शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७०६२ - उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरी पाउँ

भाग: ४४ साल: २०५९ महिना: बैशाख अंक:

निर्णय नं. ७०६२   ने.का.प.२०५९             अङ्क १/२

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी

माननीय न्यायाधीश श्री रामनगिना सिंह

संवत २०५५ सालको रिट नं. ... ३७४१

आदेश मितिः  २०५८।३।२२।६

 

विषयः उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरी पाउँ ।

 

निवेदकः जि. वाग्लुङ पैयुपाटा गा.वि.स. वडा नं. ४ स्थायी घर भै साझा यातायात, पुल्चोकबाट गैर कानूनी रुपमा नोकरीबाट हटाइएको वर्ष ३७ को वरिष्ठ परिचालक झलकवहादुर सापकोटा  

विरुद्ध

विपक्षीः श्री साझा यातायात, केन्द्रीय कार्यालय पुल्चोक, ललितपुर समेत

 

§  सजाय गर्न लागिएको कर्मचारीलाई पहिलो पटक आरोपको किटान गरी स्पष्टीकरण सोध्नु पर्ने र सो स्पष्टीकरण प्राप्त भएपछि निजको सफाइको वारेमा न्यूनतम २ पटक स्पष्टीकरण सोधी सजाय गर्न लागिएको कर्मचारीलाई सफाइको मौका दिनुपर्ने ।

§  कानूनले स्पष्ट व्यवस्था नगरेको अवस्थामा समेत सफाइको सवूद पेश गर्ने मनासिव मौका नदिई सजाय गर्न नमिल्नेमा कानूनले नै स्पष्ट कार्यविधि तोकेको अवस्थामा सो कार्यविधिको अवलम्वन गर्नै पर्ने 

§  कार्यविधिको अक्षरसः पालन नभई नोकरीबाट हटाउने गरेको निर्णय तथा काम कारवाहीलाई कानूनसम्मत र प्राकृतिक न्यायको सिद्धान्त अनुकूल भएको भन्न नमिल्ने ।

(प्र.नं. १०)

 

निवेदक तर्फबाटः विद्वान अधिवक्ताद्वय श्री विश्वकान्त मैनाली र श्री मतिराज भुसाल

विपक्षी तर्फबाटः विद्वान अधिवक्ताद्वय सतिशकृष्ण खरेल र श्री देवेन्द्र झा

अवलम्वित नजिरः २०५२ सालको रि.नं.२२७९, निर्णय मिति २०५६।११।२५ र २०५५ सालको रि.नं. ३८८७ निर्णय मिति २०५६।४।२८

 

आदेश

          न्या.कृष्णजंग रायमाझीः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(२) वमोजिम यस अदालतको क्षेत्राधिकार भित्र पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः

          २.  म निवेदक विपक्षी साझा यातायात संस्थामा मिति २०४०।८।८ मा ज्यालादारी परिचालक पदमा नियुक्ति पाई मिति २०४२।६।२५ मा सोही पदमा स्थायी नियुक्ति पाई आफ्नो पदीय दायित्व इमान्दारीपुर्वक निर्वाह गरेबाट २०५२।८।२१ देखि वरिष्ठ परिचालक पदमा वढुवा भई कार्य गरी आएको एक निम्नस्तरको कर्मचारी हुँ । संस्थाका केही कर्मचारीहरुले गाडीको नयां स्पेयर पार्टसपुर्जाहरु अनधिकृत रुपमा लुकाएको सम्वन्धमा कर्मचारीले आवाज उठाउदा विपक्षी होमनाथ शर्मा अध्यक्ष रहेको ७ सदस्यीय छानविन समिति गठन भई प्रतिवेदन समेत   कार्यकारी निर्देशक समक्ष पेश भई उक्त सामानहरु रहेको वाकसमा प्रतिनिधिहरुको रोहवरमा सिलवन्दी गरी राखिएको थियो । पछि उक्त समितिका प्रतिनिधिहरुको रोहवर विना नै उक्त वाकसहरु खोल्ने काम हुँदा केही कर्मचारीहरुले आवाज उठाउँदा व्यवस्थापनबाट प्रहरी वोलाई कर्मचारीहरुलाई गिरफ्तारी गरियो । उक्त दिन निवेदक उपत्यका वाहिर रही ०५५।३।३२ मा फर्की कार्यालयमा गई कर्मचारीहरु संग कुरा गरिरहेको अवस्थामा प्रहरी वोलाई मलाई समेत गिरफ्तार गरियो । म प्रहरी हिरासतमा रहेकै अवस्थामा २०५५।४।१ गते एउटै चिठीको खाममा नोकरीबाट निलम्वन गरिएको र स्पष्टीकरण सोधेको दुईवटै पत्रहरु वुझाइयो । प्रहरीको हिरासतमा रहेकोले स्पष्टीकरण दिन असंभव समेत भएको अवस्थामा ०५५।४।८ को निर्णय अनुसार मलाई नोकरीबाट हटाइएको पत्र समेत वुझाइयो । २०५५।४।१७ मा प्रहरी हिरासतवाट मुक्त भएपछि गैरकानूनी हिरासतमा राखी नोकरीबाट समेत हटाइएको सम्वन्धमा तत्काल साझा यातायात नियमावली, २०३९ को नियम ७.५ वमोजिम संचालक समिति समक्ष पुनरावेदन गरेकोमा २०५५।९।७ मा पुनरावेदन जिकिर पुग्न नसक्ने निर्णय गरी ०५५।९।२८ मा मलाई जानकारी गराइयो । २०५५।४।८को नोकरीबाट हटाउने निर्णय एवं सो निर्णयलाई सदर गर्ने गरी २०५५।९।७ मा संचालक समितिले गरेको निर्णय वदर गराउने अन्य वैकल्पिक उपचारको अभावमा यस अदालतको असाधारण अधिकारक्षेत्र अन्तर्गत रिट निवेदन लिई उपस्थित भएको छु ।

          ३.  संस्थाद्वारा निवेदक उपर लगाइएको आरोप कपोलकल्पित एवं पूर्णतः झुठ्ठा हो । छानविन समितिमा वसेको र वाकस खोलिएको विषयमा कर्मचारी गिरफ्तारीमा परेको  सम्वन्धमा कुरा गरेको विषय आरोपको आधार वन्न सक्दैन । नियमावलीको नियम ७.१ मा कुनै कर्मचारीलाई सजाय गर्दा उचित र पर्याप्त कारण हुनुपर्ने कानूनी व्यवस्था भएकोमा निवेदकलाई नोकरीबाट हटाउनु पर्ने सम्मको आधार र कारण पत्रबाट खुल्दैन । खाली व्यक्तिगत पूर्वाग्रहको कारणबाट हचुवाको भरमा झुठा आरोप लगाई सफाइ एवं स्पष्टीकरण समेत गर्ने मौका नदिई प्रहरी हिरासतमा राखी अचानक नोकरीबाट हटाएको पूर्णतः गैरकानूनी छ । विपक्षीहरुका काम कारवाही र निर्णय साझा यातायात नियमावली, २०३९ को नियम ७.९(क) मा सजाय पाउने कर्मचारीलाई दुईपल्ट सफाइ एवं स्पष्टीकरण पेश गर्ने मौका दिनुपर्ने व्यवस्था रहेकोमा सो र आरोप लागेको कर्मचारीलाई कम्तिमा २ पटक स्पष्टीकरण माग्नु पर्ने भन्ने यस अदालतबाट प्रतिपादित सिद्धान्त एवं सुनुवाईको सिद्धान्त विपरीत छन् । साथै नियुक्ति गर्ने अधिकारीले वर्खास्त गर्न पाउने भन्ने सिद्धान्तको विपरीत नायव कार्यकारी निर्देशकले नोकरीबाट हटाउने कार्य गरेको अनधिकृत समेत रहेको स्पष्ट छ ।

 

४.  तसर्थ निवेदकलाई नोकरीबाट हटाउने ०५५।४।८ को निर्णय र सो उपर पुनरावेदन गरेकोमा सोही निर्णयलाई नै सदर गरेको संचालक समतिको २०५५।९।७ को निर्णय समेत नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११(१), (२), धारा १२(२) (ङ) तथा साझा यातायात नियमावली, २०३९ को नियम ७.४, ४.७, ६.(२), ७.९(क) को विपरीत भएकोले उपरोक्त निर्णयहरु लगायतका सम्पूर्ण काम कारवाहीहरु उत्प्रेषणको आदेशद्वारा वदर गरी निवेदकलाई साविकमा काम गरिरहेको पदमा पुनर्वहाली गरी खाइपाई आएको सम्पूर्ण तलव, भत्ता, सुविधा समेत दिनु भनी विपक्षीहरुका नाउँमा परमादेश समेत जारी गरी पाउँ भन्ने समेत व्यहोराको निवेदन ।

          ५.  विपक्षीहरुबाट लिखित जवाफ मगाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने समेतको यस अदालतबाट जारी भएको कारण देखाउ आदेश ।

          ६.  विपक्षीको रिट निवेदनको सम्पूर्ण जिकिर तथ्यहीन तथा निराधार छ । मिति २०५५।३।३२ का दिन निवेदकद्वारा भएको संस्थाप्रतिको अमर्यादित कार्यबाट संस्थाका प्रमुख स्तव्ध भै मिति ०५५।४।१ का दिन कार्यकारी निर्देशकवाट निजलाई निलम्वन गरी सोही मितिमा नियम ७.४.४ वमोजिम संस्थाको दैनिक कार्य संचालनमा वाधा गरी संस्थाको अहित हुने काम गर्नु भएकोले नियमको ७.१(ङ) वमोजिम २ दिन भित्र स्पष्टीकरण पेश गर्नु हुन साझा यातायात नियमावली, २०३९ को ७.९(क) वमोजिम सूचित गरिनुका साथै उक्त म्यादभित्र स्पष्टीकरण पेश हुन नआएमा साझा यातायात नियमावली वमोजिम कारवाही हुने व्यहोराको जानकारी निवेदकलाई यस संस्थाबाट प्रदान गरियो । निवेदकले उक्त पत्र वुझी अटेर गरी स्पष्टीकरण पेश नगरी चुप लागेर वसेकोले संस्था प्रमुखको हैसियतले मिति २०५५।३।३२ गतेको दिन साझा यातायात केन्द्रीय कार्यालयमा घटेको घटनाका सम्वन्धमा संलग्न भै प्रमुख नाइकेको भुमिका निर्वाह गरी साझा यातायात नियमावली, २०३९ को नियम ७.१(ङ) वमोजिम तपाईलाई यस साझा यातायातको नोकरीबाट किन नहटाउने भनी मिति २०५५।४।१ को पत्र मार्फत स्पष्टीकरण माग गरिएकोमा निजवाट स्पष्टीकरण पेश हुन नआई अभियोग प्रमाणित हुन आएकोले ०५५।४।८ को निर्णय अनुसार ऐ. नियम ७.४.४ वमोजिम संस्थाको अहित हुने काम गर्नु भएकोले ऐ.नियम ७.१.(ङ) वमोजिम नोकरीबाट हटाइएको हो । त्यस उपर संचालक समिति समक्ष पुनरावेदन गर्नु भनी पुनरावेदनको म्याद समेत प्रदान गरिएकोमा पुनरावेदन परी संचालक समितिले पुनरावेदकहरुको पुनरावेदनमा मूल्याकंन गरी कार्यकारी निर्देशकले गरेको ०५५।४।८ को निर्णय मनासिव ठहर गरेको हो । साझा यातायात नियमावली, २०३९ को परिच्छेद ७ को ७.९(क) अनुरुप ऐ. नियमको ७.४.४ वमोजिमको अपराध गरी संस्थाको दैनिक कार्य संचालनमा वाधा गरी संस्थाको अहित हुने कार्य गर्नु भएकोले ऐ.नियम ७.१.(ङ) वमोजिम स्पष्टीकरण माग गरी नोकरीबाट हटाइएको कारवाही नियम ७.६.२ वमोजिम नियुक्ति दिने अधिकारीबाट नै ऐ. नियम ७.९(क) वमोजिम स्पष्टीकरण एवं सफाइको मौका प्रदान गरी गरिएको हो । त्यसको जानकारी दिने कार्य सम्म नायव कार्यकारी निर्देशकबाट भएकोलाई अनधिकृत भन्न मिल्ने होइन । तसर्थ यस साझा यातायात कार्यालयको काम कारवाहीवाट विपक्षीको संविधान तथा अन्य ऐनद्वारा संरक्षित हकको प्रचलनमा कुनै वाधा नपुर्‍याएकोले रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत व्यहोराको विपक्षीहरुको संयुक्त लिखित जवाफ ।

७.  नियम वमोजिम पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदनमा निवेदक तर्फका विद्वान अधिवक्ताद्वय श्री विश्वकान्त मैनाली र श्री मतिराज भुसालले साझा यातायात नियमावली, २०३९ ले कर्मचारी माथि कारवाही गर्दा अपनाउनु पर्ने सम्वन्धमा गरेको प्रक्रियाको पालन नगरी झुठा आरोपमा प्रहरी हिरासतमा थुनामा राखी स्पष्टीकरण दिनै नसक्ने अवस्थामा पारी एउटै मितिमा निलम्वन र स्पष्टीकरणको पत्र थमाई पुनः स्पष्टीकरण नसोधी निवेदकको आफ्नो भनाई समेत राख्ने अवसरबाट समेत वंचित गरी ०५५।४।८ मै नोकरीबाट हटाउने गरी भएको साझा यातायातका कार्यकारी निर्देशकको निर्णय र सो निर्णयलाई नै सदर गरेको संचालक समितिको निर्णय गैर कानूनी, पूर्वाग्रही र घोर अन्यायपुर्ण हुँदा उक्त निर्णयहरु उत्प्रेषणको आदेशद्वारा वदर गरी साविककै पदमा वहाल गर्ने परमादेश समेत जारी हुनु पर्छ भनी र विपक्षी तर्फका विद्वान अधिवक्ताद्वय सतिशकृष्ण खरेल र श्री देवेन्द्र झा ले साझा यातायात नियमावली, २०३९ को कानूनी हैसियत नभएकोले सो नियमावली वमोजिमको हक यस अदालतबाट प्रचलन गर्न मिल्दैन । नियमावली कानूनी हैसियतकै भएको मानिएको अवस्थामा पनि साझा यातायात केन्द्रीय कार्यालयबाट निवेदकका विरुद्ध गरिएका काम कारवाही नियमसम्मत नै हुँदा माग वमोजिमको आदेश जारी नभै खारेज हुनुपर्छ भनी गर्नु भएको वहश समेत  सुनियो ।

          ८.  आज निर्णय सुनाउन तारेख तोकिएको प्रस्तुत रिट निवेदनमा उपरोक्त वहश वुंदा समेतमा ध्यान दिंदै निवेदन जिकिर, लिखित जवाफ कथन एवं कारवाहीसंग सम्वन्धित मिसिल समेत अध्ययन गरी हेर्दा यसमा निवेदकको माग वमोजिमको आदेश जारी गर्न मिल्ने नमिल्ने भन्ने सम्वन्धमा निर्णय गर्नुपर्ने हुन आयो ।

          ९.  यस्मा निवेदकलाई साझा यातायात नियमावली, २०३९ समेतले गरेको कानूनी कार्यविधिको अवलम्वन नगरी सफाइको सवुद पेश गर्ने अवसरबाट वंचित गरी नोकरीबाट वर्खास्त गरिएको काम कारवाही एवं निर्णय त्रुटीपूर्ण हुँदा सो सम्वन्धी सम्पुर्ण निर्णय तथा काम कारवाही वदर गरी साविककै पदमा वहाल रहने गरी आदेश गरी पाउँ भन्ने निवेदन जिकीर देखिन्छ । साझा यातायात नियमावली, २०३९ को कानूनी हैसियत नहुँदा सो नियमावली वमोजिमको अधिकार यस अदालतबाट प्रचलन हुन नसक्ने भन्ने विपक्षीतर्फका कानून व्यवसायीको वहस जिकीर लिएको अवस्था हुँदा सर्वप्रथम साझा यातायात नियमावली, २०३९ को वैधताको वारेमा निर्णय दिनुपर्ने हुन आयो । सहकारी ऐन, २०४८ को परिच्छेद ४ को दफा १२ मा विनियम सम्वन्धी व्यवस्था भई ऐ.को उपदफा (१) मा यो ऐन र यस ऐन अन्तर्गत वनेका नियमहरुको अधीनमा रही संस्था वा संघले आफ्नो कार्य संचालन गर्न विनियम बनाउन सक्नेछ भन्ने उल्लेख भएको  पाइन्छ । सोही ऐनको दफा २० मा कर्मचारी तथा सल्लाहकारहरुको नियुक्ति गर्न सक्ने व्यवस्था भै ऐ.को उपदफा (२) मा त्यस्ता कर्मचारी समेतको पारिश्रमिक तथा सेवाका अन्य शर्तहरु संम्वन्धित संस्थाको विनियममा उल्लेख भए वमोजिम हुनेछ भनी तत्सम्वन्धी विनियम बनाउन सक्ने अधिकार प्रदान गरेको देखिन्छ । सोही ऐनकै दफा ४९ को खारेजी र वचाउ शीर्षक अन्तर्गत उपदफा  (१) मा साझा संस्था ऐन, २०४१ खारेज भई उपदफा (२) को व्यहोरावाट सहकारी संस्था ऐन, २०१६ खारेज भई त्यस अन्तर्गत भएको काम कारवाहीलाई निरन्तरता दिएको देखिने साझा संस्था ऐन, २०४१ समेत अन्तर्गत दर्ता भएको संघ वा संस्था यसै ऐन वमोजिम दर्ता भएको मानिने भन्ने देखिन आउँछ । साझा यातायात लिमिटेड सोही साझा संस्था ऐन, २०४१ अन्तर्गत दर्ता भएको भन्ने कुरा निवेदक तथा विपक्षी तर्फका विद्वान अधिवक्ताको भनाई रहेको   छ । साझा संस्था ऐन, २०४१ को दफा २७ मा यो ऐन र यस ऐन अन्तर्गत वनेको नियमको प्रतिकूल नहुने गरी संस्था वा संघले आफ्नो कार्य संचालन गर्न विनियमहरु वनाउन सक्ने व्यवस्था भई सोही ऐनको अधिकार प्रयोग गरी साझा यातायात लि. वाट साझा यातायात विनियम वनाई लागु गरेको पाइन्छ । सो वाट समेत साझा यातायात लिमिटेड साझा संस्था ऐन, २०४१ वमोजिम व्यवस्थित भएको भन्ने देखिन्छ । हाल सो ऐनको निरन्तरता सहकारी ऐन, २०४८ ले दिएको हुँदा साझा यातायात लिमिटेड समेत सहकारी ऐन, २०४८ वमोजिम नै संचालित र निर्देशित रहेको देखिन आएको छ । सो सहकारी ऐनको दफा १२ ले विनियम बनाउन सक्ने अधिकार सम्वन्धित संघ संस्थालाई प्रदान गरेको देखिन्छ । कानून व्याख्या सम्वन्धी ऐन, २०१० को दफा २(ड) अनुसार ऐन वमोजिमको अधिकार प्राप्त गरी बनाएको विनियम र सोही विनियमको अधिकार प्रयोग गरी बनाएको नियमलाई कानूनको रुपमा मान्नु पर्ने हुन्छ । साथै साझा संस्था ऐन, २०४१ खारेज भएकोले सो वमोजिम वनेका नियम विनियम लागु नहुने हो कि भन्नलाई कानून व्याख्या सम्वन्धी ऐन, २०१० को दफा २४ ले ऐन खारेज भएपछि सो ऐन अन्तर्गत वनेका नियम, विनियमको सम्वन्धमा खारेज भएका ऐन वमोजिम भएका नियुक्ति, सूचना, आदेश, योजना, नियम, फाराम वा उपनियम फेरि वनेको ऐनको कुरासंग नवाझेसम्म जारी नै रहने र नयां वनेका ऐनमा लेखिए मुताविक भएका नियुक्ति, सूचना, आदेश, योजना, नियम, फाराम वा उपनियम नियमले नहटाएसम्म नयां वनेको ऐन वमोजिम नै वनेको वा निकालिएको संझिने छ भन्ने व्यवस्था समेत गरेको देखिंदा साझा संस्था ऐन, २०४१ को दफा २७ वमोजिम साझा यातायात विनियम बनी साझा यातायात नियमावली, २०३९ सोही विनियमको नियम १० को (६) र (ज) ले दिएको अधिकार प्रयोग गरी बनेको पाइदा सो नियम समेत उपरोक्तानुसार कानून नै हुन आउँछ । साथै यसै साझा संस्था ऐन वमोजिम दर्ता भई सहकारी ऐन, २०४८ वमोजिम संचालित हुने साझा प्रकाशन केन्द्रीय कार्यालय, साझा स्वास्थ्य सेवा, सहकारी संस्था लिमिटेड समेतका नियम र विनियमहरुलाई कानून सरह मान्नु पर्ने भनी यस अदालतबाट २०५२ सालको रिट नं. २२७९ निवेदक रमेश जोशी विरुद्ध साझा प्रकाशन केन्द्रीय कार्यालय समेत र २०५५ सालको रिट नं. ३८८७ निवेदक नारायणराज गुरुघराना विरुद्ध साझा स्वास्थ्य सेवा सहकारी संस्था लि. समेत भएका उत्प्रेषणयुक्त परमादेश मुद्दा समेतमा क्रमशः २०५६।११।२५ र २०५६।४।२८ मा व्याख्या भएको समेत पाइयो । तसर्थ उल्लिखित आधारमा साझा यातायात नियमावली, २०३९ कानून होइन भन्ने विपक्षी विद्वान अधिवक्ताहरुको जिकिरसंग सहमत हुन सकिएन ।

          १०.  अव सफाइको सवूद पेश गर्ने मौका नदिई निवेदकलाई नोकरीबाट वर्खास्त गरिएको भन्ने जिकिरतर्फ विचार गर्दा साझा यातायात नियमावली, २०३९ को परिच्छेद ७ को नियम ७.१(ङ) वमोजिम उचित र पर्याप्त कारण भएमा संस्थाका कर्मचारीलाई नोकरीबाट हटाउने वा वर्खास्त गर्ने अधिकार ऐ. नियम ७.६.२ वमोजिम नियुक्त गर्ने अधिकारीलाई हुने र नियम २.२(ग) ले निवेदकको नियुक्ति गर्ने अधिकारी संस्था प्रमुख हुने भन्ने व्यवस्था गरेको देखिन्छ । निवेदन लेखाई, लिखित जवाफ र विपक्षी तर्फका कानून व्यवसायीको भनाई अनुसार साझा यातायातको संस्था प्रमुख भन्नाले कार्यकारी निर्देशक भन्ने रहेकोले निवेदकलाई नोकरीबाट हटाउने वा वर्खास्त गर्ने अधिकारी कार्यकारी निर्देशक भएको देखियो । नियमावलीको नियम ७.९(क) मा सजाय दिन पाउने अधिकारीले कुनै कर्मचारीलाई सूचना दिई आफ्नो सफाइ पेश गर्ने मौका दिनु पर्छ । यस्तो सूचना दिंदा निज माथि लगाइएको आरोप स्पष्ट रुपले किटिएको हुनुपर्छ । त्यसपछि निज कर्मचारीसंग निजको सफाइको वारेमा एउटा स्पष्टीकरण मागिनेछ । जो कि सजाय दिने अधिकारीले तोकेको उचित अवधि भित्र पेश गर्नुपर्छ भन्ने कार्यविधिको व्यवस्था भएको पाइन्छ । निवेदक उपर संस्थाका कार्यकारी निर्देशकले ०५५।४।१ मा आरोप र सजाय प्रस्ताव गरी स्पष्टीकरण सोधेको र सो स्पष्टीकरणको जवाफ नदिएको भन्ने आधारमा २०५५।४।८ मा निवेदकलाई नोकरीबाट हटाइएको भन्ने व्यहोराको जानकारी गराएको भन्ने मिसिल संलग्न कागजात एवं विपक्षीको लिखित जवाफ समेतबाट देखिन आउँछ । संस्थाको नियमले सजाय गर्न लागिएको कर्मचारीलाई पहिलो पटक आरोपको किटान गरी स्पष्टीकरण सोध्नु पर्ने र सो स्पष्टीकरण प्राप्त भएपछि निजको सफाइको वारेमा दोश्रो स्पष्टीकरण सोध्नु पर्ने भन्ने न्यूनतम २ पटक स्पष्टीकरण सोधी सजाय गर्न लागिएको कर्मचारीलाई सफाइको मौका दिनुपर्ने वाध्यात्मक व्यवस्था गरेको देखिन्छ । तर प्रस्तुत विवादमा निवेदकलाई एकपटक मात्रै आरोप र सजाय एकैचोटी प्रस्ताव गरी स्पष्टीकरण सोधिएको देखिंदा साझा यातायात नियमावली, २०३९ को नियम ७.९(क) ले निर्धारीत गरेकै कार्यविधि पनि पुरा भएको मान्न मिलेन । कानूनले स्पष्ट व्यवस्था नगरेको अवस्थामा समेत सफाइको सवूद पेश गर्ने मनासिव मौका नदिई सजाय गर्न नमिल्नेमा कानूनले नै स्पष्ट कार्यविधि तोकेको अवस्थामा सो कार्यविधिको अवलम्वन  गर्नै  पर्ने  हुन्छ ।  निवेदकलाई एकपटक भन्दा वढी स्पष्टीकरण सोधी जवाफ नदिएको भन्ने पनि विपक्षीको भनाई छैन । साझा यातायात नियमावली, २०३९ को नियम ७.९(क) वमोजिमको कार्यविधिको अक्षरसः पालन नभई निवेदकलाई नोकरीबाट हटाउने गरेको विपक्षीहरुको निर्णय तथा काम कारवाहीलाई कानूनसम्मत र प्राकृतिक न्यायको सिद्धान्त अनुकूल भएको भन्न मिल्ने भएन । तसर्थ निवेदकलाई नोकरीबाट हटाउने गरी भएको साझा यातायात लि.का. कार्यकारी निर्देशकको मिति २०५५।४।८ को निर्णय र सोही निर्णयलाई सदर गरेको ऐ.को संचालक समितिको ०५५।९।७ को निर्णय एवं सो निर्णय वमोजिम भए गरिएका सम्पूर्ण काम कारवाही उ