शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६०८३ - अंश दपोट

भाग: ३७ साल: २०५२ महिना: माघ अंक: १०

निर्णय नं. ६०८३ ने.का.प. २०५२              अङ्क १०

संयुक्त इजलास

सम्माननीय प्रधान न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह

सम्वत् २०५१ सालको दे.पु.नं. १८३६

फैसला मिति    : २०५२।१०।९।३

मुद्दा : अंश दपोट ।

पुनरावेदक : काठमाडौं जिल्ला टोखा सरस्वती गा.वि.स. वडा नं. ३ बस्ने वर्ष ३६ को तिलकराम श्रेष्ठ

विरुद्ध

प्रत्यर्थी    : काठमाडौं जिल्ला टोखा चण्डेश्व्री गा.वि.स. वडा नं. ३ बस्ने हरिभक्त श्रेष्ठ

ऐ ऐ सरस्वती गा.वि.स. वडा नं.  ३ बस्ने त्रिलोक श्रेष्ठ ।

ऐ ऐ बस्ने रामभक्त श्रेष्ठ ।

ऐ ऐ बस्ने गोपाल श्रेष्‍ठ ।

ऐ ऐ बस्ने केशव श्रेष्ठ ।

§  परलोक भैसकेको व्यक्तिको नाउँमा दावीको जग्गा दर्ता रहेको देखिएको आधार कारणले मात्र अन्य प्रतिवादीहरु समेतले दबाएको भनी अर्थ गर्न न्यायको रोहमा नमिल्ने ।

(प्रकरण नं. ११)

निवेदक तर्फबाट : x

विपक्षी तर्फबाट : x

अवलम्बित नजीर : x

फैसला

    प्र.न्या.सुरेन्द्रप्रसाद सिंह : न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) र (ख) बमोजिम दोहोर्‍याउने निस्सा प्रदान भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ:

     २.   यसमा सगोलमा बसी खाई आएकोमा अंश नदिएकोले अंश दिलाई पाउँ भनी फिराद दिएकोमा फिराद परेको अघिल्लो दिनलाई मानु छुटिएको मिति कायम गरी तायदाती लिनु भन्ने आदेशानुसार विपक्षीहरुले मैले अंश पाउने सम्पत्ति तायदातीमा नदेखाई राखेकोले हाल खौज्दै जाँदा का.जि. चण्डेश्वरी गा.वि.स. वडा नं. ६(क) कि.नं. १८, १९, २० ऐ.ऐ. वडा नं. ७(ख) कि.नं. १२२, १५५, ऐ.ऐ. वडा नं. ६(क) कि.नं. २२ झोर गा.वि.स. वडा नं. २(क) कि.नं. २८, २९, ३०, ३९ सरस्वती गा.वि.स. वडा नं. ९(ग) कि.नं. १८ ऐ.ऐ. वडा नं. ७ (ख) कि.नं. १८२, १२०, १२१ ऐ. ऐ. वडा नं. ७(क) कि.नं. २००, २१३ समेतका कित्ता जग्गाहरु दवाएछिपाएको हुनाले अंशबण्डाका २७ नं. बमोजिम विपक्षीहरुले दबाएको दपोट ठहर्‍याएको एकलौटी कायम गरी चलन समेत चलाई पाउँ भन्ने फिराद ।

     ३.   विपक्षले दावा गरेको जग्गा कि.नं. १८ को भैरवेश्वर महादेवको निजी गुठी र केशव त्रिलोक गोपालले जोती गुठीको कार्य चलाई आएको जग्गा कि.नं. १९ को भैरवेश्वर निजी गुठीको कुशलेलाई र पुजारीलाई खानकी दिनुपर्ने कि.नं. २० को महादेव पुजालाई बैशाखमा रुद्री गराउनको निमित्त कि.नं. १५५ को बैशाखा १ गते बन्धक पुजालाई कि.नं. १२२ को बैशाखा संक्रान्तीको दिन साधु सन्तलाई हण्डी वाडी बाँकी कमाउनेले खाने जग्गा हो । कि.नं. २२ को काम भत्ताले खाई आएको गुठीको खर्च गरी मोहिया भाग मात्र खाने जग्गा हो । कि.नं. २८ को पुजारीलाई खानकी दिई मोही हरिप्रसाद लामिछानेको कि.नं. २९३० गुठीको कार्य गर्ने मोहीलाई तिर्ने र बाँकी रामझक्तले खाने जग्गा हो कि.नं. ३९ को गुठीको जग्गा हो ९(ग) कि.नं. १८ को म गोपालले भिन्न भैसकेपछि कालिदास सँग फर्छे गराई लिएको जग्गा हो कि.नं. १२१ को केशवको भागको जग्गा हो कि.नं. १२० को साल साल शिवरात्रीलाई धुनी जसलाई आयस्ता गोपालले खाने जग्गा हो । कि.नं. १८२ को हरिभक्त र कृष्णभक्तको घर कि.नं. २१३ को हरिभक्तले आफ्नै निजी आर्जनले कमाएको जग्गा हो । ९(क) कि.नं. १८ को हरिभक्तको जग्गा हो कि.नं. २० को त्रिलोकको भागको जग्गा हो कि.नं. १९९ को घर जग्गा र कि.नं. २२२ को कि.नं. २३, २४ को जग्गा समेत निजहरुले लिई भोगी आएकोमा झुठ्ठा उजुर गरेको हुन भन्ने समेत संयुक्त प्रतिउत्तर पत्र ।

     ४.   वादी दावी घर जग्गा मध्ये ६ भागको १ भाग मध्येबाट पनि ३ भागको १ भाग सम्म वादीको हक कायम हुने र चलन पाउने ठहर्छ भन्ने समेत मिति ०४५।१०।२६ को का.जि.अ.का. फैसला ।

     ५.   का.जि.अ.को फैसला त्रुटिपूर्ण हुँदा सो फैसला बदर गरी मेरो फिराद दावी बमोजिम गरी पाउँ भन्ने समेत वादीको बा.अं.अ. मा परेको निवेदन ।

     ६.   शुरु जिल्ला अदालतको निर्णय विचारणीय देखिँदा अ.बं. २०२ नं. अनुसार विपक्षी झिकाई पेश गर्नु भन्ने मिति २०४६।१०।३० को वा.अं.अ.को आदेश ।

     ७.   दावाको घर जग्गा मध्ये ६ भागको १ भाग मध्ये २ खण्डको १ खण्ड अंश वादीको हक कायम चलन पाउने ठहर्छ भनी काठमाडौं जिल्ला अदालतबाट मिति ०४५।१०।२६ मा गरिएको फैसला मुनासिब देखिँदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत पाटनको फैसला ।

     ८.   प्रत्यर्थीहरुको बण्डा गर्नुपर्ने चल अचल श्री सम्पत्तिको फाँटवारी दिई दवाए छिपाएको छैन भनी कागज समेत गरी सकेको तथ्यमा विवाद नभएको र त्यसरी दवाए छिपाएको छैन भनी कागज गरी सकेपछि दबाए छिपाएको ठहर्‍यो र दबाएको देखियो भने दबाउनेले नपाउने कुरा अंश बण्डाको २७ नं. मा प्रष्ट कानुनी व्यवस्था छ । सो को विपरीत भएको फैसला विल्कुल मिलेकै देखिँदैन । दबाएको जग्गा मानकुमारीको नाउँमा मात्र नभई अन्य प्रतिवादीको नाउँमा समेत रहे भएको प्रष्ट देखिएतर्फ वास्तै नगरी वास्तविक प्रमाणको मूल्यांकन समेत नगरी भएको पु.बे.अ. पाटनको फैसलाबाट प्रमाण ऐन, २०३१ को दफा ५४ अ.बं. १८४(क) र १८५ नं. समेतको कानुनको व्याख्यामा गम्भीर त्रुटि हुन गएको बदर गरी मुद्दा दोहर्‍याई न्याय निरोपण गरी पाउँ भन्ने निवेदन ।

     ९.   यसमा दबाए छिपाएको देखिन आउने अवस्था नदबाउने अरु अंशियारहरुले अंश गरी खान पाउने अंश बण्डाको २७ नं. मा कानुन व्यवस्था भएको देखिँदा नदबाउने अंशियार मध्येको वादी देखिन आएको अवस्थामा वादी दावीका जग्गामा ६ खण्डको १ खण्डमा ३ भागको १ भागमा वादीको हक कायम हुने गरेको पुनरावेदन अदालत पाटनको फैसला कानुनको व्याख्यात्मक त्रुटि भएको देखिँदा न्याय प्रशासन ऐन, २०४७ को दफा १२(१) को खण्ड (क) बमोजिम दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरिएको छ भन्ने यस अदालतको आदेश ।

     १०.  नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत अंश दपोट मुद्दाको पुनरावेदन सहितको मिसिल अध्ययन गरी निर्णयतर्फ विचार गर्दा पुनरावेदन अदालत पाटनले वादले अंश भाग पाउने तर दपोट नठहर्ने गरी गरेको इन्साफ मिलेको छ वा छैन ? निर्णय दिनुपर्ने देखियो ।

     ११.   यसमा अंश मुद्दाको फिराद परी मैले अंश पाउने सम्पत्ति तायदातीमा नदेखाई हाल खौजदै जाँदा उक्त अंश हकका जग्गाहरु विपक्षी प्रतिवादीहरुले दबाए छिपाएको हुनाले अंशबण्डाको २७ नं. बमोजिम दपोट ठहर्‍याई एकलौटी कायम गरी चलन समेत चलाई पाउँ भन्ने फिराद दावी भएकोमा विपक्षी वादीले दावी गरेको जग्गा दबाए छिपाएको हैन । दावीको घर जग्गाहरु मध्ये निजी गुठी र निजी आर्जनको भएको हुँदा झुठ्ठा उजुर गरेको हुन भन्ने संयुक्त प्रतिउत्तर भएको । प्रस्तुत मुद्दामा दपोट नठहर्‍याएको पु.वे.अ.पाटनको फैसला उपर यस अदालतमा निवेदन परी दोहोर्‍याएको निस्सा प्रदान भएको देखिनछ । यसमा प्रतिवादीहरु मध्ये कसले के कति जग्गा दबाएको हो सो सम्बन्धमा प्रष्ट एवं किटानी दावी पनि नदेखिएको तथा विवादित जग्गा प्रतिवादीहरुको नाउँमा मात्र नभई प्रतिवादीहरुको आमा स्वर्गीय मानकुमारीको नाउँ समेत देखिएको र प्रतिवादीहरुको नाममा अझै दर्ता हुन बाँकी समेत देखिएको हुँदा परलोक भैसकेको व्यक्तिको नाउँमा दावीको जग्गा दर्ता रहेको देखिएको आधार कारणले मात्र अन्य प्रतिवादीहरु समेतले दबाएको भनी अर्थ गर्न न्यायको रोहमा मिल्ने देखिँदैन । तसर्थ दावीको जग्गाहरु मध्ये ६ भागको १ भाग मध्ये पनि ३ खण्डको एक खण्ड अंश हक वादीको कायम भै चलन समेत पाउने ठहर्‍याएको पुनरावेदन अदालत पाटनको फैसला मनासिब देखिँदा सदर हुने ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा मेरो सहमति छ ।

 

न्या.पृथ्वीबहादुर सिंह

 

इति सम्वत् २०५२ साल माघ ९ गते रोज ३ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु