शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४८९० - ज्यान मार्ने उद्योग

भाग: ३६ साल: २०५१ महिना: श्रावण अंक:

निर्णय नं. ४८९०     २०५१, ने.का.प.      अङ्क ४

 

पूर्ण इजालस

सम्माननीय प्रधान न्यायाधीश श्री विश्वनाथ उपाध्याय

माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह

माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ

माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा

माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल

 

सम्बत २०४३ सालको फौ.पु.इ.नं. ३५

फैसल मितिः२०५०।११।१२।५

मुद्दा :ज्यान मार्ने उद्योग

 

निवेदक प्रतिवादीःजिल्ला कालिकोट खिम गाउँ विकास समिति वडा नं. ५ बस्ने महेन्द्रराज बम

विरुद्ध

विपक्षी, बादीःअज बहादुरको जाहेरीले श्री ५ को सरकार ।

§  ज्यान मार्ने उद्योग सवै दृष्टिबाट ज्यान सम्बन्धी अपराध नै हुन्छ, सिर्फ ज्यान भने मर्न गएको हुँदैन । अभियुक्तले ज्यान मार्न भनी गरेको कार्य तेश्रो तत्वको अप्रत्याशित रुपमा अपर्झट उपस्थिति वा विद्यमान हुन गएको कारणले सम्पन्न हुन नपाएको हुन्छ । प्रतिवादी आफैले मर्ने सम्मको कार्य नगरी छाडी गएको वा पैले देखि नै मार्ने कार्य गर्न नसक्ने अवस्था विद्यमान रहेको स्थिति हुँदैन । तेश्रो तत्वको अप्रत्याशित हसताक्षपले गर्दा ज्यान मार्ने कार्य गर्नमा अभियुक्तले कुनै कसर नराखे पनि त्यो परिणाम निक्लन पाएको हुँदैन । ज्यान मार्ने उद्योगको अपराधको सम्बन्धमा पनि ज्यान मार्ने अपराध जसे शंकाविहीन तरिकाले प्रमाणित हुन सक्ने प्रमाणिक प्राचुर्यताको अवस्था विद्यमान हुनु पर्ने ।

(प्र.नं. ३४)

§  ज्यान मार्ने उद्योग अपराधका निर्माणक तत्वहरुले एकातिर ज्यानमाराको अपराध र अर्को तर्फ कुटपिटको कसुरसँगको भिन्नता प्रष्ट पार्दछन् । ज्यानमाराको अपराधमा पनि ज्यान मार्ने मनसाय (Mens rea) र सो मनसायको साकारीकरण गर्ने कार्य (Actusrea) समान रुपले विद्यमान हुन्छ तर ज्यान मार्ने उद्योगको अपराधको निर्माणको तेश्रो तत्वको अप्रत्याशित अपर्झट उपस्थिति विद्यमान नहुने हुँदा ज्यानमाराको अपराधबाट भिन्न बनाउँदछ । कुटपिटको कसुर र ज्यान मार्ने उद्योगको अपराधको बीचको समानता पीडित पक्षको आङ ज्यूमा घा चोट पर्नु हो । कुटपिटमा घा चोटको प्रकृति सांघातिक पनि हुन सक्ने कुरा कुटपिटको महलको २, , ७ र ९ नं. समेतबाट पुष्टि हुन आउँदछ । ज्यान सम्बन्धी महलको ११ र १२ नं. को अन्तिम बाक्यांसले यो कुरा अझ प्रष्ट गर्दछ । कुटपिटको कसुरसँगको यही समानताले गार्द कुटपिटमा चल्नु पर्ने मुद्दा ज्यान मार्ने उद्योगमा चल्न पुग्न गएको अवस्था पर्न जान्छ । त्यस्तो अवस्थामा ज्यान मार्ने उद्योगको रुपमा चलेको मुद्दा तत्कालिन सरकारी मुद्दा सम्बन्धी ऐन, ०१७ को दफा ७ (क) अनुसार दुनियावादी कुटपिट मुद्दामा रुपान्तर हुन सक्ने कानूनी व्यवस्था भएको पाइने ।

(प्र.नं. ३७)

§  तेश्रो तत्वको अपर्झटको उपस्थितिले ज्यान मार्ने उद्योगलाई एकातिर ज्यानमारा र अर्कोतिर कुटपिटको अपराधसँग मुख्य विभेदक तत्व बनाएको हुन्छ । तेश्रो तत्वको अप्रत्याशित उपस्थितिले रोकावट उत्पन्न गरेको हुनु पर्छ भन्ने कुरा ज्यान सम्बन्धी महलको १५ नं. मा सो काम गर्दा पनि ज्यान भने मर्न पाएको रहेनछभन्ने अभिब्यक्तिबाट पुष्टि हुन आउँछ । किनकि यस तेश्रो तत्वलाई अंगिकार नगरेमा ज्यान मार्ने उद्योगको अवस्था मात्र नरही अपराधजन्य कार्य सम्पन्नताको अवस्था हुन जान्छ । तसर्थ यी तत्वहरु ज्यान मार्ने उद्योग सम्बन्धी कानूनमा ब्यक्त वा अब्यक्त रुपले सोझै वा घुमाउरो रुपले अन्तर्निहित हुन्छन् । ज्यान मार्ने उद्योग मुद्दाको कसुर कायम गर्नको लागि तेश्रो तत्वको आकश्मिक उपस्थिति अनिवार्य हुने भएकोले यो तेश्रो तत्व ज्यान मार्ने उद्योग मुद्दाको मौलिक विशेषता हो ।

(प्र.नं. ३८)

§  कुनै अन्य काबु बाहिरको तत्वले निजलाई रोकेको नभई निज आफैले दर्शनकला लडेपछि छाडेको देखिन आएबाट दुई थरीका बीच मुखामुख भनाभन हुँदा रीसको झोकमा सामुन्ने मुख आँखाको भागमा सानु गाउँघरमा भिरी हिड्ने खुकुरीको टुप्पादारले घोच्ने आदि कार्य सम्म गरेकोबाट मार्ने नियतले नै सांघातिक चोट पुर्‍याएको नहुँदा मार्ने सम्मको मनसाय इवि थियो भन्न नमिल्ने ।

(प्र.नं. ४०)

निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिबक्ता श्री कृष्ण प्रसाद पन्त, विद्वान अधिबक्ता द्वय श्री राधेश्याम अधिकारी तथा विद्वान अधिबक्ता श्री शिवराज अधिकारी ।

विपक्षी बादी तर्फबाट : विद्वान सरकारी अधिबक्ता श्री बलराम के.सी.

अवलम्बित नजीर : x

 

फैसला

न्या. लक्ष्मण प्रसाद अर्याल : यस अदालतको पूर्ण इजलासबाट मिति ०४४।५।२३ मा भएकोमा फैसला दोहर्‍याई पाउँ भनी निवेदकले श्री ५ महाराजाधिराजका हजुरमा विन्तिपत्र चढाउनु भएको बसमा ब्यहोरा साँचो भए यसमा लेखिएको त्यस अदालतको पूर्ण इजलासबाट छिनिएको ज्यान मार्ने उद्योगको मुद्दाको मिसिल झिकी पूर्ण इजलासबाट दोहर्‍याई हेरी कानून बमोजिम निर्णय गर्नु भन्ने हुकुम बकस भै आए बमोजिम पूर्ण इजलासको लगतमा दर्ता भई निर्णयार्थ यस इजलासमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त ब्यहोरा यस प्रकार छ :

२. २०३७ साल आषाढ ३२ गतेको बेलुका छोरी दर्शनकला र वर्ष १० को छोरा सूर्य वहादुर जाँफे खोला नजिकको घट्टमा गहुँ पिश्न गएको बेलामा जाँफे हुलाकको ऐजेन्ट पदबाट महेन्द्र राज बमलाई हटाउन लगाई छोरी दर्शनकलालाई ऐजेन्ट बनाए भन्ने रिसले परेग बहादुर बम प्रभूजंग बम, महेन्द्रराज बम, सिरजंग बम, सुरजीत बम, संख बम, नन्द बहादुर बम, नागमल धामी आई घेरा दिई प्रभूजंग, सिरजंग सुरजिम ३ जनाले यिनी दुईजनालाई मार्नै पर्छ भन्ने बचन महेन्द्र राजलाई दिई निज महेन्द्र राजले हातमा लिएको खुकुरीले छोरी दर्शनकलालाई हानी मार्न बाँच्नको दोसाध गरेकोले निज छोरी दर्शनकललाई उपचार गर्न जुम्ला अस्पतालमा राखिएको र छोरा सूर्य वहादुर मरे या जीवित के छ पत्ता नर्भ वेपत्ता भएकोले कारवाही गरी दिनु भन्ने निर्देशन गरी पाउँ भन्ने समेत व्यहोराको उपसभापति अज बहादुर बमको क.अं. एस.पी. कार्यालय जुम्लामा परेको मिति २०३७।४।५।१ को जाहेरी दरखास्त ।

३. २०३७ साल आषाढ ३२ गते दिदी दर्शनकला र म पिठो पिश्न जाँफे घट्टमा गएको अवस्था प्रभूजंग बम, सुरजीम बम, महेन्द्र बम, जना ३ सो घट्टमा आई महेन्द्र बमले यस घट्टमा पिसी हुलाकमा बसी काम गरुँला भन्ने ठानेको होलिस हैन ? भनी मेरो दिदीलाई भन्दा दिदी दर्शनकलाले हुलाकको काम गर्ने त भए भन्ने जवाफ गर्दा खुब एजेन्टको काम गर्ने भए भन्ने भएकी हैन भनी निज महेन्द्रबाट आफ्नो कम्वरमा भिरेको खुकुरी झिकी मेरो दिदी दर्शनकलाको मुखमा हानी घोची रगतपक्षगरी ब्यहोस तुल्याउँदा म डराई घट्टको कुनामा जाँदा महेन्द्र बम म बसेको ठाउँमा आई खुकुरीको टुप्पाले मेरो वाँया आँखामा काटी रगत पक्ष हुँदा मलाई छाडी दिदी भए तर्फ लाग्दा म सो घट्टको उज्यालो आउने खोपीवाट निस्की भागी जंगलतर्फ जाँदा मेरो गाउँको नाम नचिनेको मानिससँग भेट भइ निजले मलाई रुम भन्ने ठाउाको रतिमान बुढाको गोठमा पुर्याई दिंदा सो ठाउँमा ८/९ दिन बसी घरबाट मेरो भिनाजु धनमल शाही समेतका मानिस लिंन आउँदा निजहरुका साथ घरमा आएको हुँ भन्ने वर्ष १० को सूर्य बहादुर बमले निजको बाबु जाहेरवाला अज बहादुरको रोहवरमा मिति २०३७।४।२८।३ मा गरी दिएको कागज ।

४. २०३७ साल आषाढ २६ गते देखि म मेरो ससुराली सिजावडको गाउँमा छु । ससुरा मुन बहादुर शाहीलाई धान चोरी मुद्दामा पक्राउ गरेको र त्यसको सर्जमिन ऐ ३१ गते हुँदा सो जर्ममिनमा म समेत बसेको छु र साउन २ गते मात्र म मेरो घर खिम गाउँमा आएको हुँ । वारदातको दिन म आफ्नो गाउँ घरमा नै छैन । जाहेरवाला अज बहादुरलाई यस अदालतमा लुटपिट मुद्दा दिएको रिस इवीबाट मेरो नाममा समेत ज्यान मार्न उद्योग गर्यो भन्ने जाहेरी दिएको हुनु पर्दछ म समेतको मद्दत भई जाहेरवालाको छोरी दर्शनकलालाई ज्यान मार्नको उद्योग गरे गराएको छैन भन्ने समेत ब्यहोराको प्रभूजंग बमको मिति २०३७।५।१६।२ मा प्रहरी समक्ष इन्कारी बयान ।

५. २०३७ साल आषाढ ३२ गतेका दिनमा खिन गाउँमा र साँफे भन्ने ठाउँमा समेत म गएको नभै सल्ली कोटको मेरो घरमा बसेको छु । म समेत भई उपसभापति अज बहादुर बमको छोरी दर्शनकलालाई समेत खुकुरीले हानी ज्यान मार्ने उद्योग गरे गराएको छैन अज बहादुर बमले म समेतका नाममा लुटपिट र जग्गा मुद्दा दिएको र सोही रिसईवीले हामीहरुको नाम समेत ज्यान मार्ने. उद्योग गर्यो भनी उजुरी दिएको हुनुपर्दछ भन्ने समेत उप प्र पंच परेग बहादुरले मिति २०३७।५।१६।२ मा प्रहरीमा गरेको इन्कारी बयान कागज ।

६. २०३७ साल आषाढ ३२ गतेका दिन म मेरो परिवार समेत सल्लीकोटको घरमा छु । सो दिन कुनै कसैको साथमा लागि जाफे भन्ने ठाउँमा म समेत आएको छैन । म समेत भई महेन्द्र राजको साथमा लागि जाफे भन्ने घट्टमा गै दर्शनकलाको ज्यान मार्ने उद्योग मैले गरेको छैन । अज बहादुर बमले म उपर लुटपिट मुद्दा दिएको र सोही रिसबाट मेरो नाममा समेत ज्यान मार्ने उद्योग गर्यो भन्ने जाहेरी दिएका हुन भन्ने समेतको शंख बहादुर बमको मिति २०३७।५।१६।२ को प्रहरीमा गरेको वयान कागज ।

७. मिति २०३१ सालमा जाफे भन्ने ठाउँमा अतिरिक्त हुलाक रहदा सो हुलाकको एजेन्ट पदमा महेन्द्र राज बमले कामकाज गरिरहेको २०३५ साल चैत्र महिनामा निज महेन्द्र राज बमलाई एजेन्ट पदबाट खारेज गरी सो एजेन्ट पदमा मलाई नियुक्ति गरिएको थियो । यस कुराको रिसईवी महेन्द्र राजले म र मेरा वावा उपर लिएका थिएँ । २०३७ साल आषाढ ३२ गते भाई सूर्यबहादुर बमलाई साथमा लिई जाँफे भन्ने घट्टमा गहुँ पिसी राखेको अवस्थामा बेलुका अं. ६ बजेको समयमा महेन्द्र राज बमले हातमा नांगो खुकुरी समाती आएको परेग बहादुर बम, सिरजित बम, सुरजिम बम, प्रभू जंग बम समेत ढोकामा बसेका शंख बम, नन्द बहादुर बम, नागमल धामी समेत तीनजना घट्टको बाहिर बसेका र महेन्द्र राज बमले मलाई जाफेमा बसी हुलाकको काम ग्वामे भन्ने सम्झेको छस् भन्दा मैले बस्ने त भए भनी जवाफ दिए । त्यसपछि चाँडो काट भनी प्रभूजंगले महेन्द्र राजलाई भन्दा निज महेन्द्र राजले एक हातले मेरो कपालको रौं समाती एक हातले मेरो दाहिने आँखा नजिकै खुकुरीको टुप्पाले घोची दिंदा मेरो भाई सूर्य वहादुर बम डराई घट्टको कुनामा गई कराउँदा महेन्द्र राजले मेरो भाइलाई खुकुरीले वायाँ आँखी भौ निर घाउ पारी दिंदा भाई घोप्टो परे । महेन्द्र राज बम म भएको ठाउँमा आई खुकुरीले हान्न लाग्दा खुकुरी थाम्न छल्न खोज्दा दुवै हातको हत्केलामा र मुखको ठाउँ ठाउँमा लागि म बेहोर भई लडेपछि निजहरु भागी गएछन् भन्ने समेत व्यहोराको दर्शनकलाले मिति २०३७।५।१६।२ मा प्रहरीमा गरी दिएको कागज ।

८. २०३७ साल आषाढ ३२ गतेका दिनमा म मेरो घरमा छैन । गोरु बेचेको पैसा ल्याउन सिजा विष्ठ बोडाको ग्वामे भन्ने शिवराज जैसीको घरमा गै ऐ आषाढ २१ गतेको दिन बेलुकादेखि साउन ३ गतेको विहानसम्म निजको घरमा बसी ऐ ३ गतेको साँझतिर म मेरो खिम गाउँको घरमा आई पुगेको हुँ । म समेत भई जाहेरवालाको टोरी दर्शनकलालाई साँफे भन्ने घट्टमा ज्यान मार्न उद्योग समेत गरे गराएको छैन । निज जाहेरवाला अज बहादुर बमसँग जग्गाको मुद्दा अदालतमा हुँदा मलाई समेत ज्यान मार्ने उद्योगमा जाहेरी गरेका हुन भन्ने समेत सुरजिम बमले मिति २०३७।५।१७।३ मा प्रहरीमा गरेको बयान कागज ।

९. २०३७ आषाढ ३२ गतेको बेलुका एजेन्ट दर्शनकलाले साथमा आफ्नो भाई सूर्य वहादुर बमलाई लगि जाँफेमा पिठो पिसी बसेको अवस्था महेन्द्र राज बमले निज दर्शनकलालाई खुकुरीले हानी निजको मुखमा र हातको हत्केला समेतमा ठाउँ ठाउँमा काटी घाउ पारे पछि निजको भाई सूर्य वहादुर बम त्यस ठाउँबाट भागी रुम भन्ने ठाउँको रतिमानको गोठमा गएछ । र निज दर्शनकलालाई मरे तुल्य बनाई घट्ट भित्र बाहिर तानी ल्याउन लाग्दा गोठबाट आएको डबल शाहीले देखेपछि निज महेन्द्र राजले दर्शनकलालाई छाडी भागी जाँदा निज डबल शाही र मल्ल शाही जना २ ले दर्शनकलालाई बोकी ल्याई जाँफे हुलाकमा राखी निज डबल शाहीले दर्शनकलाको बाबु अज बहादुर बम समेतका गाउँ घरमा मानिसहरुलाई सो घट्टमा भएको कुरा भन्दा हामीहरु समेत दर्शनकला भएको ठाउँमा गै हेर्दा लेखिए बमोजिमको निज दर्शनकलाको हातमा र मुखमा खुकुरीले काटेका घाउँहरु देखेकाले सो कस्ले काटेको हो भनी सोधपुछ गर्दा मेहनद्रराज बमले काटेको हो भनी दर्शनकलाले भनेको हुँदा निज महेन्द्रराज बम जाहेरीमा लेखिएका अरु मानिस परेग बहादुर बम समेतको मद्दत भई काटेका कुरा जिन दर्शनकलाले सो बखत नभनेको हुँदा अरु मानिसप्रति शंका लाग्दैन घायल भएका दर्शनकलालाई महेन्द्र राज बमले घट्ट भित्रबाट बाहिर घिसारी तान्न लागेको अवस्था डबल शाहीले देखि कराए पछि मात्र निजलाई छाडी भागी गएको बुझिएको र अगि जाँफे अतिरिक्त हुलाकको एजेन्ट निज अभियुक्त महेन्द्र राज बम भएकोमा सो पदबाट निजलाई हटाई दर्शनकला आफू नियुक्ति भई आएको रिस इवीले निज दर्शनकलालाई महेन्द्रराज बमले खुकुरीले हानी काटी ज्यान मार्न उद्योग गरेको हो । निज महेन्द्र राज बम उक्त घटना गरी भागी गएदेखि, आजसम्म घरमा नआई बेपत्ता भएको छ भन्ने सर्जमिनका केही मानिसहरुको एकै मिलानको लेखाई भएको सर्जमिन मुचुल्का ।

१०. २०३७ आषाढ ३२ गतेको बेलुका रुम भने गोठबाट जाँफे घट्टको बाटो गरी घरमा आउन लाग्दा ऐ ६ बजेको समय हुँदा जाँफे भित्रबाट महेन्द्रराज बमले दर्शनकलालाई पाखुरामा समाई वाहिर घिसारी तान्न लागेको केही माथिबाटै देख्दा के गरेको भनी मैले कराउँदा त्यतिकै छाडी महेन्द्रराज बम हतपत दौडी जुम्ला जाने बाटोतर्फ भागी गएको र सो घट्टमा पुगी हेर्दा निज दर्शनकलाको कम्म देखि माथिको अंग घट्टको ढोका बाहिर र कममर देखि तलको अंग ढोका भित्र भई व्यहोस भई रहेकी देख्दा र हात मुख भरी काटेको घाउहरु भई रगतले मुछिएकोले मरी सकेका छ की भन्ने लाग्यो निजको नाडी र छातीमा छाम्दा मुटु चलेको चाल पाएकोले टोपीमा पानी ल्याई निजको टाउकोमा हाल्दा बोल चाल नगरेकोले र सो ठाउँ देखि सँगु पारीबाट जाँफे गाउँको मल्ल शाही आउँदा निजलाई बोलाई हामी २ जनाले दर्शनकलालाई बोकी जाँफे हुलाकमा राखी दर्शनकलाको बाबु अज बहादुर बम समेत गाउँ घरमा मानिसहरुलाई सो कुरा जाहेर प्रकाशन गरेको हुँ । निज दर्शनकलालाई महेन्द्र राज बमले खुकुरीले हानी काटी घिसारी वाहिर तान्न लागेको अवस्था मैले देखि कराए पछि भागी गएको हुँदा निज दर्शनकला मरी भनी हो वा घट्ट नजिकको खोलामा बगाउने नियतले सो घट्टबाट बाहिर घिसारी लानेकोले समेत निज अभियुक्त मेहन्द्रराज बमले दर्शनकलाको ज्यान मार्न उद्योग गरेको रहेछ भन्ने घटाको स्थितिबाट देखिएको र ऐ साउन १ गतेको दिनमा सोधपुछ गर्दा महेन्द्र राज बमले आफूलाई खुकुरीले हानी घाउ गराएको हो भनी दर्शनकलाले भनेकी हुन् भन्ने समतेको ऐ खिम गाउँ बस्ने डबल शाहीले गरी दिएको कागज ।

११. परेग बहादुर बम, प्रभूजंग बम, शंख बम, शिरजंग बम, सुरजीम बम, नन्द बहादुर बम, नागमल धामी समेत जना ७ उपर मुद्दा चलाउन पर्याप्त सबुद प्रमाण नभएको र महेन्द्र राज बले दर्शनकलालाई ज्यान मार्ने उद्योग गरेको सिद्ध हुन आएकोले निज अभियुक्त महेन्द्र राज बमलाई ज्यान सम्बन्धीको १५ नं. बमोजिम सजाय गरी पाउँ भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन ।

१२. अज बहादुरको छोरी दर्शनकलालाई जाँफे हुलाकको एजेन्ट पदमा नियुक्ति गरेको विषयमा मैले हुलाक सेवा विभाग काठमाण्डौमा उजुरी गरेको थिएँ । सो निवेदन सेवा विभागबाट क्षेत्रीय कार्यालय हुलाक विभागमा आई कारवाही हुँदै थियो । सो कारवाहीबारे बुझ्न मिति २०३७।३।२३ मा घरबाट हिंडी ऐ २८ गते नेपालगंज पुगे त्यहाँ मलाई काम ज्वरो आएकोले औषधि गराई नेपालगंजबाट साउन १६ गते देखि हिंडी साउन २० गते काठमाण्डौ पुगे । साउन २२ गते श्री ५ महाराजाधिराजका हजुरमा जग्गाको विषयमा र पञ्चायतको छाप कागजपत्र सम्बन्धमा निवेदन चढाएको छु । तसर्थ २०३७ साल आषाढ ३२ गते म घरमा छैन । आफ्नो छोरीलाई एजेन्ट पदबाट फर्काउँला भनी अज बहादुरले झुट्टा जाहेरी गरेको हो । दर्शनकलालाई खुकुरीले काटी ज्यान मार्ने उद्योग गरेको होइन भन्ने महेन्द्र राज बमले अदालतमा गरेको बयान ।

१३. मिति २०३७।३।३२ गते म जुम्ला सिंजा वाडाको प्रधान पञ्च सनु वहादुर शाहीको घरमा थिएँ । प्रहरीमा भएको कागज पढी वाँची नसुनाई सहीछाप गराएका हुन् । दर्शनकलाको बाबु अज बहादुर बमसँग यहि अदालतमा चलिरहेको मुद्दाको रिसइवीले म समेत उपर जाहेर दिएको हो । सर्जमिनका मानिसहरुसँग मुद्दा परेको रिसइवीले झुट्टा बकेका हुन र महेन्द्र र म समेतले वारदात गरी महेन्द्रराजले दर्शनकलालाई खुकुरीले काटेको होइन भन्ने समेत प्रभुजंग बमले अदालतमा गरेका बयान ।

१४. प्रहरीमा भएको कागज मलाई नसुनाई सहीछाप गराएका हुन् । मिति २०३७।३।३२ गते म गोरुको पैसा उठाउन भनी जुम्ला सिंजा विष्ठ वडाका शिवराज जैशी कहाँ गएको थिएँ । म समेत उपर झुठ्ठा उजुर दिएको हो भन्ने समेत सुरजिम बमले अदालतमा गरेको बयान ।

१५. मिति २०३७।३।३२ मा मेरो घरबाट एक कोश जति तल सल्लीकोट भन्ने खेतमा रोपाई गर्न गै १ गतेसम्म त्यही थिएँ । महेन्द्रराज बमले निज दर्शनकलालाई खुकुरीले हानी ज्यान मार्ने उद्योग गरेको भनी मैले प्रहरीमा भनेको होइन । प्रहरीमा मलाई नसुनाई सही गराएको हो भन्ने समेत परेग बहादुर बमले अदालतमा गरेको बयान ।

१६. जाहेरी मैले गरेको हुँ र जाहेरीमा लेखे अनुसार महेन्द्रराज बमले छोरी दर्शनकला र छोरा सूर्य वहादुरलाई खुकुरीले हानी घाइते बनाएको हो । त्यसै घाउको असरले जीउ सुकी खानापिना कम गर्र्दै थिन र मिति २०३७।९।२ गते छोरी दर्शनकला परलोक भइन भन्ने समेत जाहेरवाला अज बहादुर बमले अदातलमा आई गरेको बकपत्र ।

१७. मिति २०३७।३।३२ गते म र दिदी दर्शनकला जाँफे घट्टा थियौं । घट्टमा गहुँ हाल्दै दिदीले पिनी खोली भर्खर घट्ट पिन्न लागेको अवस्था पहिले महेन्द्रराज भित्र पस्यो खुकुरी दाप भित्र हाली भिरेको थियो अव हुलाकमा बसी लेखुला भनेकी छस् भनी दापबाट खुकुरी झिकी दिदी दर्शनकलालाई कहिले आँखामा कहिले गालामा घाँटीमा काटन थाल्यो दर्शनकलाले खुकुरी रोक्न खोज्दा हातमा पनि खुकुरीले घाउ लाग्यो र दिदीले रुन कराउन गर्न लागे पछि म कराएँ अनि यसका सन्तान राख्न हुन्न भनी मलाइ खुकुरीले हान्दा घट्टको छानो होचो भएकोले ताक नपरी मेरो वाँया आखीभौमा महेन्द्र राजले हानेको खुकुरीको टुप्पोले लाग्यो र आत्तिएर घट्टको कोख पट्टीको दुलोबाट निस्की ज्यान जोगाई भागी रुम भन्ने जग्गामा गई गोठथको छानामा गै लुके घट्ट वरीपरि वाहिर कोहि थिएनन् प्रभुजंग बम, सुरजीत सिरजंग बमहरु घट्टको ढोकामा बसेका थिए । अरु थिएनन् म निस्के पछि दिदीलाई के के गरे मलाई थाहा भएन । महेन्द्र राजले पेश गरेको डाक्टरी सर्टिफिकेट झुठ्ठा हो मैले प्रहरी कार्यालयमा पनि कागज गरिदिएको छु भन्ने समेत वर्ष ११ को सूर्य बहादुर बमले अदालतमा आई गरेको बकपत्र रहेछ ।

१८. मिति २०३७।३।३२ गते म भैसी दिई खर्क पारे भन्ने ठाउँबाट अं. ३ बजेतर घर तर्फ जान सो बाटो आएका हुँ सो बाटो जाँफे भन्ने घट्ट भई जान्छ बेलुका ६ बजे अं. १ पाव माथि पने बाटोमा आइ पुग्दा घट्टमा सूर्य बहादुर बम कराएको सुने के भयो भनी त्यसतर्फ जाँदा महेन्द्र राज बमले दायाँ हातमा खुकुरी लिई वाँया हातले दर्शनकलाका नाडी समाती तान्दै थियो दर्शनकलाको शरीर आधा भित्र र आधा घट्ट वाहिर महेन्द्र राजले तानेको थियो म त्यहाँ पुग्नु भन्दा अगावै महेन्द्रराज बमले दर्शनकलालाई खुकुरीले हान्दा सूर्य वहादुरले कराएको रहेछ सो घट्टलाई घेरी परेग बहादुर, प्रभु जंग बम बसेका थिए मैले माथि बाटोबाट दर्शनकला एजेन्टलाई के गरे भनी कराउदा परेग बहादुर बम जाँफे तर्फ गयो महेन्द्रराज बम समेतका अरु मानिस लेखतर्फ गए म भन्दा केही अघि मल्ल शाही सो घट्टमा पुगे म केही पछि पुगें महेन्द्रराज बमले दर्शनकलालाई तिला नदीमा फाल्न हात समाती घिसार्न लागेको मैले आँखाले देखेको हुँ भन्ने समेत चश्मदित साक्षी डबल शाहीले गरेको बकपत्र ।

१९. मिति २०३७।३।३२ गतेका दिन जाँफेको घट्ट भएको ठाउँका खोला देखि पारी वारीमा काम गर्दै थिए । दर्शनकलाले मलाई डाकी र घट्टा आए । दर्शनकलाको दाहिने गाला हातमा घाउ थियो औला घाउबाट रगत आउँदै थियो । दर्शनकला मुर्छा परेकी रहेछन् मैले बोकी जाँफेको हुलाक घरमा पुर्‍याएको हुँ । त्यसपछि डबल शाही आई पुगे निज दर्शनकला मुर्छाबाट ब्युझेपछि मलाई महेन्द्राज बमले खुकुरीले काट्यो भनिछन् । सर्जमिनमा मैले भने बमोजिम लेखिएको हो भन्ने समेत मल्ल शाहीको बकपत्र ।

२०. सुरजिम बम, प्रभू बम परेग बहादुर बम, घट्टको छाप्रामा घेरा दिने महेन्द्रराजले ज्यान मार्ने उद्देश्यले नै दर्शनकलालाई जाँफेको घट्टमा खुकुरीले हानेको हो डबल शाहीले देखिइ कराएछि महेन्द्र भागेछन् । अरुले घेरा दिई महेन्द्रराज खुकुरीले हानेकाले आफ्ना जीउमा घाउ परेको भन्ने कुरा दर्शनकलाले भनेकी हुन् भन्ने समेत सर्जमिनमा आफूले भनेकाले समर्थन ग बक्ने विष्णु बहादुर बम, कर्ण बम, कटक बहादुर बम, फटक बहादुर शाही, उदय सिंह बम, कटक बहादुर बम, फटक बहादुर शाही, उदय सिंह बम, कर्ण बम, वारदातको दिन म घरमा थिइन महेन्द्रराज बमले दर्शनकलालाई हानमार गरेछन् भनी मल्ल शाहीले भन्दा सुनेको हुँ । दर्शनकलाको शरीरमा ठाउँ ठाउँमा घाउ थियो, मैले देखिन कस्ले घाउ पार्यो भन्ने समेत खङ्ग बहादुर धामी, दल बहादुर धामी, महेन्द्र बमले मलाई खुकुरीले हानी घाउ पारेको हो भनी दर्शनकलाले भनिन् र महेन्द्रराज बम आषाढ २३ गते नेपालगंज जान हिडेका हुन् कसरी काटे भन्दा दर्शनकलालाई के भई घाउखत लाग्यो थाहा छैन भन्ने समेत कर्ण बम, दर्शनकलाको शरीमा काटेर लागे जस्ता घाउ थियो खुकुरी हाने जस्तो थिएन । मैले आँखाले देखिन महेन्द्रराज आषाढ २३ गते जुम्ला जान्छु भनी गएको हुन कसले घाउ पार्यो थाहा छैन भन्ने समेत देउ सिंगे धामी । अज बहादुर बमको छोरीलाई जुम्ला तर्फ लाँदा देखेको हुँ । दर्शनकलाको जिउमा घाउ थियो । महेन्द्रराजले खुकुरीले काट्यो भन्ने सुने मैले देखिन भन्ने दङ्गली धामी समेत सर्जमिनका ब्यक्तिहरुका बकपत्र ।

२१. अभियुक्त महेन्द्रराज बमका साक्षी रतन बहादुर शाही, नर बहादुर शाही, जयलाल रोकाया, रङ्गे बुढा, प्रभूजंग बमको साक्षी काली बहादुर सिं, सुरजिम बमका साक्षी साकी सिंह, परेग बहादुर बमको साक्षी अजवरी बम, अम्बर सिंह शाहील प्र. को बयान मिलान गरी बकेको बकपत्र रहेछ ।

२२. मिति २०३७।४।३।६ को दर्शनकलाको घा जाँच फाराम ।

२३. अभियुक्त महेन्द्रराज बमलाई प्रहरी प्रतिवेदन अनुसार ज्यान सम्बन्धीको १५ नं. ले कैद वर्ष १० हुने ठहर्छ भन्ने कालिकोट जिल्ला अदालतको मिति २०३८।४।१९ गतेको फैसला ।

२४. दर्शनकलालाई मर्ने सम्मको चोटपटक परेको पनि देखिंदैन । दर्शनकलालाई ज्यान मार्न सम्मको काम गर्दा कुनै अबरोध परी मार्न नपाएको भन्न सवभन्दा अघि घटनास्थलमा पुग्ने भनिएका बादीका साक्षी मल्ल शाही वाट पनि देखिँदैन । दर्शनकलाको हाजीर रेकर्डबाटै निज जुम्ला जिल्लामा नभै कालीकोट जिल्लामा आफ्नो काममा भएको देखिदा देखिदै पनि म निर्दोष ब्यक्तिलाई सजाय गरेको फैसला बदर गरी पाउँ भनी महेन्द्रराज बमको पुनरावेदन पत्र ।

२५. प्रहरी प्रतिवेदन अनुसार विपक्षीले ज्यान मार्ने उद्योग दर्शनकला बम उपर गरेको भन्ने दावी भएकोमा दर्शनकलाले नै मिति २०३७।५।१६ मा डोरमा गरिदिएको कागज, निजको घा जाँचको प्रकृतिबाटै सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त अनुसार ज्यन मार्ने उद्योगको वारदात भएको देखिन नआएको अवस्थामा शुरुवाट दावी कायम गर्ने गरी गरेको फैसला कानून संगत देखिन आएन । अ.ब. २०२ नं. बमोजिम विपक्षी झिकाई पेश गर्नुभन्ने मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०३९।३।२४ को आदेश ।

२६. वारदात घटनाको प्रकृति अनुसार पुनरावेदक प्रतिवादीले गर्न थालेको कार्यमा रोकावट वाधा अवरोध खडा भई सो कार्यबीच भै रोकिन गएको भन्ने कुरा पनि मिसिलबाट नदेखिएकोले दर्शनकलाको घा जाँच फाइलबाट सरकारी मुद्दा सम्बन्धी ऐन, २०१७ को दफा ७(क) अनुसार गर्नुपर्ने देखिएता पनि सरोकारवाला व्यक्ति निज दर्शनकला मरिसकेको मिसिलबाट देखिएकोले सो बमोजिम गर्नुभनि निर्देशन दिन नमिल्ने हुँदा ज्यान मार्ने उद्योग ठहराई गरेको शुरु जिल्ला अदालतको इन्साफ गल्ती भई उल्टी हुने ठहर्छ भन्ने मिति २०३९।१२।२३।४ को मध्य पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट गरिएको फैसला ।

२७. मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको त्रुटीपूर्ण फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भनी श्री ५ को सरकारको यस अदालतमा निवेदन पर्न आएको रहेछ ।

२८. यस्मा पीडित ब्यक्ति दर्शनकलाको घा जाँच फारमबाट सरकारी मुद्दा सम्बन्धी ऐन, २०१७ को दफा ७ (क) अनुसार गर्नुपर्ने देखिएतापनि सरोकारवाला निजको मृत्यु भइसकेकाले सो बमोजिम गर्ने निर्देशन दिन नमिल्ने हुादा ज्यान मार्ने उद्योग ठहराई गरेको जिल्ला अदालत (कालिकोट) को इन्साफ उल्टी हुने ठहर्छ भनी मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसलामा उल्लेख भएको देखिन्छ । त्यसरी सरकारी मुद्दा सम्बन्धी ऐन, २०१७ को ७(क) अनुसार गर्नुपर्ने देखिएपछि पीडित ब्यक्तिको मृत्यु भएपनि अ.वं. ६२(३) र कुटपिटको महलको २५ न. अनुसारको कारवाही हुन सक्नेमा सो बमोजिम गर्ने गरी मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतबाट फैसला भएको नहुँदा अ.व. ६२(३) र कुटपिटको २५ नं. को प्रत्यक्ष गंभीर कानूनी त्रुटी विद्यमान भएकोले पुनरावेदनको अनुमति प्रदान गरिएको छ, भन्ने समेत यस अदालत डिभिजन बेञ्चको मिति २०४०।१२।१।४ को आदेश ।

२९. जाँफे हुलाकको एजेन्ट पदबाट महेन्द्रराजलाई हटाई सोही पदमा दर्शनकलालाई नियुक्ति गरेबाट निज महेनद्रराजको दर्शनकला उपर रीस इवी परेको मिसिल बाट देखिन्छ । अज बहादुरले जाहेरी दरखास्त दिंदा महेन्द्र राज वमले हातमा लिएको खुकुरीले छोरी दर्शनकलालाई हानी मार्न बाच्नको दोसांध बनाएको भन्ने किटानी उल्लेख गरी अदालतमा सो कुरा समर्थन गरी बकपत्र गरेको पाइन्छ । क्षेत्रीय अदालतले पनि फैसला गर्दा सो कुरालाई मान्यता दिएको तर सरकारी मुद्दा सम्बन्धी ऐन, २०१७ को दफा ७(क) अनुसार गर्नुपर्ने भन्ने निष्कर्षमा पुगेको देखिन्छ । उक्त निष्कर्षमा पुग्न क्षेत्रीय अदालतले वारदात घटनाको प्रकृति अनुसार प्रतिवादीले गर्न थालेको कार्यमा रोकावट बाधा अवरोध खडा भई सो कार्य वीचमै रोकिन गएको भन्ने कुरो पनि मिसिलबाट नदेखिएको भन्ने तर्क देखिन्छ । सो तर्क मुनासिव बेमुनासिव के हो भन्ने तर्फ हेर्दा महेन्द्रराज बमले दर्शनकलालाई पाखुरा समाई वाहिर घिसारी तान्न लागेको देख्दा के गरेको भनी मैले कराउँदा त्यत्तिकै छाडी महेन्द्रराज बम हतपत भागी गएको भनी प्रहरी समक्ष कागज गरेको र अदालतमा घटना देखेको भनी बकपत्र गरेको र डबल शाहीले देखिइ कराएपछि  महेन्द्र भागेछन भन्ने कुरा पीडित ब्यक्ति दर्शनकलाले भनेकी भन्ने सर्जमिनका ब्यक्तिहरुले वकपत्र गरेको समेत प्रमाण्बाट प्रतिवादी महेन्द्रराज बमले दर्शनकलालाई ज्यान मार्ने उद्योग गरेकै देखिने ठहर्न आएकोले मध्य पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको फैसला गल्ती भई उल्टी हुने र निज प्रतिवादी महेन्द्रराजलाई कालीकोट जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग गरेको ठहर्‍याई १० वर्ष कैदको सजाय हुने गरी गरेको फैसला मनासिब ठहर्छ भन्ने समेत सर्वोच्च अदातल डिभिजन बेञ्चको मिति २०४२।२।१३।१ को फैसला ।

३०. यस अदालत डिभिजन बेञ्चबाट भएको उक्त फैसलामा इन्साफ जाँची दिनु भनी सर्वोच्च अदालतको नाममा हुकुम प्रमाङ्गी बक्स पाउँ भनी निवेदक प्रतिवादी महेन्द्रराज बमले विशेष जाहेरी विभाग मार्फत श्री ५ महाराजाधिराजका जुनाफमा विन्तिपत्र चाढाउनु भएकोमा यस्मा ब्यहोरा साँचो भए यस्मा लेखिएको त्यस अदालतको डिभिजन बेञ्चबाट छिनिएको ज्यान मार्न उद्योग मुद्दाको मिसिल झिकी फुल बेञ्चबाट दोहराई हेरी कानून बमोजिम गरी निर्णय गर्नु भनी हुकुम बक्स भै आएको रहेछ ।

३१. प्रतिवादी महेन्द्रराज बमले दर्शनकलालाई ज्यान मार्ने उद्योग गरेकै देखिन ठहर्न आएकोले यस अदालतको डिभिजन बेञ्चबाट प्रतिवादी महेन्द्रराज बमलाई ज्यान मार्ने उद्योग गरेको ठहर्‍याई १० वर्ष कैदको सजाय गर्ने गरेको मिति ०४२।२।१३।१ को इन्साफ मनासिव ठहर्छ भन्ने व्यहोराको मिति ०४४।५।२३ को पूर्ण इजलासको फैसला ।

३२. पूर्ण इजलासबाट ०४४।५।२३ मा भएको फैसला दोहर्‍याई पाउँ भनी निवेदकले विशेष जाहेरी विभाग मार्फत श्री ५ महाराजाधिराजको हजुरमा विन्तिपत्र चढाउनु भएकोमा यो र यो साथ रहेको द. १६६३ नं. को विन्तिपत्र समेत जाहेर हुँदा यसमा ब्यहोरा साँचो भए त्यस अदालतको पूर्ण इजलासबाट छिनिएको विन्तिपत्रमा लेखिएको ज्यान मार्ने उद्योग भन्ने मुद्दाको मिसिल झिकी पूर्ण इजलासबाट दोहोर्याई हेरी कानून बमोजिम निर्णय गर्नु भन्ने श्री ५ महाराजाधिराज बाट हुकुम बक्सेको छ भनी विशेष जाहेरी विभागबाट लेखी आएको रहेछ ।

३२. नियम बमोजिम दैनिक कजलिष्टमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा निवेदक तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिबक्ता श्री कृष्ण प्रसाद पन्त, विद्वान अधिबक्ता द्वय श्री राधेश्याम अधिकारी तथा श्री शिवराज अधिकारीको मेरो पषको ज्यान मार्ने मनसाय थिएन, ज्यान मार्ने मनसाय भएको भए खुकुरी जस्तो सांघातिक हतियारको प्रयोग गरी एकैचोटमा निज दर्शनकलालाई ज्यान खत्तम पार्न सक्ने पर्याप्त अवस्था थियो, अस्पतालबाट भएको घा जाँच प्रतिवेदनमा ३५ दिन भित्र निको हुने छाला खुइलिएको जस्ता कुराहरु लेखिएको, दर्शनकलाको जीउमा घातक चोट परेको छैन जाहेरी दरखास्त दिँदा जाहेरवाला आफैले घटना देखि जाहेर गरेको छैन । घटनास्थलमा तत्काल पुगेका डबल शाही र मल्ल शाहीको भनाइमा एकरुपता छैन तसर्थ मेरो पक्षले ज्यान मार्न उद्योग गरेको भन्न मिल्ने अवस्था नदेखिँदा ज्यान मार्ने उद्योग ठहर्याइ पूर्ण इजालसबाट गरेको फैसला मिलेको नदेखिनाले उक्त फैसला बदर हुनुपर्दछ भन्ने बहस गर्नु भयो । विपक्षी दावी श्री ५ को सरकार तर्फबाट बहन गर्न उपस्थित हुनु भएका विद्वान सरकारी अधिबक्ता श्री बलराम के.सी. ले प्रतिवादी हुलाकको एजेन्ट भएको र निजलाई खोसी दर्शनकलालाई एजेन्ट दिएकै रिसबाटै ज्यान मार्ने मनसाय बनाएको हो, प्रतिवादी महेन्द्रराज बमको दर्शनकलालाई मार्नुपर्ने मनसाय थियो वा थिएन भन्ने कुरा निजले प्रयोग गरेको हतियारबाट नै प्रष्ट हुन्छ ज्यान मार्ने उद्योगको अपराध एकान्त ठाउँमा भएको छ, खुकुरीको चोट घाँटी भनदा माथि टाउकोमा भएको र आँखी भौ र गालामा चोट लागेको छ, प्रतिवादी महेन्द्र राज बमले गरेको खुकुरीको प्रहारलाई दर्शनकलाले हातले रोक्ने प्रयास गरेको र त्यसबाट पाँचै औलामा खुकुरीको चोट लागेको छ, घट्ट घरको उचाई कम भएकोले खुकुरी प्रहार पुरै वेगबाट हुन सक्ने स्थिति नभएकोले चोट साँघातिक नभएको हो दर्शनकला र निजको भाइले कराएको सुनि मानिसहरु तत्काल घटनास्थलमा पुगी अभियुक्त भागेको कारणबाट मात्र दर्शनकलाको ज्यान वाँचेको हो, दर्शनकला र उनको भाइको भनाईमा कुनै विरोधाभास छैन, चश्मदिद साक्षी डबल बहादुरले सूर्य वहादुर कराएको सुने पछि घट्ट तर्फ हेर्दा महेन्द्र राज बमले दर्शनकलाको चुल्ठोमा समाती घट्ट बाहिर ल्याउन खोजेको र महेन्द्र राज बमको एउटा हातमा खुकुरी भएको भनी बयान गरेवाट महेन्द्रराजको हातमा खुकुरी भएको प्रष्ट हुन्छ, मल्ल शाहीको बकपत्रमा पनि दर्शनकलाको आवाज सुनेर घट्टमा जाँदा दर्शनकलाको ठाउँ ठाउँमा चोट लागेको र डबल बहादुर आएपछि दुवै जना मिलेर दर्शनकलालाई बोकेर लगेको देखिन्छ तसर्थ प्रतिवादी महेन्द्र राज बमलाई ज्यान मार्ने उद्योग गरेको ठहर्‍याई पूर्ण इजलासबाट भएको फैसला कायमै हुनुपर्दछ भनी वहस गर्नु भयो ।

३४. प्रस्तुत मुद्दामा सर्वप्रथम ज्यान मार्ने उद्योग कस्तो प्रकृतिको अपराध हो भन्ने कुराको विवेचना गर्नु पर्ने हुन आएको छ । ज्यान मार्ने उद्योग सवै दृष्टिबाट ज्यान सम्बन्धी अपराध नै हुन्छ, सिर्फ ज्यान भने मर्न गएको हुँदैन । अभियुक्तले ज्यान मार्न भनी गरेको कार्य तेश्रो तत्वको अप्रत्याशित रुपमा अपर्झट उपस्थिति वा विद्यमान हुन गएको कारणले सम्पन्न हुन नपाएको हुन्छ । प्रतिवादी आफैले मर्ने सम्मको कार्य नगरी छाडी गएको वा पैले देखि नै मार्ने कार्य गर्न नसक्ने अवस्था विद्यमान रहेको स्थिति हुँदैन । तेश्रो तत्वको अप्रत्याशित हसताक्षपले गर्दा ज्यान मार्ने कार्य गर्नमा अभियुक्तले कुनै कसर नराखे पनि त्यो परिणाम निक्लन पाएको हुँदैन । ज्यान मार्ने उद्योगको अपराधको सम्बन्धमा पनि ज्यान मार्ने अपराध जसे शंकाविहीन तरिकाले प्रमाणित हुन सक्ने प्रमाणिक प्राचुर्यताको अवस्था विद्यमान हुनु पर्दछ । ज्यान मार्ने उद्योग अपराधको तीन निर्णायक तत्व मानिएका छन् ।

१) ज्यानै लिने सम्मको मनसाय

२) सो मनसाय अभिब्यक्त गर्ने बाह्य कार्य

३) तेश्रो तत्वको अप्रत्याशित हस्तक्षेप

३५. यी तीन तत्वलाई हाम्रो मुलुकको फौजदारी कानून र अदालतद्वारा प्रतिपादित सिद्धान्तहरुले कुन हदसम्म मानी आएको छ भनी हेर्नु पर्ने हुन आउँदछ । तत्कालीन ज्यान सम्बन्धीको १५ नं. मा ज्यानै मार्नको लागि उद्योग गरी मर्नेसम्मको जुनसुकै काम गरिसकेको सो काम गर्दा पनि ज्यान भने मर्न पाएको रहेनछ भन्ने त्यस्तो काम गर्ने र त्यस्तो मुख्य भई बचन दिनेलाई १० वर्ष कैद गर्नु पर्छ भन्ने व्यवस्था भएको र हाल सो १५ नं. मा संशोधन भई ज्यान मार्ने मनसायले गोली चलाउने वा बम हान्ने वा घातक हतियारले काट्ने वा मार्नको लागि अरु जुनसुकै कुराको उद्योग गरी मर्ने सम्मको काम गरेकोमा कुनै कारणले ज्यान मर्न पाएको रहेनछ भने त्यस्तो काम गर्ने र गर्न लगाउने तथा सो ठाउँमा गई बचन दिने वा मद्दत गर्नेलाई ५ वर्ष देखि १२ वर्षसम्म कैद गर्नुपर्छ भन्ने व्यवस्था भएको र ऐ. महलको ११ नं. को अन्तिम हरफमाज्यान मारौं भन्ने नियत नली कुटपिट गरेमा भनेर १२ नं. को अन्तिम बाक्यांशमा मार्ने नियतले कुटेमा यसै महलको १५ नं. बमोजिम सजाय हुनेछ भन्ने उल्लेख भएको देखिन्छ । त्यस्तै श्री सर्वोच्च अदालतबाट पनि ज्यान मार्ने उद्योगको निर्माणक तत्वका सम्बन्धमा विभिन्न मुद्दाहरुमा ब्याख्या भएको पाइन्छ । जस्तो ने.का.प. ०२९ को पृष्ठ ३०५ नि.नं. ६९८ श्री ५ को सरकार विरुद्ध कविराज सुनार भएको ज्यान मार्ने उद्योग मुद्दामा डिभिजन बेञ्चबाट गर्ने सम्मको काम गरिसकेको नदेखिए ज्यान सम्बन्धी महलको १५ नं. बमोजिम सजाय गर्न नमिल्ने भनी ब्याख्या भएको र ने.का.प. २०४३ को पृष्ठ १०६ नि.नं. २६१७ राधेश्याम तेली विरुद्ध श्री ५ को सरकार भएका ज्यान मार्ने उद्योग मुद्दामा पूर्ण इजलासबाट कुनै ब्यक्तिले गरेको कार्य कस्तो छ सो हेरी निजले गरेको अपराधजन्य कार्यबाट नै मनसाय तत्व पैल्याउने सशक्त एवं भरपर्दो माध्यम हो भनी ब्याख्या भएको छ भने सोही ने.का.प. २०४३ को पृष्ठ ८१० नि.नं. २८२६ इस्लाममुद्दीन जुलाहा विरुद्ध श्री ५ को सरकार भएको ज्यान मार्ने उद्योग मुद्दामा संयुक्त इजलासबाट ज्यान मार्ने उद्योगको मुद्दाहरुमा ज्यान मार्ने मनसाय कुनैमा स्पष्ट नै देखिने हुन्छ कुनैमा अभियुक्तले गरेको अपराधिक कृयाबाट उको मनसाय पत्ता लगाउनु पर्ने हुन्छ भनी ब्याख्या भएको पाइन्छ । त्यस्तै ने.का.प. २०३७ को पृष्ठ १४८ नि.नं १३९२ डिल्ली प्रसाद सिंखडा समेत विरुद्ध श्री ५ को सरकार भएको ज्यान मार्ने उद्योग मुद्दामा श्री सर्वोच्च अदालत फुलबेञ्चबाट बारदात अवस्थामा कसैले हटक गरेकोबाट बाध्य भई छोडनु पर्दा छाडिएकोबाट घाइते बच्न गएको नभई प्रतिवादीहरु आफै स्वेच्छाले छाडिएको देखिन आएकोले समेत वारदातमा प्रयोग गरेको साधन र वारदातको प्रकृतिबाट समेत प्रतिवादीको नियत ज्यान मार्ने थियो भन्ने देखिंदैन भनी ब्याख्या भएको पाइन्छ ।

३६. ज्यान सम्बन्धी महलमा भएको उपरोक्त ब्यवस्था र श्री सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योग सम्बन्धमा गरिएका उपरोक्त ब्याख्याको अवलोकनबाट ज्यान मार्ने उद्योगका उपरोक्त निर्णयक तत्वहरुलाई नेपाली कानून र अदालतद्वाा स्थापित कानूनी सिद्धान्तले पूर्ण रुपमा आत्मसाथ गरेको पाइन्छ ।

३७. उपरोक्तनुसारको ज्यान मार्ने उद्योग अपराधका निर्माणक तत्वहरुले एकातिर ज्यानमाराको अपराध र अर्को तर्फ कुटपिटको कसुरसँगको भिन्नता प्रष्ट पार्दछन् । ज्यानमाराको अपराधमा पनि ज्यान मार्ने मनसाय (Mensrea) र सो मनसायको साकारीकरण गर्ने कार्य (Actusrea) समान रुपले विद्यमान हुन्छ तर ज्यान मार्ने उद्योगको अपराधको निर्माणको तेश्रो तत्वको अप्रत्याशित अपर्झट उपस्थिति विद्यमान नहुने हुँदा ज्यानमाराको अपराधबाट भिन्न बनाउँदछ । कुटपिटको कसुर र ज्यान मार्ने उद्योगको अपराधको बीचको समानता पीडित पक्षको आङ ज्यूमा घा चोट पर्नु हो । कुटपिटमा घा चोटको प्रकृति सांघातिक पनि हुन सक्ने कुरा कुटपिटको महलको २, , ७ र ९ नं. समेतबाट पुष्टि हुन आउँदछ । ज्यान सम्बन्धी महलको ११ र १२ नं. को अन्तिम बाक्यांसले यो कुरा अझ प्रष्ट गर्दछ । कुटपिटको कसुरसँगको यही समानताले गार्द कुटपिटमा चल्नु पर्ने मुद्दा ज्यान मार्ने उद्योगमा चल्न पुग्न गएको अवस्था पर्न जान्छ । त्यस्तो अवस्थामा ज्यान मार्ने उद्योगको रुपमा चलेको मुद्दा तत्कालिन सरकारी मुद्दा सम्बन्धी ऐन, ०१७ को दफा ७ क अनुसार दुनियावादी कुटपिट मुद्दामा रुपान्तर हुन सक्ने कानूनी व्यवस्था भएको पाइन्छ ।

३८. यसरी तेश्रो तत्वको अपर्झटको उपस्थितिले ज्यान मार्ने उद्योगलाई एकातिर ज्यानमारा र अर्कोतिर कुटपिटको अपराधसँग मुख्य विभेदक तत्व बनाएको हुन्छ । तेश्रो तत्वको अप्रत्याशित उपस्थितिले रोकावट उत्पन्न गरेको हुनु पर्छ भन्ने कुरा ज्यान सम्बन्धी महलको १५ नं. मा सो काम गर्दा पनि ज्यान भने मर्न पाएको रहेनछभन्ने अभिब्यक्तिबाट पुष्टि हुन आउँछ । किनकि यस तेश्रो तत्वलाई अंगिकार नगरेमा ज्यान मार्ने उद्योगको अवस्था मात्र नरही अपराधजन्य कार्य सम्पन्नताको अवस्था हुन जान्छ । तसर्थ यी तत्वहरु ज्यान मार्ने उद्योग सम्बन्धी कानूनमा ब्यक्त वा अब्यक्त रुपले सोझै वा घुमाउरो रुपले अन्तर्निहित हुन्छन् । ज्यान मार्ने उद्योग मुद्दाको कसुर कायम गर्नको लागि तेश्रो तत्वको आकस्मिक उपस्थिति अनिवार्य हुने भएकोले यो तेश्रो तत्व ज्यान मार्ने उद्योग मुद्दाको मौलिक विशेषता हो ।

३९. प्रस्तुत मुद्दामा शुरु सर्वोच्च अदालत संयुक्त र पूर्ण इजलासले यस मौलिक तत्वको विद्यमानता तर्फ युक्तिसंगत तवरले चर्चा गरेको पाइदैन । मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतले झ.झि गर्दा र निरोपण गर्दा यस कुरालाई प्रमुख आधार बनाई ज्यान मार्ने उद्योगको कसुरबाट सफाई दिने निर्णय गरेको र सो निर्णय उपर श्री ५ को सरकारको अनुमतिको लागि निवेदन पर्दा संयुक्त इजालसबाट २०४०।१२।१ मा ज्यान मार्ने उद्योग नठहराएको म.प.क्षे.अ. को इन्साफ खण्डको मुख्य अंशलाई त्रुटी नमानी कुटपिटमा पीडित दर्शनकला आफ्नो कालगतिले परलोक भैसकेको कारणले कुटपिटमा पनि कारवाही गरीरहन नपर्ने भनी कुटपिट मुद्दा पनि अ.बं. ६२ कुटपिटको २४ नं. अनुसार साकार हुन सक्ने भनी कुटपिट तर्फ मात्र अनुमति प्रदान भएको देखिन्छ । त्यसतर्फ संयुक्त इजलास र पूर्ण इजलासको समुचित ध्यान पुगेको देखिँदैन ।

४०. प्रस्तुत मुद्दाको तथ्य केलाउँदा अभियुक्त महेन्द्रराज बमले पीडित दर्शनकलालाई एकान्त कोही नभएको ठाउँमा कुटपिट गर्दा अन्य कुनै ब्यक्तिले निजलाई रोकेको कारणले दर्शनकला मर्न नपाएको भन्ने देखिँदैन । पीडित दर्शनकलाले मिति २०३७।५।१६ मा कागज गर्दा म बेहोस भै लडेपछि निजहरु भागी गएछन्, कसैलाई देखि भागी गएका हुन् वा के भई भागी गएका हुन् मलाई थाहा भएनभन्ने र अर्का पीडित भनिएका सूर्य बहादुर बमले ०३७।४।२८ मा कागज गर्दा महेन्द्र बमलाई छाडी दिदी भए तर्फ लाग्दा म घट्टको खोपाबाट भागी जंगल तर्फ लागे भन्ने समेत उल्लेख गरेबाट कुनै कसैको रोकावट पैदा गरेको भन्ने देखिन आउँदैन । पीडित दर्शनकला लडेको अवस्थामा प्रतिवादी महेन्द्रराज बमले हातमा हतियार लिएको अवस्थामा मार्न चाहेको भए सजिलैसँग मार्न सक्ने स्थिति देखिन्छ । जाहेरवालले आफूले घटना देखेर जाहेरी दिएको देखिदैन । घटनास्थलमा आई पुग्ने भनेका डबल शाही र मल्ल शाहीले आफूले दर्शनकलालाई खुकुरीले काटेको नदेखेको भन्ने उल्लेख गरेको र कुटपिट गरिसकेपछि घटनास्थलमा निजहरु आएको भन्ने देखिन आउँदछ । घट्टमा आइ पुग्ने मध्येका मल्ल शाहीले ०३७।१०।१६ मा अदालतमा बयान गर्दा ०३७।३।३२ घटना घटेको दिन आधाकोश टाढाको वारीमा काम गर्दै थिए । दर्शनकलाले मलाई डाकीन म घट्टमा आए दर्शनकला मुर्छामा थिइन, अरु कोही थिएन, मुर्छाबाट उठेपछि महेन्द्रले मलाई खुकुरीले काट्यो भनिछन्, मसँग केही कुरा गरिनन् म पुगेको आधा घण्टा पछि डबल शाही आएका हुन्, महेन्द्रले खुकुरीले घा खत पारेको हो वा के भै परेको हो मलाई थाहा छैन भन्ने उल्लेख गरेको पाइन्छ । यसबाट मुर्छित दर्शनकलालाई प्र. महेन्द्र बमले आफै छाडी गएको देखिन आयो । कुनै रोकावट परी छाड्नुपर्ने विवशात्मक परिस्थिति परी छाडेको देखिएन । डबल शाहीले आफ्नो बयानमा १ पाउ टाढाको सडकबाट सूर्य बहादुर कराएको सुनी घट्टमा जाँदा महेन्द्रले दायाँ हातमा खुकुरी लिई वायाँ हातले दर्शनकलाको कपालमा समाती तान्दै थियो आधा शरीर घट्ट भित्र र आधा शरीर घट्ट बाहिर थियो, खुकुरीले हानेको देखिन म भन्दा केही अघि मल्ल शाही पुगेका थिए भन्ने समेत उल्लेख गरेको पाइन्छ ।

४१. यसरी डबल शाहीको भनाइबाट पनि प्र. महेन्द्र राज बमले दर्शनकलालाई खुकुरीको प्रहार गर्नबाट कसैले रोकेको भन्ने देखिँदैन । एकतर्फ डबल शाहीले दर्शनकला मुर्छा परेको कुरा भन्दैनन् अर्कोतर्फ निज भन्दा अघि आउने मल्ल शाहीले सो कुरा भन्दछन तर ढोकाको संघारमा ल्याई एक हातले चुल्ठो समाई अर्को हातमा खुकुरी लिएको कुरो भन्दैनन् । त्यसरी यी दुवै जना घटना घटी सकेपछि अएका निजहरु आउनु अघि प्र. महेन्द्र राज बमले मार्न चाहेको भए हातमा खुकुरी भएको दर्शनकला लडेको, रेट्ने, छिनाल्ने आदि कार्य गर्न सक्ने अवस्था थियो । दर्शनकला र महेन्द्र राजको बीचमा हुलाकी एजेन्टको विषयमा भनाभन भएको कुरा सूर्य वहादुरको भनाइबाट देखिन्छ । यसरी यी दुवै थरीका बीच बाझाबाझ भएको, प्र. महेन्द्र राजले दर्शनकलालाई खुकुरीको टुप्पो ढारले घोच्ने, दहर्याउने, गर्दा दर्शनकलाको औलामा चोट पर्न गएको अवस्था देखिन आएको । पीडित दर्शनकला लडी सकेपछिको अवस्थामा प्र. महेन्द्र राज बमलाई शरीरका सन्धी भागमा काट्ने छिनाल्ने खुकुरीले हानी सांघातिक चोट पुर्याउन सक्ने मौका मिलेको तर त्यसरी सांघातिक चोट दर्शनकला लडे पछि पारेको देखिँदैन । तसर्थ कुनै अन्य काबु बाहिरको तत्वले निजलाई रोकेको नभई निज आफैले दर्शनकला लडेपछि छाडेको देखिन आएबाट दुई थरीका बीच मुखामुख भनाभन हुँदा रीसको झोकमा सामुन्ने मुख आँखाको भागमा सानु गाउँघरमा भिरी हिड्ने खुकुरीको टुप्पादारले घोच्ने आदि कार्य सम्म गरेकोबाट मार्ने नियतले नै सांघातिक चोट पुर्‍याएको नहुँदा मार्ने सम्मको मनसाय इवि थियो भन्न पनि मिलेन । दर्शनकलालाई कुटपिट गरी पिडासम्म पुर्याउने मनसाय रहेको देखिन आउँदैन । ज्यानै मार्ने सम्मको इवि, अखच देखिन आउँदैन । यो कुरा घा जाँच फारामबाट पुष्टि हुन आउँदछ । घा जाँच फारामबाट दर्शनकला मरणासन्न अवस्थामा पुगेको कतैबाट पुष्टि हुन आउँदैन । ज्यानै जाने खालको सांघातिक चोटपटक देखिँदैन । मल्ल शाहीका अनुसार दर्शनकलाले नै निजलाई बोलाएको भन्ने र मुर्छाबाट ब्युझेपछि मेहन्द्र बम समेतले मलाई खुकुरीले काट्यो भन्ने उल्लेख गरेबाट निज दर्शनकलाको मर्ने बाच्ने दोसाधको अवस्था देखिन नआउने । जाहेरवालाले अदालतमा बयान गर्दा घट्टको छानो होचो भएको कारणले मर्ने सम्मको चोटपट पर्न पाएनछ भनी उल्लेख गरेको पाइन्छ । यस उल्लेखनबाट दर्शनकलालाई मार्ने सम्मको चोटपटक नपरेको कुरा स्वयं जाहेरवालाले स्वीकार गरेको पाइन्छ । घट्ट होचो थियो भन्ने कुराको प्रमाण पेश भएको देखिँदैन । लडि सकेको मानिसलाई काट्न सन्धिस्थलमा हान्न घट्टको उचाइले बाधा नपर्ने पनि हुन्छ ।

४२. जाहेरवाला पीडित दर्शनकला र निजको भाई सूर्य वहादुरको भनाई समेत अनुसार मेहन्द्र राजसमेतका  अन्य आठ जनाले दर्शनकला समेतलाई मार्ने पूर्व योजना षडयन्त्र बनाई कसैले घट्ट घेर्ने कसैले ढोकामा बसी बचन दिने र सो बचन मानी प्र.महेन्द्रराज बमले दर्शनकलालाई खुकुरीले काटेको भन्ने भनाई देखिन्छ । तर अन्य प्रतिवादी समेतसँग झगडा समेत परेको कारण समेतले केही उपर मुद्दै नचल्ने भनी मुद्दै नचलाएको र केही उपर मुद्दा चलाएपनि शुरुले सफाई दिएकोमा वादी पक्षको पुनरावेदन परेको देखिँदैन । यसरी जाहेरवाला समेतको प्र. महेन्द्रराज बमले अन्य प्रतिवादीहरुसँग मिलेमतो पूर्वयोजनात्मक षडयन्त्र गरी मार्ने नै उद्देश्यले वारदात घटेो भनी जाहेरी दिँदा छोरो सूर्य वहादुर घरमा नआएको अवस्थामा निजको ज्यान समेत बेपत्ता पारेकाले छोरी दर्शनकलालाई पनि ज्यानै मार्ने उद्देश्यले षडयन्त्र गरी मार्ने उद्योग गरेको हुनुपर्छ भन्ने संझी घटनाको प्रकृतिलाई जुन गम्भिर्यता देखाउन खोजिएको थियो सो साँचो प्रमाणित नभएकाले कुटपिटको बारदात सम्म देखिन आउँछ । मार्नका लागि पूर्व योजना षडयन्त्र गरेको भन्ने कुरा प्रमाणित नभई दर्शनकला भाइलाई लिई घट्टमा जाने भन्ने कुरो प्र. महेन्द्रराज बमले पूर्व जानकारी पाउने अवस्था देखिँदैन । घाम छंदैको समयमा प्र. महेन्द्र राज बम संयोगबश घट्टमा  आइपुगी आफ्नो खोसिएको हुलाकको एजेन्ट पद दर्शनकलालाई दिएको विषयमा भनाभनको स्थिति खडा भई रिसको आवेगमा आफूले कम्मरमा बाँधेको गाउँ घरमा भिरि डिह्ने साने खुकुरीको टुप्पोले गालाको, भागमा घोच्दा र दर्शनकलाले छेक्दा हातमा घाउसम्म हुन गएकोबाट कुटपिट गरी पीडा पुर्याउने मनसायसम्म देखिन आएको र मार्ने मनसायले नै मार्ने सम्मको इवि भै मर्नेसम्मको कार्य गरेको भन्ने कुरा शंकारहित तरीकाबाट प्रमाणित हुन आएको नदेखिँदा समेत ज्यान मार्ने उद्योग गरेकै ठहर्याउन मिल्ने अवस्था देखिँएन ।

४३. उपरोक्त लेखिए अनुसार प्र. महेन्द्रराज बमले दर्शनकलालाई ज्यानै मार्ने मनसाय लिई ज्यान मार्न जाने सम्मको कार्य गरेको भनी ज्यान सम्बन्धीको महलको १५ नं. अन्तर्गत कसुरदार ठहर गरेको संयुक्त इजलासको इन्साफ सदर गर्ने गरेको पूर्ण इजलासको मिति ०४४।५।२३ को इन्साफ मिलेको नदेखिँदा उल्टी हुने ठहर्छ । म.प.क्षे.अ. सुर्खेतले ज्यान मार्ने उद्योग नठहर्याएको सम्म इन्साफ मनासिव ठहर्छ । कानून बमोजिम हकवालाले सकार गर्न आएमा कुटपिट तर्फ यसै मिसिलबाट निर्णय गर्नु भनी शुरुमा पठाउनु । तपसीलको कुरामा तपसील बमोजिम गर्नु ।

 

तपसील

माथि इन्साफ खण्डमा लेखिए बमोजिम प्रतिवादी महेन्द्र राज बमले सफाई पाउने ठहरेकोले यस अदालतको मिति २०४२।२।१३ को संयुक्त इजलास र पूर्ण इजलासको मिति ०४४।५।२३ को फैसलाले राख्ने गरेको लगत कायम राख्न परेन, उक्त लगत कट्टा गर्न काठमाण्डौ जिल्ला अदालतमा लगत दिनु .............. १

मिसिल नियमानुसार गरी बुझाइ दिनु .................... १

 

उक्त रायमा हामीहरु सहमत छौं ।

 

प्र.न्या. विश्वनाथ उपाध्याय

 

न्या. रुद्र बहादुर सिंह

न्या. ओमभक्त श्रेष्ठ

न्या. मोहन प्रसाद शर्मा

 

इति सम्बत २०५० साल फाल्गुण १ गते रोज ५ शुभम् ।

 

पूर्ण इजलास

सम्माननीय प्रधान न्यायाधीश श्री विश्वनाथ उपाध्याय

माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह

माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ

माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा

माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल

 

सम्बत् २०५१ सालको नि.नं. ४४०१

विषयः फैसला संशोधन गरी पाउँ ।

निवेदक/प्रतिवादी :जि. कालिकोट खिन गा.वि.स. वडा नं. ५ वस्ने महेन्द्र राज बम ।

विपक्षी

वादी :अज बहादुरको जाहेरीले श्री ५ को सरकार ।

मुद्दाः ज्यान मार्ने उद्योग ।

    यस्मा यस अदालतको यसै इजलासबाट २०५०।११।१२ मा भएको फैसला संशोधन गरी पाउँ भन्ने निवेदन पेश भई अध्ययन गरियो । उक्त फैसलाको तपशिल खण्डमा यस अदालतको डिभिजन बेञ्चको फैसला उपर फूलबेञ्चको लगतमा दर्ता हुँदा बाँकी कैद ७।७।११ बापत अ.बं. १९४ नं. बमोजिम प्रति महिना रु ४५।का दरले हुने रु ४,१११।५० र यसै अदालत पूर्ण इजलासको मिति २०४४।५।२३ को फैसलाले थप गर्ने गरेको १ वर्ष वापत अ.वं. १९४ को देहाय २ र ३ नं. बमोजिम अघि राखेको धरौटीको २० प्रतिशतले हुने रु ८२२।३० समेत उक्त मुद्दा मिति २०४६।१।११ मा पूर्ण इजलासको लगतमा दर्ता हुँदा प्रतिवादी महेन्द्रराज बमले धरौटी राखी काठमाण्डौं जिल्ला अदालतमा आम्दानी बाध्न पठाइएको देखिएकोले यस अदालतको मिति २०४२।५।१७ को पत्र बमोजिम रु ४१११।५० र २०४६।१।११ को पत्र मोजिम रु ८२२।३० गरी जम्मा रु ४९३३।८० (चार हजार नौ सय तेत्तिस रुपैया र पैसा असी मात्र) निवेदक प्रतिवादी महेन्द्रराज बमको दर्खास्त गर्न आए फिर्ता दिनु भनी काठमाण्डौ जिल्ला अदालतमा लगत दिनु भन्ने उल्लेख हुनु पर्नेमा छूट हुन गएकोले उपरोक्त अनुसारको लगत समेत कायम गर्ने गरी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ७१ बमोजिम यो संशोधन आदेश गरि दिएको छ । प्रस्तुत आदेश मिसिल संलग्न गरी दिनु ।

 

प्रधान न्यायाधीश

 

न्यायाधीश     न्यायाधीश     न्यायाधीश     न्यायाधीश

 

इति सम्बत् २०५१ साल आषाढ ९ गते रोज ५ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु