शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३९७९ - कर्तव्य ज्यान

भाग: ३१ साल: २०४६ महिना: माघ अंक: १०

निर्णय नं. ३९७९     ने.का.प. २०४६                        अङ्क १०

संयुक्त इजलास

माननीय न्यायाधीश श्री हगोविन्द सिंह प्रधान

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल

२०४४ सालको फौ.पु.नं. ४८०

२०४५ सालको फौ.पु.नं. ५११

२०४६ सालको फौ.पु.नं. २७४

फैसला भएको मिति : २०४६।९।२।१ मा

पुनरावेदक/प्रतिवादी : दोलखा स्यामा गा.पं. वडा नं. ९ घर भई हाल दोलखा कारागार थुनामा रहेको ज्ञानबहादुर बस्नेतसमेत

विरुद्ध

विपक्षी/वादी : ऐ.ऐ.वडा नं. ८ बस्ने चक्रबहादुर खत्रीको जाहेरीले श्री ५ को सरकार

मुद्दा : कर्तव्य ज्यान

§  धम्की दिएको कारणबाट बाबुको भनाईमा लागेर आफ्नो व्यक्तिगत रिसइवी वा स्वार्थ नभएको एस.एल.सी. पढ्ने नवयुबक अपराध गर्दाको अवस्था १७ वर्षको देखिँदा मु.ऐ.ज्यानसम्बन्धी १३(४) अनुसारको सजायँ गर्दा चर्को पर्न जाने हुँदा अ.बं. १८८ नं. अनुसार १० वर्ष कैद हुने ।

(प्रकरण नं. २२)

पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री होमनाथ ढुंगाना तथा विद्वान अधिवक्ता श्री मुक्तिनारायण प्रधान

फैसला

     न्या. हरगोविन्द सिंह प्रधान : न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा ३(ग) अन्तर्गत दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ ।

      २.    २०४१।७।७ गते बेलुका खाना खाई सुतेको अवस्थामा राती १० बजेतिर चन्द्रबहादुर खत्रीकी श्रीमती लक्ष्मीमायाले घरमा चोर पस्यो भनी कराएकीले जाँदै थिएँ । मेरो श्रीमानलाई काट्यो भनी कराएकीले गाउँलेहरुलाई बोलाई जाँदा दाजु चन्द्रबहादुरको मुख घाँटी कान आदि विभिन्न ठाउँमा काटिएको मर्ने बाँच्ने दोसाँधको अवस्थामा पाई जिरी अस्पतालमा लगी उपचार गर्न पठाई जाहेर गर्न आएको छु । भाउजूले पेट बोके देखि दाजु भाउजू बीच झगडा भइरहेको र औषधि गर्ने झाँक्री कुलबहादुर बस्नेत त्यहाँ बराबर आउने गरेको हुँदा यिनको मिलेमतोबाट कर्तव्य गरी मारेको हुनुपर्छ । कानुन बमोजिम कारवाही गरिपाउँ भन्ने समेत चक्रबहादुर बस्नेतको जाहेरी दर्खास्त ।

      ३.    घाइते सुतेको ओछ्यान र लगाउने कपडाहरुमा रगत लागिएको वरपर रगतका छिर्का देखिएका रगत सुकी टाटा परेको ओछ्यान देखि पूर्वपट्टि अगेनाको ओदानमा समेत रगतका छिर्का परेको र पानी राख्ने आटमा फलामको खुर्पा भएको भन्ने समेत ०४१।७।८ को घटनास्थल प्रकृति मुचुल्का ।

      ४.    मुख अर्ध खुला, आँखा दुबै बन्द, दुबै कान र नाकको दुबै प्वालबाट रगत बगिरहेको, पेट फुलेको, लिंग खुम्चेको, दिसा केही निस्केको, टाउको पछाडि ३ इन्च घाउ दुबै कान चिरिएको, गर्धनमा ३ इन्च काटिएको, च्यापुको दाहिने पट्टि ३ इन्च काटिएको छाती भरी नै रातो निलो निलडाम भएको अगाडिका ४ वटा दाँत फुक्लेको देब्रे गालामा ३ ठाउँमा हतियारको चुच्चोले घोचे जस्तो घाउ भएको बायाँ कुममा ४।४ इन्च घस्री छाला चिरिएको समेतको अवस्थाको मृतक चन्द्रबहादुर खत्रीको लाश भन्ने ०४१।७।९ को लाश प्रकृति मुचुल्का ।

      ५.    २०४१ आषाढमा झाँक्री कुलबहादुर बस्नेतलाई लोग्नेले बोलाई आई झारफुक गरी त्यहीं सुते राती मलाई करणी गरेका र त्यसपछि पनि मौका मौकामा करणी गरेकाले भाद्र महीनामा गर्भ रहन गई कुलबहादुरलाई भन्दा कार्तिक ७ गते सल्लाह हुन्छ तिम्रो लोग्नेलाई मार्नु पर्छ भनेका थिए । बेलुका ढोका खोली सुतेको अवस्थामा कुलबहादुर बस्नेत र निजका छोरा ज्ञानबहादुर बस्नेतसमेत आई मलाई भेटी लोग्नेलाई कुलबहादुरले छातीमा च्यापी ज्ञानबहादुरले हात समाते मैले दुबै खुट्टा थिची दिएँ । मैले दिएको खुर्पाले कुलबहादुरले घाँटीमा छपाछप हानेका हुन् अरु कसैको मिलेमतो छैन भन्ने समेत प्र.लक्ष्मीमायाको प्रहरीमा भएको बयान कागज ।

      ६.    म बाबु कुलबहादुर र लक्ष्मीमायाले समाती लक्ष्मीमाया र बाबु कुलबहादुरले खुर्पाले हानी चन्द्रबहादुर मर्न गएका हुन् भन्ने समेत प्र.ज्ञानबहादुर बस्नेतको प्रहरीमा कागज ।

      ७.    खुर्पा र रगत लागेको कपडा समेत बरामद भएको भन्ने समेत २०४१।७।१८ को बरामदी मुचुल्का र झाँक्री कुलबहादुर बस्नेत र लक्ष्मीमाया बीच अवैध सम्बन्ध भएको इवीले ज्ञानबहादुर समेत मिली चन्द्रबहादुरलाई काटी मारी दिएको हुन् भन्ने समेत सरजमीन मुचुल्का ।

      ८.    कुलबहादुर बस्नेत र लक्ष्मीमाया बीचको अवैध सम्बन्धले पेट बोकेकीले लक्ष्मीमाया र चन्द्रबहादुर बीच मनमुटाव भइरहेको अवस्थामा राती कुलबहादुर निजको छोरा ज्ञानबहादुर आई लक्ष्मीमाया समेतको मिलेमतोबाट लक्ष्मीमाया र कुलबहादुरले खुर्पाले काट्ने र ज्ञानबहादुर बस्नेतले समाई सहयोग गरिदिने गरी मृतक चन्द्रबहादुरलाई मारेको भन्ने देखिँदा कुलबहादुर बस्नेत र लक्ष्मीमाया उपर ज्यानसम्बन्धी १३(१) र ज्ञानबहादुर बस्नेत उपर ज्यानसम्बन्धी १३(४) बमोजिम कारवाही र सजायँ गरिपाउँ भन्ने समेत प्रहरी प्रतिवेदन दावी ।

      ९.    ठोसेमा जुवा हेर्न भनी बाबुका साथ जाँदा बीच बाटोमा लक्ष्मीमायालाई गर्भ बोकाएकोले चन्द्रबहादुरलाई काटी मारी जारीबाट बच्ने र लक्ष्मीमायालाई ल्याउने भनेकाले म जान हिचकिचाउँदा मलाई समेत मार्ने धम्की दिएकोले पछि लागी गएँ । लक्ष्मीमाया बाहिर निस्कीन् बाबु भित्र पसी चन्द्रबहादुरलाई छातीमा टेकी खुर्पा मागी धमाधम हाने मलाई हात समाउन र लक्ष्मीमायालाई पनि खुर्पा दिई हान् भने चन्द्रबहादुर हलचल गर्न खोजेपछि म भागें । निजहरु खुर्पा छँदै थिए भन्ने समेत प्र. ज्ञानबहादुर बस्नेतको अदालतमा बयान ।

      १०.    २०४१ आषाढमा मलाई उपचार गर्न कुलबहादुरलाई बोलाई झारफुक तथा बुटी समेत बाँधी दिए राती करणी गरेपछि बीच बीचमा करणी गरेका थिए । लोग्ने चन्द्रबहादुरले परिवार नियोजन गरेको २ वर्ष भएको हुँदा कुलबहादुरलाई गर्भ रहेको कुरा भन्दा छोरो ज्ञानबहादुरसँग औषधि पठाई खाएकीमा झाडा बान्ता भएको थियो । कार्तिक ७ गते लोग्ने स्कूलमा पिउन जागिरे भएकोले, नभएको मौका पारी आई दिउँसो समेत करणी गरे । बेलुका छोरो ज्ञानबहादुर बस्नेतलाई लिई आई चन्द्रबहादुरको छातिमा घुँडाले टेकी खुर्पा लिई छपाछप हानी मलाई समेत हान्न लगाए । ज्ञानबहादुरले समाते । पछि निजहरु बाहिर निस्केकाले चोरले काटे भनी म कराएँ । चक्रबहादुर आएकोले कुलबहादुर र ज्ञानबहादुरले काटी मारे भनी भने । मार्नमा म समेत ३ तीनजनाको मिलेमतो छ भन्ने समेत प्र. लक्ष्मीमायाको अदालतमा बयान ।

      ११.    २०४१ ज्येष्ठ सम्म झारफुक गर्न गएको थिएँ । त्यसपछि गएको र लक्ष्मीमायासँग करणी लिनु दिनु गरेको र गर्भ रहेको समेत केही होइन । छोरा र लक्ष्मीमायासँग रिसइवी समेत छैन किन पोले छोरो अल्लारे बुद्धि नपुगेर त्यसो भने होला भन्ने समेत प्र. कुलबहादुर बस्नेतको अदालतमा बयान ।

      १२.   भाउजू कराएपछि गई हेर्दा छिया छिया पारी दाजुलाई काटेको अवस्थामा पाएँ सोध्दा दीनले यस्तै भयो भनिन् भने अरु बोल्न सकेनन् भाउजू र कुलबहादुर बस्नेत बीचको अवैध सम्बन्धका कारणले ज्ञानबहादुर बस्नेत मिली काटी मारेको हुन् । दाजुका ५ छोरा छोरीहरु भएको र परिवार नियोजन गरेको समेत ५ वर्ष भइसकेको छ अरु कसै उपर शंका छैन भन्ने समेत जाहेरवाला चक्रबहादुरको अदालतमा भएको बकपत्र ।

      १३.   चन्द्रबहादुरलाई कुलबहादुर, ज्ञानबहादुर र लक्ष्मीमाया मिली काटी मारेका हुन् । मार्नुको कारणमा लक्ष्मीमाया र कुलबहादुर बीचको अवैध सम्बन्धबाट गर्भ रहनु हो भन्ने समेत सरजमीनका पूर्णबहादुर, दिलबहादुर, जितबहादुर, बलबहादुर समेतको अदालतमा बकपत्र ।

      १४.   प्रतिवादीहरु लक्ष्मीमाया र ज्ञानबहादुर बस्नेत प्रहरी तथा अदालतमा समेत अपराध गरेमा सावित भई कुलबहादुर समेतको कर्तव्यबाट चन्द्रबहादुर मर्न गएको भनी लेखाई दिएका लक्ष्मीमाया गर्भ रहेकोमा र चन्द्रबहादुरले परिवार नियोजन गरिसकेको भन्ने कुरामा समेत सावित भएकी बाबुलाई झुठ्ठा पोल गर्नुपर्ने अवस्था कारण केही नभएको समेतबाट प्रतिवादीहरु लक्ष्मीमाया, कुलबहादुर बस्नेत र ज्ञानबहादुर बस्नेतले आरोपित कसूर गरेको ठहर्छ । प्र. लक्ष्मीमाया र कुलबहादुरलाई ज्यानसम्बन्धी १३(१) अनुसार सर्वश्वसहित जन्मकैद र प्र. ज्ञानबहादुर बस्नेतलाई ऐ.को १३(४) अनुसार जन्मकैद हुन्छ भन्ने समेत दोलखा जिल्ला अदालतको ०४२।२।१७ को जाहेरी फैसला ।

      १५.   अर्काको घरमा भएको हतियारको भरले ज्यान मार्ने विचार लिई जान सक्ने अवस्था हुँदैन परिवार नियोजन गरेको भन्ने प्रमाणित अवस्था छैन । म कुलबहादुरको इन्कारी बयानमा समेत अभियोग गरेको शुरुको फैसला अन्यायपूर्ण हुँदा उल्टाई सफाई पाउँ भन्ने समेत प्र.कुलबहादुर बस्नेत, प्र.ज्ञानबहादुर बस्नेत समेत जना २ ले जिल्ला कारागार शाखा दोलखा मार्फत मध्यमाञ्चल क्षेत्रीय अदालतमा गरेको पुनरावेदन ।

      १६.    लक्ष्मीमायाले प्रहरीमा गरेको कागज स्वेच्छाबाट भएको हो भनी स्वीकार गर्दै खुर्पाले मृतकको टाउकोमा हिर्काएकोमा र कर्तव्य गरेकोमा सावित भई अदालतमा बयान गरेको पाइँदा निज उपर ज्यानसम्बन्धीको १३(१) बमोजिम सर्वश्वसहित जन्मकैद हुने ठहराएको शुरुको इन्साफ मिलेको देखिन्छ । ज्ञानबहादुरका हकमा चन्द्रबहादुरलाई कर्तव्य गरी मार्नमा संयोग पारी दिएमा प्रहरी र अदालतमा सावित रहेको हुँदा दावी बमोजिम अभियोग कायम गरी सजायँ गरेको शुरुको फैसला सदर हुन्छ । कुलबहादुरको हकमा लक्ष्मीमाया र ज्ञानबहादुरको कागज बयानको समर्थन, लाश जाँच समेतका अन्य प्रमाणबाट समेत दावी अनुसार सफाई पाउन सक्ने नदेखिँदा शुरुको फैसला मनासिब ठहर्छ भन्ने समेत म.क्षे.अ.को २०४४।२।२० को फैसला ।

      १७.   म.क्षे.अ.को फैसलामा चित्त बुझेन आरोपित कसूरबाट सफाई पाउँ भन्ने समेत ज्ञानबहादुर बस्नेत, कुलबहादुर बस्नेत, लक्ष्मीमाया खत्रीको छुट्टाछुट्टै कारागार मार्फत प्राप्त हुन आएको पुनरावेदनपत्र ।

      १८.   प्रतिवादीहरुको पुनरावेदन परेको देखिँदा साधक नं. ५८ को लगत कट्टा गरी पेश गर्नु भन्ने समेत २०४६।८।५ को संयुक्त इजलासको आदेश ।

      १९.    नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक कुलबहादुरको तर्फबाट बहसको लागि उपस्थित विद्वान अधिवक्ता श्री होमनाथ ढुंगानाले गर्नु भएको बहस जिकिर लक्ष्मीमाया तथा ज्ञानबहादुरको तर्फबाट बहसको लागि उपस्थित विद्वान अधिवक्ता श्री मुक्तिनारायण प्रधानले गर्नु भएको बहस जिकिर समेत सुनी म.क्षे.अ. को इन्साफ मिले नमिलेतर्फ निर्णय दिनु परेको छ ।

      २०.   निर्णयतर्फ विचार गर्दा मृतक चन्द्रबहादुरलाई विभिन्न ठाउँमा हानेको चोट प्रहारबाट रक्तश्राव भई मृत्यु भएको भन्ने लाश जाँच प्रकृति मुचुल्का र शव परीक्षण प्रतिवेदनबाट देखिन आएको छ । प्र.कुलबहादुर अदालतमा बयान गर्दा आरोपित कसूरमा इन्कार रही बयान गरेका छन् तापनि प्र. लक्ष्मीमाया र कुलबहादुरको छोरा प्र.ज्ञानबहादुरले आफ्नो बयानमा कुलबहादुरले हिर्काएका हुन् भनी लेखाई दिएको पाइन्छ र सो कुरालाई घटना स्थिति समेतले समर्थन गरेको हुँदा निज कुलबहादुर उपर ज्यानसम्बन्धीको १३(१) नं. बमोजिम सर्वश्वसहित जन्मकैद हुने ठहर्‍याएको शुरु फैसला सदर गरेको म.क्षे.अ.को इन्साफ मिलेकै देखिँदा सदर हने ठहर्छ ।

      २१.   प्र.लक्ष्मीमाया मृतककी स्वास्नी भएको कुरामा विवाद नरहेको निजले कुलबहादुरसंग यौन सम्बन्ध कायम गरी गर्भधारण गरेको कुरामा स्वीकार गरी लोग्ने चन्द्रबहादुरलाई मार्नमा प्र.कुलबहादुरलाई सहयोग पुर्‍याएको तथा आफैंले समेत चन्द्रबहादुरलाई खुर्पाले हानेकोमा अदालतमा समेत सावित रही बयान गरेको र कुलबहादुरलाई झुठ्ठा पोल उजूर गर्नुपर्ने कारण नदेखिएको तथा सो कुरालाई प्र. ज्ञानबहादुर समेतले समर्थन गरी ठोसेमा जुवा छ हेर्न जाउँ भनी बाबु कुलबहादुरले भनेको हुँदा बाबुका साथ गएकोमा बीच बाटोमा पुगेपछि प्र.लक्ष्मीमायालाई मैले गर्भ बोकाएकोले चन्द्रबहादुरलाई मारी लक्ष्मीमायालाई घरमा ल्याउनुछ भनेकोमा आफू इन्कार गर्दा मलाई समेत मार्दछु भनेको हुँदा लक्ष्मीमायाको घरमा गएको र चन्द्रबहादुरको हात समाएको र बाबुले काटेको भनी बयान गरेको पाइन्छ । यसरी चन्द्रबहादुरलाई मार्नमा ज्ञानबहादुरले हात समाई सहयोग पुर्‍याएको र लक्ष्मीमायाले हतियारले प्रहार गरेको कुरामा सावित रहेकोबाट शुरु अदालतको लक्ष्मीमायालाई ज्यानसम्बन्धीको १३(१) र प्र. ज्ञानबहादुरलाई १३(४) बमोजिम सजायँ गर्ने गरेको इन्साफ सदर गरेको म.क्षे.अ.को इन्साफ मनासिब ठहर्छ ।

      २२.   प्र.ज्ञानबहादुरको सजायँको हकमा निजलाई बाबुले ठोसेमा जुवा छ हेर्न जाउँ भनी भनेको र बीच बाटोमा पुगेपछि मात्र चन्द्रबहादुरलाई मार्ने कुरा बाबुले भनेको र आफूले इन्कार गर्दा आफूलाई समेत मार्ने धम्की दिएको कारणबाट बाबुको भनाईमा लागेर आफ्नो व्यक्तिगत रिसइवी स्वार्थ नभएको एस.एल.सी.पढ्ने नवयुवक अपराध गर्दाका अवस्था १७ वर्षको देखिँदा मु.ऐ.ज्यानसम्बन्धी १३(४) अनुसारको सजायँ गर्दा चर्को पर्न जाने हुँदा अ.बं.१८८ नं. अनुसार १० वर्ष कैद हुने ठहर्छ ।

      २३.   प्र.लक्ष्मीमायाको हकमा कुलबहादुरले झाँक्रीको रुपमा काम गर्दा निजलाई मानसिक दवाबमा पार्न सम्भव हुने र निजको चन्द्रबहादुरलाई मार्नमा कुनै मनसाय लिएको नभई कुलबहादुर कै भनाईमा लागी कार्य गरेको हुँदा निजलाई ज्यानसम्बन्धीको १३(१) अनुसार सजायँ गर्दा चर्को पर्न जाने हुँदा अ.बं. १८८ नं. अनुसार १० वर्ष कैद नै पर्याप्त हुने हुँदा १० वर्ष कैद हुने ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।

 

तपसील

प्र.लक्ष्मीमाया खत्री तथा ज्ञानबहादुर बस्नेतको हकमा अ.बं. १८८ नं. अनुसार १० वर्ष कैद हुने ठहरेकोले शुरु जिल्ला अदालतको मिति २०४२।२।१७ को फैसलाले राखेको कैद लगत कट्टा गरी १० वर्षको कैद लगत राख्नु भनी का.जि. अ.त. मार्फत दोलखा जि. अ. मा लेखी पठाउनु ............१

दोलखा जिल्ला अदालतको मिति ०४२।२।१७ को फैसलाले प्रतिवादी कुलबहादुर क्षेत्री र लक्ष्मीमायाको अंश सर्वश्व गर्ने गरेकोमा इन्साफ खण्डमा लेखिए बमोजिम भएकोले प्र.लक्ष्मीमायाको नाउँको अंश फुकुवा गर्नु भनी लेखी पठाउन का.जि. अ.त. शाखामा लगत दिनु ..........१

 

उक्त रायमा म सहमत छु ।

 

न्या. प्रचण्डराज अनिल

 

इति सम्वत् २०४६ साल पौष २ गते रोज १ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु