शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३९३० - कर्तव्य ज्यान

भाग: ३१ साल: २०४६ महिना: पौस अंक:

निर्णय नं. ३९३०     ने.का.प. २०४६      अङ्क ९

पूर्ण इजलास

सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा

सम्वत् २०४४ सालको फौ.पु.ई.नं. २८

फैसला भएको मिति :      २०४६।९।२०।५ मा

पुनरावेदक/वादी : कमलप्रसाद ज्ञवाली तथा प्र.ह. दमनबहादुरको प्रतिवेदनले श्री ५ को सरकार

विरुद्ध

विपक्षी/प्रतिवादी : रुपन्देही जिल्ला केरवानी गा.पं. वडा नं. ९ केरवानी बस्ने कमलप्रसाद ज्ञवाली

मुद्दा : कर्तव्य ज्यान

§  तथ्ययुक्त सबूद प्रमाणको अभावमा केवल अनुमान गरी दोषी ठहर्‍याउन नमिल्ने ।

(प्रकरण नं. २१)

पुनरावेदक/वादी तर्फबाट : विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा

फैसला

            प्र.न्या. धनेन्द्रबहादुर सिंह :     सर्वोच्च अदालत संयुक्त इजलासमा मतैक्य हुन नसकी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ :

            २.    मिति २०३८।९।१ का साँझ सपरिवार खानपिन गरी सुति निदाएका थियौं । राती श्रीमती प्रेमलता जमुनाको रुखमा नाम्लाको डोरीले पासो लगाई मरेकी रहिछन् । रातको ११।३० बजेको समयमा साथमा सुतेकी जेठानी जागी वैनी कता गइछन् ? केही बेर पिसाव गर्न गएकी होलिन भनी विचार गर्दा नआएकीले कहाँ गइछन भन्ने कुराको खलबल गर्दा हामीहरूले पनि थाहा पाएपछि खोज तलाश गर्दै जाँदा निज श्रीमती प्रेमलतालाई जमुनाको रुखमा झुण्डी मरेको देखें । निजको छोरा ८ महीनाको बालक २०३८ साल साउनमा मरेको र छोरा मरेदेखि निजको दिमाग राम्रो थिएन । निजले मरेको छोराको साह्रै अपसोच गरी खिन्न भई आफैंले आत्महत्या गरी मरेकी हुँदा उक्त लास सुरक्षित राखी भएको व्यहोरा दर्खास्त गर्न आएको छु भन्ने समेत व्यहोराको कमलप्रसाद ज्ञवालीको जाहेरी दर्खास्त ।

      ३.    १२ फुट अग्लो भएको जमुनाको रुखको हाँगामा लाश झुण्डिएको हाँगामा नाम्लाको सुरकेनी गाँठो पासो बनाई लगाएको सो नाम्लोको अर्का सिरको डोरीमा प्रेमलताको घाँटीमा एकसरो गाँठो पारी पासो लगाएको सो गाँठो बायाँ कानको किनारामा भएको मुख केही तेर्सो भई पूर्व उत्तर तर्फ भएको दाहिने च्यापुमा नंगले कोरिएको रातो घाउ र केहि रगतको थोप्लो जमी कालो भएको मुख खुल्ला भई जिब्रो टोकेको दुवै आँखा खुल्ला भई आँखा फुस्रा र नानी केहि ठुलो भएको घाँटीमा नागवेली डाम भएको दुवै हात खुल्ला नंग केही नीलो मलद्वारबाट दिशा निस्केको योनी मार्गबाट केही ननिस्किएको भन्ने समेत लाश प्रकृति मुचुल्का ।

      ४.    The cause of death in this case is strangulation in neck and aspiction भन्ने समेत मेडिकल अधिकृतको राय भएको लाश जाँच प्रतिवेदन ।

            ५.    स्वास्नी प्रेमलतासंग वारम्बार झगडा भई रहने हुनाले यसलाई मारेमा अर्की स्वास्नी ल्याउन पाउँछु भन्ने नियतले वारदातको रातमा निज श्रीमतीलाई करणी गर्ने निउपारी पल्टाई रातको अन्दाजी ११।३० बजे दुवै हातले घाँटी समाई दुवै लातले छातिमा टेकी १५ मिनेटमा मुत्यु भएकोले नाम्लोले घाँटीमा पासो लगाई जमुनाको रुखमा झुण्ड्याई दिएको हुँ भन्ने समेत व्यहोराको कमलप्रसाद ज्ञवालीले प्रहरीमा गरेको बयान ।

            ६.    कमलप्रसादले प्रेमलतालाई कर्तव्य गरी मारेकोमा शंका लाग्छ भन्ने रामप्रसाद चौधरी, राम आश्रय यादव, चिला थारु, नन्दराम चौधरी, भोलाप्रसाद थारु, शिबप्रसाद थारु, मोलाही चुलाही थारु समेतका मानिसको भनाई र प्रेमलतालाई कमलप्रसादले मारेका हुन् होइनन् भन्न सक्दैनौं भन्ने रमादेवी पौडेल, ज्ञानकुमारी दुलाल, मनिराम पौडेल, उदितराम थारु समेतका मानिसको भनाई भएको सरजमीन मुचुल्का ।

            ७.    मिति २०३८।९।१ गतेको रात खानपिन गरी प्रेमलता र म एकै ठाउँमा सुत्यौं । राती अन्दाजी १ बजेको समयमा निन्द्राबाट बिऊँझी हेर्दा प्रेमलतालाई नदेखी कमलप्रसादलाई भनी खोज्दा झुण्डिई मरेको देखें । कमलप्रसादले कर्तव्य गरी मारेका हुन होइनन् म भन्न सक्दिन भन्ने समेत व्यहोराको भवानी ज्ञवालीले प्रहरीमा गरेको कागज ।

            ८.    कमलप्रसादले प्रेमलतालाई कर्तव्य गरी मारेको बुझिन्छ भन्ने समेत प्र.ह. दमनबहादुर गुरुङको प्रतिवेदन ।

            ९.    विवाहिता स्वास्नीलाई मारी दिएमा अर्को विवाह गर्न पाउने भन्ने नियतले प्रेमलतालाई कर्तव्य गरी मारेको उपर्युक्त सबूद प्रमाणबाट देखिन आएकोले प्रतिवादी कमलप्रसाद ज्ञवाली प्रति सजायँको माग गर्न सबूद प्रमाण प्राप्त हुँदा निजले मुलुकी ऐन ज्यानसम्बन्धीको १ नं. अनुसार कसूर गरेको हुँदा निज कमलप्रसाद ज्ञवाली प्रति ऐ. ऐनको १३(३) अनुसार सजायँ हुन माग दावी गरिन्छ भन्ने समेत व्यहोराको संयुक्त प्रहरी प्रतिवेदन दावी ।

            १०.    प्रहरीले आफूखुसीको कागज लेखी पढी नसुनाई पैतालामा र अन्य ठाउँमा कुटपीट गरे । आज पनि सो कुटाईले मेरो सन्नी (लिंग) समेत सुनिएको छ आँखाबाट पनि आँसु आइरहन्छ । सो कुटपीट गरेबाट सहिछापसम्म गरेको हुँ । प्रहरीमा गरेको कागज मेरो राजीखुसीले भएको होइन सो नहुँदा मेरो उपरको प्रहरी अभियोग दावी अनुसार मैले श्रीमती प्रेमलतालाई मारी झुण्ड्याएको होइन आफैं आत्महत्या गरेकीले मैले सजायँ पाउनु पर्ने होइन । सफाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी कमलप्रसाद ज्ञवालीले अदालतमा गरेको बयान ।

            ११.    २०३८ साल पौष १ गते साँझ सबै परिवार खानपीन गरी मर्ने प्रेमलता र भवानी दुवै भाउजूहरू एकै विस्तारामा सुतेका र दाजु कमलप्रसाद, बाबु टिकाराम र दिदी धनमाया, भान्जी समेत एकै ठाउँमा लहरे सुती निदाएका रहेछौं । भाउजू पागल जस्ती थिइन । सबै सुतेको अवस्था पारी पासो लगाई झुण्डी मरेकी हुन । कमलप्रसाद किन सावित भए मलाई थाहा छैन भन्ने समेत व्यहोराको प्रतिवादीको पेटबोलीको मानिस विष्णुप्रसाद ज्ञवालीको अदालतमा भएको बयान ।

            १२.   वादी गवाह भवानी ज्ञवाली प्रतिवादीका साक्षीहरू भक्तिराम चन्द्र पौडेल समेतको बकपत्र मिसिल सामेल रहेको ।

            १३.   लाश प्रकृति मुचुल्का, शव परीक्षण प्रतिवेदन, जाहेरी, प्रतिवादीको अदालतमा भएको बयान र साथैमा सुत्ने भवानी, विष्णुले समेत समय तोकी प्रतिवादी जिकिर समर्थित गरिएको बकपत्र समेतबाट प्रेमलताले आत्महत्या गरेको सिद्ध हुन आएको र प्रतिवादीको कसूर प्रमाणित नभएकोले प्रतिवादीलाई ज्यानसम्बन्धीको १३(३) बमोजिम सजायँ गरिपाउँ भन्ने वादी दावी पुग्न सक्तैन । प्रतिवादी कमलप्रसाद ज्ञवालीले आरोपित अभियोगबाट सफाई पाउने ठहर्छ भन्ने समेत मिति २०४०।३।९ गतेको रुपन्देही जिल्ला अदालतको फैसला ।

            १४.   शुरुले सफाई दिने गरेको फैसला बदर गरी प्रतिवादी कमलप्रसादलाई शुरु प्रहरी प्रतिवेदन माग दावी बमोजिम सजायँ हुनु अनुरोध गरिन्छ भन्ने समेत व्यहोराको श्री ५ को सरकार तर्फबाट श्री पश्चिमाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदनपत्र ।

            १५.   अभियुक्तलाई सफाई दिने गरेको शुरु रुपन्देही जिल्ला अदालतको इन्साफ मनासिब छ । श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत व्यहोराको श्री पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४१।७।१४ गतेको फैसला ।

            १६.    तथ्य परिस्थितिजन्य प्रमाण समेतको मूल्यांकन नगरी प्रतिवादीलाई सफाई दिएको क्षेत्रीय अदालत समेतको इन्साफ न्यायोचित नहुँदा सो बदर गरी प्रतिवादीलाई प्रहरी प्रतिवेदन माग दावी बमोजिम सजायँ गरिपाउँ भन्ने समेत श्री ५ को सरकार तर्फबाट यस सर्वोच्च अदालतमा पर्न आएको पुनरावेदनपत्र ।

            १७.   शुरु जिल्ला अदालतको इन्साफ सदर गरेको पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ फरक पर्ने देखिएकोले अ.बं. २०२ नं. तथा स.अ. नियमावली, २०२१ बमोजिम झगडिया झिकाई नियम बमोजिम पेश गर्नु भन्ने समेत सर्वोच्च अदालत डिभिजनबेञ्चको मिति २०४३।९।१८ गतेको आदेश ।

            १८.   वारदात घटनाक्रमको परीप्रेक्षलाई समेत विचार गरी हेर्दा पोष्टमार्टम रिपोर्टबाट मृतक प्रेमलताको मृत्यु (Strangulation) कर्तव्यबाट भएको देखिन आएको र प्रतिवादी कमलप्रसाद ज्ञवालीले प्रहरीमा कागज गर्दाको अवस्थामा मृतकलाई घाँटी अठ्याई मारेको हुँ भनी सावित भएको कुरा एक आपसमा पुरकको रुपमा देखिन आएको छ । यसरी स्वतन्त्र रुपमा रहेको पोष्टमार्टम रिपोर्ट र प्र.ह. दमनबहादुर गुरुङको प्रतिवेदन मुखको घाउ र घाँटीको निल डाम अभियुक्तले अधिकार प्राप्त अधिकारी समक्ष गरेको साविती बयान समर्थित भई पुष्टि समेत भएको अवस्थामा पश्चिमाञ्चल क्षेत्रीय अदालतले अभियुक्तलाई सफाई दिने ठहर्‍याएको इन्साफ मिलेको नदेखिँदा उल्टी भई अभियुक्त प्रतिवादी कमलप्रसाद ज्ञवालीलाई दावी बमोजिम ज्यानसम्बन्धीको १३(३) नं. ले सर्वश्वसहित जन्मकैद हुने ठहर्छ भन्ने समेत मा.न्या. श्री हरगोविन्द सिंह प्रधानको राय रहेछ ।

            १९.    पोष्टमार्टम गर्दा मृतकको शरीरमा अरु घाउ चोट केहि नदेखिई घाँटी थिचिएको चिन्ह देखिएको (sign of stragulation in the neck) भन्ने मृत्युको कारणमा (Strangulation in neck and aspiction) भन्ने उल्लेख भएको पाइयो । प्रतिवादी कमलप्रसाद ज्ञवालीले अदालतमा आई बयान गर्दा कसूरमा इन्कार रहेको देखिन्छ । निज प्रतिवादी प्रहरीमा सावित भए पनि सो साविती अनुसार घाँटी अठ्याई मारेको भए केही संघर्ष र आवाज समेत आवश्यक भएको हुनुपर्ने तर घरका परिवारले सो थाहा पाए जानेको कुरा कतैबाट देखिन आउँदैन । घाँटी अठ्याँए छातिमा समेत खुट्टाले टेकी मारेको भए घाँटीमा हातका र छातिमा खुट्टाका डाम हुनुपर्ने सो रहे भएको पोष्टमार्टम रिपोर्टबाट नदेखिँदा प्रहरीको साविती पुष्टि हुनसकेको पाइन्न । आफ्नो श्रीमतीलाई यसरी मार्नु पर्ने सम्मको कुनै अवस्था थियो भनी सरजमीनका मानिसहरूले लेखाउन सकेको समेत नदेखिँदा अभियुक्तलाई सफाई दिने ठहर्‍याएको पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने समेत मा.न्या. श्री हिरण्येश्वरमान प्रधानको राय रहेछ ।

            २०.   नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी श्री ५ को सरकारको तर्फबाट उपस्थित विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्माले प्रतिवादी कमलप्रसादले मृतक प्रेमलताको घाँटी अठ्याई मारेकोमा अधिकार प्राप्त अधिकारी समक्ष सावित रहेका र सो सावितीलाई पोष्टमार्टम रिपोर्टबाट समर्थित भई निजकै कर्तव्यबाट मृतक प्रेमलताको मृत्यु भएको हुँदा प्रहरी प्रतिवेदन माग दावी बमोजिम सजायँ हुने ठहर्‍याएको माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय सदर हुनुपर्ने भनी बहस गर्नु भयो ।

            २१.   आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा हेर्दा यस्मा प्रतिवादी कमलप्रसाद ज्ञवालीले आफ्नी विवाहिता स्वास्नीलाई कर्तव्य गरी मारेकोले ज्यानसम्बन्धीको १३(३) अनुसार सजायँ गरिपाउँ भन्ने प्रहरी प्रतिवेदन माग दावी भएको पाइन्छ । प्रतिवादीले अधिकार प्राप्त अधिकारी समक्ष बयान गर्दा २०३८ साल पौष १ गतेका राती परिवारका सबै सदस्यहरू निदाएको अवस्थामा रातको ११।३० बजेको समयमा मृतक श्रीमती प्रेमलतालाई करणी गर्ने भनी सुतेको ठाउँबाट उठाई तल भुँईमा लगी जमीनमा पल्टाई दुवै हातले घाँटी दवाई लातले छातिमा टेकी १५ मिनेटमा निजको मृत्यु भएको हो भनी कसूरमा सावित रहे पनि अदालतमा आई बयान गर्दा वारदातको रात मेरी श्रीमती र भाउजू एक ठाउँमा सुतिरहेका र राती ११।३० बजे तिर भाउजू उठी हेर्दा मृतक प्रेमलता विछ्याउनामा नभएकोले गाउँलेहरू समेतलाई बोलाई खोज्दा जमुनको रुखमा झुण्डी मरेको अवस्थामा फेला परेको हो । मैले कर्तव्य गरी मारेको होइन । छोरा मरेको पिरबाट आफैं पासो लगाई आत्महत्या गरी मरेकी हुन् भनी कसूरमा इन्कार रहेको देखिन्छ । आरोपित कसूर अनुसारको प्रेमलताको मृत्यु कमलप्रसाद ज्ञवालीको कर्तव्यबाट भएको हो होइन त्यसतर्फ हेर्दा मर्ने प्रेमलतालाई प्रतिवादी कमलप्रसादले मार्नु पर्ने सम्मको रिसइवी भएको मिसिलबाट देखिन्न । सरजमीन समेतको मिसिल संलग्न कागजातहरूबाट प्रेमलता छोरा मरेबाट विक्षिप्त रहेको भन्ने देखिन्छ । घटनास्थल लाश जाँच मुचुल्का हेर्दा प्रेमलतालाई झुण्ड्याइएको भन्ने ठाउँमा पनि प्रतिवादी कमलप्रसादले झुण्ड्याएको भए सो ठाउँको वरपरमा मडारिएको चिन्हहरू हुनुपर्ने सो देखिन्न । एउटा २० वर्षको केटीलाई एक्लैले अरुको सहयोग बिना झुण्ड्याउन सक्ने स्थिति हुँदैन । जुन ठाउँमा करणी गर्न भनी लगी घाँटी च्यापी मारियो भनिएको हो सो ठाउँको मुचुल्का भएको देखिन्न । २० वर्षकी प्रेमलताले बिना कुनै प्रतिकार सोझै घाँटी थिची मार्न दियो होला भन्ने स्थिति छैन, कराएको चिच्याएको कसैले सुने थाहा पाएको भन्ने पनि देखिन्न । वारदातको बेला कुनै किसिमले संघर्ष भएको कुनै चिन्ह कतै फेला परेको पाइन्न । पोष्टमार्टम रिपोर्टमा मृत्यु भएको कारणमा Strangulation भन्ने उल्लेख भएबाट कर्तव्य गरी मारिएको होकी भनी शंका गर्न सकिने स्थिति छ । तर सो बमोजिम मारिएको हो भनी निर्णयमा पुग्ने आधारहरूतर्फ हेर्दा त्यस्ता कुनै आधार पोष्टमार्टम रिपोर्टमा उल्लेख भएको पाइन्न । निज मर्ने प्रेमलतासंग संगै सुतेको भवानी ज्ञवालीले निज प्रेमलतालाई कमलप्रसादले बोलाई लगेको भन्न सकेको छैन । बरु निजले छोरा मरेको देखी प्रेमलता विक्षिप्त रही एकसरो पागल जस्तो भएकी र वारदातको रात निज मसंग सुतेकीमा ११।३० बजेको समयमा विस्तारामा नभएकोले ससुरा र घर छिमेक समेत भई खोजी गर्दा जामुनको रुखमा झुण्डिई मरेको देखियो भनी बकपत्र गरेकोबाट प्रतिवादी कमलप्रसादको अदालतमा भएको इन्कारी बयानको समर्थित भएको देखिन्छ । प्रतिवादी कमलप्रसादको प्रहरीमा भएको साविती बमोजिम घाँटी अठ्याई मारेको भए औंलाको डाम चिन्ह घाँटीमा हुनु पर्नेमा सो नभई नाम्लोको नागवेली डाम भएको घटनास्थल मुचुल्काबाट देखिन्छ । घाँटी अठ्याएको भए वरपर र शरीरको भित्री भागमा केही चोट देखिनु पर्ने पोष्टमार्टम रिपोटबाट सो केही देखिँदैन । नाक, मुखबाट रगत आएको पनि पाइन्न । प्रतिवादी कमलप्रसाद ज्ञवाली अधिकार प्राप्त अधिकार समक्ष सावित भए अनुसार छातिमा घुँडाले टेकी घाँटी अठ्याउन सक्ने स्थिति पनि रहँदैन । अतः तथ्ययुक्त सबूद प्रमाणको अभावमा केवल अनुमान गरी प्रतिवादीलाई दोषी ठहर्‍याउन नमिल्ने र शंकाको सुविधा अभियुक्तले पाउने नै हुँदा प्रतिवादी कमलप्रसाद ज्ञवालीलाई सफाई दिने ठहर्‍याएको शुरु रुपन्देही जिल्ला अदालत तथा पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ सदर गरेको सर्वोच्च अदालत संयुक्तइजलाशका माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधानको राय मिलेकै देखिँदा सोही सदर हुने ठहर्छ । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा हामी सहमत छौं ।

 

न्या. सुरेन्द्रप्रसाद सिंह,

न्या. त्रिलोकप्रताप राणा

 

इति सम्वत् २०४६ साल पौष २० गते रोज ५ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु