संगत आधार नभएको यस्तो कानूनले वर्जित नगरेको निवेदक सरहका अन्य व्यक्तिहरु सरह सार्वजनिक चोक, पर्खाल साविक बमोजिम भोग चलन गर्न नपाउने भन्‍न समानताको भावना समेत विपरीत हुन जाने हुँदा निवेदकले घर बनाउन दिएको नक्सामा पश्‍चिमतर्फ झ्याल ढोका राख्‍न नपाउने गरी संशोधित नक्सा पास गर्ने भन्‍ने अंश कानूनी त्रुटीपूर्ण हुँदा सो निर्णयको दोश्रो भाग खण्डको पश्‍चिमतर्फ सार्वजनिक पर्खाल भएकोले कुनै झ्याल ढोका राख्‍न नपाउने गरी भन्‍ने मिति २०५३।६।११ को निर्णयको अंश र प्रत्यर्थी काठमाडौं नगरपालिकाका प्रमखुको अध्यक्षतामा बसेको वोर्डको मिति २०५३।९।९ को निर्णयको अंश उत्प्रेषणको आदेशद्बारा वदर हुन्छ । अब उपर्युक्तानुसार निवेदकले दिएको घर निर्माणको नक्सामा पश्‍चिमतर्फ खुल्ला झ्याल ढोका राख्‍न पाउने गरी नक्सा पास गरी दिनु भन्‍ने परमादेश जारी हुने ठहर्छ । फाइल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.केदारप्रसाद गिरी

 

इति सम्वत २०५७ साल वैशाख ९ रोज ६ शुभम........................

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु