शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३९३२ - आगलागी ज्यान मार्ने उद्योग

भाग: ३१ साल: २०४६ महिना: पौस अंक:

निर्णय नं. ३९३२     ने.का.प. २०४६                        अङ्क ९

पूर्ण इजलास

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान

सम्वत् २०४५ सालको फौ.पु.ई.नं. ३०

सम्वत् २०४५ सालको फौ.पु.ई.नं. ३१

फैसला भएको मिति :      २०४६।९।४।३ मा

सं.ई. बाट फैसला भएको मिति : २०४४।३।२६

विन्तीपत्रवाला/प्रतिवादी : धनकुटा जिल्ला छिन्ताङ गा.पं. वडा नं. ३ बस्ने गडुल तेली राई

विरुद्ध

विपक्षी/वादी : कृष्ण आनन्द राईको जाहेरीले श्री ५ को सरकार

मुद्दा : आगलागी ज्यान मार्ने उद्योग

§  ज्यान मार्ने उद्योगमा दावी लिएकोमा सो भन्दा कम सजायँ हुने अपराध गरेको देखिएमा सो बमोजिम सजायँ गर्न कानुनले मिल्ने ।

(प्रकरण नं. १५)

निवेदक/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपाने

विपक्षी/वादी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री सामन्तसिंह बोगटी

फैसला

     न्या. गजेन्द्रकेशरी बास्तोला : श्री ५ महाराजाधिराज सरकारका हजूरमा यस सर्वोच्च अदालत संयुक्त इजलासबाट मिति २०४४।३।२६ मा भएको फैसला दोहोर्‍याई हेरी दिनु भनी हुकुम प्रमांगी बक्स पाउँ भनी प्रतिवादी गडुल तेली राईले न्यायिक समिति र विशेष जाहेरी विभाग मार्फत चढाउनु भएको बिन्तिपत्र मौसूफ सरकारका जुनाफमा जाहेर हुँदा यस्मा नेपालको संविधानको धारा ७२(ख) बमोजिम उक्त निर्णय दोहोर्‍याई हेरी कानुन बमोजिम गर्न हुकुम बक्सेको छ भनी श्री ५ महाराजाधिराजका प्रमुख सचिवालय राजदरवारबाट २०४५।६।६ मा लेखिआए बमोजिम पूर्ण इजलास लगतमा दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :

      २.    राती घरमा सुतिरहेको अवस्थामा गडुल तेली राईले मिति २०३७।१।१९ मा घरको पूर्वतर्फबाट आगो लगाई भागेको समेत देखिएको, सो आगलागीबाट बिगो रु. २०६०।को धनमाल नोक्सान भएकोले बिगो समेत दिलाई पाउँ भन्ने समेत व्यहोराको कृष्ण आनन्द राईको जाहेरी ।

      ३.    गडुल तेली राईले नै आगो लगाई भागेको समेत देखेका छौं जाहेरी अनुरुपको धनमाल नोक्सान भएको हो भन्ने समेत व्यहोराको सरजमीन मुचुल्का ।

      ४.    सबूद प्रमाणबाट गडुल तेली राईले नै आगो लगाएको पुष्टि हुन आएबाट कानुन बमोजिम सजायँ गरिपाउँ भन्ने प्रहरी प्रतिवेदन ।

      ५.    वारदातमा म संलग्न छैन भन्ने समेत व्यहोराको गडुल तेली राईको अदालतमा भएको बयान ।

      ६.    संकलित सबूदको आधारबाट गडुल तेली राईले जाहेरवालाको घरमा आगो लगाएको ठहर्दैन भन्ने समेत व्यहोराको धनकुटा जिल्ला अदालतको फैसला ।

      ७.    उक्त फैसलामा चित्त बुझेन । प्रहरी प्रतिवेदन माग दावी बमोजिम सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको पू.क्षे.अ. मा श्री ५ को सरकारतर्फबाट परेको पुनरावेदनपत्र ।

      ८.    इन्साफमा कानुनी त्रुटि देखिँदा प्र.गडुल तेली राईलाई झिकाई पेश गर्नु भन्ने पु.क्षे अ. को आदेश ।

      ९.    यस्मा ज्यान मार्ने उद्योग तर्फको आरोपबाट प्र. लाई सफाई दिएको शुरु इन्साफ मिलेकै हुँदा त्यसतर्फ श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्र.गडुल तेली राईले जाहेरवालाको बाख्राको खोरमा आगो लगाएको र त्यसबाट प्रतिवेदन दावी बमोजिम जाहेरवालाको बिगो नोक्सानी गरेको कुरा समर्थित हुन आएकोले आगो लगाउनेको महलको ४ नं. ले चौपाया नमरेको भए छ महिना कैद हुनेमा बाख्रा मरेको समेत देखिँदा सोही नं. बमोजिम ६ महिना कैद र सोही महलको १० नं. ले प्रतिवेदन दावीको बिगो समेत जाहेरवालाले प्रतिवादीबाट भरी पाउने ठहर्छ भन्ने समेत व्यहोराको पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति २०४२।१२।४।२ को फैसला ।

      १०.    उपरोक्त पू.क्षे.अ. को फैसलामा सार्वजनिक महत्वको विषयमा गम्भीर कानुनी त्रुटिपूर्ण हुँदा पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादी तर्फबाट यस अदालतमा पर्न आएको निवेदनमा यस्मा वादीले आगो लगाउनेको महलको ४ नं. को दावी नलिएकोमा प्रकृति मुचुल्काबाट बाख्रोको गोठ जली खरानी भएको भन्ने देखिन्छ र पू.क्षे.अ. मा आगो लगाउनेको ४ नं. र १० बमोजिम सजायँ गर्ने निर्णय गरेको पाइन्छ । आगो लगाउनेको ४ नं. हेर्दा घरमा आगो लगाई दिएको नभई घर बाहिर रहेको अर्काको हकको जिन्सी मालमा आगो लगाई दिने आगो लगाउन उद्योग गर्ने र वचन दिनेलाई घर चौपाया मानिस मरेको नभए नोक्सान भएको बिगो भराई आगो लगाई सकेको भए ठाउँ एकको ६ महिना, आगो लगाउन उद्योग गरेकोमा आगो लगाउन नपाएको भए तीन महिनाको दरले कैद हुन्छ भन्ने उल्लेख भएको पाइन्छ । ४ नं. को व्यवस्था १० नं. मा आकृष्ट हुने देखिँदैन । क्षे.अ. ले आगो लगाउनेको ४ नं. र १० नं. अन्तर्गत सजायँ गर्ने गरेको उक्त निर्णयमा आगो लगाउनेको ४ नं. , १० नं. र प्रमाण ऐन, २०३१ को दफा ५४ को त्रुटि देखिएको र त्यस्तो त्रुटि सार्वजनिक महत्वको विषय भएको हुँदा न्या. प्र.सु. ऐन, २०३१ को दफा १३(५)(ख) अनुसार पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत व्यहोराको यस अदालतको तात्कालीन डिभिजनबेञ्चबाट मिति २०४३।३।२५।४ मा अनुमतिको आदेश भएको ।

      ११.    यस्मा घटना भएको र बाख्रा मरेको भन्ने कुरामा विवाद छैन । पुनरावेदक प्रतिवादीले प्रहरीमा नपक्रिई अदालतमा आई हाजिर भएको र सो आगलागीको घटना निजबाट नघटी अरु कसैबाट भएको भन्ने समेत अभियोगबाट सफाई पाउन सक्ने ठोस प्रमाण पेश गर्न सकेको पाइँदैन । सरजमीन तथा जाहेरवालाले समेत बाख्राको खोरमा आगो लगाएको भन्ने किटानी गरी लेखिदिएको र सरजमीनका व्यक्तिले अदालतमा आई गरेको बकपत्र समेतका आधारमा प्रमाणबाट आगो लगाउनेको महलको ४ नं. ले कैद महिना ६ र ऐ. को १० नं. ले मृत बाख्राको बिगो समेत भराउने गरी गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला मनासिब ठहर्छ भन्ने समेतको यस सर्वोच्च अदालतल संयुक्त इजलासको मिति २०४४।३।२६ को फैसला ।

      १२.   उक्त फैसलामा चित्त बुझेन । प्रहरी प्रतिवेदनमा म उपरको ज्यानसम्बन्धीको १५ नं. अन्तर्गतको दावी लिएको छ । आगो लगाउनेको ४ नं. को दावी प्रहरी प्रतिवेदनमा छैन । सो १५ नं. को दावी नठहरे उपर विपक्षी वादीको कुनै पुनरावेदन छैन । आगो लगाउनेको ४ नं. को दावी नै नभएको अवस्थामा उक्त ४ नं. बमोजिम मलाई सजायँ हुनसक्ने अवस्था छैन । प्रस्तुत मुद्दाको घटनास्थल प्रकृति मुचुल्का घटना घटेको ७ महिना पछि मात्र भएको छ । २०३७।१।१९ मा बाख्रा मरेको भए ती बाख्रा के भए मरेका बाख्राको मुचुल्का वादीसँग नभएको अवस्थामा बाख्राको बिगो भराउने गरेको फैसला अन्यायपूर्ण भएकोले उक्त फैसला दोहोर्‍याई दिनु भनी हु.प्र बक्स पाउँ भनी प्रतिवादीले न्यायिक समिति मार्फत चढाएको निवेदनपत्रमा यस्मा मिति २०३७।१।१९ मा घटना भएको र २०३७।१।२५ मा जाहेरी दर्खास्त परी २०३७।७।१९ मा मात्र सरजमीन मुचुल्का भएको देखिन्छ । प्रतिवादीले २०३७।१।१९ मा आफ्नो घरमा नभई अन्यत्र थिएँ भनी अदालतमा गरेको बयानलाई समर्थन गरी निजका साक्षीहरूले बकपत्र गरेको देखिन्छ । मुलुकी ऐन आगो लगाउनेको ४ नं. चौपाया मानिस नपरेको अवस्थामा मात्र लाग्ने हुँदा सो नं. लगाउन मिल्ने हुँदैन । अतः स.अ. को फैसलामा प्रमाण ऐनको दफा ५४, आगो लगाउनेको ४ नं. र सरकारी मुद्दा सम्बन्धी ऐको दफा ३(२) समेतको त्रुटि भएको छ भन्ने समेतको न्यायिक समिति राजदरवारको पर्चा रहेछ ।

      १३.   नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा निवेदक प्रतिवादी गडुल तेली राईको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपानेले मेरो पक्ष उपर आगो लगाउनेको ४ नं. अन्तर्गतको दावी लिई प्रहरी प्रतिवेदन परेको छैन । ज्यानसम्बन्धीको १५ नं. को दावी लिइएको र सो दावी नठहरे उपर श्री ५ को सरकारको पुनरावेदन पर्न नसकेको अवस्थामा आगो लगाउनेको ४ नं. को सजायँ गर्न मिल्ने होइन भन्ने समेतको बहस गर्नु भयो । विपक्षी वादी श्री ५ को सरकारको तर्फबाट बहस गर्न खटी आउनु भएका विद्वान सहन्यायाधिवक्ता श्री सामन्तसिंह बोगटीले प्रहरी प्रतिवेदनमा ठुलो दावी लिए तापनि अदालतले सानो सजायँ गर्न सक्दछ । वारदात भएको भन्ने कुरामा विवाद छैन । ज्यानसम्बन्धीको १५ नं. अनुसारको दावी लिइएको भए पनि अदालतले सानो सजायँ हुने देखी सानो सजायँ गरेको र त्यसलाई सदर गरेको संयुक्त इजलासको इन्साफ मिलेकै हुँदा सदर होस् भन्ने समेतको बहस गर्नु भयो ।

      १४.   आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा यस सर्वोच्च अदालत संयुक्त इजलासको मिति २०४४।३।२६ को इन्साफ मिलेको छ छैन सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।

      १५.   यस्मा निर्णयतर्फ हेर्दा २०३७।१।१९ गते राती अन्दाजी १ बजेको समयमा गडुल तेली राईले जाहेरवाला कृष्ण आनन्द राईको घरमा आगो लगाएकोले निजलाई ज्यानसम्बन्धीको १५ नं. अनुसार सजायँ गरी आगो लगाउनेको महलको १० नं. बमोजिम जाहेरवालालाई नोक्सानी बिगो दिलाई भराई पाउँ भन्ने प्रहरी प्रतिवेदन दावी रहेको पाइन्छ । प्रतिवादी गडुल तेली राई उक्त वारदातको अनुसन्धान तहकिकातको सिलसिलामा फरार रहेको पाइन्छ । २०३७।८।१०।३ मा अदालत समक्ष प्रहरी प्रतिवेदन परी अदालतबाट निज प्रतिवादीका नाउँमा रीतपूर्वकको ७ दिने वारेण्ट र ७० दिने म्यादी पुर्जी जारी हुँदाका बखत समेत प्रतिवादी फरार रहेको शुरु धनकुटा जिल्ला अदालतको मिति २०३८।१०।११।१ का आदेशले निजको अंश सर्वश्व रोक्का राखी मुद्दा मुलतवी राखिएकोमा २०४०।९।२६ मा आएर मात्र अदालतमा उपस्थित भई आफूले आरोपित कसूर नगरेको भनी इन्कारी बयान गरेको देखिन्छ । निजले उक्त दिन वारदातस्थलमा नभएको भनी बयान गरेको र निजका साक्षी देउबहादुर राइले पनि प्रतिवादी वारदातस्थलमा नभएको भनी सफाई दिई बकपत्र गरेको भए पनि निज सो दिन वारदात घटेको वडा इलाकामै भएको र वारदात हुनासाथ छिन्ताङ मुलबाटोबाट पञ्चकन्या जाने बाटोतर्फ प्रतिवादी गडुल तेली राई भाग्दै गरेको देखेको भनी चस्मदिद गवाह थामबहादुर राई, गंगाबहादुर राई, जाहेरवाला कृष्ण आनन्द राइले अदालतमा आई बकपत्र गरेको देखिन्छ । प्रतिवादी उपर किटानी जाहेरी व्यहोरालाई नै समर्थन गरी जाहेरवालाले अदालतमा आई बकपत्र गरेको समेत देखिन्छ । सरजमीनका समस्त व्यक्तिहरूले प्र.गडुल तेली राइले नै आगो लगाएको भनी लेखाई दिएको र सोही व्यहोरालाई समर्थन गरी अदालतमा आई बकपत्र गरिदिएको देखिन्छ । अब निजले दावी बमोजिम अपराध गरे नगरेको के हो भन्ने हकमा निज उपर मानिस बस्ने घरमा जानी जानी आगो लगाएकोले मुलुकी ऐन आगो लगाउनेको २ नं. बमोजिम ज्यानसम्बन्धी महलको १५ नं. अनुसार ज्यान मार्ने उद्योगमा सजायँ गरिपाउँ भनी प्रहरी प्रतिवेदन दावी परेको पाइन्छ । तर अपराधिक घटनाक्रमलाई हेर्दा घरमा आगो लागेको नभई घर संगै जोडिएको बाख्राको खोरमा आगो लागेको भन्ने घटनास्थल प्रकृति मुचुल्का समेतबाट देखिन आउँछ । सो बाख्राको खोर उत्तरतर्फ घरसंगै जोडिएको देखिन आएकोले प्रहरी प्रतिवेदनबाट नै आगो लगाएको भनी दावी लिइएको स्पष्ट हुन्छ । बाख्रा आदि राख्ने खोरमा सम्म आगो लागि बाख्रा समेत परेको देखिन आएकोमा सो खोर घरसित जोडिएको भए पनि घरैमा आगो लागेको नदेखिई आगो लगाउनेको ४ नं. मा व्यवस्था भए बमोजिम घर बाहिर रहेको अर्काको हकको बाख्रा भएको खोर अर्थात जिन्सी मालमा आगो लगाएको देखिन आएको र आगो लगाउनेको २ नं. बमोजिम ज्यानसम्बन्धीको १५ नं. अनुसार ज्यान मार्ने उद्योगमा दावी लिएकोमा सो भन्दा कम सजायँ हुने अपराध गरेको देखिएमा सो बमोजिम सजायँ गर्न कानुनले मिल्ने समेत हुँदा पूर्वाञ्चल क्षेत्रीय अदालतले निजलाई आगो लगाउनेको ४ नं. बमोजिम अपराध गरेको ठहर्‍याई सोही बमोजिम सजायँ गरी सो बाट चौपाया समेतको नोक्सान भएको देखिएकोले आगो लगाउनेको १० नं. बमोजिम नोक्सानी बिगो भराउने गरेको इन्साफ सदर गरेको यस सर्वोच्च अदालत संयुक्त इजलासको मिति २०४४।३।२६ को इन्साफ मनासिब देखिँदा सदर हुने ठहर्छ । अरु तपसिल बमोजिम गर्नु ।

 

तपसील

निवेदक प्रतिवादी गडुल तेली राई के माथि इन्साफ खण्डमा लेखिए बमोजिम यस सर्वोच्च अदालत संयुक्त इजलासको इन्साफ मनासिब ठहरेकोले आगो लगाउनेको ४ नं. अनुसार हुने ६ महीना कैदमा अ.बं. २०४ नं. अनुसार दोहोर्‍याई ल्याए बापत सयकडा दशले हुने कैद दिन ।१८ थप कैद सजायँ हुन्छ, बेरुजु हुँदा लगत कसी असूल गर्नु भनी शुरु धनकुटा जिल्ला अदालतमा लेखी पठाउनु भनी का.जि. अ. मा लगत दिनु.....१,

मिसिल नियमानुसार गरी बुझाई दिनु.....१

निवेदक गडुल तेली राइले मुद्दा दोहोर्‍याई ल्याए बापत संयुक्त इजलासले गर्ने गरेको थप कैद दिन ।१८ बापत अघि रहेको धरौटी रु. २७०।को २५ प्रतिशतले हुने रु. ६७।५० निवेदकले २०४५।३।३०।५ मा यस अदालत मार्फत का.जि. अ. मा धरौटी राखेको देखिएकोले निजलाई लागेको कैद चुक्ता भएपछि उक्त धरौटी फिर्ता माग्न आएमा कानुनको रीत पुर्‍याई फिर्ता दिनु भनी का.जि. अ. मा लगत दिनु ..........१,

मिसिल नियमानुसार गरी बुझाई दिनु ...१

 

उक्त रायमा हामीहरू सहमत छौं ।

 

न्या. हरगोविन्द सिंह प्रधान,

न्या. हिरण्येश्वरमान प्रधान

 

इति सम्वत् २०४६ साल पौष ४ गते रोज ३ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु