शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ५०३७ - गुठीबाट हटक गरी लिखत बदर गरी पाउं

भाग: ३७ साल: २०५२ महिना: बैशाख अंक:

निर्णय नं. ५०३७    ने.का.प. २०५२      अङ्क १

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय

माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय

सम्वत् २०४८ सालको दे.पु.नं. ३७५

फैसला मिति  : २०५१।३।१४।३

मुद्दा : गुठीबाट हटक गरी लिखत बदर गरी पाउ

 

पुनरावेदक/प्रतिवादी: का.जि.का.न.पं. वडा नं. २६ जमलटोल बस्ने भाजुवीर सिंहको मु.स.गर्ने अशोकवीर सिंह ।

विरुद्ध

विपक्षी/प्रतिवादी: ऐ. वडा नं. १६ न्हकैन्तला बस्ने स्वयम्भुरत्न तुलाधर

 

      सबैको सामुहिक हक लाग्ने गुठीको जग्गामा गुठीयार मध्येका कुनै कसैले रैकर परिणत दर्ता गराएको छ भन्ने आधारमा अरु गुठियारको हक जान्छ भन्न नमिल्ने ।

 (प्रकरण नं. १७)

निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री पिताम्बर सिल्वाल श्री शम्भु थापा

विपक्षी तर्फबाट      : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर

अवलम्बित नजीरःX

फैसला

न्या.केशवप्रसाद उपाध्यायः मध्यमाञ्चल क्षेत्रीय अदालतबाट भएको फैसला उपर न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(५)(ख)(ग) तथा दफा १३(७) बमोजिम अनुमति प्राप्त भई यस अदालतमा पुनरावेदनमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ :

२.    दानपत्र बमोजिम का.जि.ज्ञानेश्वरको पसलको हिजा खुशी खेत रोपनी ८ को उब्जनी मध्ये अधियाँ गर्ने अधियाँपोत तिरी बाँकीको भोज खानु भनी ११ जना गुठीयारको नाउँमा उल्लेख गरी मोठ १९५२ श्रावण सुदी १२ रोज ३ मा लगत नं. १०१ को असनटोल ६७ नं. को पोतामा गुठी जनी दरियाको सामुहिक गुठी जग्गा हो । त्यसको वाद गुठी बाँडफाँड हुँदा सो खेतको आयस्ताबाट समेत पुजा पालैपालोसँग चलाउने भनी विपक्षीको बाबु कूल सुन्दर समेत आगे भई १९७६।३।५।५ मा पुनः गुठी बन्देज गरे भएको उक्त जग्गा बत्तिसपुतली गा.पं. वडा नं. ५(क) को कि.नं. २, ३ र ४ बाट जग्गा ७११३ भई जग्गा धनीमा गुठीयार मध्येको थकाली महलमा रत्न काजी न्हेकन्तला भनी अंकित भई नापी भएको थियो । तर पछि अरु गुठीयारलाई थाहा पत्ता नदिई आफ्नो नाउँमा दर्ता गराएको रहेछ । पछि सो दर्तावाला गुठीयार मरी निजका सन्तान नभएकाले हालमा रत्न तुलाधर विपक्षी भाजुविर सिंह समेतका व्यक्तिहरु गुठीयार छन् । निज विपक्षीले त्यस्तो सामूहिक गुठी जग्गालाई एकलौटी भनी दर्ता गराई सो जग्गा का.न.पं. वडा नं. २३(ञ) को कि.नं. ६४, ६५ , ७५, ७७ र ११२ नं. को जग्गासँग सट्टापट्टाको कागज खडा गरी उक्त गुठी जग्गा विभिन्न व्यक्तिलाई बकसपत्र र बिक्री समेत गरेको रहेछ सो बिक्री र बकस गरी दिएतर्फ छुट्टै नालेश गर्नेछु । माथि उल्लेख गरिसकेको गुठी बन्देज कागज तथा विपक्षी समेतले गरी दिएको १९८४।१०।१४ को कबुलियतमा उल्लेख गरिएको सामुहिक गुठी जग्गलाई गुठी होइन भनी सट्टापट्टा गरी धर्मलोप गरेकोले मुलुकी ऐन गुठीको महलको दफा ३ अनुसार निज विपक्षीले उक्त जग्गा आफ्नो नाउँमा दर्ता गरेको भू.प्र.का. काठमाडौंको उपरोक्त दर्ता बदर गर्नुका साथै विपक्षीको नाउँमा र गुठीको नाउँमा सट्टापट्टा गर्ने गरेको नं. ३२, ४५।१२४६ को मिति २०३०।१०।१४ को सट्टापट्टा कागज बदर गरी गुठी धर्मलोप गरेमा निज विपक्षीलाई गुठी बाट समेत हटक गरी पाउँ भन्ने समेत हल्मारत्न तुलाधरको फिराद ।

३.    मिति २०३२।१।१७ गते बाबु भाजुविर परलोक भइसकेको उपर फिराद दायर हुन नसक्ने वादीले फिरादमा गुठीयार मरीसकेका भनेका छन् । गुठीयार भए हकदैया भएकाहरुले म्यादभित्र उजुर गरेमा मात्र कारवाही हुने हुँदा अ.बं. ८२ नं. ले खारेज हुने प्रष्ट छ । सट्टापट्टा गरेको भन्ने जग्गा हल्मारत्नको नाउँमा नापी भएको छैन निजहरुको हकको पनि होइन । मेरा बाबु भाजु वीर सिंहको एकलौटी हकको जग्गा हुँदा २०२२ सालको नापीमा आफ्नो नाउँमा दर्ता गरी ०३०।१०।४ को निर्णय बमोजिम प्रमाणित गरेको ०३०।१०।१४ मा सट्टापट्टा गरी लिखत गरेकोपछि दाजुले अंश बापतको जग्गा मधयेबाट ४२ जग्गा ०३२।१०।१५ मा मलाई दिएको हो सो जग्गा गुठी जग्गा देखिन आए पनि मेरा वावुको मात्र एकलौटी हक भएको गुठी जग्गा हो भन्ने समेतको व्यहोराको अशोकविरको प्रतिउत्तरपत्र ।

४.    कित्ता नं. २।३।४ को जग्गा भाजु विरको मात्र एकलौटीको भन्ने खास प्रमाण आएको देखिँदैन । दर्ता उत्तार तथा फिल्डबुक समेतबाट वादीको नाउँ नै उल्लेख भएको देखिन्छ । सो गुठियार मध्ये एकजना भाजुविर सिंह समेत हुने भन्ने देखिन आउँछ । यी सबै कारणहरुबाट कि.नं.२।३।४ को जग्गा वादी समेतको सामुहिक गुठी कायम हुने र दर्ता सट्टापट्टा गरे भएको कार्य बदर हुने प्रतिवादीले गुठीको पालो नपाउने ठहर्छ । सोधभर्ना गरेको कि.नं. ६४ को जग्गा पनि प्रमाण बेगर सामुहिक गुठी हो भन्न मिल्ने देखिएन । त्यसतर्फ दावी नपुग्ने ठहर्छ भन्ने काठमाडौं जिल्ला अदालतबाट मिति २०३६ ।३।१३।४ मा भएको फैसला ।

५.    सो काठमाडौंको जिल्ला अदालतबाट भएको फैसलामा चित्त बुझेन । म्यादभित्र उजुर नपरेको हुँदा समेत सट्टापट्टा बदर गर्ने ठहर्‍याएको कानुनसंगत भएन सो इन्साफ उल्टाई पाउँ भन्ने समेतको मुद्दा सकार गर्ने प्र.लक्ष्मण प्रसाद पौडेलको र सोही मिलान जस्तै प्र.अशोकविर सिंहको वागमती अञ्चल अदालतमा गरेको पुनरावेदन पत्र ।

६.    यसमा फिरादपत्रमा गुठीयार भन्ने समेत उल्लेख भएको हुँदा वादीबाट हाल सो गुठीमा कुन कुन गुठियारहरु छन् निजहरुको नाम समेत खुलाउन लगाई निजहरुलाई म्याद पठाई झिकाउने भन्ने समेतको वागमती अञ्चल अदालतबाट मिति २०३७।३।१४।६ मा भएको आदेश बमोजिम म्याद पठाई झिकाएको मिति २०३७।५।४।४ मा वागमती अञ्चल अदालतमा मिलापत्र भएको ।

७.    प्राप्त फिल्डबुकमा समेत कि.नं. ४ को जग्गा हल्मारत्नको जग्गा भन्ने कैफियतमा उल्लेख भएको र अघि निश्कासन मुद्दा पर्दामा पनि यी गुठीको जग्गा हो अरु पनि गुठियार छन्। वादीको मात्र एकलौटी हक होइन भनी व्यासले प्रतिउत्रर फिराएको नक्कलबाट देखिएकोले कि.नं. २४ जग्गा भाजुवीरको मात्र एकलौटी हो भन्ने प्रमाण आएको नहुँदा समेत सामूहिक गुठी कायम हुने पालो नपाउने र कि.नं. ६४ को जग्गामा दावी नपुग्ने समेत ठहर्‍याई गरेको इन्साफ मिलेकै देखिँदा पुनरावेदन जिकिर पुग्न सक्तैन भन्ने समेतको वागमती अञ्चल अदालतबाट मिति ०३८।८।२६।६ मा भएको फैसला ।

८.    वागमती अञ्चल अदालतबाट भएको फैसला कानुन त्रुटिपुर्ण छ जसमा २०३७।५।४ को मिलापत्रबाट पनि हामीहरुको पनि हक समाप्त भैसकेको देखिएको छ । यसबाट पनि कानुन त्रुटिपूर्ण फैसला समेत बदर गरी पाउनु पर्ने हुँदा पुनरावेदन गर्न अनुमति पाउा भन्ने समेतको मुद्दा सकार गर्ने अशोक रत्नले यस अदालतमा गरेको निवेदनपत्रमा यसै लगाउको गुठी हटक गरी पाउँ भन्ने मुद्दामा पुनरावेदन अनुमति प्रदान गरिएकोले यो मुद्दा पनि सोही मुद्दाकै निर्णयबाट असर पर्ने हुँदा यसमा पनि न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(३) बमोजिम पुनरावेदनको अनुमति प्रदान गरिएको छ । नियम बमोजिम गर्नु भन्ने अदालतबाट मिति २०४०।१२।५ मा आदेश भै अनुमति पाई डिभिजनको देवानी लगतमा दर्ता दायर भएको विवादित कि.नं. ४ को जग्गा निजको एकलौटी गुठीको जग्गा भै सो गुठीको जग्गा मैले अरु व्यक्तिलाई हक छाडी दिएकोले का.जि.अ. र वागमती अञ्चल अदालतले मैले धर्मलोप गरेको भनी ठहर्‍याएको फैसला उल्टी गरी पाउँ भन्ने पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर र वादीले आफ्नो जिकिर परिपुष्टिका निमित्त घरसारमा भएका १९८४ साल लगायतका विभिन्न सालका कागज प्रमाण पेश गरेकोमा त्यस्तो कागज प्रतिवादीलाई देखाई सुनाई अ.बं. ७८ नं. को प्रक्रिया पुरा गरी गराई फैसला गर्नुपर्नेमा सो रीत नपुर्‍याई काठमाडौं जिल्ला अदालत तथा वागमती अञ्चल अदालतले गरेका फैसला त्रुटिपूर्ण हुँदा बदर हुने ठहर्छ अ.बं. ७८ नं. को प्रकृया पूरा गरी यसै मिसिलबाट ठहरे बमोजिम इन्साफ गरी दिनु भनी पक्ष विपक्षलाई तारेख तोकी मिसिल काठमाडौं जिल्ला अदालतमा पठाई दिनु भन्ने समेतको मध्यमाञ्चल क्षेत्रीय अदालतबाट मिति २०४३।३।२३ मा भएको फैसला ।

९.    मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर वादी पक्षबाट मु.स. गर्ने स्वयम्भुरत्न तुलाधरको यस अदालतमा पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने निवेदनमा पुनरावेदनको अनुमति प्रदान भएको ।

१०.    वादीले आफ्नो दावीको पुष्ट्याईको लागि पेश गरेको घरसारमा भएको १९८४ सालको लिखत प्रतिवादीलाई सुनाई देखाई अ.बं. ७८ नं. को प्रकृया पूरा नगरी गरेको का.जि.अ. तथा वा.अं.अ. को फैसला म.क्षे.अ.ले बदर गरी उक्त प्रकृया पूरा गरी निर्णय गर्नु भनी शुरुमा पठाउने गरेको म. क्षे.अ.को फैसला मिलेन । विवादित रुपमा देखाइएको उक्त लिखतलाई म.क्षे.अ.बाटै अ.बं. ७८ नं. को कानुनी प्रकृया पूरा गरी गराई ठहरे बमोजिम इन्साफ गर्नु भनी उपस्थित पक्ष विपक्षहरुलाई तारेख तोकी मिसिल म.क्षे.अ. मा पठाई दिने ठहर्छ भन्ने समेतको यस अदालत संयुक्त इजलासबाट मिति २०४५।२।२०।५ मा भएको फैसला बमोजिम मध्यमाञ्चल क्षेत्रीय अदालतबाट मिति २०४५।१२।९।४ मा भएको आदेशानुसार देवानी लगतमा दर्ता दायर भएको ।

११.    वादीबाट पेश भएको १९८४ साल माघ १४ गते रोज ६ को सक्कल कागज देखें सुनें । यसमा मेरो भएको व्यहोरा हामी समेतको सामुहिक गुठीलाई निजी गुठी भनी भाजुवीरले सट्टापट्टा राजीनामा छोडपत्र गर्दै आएकोले गुठी धर्मलोप भयो गुठीबाट हटक गरी ती सबै कागज बदर गरी पाउँ भनी वादी पक्षबाट मुद्दा गरी आउनु भएको छ । त्यो कुन जग्गा हो यस कागजबाट प्रष्ट हुन आएको छैन । भाजुवीरले छुट्टै खुशीले आफ्नो २ कित्ता जग्गा मध्ये निजी गुठीको खुशी भन्ने धोवीखोलाको ७।। जग्गालाई गुठी नभएको हाँडीगाउँको कोदोल भन्ने ६ सट्टा भर्ना दिई सट्टा पट्टाको कागज पारीत गरी २०३०।१०।४ मा निर्णय गराई आफ्नो दर्ताको धोवी खोलाको जग्गा मध्ये जोताहाको मात्र ११४० मोहीलाई दिई कहीँ जग्गाबाट राजीनामा गर्दै गई बाँकी रहेको ४० म छोरा अशोकवीर सिंहलाई ०३०।१०।१५ मा छोडपत्र पारीत गरी दिएको दुवै जग्गा गुठी हो भनी वादीको फिराद परेको भएपनि हाँडीगाउँको कोदोल भन्ने ६ जग्गा गुठी ठहर्दैन भनी का.जि.अ.बाट फैसला हुँदा वादीहरुले चित्त बुझाई बसेकोले सट्टापट्टा पारीत भएकोमा कुनै असर पर्न नआई राजीनामा छोडपत्र गरेका खुशीबु भन्ने ७।। जग्गा यो कागजमा नभएकोले यो कागजलाई सद्दे वा कीर्ते भनी नामाकरण गर्न वाध्यता नपरेको खुलस्त भैसकेको छ । मिसिल सामेल रहेको भूमि प्रशासन कार्यालयबाट भाजुवीरका नाउँमा जग्गा दर्ता गर्ने निर्णय गरेको २०३२।१०।८ को निर्णयको प्रतिलिपि र भाजुवीर बाँकी जग्गा ०३२।१०।१५ मा छोडपत्र पारीत गर्दा भिडाएको मोठमा नभएको नाम हेल्मारत्न समेत समावेश गरिएको भनी नाम थपाई मुद्दा गरी आउने विपक्षीको तर्फबाट यो कागज पनि जालसाजी खडा गरी ल्याउन सक्ने भएकोले सद्दे भनी भन्न सक्तिन । जालसाजी हो । सम्बन्धित व्यक्ति झिकाई सहिछाप जाँची निर्णय पाउँ । कहाँ बसी जालसाजी गरे भन्न सक्तिन । को को भई जालसाजी गरे भन्ने तर्फ मलाई थाहा छैन । लिखतमा लागेको सहिछाप कसको हो त्यो पनि मलाई थाहा छैन साक्षी र कारणीको नाम लिखत मै छ हाल तिनीहरु कहाँ कहाँ छन् मलाई थाहा छैन । कुल रत्न भाजुवीरको मृत्यु भइसक्यो साक्षीहरु जीवित छन् छैनन् मलाई थाहा छैन । सबूद प्रमाण केही छैन मिसिलबाटै बुझिपाउँ भन्ने समेत व्यहोराको प्र.अशोक वीरको वारेश पदमबहादुर नकर्मीले म.क्षे.अ.मा गरेको बयान ।

१२.   लिखतमा उल्लेखित गुठियारहरुको खुशीराजीबाट १९८४ ।१०।१४ मा गरी दिएको कागजलाई जालसाजी भनी प्र.को वारेस पदमबहादुरले गरेको बयान कागज सुने । सो कागजमा उल्लेखित ८ जना गुठियारहरुको खुशीराजीबाट खडा भएको सद्दे साँचो व्यहोराको कागज हो । जालसाजीबाट खडा गरे गराएको होइन । निजको बयान दावी झुठ्ठा हो । विवादित जग्गाको आफ्नो समेत हक देखाई लिउँला खाउँला भन्ने कुनियतले झुठ्ठा कुराको बयान गरेको हो । सबूद फिरादमा लेखिएका साक्षीहरु बुझी पाउँ भन्ने समेतको वादी स्वयम्भुरत्न तुलाधरको वारेस श्याम कृष्ण डंगोलले म.क्षे.अ.मा गरेका बयान ।

१३.   १९८४ सालको कागजलाई जालसाजी भनी प्रतिवादीले बयान गरे तापनि उक्त लिखतमा लागेको भाजुविरको सहिछाप कीर्ते भनी प्रतिवादीले किटानीसाथ भन्न लेख्न सकेको देखिँदैन । १९८४ सालको लिखत कागज तयार गर्दा कसले कसरी जालसाजी गरी लिखत कागज तयार गरेका हो सो कुरा पुनरावेदक प्रतिवादीले प्रमाणिक आधार देखाई बयान गर्न नसकेको र उक्त लिखत कागजमा विवादित वलम्बु गुठी खेत नभएबाट समेत उक्त लिखत वादी समेत मिली जालसाजी गर्नु पर्ने कारण समेत देखिँदैन तसर्थ १९८४ सालको लिखत कागज जालसाजी हो भन्ने पुनरावेदक प्रतिवादीको जिकिरलाई मान्यता दिन मिलेन । शुरुको सदर गरेको वा.अं.अ.को फैसला मिलेकै देखिादा मुनासिब ठहर्छ पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने मध्यमान्चल क्षेत्रीय अदालतबाट मिति २०४६।६।२९।१ मा भएको फैसला ।

१४.   मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४६।६।२९ को उक्त फैसलामा कानुनी त्रुटि हुँदा सो फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ र पुनरावेदनको सुनवाई भई म.क्षे.अ. समेतको फैसला बदर गरी पाउँ भन्ने प्रतिवादीको पुनरावेदनपत्र ।

१५.   भाजुवीरले गुठी विर्ता रैकरमा परिणत गरेको पर्चा उपर उजूर परेको देखिएन सामुहिक गुठी भन्ने कुराको दर्ता श्रेस्ता आदि प्रमाण पेश हुन नआएको हल्मारत्नको नाम कि.नं. ४ मा थपिएको भन्ने तर्फ निर्णय नगरेको कि.नं. ४ मा थपिएको भन्ने तर्फ निर्णय नगरेको कि.नं. २,३ मा भाजुवीर नाउँमा नापी भउको समेत हुँदा ती प्रमाणहरुको मूल्यांकन गरी निर्णय नगरेको र सामुहिक गुठीको हकदैया पुगेको नदेखि अ.बं. ८२ नं. गुठीको १६ नं. प्रमाण ऐन, २०३१ को दफा ५४ को त्रुटि देखिँदा पुनरावेदन गर्ने अनुमति दिइएको छ भन्ने यस अदालत संयुक्त इजलासबाट भएको आदेश ।

१६.    नियम बमोजिम मुद्दा पेशीसूचीमा चढी यस इजलास समक्ष पेश हुन आउको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको मिसिल समेत अध्ययन गरी पुनरावेदन प्रतिवादीका तर्फबाट उपस्थित विद्वान अधिवक्ताद्वय श्री पिताम्बर सिल्वाल र श्री शम्भु थापाले हदम्याद खिलाप गरी प्रस्तुत मुद्दाको निर्णय भएको छ नामसारी दर्ता गरे उपर रैकर परिणतमा दर्ता गरे उपर भू.प्र. को निर्णय सट्टापट्टाको लिखत समेत उपर म्यादभित्र उजुर परेको छैन । विवादित जग्गाहरु विभिन्न टुक्रामा कित्ताकाट भई घर समेत बनाई बसेकोमा घर बनाउनेको महलको म्यादभित्र उजुर परेको छैन । मेरा पक्षको जिकिर अनुसार उक्त जग्गामा घर बनेको छ छैन भन्ने कुराको अ.बं. १७१ नं. बमोजिम प्रकृया अपनाउनु पर्नेमा सो समेत नभएको र २०३७।५।४ को मिलापत्र समेतलाई ध्यान नदिई गरेको म.क्षे.अ.को त्रुटिपूर्ण फैसला बदर हुनु पर्दछ भन्ने र विपक्षी वादीका तर्फबाट उपस्थित हुनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरन तुलाधरले सामुहिक गुठी कायम हुने पालो नपाउने ठहर्‍याएको शुरुको इन्साफ मनासिब ठहराएको वा.अं.अ. को फैसला सदर गर्ने गरेको म.क्षे.अ.को फैसला मिलेको देखिँदा सदर हुनु पर्ने विपक्षीको पुनरावेदन जिकिर पुग्न सक्ने होइन भनी प्रस्तुत गर्नु भएको बहस सुनी निर्णयतर्फ विचार गर्दा मधयमाञ्चल क्षेत्रीय अदालतबाट भएको फैसला मिले नमिलेको के छ हेरी सो को निर्णय दिनु पर्ने देखिन आयो ।

१७.   यसमा विवादको वत्तिसपुतली गा.पं. वार्ड नं. ५(क) को कि.नं. २, ३ र ४ मा दर्ता भएको जग्गा गुठीको भन्नेमा दुवै थरीको मुख मिलेको छ वादीले यसलाई सामुहिक गुठीको हो भन्ने र प्रतिवादीले निजी गुठीको भनी जिकिर लिएको पाइन्छ । यो जग्गा  वादीले हिजाखुशीको जग्गासँग भिड्ने जग्गा होइन भनी जिकिर लिएकोमा प्रतिवादीले इन्कारी जिकिर लिन सकेको पाइँदैन । पक्षले हिजाखुशीको जग्गा १९५२ श्रावण सुदी १२ रोज ३ को भु.प्र.का. ले दिएको प्रतिलिपिबाट थकाली रत्न सिं समेत ११ जनाले आलो पालो गरी गुठी चलाई खाने भनी उल्लेख भएको र तत्कालिन मोहीहरुले राजीनामा गर्दा समेत सो गुठी जग्गालाई सामुहिक गुठी जनाई विभिन्न सालका राजीनामामा विभिन्न थकालीलाई बाली बुझाउने भनी उल्लेख गर्दै आएको र निजा खुशीका हेरामाया अग्नी शमशेर र त्यसपछि नूतन राज मोही देखिएको भई सो राजीनामाहरुबाट समेत सामुहिक गुठीको जग्गा देखिन आएको र गुठीयार मध्येका भाजुविरले मोही नूतनराज उपाध्याय उपर बाली मोही निष्काशन मुद्दा दिएकोमा विवादको जग्गाको अरु पनि गुठीयारहरु छन् भनी प्रतिवाद गरेको आधारमा २०२५।१२।३ मा सो प्रतिवाद जिकिरको समर्थन हुने गरी फैसला भएको मिसिल संलग्न फैसला प्रतिलिपिबाट देखिन आएको छ । सबैको सामुहिक हक लाग्ने गुठीको जग्गामा गुठीयार मध्येका कुनै कसैले रैकर पणित दर्ता गराएको छ भन्ने आधारमा अरु गुठियारको हक जान्छ भन्न मिल्ने हुँदैन । प्रतिवादीले निजी एकलौटी गुठीको हकको प्रमाण कुनै पेश गर्न सकेको देखिँदैन । मिसिल सामे ल रहेका मोहीका कबुलियत राजीनामाको लिखतहरु र १९८४ सालका लिखतहरु समेतबाट विवादको कि.नं. २।३।४ का जग्गाहरु सामूहिक गुठी हकको जग्गा देखिएकोले शुरु सदर गरेको वागमती अञ्चल अदालतको फैसला मनासिब ठहर्‍याएको म.क्षे.अ.को फैसला मिलेको देखिँदा मनासिब ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या .केदारनाथ उपाध्याय

 

इतिसम्वत् २०५१ साल आषाढ १४ गते रोज ३ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु