शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६००० - लिखत बदर हक कायम ।

भाग: ३७ साल: २०५२ महिना: भाद्र अंक:

निर्णय नं. ६०००   ने.का.प. २०५२ अङ्क ५

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह

माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ

दे.पु.नं. ........ ८४६

फैसला मिति:२०५२।१।२७।४

मुद्दा : लिखत बदर हक कायम ।

 

पुनरावेदक/प्रतिवादी:जिल्ला गुल्मी दरबार देवीस्थान गा.वि.स. वा.नं. ६ बस्ने परविर कार्कीको छोरा वर्ष २७ को हुम बहादुर कार्की ।

विरुद्ध

विपक्षी/वादी:जिल्ला गुल्मी दरबार देवीस्थान गा.वि.स. वा.नं. ५ बस्ने गिर बहादुरको छोरा वर्ष १५ को मोहन सिंह खत्री क्षेत्री ।

ऐ. बस्ने ऐ। को छोरा वर्ष १२ को लेख बहादुर खत्री क्षेत्री ।

ऐ.बस्ने ऐ. को छोरा वर्ष ८ को फर्से बाहदुर खत्री क्षेत्री ।

ऐ. बस्ने गिर बहादुरको श्रीमती वर्ष ३० को सीता देवी खत्री ।

 

परिवारमा २१ वर्ष नाघेकी स्वास्नी मात्र भए पनि स्वास्नीको मन्जुरी लिनुपर्ने आवश्यकता पर्ने ।

(प्र.नं. १४)

पुनरावेदक तर्फबाट:विद्वान अधिवक्ता श्री भ्रमण श्रेष्ठ

विपक्षी तर्फबाट :विद्वान अधिवक्ता श्री किरण कुमार शर्मा

अवलम्बित नजीरःX

फैसला

न्या. सुरेन्द्र प्रसाद सिंहःपुनरावेदन अदालत बुटवलबाट भएको मिति २०४९।८।२३ को फैसला उपर दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत पुनरावेदनको संक्षिप्त तथ्य एवं निर्णय यस प्रकार छ ।

२.  पति बाबु गिर बहादुरले अघि नै आफ्ना बाबुसँग अंश लिई छुट्टि भिन्न भै बस्नु भएको र हामीहरु छुट्टि भिन्न नभएका संगोलमा बसेको अवस्था अर्कि स्वास्नी पट्टिको छोरातर्फ लागि अंशमा हाम्रो हक मेटाउन ७ अंश लाग्ने पुरै सम्पत्ति हामीलाई थाहापता नदिई रु. १७५०० लेनदेन गरी बेदामी रु. ४५,५०० बढ थैली लेखी रु. ६३,००० को राजीनामा पास लिएको छु, यो घर जग्गामा तिमीहरु उठीजानु पर्छ, अब बस्न पाउँदैनौं भनी म सीता देवीसँग भनेकाले हाम्रो सल्लाह मंजुरी वेगर अंशमा हक मेटाउन २०४५।१०।१३ मा मा.पो.का. गुल्मीमा गै नक्कल सारी लिई हेर्दा उल्लेखित कि.नं. ५१६ को जग्गाको रु. २५,००० कि.नं. ५१७ को जग्गाको रु. ३८,००० मूल्य लेखि मेरो मात्र एकलौटी हक लाग्ने भन्ने व्यहोरामा उल्लेखगरी पति बाबु गिर बहादुर दिने हुम बहादुर लिने गरी हाम्रो हक मेटाउन बेदामी रु. ४,५०० बढी अंक लेखी हक निखन्ने २ अंशमा रु १३,००० अंक बढाई सो दुई अंशको बेदामी रु. १३,००० बाटै हामीहरुलाई बाधा परेकाले सो दुई अंशको रु. १३,००० मा उल्लेखित ७ अंशको ५ अंश लिखत बदर गराई पाउँ भन्ने समेतको फिरादपत्र ।

३.  फिराद दाविका राजिनामा बमोजिमको जग्गा गिर बहादुरले पैतृक सम्पत्ति विक्री गरी परेको धनबाट खरिद गरेको नभै प्र. गिर बहादुर शिक्षक पेशामा रही व्यापार विजनेशगरी कमाएको धनले कृष्णबहादुर दर्जीबाट राजिनामा पास गरी लिएको जग्गा हो । निजी आर्जन कमाईको सम्पत्ति गिरबहादुरले आफूखुस विक्री व्यवहार गर्न पाउने हुँदा फिरादीहरुको मन्जुरी लिन नपर्ने र फिरादी सीता देवी समेतको सल्लाह र सहमतिबाट मैले रु. ६३,००० प्र. गिर बहादुरलाई गनि बुझाई राजिनामा पास गरी लिएको हुँ । बादीहरुको अंश हक मेटाउने समेत कुनै बदनियतद्वारा राजिनामा लिएको होइन, वादी दावी बमोजिम लिखत बदर हुनुपर्ने होइन भन्ने समेत प्र. हुमबहादुर कार्कीको प्रतिउत्तरपत्र ।

४.  अंश लिएको जग्गा विक्री गरी सो बाट परेको रुपैया र अंश पाएको चल नगद सम्पत्तिबाट समेत अंचलजग्गा ०३८।७।२० मा होम बहादुर बस्नेतलाई बिक्री गरी सो अंश बिक्री गरेको रुपैयाबाट गोपाल सिंह सुवेदीबाट ०३९ सालमा ठूला पोखरा बजारमा घडेरी किनी सो घडेरी ०४१ सालमा चक्रपाणिलाई बिक्री गरी सो रुपैयाबाट ०४२।७।२६ मा कृष्ण बहादुरबाट जग्गा किनी बसेको थिए सो अंश कै रुपैयाबाट किनी आएका राजिनामामा उल्लखित जग्गाहरु जम्मा रु. ६३,००० मा हुम बहादुर लाई राजिनामा पास गरी दिएको हुँ हुमबहादुरलाई मैले पास गरी दिएका जग्गाहरु बाबुबाट मैले अंश लिई उक्त लेखिए अनुसार किनबेच गर्दै आएको पैतृक सम्पत्तिबाट खरिद गरेको जग्गा हुन, रु. १७,५०० लेनदेन गरेका हुन भन्ने सबै झुठ्ठा हो रु. ६३,००० मात्र लेनदेन गरेको हुँदा वादीको कोर्टफि जफतगरी विपक्षीहरुको फिराद दावीबाट फुर्सदपाउँ भन्ने समेत प्र. गिर बहादुर खत्रीको प्रतिउत्तरपत्र ।

५.  प्रतिवादी गिर बहादुर मेरो छोरा हुन । निजलाई मैले अंश दिएको जग्गा विक्री गरी हाल विक्री गरेको जग्गा राजिनामा गरी लिएका हुन । हाल बिक्री गरेको जग्गा पैतृक सम्पत्ति हो। गिर बहादुरको नाउँमा केही पनि जग्गा बाँकी छैन । वादी दावी बमोजिम लिखत बदर भै कहसफा हुनुपर्ने हो भन्ने अ.वं. १३९ नं. बमोजिम बुझिएका पूर्ण बहादुर खत्रीको बयान ।

६.  वादिहरुको बाबु लोग्ने प्रतिवादी गिर बहादुरले मिति २०४५।९।२३ गते घरखर्च गर्न वापत रु. ६३,००० थैलीमा आफ्नो पालामा आफूले खरिद गरेको जग्गा प्रतिवादी हुन बहादुरलाई बिक्री गरेको देखिएकोले लिखत बदर हुने ठहर्दैन । वादीको उक्त विक्री भएको जग्गा जमीनको साँधमा सन्धिसर्पन पर्ने अन्य जग्गा जमीन रहे भएको भन्ने पनि मिसिलबाट नदेखिएको हकसफा तर्फको समेत वादी दावी पुग्न सक्दैन भन्ने समेत शुरु गुल्मी जिल्ला अदालतको मिति २०४६।८।१५ गतेको फैसला ।

७.  शुरु जिल्ला अदालतको फैसला कानूनसंगत छैन । विवादित जग्गाको मुलश्रोत प्र. गिर बहादुरले आफ्नो बाबुबाट अंश पाएको सम्पत्ति नै हो, जुन कुरा अ.व. १३९ नं. बमोजिम बुझिएका पूर्ण बहादुरको बयानबाट पुष्टी भएको छ । विवादित घरजग्गा मध्ये ७ भागको ५ भाग हाम्रो हक कायम भई हामीले फिर्ता पाउने र बाँकी २ भाग घरजग्गामा आवत, जावत गर्न हामीलाई सन्धिसर्पन पर्ने जग्गा निखन्न दिनुपर्नेमा नपर्ने भनी गरिएको फैसला पूर्णरुपमा उल्टी गरि दावि बमोजिम इन्साफ पाउँ भन्ने समेत वादीहरुको पुनरावेदनपत्र ।

८.  शुरुले प्रतिवादी गिर बहादुर खत्रीको निजी आर्जन जग्गा हो भनी फैसलामा उल्लेखित निर्णय बीचारणीय हुँदा अ.वं. २०२ नं. बमोजिम प्रत्यर्थीलाई झिकाई आएपछि नियम बमोजिम पेश गर्नु भन्ने समेत तत्कालिन लुम्बिनी अंचल अदालतको मिति २०४७।९।१८ को आदेश ।

९.  यसमा प्रतिवादी हुम बहादुरलाई गिर बहादुरले लिखत गरी दिएको जग्गा गिर बहादुरको आर्जनको नभई अंशबाट पाएको पैतृक सम्पत्तिबाट बढे बढाएका सम्पत्ति देखिंदा अंशवण्डाको १९(१) बमोजिम मन्जुरी लिनुपर्ने अवस्था भएकोमा सो बमोजिम गरेको देखिएन । अंशवण्डाको १९(१) नं. बमोजिम आधा सम्म व्यवहार चलाउन विक्री गर्न पाउने र आधा लिखत बदर हुने ठहर्छ । वादि दावी नपुग्ने गरी गरेको शुरु इन्साफ सो हदसम्म नमिलेको केही उल्टी हुन्छ भन्ने समेत पुनरावेदन अदालत, बुटवलको फैसला ।

१०.  गिर बहादुर बाबुको एक्लो छोरा हुन । निजले बाबुबाट अंशवण्डा गरी अंश लिएको छैन । गिर बहादुर, वादी तथा गिर बहादुरको बाबु समेत मिलि विक्री गरेको सम्पत्ति फिर्ता लिन एकमत भएकाले सोही बमोजिम काम कुरा गरेका छन् । गिर बहादुरको बाबुले छोराले अंश लिई सकेको भनी मिथ्या कुरा बयान गरेका छन् । निज बाबु छोरा बीच अंशवण्डा भएको छैन र अंश वण्डा भनेको कागज मैले देख्न सुन्न पाएको पनि छैन । सो वण्डापत्र भनेको लिखत रजिष्ट्रेशन पनि भएको छैन । अंशबाट बढे बढाएको भन्ने कुरा पुष्टी हुन सकेको छैन । विवादको सम्पत्ति गिर बहादुरले मिति २०४२।७।२६ मा खरिद गरेको आफ्नु पालामा आर्जेको अंशवण्डाको १९(२) नं. अन्तर्गतको सम्पत्ति हो । त्यस्तो सम्पत्ति आफूखुस गर्न पाउने सोही नं. मा उल्लेख छ । यसमा अंशवण्डाको १९(१) आकर्षित हुने होइन । गिर बहादुरको आफ्नु पालामा आर्जेको सम्पत्ति उमेर नपुगेका नाबालक छोराको पनि मन्जुरी लिनुपर्ने भन्ने प्रकृतिको ठहर्याएको समेत बाट आधा बदर गर्ने गरेको पु.वे.अ. को फैसला त्रुटीपूर्ण हुँदा बदर गरी पाउँ भने समेत प्रतिवादी हुम बहादुर कार्कीको यस अदालतमा परेको पुनरावेदनपत्र ।

११.  यसमा पुनरावेदन अदालत बुटवलको फैसलाले गिरबहादुरले विक्री गरेको जग्गा मध्ये आधी अंशवण्डाको १९(१) बमोजिम लिखत सदर राखि आधि लिखत बदर गरेको देखिन्छ । आधि लिखत सदर हुने अवस्थालाई व्यवहार चलाउनलाई स्वीकृति लिनुपर्ने अवस्था देखाई सदर गरेको मान्नुपर्ने हुन्छ । विपक्षी वादि मध्येका मोहन सिंह, लेख बहादुर खत्री, फर्स बहादुर खत्री, राम बहादुर खत्री २१ वर्ष नपुगेका देखिंदा निजहरुको हकमा समेत लिखत बदर गर्ने गरेको पुनरावेदन अदालत बुटवलको फैसला नमिली फरक पर्ने देखिंदा अ.वं. २०२ नं. बमोजिम विपक्ष झिकाई नियम बमोजिम पेश गर्नु भन्ने समेत यस अदालत, संयुक्त इजलासको मिति २०५१।७।२ को आदेश ।

१२.  नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत पुनरावेदनमा पुनरावेदकको तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री भ्रमण श्रेष्ठले अंश वापत पाएको जग्गा विक्री गरेको होइन । अंश प्राप्त गरेको भन्ने भनाई मिसिलबाट देखिदैंन । विक्री गरेको सम्पत्ति आफ्ना पालामा आर्जेको सम्पत्ति हो अंश पाएको सम्पत्तिबाट बढे बढाएको सम्पत्ति भनी गलत तथ्य उल्लेख गरेको पु.वे.अ. बुटवलको फैसला त्रुटिपूर्ण छ । आफ्नु पालामा किनेको सम्पत्तिको हक छान कसैको मन्जुरी लिनुपर्ने हुँदैन भन्ने अंशवण्डाको १९(२) नं. मा व्यवस्था भएको छ । तसर्थः दर्ता बदर गर्न नहुनेमा आधा दर्ता बदर गर्ने गरी गरेको पु.वे.अ. को फैसला त्रुटीपूर्ण हुँदा सो फैसला बदर गरिनु पर्दछ भनी बहस प्रस्तुत गर्नुभयो । विपक्षीको तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री किरण कुमार शर्माले विपक्षी गिर बहादुरले बाबुसँग अंशवण्डा गरी अंश लिनु भएको हो । सोही अंशबाट प्राप्त सम्पत्ति बेच विखन गरी सोहीबाट बढे बढाएको सम्पत्ति संगोलका अंशियारको स्वीकृति नलिई हकछाडी दिनु हुँदैन । अंशवण्डाको १९(१) नं. को कानूनी व्यवस्था अनुसार आधा दर्ता बदर हुने नै हुँदा पु.वे.अ. ले सोही अनुसार गरेको निर्णय त्रुटीपूर्ण छैन । नाबालक भनिएका वादीहरुको हकको सम्पत्तिको संरक्षण गर्नको लागि दर्ता बदर हुनु पर्ने आवश्यकता छ नाबालक स्वयम मुद्दा गर्न नसक्ने त्यस्तोको हक संरक्षण गर्नुपर्ने हुन्छ । नाबालकको समेत हक लाग्ने सम्पत्ति हुँदा पु.वे.अ. को ईन्साफ त्रुटीपूर्ण छैन सदर गरिनु पर्दछ भनी बहस प्रस्तुत गर्नुभयो ।

१३.  प्रस्तुत पुनरावेदन अदालत बुटवलको ईन्साफ मिलेको छ छैन सो कुराको निर्णय दिनुपर्ने हुन आयो ।

१४. यसमा प्रतिवादी गिर बहादुरले निजको पिता पूर्ण बहादुरबाट अंश वापत केही जग्गा प्राप्त गरेको भन्ने मिसिलबाट देखिन्छ । गिर बहादुरले अंश वापत पाएको जग्गा २०३८ सालमा तोम बहादुरलाई विक्री गरेको, त्यसपछि २०३९ सालमा गोपाल प्रसाद सुवेदीसँग जग्गा खरिद गरेको र सो जग्गामा २०४१ सालमा चक्रपाणी शर्मालाई विक्री गरी दिएको तथा २०४२ सालमा कृष्ण बहादुर दमाईसँग खरिद गरी लिएको जग्गा नै हुम बहादुरलाई २०४५।९।२३ मा राजीनामा गरी दिएको देखिन्छ । यसप्रकार प्रतिवादी गिर बहादुरले अंशबाट प्राप्त जग्गा विक्री गरी सोही विक्री गरेको रकमबाट पटक पटक खरिद विक्री गर्दै हुम बहादुर कार्कीलाई राजिनामा गरी दिएको जग्गा पनि सोही रकमबाट आर्जन गरेको देखिन आयो । गिर बहादुरसँग निजले अंश वापत प्राप्त गरेको सम्पत्ति अन्यत्र छ भन्ने देखिने कुनै प्रमाण नहुनुको साथै विवाद परेको जग्गा बाहेक अन्य सम्पत्ति गिर बहादुरसँग भएको पनि देखिंदैन । हुम बहादुरलाई विक्री गरी दिएको जग्गा गिर बहादुरको आफ्नो स्वआर्जनबाट खरिद गरेको भन्न सकिने सबुद पेश हुन सकेको पाइएन । यसरी सो जग्गा गिर बहादुरको आर्जन नभई अंशबाट पाएको पैतृक सम्पत्तिबाट बढे बढाएको सम्पत्ति देखिन्छ । त्यस्तो अंचल सम्पत्तिको सम्बन्धमा अंशवण्डाको १९(१) नं. बमोजिम आधिसम्म व्यवहार चलाउनलाई स्वास्नी छोरा वा विधवा बुहारीको मन्जुरी नभए पनि आफु खुशगर्न पाउँछ । आधाभन्दा बढी भने व्यवहार चलाउनै परेपनि २१ वर्ष नाघेका स्वास्नी छोरा र विधवा बुहारीहरुको मन्जुरी लिई मात्र खर्च गर्न हुन्छ । मन्जुरी नलिई गरेको सदर हुँदैन भन्ने कानूनी व्यवस्था छ । जग्गा विक्री गर्दा उपरोक्त कानूनी व्यवस्था बमोजिम गिर बहादुरले मन्जुरी लिएको पाइएन । गिर बहादुरको परिवारमा २१ वर्ष नाघेकी स्वास्नी मात्र भए पनि स्वास्नीको मन्जुरी लिनुपर्ने आवश्यकता पर्ने हुन्छ । उपरोक्त कारण प्रमाणाट वादी दावीको लिखत मध्ये अंशवण्डाको १९(१) नं. बमोजिम आधासम्म व्यवहार चलाउनको लागि विक्री गर्न पाउने र आधा लिखत बदर हुने ठहराएको पुनरावेदन अदालत, बुटवलको ईन्साफ मनासिव हुँदा सदर हुने ठहर्छ । पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियम बमोजिम बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. गोविन्द बहादुर श्रेष्ठ

 

इति सम्वत २०५२ वैशाख २७ गते रोज ४ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु