शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३९३३ - कर्तव्य ज्यान

भाग: ३१ साल: २०४६ महिना: पौस अंक:

निर्णय नं. ३९३३     ने.का.प. २०४६                        अङ्क ९

संयुक्त इजलास

सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

सम्वत् २०४६ सालको फौ.पु.नं. ६०९

फैसला भएको मिति :      २०४६।६।२९।१ मा

पुनरावेदक/प्रतिवादी : जि. का.कारागार शाखा कास्कीमा थुनामा रहेको रामबहादुर गुरुङ

विरुद्ध

विपक्षी/वादी : सूर्यबहादुर थकालीसमेतको जाहेरीले श्री ५ को सरकार

मुद्दा : कर्तव्य ज्यान

§  संकलित सबूद प्रमाणबाट निजले अपराध गरेको भन्ने पुष्टि भइरहेको र प्रतिवादी स्वयंले अपराध गरेको भन्ने कुरा अदालतमा समेत स्वीकार गरी बयान गरेको अवस्थामा केवल दिमाग ठीक नभएको भन्ने जिकिर लिंदैमा वस्तुगत र ठोस सबूद प्रमाण बिना अपराधिक दायित्वबाट छुट्कारा दिनु न्यायसंगत नदेखिने ।

(प्रकरण नं. ३०)

§  प्रचलित कानुन बमोजिम सजायँमा कमी वा छूट हुने वा सजायँबाट रिहाई पाउने कुनै कुराको जिकिर प्रतिवादीले लिएमा सो कुराको प्रमाण पुर्‍याउने भार निजमा नै रहने ।

(प्रकरण नं. ३०)

पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान वैतनिक अधिवक्ता श्री होमनाथ ढुङ्गाना

फैसला

     प्र.न्या. धनेन्द्रबहादुर सिंह :     पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४५।३।१४।३ को फैसला उपर प्रतिवादी रामबहादुर गुरुङको पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :

      २.    २०४१ साल फाल्गुण १९ गतेका दिन बिहान ६:३० बजेको समयमा लुम्ले गा.पं. वडा नं. ५ बस्ने रामबहादुर गुरुङले घरको बार्दलीमा सुतिरहेका दाज्यू मुकुन्दहरी र भतिजा रामचन्द्रलाई उक्त हतियारले प्रहार गर्दा रामचन्द्रको विस्तरामै मृत्यु भएछ । दाज्यूको छाती र हातमा गोली लागी हात काटी फाली उपचार हुँदैछ । गोलीको आवाज सुनी गाउँले र म समेत दाज्यूको घरतिर आउँदा रामबहादुर गुरुङ हातमा बन्दुक लिई भाग्दै गरेको देख्दा प्रष्ट भयो । अपराधी रामबहादुरलाई कानुन बमोजिम होस् भन्ने लुम्ले गा.पं. वडा नं. ५ बस्ने बलराम देवकोटाले मिति २०४१।११।१९ मा जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरी दर्खास्त ।

      ३.    मिति २०४१ साल फागुन १९ गते बिहान अं. ६ बजेको समयमा मेरा दाजु कर्णबहादुर उठी पसल खोल्न लागेको समयमा लुम्ले गा.पं. वडा नं. ५ बस्ने रामबहादुर गुरुङले रिवल्वरले गोली हानेछन् र दाजुको घटनास्थलमै मृत्यु भएछ । हल्ला खल्ला सुनी जाँदा साइँलो दाजु चन्द्र प्रकाश, काइँलो दाजु कुलबहादुर समेतलाई गोली हानी मारेको हुँदा अपराधी रामबहादुर गुरुङलाई कानुन बमोजिम कारवाही होस् भन्ने लुम्ले गा.पं. वडा नं. ५ बस्ने सूर्यबहादुर थकालीले मिति २०४१।११।१९ मा जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरी दर्खास्त ।

      ४.    मिति २०४१।११।१९ गतेको बिहान अं. ६ बजेको समयमा दाजु कर्णबहादुर, चन्द प्रकाश, कुलबहादुर समेत जना तीनलाई अभियुक्त रामबहादुर गुरुङले मार्ने मनसायले गोली हाने मध्ये उपचारको लागि दाजु कुलबहादुरलाई ग.अं. अस्पतालमा लगिएकोमा सोही गोलीको चोटबाट मरेको हुँदा अपराधी रामबहादुर गुरुङलाई कानुन बमोजिम कारवाही गरिपाउँ भन्ने समेत सूर्यबहादुर थकालीले मिति २०४१।११।१९ मा जि. प्र.का. कास्कीमा दिएको जाहेरी दर्खास्त ।

      ५.    कर्णबहादुर थकालीको घर सो घर दक्षिण बाटो तर्फ मोहडा गरेको टिन ढुङ्गा समेतले छाएको २ तले पक्की घर, सो घरको पूर्वपट्टी भान्छा कोठामा ताला नलगाई ढोकामात्र लगाएको खोल्न लगाई भित्र पसी हेर्दा मृतक कर्णबहादुर थकालीको र चन्द्र प्रकाशको २ लाशहरू माथि निलो चेकदार तन्नाले छोपी राखेको हटाउन लगाई हेर्दा बाँया आँखाको माथि २ वटा गोली लागेको घाउ कन्चटमा एक गोली लागेको घाउ प्वालहरूबाट रगत बगी भुईमा आल परेको दायाँ आँखा अर्ध खुला नाकको दुवै प्वालबाट रगत बगेको मुख बन्द सुतिको गन्जी ट्रेक सुट लगाएको भन्ने समेत व्यहोराको मृतक चन्द्र प्रकाश थकालीको लाश प्रकृति मुचुल्का ।

      ६.    चन्द्र प्रकाशको लाश एवं कर्णबहादुर थकालीको लाश पूर्व शिर पश्चिम गोडा पारी तन्नाले छोपी राखेको खोली हेर्दा दुवै आँखा बन्द, मुख अर्ध खुला, जाकेट लगाएको गन्जीको छातिनेर पर्ने भागमा कपडाहरूको ८ वटा प्वाल परेको देखिएको, कपडा खोल्न लगाई हेर्दा छातीको देब्रे दुध देखि माथि १ ईन्च उक्त दुध देखि १ ईन्च तल १ सो देखि आधा ईन्च मुनी २ गोली लागेको ८ प्वाल घाउ भएको बीच छातीमा ४ वटा गोली लागेको प्वाल घाउ भएको दाहिनेपट्टि पिठ्युनिर ४ वटा गोली लागी प्वाल परेको देखिएको, रगत बगिरहेको लिङ्गबाट लस्सादार पानी निस्केको भन्ने समेत व्यहोराको कर्णबहादुर थकालीको लाश प्रकृति मुचुल्का ।

      ७.    रामचन्द्र देवकोटाको ढुङ्गाको ३ तले घरदेखि दक्षिण २ तले धन्सार ढुङ्गाको छानो भएको तलामा जाने भर्‍याङ राखेका सो तलामा गई हेर्दा खाटमा मृतक सुतेको बुट्टे तन्नाले छोपिएको खोली हेर्दा पूर्व शीर, पश्चिम गोडा भई कोल्टो परेको, हात खुम्चाएको दुवै आँखा खुला शरीरमा रगत लागी सुकेको दाग भएको लाशको अगाडि छातीको दाहिने दुधनेर बायाँ दुध नेरको बीच भागमा ५ वटा गोली लागी प्वालबाट रगत आइरहेको शरीर र बिस्तरा समेत रगतले भिजेको भन्ने रामचन्द्र देवकोटाको लाश प्रकृति मुचुल्का ।

      ८.    मिति २०४१।११।१९ गते बिहान अं. ६:४५ बजेको समयमा मेरो छोरा र म ओछ्यानमा सुतिरहेको अवस्थामा रामबहादुर गुरुङ, मुकुन्दहरी भनी बोलायो, सिरक हटाई हेर्दा हातमा बन्दुक ताकिरहेको रहेछ, तत्कालै एक्कासी हिर्कायो । गोलीले मेरो दाहिने पाखुरामा र छोरालाई समेत लागेकोले म बेहोस भएछु, अघि छोरा छटपटाएको देखेको थिएँ । निज रामबहादुरसंग मेरो व्यक्तिगत रिसइवी छैन, हान्नु पर्ने कारण मलाई थाहा छैन भन्ने समेत व्यहोराको घाइते मुकुन्दहरी देवकोटाले प्रहरीमा गरेको बयान कागज ।

      ९.    ग.अं. अस्पतालमा मुर्दा घरभित्र कम्बल ओढाई लाश राखेको हात तन्केका, बाँया गोडा खुम्चिएको, दाहिने गोडा अर्ध तन्किएको, मुख खुला, लगाएको गन्जी रगतले भिजेको नाइटोको दाहिने तर्फ सातवटा छर्रा गोलीको प्वाल परेको, बायाँ हातमा एक छर्रा गोली लागेको घाउ भएको लिङ्गबाट विर्य आएको भन्ने समेत कुलबहादुर थकालीको लाश प्रकृति मुचुल्का ।

      १०.    २०४१।११।१९ गते कुलबहादुर थकाली समेतलाई गोली हानी हिंडेको रामबहादुर गुरुङको साथमा भएको अपराधमा प्रयोग गरिएको बन्दुक समेत दाखिल गरेका छौं भन्ने समेत प्र.ह. जितबहादुर गुरुङ समेतको प्रतिवेदन ।

      ११.    म सिंगापुर हुँदा छोरी मरेकीले छोरीको नाममा मैले बुद्ध धर्मको मन्दिर र पधेंरो बनाएकोमा प्रधानपञ्च सहितका व्यक्तिहरूले मन्दिर र धारा समेत भत्काई दिएका थिए । मेरो स्वास्नी र मर्ने कर्णबहादुरको अनैतिक सम्बन्ध भएको र मैले २, ४ पटक संभोग भएको देखें । न्याय माग्न जाँदा अध्यक्ष मुकुन्दहरी प्र.पं. समेत कर्णबहादुर पट्टि नै हिडेपछि २०४१।११।१७ गतेदेखि स्वास्नी घरमा आइन । खोजी हिंड्दा कर्णबहादुरको घरमा स्वास्नी बोलेको सुने । रिस झन बढ्न थाल्यो । फटाहाहरू मिली मलाई मेरो सम्पत्तिबाट लखेट्न खोजेका स्वास्नी कर्णबहादुरले आफ्नो बनाएको, कतै सहारा नपाई खप्न नसकी उक्त १९ गते बिहान उठी खप्न नसकी कर्णबहादुलाई गोली हाने निजका भाइ चन्द्र प्रकाश, कुलबहादुरलाई अर्को गोली हाने त्यसपछि मुकुन्दहरी कहाँ गई निजको बार्दलीमा उक्लदा खाटमा सुतेका रहेछन् निज मेरो शत्रुपट्टि लाग्ने फटाहा हुँदा भनी खोजी निजलाई ताकी गोली हान्दा मुकुन्दहरीको छोरा रामचन्द्रलाई झुक्किएर लाग्यो । निज रामचन्द्रलाई मार्न खोजेको होइन । होटल नचलेको कारणले मारेको होइन । प्रयोग गरेको बन्दुक देखें चिने मैले चलाएको गोलीबाट कर्णबहादुर र चन्द्र प्रकाश, कुलबहादुर र रामचन्द्रको मृत्यु भएको हो मलाई सिकाइएको र कसैको सहमति समेत छैन भन्ने समेत अभियुक्त रामबहादुर गुरुङले प्रहरीमा गरेको बयान कागज ।

      १२.   २०४१।११।१९ गते बिहान अभियुक्त रामबहादुरले मेरा जेठाजु चन्द्रप्रकाश, कर्णबहादुर र मेरो लोग्ने कुलबहादुर, मुकुन्दहरी देवकोटाको छोरा रामचन्द्र समेतलाई गोली हानी मारेको हो । मुकुन्दहरीलाई घाइते समेत बनाएको हो । अभियुक्त रामबहादुर गुरुङसंग मेरो लोग्नेको रिसइवी लेनदेन समेत थिएन, मेरा जेठाजु कर्णबहादुर संग रिसइवी भएकोले मेरो लोग्ने समेतलाई मारेको हो, मेरो लोग्ने समेतलाई हानी मार्न अभियुक्तको श्रीमती र कान्छो छोरा राजेन्द्र गुरुङको पनि सल्लाह हुनुपर्छ भन्ने समेत मृतक कुलबहादुरका श्रीमती लक्ष्मी थकालीको प्रहरीमा भएको कागज ।

      १३.   मिति २०४१।११।१९ गते बिहान अभियुक्त रामबहादुरले जेठाजु कर्णबहादुर, लोग्ने चन्द्रप्रकाश, देवर कुलबहादुर, मुकुन्दहरीको छोरा रामचन्द्र समेतलाई गोली हानेको हो, निजको भन्दा मेरो लज बढी चल्ने भएको रिसबाट मारेको हुनुपर्छ र निजको छोरा र श्रीमती पनि अपराधमा सरिक हुनुपर्छ भन्ने मलाई लाग्छ भन्ने समेत मृतक चन्द्रप्रकाशको श्रीमती सरोजकुमारीको प्रहरीमा भएको कागज ।

      १४.   मेरो लोग्ने रामबहादुर बेला बेलामा बौलाहा जस्तो हुन्छ, निजले मारेको चन्द्रप्रकाश समेतलाई मैले मार भनी लोग्ने रामबहादुरलाई भनेको होइन । लोग्नेले त्यस्तो गर्छ भन्ने मलाई थाहा थिएन । कर्णबहादुरसंग लेनदेन व्यवहार पर्दा घरमा आउने गर्दथे । निज आए पनि निजसंग मेरो कुनै अनैतिक सम्बन्ध थिएन, म समेतलाई गाउँले मानिसहरूले ज्यान मार्नमा मतियार भनेको कुरा झुठ्ठा हो । लोग्नेको रिसइवीको कारणबाट म समेतलाई झुठ्ठा कुरा गरी फसाउन खोजेका हुन्, मैले लोग्ने रामबहादुरलाई कर्णबहादुर समेतको ज्यान लिनका निमित्त बचन दिएकी र मार्न लगाएको समेत होइन भन्ने समेत अभियुक्त रामबहादुरकी श्रीमती सार्कीस्यो गुरुङस्यानीले प्रहरीमा गरेको कागज ।

      १५.   लुम्ले गा.पं. बस्ने अभियुक्त रामबहादुर गुरुङ चरित्र नराम्रो भएको बदमास व्यक्ति हो, निजले मिति २०४१।११।१९ गतेको बिहान ६ बजेर १० मिनेट जाँदा फिर फीरे डाँडा बस्ने कर्णबहादुर थकालीलाई पहिलो गोली, चन्द्र प्रकाशलाई दोश्रो गोली कुलबहादुरलाई तेश्रो गोली हाने पछि कुलबहादुर ग.अं. अस्पतालमा उपचार गर्न लाग्दा मरेको, अरुको घटनास्थलमा मृत्यु भएको हो । निजहरूलाई मारिसकेपछि वाड अध्यक्ष मुकुन्दहरीको घरमा गई निजको छोरा रामचन्द्रलाई ओछ्यानमा सुतेको अवस्थामा गोली हानी मुत्यु भएको हो, मुकुन्दहरीलाई पनि गोली लागी ग.अं. अस्पतालमा उपचार भइरहेको छ, निजको उपचार गर्दा हात काटेको छ, रामबहादुरले अगाडि देखि नै व्यापार व्यवसायमा आफ्नो भन्दा मृतक थकालीको बढी चल्ने भएकोले झगडा परी थकालीहरू मारी एकलौटी बनाउँछु भन्ने रिसले निज थकालीहरू समेतलाई बन्दुकले हानी मारेको हो । निजले कर्तव्य गरी मार्दा छोरा राजेन्द्रले मिल पड्की मरेको भनी कुरा पारेको र भागिरहेको अपराधी नभए भाग्नु पर्ने समेतका कारणबाट निज राजेन्द्र गुरुङ पनि मिलेमतो सहमति नै रहेको हुँदा राजेन्द्र गुरुङ पनि अपराधी हो र मृतक रामबहादुरको श्रीमती मलाई लोग्नेले घरबाट निकाली दियो गई सम्झाई देउ भनी थमबहादुर कहाँ भनेकी घरको धनमाल अन्यत्र सारेको, नातिनीलाई स्कुल छूटाई मामलीको घरमा पठाएको ऐ. १९ गते आफू काठमाडौं गएकी, घाँस काट्ने केटीलाई विदा दिएकी समेतका कारणबाट स्वास्नी सार्कीस्योले आफ्नो लोग्नेलाई थकाली र मुकुन्दहरी समेतलाई मार्नु भनी सल्लाह गरेकी र मार्ने कुरामा मतियार हो भन्ने समेत सरजमीन मुचुल्का ।

      १६.    रामबहादुर गुरुङले कर्णबहादुर थकाली, कुलबहादुर थकाली, चन्द्र प्रकाश थकाली, रामचन्द्र देवकोटा समेत जना ४ लाई बन्दुकले हानी कर्तव्य गरी मारेको देखिन आएकोले निज अभियुक्त रामबहादुर गुरुङले मुलुकी ऐन ज्यानसम्बन्धीको १ नं. अनुसारको कसूर गरेकोले ऐ. ऐनको १३(१) बमोजिम सजायँ हुन माग दावी गरिएको छ, साथै अभियुक्त रामबहादुरको श्रीमती सार्कीस्यो गुरुङस्यानीलाई ऐ. ऐनको १६ नं. बमोजिम र राजेन्द्र गुरुङ मत सल्लाहमा पसेको देखिनाले निजलाई ऐ. ऐनको १७(३) नं. बमोजिम सजायँ हुन माग दावी लिंदै राजेन्द्र गुरुङ पक्राउमा फेला नपरेकोले अदालतबाटै समाव्हान जारी गरी पाउन अपराधमा प्रयोग गरिएको बन्दुक गोली टोटा खाका अभियुक्त रामबहादुर गुरुङ सार्कीस्यो गुरुस्यानी समेतलाई यसैसाथ प्रस्तुत गरिएको छ भन्ने समेत प्रहरी प्रतिवेदन ।

      १७.   मैले सिंगापुरमा २० वर्ष नोकरी गरी पेन्सन आउँदा ल्याएको मेरा नाउँमा लाइसेन्स भएको बन्दुक मेरो साथमा थियो । १ वर्ष जति भयो, राम्रो होस नपाउने भएको, काठमाडौं गई डक्टरसंग जचाउँदा दिमाग ठीक छैन भनेकोले औषधि गरी रहेको थिएँ । यो गए फाल्गुण १८ गते बेलुका सुतेको अवस्था मलाई निन्द्रा पनि परेन, थ्रि एक्स रक्सी ४ बोतल खाएँ, मेरो श्रीमती घरमा नभएको दुई दिन जति भएको थियो । फागुन १९ गते बिहान मिरिमिरे उज्यालो घरबाट बन्दुक लिई निस्केछु सो बन्दुकबाट को कसलाई गोलीद्वारा मृत्यु गराएँ थाहा भएन, धम्पुस गई चिया खाएँ जस्तो लाग्छ सो ठाउँमा प्रहरीले पक्राउ गरी प्रहरी कार्यालयमा ल्याएपछि तैले चार जना मानिस मारिस भनेपछि झन् म व्यहोस भएको थिएँ । सो अवस्थामा प्रहरीले मलाई कुटपीट गरेको हुँदा के कुरा भने मलाई थाहा भएन । प्रहरीमा भएको बयान मैले भने जस्तो लाग्दैन । मेरो श्रीमतीको कर्णबहादुसंग अनुचित सम्बन्ध भएको होइन । मृतकहरू र मुकुन्दहरी समेत कसैसंग मेरो कुनै रिसइवी थिएन, मलाई कसैले कर्णबहादुर समेतलाई मार्नु पर्छ भनी सिकाएका होइनन्, मेरो दिमाग ठीक नभएको कुरा समेत जाँच गराई पाउँ भन्ने समेत प्रतिवादी रामबहादुर गुरुङले कास्की जिल्ला अदालतमा गरेको बयान ।

      १८.   २०४१ साल फाल्गुण महीना गतेको याद छैन, मेरो लोग्ने रामबहादुरले मलाई कुटपीट गरेकोले छोरा कृष्णबहादुर काठमाडौं आर्मीमा नोकरी गरी बसेको हुँदा त्यहाँ गई बाबुले कुटपीट गरेको कुरा बताएपछि खसम रामबहादुर मगज बिग्रेको कुरा गरेपछि निजलाई काठमाडौं लगी औषधि गराउन सल्लाह गरी छोरा र म घरमा आउँदा लोग्नेले बन्दुकद्वारा मानिस मारेको थाहा पाएँ, सो १८, १९ गते म घरमा थिइन काठमाडौं थिएँ, मलाई प्रहरीको समक्ष सरजमीन हुने बेला कुटपीट गरी गाउँलेहरूले मार्ने अवस्था पारे, प्रहरीले बोकाई ल्याई उपचार गराइरहेका छन् । मर्ने कर्णबहादुर थकाली समेतलाई मार्नुपर्छ भनी छोरा राजेन्द्र लोग्ने रामबहादुरलाई मैले भनेको होइन । कर्णबहादुर थकालीसंग मेरो अनुचित सम्बन्ध र अन्य मर्ने व्यक्तिहरू र मुकुन्दहरि समेतसंग मेरो रिसइवी छैन भन्ने प्रतिवादी सार्कीस्यो गुरुङस्यानीले अदालतमा गरेको बयान ।

      १९.    २०४१ साल फाल्गुण १८ गते मेरो बाबु रामबहादुरले मलाई दमिनीको पोई भनी गाली गर्ने कुटपीट समेत गर्ने गरेकोले बेलुका ९ बजे सुत्नको लागि मेरा काहिंला बाबु मनबहादुरको घरमा गई सो रात त्यही सुतें भोलिपल्ट बिहान बाबु रामबहादुरले मान्छे मारे भन्ने हल्ला सुने, मृतकहरूका दाजु भाईले मलाई मार्ने भनी खोज तलास गरेको भन्ने हल्ला सुनी घरबाट भागी दुई रात वनमा लुकें, रिसइवी नभएको हुँदा मार्न पर्छ भनी भनेको होइन भन्ने समेत प्रतिवादी राजेन्द्र गुरुङले अदालतमा गरेको बयान ।

      २०.   वादी प्रतिवादीहरूको साक्षीको बकपत्र भई मिसिल सामेल रहेछ । अभियुक्त रामबहादुर गुरुङलाई ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम सर्वश्वसहित जन्मकैद हुने ठहर्छ । अन्य अभियुक्त भनिएका सार्कीस्यो गुरुङस्यानी र राजेन्द्र गुरुङले सफाई पाउने ठहर्छ भन्ने समेत शुरु कास्की जिल्ला अदालतको फैसला ।

      २१.   घटनाको तथ्य र घटनाक्रम समेत विचारै नगरी प्रतिवादी सार्कीस्यो गुरुङस्यानी र राजेन्द्र गुरुङलाई सफाई दिएको शुरु कास्की जिल्ला अदालतको फैसला प्रत्यक्ष रुपमा नमिल्दो भएको छ । सबूद प्रमाण तथ्यहरूको न्यायिक मूल्याङ्कन गरी प्रतिवादी राजेन्द्र गुरुङ र सार्कीस्यो गुरुङस्यानीलाई सफाई दिएको हद सम्मको कास्की जिल्ला अदालतको फैसला बदर गरी प्रतिवादी सार्कीस्यो गुरुङस्यानीलाई शुरु प्रहरी प्रतिवेदन दावी अनुसार सजायँ गरिपाउँ भन्ने समेत वादी श्री ५ को सरकारको अञ्चल अदालतमा परेको पुनरावेदन ।

      २२.   अदालतमा बयान गर्दा मेरो होस ठेगानमा छैन दिमाग ठीक छैन जँचाई पाउँ भनी प्रष्ट बयान गरेको छु, वारदात पूर्व नियोजित होइन र मैले अपराधिक मनसायले वारदात गरी भाग्ने उम्कने कुनै प्रयत्न गरेको छैन । यी सबै अवस्थाले मेरो होस ठेगाना नभएको कुरा देखिई राखेको छ । त्यस्माथि मेरा स्पष्ट माग हुँदाहुँदै पनि मेरो मानसिक अवस्थाको जाँच नगराई फैसला भएकोले नेपाल कानुनको बर्खिलाप मलाई सर्वश्वसहित जन्मकैद गरेको त्रुटिपूर्ण छ । तसर्थ म पुनरावेदकको दिमाग ठीक नभएको आवश्यक जाँच समेत गराई कास्की जिल्ला अदालतको फैसला बदर गरी आरोपित कसूरबाट फुर्सद दिलाई पाउँ भन्ने समेत प्रतिवादी रामबहादुर गुरुङको कारागार शाखा कास्की मार्फत गण्डकी अञ्चल अदालतमा परेको पुनरावेदनपत्र।

      २३.   प्रतिवादी राजेन्द्र गुरुङ र प्र.सार्कीस्यो गुरुङस्यानीले प्रतिवेदनको दावी बमोजिम गरे विराएको मिसिल तथ्य प्रमाणबाट समर्थित छैन । त्यसो हुँदा निजहरू उपरको वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन र प्र.रामबहादुर गुरुङले आरोपित कसूर गरेको ठहर्‍याएको शुरु कास्की जिल्ला अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने समेत गण्डकी अञ्चल अदालतको २०४४।१०।१७ को फैसला ।

      २४.   सबूद प्रमाण र तथ्यहरूको न्यायिक मृल्यांकन नगरी प्रतिवादी राजेन्द्र गुरुङ र सार्कीस्यो गुरुङसेनीलाई सफाई दिएको हदसम्मको गण्डकी अञ्चल अदालतको फैसला बदर गरी प्रतिवादी राजेन्द्र गुरुङ र सार्कीस्यो गुरुङसेनीलाई शुरु प्रहरी प्रतिवेदन अनुसार सजायँ गरिपाउँ भन्ने समेत वादी श्री ५ को सरकारको तर्फबाट पश्चिमाञ्चल क्षेत्रीय अदालतमा पर्न आएको पुनरावेदनपत्र ।

      २५.   मेरो दिमाग सन्तुलित नभएको हुँदा आवश्यक जाँच गराई गण्डकी अञ्चल अदालतको २०४४।१०।१७ को फैसला बदर गरी आरोपित कसूरबाट सफाई पाउँ भन्ने समेत व्यहोराको कारागार शाखा कास्की मार्फत पश्चिमाञ्चल क्षेत्रीय अदालतमा पर्न आएको प्रतिवादी रामबहादुर गुरुङको पुनरावेदनपत्र ।

      २६.   प्रतिवादी रामबहादुर गुरुङले अपराधमा सावित भई प्रहरी समक्ष बयान गरेको देखिन्छ । सरजमीनका समस्त व्यक्तिहरूले प्रतिवादीहरूको कर्तव्यबाट मृतकहरूको हत्या भएको भनी लेखाई दिएको देखिन्छ । प्रतिवादीले अदालतमा बयान गर्दा होस ठेगान नभएको भनी बयान गरेको भए पनि ठोस सबूद प्रमाणको अभावमा ज्यान जस्तो गम्भिर कसूरबाट अपराधीलाई छुट्कारा दिन मिल्ने नदेखिँदा प्र.रामबहादुर गुरुङलाई ज्यानसम्बन्धीको १३(१) बमोजिम सर्वश्वसहित जन्मकैदको सजायँ गर्ने र प्रतिवादी सार्कीस्यो गुरुङस्यानी राजेन्द्र गुरुङलाई कसूरबाट सफाइ दिने ठहर्‍याएको गण्डकी अञ्चल अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने समेतको पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४५।३।१४।३ को फैसला ।

      २७.   उक्त फैसलामा चित्त बुझेन प्रहरीमा भएको मेरो बयान स्वेच्छाले भएको छैन र म होस ठेगानामा नरहेको अवस्थामा थाहा नपाई मेरो हातबाट घट्न गएको वारदात र वारदातमा प्रयोग भएको हतियार सम्मलाई मैले सनाखत गरिदिएको हो । मेरो एक वर्ष अघि देखि होस ठेगान थिएन जानाजान मैले गोली प्रहार गरी हानेको होइन भनी अदालतमा बयान गरेको छु । मानसिक असन्तुलन भएको व्यक्तिले गरेको कार्य अपराध नहुने भएपछि सो कुरालाई स्वीकार गरी मलाई अपराधिक दायित्व वहन गराउने निष्कर्षमा पुग्नु फौज्दारी न्यायको सिद्धान्त बिपरित छ । प्रहरी अनुसार रिसइवीको कारणबाट मैले मानिस मारेकै भए मैले कर्णबहादुर बाहेक अरुलाई मार्नु पर्ने कारण छैन । तसर्थ तथ्य कानुन, नजिर र प्रमाण समेतबाट मलाई मुलुकी ऐन दण्ड सजायँको १ नं. को सुविधा दिई आरोपित कसूरबाट छुट्कारा दिलाउनु पर्नेमा मलाई सजायँ गर्ने गरेको प.क्षे.अ. को फैसला बदर गरी कसूरबाट सफाई पाउँ भन्ने समेतको रामबहादुर गुरुङको यस सर्वोच्च अदालतमा परेको पुनरावेदनपत्र ।

      २८.   नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी रामबहादुर गुरुङको तर्फबाट बहस गर्न उपस्थित विद्वान वैतनिक अधिवक्ता श्री होमनाथ ढुङ्गानाले पुनरावेदकले समस्त कार्यहरू होस ठेगानमा नरहेको अवस्थामा गरेको हुँदा अपराधिक दायित्वबाट सफाई पाउनु पर्दछ भन्ने समेतको बहस गर्नु भयो ।

      २९.   प्रस्तुत मुद्दामा पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४५।३।१४।३ को फैसला मिलेको छ छैन सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।

      ३०.   यस्मा निर्णयतर्फ हेर्दा २०४१।११।१९ का दिन वारदात हुँदा मेरो होस ठेगानमा थिएन । मैले जानी जानी मृतक कर्णबहादुर समेतलाई मारेको होइन तसर्थ ज्यानसम्बन्धीको १३(१) बमोजिम सर्वश्वसहित जन्मकैद गर्ने ठहर्‍याएको पश्चिमाञ्चल क्षेत्रीय अदालत समेतको फैसला उल्ट्याई कसूरबाट सफाई पाउँ भन्ने प्र.रामबहादुर गुरुङको पुनरावेदन जिकिर रहेको पाइन्छ । प्रतिवादी रामबहादुर गुरुङले उक्त दिन बिहानै उठी आफ्नो नाउँमा लाइसेन्स रहेको बन्दुक प्रहार गरी कर्णबहादुर समेतका ४ जना व्यक्तिहरूलाई मारेको देख्ने चस्मदिद व्यक्ति सूर्यबहादुर थकाली समेतले किटानी जाहेरी दिएको र सोही जाहेरीको व्यहोरालाई समर्थन गर्दै अदालतमा समेत आई बकपत्र गरेको देखिन्छ । सरजमीनका समस्त व्यक्तिहरूले निज रामबहादुर गुरुङले बन्दुक प्रहार गरी कर्णबहादुर, रामचन्द्र देवकोटा, चन्द्र प्रकाश र कुलबहादुरलाई मारेको भनी लेखाई दिएको र सो व्यहोरालाई पुष्टि गर्दै अदालतमा आई बकपत्र गरेको देखिन्छ । गण्डकी अञ्चल अस्पताल पोखराको पोष्टमार्टम रिपोर्टबाट पनि बन्दुक प्रहारको चोटले गर्दा मृत्यु भएको भन्ने जनिएको र प्रतिवादी रामबहादुरले प्रहरी समक्ष बयान गर्दा आफूले बन्दुक प्रहार गरी मृतक चारै जनालाई मारेको भनी कसूरमा सावित भई बयान गरेको देखिन्छ । निजले अपराध गर्दा प्रयोग गरेको बन्दुक बरामद भएको र आफूले अपराध गर्दा सोही बन्दुक प्रयोग गरेको भनी सकार गरी सनाखत गरिदिएको देखिन्छ । प्रतिवादीले अदालतमा बयान गर्दा विगत एक वर्ष देखि आफ्नो दिमाग सन्तुलित नभएको र सो दिन अपराध गर्दा पनि होस नभएकोले अपराधिक दायित्वबाट छुट्कारा पाउँ भनी बयान गरेको देखिन्छ । तर निजको उक्त बयान सिवाय निजको होस ठेगानामा नभएको भनी प्रमाणित गर्ने अन्य कुनै ठोस सबूद प्रमाण देखिँदैन । विगत एक वर्ष देखि नै होस ठेगानमा नभएको भन्ने कुनै ठोस सबूद पेश गर्न सकेको पनि देखिँदैन । निजले आफ्नो कर्तव्यबाट मृतक चारै जनाको मृत्यु भएको भन्ने तथ्यलाई अदालतमा पनि सकार गरेको पाइन्छ । संकलित सबूद प्रमाणबाट निजले अपराध गरेको भन्ने पुष्टि भइरहेको र प्रतिवादी स्वयंले अपराध गरेको भन्ने कुरा अदालतमा समेत स्वीकार गरी बयान गरेको अवस्थामा केवल दिमाग ठीक नभएको भन्ने जिकिर लिंदैमा वस्तुगत र ठोस सबूद प्रमाण बिना अपराधिक दायित्वबाट छुट्कारा दिनु न्यायसंगत देखिँदैन । प्रचलित कानुन बमोजिम सजायँमा कमी वा छूट हुने सजायँबाट रिहाई पाउने कुनै कुराको जिकिर प्रतिवादीले लिएमा सो कुराको प्रमाण पुर्‍याउने भार निजमा नै रहने हुन्छ । तर प्रस्तुत केशमा प्रतिवादी रामबहादुर गुरुङले होस ठेगानमा नभएको भन्ने जिकिर लिए तापनि त्यसलाई शंकारहित प्रमाणबाट प्रमाणित गर्न नसकेको हुँदा निजको बयानलाई मात्र भर गरी अपराधिक दायित्वबाट छुट्कारा दिन मिल्ने नदेखिएकोले निजलाई मुलकी ऐन ज्यानसम्बन्धीको महलको १३(१) नं. बमोजिम सवश्र्व सहित जन्मकैद हुने ठहर्‍याएको पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४५।३।१४।३ को फैसला मनासिब देखिँदा सदर हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । पुनरावेदन निर्णय भएको सूचना पुनरावेदकलाई दिई मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. महेशरामभक्त माथेमा ।

 

इति सम्वत् २०४६ साल आश्विन २९ गते रोज १ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु