शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६०४९ - अंश

भाग: ३७ साल: २०५२ महिना: मंसिर अंक:

निर्णय नं. ६०४९     २०५२, ने.का.प.            अङ्क ८

 

पूर्ण इजलास

माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल

माननीय न्यायाधीश श्री उदयराज उपाध्याय

माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा

दे.पु.इ.नं. ........ ४७

फौसला मिति : २०५२।८।१४।५

मुद्दा : अंश

पुनरावेदक/वादी : रुपन्देही जिल्ला भैरहवा नगरपालिका वडा नं. ५ बस्ने रामचन्द्रप्रसाद कसोधन           

विरुद्ध

विपक्षी/वादी : ऐ.ऐ. बस्ने चन्द्रावती देवी कसोधननी

ऐ ऐ बस्ने प्रेमचन्द्र कसोधन

ऐ ऐ बस्ने शम्भु प्रसाद कसोधन

§  कुनै पनि लिखतको व्याख्या गर्दा त्यो लिखत कुन तात्पर्यको लागि तयार गरिएको हो र कस्तो चरित्रको हो हेर्नु पर्ने ।

 (प्रकरण नं. १७)

§  २०१६।७।५ को लिखतमा छोरा बुहारीलाई खान जिउनी सम्मभन्ने उल्लेख भएको देखिन्छ । सो उल्लेखन अनुसार सो लिखतको तात्पर्य छोरा बुहारीलाई जीवन यापन गर्न आवश्यक पर्ने जग्गा जीवन धान्नको लागि दिएको कुरा उक्त लिखतमा उल्लेखित सम्मभन्नेले सोही सीमा सम्ममा सीमित गरेको भन्ने देखिन आएकोले सो उद्देश्य भन्दा बेगल खतिउपति आफ्नो आफ्नो हुने गरी कानुन बमोजिम मानो छुट्टिएको लिखत मान्न मिल्ने नदेखिने ।

(प्रकरण नं. १७)

§  मानो छुट्टिएको रीतपूर्वकको कागज हुनलाई सो लिखतमा खति उपति बारे उल्लेख भई आज देखि खति उपति आआफैले व्यहोर्नु पर्ने भन्ने व्यहोरा उल्लेख अनिवार्य हुने ।

§     (प्रकरण नं. १७)

पुनरावेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी

विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री पिताम्बर सिल्वाल तथा शम्भु थापा

अवलम्बित नजीर : x

फैसला

     न्या.लक्ष्मणप्रसाद अर्याल : प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :

      २.    विपक्ष मध्ये नगेश्वर रामको ३ पत्नी मध्ये जेठी प्रतापदेइ सन्तान नहुँदै परलोक हुनु भएको माहिली भेदा देवी तर्फ भगवतीप्रसाद कशोधन तथा कान्छी करापता तर्फ विपक्ष रामचन्द्र प्रसाद समेत २ छोरा भै भगवतीप्रसादका पत्नी र चन्द्रावती र छोरा हामी शम्भुप्रसाद र प्रेमचन्द्र हौं । विवाह भैसकेका २ छोरीहरु राजकुमारी, विजयकुमारी पनि छन् । विपक्षी मध्ये रामचन्द्रप्रसादको पनि दुई पत्नी हुँदा जेठी यशोदादेवी तर्फ मारकण्डे प्रसाद कान्छी केसरी देवी तर्फ पशुपतिनाथ, तमेश्वरनाथ समेत छन् । भेदा देवी, लखपतार भगवतीप्रसादको समेत परलोक भैसकेको हुँदा बाँकी अरु जीवितै छौं । रामचन्द्रप्रसाद र वहाँका स्वास्नी छोराले निजकै हकबाट पाउने नागेश्वर समेत आफ्नै हकबाट पाउने र बाँकी भगवती हकमा वहाँको परलोक भई सकेकाले वहाँको अंश हकमा स्वास्नी सन्तान हामी मौजुद भएबाट जम्मा तीन अंशियार कायम छौं । दुई परिवारका सन्तान भै मेलमिलाप नभै बराबर झगडा, खटपट भै रहेकोबाट छोरा बुहारीलाई खान ज्यूनीसम्म भनी बाँकी सबै व्यापार, कारोबार घरहरु समेत नगेश्वर रामले सगोल मै आफ्नै जिम्मा राखी विपक्षी रामचन्द्रलाई २४१५१।। हामी मध्ये शम्भुप्रसाद, प्रेमचन्द्र नाबालख म चन्द्रावतीलाई विगाहा २४१५१।। जग्गा २०१६।५।१९।६ मा लिखत खडागरी २०१६।७।५।५ मा रजिष्टे«शन पास गराउनु भएको रहेछ । व्यापार गृहस्थी आदि सगोलबाटै भैरहेको केवल हामीले लाउन खानसम्म पाई एउटै घरमा बसी आएकै थियौं । विपक्षी मध्ये रामचन्द्रप्रसादका छोरा सरह नभै पक्षपात भएबाट परस्परमा वादविवाद बढी हाम्रो हिस्सा पाउँ भनी नाता इष्टमित्र पञ्च भलादमी दुवै पक्षले चुनेका ७ जनाले अंशबण्डा सम्बन्धी व्यवहार मिलाई दिए दुवै पक्षलाई मान्य हुने मञ्जुर भएकोमा वहाँहरुले दिएका निर्णय वहाँले स्वीकार गर्नु भएन । हामीले साँझ विहानको गुजार गर्न नसकी श्री ५ महाराजाधिराज सरकारमा निवेदन र आ.व.द्वारा जाहेर गर्दा कानुन बमोजिम गर्नु भनी रुपन्देही प्रमुख जिल्ला अधिकारीको कार्यालयमा आएको र सो कार्यालयबाट म चन्द्रावती र विपक्षी रामचन्द्रप्रसादलाई झिकाउँदा विपक्षीले २०१६ साल मै अंशबण्डा भै सकेकोले बण्डा गर्नुपर्ने छैन भनी कागज गरेको हुँदा सो कागजको नक्कल सारी हेर्दा हामी शम्भुप्रसाद र प्रेमचन्द्रको नामै उल्लेख नभएको छोरा बुहारीलाई खान ज्यूनीसम्म छुट्याई दिन र लिनमा मञ्जुर भएको भनी विपक्षी मध्ये नगेश्वर रामले आफ्नो नामको भलवारी मौजाको जग्गा मध्ये विगाहा २४१५१।। चन्द्रावती देवीको नाउँमा दर्ता हुने गरी लेखी २०१६।७।५।५ मा रजिष्टे«शन पास गरी दिएको भन्ने व्यहोरा लेखिएको रहेछ । सो कागजमा ज्यूनी भन्ने लेखिएको र त्यस्तो ज्यूनी दिँदा मुलधनको सयकडा ५ सम्म घटी बढी भएमात्र सदर हुने कानुनी व्यवस्था भएकोमा सो कागजबाट यति सम्पत्ति भन्ने नखुलेको समेतबाट फिराद परेको अघिल्लो दिन सम्मको सम्पूर्ण चल अचल सम्पत्तिको तायदाती लिई तीन खण्डको एक खण्ड भगवती प्रसादको हक हामीलाई दिलाई भराई पाउँ भन्ने समेत वादीको फिरादपत्र ।

      ३.    म नगेश्वरका २ छोरा रामचन्द्रप्रसाद र भगौतिप्रसाद भएको भगौतीप्रसादको स्वास्नी विपक्षी चन्द्रावतीदेवी छोरा प्रेमचन्द्र, शम्भुप्रसाद भएकोमा भगौतिप्रसाद मरी गएपछि जहान परिवारमा मेलमिलाप नभएकोले ३ खण्डमा १ खण्ड मेरो, १ खण्ड रामचन्द्रप्रसादको र भगौतिप्रसाद मरी गएको निजका छोराहरु नाबालक हुँदा आमा विपक्षी चन्द्रावती भएकोले घरको चल धनमालमा ३ खण्ड गरी आफ्नो एकभाग राखी निजहरुको आआफ्नो भाग हातहातै दिएको रामचन्द्र भगौतीप्रसादका नाउँमा सगोल दर्ता भएको भैरहवा नगरपञ्चालत वार्ड नं. ५ को कि.नं. ६५ को भगवतिप्रसाद मरेपछि शम्भुप्रसादका नाउँमा नामसारी दर्ता भएको घर निजहरुले लिएकोले सो बण्डा जिउनी कागजमा लेखी रहनु नपरी सो बाहेक मेरा नाउँमा दर्ता रहेको भलवारीको जिमीदारी जग्गा बिगाहा २४।।। ।१।। र मेरा नाउँमा दर्ता रहेको घरहरु आफुलाई राखीभलवारीको बाँकी जग्गा मध्ये विगाहा २४।।। ।१।। चन्द्रावतीलाई विगाहा २४।।। ।१।।, रामचन्द्रलाई दिई निजहरुलाई छुट्याई २०१६।५।१९ मा बण्डा पत्र सरह जिउनीको कागज लेखी २०१६।७।५।५ मा रजिष्टे«शन पास समेत गरी सबै अलग बसी खतीउपति आआफ्नो गरी २०२२ सालमा आआफ्नो ७ नं. लगत भरी दिएको उखडामा दिएको जग्गा कट्टी गरी बाँकी रहेको आआफ्नो जग्गा सबै नापीमा समेत आआफ्नो नाममा नपाई लिएको प्रमाणबाट समेत भिन्न भिन्न बसी आएको प्रष्ट देखिएको छ भन्ने समेत व्यहोराको नगेश्वररामको र बाबु नगेश्वररामले मलाई र विपक्षीलाई बण्डा छुट्याई दिएपछि भिन्न भिन्न बसी आफ्नोआफ्नो खेतीबारी बन्द व्यापार भिन्न भिन्न गरी मैले परिश्रमले बढाउँदै लगी भलवारीमा जग्गा लिएको बैंक ऋण मार्फत ट्रक समेत खरिद गरी कारोबार बढाएको, मेरो ट्रक, पेट्रोल पम्प समेत लगाएकोले सम्पत्ति बढेको देखि मेरो सम्पत्तिमा हिस्सा लिन झुठ्ठा दावी दिएका हुन । जिउनी कागज रजिष्टे«शन भैसकेपछि चित्त नबुझे अंशबण्डाको ३२ नं. को म्यादभित्र नालिश गर्नु पर्नेमा नालिश नभएकोले यो नालिश लाग्न सक्दैन । जिउनी कागजमा आआफ्नो जग्गा आआफ्ना नाउँमा दर्ता गराई आफैंले अंश लिई भिन्न बसी खतिउपति गरी आएको उक्त कागजबाट प्रष्ट देखिँदा अंशबण्डाको १८ नं. बमोजिम पनि मानो छुट्टिएको ठहर्ने हुँदा वादी दावी खारेज गरी पाउँ। साथै भलवारीको १६ आना जिमिदारी जग्गामा भएको बगीयाको रुख नगेश्वर रामले हरिराज उपाध्यायलाई रु. ६,०००।मा बिक्री गरेकोमा विपक्षी चन्द्रावतीले मेरो हक भोग चलनको बगिया रुख बिक्री गरेकोले काट्न नपाउने गरी रोक्का राख्न २०३० सालमा प्र.जि.अ. कार्यालय रुपन्देहीमा उजुर दिएको सो प्रमाणबाट पनि जिउनी बण्डा बमोजिम भोग गरेको प्रष्ट हुन्छ । तसर्थ लेखिए बमोजिम विपक्षीहरुले अंश लिई सकेको हुँदा वादी दावी खारेज गरी पाउँ भन्ने समेत व्यहोराको रामचन्द्रप्रसाद नगेश्वररामको संयुक्त प्रतिउत्तर ।

      ४.    वादी मध्येको चन्द्रावतीले २०१६ सालमा जिउनी लिई कागज रजिष्टे«शन पास भएको देखिएको र सो जिउनीमा घटी बढी भएको वा चित्त नबुझेको कुराको अंशबण्डाको ३२ नं. को म्यादभित्र उजुर परेको नदेखिएकोले प्रतिवादीहरुबाट वादीले अंश पाउँ भन्ने उजुर दावी नपुग्ने ठहर्छ भन्ने समेत रुपन्देही जिल्ला अदालतको मिति २०३२।४।२० को फैसला ।

      ५.    उक्त फैसलामा चित्त बुझेन । हामीले प्रतिवादीहरुबाट अंश नपाउने गरी भएको शुरु फैसला बदर गरी फिराद दावी अनुसार तायदाती लिई मुद्दा चल्दा चल्दै नगेश्वर कसोधनको परलोक भएकोले बाँकी अंशियारमा ऐन बमोजिम बण्डापत्र गराई अंश दिलाई भराई पाउँ भन्ने समेत वादीको पश्चिमाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदनपत्र ।

      ६.    अ.बं. २०२ नं. बमोजिम छलफलमा विपक्षी प्रतिवादी झिकाउने भन्ने समेत पश्चिमाञ्चल क्षेत्रीय अदालत सिँगल बेन्चको आदेश ।

      ७. जिउनी लिखत भनिएको लिखत पारित भएको मिति २०१६।७।५ को अघिल्लो दिनलार्इ सगोल भएको अन्तिम दिन मानी से दिन तकको अंशबण्डाको ऐन बमोजिम वादी प्रतिवादीबाट तायदाती लिनु भन्ने पश्चिमाञ्चल क्षेत्रिय अदालतबाट मिति २०३३।८।२२।३ को आदेश भै सो बमोजिम दुवै पक्षबाट अंशको फाँटवारी दाखिल भएको ।

      ८. फिराद परेको अघिल्लो दिन वादी प्रतिवादी विचमा मानो छुट्टिएको मिति कायम हुन्छ । प्रतिवादी नागेश्वर मुद्दा चल्दा चल्दै मृत्यु भै निजको हकजति शेषपछिको बकसपत्र भएतर्फ मुद्दा चलीरहेको भन्ने देखिनाले त्यस तर्फ यसबाट हालै निर्णय गर्न नमिल्ने भर्इ दुवै पक्षबाट मानो छुट्याएको मिति सम्मको अंशबण्डा गर्नुपर्ने श्री सम्पत्तिको ऐन बमोजिम फाँट दाखिल रार्इ दावी बमोजिम वादीको अंश भाग छुट्यार्इ लिन पाउने ठहर्छ । सो बमोजिम गर्न दुवैपक्षलार्इ तारिख तोकी मिसिल शुरु रुपन्देहि जिल्ला अदालतमा पठाउने ठहर्‍याएको इन्साफ बदर हुन्छ भन्ने समेत पश्चिमाञ्चल क्षेत्रिय अदालतको मिति २०३४।६।२४।५ को फैसला ।

      ९. मिति २०१६।७।५ मा जिउनी लिखत रजिष्ट्रेशन पारित भएको र सोदिन देखि सगोलमा नरहेका व्यक्तिलार्इ फिराद दर्ता भएको अघिल्लो दिन सम्म सगोलमा रहेको भनि भएको पश्चिमाञ्चल क्षेत्रिय अदालतको निर्णयबाट सार्वजनिक महत्वको विषयमा गंभिर कानूनी त्रुटि भएकोले पुनरावेदन गर्न अनुमति पाउँ भन्ने समेत प्रतिवादीको यस अदालतमा परेको निवेदन पत्र।

      १०. वादी प्रतिवादीहरुको विच २०१६।७।५।५ मा पारित भएको लिखतमा खान जिउन सम्म छुट्यार्इ दिनमार लिनमा हामी सवैको मंजुर भै भन्ने बोली परेकोले सोही मितिलार्इ मानो छुट्टिएको मिति कायम गरी निर्णय गर्नुपर्ने मा नगरी फिराद परेको, अघिल्लो दिनलार्इ मानो छुट्टिएको दिन कायम गरी गरेको निर्णयमा तत्कालीन प्रचलित मुलुकी ऐन अंश बण्डाको ३७ नं. को त्रुटि हुन गएको पाइन्छ र यस्तो त्रुटि सार्वजनिक महत्व समेत देखिँदा न्याय प्रशासन सुधार ऐन २०३१ को दफा २३ को उपदफा ५ को खण्ड (ख) अनुसार निवेदन पत्रमा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत यस अदालत संयुक्त इजलासको मिति २०३५।७।२।५ को आदेश।

      ११. यिनै वादी चन्द्रावती देवी कसोधन समेत वादी र मारकण्डे प्रसाद कसोधन समेत प्रतिवादी भएको फैसला लिखत बदर मुद्दा निर्णय भै अन्तिम भएपछि मात्र प्रस्तुत अंशमुद्दामा निर्णय गर्नुपर्ने देखिएकोले यो अंश मुद्दा मुलतवी राखी दिने भन्ने समेत यस अदालत संयुक्त इजलासको मिति २०३८।४।१८।१ को आदेश ।

      १२ फैसला लिखत बदर मुद्दा २०४१।९।५।४ मा लुम्विनी अंचल अदालतबाट भएको फैसला अन्तिम रहेको देखिएकोले कानून बमोजिम मिति २०३८।४।१८ मा मुलतवी रहेको अंश मुद्दा जगार्इ पेश गर्नु भन्ने समेत यस अदालत संयुक्त इजलासको मिति २०५०।३।१६।४ को आदेश ।

      १३ प्रस्तुत २०१६।७।५ को लिखतमा खती उपति सम्बन्धमा केहि नलेखिएको कारणले सो लिखत भएको मितिलार्इ नै मानो छट्टिएको मिति कायम गर्न नमिल्ने हुँदा फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी वादी दावी बमोजिम अंश पाउने ठहर्‍याएको पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०३४।६।२४ को फैसलामा तत्कालिन अंशबण्डाको ३७ नं. को त्रुटि भए गरेको नदेखिँदा सो फैसला मुनासिब ठहर्छ । माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझीको मिति २०१६।७।५ लाई नै मानो छुट्टिएको मिति कायम गरेको हदसम्म म सहमत नहुँदा सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३ को उपनियम १(क) बमोजिम पूर्ण इजलासमा पेश गर्नु भन्ने व्यहोराको माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठको राय ।

      १४.   वादीले प्रतिवादीबाट ३ खण्डको १ खण्ड अंश पाउने ठहर्‍याएको पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेकै देखिन्छ । जहाँसम्म मानो छुट्टिएको मिति फिराद परेको अघिल्लो दिनलाई कायम गरिएको छ, त्यस सम्बन्धमा २०१६।७।५ को लिखतबाट जग्गा आफ्नो नाममा दर्तावहाल गराई लागेको तिरो भरो रकम आफैंले बुझाउने भन्ने उल्लेख समेत भएबाट वादी प्रतिवादी मानो छुट्टिई सँग बसेको भन्न मिल्ने अवस्था नभई चुल्हो मानो छुट्टिई अलग बसेको देखिनाले मिति २०१६।७।५ को लिखत पारित भएको मितिलाई मानो छुट्टिएको मिति कायम हुने देखिएकोले सो भन्दा अघिल्ला दिनसम्मको बण्डा गर्नु पर्ने चल अचल सम्पत्तिको पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०३३।८।२२ को आदेश अनुसार २०१६।७।५ को अघिल्लो दिनलाई सगोलमा बसेको अन्तिम दिन मानी माग गरे बमोजिम वादी प्रतिवादीहरुबाट पेश भएको, तायदाती अनुसारको सम्पत्तिबाट ३ खण्डको १ खण्ड अंश वादीले पाउने ठहर्छ । मानो छुट्टिएको मिति फिराद परेको अघिल्लो दिनलाई कायम गरी अंश पाउने गरेको पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला सो हदसम्म उल्टी हुने ठहर्छ फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी अंश पाउने ठहर गरेको हदसम्म माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठको रायसँग सहमत नहुँदा सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३ को उपनियम १(क) बमोजिम पूर्ण इजलासमा पेश गर्नु भन्ने व्यहोराको माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझीको राय ।

      १५.   नियम बमोजिम दैनिक कजलिष्टमा हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकतर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारीले ०१६।७।५ मा पारीत लिखतमा सँगै बस्न नसकी जिउनी दिई तिरो तिरी भोग गरी खानु भन्ने उल्लेख भएको ०२२ सालमा ७ नं. फाँटवारी छुट्टाछुट्टै भरेको उक्त जग्गामा रुख काटिएको विपक्षीले आफ्नो हक भोगको भनी प्रमुख जिल्ला अधिकारीको कार्यालयमा उजुरी दिएको नागेश्वररामले शेषपछिको बकसपत्र बदरमा मार्केण्डे समेतलाई नालेस दिएकोमा बदर हुन नसकेको समेतबाट २०१६ सालमा नै अंश पाइसकेकोले मेरो पक्षले अंश दिनुपर्ने होइन लिखत दर्ता कारोवार मुद्दा मामिला समेतबाट अंश वण्डा भैसकेको छ फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको कायम गरेको मिलेको छैन भन्ने व्यहोराको बहस प्रस्तुत गर्नु भयो । प्रत्यर्थी तर्फबाट रहनु भएका विद्वान अधिवक्ता पीताम्बर सिलवाल तथा शम्भु थापाले २०१६ सालको लिखत अंश बापतको जिउनी होइन । खान जिउनी सम्म भनेको छ, खान जिउनी सम्म दिएको हुँदा मानो छुट्टिएको भनी भन्न मिल्दैन । २०१५।१।२४ मा भगवतीको परलोक भएको र २०१६।७।५ मा कागज गर्दा छोराहरु एक डेढ वर्षको मात्र देखिन्छन् । यस्ता कलिला बालखबाट बण्डा हुने वा भिन्न हुने इन्छा व्यक्त हुने अवस्था नै हुँदैन । २०१६।७।५ को लिखतबाट अंशबण्डा भएको समेत देखिँदैन सो लिखतबाट प्रमुख सम्पत्ति देखाइएको छैन, मानो छुट्टिएको हो होइन भन्ने कुरा, मुद्दाको सम्पूर्ण सम्पूर्ण स्थितिलाई हेर्नु पर्दछ । माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठको राय सदर हुनुपर्दछ भन्ने बहस प्रस्तुत गर्नु भयो ।

      १६.    संयुक्त इजलासबाट माननीय न्यायाधीशहरु बीच राय बाझिई पूर्ण इजलासमा पेश हुन आएको प्रस्तुत मुद्दामा यस अदालतबाट अनुमति प्रदान गर्दा र राय बाझी गर्ने माननीय न्यायाधीशहरु बीच बण्डा भैसकेको कुरामा मत भिन्नता नभै मानो छुट्टिएको मितिको सम्बन्धमा राय बाझी भै प्रस्तुत मुद्दा पूर्ण इजलास समक्ष पेश भएको देखिन्छ । अंश पाउने हो होइन भन्ने तर्फ विवाद टुङ्गी सकेको भन्नुपर्ने हुन आई मानो छुट्टिएको मिति विषयमा मात्र निर्णय दिनु पर्ने देखिन आयो ।

      १७.   त्यसतर्फ विचार गर्दा कुनै पनि लिखतको व्याख्या गर्दा त्यो लिखत कुन तात्पर्यको लागि तयार गरिएको हो र कस्तो चरित्रको हो हेर्नुपर्ने हुन्छ । २०१६।७।५ को लिखतमा छोरा बुहारीलाई खान जिउनीसम्म भन्ने उल्लेख भएको देखिन्छ । सो उल्लेखन अनुसार सो लिखतको तात्पर्य छोरा बुहारीलाई जीवनयापन गर्न आवश्यक पर्ने जग्गा जीवन धान्नको लागि दिएको कुरा उक्त लिखतमा उल्लेखितसम्मभन्नले सोही सीमा सम्ममा सीमित गरेको भन्ने देखिन आएकोले सो उद्देश्य भन्दा बेगल खतिउपति आफ्नोआफ्नो हुने गरी कानुन बमोजिम मानो छुट्टिएको लिखत मान्न मिल्ने देखिन आएन । मानो छुट्टिएको रीतपूर्वकको कागज हुनलाई सो लिखतमा खतिउपति बारे उल्लेख भई आज देखि खतिउपति आआफुले व्यहोर्नु पर्ने भन्ने व्यहोरा अनिवार्य हुन्छ ।

      १८.   उपरोक्त अनुसार कानुन बमोजिम मानो छुट्टिएको लिखतको अभाव देखिँदा पश्चिमाञ्चल क्षेत्रीय अदालतको २०३४।६।२४ को फैसला सदर गरी फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी गरेको माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठको राय मनासिब ठहर्छ। मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा हाम्रो सहमति छ ।

 

न्या. उदयराज उपाध्याय

न्या. हरिप्रसाद शर्मा

 

 

इति सम्वत् २०५२ साल मार्ग १४ गते रोज ५ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु