शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४०१४ - लिखत दर्ता बदर गरी दर्ता गरी पाउँ

भाग: ३१ साल: २०४६ महिना: चैत्र अंक: १२

निर्णय नं. ४०१४     ने.का.प. २०४६                        अङ्क १२

पूर्ण इजलास

सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल

सम्वत् २०४६ सालको दे.पु.ई.नम्बर ६८।६९

फैसला भएको मिति :      २०४६।१२।७।१ मा

संयुक्त इजलासबाट फैसला मिति :  २०४६।१।३१।३

पुनरावेदक/वादी : वीरगञ्ज न.पं. वा.नं. ८ बस्ने मानकीदेवी रौनियारसमेत

विरुद्ध

विपक्षी/प्रतिवादी : ऐ.ऐ.बस्ने विष्णुप्रसाद रौनियारसमेत

पुनरावेदक/प्रतिवादी : ऐ.ऐ.बस्ने हरिशंकर गिरी

विरुद्ध

विपक्षी/वादी : वीरगञ्ज न.पं. वा.नं. ८ बस्ने मानकीदेवी रौनियारसमेत

मुद्दा : लिखत दर्ता बदर गरी दर्ता गरी पाउँ

§  फ्नो पालाको आर्जन बिक्री गर्न अंशियारको मञ्जुरी लिनु नपर्ने आफूखुस गर्न पाउने ।

(प्रकरण नं. १८)

§  केवल वादीहरुको लेखाईको भरमा मात्रै प्रतिवादीको नाममा पैतृक सम्पत्तिबाट खरिद गरेको भनी मान्न नमिल्ने ।

(प्रकरण नं. १९)

पुनरावेदक, प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री पिताम्बर सिलवाल

फैसला

     प्र.न्या. धनेन्द्रबहादुर सिंह: मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने दुवै पक्षको निवेदन परेकोमा अनुमति प्राप्त भई पुनरावेदन परी पेश भएकोमा सर्वोच्च अदालत संयुक्त इजलासका माननीय न्यायाधीशहरुको बीच मतैक्य हुन नसकी यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ ।

      २.    प्रतिवादी मध्येका विष्णुप्रसाद म वादी मानकीदेवीको पति र म राजेश्वर समेतको बाबु हुनुहुन्छ । मिति ०३७।१।१ गते देखि चुल्हो मानु अलग गरी बसेकोमा हाम्रो वास्ता नगरी हाम्रो समेत हक अंश लाग्ने श्रीसिया गा.पं. वडा नं. १ कि.नं. ४० को जग्गा बिगहा ०१०१० हाम्रो मञ्जुरी बेगर प्रतिवादी हरिशंकर गिरी समेत मिली बिक्री राजीनामा मिति ०३७।१।१६ गतेमा गरे गराएकोले हाम्रो अंश हकको ७(खण्ड) मध्ये ५ खण्ड दक्षिण भागबाट ज.वि. ०१० लिखत र त्यसको नाताबाट गराएको दर्ता बदर गरी हाम्रो नाउँमा दर्ता समेत गरी पाउँ भन्ने समेत जना ५ को वादी ।

      ३.    लेनदेन व्यवहारको १० नं. अनुसार विपक्षीको मञ्जुरी लिई रहनु पर्ने आवश्यक नभएको र उल्लेखित जग्गा प्र. मध्ये विष्णुप्रसादको आर्जनको जग्गा बिक्री गरेको हुँदा लिखत दर्ता बदर हुन पर्ने होइन भन्ने प्रतिवादी हरिशंकर गिरीको प्रतिउत्तर ।

      ४.    प्र. मध्येको विष्णुप्रसादले ०३८।१।१४ मा रीतपूर्वक तामेल भएको म्यादै गुजारी बसेको ।

      ५.    यसमा वादी प्रतिवादीका बीचमा रीतपूर्वक बण्डापत्र नभएको र सगोलको सम्पत्तिबाट बढे बढाएको सम्पत्तिबाट खरिद भएको समेत देखिँदा वादी दावी बमोजिम ७ खण्डको ५ खण्ड जति लिखत र दर्ता समेत बदर हुने ठहर्छ भन्ने पर्सा जिल्ला अदालतको फैसला।

      ६.    सो फैसलामा चित्त बुझेन भन्ने प्र.हरिशंकर गिरीको ना.अं.अदालतमा परेको पुनरावेदन ।

      ७.    विवादको लिखतमा घर खर्च बापत लिएको भन्ने देखिँदा अंश बण्डाको १९(१) अनुसार आधा अंश आफू खुश गर्न पाउने देखिएकोले आधी बदर हुनेमा ७ खण्डको ५ खण्ड बदर गर्ने गरेको शुरुको इन्साफ मिलेको देखिएन । विवादको लिखत दर्ता आधासम्म बदर हुने ठहर्छ भन्ने नारायणी अञ्चल अदालतको फैसला ।

      ८.    नारायणी अञ्चल अदालतको उक्त फैसलामा चित्त बुझेन वादी दावी बमोजिम गरिपाउँ भनी वादीले आफ्नो आर्जनको सम्पत्ति बिक्री गरेकोले सो सम्पूर्ण लिखत सदर कायम राखिनु पर्ने भन्ने समेत जिकिर लिई प्रतिवादी हरिशंकर समेत दुवै पक्षले पुनरावेदनको अनुमति प्राप्त गरेको रहेछ ।

      ९.    यसमा नारायणी अञ्चल अदालतले आधी अंश लिखत दर्ता बदर गर्ने गरी गरेको निर्णय मिलेको देखिँदा मनासिब ठहर्छ भन्ने मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला ।

      १०.    सो फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी वादी तथा प्रतिवादीले यस अदालतमा दिएको निवेदन ।

      ११.    यसमा आफ्ना पालामा आर्जेको चल अचल आफू खुस गर्न पाउने अंश बण्डाको १९(२) मा व्यवस्था भएकोले संग बस्नेको मञ्जुरी लिन नपर्नेमा लिखत दर्ता आधी बदर हुने ठहराएको नारायणी अञ्चल अदालतको इन्साफ सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा उक्त कानुनको त्रुटी भएकोले पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत सर्वोच्च अदालत डिभिजनबेञ्चको २०४३।६।१५ को आदेश ।

      १२.   प्रस्तुत मुद्दामा विवादित जग्गा पैतृक सम्पत्तिबाट खरिद गरेको भन्ने सम्म वादीको जिकिर भएको, फ्नो पालामा आर्जेको जग्गालाई पिता पुर्खाका पालाको मान्ने हो भने आफ्ना पालामा आर्जेको चलअचल सबै आफू खुस गर्न पाउने भन्ने अंश बण्डाको महलको १९(२) नं. को कुनै प्रयोग रहँदैन । आफ्ना पालामा आर्जन गरेको सम्पत्तिलाई पैत्रिक सम्पत्तिबाट खरिद गरेको मान्न आफ्ना पालामा आर्जेको सम्पत्तिलाई पनि पितापूर्खाको पालाको सम्पत्ति मान्न विधिकर्ताको मनसाय भएको भए, पितापूर्खाका पालाको र आफ्नो पालाको सम्पत्तिको हक हस्तान्तरण गर्ने दुई किसिमको व्यवस्था गरिरहने थिएन । यस सम्बन्धमा लेनदेन व्यवहारको १० नं. मा अंश नभएका अंशियारले अचल सम्पत्ति बेच बिखन गर्दा वा कुनै किसिमले हकै छाडी दिंदा ऐनले आफूखुस गर्न पाउने अरुको मञ्जुरी लिन नपर्नेमा बाहेक अरुमा एकाघरसंगको अंशियार सबै साक्षी बसेको वा निजहरुको मञ्जुरीको लिखत गरी दिएको भएमात्र पक्का ठहर्छ भनी व्यवस्था भएको प्रस्तुत कानुनी व्यवस्थाबाट अंश नभएका अंशियारले सगोलको अचल सम्पत्ति बेच बिखन गर्दा वा कुनै किसिमले हक छाडी दिँदा आफूखुशी गर्न पाउने अचल सम्पत्तिलाई बाहेक गरी दिएको देखिन्छ । आफूखुस गर्न पाउने अचल सम्पत्ति बेच बिखन गर्दा वा कुनै किसिमले हक छाडी दिँदा अरुको मञ्जुरी लिन नपर्ने व्यवस्था भएको । माथि उल्लेख भए बमोजिम अंश बण्डाको १९(२) अनुसार आफ्ना पालामा आर्जेको अचल आफूखुस गर्न पाउने र लेनदेन व्यवहारको १० नं. अनुसार आफूखुस गर्न पाउने अचल सम्पत्ति बेच बिखन गर्दा वा कुनै किसिमले हक छाडी दिँदा अरुको मञ्जुरी लिन पर्ने देखिन आएन । प्रतिवादी विष्णुप्रसाद रौनियारले मिति २०३७।१।१६ मा हरिशंकर गिरीलाई राजीनामा गरिदिएको जग्गा विष्णुप्रसादकै पालामा मिति २०२८।७।१५ मा जमुनी कलवारनीबाट खरीद भएकोमा विवाद देखिन्न । तसर्थ माथि उल्लेख भए बमोजिम आफ्नो पालामा आर्जेको जग्गा प्र.विष्णुप्रसाद रौनियारले हक छाडी दिँदा कानुनतः अरुको मञ्जुरी लिन नपर्ने हुँदा निजले धर्मराज पुरीलाई राजीनामा गरी दिएको सम्पूर्ण लिखत पुनरावेदक प्रतिवादीको जिकिर बमोजिम कायम हुनु पर्नेमा आधी लिखतसम्म कायम गर्ने गरी मध्यमाञ्चल क्षेत्रीय अदालतबाट भएको निर्णय मिलेको देखिएन । प्रतिवादी जिकिर बमोजिम सम्पूर्ण लिखत बदर भई वादी दावी पुग्न सक्ने नहुँदा मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला बदर हुने ठहर्छ भन्ने समेत माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंहको राय।

      १३.   प्रस्तुत मुद्दामा वादीहरु प्रतिवादी विष्णुप्रसाद रौनियारका पति छोराहरु भएकोमा विवाद नरहेको, निजहरु बीच मानो छुट्टी भिन्न भई नसकेको अवस्थामा विवादित जग्गा मिति २०२८।७।१५ मा प्र.विष्णुप्रसादले जमुनी कलवारनीबाट खरीद गरी आफ्ना नाउँमा दर्ता गराएको देखिन्छ ।

      १४.   उक्त विवादित कि.नं. ४० को ज.वि. ०१०१० प्र.विष्णुप्रसादले २०२८ सालमा जमुनी कलवारनीबाट खरिद गरिलिएको र सोही जग्गा मिति २०३७।१।१६ मा प्र.हरिशंकर गिरीलाई राजीनामा गरिदिएको देखिन्छ । त्यसरी प्र.विष्णुप्रसादले राजीनामा गरिदिएकोमा हामी पत्नी छोराहरुको मञ्जुरी नलिएकोले हाम्रो हक लाग्ने ७ खण्डको ५ खण्ड लिखतबदर गरिपाउँ भनी यी वादीहरुको फिराद परेकोमा वादीहरुको मञ्जुरी लिई रहन पर्ने अवस्थाको जग्गा नभई स्वआर्जनको जग्गा भएकोले लिखत दर्ता बदर हुनुपर्ने होइन भन्ने समेतको प्रतिउत्तर जिकिर भएको पाइन्छ।

      १५.   प्रस्तुत मुद्दामा प्र.विष्णुप्रसादले हरिशंकर गिरीलाई बिक्री गरी दिन पाउने नपाउने के हो भन्ने कुरामा नै विचार गर्नु पर्ने भएको छ । विवादित जग्गा विष्णुप्रसादले खरीद गर्दा आफ्नो आर्जनबाट खरिद गरेको हो भनी लिखतमा उल्लेख गर्न सकेको पाइँदैन । के कस्तो व्यक्तिगत शीप ज्ञान वा प्रयासबाट निजी आर्जन गरेको हो भन्ने कुरा खुल्न आएको छैन । अंशबण्डाको १९ नं. को देहाय १ मा पितापूर्खाको पालाको चल अचल गैह्र सम्पत्तिको हकमा चलमा सबै र अचलमा आधिसम्म व्यवहार चलाउनलाई स्वास्नी छोरा वा विधवा बुहारीको मञ्जुरी नभए पनि आफूखुस गर्न पाउँछ अचलमा आधी भन्दा बढी भने व्यवहार चलाउँनै परे पनि एक्काइस वर्ष नाघेको स्वास्नी छोरा र विधवा बुहारीहरुको मञ्जुरी लिई मात्र खर्च गर्न हुन्छ भन्ने व्यवस्था भएको देखिन्छ । अंशबण्डाको १९(२) ले आफ्ना पालामा आर्जेको चल अचलमा एउटा मात्र स्वास्नी वा एक स्वास्नी पट्टिका छोरा मात्र भएकोले आफूखुस गर्न पाउने व्यवस्था गरेको छ । प्रस्तुत सन्दर्भमा विवादित जग्गा आफ्ना पालामा आर्जेको हो वा पैतृक सम्पत्तिबाट खरिद गरेको हो विचार गर्नु पर्ने स्थिति छ । विष्णुप्रसादले आफैंले आर्जेको प्रमाणित हुन नसकेको यस अवस्थामा निजको नाउँमा खरीद हुँदैमा निजैको आर्जन हो भन्न पनि सकिँदैन घरको मुली भएको नाताले निजको नाउँमा खरीद हुनु अस्वभाविक हुँदैन । बाबुले कमाएको धन सम्पत्तिमा छोरा स्वास्नीको हक लाग्ने नै हुन्छ । निजहरुको मञ्जुरी नलिई सबै आफूखुस गर्न दिने ऐनको मनसाय होइन । आफ्ना पालामा आर्जेको भन्ने वाक्यांश स्वयंमा स्पष्ट छ । परिवार सगोलमै छँदा खरिद गरेको सम्पत्ति समेतलाई यस वाक्यांशभित्र समेट्नु न्यायसंगत हुँदैन । अतः पितापूर्खाकै पालाको चल अचल भए पनि व्यवहार चलाउन आधासम्म आफूखुस गर्न उक्त अंशबण्डा को १९(१) ले पाउने नै हुँदा यति हदसम्म सदर गरी आधी जग्गाको लिखत दर्ता बदर गरिदिने ठहर्‍याएको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला मनासिब देखिँदा सदर हुने ठहर्छ भन्ने समेत माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय भएको सर्वोच्च अदालत संयुक्त इजलासको मिति २०४६।१।१३।३ को फैसला ।

      १६.    नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री पिताम्बर सिलवालले वादीहरुका पति तथा पिता विष्णुप्रसादले प्रतिवादी हरिशंकरलाई बिक्री गरेको जग्गा पैतृक सम्पत्ति होइन । विष्णुप्रसादले आफ्नो आर्जनबाट २०२८।७।१५ मा जमुनी कलवारनीसंग खरीद गरेको सम्पत्ति हो । आफ्नो आर्जनको सम्पत्ति मेरो पक्षले खरीद गरिलिएकोमा कसैको मञ्जुर नचाहिने भई लिखत दर्ता बदर हुनसक्ने अवस्था छैन । तसर्थ वादी दावी पुग्न नसक्ने ठहराएको माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंहको राय सदर हुनुपर्दछ भन्ने समेत बहस गर्नुभयो ।

      १७.   आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा निर्णयतर्फ हेर्दा सगोलको पैतृक सम्पत्तिबाट खरिद भएको हाम्रो समेत हक लाग्ने जि. पर्सा श्रीसिया पञ्चायत वार्ड नं. १ कि.नं. ४० को जग्गा बिगहा ०१०१० हामीलाई थाहा खबर नदिई मञ्जुरी साक्षी नराखी विपक्षी हरिशंकर गिरी लिने विष्णुप्रसाद दिने भई २०३७।१।१६ मा राजीनामा रजिष्ट्रेशन पास गरे गराएकोले ७ खण्डको ५ खण्ड लिखत र दर्ता बदर गरी पाउँ भन्ने समेत वादीहरुले दावी लिएको देखिन्छ । जग्गा बिक्री गर्ने विष्णुप्रसादको फिरादी मानकीदेवी श्रीमती र अरु वादीहरु छोरा भन्नेमा र प्रतिवादी विष्णुप्रसादले हरिशंकरलाई बिक्री गरेको जग्गा विष्णुप्रसादले जमुनी कलवारनीबाट २०२८।७।१५ मा खरीद गरी लिएको भन्ने कुरामा विवाद देखिँदैन ।

      १८.   साविक लेनदेन व्यवहारको १० नं. मा आफूले आर्जेको भए संग बस्नेको मञ्जुरी लिनु पर्दैन । बेचबिखन समेत गैह्र हुनजान्छ भन्ने र अंशबण्डाको १९ नं. को देहाय २ मा आफ्ना पालामा आर्जेको चल अचल सबै एक स्वास्नी वा एक स्वास्नी पट्टिका छोरा मात्र भएकोले वा अरु स्वास्नी छोरा मरी त्यस्तो अवस्था हुन आएकोले पनि आफ्नो खुस गर्न पाउँछ भन्ने लेखिएको पाइन्छ । यसबाट आफ्नो पालाको आर्जन बिक्री गर्न अंशियारको मञ्जुरी लिनु नपर्ने आफूखुस गर्न पाउने व्यवस्था गरेको देखिन्छ ।

      १९.    वादीहरुले बदर गरिपाउँ भनी दावी लिएको लिखतमा उल्लेखित जग्गा प्रतिवादी विष्णुप्रसादले जमुनी कलवारनीबाट खरीद गरी आफैंले आर्जन गरेको भन्ने प्रतिवादी हरिशंकरको जिकिर देखिन्छ । वादीहरुका दावी बमोजिम पैतृक सम्पत्तिबाट खरिद गरेको भन्ने कुराको लिखत प्रमाणहरु वादी तर्फबाट पेश दाखिल हुनसकेको छैन । केवल वादीहरुको लेखाईको भरमा मात्रै प्रतिवादी विष्णुप्रसादको नाममा पैतृक सम्पत्तिबाट खरीद गरेको भनी मान्न मिलेन । प्रतिवादी विष्णुप्रसादले प्रतिवादी हरिशंकर गिरीलाई राजीनामा गरी दिएको जग्गा पैतृक सम्पत्तिबाट खरीद गरेको बढे बढाएको भन्ने देखिन आएन । प्रतिवादी विष्णुप्रसादको आफ्नै आर्जनको प्रतिवादी हरिशंकरलाई बिक्री गरेको भन्ने देखिन्छ । त्यस्तो आफ्नो निजी आर्जनको जग्गा बिक्री गर्न कसैको मञ्जुरी लिनु पर्ने ऐनले व्यवस्था गरेको देखिँदैन । प्रतिवादी विष्णुप्रसादले आफ्नो निजी आर्जनको जग्गा बिक्री गरेको सो लिखत बदर हुन्छ भन्न मिल्ने देखिँदैन । यस स्थितिमा वादी दावी बमोजिमको लिखत बदर हुनसक्ने अवस्था रहेन । तसर्थ आधा लिखत बदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला बदर गरी वादी दावी नपुग्ने ठहराएको सर्वोच्च अदालत संयुक्त इजलासको माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंहको राय मनासिब ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।

     

तपसील

माथि इन्साफ खण्डमा लेखिए बमोजिम ठहर फैसला भएकोले पर्सा जि. अ.का. ०३८।१२।१६ का फैसलाले वादीहरुलाई प्रतिवादीबाट कोर्टफी अरु दस्तूर समेत जम्मा रु. ४०।भराउने गरेकोमा सो बमोजिम भरी भराउन गर्नु नपर्ने हुँदा सो लगत कट्टा गरी दिनु भनी पर्सा जिल्ला अदालतमा लेखी पठाउन काठमाडौं जि. अ.मा लगत दिनु...१

शुरु जिल्ला अदालत उपर पुनरावेदन गर्दा प्र.हरिशंकर गिरीले पर्सा जि. अ.मा ०३९।२।१३ मा धरौट राखेको कोर्टफी रु. ३०।भरी भराउ गर्नु नपर्ने हुँदा सो धरौट रहेको कोर्टफी प्रतिवादी हरिशंकर गिरीले फिर्ता पाउँ भनी ऐनका म्याद भित्र दर्खास्त दिए दस्तुर केही नलिई प्र. हरिशंकरलाई फिर्ता दिनु र सो धरौटी कोर्टफीको सम्बन्धमा नारायणी अञ्चल अदालतको ०३९।१२।२४ को फैसला बमोजिमको लगत कट्टा गरी दिनु भनी पर्सा जि. अ.मा लेखी पठाउन काठमाडौं जि. अ.मा लगत दिनु...२

माथि इन्साफ खण्डमा लेखिए बमोजिम वादी दावी नपुग्ने ठहरेकोले नारायणी अञ्चल अदालतको मिति ०३९।१२।२४ को फैसलाले आधा ज.वि. ०५ जग्गा वादीहरु र प्र.विष्णुप्रसाद समेतको सगोल दर्ता गर्न सम्बन्धित मालपोत कार्यालयमा लेखी पठाउन जिल्ला अदालतमा लगत दिने गरेकोमा सो बमोजिम गर्नु पर्दैन सो फैसला बमोजिमको उक्त लगत कट्टा गरी दिनु भनी पर्सा जिल्ला अदालतमा लेखी पठाउन काठमाडौं जिल्ला अदालतमा लगत दिनु...३

प्रतिवादी हरिशंकर गिरीले शुरु उपर पुनरावेदन गर्दा राखेको कोर्टफी रु. ४।५० म.क्षे.अ. मा पुनरावेदन गर्दा राखेको कोर्टफी रु. ४।५० र यस अदालतमा पुनरावेदन गर्दा राखेको कोर्टफी रु. ४।५० समेत जम्मा रु. १३।५० र देहायका वादीहरुबाट भराई पाउँ भनी प्रतिवादी हरिशंकर गिरीको ऐनका म्यादभित्र दर्खास्त परे दस्तुर केही नलिई देहायका वादीहरुबाट बराबरका दरले भराई दिनु भनी का.जि. अ.मा लगत दिनु...४

मानकीदेवी रौनियार १, राजेश्वरप्रसाद रौनियार १, सुरेन्द्रप्रसाद रौनियार १, रविन्द्रप्रसाद रौनियार १, मनोजप्रसाद रौनियार १, मिसिल नियम बमोजिम गरी बुझाई दिनु...५

 

उक्त रायमा हामीहरु सहमत छौं ।

 

न्या. बब्बरप्रसाद सिंह,

न्या. प्रचण्डराज अनिल

 

इति सम्वत् २०४६ साल चैत्र ७ गते रोज १ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु