शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७०६० - लेनदेन

भाग: ४४ साल: २०५९ महिना: बैशाख अंक:

निर्णय नं. ७०६०       ने.का.प.२०५९             अङ्क १/२

 

पूर्ण इजलास

माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा

माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय

माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी

संवत् २०५७ सालको दे.पु.ई.नं........ ६९

फैसला मितिः २०५८।११।२३।५

 

मुद्दाःलेनदेन ।

 

पुनरावेदक

प्रतिवादीः का.जि.का.म.न.पा. वडा नं. २३ ताहाचल बस्ने सीताराम तिमिल्सिना

विरुद्ध

विपक्षी

वादीः ऐ.इचंगु. नारायण गाउँ विकास समिति वडा नं. ७ बस्ने भक्तबहादुर तामाङ

 

§  करारको लिखत भन्दा अलग्गै वैना रकमको लेनदेन सम्वन्धी लिखतको विषयमा प्रस्तुत फिराद पर्न आएको देखिएवाट करारको लिखतको शर्त सम्वन्धमा फिराद परको मान्न नमिल्ने।

§  वैना कागज अन्तर्गतको विषयमा पनि करार ऐन, २०२३ वमोजिम नालेस गर्नुपर्ने भन्न मिल्ने नहुंदा लेनदेन व्यवहारको ४० नं. अन्तर्गत फिराद गरेकोलाई अन्यथा भन्न नमिल्ने ।

(प्र.नं. १४)

 

पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी र विद्वान अधिवक्ता श्री मुरलीप्रसाद शर्मा

विपक्षी वादी तर्फबाटः विद्वान अधिवक्ताव्दय श्री शंभु थापा तथा श्री इश्वरी भटृराई

अवलम्वित नजिरः

         

फैसला

          न्या.हरिप्रसाद शर्माः सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) अन्तर्गत यस इजलासमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ :

          २.  विपक्षी अन्यायवाला सीतारामले ग्रिण्डलेज वैंकको ऋणमा लिएको ना.अ.ख. ४८८४ र ना.अ.ख. ४८८९ का दुई रात्री बसहरु म फिरादीलाई विक्री गर्ने प्रस्ताव ल्याएकोले निजको विश्वासमा परी उक्त बसहरुको मूल्य रु.२४,००,०००। कायम गरी १ वर्ष भित्रमा किस्तावन्दीमा मूल्य चुक्ता गर्ने शर्तमा रु.४,००,०००। (चारलाख) म फिरादीवाट लिई मिति २०५०।३।९ मा वैनावट्टा कागज समेत भएको थियो । विपक्षीले ग्रिण्डलैज बैंकको ऋण चुक्ता नगरेसम्म उल्लेखित बसहरु विपक्षीको नाममा आउन नसक्ने र कुनै पनि प्रकारले सुक्री बिक्री गर्ने विपक्षीले नसक्ने हैसियत उल्लेखित वसहरुको सम्बन्धमा रहे नभएको अवस्थामा उल्लेखित वसहरु जाल परिपञ्च रचि मलाई विश्वासमा पारी चारलाख रुपैया म बाट लिई उक्त रुपैयां हडप पार्ने उद्देश्य लिई मसंगबाट विपक्षीले वैनापट्टा र करारनामा गरेको व्यहोरा थाहा हुन आएकोले उल्लेखित नम्बरका बसहरु मलाई जस्तै अन्य उनाउ व्यक्तिलाई  समेत वैनावट्टा र शर्तनामा समेत गरी रुपैया लिएको जानकारी हुन आएकोले रु.४,००,०००।मध्ये रु.३३,०००।मैले प्राप्त गरी सकेको र वांकी सांवा रु ३,६७,०००। र आजका मितिसम्मको व्याज रु.२३,०२४। समेत र वैनावट्टाका कागज भएको मितिले फैसला हुँदासम्मको सांवा व्याजसहित भराई पाउँ भन्ने फिराद पत्र ।

          ३.  मिति २०५०।३।९ को करारको शर्त नं. ८ अन्तर्गत वादीलाई रकम दिनुहोस् भन्दा उल्टै फिराद दिएको हो । उल्लेखित शर्त अन्तर्गत शुरुमा लिनु दिनु गरेको रु.४,००,०००।फिर्ता नगर्ने र पहिलो किस्ताको रु ३,००,०००। (तिनलाख) कम्पनीलाई दिलाउने शर्तमा बसहरु फिर्ता लिई मिति २०५०।३।९ गतेको सम्झौता करार र हामी दुवै पक्षको मनोमानी खुसीराजीले निष्क्रिय गरिएको हो । विपक्षीले २०५०।३।६ देखि २०५०।६।३० सम्म दुईथान बस आफैले चलाई लाखौं रुपैया कमाई मलाई शर्त बमोजिम रकम समेत नदिई पचाउने नियत गरेकोले विपक्षीले पेश गरेको अन्य लिखत सम्बन्धमा अ.वं. ७८ नं. बमोजिम नामाकरण गर्ने अधिकार सुरक्षित नै हुँदा विपक्षीको दावी वमोजिम मैले कुनै रकम व्याज सहित तिर्नु व्यहोर्नु नपर्ने हुँदा झुठ्ठा फिराद खारेज गरी पाउँ भन्ने प्रतिउत्तर पत्र ।

          ४.  वादी भक्तवहादुरले प्रतिवादी सीतारामवाट सांवा रु तीनलाख सतसठ्ठीहजार रुपैयासम्म दिलाई भराई पाउने ठहर्छ । लिखितमा व्याज उल्लेख नभएको हुँदा लेनदेन व्यहोराको ६ नं. बमोजिम ब्याज तर्फको वादी दावी पुग्न नसक्ने ठहर्छ भन्ने समेत व्यहोराको काठमाडौं जिल्ला अदालतको मिति २०५३।६।१४ गतेको फैसला ।

          ५.  मिति २०५०।३।९ को लिखीत नै करार सम्वन्धी भएकोले लेनदेन व्यवहारको ४० अन्तर्गत फिराद लाग्न सक्दैन खारेजभागी छ । म प्रतिवादी उपर करार भंग गरेको प्रमाणित गर्न सकेको स्थिति छैन । करार भंग गरी हानी पुर्‍याइएको भनि क्षतिपूर्ति दिलाई पाउँ भन्ने फिराद नभै किस्तावन्दी वापत लिएको रकम फिर्ता माग गर्ने अधिकार विपक्षीलाई छैन । सवूद प्रमाणको मूल्यांकन गरी शुरु फैसला वदर गरी न्याय पाउँ भन्ने प्रतिवादीको पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदन पत्र ।

६.  यसमा वादीले फिराद साथ पेश गरेको लिखतको प्रकृति र व्यहोरावाटै दुवै पक्ष वीच भएको करार देखिएको र प्रत्यर्थी वादीले पेश गरेको करारको दफा ४ मा उल्लेख भएको व्यहोरावाटै बस निज वादीले बुझी संचालन गरेको भन्ने देखिएको र सो तर्फ विवेचना नगरी भराई दिने ठहर गरेको शुरुको इन्साफ फरक पर्न सक्ने देखिंदा अ.वं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ वमोजिम विपक्षी झिकाई पेश गर्नु भन्ने पुनरावेदन अदालत,  पाटनको मिति २०५४।३।३ को आदेश ।

          ७.  करार निष्क्रिय भएपछि सो करारमा रकम भुस हुने भन्ने वा रकम फिर्ता गर्न नपर्ने भन्ने जस्ता शर्त पनि उल्लेख हुन नसकेको अवस्थामा रु ३३,०००। वादीले फिर्ता प्राप्त गरी सकेको पनि देखिंदा यो पुनरावेदक प्रतिवादी सितारामबाट बांकी सांवा रु ३,६७,०००। भरी पाउने ठहर्‍याएको शुरु काठमाडौं जिल्ला अदालतको मिति २०५३।६।१४ गतेको फैसला मिलेको देखिंदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनको मिति २०५४।८।४ को फैसला ।

          ८.  पुनरावेदन  अदालतको उपरोक्त फैसलामा चित्त बुझेन । करार भएको विषयमा करार ऐन बमोजिम हदम्याद लागु भई बमोजिम फिराद दायर हुनुपर्नेमा लेनदेन व्यवहारको ४० नं. अन्तर्गत लेनदेनमा फिराद लिई इन्साफ गर्ने गरेको पुनरावेदन अदालतको फैसला त्रुटीपुर्ण हुँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) बमोजिम दोहोर्‍याउने निस्सा प्रदान गरी पुनरावेदन र जिल्ला अदालतको फैसला बदर गरी पाउँ भन्ने समेत प्रतिवादीको यस अदालतमा परेको निवेदन पत्र ।

          ९.  पक्ष विपक्षी वीच करार भएकोमा करार ऐन बमोजिम हुनुपर्नेमा भइरहेको करारको विषयलाई पन्छाई लेनदेन व्यवहारको महल अन्तर्गत फिराद दर्ता भई सोही अनुरुप मुद्दा किनारा गरेको पुनरावेदन अदालत, पाटनको फैसला करार ऐन, २०२३ को व्याख्यात्मक त्रुटि रहेको देखिंदा न्याय प्रशासन ऐन, २०४८ को  दफा १२(१) को खण्ड (क) अन्तर्गत दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरिएको छ भन्ने यस अदालतवाट भएको आदेश ।

१०.  प्रस्तुत मुद्दाको वादी दावी करारको शर्तको आधारमा परेको देखिदैन । लेनदेन व्यवहार भएको भन्ने भरपाइवाट देखिन्छ । वादीले बुझाएको रकम वुझाउनै नपर्ने तथा बुझाई सकेको भन्ने सवुद प्रमाण प्रतिवादीवाट आउन सकेको छैन । तसर्थ वादी दावी बमोजिम सांवा रकम भराई पाउने ठहर्‍याएको शुरु काठमाडौं जिल्ला अदालतको इन्साफलाई सदर गरेको पुनरावेदन अदालत, पाटनको   फैसला मनासिव छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी प्रस्तुत रायमा असहमत हुनु भएको हुँदा सर्वोच्च अदालत नियमावली २०४९ को नियम ३ को उपनियम (१) को खण्ड (क) वमोजिम प्रस्तुत मुद्दा पूर्ण इजलाशमा पेश गर्नु भन्ने समेत व्यहोराको माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझीको राय ।

११.  करारको प्रतिफल स्वरुप उव्जेको भरपाई लिखत सम्वन्धी विवादमा करार ऐन, २०२३ अन्तर्गत नै फिराद आउनु पर्ने हुँन्छ । तर प्रस्तुत मुद्दामा सो बमोजिम नभई लेनदेन व्यवहारको ४० नं. अन्तर्गत फिराद दर्ता भई मुद्दा किनारा भएको देखिंदा सो लेनदेन व्यवहारको ४० नं. आकर्षित हुने नै देखिंदैन । तसर्थ करारको विवादमा करार ऐन, २०२३ अन्तर्गत नालेश नआएको अवस्थामा लेनदेन व्यवहारको ४० नं. बमोजिम नालेश लिई इन्साफ गरेको शुरु काठमाडौं जिल्ला अदालत र पुनरावेदन अदालत, पाटनको फैसला बदर भई फिराद दावी खारेज हुने ठहर्छ । लेनदेन व्यवहार अन्तर्गतको नालेशका हक इन्साफ गर्ने गरेको पुनरावेदन अदालत पाटनको फैसला मनासिव ठहर्‍याउनु भएको माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझीको रायसंग सहमत हुन नसकेकोले र सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१) (क) बमोजिम प्रस्तुत मुद्दा पूर्ण इजलाशमा पेश गर्नु भन्ने समेत ब्यहोराको माननीय न्यायाधीश श्री केदारप्रसाद गिरीको राय ।

१२.  नियमानुसार पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीको तर्फवाट विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी र विद्वान अधिवक्ता श्री मुरलीप्रसाद शर्माले लेनदेन करार बमोजिम भएको छ । साहु आसामी बीच लेनदेन भएको होइन । लिखत करार ऐन अन्तर्गत हो भन्ने कुरामा विवाद नभएपछि त्यस्तो लिखतको सम्वन्धमा लेनदेन व्यवहार अन्तर्गत नालिस गर्न मिल्दैन । लेनदेन अन्तर्गतको कागज भए आय टिकट टांसेको हुनुपर्नेमा सो समेत नभएकोले त्यस्तो कागजवाट इन्साफ गर्न मिल्दैन । अतः करार ऐन अन्तर्गतको विषयमा सो अन्तर्गत नालेस नदिई लेनदेन व्यवहारको ४० नं. अन्तर्गत नालेस दिएको र सो नालिसवाट इन्साफ गरेको शुरु काठमाडौं जिल्ला अदालत तथा पुनरावेदन अदालतको फैसला समेत त्रुटिपूर्ण हुँदा वदर भै फिराद खारेज हुने ठहर्‍याएको माननीय न्यायाधीश श्री केदारप्रसाद गिरीको राय सदर हुनु पर्दछ भन्ने र प्रत्यर्थी वादीका तर्फवाट विद्वान अधिवक्ता श्री शंभु थापा र श्री ईश्वरी भट्टराईले प्रतिवादीले वैना दिएको तथ्यलाई स्वीकार गरी वैना रकम मध्ये केही रकम वादीलाई फिर्ता समेत गरी सकेको स्थितिमा फेरि त्यस्तो वांकी रकम फिर्ता गर्नु पर्दैन भन्न मिल्दैन । करारको लिखत र बैना दिएको भरपाई लिखत छुट्टाछुट्टै छ । दुईवटा लिखत छुट्टाछुट्टै भएको र भरपाईको विषयमा के हुने भनि करारको लिखतमा उल्लेख नभएको अवस्थामा दुइवटै उपचार उपलव्ध हुँदा त्यस्तो उपचार पक्षले रोज्न पाउने नै हुन्छ, करारमा वैना पच हुने भन्ने शर्त उल्लेख नभएकोमा वैना फिर्ता गर्दिन भन्न मिल्दैन । प्रस्तुत फिराद करारको मूल लिखत अन्तर्गत परेको नभई वैना रकम लेनदेन भएको छुट्टै भरपाई कागजको सम्बन्धमा परेको हुनाले फिरादमा इन्साफ गरी वादी दावी पुग्ने ठहर्‍याएको शुरु काठमाडौं जिल्ला अदालत तथा पुनरावेदन अदालत पाटनको फैसला सदर हुने ठहर्‍याएको माननीय न्यायाधीश श्री कुष्णजंग रायमाझीको राय सदर हुन पर्दछ भनि गर्नु भएको वहस समेत सुनियो । विद्वान कानून व्यवसायीहरुको उल्लेखित वहस जिकिर समेत सुनी निर्णय तर्फ बिचार गर्दा प्रस्तुत मुद्दामा पुनरावेदन अदालत पाटनवाट भएको फैसला मिलेको छ छैन ? पुनरावेदकको पुनरावेदन जिकिर  पुग्न सक्छ सक्तैन भन्ने सम्वन्धमा निर्णय दिनु पर्ने देखियो ।

१३.  यसमा वादीले प्रतिवादीसंग रु २४ लाखमा दुई वटा रात्रीवस खरीद गर्ने करार भै रु चारलाख प्रतिवादीलाई वैना दिई भरपाई समेत गरिदिएकोमा सो बस हस्तान्तरण हुन नसकी प्रयोग गर्न नपाएकोले बैना रकम फिर्ता माग्दा रु ३३,०००। मात्र फिर्ता दिई वांकी रकम फिर्ता गर्न इन्कार गरेकोले सो सांवा व्याज समेत भराई पाउँ भन्ने फिराद दावी र वादीले २०५०।३।६ देखि २०५०।६।३० सम्म दुई वटा वस चलाई सो को रकम समेत करारका शर्त वमोजिम मलाई दिनुपर्नेमा उल्टै नदिई अन्याय गरेकोले दावी वमोजिम मैले कुनै रकम दिनुपर्ने होइन भन्ने प्रतिउत्तर जिकिर रहेको पाइन्छ । प्रस्तुत मुद्दामा शुरु काठमाडौं जिल्ला अदालतले वादी दावी बमोजिमको रकम प्रतिवादीवाट भराई पाउने ठहर्‍याएको र सो फैसलालाई पुनरावेदन अदालतले सदर गरेकोमा सो उपर यस अदालतमा प्रतिवादीको मुद्दा दोहोर्‍याई पाउं भनी निवेदन परेकोमा मुद्दा दोहोर्‍याउने निस्सा भै संयुक्त इजलासमा पेश हुँदा संयुक्त इजलाशका माननीय न्यायाधीशहरु वीच रायमा मतैक्य हुन नसकी प्रस्तुत मुद्दा यस इजलास समक्ष पेश हुन आएको देखिन्छ ।

१४. वादी प्रतिवादी बीच २०५०।३।९।४ मा भएको लिखत हेर्दा वादीले प्रतिवादीवाट रु.२४,००,०००। (चौविस लाख) मा दुई वटा वस खरीद गरी लिने सम्बन्धमा विभिन्न शर्तहरु उल्लेख गरी करारको लिखत भएको देखिन्छ । सो करारको लिखतको प्रकरण २ मा वस खरिद विक्री हुँदाको वखत २०५०।३।६ मा तय भएअनुसार २०५०।३।९ गते वादीले प्रतिवादीलाई रु ४,००,०००। (चारलाख) बुझाई सकेको र बांकी रु २०,००,०००। (विस लाख) एक वर्ष भित्र किस्तावन्दीमा बुझाई चुक्ता गर्न मंजुर भएको भन्ने व्यहोरा उल्लेख भएको पाइन्छ । करारको लिखतमा रु ४ लाख वादीले बुझाई सकेको व्यहोरा उल्लेख भए पनि सो करार बमोजिम बस हस्तान्तरण हुन नसकेमा सो बुझाएको रकम के हुने भन्ने सम्बन्धमा कुनै व्यहोरा उल्लेख भएको पाईदैन । सो चार लाख रुपिया लेनदेन गरेको सम्वन्धमा प्रतिवादीले वादीलाई छुट्टै भरपाई गरी दिएको मिसिल संलग्न कागजवाट देखिएकोले वस खरिद विक्रि गर्ने सम्वन्धी करारको लिखत भन्दा छुट्टै कागजबाट सो चार लाख लिनु दिनु गरेको देखिन आयो । करार हुनु पूर्व नै उक्त रकमको लेनदेनको कागज भएको र सो लेनदेनको कागजलाई करारको लिखतमा नै उल्लेख गरेकोवाट करारको लिखत र बैनावट्टाको लिखतलाई दुई छुट्टाछुट्टै लिखतको रुपमा रहेको मान्नुपर्ने देखियो । करारको लिखत वमोजिम लेनदेन भएको र सो लिखतको शर्त सम्बन्धी विषयमा प्रस्तुत फिराद परेको नभई करारको लिखत भन्दा अलग्गै वैना रकमको लेनदेन सम्वन्धी लिखतको विषयमा प्रस्तुत फिराद पर्न आएको देखिएवाट करारको लिखतको शर्त सम्वन्धमा फिराद परको मान्न मिलेन । करारको लिखतको विषयमा नभई वैना रकमको लेनदेन भएको अलग्गै वैना कागज अन्तर्गत फिराद पर्न आएकोलाई त्यस्तो वैना कागज अन्तर्गतको विषयमा पनि करार ऐन, २०२३ वमोजिम नालेस गर्नुपर्ने भन्न मिल्ने नहुंदा लेनदेन व्यवहारको ४० नं. अन्तर्गत फिराद गरेकोलाई अन्यथा भन्न मिलेन । तसर्थ प्रतिवादीले वादीवाट दावी बमोजिमको रकम लिएकोमा विवाद नभएको र सो रकम वादीलाई फिर्ता गरेको भन्ने नदेखिएकोले यस अवस्थामा वादी दावी वमोजिम सांवा दिलाई भराई पाउने ठहर्‍याएको शुरु फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको इन्साफ मनासिव ठहर्‍याएको माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझीको राय सदर हुने ठहर्छ । मिसिल नियमानुसार गरी वुझाई दिनु ।

 

उक्त रायमा हामी सहमत छौं ।

 

न्या.हरिश्चन्द्रप्रसाद उपाध्याय

न्या.मीनबहादुर रायमाझी

 

इति संवत् २०५८ साल फाल्गुण २३ गते रोज ५ शुभम्..............

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु