शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३९३१ - लिखत बदर

भाग: ३१ साल: २०४६ महिना: पौस अंक:

निर्णय नं. ३९३१     ने.का.प. २०४६      अङ्क ९

पूर्ण इजलास

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

सम्वत् २०४६ सालको दे.पु.ई.नं. ११०

फैसला भएको मिति :      २०४६।९।२५।३ मा

निवेदक/प्रतिवादी : का.जि. भगवान स्थान गा.पं. वडा नं. ७ बस्ने भुवनराज शाक्य

विरुद्ध

विपक्षी/वादी : का.न.पं. वडा नं. ७ चिकंमुगल डेरा गरी बस्ने राधादेवी शर्मासमेत

मुद्दा : लिखत बदर

§  वादी दावी बमोजिम विवादित घर जग्गामा वादी समेतका हक लाग्ने भए हक छाडी दिएकै अवस्थामा लेनदेन व्यवहारको १० नं. बमोजिम नालेश उजूर गरी आफ्नो हक जति बदर गराउन सक्नु पर्ने ।

(प्रकरण नं. १४)

§  लिखत बदरतर्फ कारवाही नगरी सो लिखत अनुसार हक पक्का भई राजीनामा सदर कायम रहेको अवस्थामा नै लेनदेन व्यवहारको १० नं. बमोजिम लिखत बदर तर्फ यो वादीहरूको नालेश उजूर गर्न सक्ने अधिकार समाप्त भइसकेको ।

(प्रकरण नं. १४)

पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री पिताम्बर सिलवाल

विपक्षी/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल

फैसला

            न्या. सुरेन्द्रप्रसाद सिंह : सर्वोच्च अदालत संयुक्त इजलासमा मतैक्य हुन नसकी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ ।

            २.    विपक्षी मध्येका नन्दनप्रसाद, मुरारीप्रसादको साख्यै भाइ र राधादेवीका देवर हुनुहुन्छ । हामीहरूका पिता तथा ससुरा ०२३ साल चैत्र ६ गते स्वर्गे हुनु भएबाट आमा सूर्यकुमारी र वहाँका जेठो छोराको विधवा बुहारी राधादेवी, मुरारीप्रसाद र नन्दनप्रसाद समेत जम्मा ४ अंशियार जीवित छौं । राधादेवी विधवा भएकी र सन्तान समेत कोही नहुँदा का.जि. चिकंमुगल डेरा गरी स्कुलको शिक्षिका भई धेरै वर्ष देखिन घरबाट अलग बस्ने गरिआएकी, मुरारीप्रसाद नोकरीको सिलसिलामा विराटनगर, गोर्खा खटी गएकोले, बाहिर जिल्ला तिर बस्नु परेको, उपत्यकामा नै बसेका अवस्थामा जहान परिवार नमिल्नाको कारण म घर बाहिरै डेरा गरिआएकोले घरमा विपक्षी भाइ, आमा पिताजी बस्ने गरिआएको, पिताजी परलोक भएपछि आमा सूर्यकुमारी नन्दनप्रसाद मात्र घरमा बस्ने गरिआएका थियौं । हामी अंशियारका बीच अंशबण्डा भएको छैन । म मुरारी तथा राधादेवी समेतको हक लाग्ने साविक भगवान स्थान गा.पं. वा.नं. २ को हाल का.न.पं. वा.नं. ७ मा पर्ने मुराङखेल टोलको पश्चिम भाइका नाममा खरीद गरेको बगैंचामा विपक्षी मध्येका भुवनराज शाक्यले मानिस लगाई जग खन्न लागेको म साविक वा.नं. ८ पर्ने ज्यापु टोलको बहालको घरबाट हेर्न जाँदा साच्चिकै सो घर बगैंचा खन्न लागेको रहेछन्, सो घरमा आमा भाइ समेतलाई नदेखी वहाँहरू कहाँ जानु भयो भनी नजिकै छिमेकमा सोध्दा यो घर शाक्यजीलाई तपाईका भाइ आमाले राजीनामा गरिदिनु भयो भन्ने समेत जवाफ पाएको शाक्यजीलाई मेरो समेत हक लाग्ने घर जग्गा कसरी लिनु भयो भन्दा भाइको नाउँमा दर्ता नामसारी भएको जग्गा र घर आमा साक्षी राखी लिएको हुँ, मन्जूर बेगर तपाइहरूले मात्र घर बेची रुपैयाँ लिई कतिमा कहिले बेच्नु भयो भन्दा ०३३ पौष महिनामा बेचेको हो, जम्मा रु. ३९,०००।आएको थियो त्यो पनि घर खर्च भइसकेको छ, तपाईको र भाउजूको भाग २।४ दिनमा दिउँला भनकोले हप्ता दिन भन्दा बढी पर्खदा हाम्रो भागको रुपैयाँ दिने नियत नगरी विपक्ष भुवनराज शाक्यसँग मिली उजूर गर्ने म्यादै समाप्त गरी दिने नियत गरेबाट भू.प्र.का. काठमाडौं आई ०३३ पौष महिनाको रजिष्ट्रेशन श्रेस्ता हेर्दा विपक्षहरूले राजीनामा गरी लिनु दिनु गरेको लिखत पत्ता लगाई ०३४।२।९ गते नक्कल सारी लिई हेर्दा मेरो समेत हक लाग्ने उक्त घर जग्गाधनी विपक्ष भुवनराज ऋणी विपक्ष नन्दनप्रसाद भई ०३३।८।२९ मा घरसारको रु. ३९,०००।को राजीनामा लेखी आमा समेत साक्षी बसी ०३३ साल पौष २ गतेमा हाम्रो समेत हक लाग्ने घर जग्गा हाम्रो मन्जूरी बेगर राजीनामा गरी लिनु दिनु गरेबाट लेनदेन व्यवहारको १० नं. बमोजिम म्यादभित्र फिराद गर्न आएका छौं । ०३३।९।२ मा रजिष्ट्रेशन पास गरी लिनु दिनु गरेको राजीनामाको ४ खण्डको २ खण्ड हाम्रो भाग जति बदर गरिपाउँ भन्ने समेतको संयुक्त फिरादपत्र ।

            ३.    वादीहरू सूर्यकुमारी मर्नु भन्दा अगाडि नै मानो छुट्टी अलग भई बसेको नन्दनप्रसाद र निजको आमा सगोलमा बसी आएको भन्ने कुरा वादीबाटै देखिन आउँछ । नन्दनप्रसादसंग निजको आमा साक्षी राखी रु. ३९,०००।मा लिएको घर जग्गा ०३३।९।२।५ मा रजिष्ट्रेशन पारित गरी लिएको घर जग्गा नन्दनप्रसादले २०२५ साल चैत्र ११ गते रोज २ मा घरसारमा र २०२५।१२।२८ मा का.प.जि. दापचा धारा पानी गाउँ घर भई हाल का.जि. चावहिल भगवान बहाल बस्ने बालकुमारी खनालसँग लिखतमा लेखिएका ४ किल्लाभित्रको श्री पशुपति अमालकोट कचहरी कार्यालयमा दर्ता भएको भूवहालको रु. १।५८ तिर्नु पर्ने मुठाखोल जग्गा लम्बाई हात १९ गज हात १२ को जग्गामा बनेको का.जि. चावहिलको भुईंतले घर समेत फार्छे राजीनामा गरी लिई निजको आफ्नै आर्जनबाट खरीद गरी लिई आजसम्म बसी भोगी आई २६ सालमै आफ्नो नाउँमा सो कचहरी कार्यालयमा दर्ता गरी भोगी आएको घरजग्गा राजीनामा फार्छे गरिदिएको हो, निज वादीहरू पहिले नै मानो छुट्टि अंशबण्डा भइसकेको त्यसरी पहिले नै निजहरूको बाबु नमर्दै पहिले देखि नै मानो छुट्टी सकेपछि नन्दनप्रसादले आफ्नो आर्जनबाट किनेको घर जग्गा लेनदेन व्यवहारको ८ नं. र अंश बण्डाको १९ नं. ले र १८ नं. ले बेचविखन गर्न पाउने हुँदा र असामी नन्दनप्रसादले रु. २०,०००।पशुपती अमालकोट कचहरीमा भूबहाल रु. ३।तिर्न पर्ने मध्येका रु. २।तिर्नु पर्ने जग्गा र घर समेत २०२४।३।३१ मा रजिष्ट्रेशन पास गरी का.जि. जुद्धसडक बस्ने चिन्तनराज पाण्डेलाई बिक्री गरेकोमा र अर्को भूबहाल रु. १।तिर्ने बालकुमारीलाई ०२४।५।२० मा बकसपत्र दिएको कुरामा हामीहरू समेत हक लाग्ने हुँदा सो बकसपत्र बिक्री गरेको कुरा बदर हुनुपर्छ भन्ने यी वादीहरूको उजूर छैन, निजहरू पहिलेदेखि नै मानो छुट्टी अंश लिइसकेको भन्ने कुरा देखिन आउने प्रष्टै छ । त्यसो हुँदा नन्दनप्रसादले आफ्नो आर्जनबाट किनी बिक्री गरेको हुँदा र निज वादीहरू सगोलमा रहे बसेको नभई पहिले नै मानो छुट्टी अलग भई बसी सकेको व्यक्ति हुँदा लेनदेन व्यवहारको १० नं. नलाग्ने ऐन लगाई फिराद गरेकोले वादी दावा खारेज गरियोस भन्ने प्रतिवादी भुवनराजको प्रतिउत्तर ।

            ४.    प्रतिवादी मध्येका अर्को नन्दनप्रसादले म्यादै गुजारी प्रतिउत्तर नदिई बसेका ।

            ५.    वादी प्रतिवादी दुबैका साक्षीहरूको आफ्नो मिलानको बकपत्र ।

            ६.    यिनै वादीहरूले यिनै प्रतिवादी नन्दनप्रसाद र बालकुमारी उपर यही जग्गा सम्बन्धमा ०२४।५।२० र ०२५।१२।१८ मा गरेको लिखत उपर जालसाजी मुद्दा दायर गरेकोमा सो लिखतहरू उपरको उजूरी म्यादभित्रको नभई सो मुद्दा खारेज भई फैसला भएकोले यो वादी दावी बमोजिमको जग्गा २०२५।१२।१८ मा बालकुमारीबाट प्रतिवादी नन्दनप्रसादले खरीद गरेको देखिँदा यस्तो आफ्नो आर्जनको जग्गा बिक्री गर्न अरुको मन्जूरी लिन नपर्ने कुरा लेनदेन व्यवहारको १० नं. मा उल्लेख भइरहेकोले यस्तोमा वादीहरूको मन्जूरी लिनु पर्ने अवस्था नदेखिँदा प्रतिवादी नन्दनप्रसादले बिक्री गरेको सदरै हुने हुँदा वादीहरूको उक्त लिखत बदर गरिपाउँ भन्ने दावी झुठ्ठा ठहर्छ भन्ने समेतको शुरु काठमाडौं जि. अ. को फैसला ।

            ७.    का.जि. अ. को फैसलामा चित्त बुझेन भन्ने समेतको वादीको म.क्षे.अ. मा पुनरावेदन परेको ।

            ८.    अ.बं. २०२ नं. बमोजिम प्रतिवादीलाई झिकाई पेश गर्ने भन्ने समेतको म.क्षे.अ. को आदेश ।

            ९.    वादी दावी बमोजिम ४ खण्डको २ खण्ड लिखत बदर हुने ठहर्छ भन्ने समेत म.क्षे.अ. को फैसला ।

            १०.    म.क्षे.अ. को फैसला उपर इन्साफ जाँच गरिपाउँ भन्ने प्रतिवादी भुवनराजको श्री ५ महाराजाधिराज सरकारको जुनाफमा बिन्तिपत्र परेकोमा यो बिन्तिपत्र जाहेर हुँदा यस्मा बेहोरा साँचो भए यस्मा लेखिएको मध्यमाञ्चल क्षेत्रीय अदालतबाट छिनिएको मुद्दाको मिसिल झिकाई इन्साफ जाँची कानुन बमोजिम गर्नु निवेदकलाई जनाउ दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भनी मौसूफ सरकारको विशेष जाहेरी विभागबाट लेखिआए बमोजिम देवानी विविधमा दर्ता भई संयुक्त इजलास समक्ष पेश हुँदा अ.बं. २०२ नं. बमोजिम झगडिया झिकाउने भन्ने एकजना माननीय न्यायाधीशको राय र झ.झी. गर्न नपर्ने भन्ने एकजना माननीय न्यायाधीशको राय भई पूर्ण इजलासमा पेश भएकोमा झ.झि. गर्ने गरी आदेश भएको रहेछ ।

            ११.    वादीहरू मुरारीप्रसाद र राधादेवी र प्रतिवादी नन्दनप्रसाद समेतका अंशियारहरू बीच विधिवत अंशबण्डा भएको छ भन्ने कुरा मिसिल संलग्न सबूत प्रमाणबाट देखिँदैन । सगोलमा नै रहेको अवस्थामा सगोलको सम्पत्ति नन्दनप्रसादले विवाहित दिदी बालकुमारीलाई २०२४।५।२० गते हालैको बकसपत्र गरी दिएको र बालकुमारीबाट सोही घर जग्गा नन्दनप्रसादले २०२५।१२।१९ मा राजीनामा पारित गराई लिएको देखिन्छ । यसबाट नन्दनप्रसादले आफ्नो निजी आर्जनबाट सो घर जग्गा खरीद गरेको भन्ने स्थिति देखिँदैन । लेनदेन व्यवहारको १० नं. बमोजिम सगोलको अचल सम्पत्ति बेचविखन गर्दा एकाघरसंगका अंशियार सबै साक्षी बसेको वा निजहरूको मन्जूरीको लिखत गरिदिएको नभएमा रष्जिट्रेशन भएको मितिले १ वर्षसम्म थाहा पाएको ३५ दिनभित्र उजूर गर्‍यो भने निजको हक जति सो सम्पत्ति निजलाई फिर्ता दिनुपर्छ भन्ने व्यवस्था भएको पाइन्छ । अतः वादी दावी बमोजिमको मिति २०३३।९।२ को लिखतमा लेखिएको घर जग्गाको ४ खण्डको २ खण्ड लिखत बदर हुने ठहर्‍याएको म.क्षे.अ. को इन्साफ मनासिब ठहर्छ भन्ने समेत मा.न्या. श्री पृथ्वीबहादुर सिंहको राय रहेछ ।

            १२.   नन्दनप्रसादको नाउँमा दा.खा. समेत भएको कि.नं. ७२ मध्येको केही जग्गा निजले मिति २०२४।३।२१ मा चिन्तनराजलाई र बाँकी रहेको जग्गा २०२४।५।३० मा हालै देखिको बकसपत्र गरी दिई सोही आधारमा बालकुमारीको हक कायम भएको तथा निजले मिति २०२५।१२।१८ मा नन्दनप्रसादलाई नै राजीनामा गरिदिएको देखिन्छ । सो जग्गामा आफू समेतको हक लाग्ने भए बालकुमारीले बकस गरी लिएकै अवस्थामा कानुनको म्यादभित्र उजूर दिई आफ्नो हक जति बदर गराउन सक्नुपर्ने थियो, सो बमोजिम गराई लिन सकेको पाइन्न । यसरी हालैको बकसपत्र तथा दा.खा. समेत गराई लिने बालकुमारीको हक पक्का भइसकेको देखिन्छ । नन्दनप्रसादले बालकुमारीलाई हालै देखिको बकसपत्र गरिदिएको र बालकुमारीले यिनै नन्दनप्रसादलाई राजीनामा गरिदिएकोमा जालसाजी गरे भनी दावी लिई चलेको मुद्दामा वादी दावी खारेज हुने ठहर्‍याई म.क्षे.अ. बाट फैसला भई अन्तिम रुपमा रहेको समेतबाट सो लिखतहरू कायमै रहेको मान्नु पर्ने हुन आयो । यस अवस्थामा वादी दावी नपुग्ने ठहर्‍याएको शुरु जिल्ला अदालतको इन्साफ मनासिब भई म.क्षे.अ. को इन्साफ गल्ती ठहर्छ भन्ने समेत मा.न्या. श्री हिरण्येश्वरमान प्रधानको राय रहेछ ।

            १३.   नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दा निवेदक प्रतिवादी भुवनराज शाक्यको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री पिताम्बर सिलवालले नन्दनप्रसाद र यी वादीहरू छुट्टी भिन्न भएका छन् । यो विवादित घर जग्गा नन्दनप्रसादले बालकुमारीबाट मिति २०२५।१२।१८ मा खरीद गरेकोले निजको निजी आर्जनको सम्पत्ति हो । यदि यो विवादित घर जग्गामा वादीहरूको हक भए नन्दनप्रसादले कि.नं. ७२ मध्येकै केही जग्गा २०२४।३।२१ मा चिन्तनराजलाई र केही जग्गा मिति २०२४।५।३० मा बालकुमारीलाई बकसपत्र गरिदिएकोमा चिन्तनराजलाई गरिदिएको लिखत बदर गराउनेतर्फ कारवाही चलाएको पाइन्न । बालकुमारीलाई गरिदिएको मिति २०२४।५।३० को लिखत समेत गरी जालसाजी गर्‍यो भनी यी वादीले चलाएको मुद्दामा वादी दावी पुग्न नसक्ने ठहरी म.क्षे.अ. बाट फैसला भई अन्तिम रुपमा रहेको पाइन्छ । यस्तो अवस्थामा वादी दावी नपुग्ने ठहराएको संयुक्त इजलासका मा.न्या. श्री हिरण्येश्वरमान प्रधानको राय सदर हुनुपर्ने भन्ने र विपक्षी वादी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री हरिहर दाहालले नन्दनप्रसाद र वादीहरू छुट्टी भिन्न भएका छैनन् । सगोलमै रहे बसेको अवस्थामा जुनसुकै अंशियारहरूको नाउँमा खरीद गरी लिएको भए पनि त्यस्तो सम्पत्ति सगोलकै मानिने र सबै अंशियारहरूको हक लाग्ने प्रष्ट छ । नन्दनप्रसादले बालकुमारीलाई र बालकुमारीले नन्दनप्रसादलाई नै हक छोडी दिने लिने गरी भएको लिखत काम कारवाही समेतबाट मेरो हकमा असर पर्ने गरी जालसाजी गरेको भनी वादीले दिएको जालसाजी मुद्दामा म.क्षे.अ. बाट निर्णय हुँदा प्रस्तुत लिखत बदर मुद्दाबाट वादीको हक कायम भएको हुँदा जालसाजी नठहर्ने भनी फैसला भएको हो र सो निर्णयबाट प्रस्तुत मुद्दाका वादीहरूको हकाधिकारमा तात्विक असर नपर्ने प्रष्ट छ । तसर्थ वादी दावी बमोजिम ४ खण्डको २ खण्ड लिखत बदर हुने ठहर्‍याएको मा.न्या. श्री पृथ्वीबहादुर सिंहको राय सदर हुनुपर्ने भनी बहस गर्नु भयो ।

            १४.   आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दा हेर्दा यस्मा बाबु मदन मोहन रिमालका नाउँ दर्ताको जग्गा बाबुकै पालामा कि.नं. ७१ र ७२ कायम गरी कि.नं. ७१, मुरारीप्रसाद शर्मा रिमाल र कि.नं. ७२ नन्दनप्रसाद, प्रसाद शर्मा रिमालको नाउँमा नापी भई निजहरूकै नाउँमा दा.खा. समेत भई कि.नं. ७२ मध्ये केही जग्गा नन्दनप्रसादले २०२४।३।२१ मा चिन्तनराजलाई बाँकी जग्गा २०२४।५।३० मा बालकुमारी खनाललाई बकसपत्र गरिदिएको देखिन्छ । सोही जग्गा मिति २०२५।१२।१८ मा बालकुमारीले नन्दनप्रसादलाई राजीनामा गरिदिएको र नन्दनप्रसादले मिति २०३३।९।२ मा भुवनराज शाक्यलाई राजीनामा पास गरी दिएको मिसिल सामेल रहेको राजीनामा लिखतबाट देखिन्छ । हाम्रो समेत हक लाग्ने जग्गा हाम्रो मन्जूरी बेगर नन्दनप्रसादले भुवनराजलाई राजीनामा पास गरिदिएकोले हाम्रो हक जति लेनदेन व्यवहारको १० नं. बमोजिम बदर गरिपाउँ भन्ने फिराद दावी भएको पाइन्छ । लेनदेन व्यवहारको १० नं. मा अंश नभएका अंशियारले सगोलको चल अचल सम्पत्ति बेचविखन गर्दा वा कुनै किसिमले हक छाडी दिंदा ऐनले आफू खुसी गर्न पाउने, अरुको मन्जूरी लिनु नपर्नेमा बाहेक अरुमा एकाघरसंगका अंशियार सबै साक्षी बसेको वा निजहरूले मन्जूरीको लिखत गरिदिएको भए मात्र पक्का ठहर्छ । साक्षी पनि नबसेको र मन्जूरीको लिखत पनि नभए मन्जूरी नहुनेले रजिष्ट्रेशन भएको मितिले एक वर्षसम्म थाहा पाएको ३५ दिनभित्र उजूर गर्‍यो र निजको मन्जूरी ठहरिएन भने निजको हक जति सो सम्पत्ति निजलाई फिर्ता गराई दिनु पर्दछ भन्ने उल्लेख भएको पाइन्छ । वादी दावी बमोजिम विवादित घर जग्गामा वादी समेतका हक लाग्ने भए नन्दनप्रसादले बालकुमारीलाई र चिन्तनराजलाई हक छाडी दिएकै अवस्थामा लेनदेन व्यवहारको १० नं. बमोजिम नालेश उजूर गरी आफ्नो हक जति बदर गराउन सक्नु पर्ने, सो बमोजिम गराई लिएको देखिन नआएबाट उक्त सम्पत्तिमा बालकुमारीको हक पक्का भइसकेको मान्न पर्ने हुन्छ । यसरी नन्दनप्रसादले बालकुमारीलाई गरिदिएको २०२४।५।३० को लिखत बदरतर्फ कारवाही नगरी सो लिखत अनुसार बालकुमारीको हक पक्का भई राजीनामा सदर कायम रहेको अवस्थामा नै लेनदेन व्यवहारको १० नं. बमोजिम लिखत बदरतर्फ यी वादीहरूको नालेश उजूर गर्न सक्ने अधिकार समाप्त भइसकेको छ । अर्कोतर्फ नन्दनप्रसादले बालकुमारीलाई बकसपत्र गरिदिएको बालकुमारीले पुनः नन्दनप्रसादलाई नै हक छाडी दिई हाम्रो हक मेट्ने गरी जालसाजी गर्‍यो भनी यी वादीहरूले नन्दनप्रसाद समेत उपर मिति २०३४।२।१९ मा जालसाजी मुद्दा दिएकोमा वादी दावी पुग्न नसक्ने ठहर्‍याई म.क्षे.अ. बाट मिति २०३७।११।३० मा फैसला भई अन्तिम भई बसेबाट सो लिखतहरू सदर कायम रही रहेको देखियो । अतः माथि उल्लेख गरिए बमोजिम विवादित जग्गामा वादीको हक कायम रहेको नदेखिँदा वादी दावी पुग्न नसक्ने ठहर्‍याएको शुरु काठमाडौं जिल्ला अदालत तथा म.क्षे.अ. को इन्साफलाई ठीक ठहर्‍याएको सर्वोच्च अदालत संयुक्त इजलासका माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधानको राय मनासिब देखिँदा सोही सदर हुने ठहर्छ । कोर्टफी राखी दायर भएको हुँदा केही गरी रहनु परेन । फायल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा हामीहरू सहमत छौं ।

 

न्या. बब्बरप्रसाद सिंह,

न्या. गजेन्द्रकेशरी बास्तोला

 

इति सम्वत् २०४६ साल पौष २५ गते रोज ३ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु