शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४८९१ - जिउमास्ने बेच्ने

भाग: ३६ साल: २०५१ महिना: श्रावण अंक:

निर्णय नं. ४८९१     २०५१, ने.का.प.      अङ्क ४

 

पूर्ण इजलास

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह

माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य

 

सम्बत् २०५० सालको फौ.पु.इ.नं. २८/२९

फैसला मिति : २०५०।१२।११।५

मुद्दाः जिउमास्ने बेच्ने ।

 

पुनरावेदक प्रतिवादीः गण्डकी अञ्चल, स्याङ्जा जिल्ला कुवाकोट गा.वि.स. वडा नं. ३ आधिघाट घर भई हाल जिल्ला कार्यालय, सदरखोर शाखा डिल्लीबजारमा थुनामा रहेका कमल प्रसाद श्रेष्ठ

विरुद्ध

पुनरावेदक बादी : श्री ५ को सरकार

§  प्रतिवादीको प्रहरीमा भएको साविती बाहेक अन्य स्वतन्त्र प्रमाणबाट अभियोग पुष्टि हुन नसक्नुको साथै पिडीत पक्ष भनिएकी जाहेरवालीको जाहेरी र अदालतमा गरेको बकपत्र एक आपसमा बाझेको अवस्था समेत विद्यमान हुँदा यी प्रतिवादीले आरोपित कसूरको वारदात घटाएको प्रमाणित गर्ने भार प्रमाण ऐन, ०३१ को दफा २५ अनुसार बादीले निर्वाह गर्न सकेको देखिदैन । प्रतिवादीले प्रहरीमा गरेको सावितीलाई बादी पक्षले अन्य स्वतन्त्र प्रमाणबाट पुष्टि गर्न नसकेको अवस्थामा प्रतिवादीको उक्त साविति बयान कागजलाई प्रमाण ऐन, ०३१ को दफा ९ अनुसार स्वेच्छापूर्वकको साविती हो भनी प्रमाणमा ग्राह्य गर्न सक्ने स्थिति विद्यमान देखिँदैन । अतः तथ्ययुक्त ठोस सबुत प्रमाणको अभावमा केबल शंखा जनक जाहेरी एवं अनुमानको भरमा प्रतिवादी उपर आरोपित कसूर ठहर गर्न फौजदारी न्यायको सिद्धान्त समेतको प्रतिकूल हुन जाने ।

(प्र.नं. २१)

 

पुनरावेदक, प्रतिवादी तर्फबाटः विद्वान अधिबक्ता श्री लोकभक्त राणा, विद्वान अधिबक्ता श्री हिरा रेग्मी

पुनरावेदक वादी तर्फबाटः विद्वान उप सरकारी अधिबक्ता श्री पुष्पराज कोइराला

अवलम्बित नजिर : x

फैसला

न्या. हरगोविन्द सिंह प्रधान – पुनरावेदन अदालत, पाटनको मिति २०४८।११।१८।१ को फैसला उपर चित्त नबुझी बादी प्रतिवादी दुवै पक्षको यस अदालतमा पुनरावेदन परेकोमा यस अदालतको संयुक्त इजलासका माननीय न्यायाधीशहरुको बीच राय मतैक्य हुन नसकी निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य निम्नानुसार रहेछ ।

२. कमल प्रसाद श्रेष्ठले मेरो साथी कोपिला खड्का समेतलाई फकाई भारत बम्बै बेश्यालयमा लगी रु १६,५००।मा विक्री गरेको र म उक्त बेश्यालय कोठीबाट भागी आई जाहेर गरेकी छु । साथै गएकी कोपिला बम्बैमा नै छन् । निज कमल प्रसाद श्रेष्ठलाई पक्राउ गरी कानूनी कारवाही गरी पाउँ भन्ने समेत मथुरी शर्माको जाहेरी ।

३. म र साथी कृष्ण प्रसाद समेत भई ४ वटी केटी बम्बई भारतमा पुर्याई बेचेको छु । मैले बेचेको मथुरी शर्मा कोठी (बेश्यालय) बाट के कसरी भागी आई जाहेर गरिन मलाई थाहा छैन । अन्य तीन जना केटीहरु हाल पनि बम्बइमा नै छन् अरे भन्ने सम्म सुनेको छु । मैले पैसा कमाउने मोजमज्जा गर्ने र नयाँ नयाँ केटीहरु सँगको सहवास गर्ने तथा विक्री गरी पैसा कमाउने उद्देश्यले नै केटी बेच्ने ब्यापार गरेको हुँ भन्ने समेत जिल्ला प्रहरी कार्यालय, पाल्पामा प्रतिवादी कमल प्रसाद श्रेष्ठको बयान कागज ।

४. कमल समेतले विभिन्न केटीहरु ल्याई होटलहरुमा बस्ने र होटलवालीहरुले समेत पनि मिरा भन्ने केटी र अन्य विभिन्न केटीहरुलाई विवाह गरी दिन्छु भन्ने प्रलोभन देखाई फकाई कमल समेतका साथमा लगाई दिने गरेकोमा पूरा विश्वास लाग्छ भन्ने समेतको सरजमिन मुचुल्का ।

५. प्रतिवादीहरुले नेपाली केटीहरुलाई भारत बम्बइमा लगी विक्री गर्ने गराउने र किन्ने समेत कार्य गरेबाट मुलुकी ऐन जीउमास्ने बेच्नेको महल अन्तर्गत कसूर गरेको देखिन आएकोले अव कुन कुन प्रतिवादी उपर कुन कुन दफा अन्तर्गतको सजाय माग दावी गर्ने सम्बन्धमा प्रतिवादी कमल प्रसाद श्रेष्ठ, कृष्ण प्रसाद अधिकारी श्रीमती खेसरा भूसाल, टिका कुमारी अधिकारी, अरुण कुमार र बालु भन्ने बालु मधिसेले उक्त महलको १ नं. अन्तर्गतको कसूर गरेकोले सोही १ नं. बमोजिम हदसम्म सजाय गरी ऐ ५ नं. अनुसार विगो बमोजिम जरीवाना समेत गरी पाउन र प्रतिवादी किशन शेरचन र दिल कुमारी शेरचनले जीउमास्ने बेच्नेको ४ नं. अन्तर्गतको अपराध गरेकोले सोही ४ नं. बमोजिम हदसम्म सजाय गरी पाउन माग दावी गरिएको छ । बालु भन्ने मधिसे विदेश भारत भै रहने बस्ने भएकोले नेपाल सरहद भित्र पक्राउ परेमा कारबाही र सजाय हुनको लागि अनुरोध छ भन्ने समत जिल्ला प्रहरी कार्यालय, पाल्पाको प्रतिवेदन ।

६. अभियोग अनुसारको कसूर मैले गरेको छैन । मथुरी शर्माको जाहेरी ब्यहोरा झुट्टा हो भन्ने समेत बागमती विशेष अदालतमा प्रतिवादी कमल प्रसाद श्रेष्ठको बयान ।

७. बागमती विशेष अदालतबाट अन्य प्रतिवादीहरुका नाममा जारी भएको समाब्हान खेसरा भूसालका नाममा मिति २०४३।१०।१६ मा किसन शेरचनका नामको र दिल कुमारीका नाममा मिति २०४३।१०।२६ मा कृष्ण प्रसाद अधिकारीको नाममा मिति २०४३।१२।३० मा प्रतिवादी अरुण कुमार  र टिका कुमारी अधिकारी का नाममा मिति २०४३।१२।१६ मा तामेल भई आएको र सो समाब्हानको म्याद भित्र हाजिर हुन नआई म्याद गुजारी बसेको ।

८. आदेशानुसार उक्त प्रतिवादीहरुका नाममा  जारी भएको वारेन्ट तथा म्यादी पूर्जीहरु कृष्ण प्रसाद अधिकारीका नामको मिति २०४५।५।२८ गतेमा टिका कुमारी अधिकारीका नामको मिति २०४५।५।३१ गतेमा किसन शेरचन र दिल कुमारी शेरचनको मिति २०४५।६।१२ मा खेसरा भूसालको मिति २०४५।६।२३ मा तामेल भई आएको र अरुण कुमारको नाममा बसोबास नभएको भन्ने समेत मुचुल्का समेत भई आएको र सो म्यादी पूर्जीको म्यादभित्र निजहरु हाजिर हुन आएको नदेखिएको ।

९. कमल प्रसाद श्रेष्ठले जाहेरीवालीलाई विक्री गरेको होइन । रिल लिनको लागि बारम्बार कलम प्रसाद बम्बै जानु स्वभाविकै हो र फिल्म हेर्नु नहेर्नु आफ्नो इच्छामा निर्भर हुने भएकोले केटी नै बेच्न गएको भन्ने शंका लाग्दैन भन्ने समेत प्रतिवादी कमल प्रसाद श्रेष्ठको साक्षी प्रेम प्रकाश पगनीको बकपत्र ।

१०. कोपिलाले चिया खान जाँउ भनि चिया खान गएको कमल प्रसाद पनि त्यही रहेछन् र हामी तिनैजनाले चिया खायौं । म बेहोस जस्तो भए, बम्बै पुगे पछि मलाई होस आयो दुवैजनालाई कमल प्रसादले लगेको हो । म सँग कुराकानी भएको होइन, साथी कोपिला सँग कुराकानी भई मलाई बम्बइ पुर्याई कोपिला खड्का म भन्दा पछाडी घरमा आएकी हुन भन्ने समेत जाहेरीवाली मथुरी शर्माको बकपत्र ।

११. खेसरा भूषाल १ किसन शेरचन १ दिलकुमारी शेरचन १ कृष्ण प्रसाद अधिकार १ अरुण कुमार १ टिकाकुमारी अधिकारी १ का हकमा अ.वं. १९० नं. बमोजिम मुलतवी रहने र प्रतिवादी कमल प्रसादको हकमा निजले जिउमास्ने बेच्नेको ४ नं. बमोजिमको कसुर गरेको ठहर्छ । सो ठहर्नाले विक्री गर्नेमा मुख्य हुनेलाई ऐजन ऐनको १ नं.ले हुनसक्ने सजाय कैद वर्ष २० (बीस) वर्षको हिसावले निज कमल प्रसादलाई ऐ ऐनको ४ नं. बमोजिम आधार सजाय कैद वर्ष १० (दस) वर्ष कैद हुने ठहर्छ भन्ने बागमती विशेष अदालतको मिति २०४७।२।२८ गतेको फैसला।

१२. वागमाती विशेष अदालतको फैसला कानूनी त्रुटी भएकोले उक्त कसुरबाट फुर्सद दिलाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी कमल प्रसाद श्रेष्ठको मध्यमाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदन पत्र ।

१३. सुरु वागमती विषेश अदालतले गरेको फैसला कानूनी त्रुटीपूर्ण भएकोले त्यसलाई बदर गरी सुरु प्रहरी प्रतिवेदन अनुसार प्रतिवादीलाई सजाय गरी पाउँ भन्ने समेत व्यहोराको बादी श्री ५ को सरकारको म.क्षे.अ. मा परेको पुनरावेदन पत्र ।

१४. अन्य प्रतिवादीको हकमा अ.वं.१९० नं. बमोजिम मुलतवी राख्ने ठहर भएको देखिँदा त्यसतर्फ केही विचार गरिरहनु परेन । प्रतिवादी कमल प्रसाद श्रेष्ठलाई जिउमास्ने बेच्नेको ४ नं. बमोजिमको कसूर गरेको ठहर्‍याई सुरुबाट १० वर्ष कैद गर्ने ठहर्याए सम्बन्धमा जाहेरवालीलाई निज आफूले लिईगई नेपाल सरहद बाहिर भारतको बम्बई पुर्‍याएको र विक्री गरेको तथ्य मिसिल संलग्न सबुद प्रमाणबाट प्रमाणित भएकै देखिँदा प्रतिवादीले जाहेरवालाई विशदेमा विक्री गर्ने कार्यमा मद्दत दिएको सम्म ठहर्याएको सुरुको इन्साफ मिलेन । तसर्थ, सो उल्टी भई प्रतिवादीले जाहेरवालालाई भारतको बम्बई पुर्याई बेचिनै सकेको हुँदा जिउमास्ने बेच्ने महलको १ नं. अन्तर्गतको कसूर गरेको ठहर्छ । सो ठहर्नाले तत्काल प्रचलित जिउमास्ने बेच्नेको १ नं. बमोजिम २० वर्ष कैद हुनेमा हाल प्रचलित जिउमास्ने बेच्ने ऐन २०४३ को दफा ८(१)  बमोजिम तलविजी कैदबर्ष ११ (एघार) मात्र हुन्छ । सफाई पाउनुपर्ने भन्ने पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकीर पुग्न सक्दैन भन्ने समेत पुनराबेदन अदालत पाटनको मिति २०४८।११।२८।१ को फैसला ।

१५. प्रहरी समक्ष सावित वयान गराएको छ, अदालतमा सावित छैन, म उपर काल्पनिक मुद्दा दायर गरी गैरकानूनी किसिमबाट थुनामा राखिएको छ । बेचविखन गरेको भन्ने प्रत्यक्ष प्रमाण केही छैन्, जाहेरी र जाहेरवालाको बकपत्र बाझिएको छ । यस्तो अवस्थामा जिउमास्ने बेच्ने महलको १ नं. अन्तर्गतको कसूरदार ठहर्‍याई ११ वर्ष कैद गर्ने गरेको पुनरावेदन अदालतको फैसला त्रुटीपूर्ण हुँदा बदर गरी अभियोगबाट सफाई पाउँ भन्ने ब्यहोराको प्रतिवादी कमल प्रसाद श्रेष्ठको यस अदालत समक्ष पर्न आएको पुनरावेदन तथा मुलुकी ऐन जीउ मास्नेको महलको ५ नं. मा यसै महलको १।३ नं. मा लेखिए बमोजिम मानिस बेचे किनेकोमा किन्नेको थैली भूस गराई बेच्नेलाई सो नं.हरुमा लेखिएको सजायमा थप सो थैलीको विगो वमोजिम जरिवाना गर्नुपर्छ भन्ने उल्लेख हुँदा निजप्रतिवादीले उक्त ऐनको १ नं. बमोजिम कसूर गरेको ठहर भै सकेपछि विगो बमोजिम जरिवाना गर्ने तर्फ केही नबोलेको र निज प्रतिवादी उपर मूलुकी ऐन जिउमास्ने बेच्ने महलको १ नं. बमोजिम कसूर गरेको ठहर भएपछि सोही ऐन बमोजिम २० वर्ष कैद हुनुपर्नेमा जिउमास्ने बेच्ने (नियन्त्रण) ऐन, २०४३ को दफा ८(१) बमोजिम तजविज कैद वर्ष ११ गरेको मिलेको नहुँदा सो हदसम्म पुनरावेदन अदालत पाटनको उक्त फैसला बदर हुनु पर्ने भनि वादी श्री ५ को सरकार तर्फबाट यस अदालत समक्ष पर्न आएको पुनराबेदन पत्र ।

१६. वागमती विशेष अदालतलेप्रतिवादी कमल प्रसादलाई जानी जानी मद्दत दिने भनी १० वर्ष कैद गरेको देखियो । त्यस्तो मद्दत गर्नेलाई उक्त ऐनको दफा ४ अनुसार विगो बमोजिम जरिवाना नहुने अवस्था देखिएको र पुनरावेदन अदालत, पाटनले उक्त दफा ४ बमोजिम कसूर नठहर्‍याई दफा १ बमोजिमको कसूर गरेको ठहर्‍याए पछि विगो बमोजिम जरिवाना पनि नगर्ने, मद्दत गरेको पनि नठहराउने गरेको इन्साफ विरोधाभाषपूर्ण देखिएको हुँदा पुनरावेदन कमल प्रसादलाई अ.बं. २०२ नं. बमोजिम सूचना दिई नियमानुसार पेश गर्नु भन्ने यस अदालतको संयुक्त इजलासको मिति २०५०।२।८ गतेको आदेश ।

१७. जाहेरवाली मथुरी शर्माले मौकामा दिएको जाहेरी दरखास्तमा चिया खाई बेहोस भएको कुरा नलेखी ललाई फकाई नोकरी दिलाउँछु भनी प्रतिवादीले दिल्ली तर्फ जाने भनी बम्बई पुर्‍याएको उल्लेख गरेको पाइन्छ भने अदालतमा बकपत्र गर्दा चिया खाइ बेहोस जस्तो भएँ, एकै पटक बम्बई पुगेपछि होस खुल्यो भनेकी हुँदा जाहेरी र बकपत्रमा विरोधाभास देखिन्छ । जाहेरवालीले आफ्नो साथमा कोपिला खड्का बम्बई गएकी र दुबैलाई विक्री गरेको भनेकी छन्, तर कोपिला खड्काले न बेलिहवा घरमा थिएँ म समेतलाई विक्री गरेको होइन भनी अदालतमा लेखाएकोबाट जाहेरवालीको भनाईलाई भर गर्ने स्थिति देखिन्न । प्रतिवादीको प्रहरीमा भएको साविती कुनै स्वतन्त्र प्रमाणबाट समर्थित भएको छैन । प्रतिवादीले कसूर गरेमा अदालतमा इन्कारी भएका र जाहेरवालीलाई बम्बई लगी प्रतिवादीले विक्री गरेको भन्ने कुरा अभियोग कर्ताबाट पुष्टी हुन नसकेको समेतबाट प्रतिवादी कमल प्रसाद श्रेष्ठलाई जीउ मास्ने बेच्ने महल बमोजिम कसूरदार ठहर गरेको वा.वि.अ. तथा पुनरावेदन अदालत पाटनको दुवै इन्साफ गल्ती भई बदर हुने ठहर्छ । प्रतिवादी कमल प्रसादले आरोपित कसूरबाट सफाई पाउने ठहर्छ भन्ने माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणाको राय ।

१८. प्रतिवादी कमल प्रसाद श्रेष्ठले अधिकार प्राप्त अधिकारी समक्ष आरोपित कसूर गरेकोमा सावित भएका छन् । जाहेरवालीको जाहेरीको ब्यहोरामा काम दिलाई दिने प्रलोभनमा भारत बम्बई लगेको भन्ने र अदालतमा गरेको बकपत्रमा चिया खुवाई बेहोस गराई लगेको भन्ने निजको कथनमा केही भिन्नता देखिएता पनि मूल कुरा बम्वई लगि बेचेको तथ्यमा कुनै फरक नपरेकोमा जाहेरवालीको भनाई आपसमा बाझिएको भन्न मिल्दैन । कोपिल शर्माको बयानले प्रतिवादी कमल प्रसादको निर्दोषितालाई सिद्ध गर्दैन । यस्तो प्रकृतिको मुद्दामा निर्दोषिताको प्रमाण प्रतिवादीले पुर्याउनु पर्ने दायित्व भएको स्थितिमा कुनै प्रमाण प्रतिवादीले पुर्‍याएको देखिदैन । मथुरी शर्माले प्रतिवादी कमल प्रसादलाई होटलमा ग्राहक नल्याई दिएको रिसको कारणबाट झुट्टा पोल गरेको भनि प्रतिवादीको जिकीर छ । त्यस्तो सामान्य कारणले कूनै आइमाईले आफ्नो चरित्रमा दाग लाग्ने गरी अरुलाई स्वभाविक कारण हुन सक्दैन । सर्जमिनले पनि प्रतिवादीलाई सफाई नदिई निजको चरित्रको संदिग्धतानै देखाएका समेतबाट प्रतिवादी कमल प्रसाद श्रेष्ठलाई जिउमास्ने बेच्ने कसूर गरेको ठहर गरी जीउमास्ने बेच्ने कार्य नियन्त्रण ऐन, २०४३ को दफा ८ (१) प्रयोग गरी प्रतिवादी कमल प्रसादलाई तजविजी कैद वर्ष ११ गर्ने भन्ने पुनरावेदन अदालत पाटनको ठहर मनासिव नै हुँदा सदर हुने ठहर्छ । प्रतिवादी कमल प्रसादलाई जिउ मास्ने बेच्नेको ५ नं. अनुसार जरिवाना गर्नुपर्नेमा नगरेको बा.वि.अ. र पुनरावेदन अदालत पाटनको इन्साफ त्रुटिपूर्ण भएकोले जरिवाना समेत हुनुपर्ने भन्ने बादी श्री ५ को सरकारको पुनरावेदन परेकोमा वागमती विशेष अदालतले निर्णय गरेपछि नै सो जिकीर लिनुपर्ने मा नलिई पुनरावेदन तहबाट निर्णय भई सकेपछि दोश्रो तहको पुनरावेदनमा लिइएको उक्त जिकीर उपर विचार गर्नु नपर्ने हुँदा त्यसतर्फ श्री ५ को सरकारको जिकीर पुग्न सक्दैन भन्ने माननीय न्यायाधिश श्री गोविन्द बहादुर श्रेष्ठको राय भई निर्णयार्थ प्रस्तुत मुद्दा यस इजलास समक्ष पेश हुन आएको देखिन्छ ।

१९. नियमानुसार पेशी सूचीमा चडी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी श्री ५ को सरकारको तर्फबाट उपस्थित हुनुभएका विद्वान उप सरकारी अधिबक्ता श्री पुष्पराज कोइरालाले बहसको क्रममा जाहेरवालीको किटानी जाहेरी प्रतिवादी कमल प्रसाद श्रेष्ठ अधिकार प्राप्त अधिकारी समक्ष जाहेरवालीलाई बम्बई भारत लगि विक्री गरेकोमा सावित भएका र निजले अदालतमा कसूर गरेमा इन्कारी बयान दिएका भएतापनि मौकामा भएको सावितीलाई अन्यथा प्रमाणित गर्न सकेका छैनन् । जाहेरवालीलाई प्रतिवादीले भारत बम्बईमा लगि विक्री गरेको हुँदा प्रतिवादी कमल प्रसाद श्रेष्ठले मुलुकी ऐन जिउमास्ने बेच्ने महलको १ नं. अनुसारको कसूर गरेको ठहर गरेपछि सजाय तर्फ बोल्दा पनि सोही ऐन अनुसार नै गर्नुपर्नेमा जिउमास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ दफा ८ (१) बमोजिम तजविजी कैद बर्ष ११ मात्र हुने ठहराएको पुनरावेदन अदालत पाटनको फैसला त्रुटीपूर्ण एवं स्वयममा विरोधाभाष भएकोले प्रहरी प्रतिवेदनमा माग दावी बमोजिमनै प्रतिवादीलाई सजाय गरी ऐ जिउमास्ने बेच्ने महलतको ५ नं. बमोजिम प्रतिवादीलाई दिगो बमोजिम जरिवाना गर्नुपर्ने मा जरिवाना तर्फ फैसलामा केही नबोलेको हुँदा उक्त ५ नं. अनुसार विगोबमोजिम प्रतिवादीलाई सजाय हुन पर्दछ भन्ने र विपक्षी पुनरावेदक प्रतिवादी तर्फबाट रहनु भएका विद्वान अधिबक्ता श्री हिरा रेग्मी र लोकभक्त राणाले प्रतिवादीलाई केबल शंका र अनुमानको भरमा कसुरदार ठहराई अन्यायपूर्वक हाल सम्म बन्दी अवस्थामा राखिएको छ । जाहेरी दरखास्त लगाएतका संकलित सबुद प्रमाण र अदालतमा जाहेरीवाली एवं बुझिएकी कोपिला खड्काको विरोधाभाष बक पत्रबाट वारदात कायम हुन सक्छ सक्दैन र निज उपर लगाईएको आरोपलाई तथ्या युक्त प्रमाणबाट पुष्टि भएको छ छैन भन्ने कुराको सही मूल्याङ्कन सुरु तथा पुनरावेदनको तहबाट समेत भएको छैन । अधिकार प्राप्त अधिकारी समक्ष भएको डर त्रास र धम्की युक्त सावितीलाई नै मुल प्रमाणको रुपमा ग्रहण गरिएको छ । मेरोे पक्षले अदालतमा बयान गर्दा आरोपित कसुर गरेकोमा इन्कारी भएका छन् । प्रहरीमा भएको स्वेच्छा विरुद्धको सावित हो भनि मेरो पक्षले जिकीर लिँदालिँदै त्यस्तो सावितीलाई अन्य स्वतन्त्र प्रमाणबाट समर्थन नभएसम्म प्रमाणमा लिन नमिल्ने नजिरहरु प्रतिपादन भएका छन् । प्रस्तुत मुद्दाको जाहेरी एक ठाउँमा दिएको छ, अनुसन्धान अर्कै ठाउबाट भएको छ । बुझनु पर्ने प्रमाण र क्षेत्र बझिएको छ्रैन मोरो पक्ष सिनेमा सम्बन्धी पेशागत कामको सिलसिलामा बम्बइ बरावर जाने गरेकोमा बम्बईमा केटिहरुलगि विक्री गरेको भनि विलकुलै झुटा आरोप लगाइएको कुरा अदालतको आदेश अनुसार बुझिएकी कोपिला खडका (जसलाई जाहेरीवालीले आफूसँगै विक्री भएको भनि जाहेरीमा उल्लेख गरेकी छन् ।) को बयानबाट समेत पुष्टि भएको तसर्थ मेरो पक्षलाई कसुरदार ठहर्याएको वा.वि.अ. तथा पु.वे.अ. पाटनको फैसला त्रुटीपूर्ण हुँदा उक्त दुवै तहको फैसला बदर गरी प्रस्तुत मुद्दाको अभियोगबाट मेरो पक्षले सफाई पाउनु पर्दछ भनि गर्नुभएको बहस जिकीरहरुसमेत सुनियो ।

२०. आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा उपरोक्त बहस जिकीरहरु र यस अदालतको संयुक्त इजलासका माननीय न्यायाधिश ज्यूहरुको भिन्दा भिन्दै राय समेतलाई विचार गरी पुनरावेदक बादी प्रतिवादीहरुको पुनराबेदन जिकीर पुग्न सक्छ, सक्दैन भनि निर्णय तर्फ विचार गर्दा प्रतिवादी कमल प्रसाद श्रेष्ठसमेत उपर जाहेरीवाली मथुरी शर्मासमेतका नेपाली केटीहरुलाई भारत बम्बइमा लगि विक्री गर्ने गराउने कार्य गरी मुलुकी ऐन जिउमास्ने बेच्ने महलको १ नं. अन्तर्गतको कसूर गरेकोले सोही महलको १ नं. अनुसार हदै सम्म सजाय गरी ऐ को ५ नं. अनुसार विगो बमोजिम जरिवाना समेत गरी पाउँ भनि अभियोग पत्र दायर भएको प्रस्तुत मुद्दामा पीडित पक्ष भनिएकी जाहेरवालीले मौकामा जाहेरी दिँदा प्रतिवादी कमल प्रसाद श्रेष्ठले डिल्लीमा नोकरी लगाई दिन्छु भनी ललाई फकाई साथी कोपिला खडका र म समेतलाई मिति २०४३।३।१६ मा बेलिहवा हुँदै दिल्ली तर्फ जाने भनि बम्बईमा पुर्याई बम्बइका साहु बालुदेसीको घरमा पुर्याई छाडि गएका र पछि हामीलाई भारु १६,०००।मा विक्री गरेको कुरा थाहा भयो । १ महिना १२ दिन पछि एउटा स्वास्नी मानिसको सहयोगबाट २०४३।५।१ मा घर फर्केको भन्ने ब्यहोर उल्लेख गर्दै प्रतिवादी उपर कारवाहीको माग गरी ०४३।५।२४ मा जाहेरी दिएको देखिन्छ । यिनै जाहेरवालाले अदालतमा बकपत्र गर्दा प्रतिवादी कमल प्रसाद, कोपिला खड्का र म समेतले होटलमा चिया खायौं । त्यसपछि म बेहोस जस्तो भए एकै चोटी बम्बई पुगेपछि मलाई होस आयो । प्रतिवादीले कोपिला खड्का समेतलाई विक्री गरेको हुन भनेकि छन् । यिनै जाहेरवालीले निजको साथै विक्री गरेकी भनिएकी कोपिला खडकालाई बुझ्दा प्रतिवादीले आफू समेतलाई विक्री गरेको होइन म बेलिहवा आफ्नै घरमा थिएँ भनि भनेकी समेतबाट जाहेरवालीको मौकाको जाहेरी र निजले अदालतमा गरेको बकपत्रका विरोधाभाष देखियो । साथै पैतिवादी कमल प्रसादले प्रहरीमा बयान कागज गर्दा आफूले आरोपित कसूर गरेमा साविती भएतापनि निजले अदालत समक्ष बयान गर्दा (प्रहरीमा भएको साविती स्वेच्छा पूर्वक होइन, डर त्रास, धम्कीबाट भएको भनि) आरोपित कसूर गरेमा इन्कारी हुँदै फिल्म सम्बन्धी काम पेशा, व्यवसायको सिलसिलामा बारम्बार भारत बम्वई जाने आउने गरेको तर आरोपित अबध कार्य नगरेको भनि बयान गरेको पाइन्छ । अनुसन्धानको सिलसिलामा बझिएका सर्जमिनका ब्यक्तिहरुले प्रतिवादी उपर केबल संका ब्यक्त गरेका छन् । प्रतिवादीले जाहेरवाली समेतलाई भारत बम्बई विक्री गर्न लगेको थाहा पाउने एवं देख्ने चस्मदित गवाह समेत नभएकार पिडित बच्चाबच्चिकी आमा समेत देखिदा निजलाई भारत बम्बईमा लगि विक्री गर्न लगेको भनि घर परिवार एवं नातागोताबाट मौकामा खोजखबर गरेको भन्ने कुरा कतैबाट पुष्टि भएको पाइदैन ।

२१. प्रस्तुत मुद्दामा प्रतिवादीको प्रहरीमा भएको साविती बाहेक अन्य स्वतन्त्र प्रमाणबाट अभियोग पुष्टि हुन नसक्नुको साथै पिडीत पक्ष भनिएकी जाहेरवालीको जाहेरी र अदालतमा गरेको बकपत्र एक आपसमा बाझेको अवस्था समेत विद्यमान हुँदा यी प्रतिवादीले आरोपित कसूरको वारदात घटाएको प्रमाणित गर्ने भार प्रमाण ऐन, ०३१ को दफा २५ अनुसार बादीले निर्वाह गर्न सकेको देखिदैन । प्रतिवादीले प्रहरीमा गरेको सावितीलाई बादी पक्षले अन्य स्वतन्त्र प्रमाणबाट पुष्टि गर्न नसकेको अवस्थामा प्रतिवादीको उक्त साविति बयान कागजलाई प्रमाण ऐन, २०३१ को दफा ९ अनुसार स्वेच्छापूर्वकको साविती हो भनी प्रमाणमा ग्राह्य गर्न सक्ने स्थिति विद्यमान देखिँदैन । अतह तथ्ययूक्त ठोस सबुत प्रमाणको अभावमा केबल शंखा जनक जाहेरी एवं अनुमानको भरमा प्रतिवादी उपर आरोपित कसूर ठहर गर्न फौजदारी न्यायको सिद्धान्त समेतको प्रतिकूल हुन जान्छ । साथै शंकाको सुविधा अभियुक्त अर्थात प्रतिवादी पक्षले पाउनेनै हुँदा प्रतिवादीले आरोपित कसूर गरेको भनि कसुरदार ठहर गरेको वागमती विशेष अदालत तथा पुनरावेदन अदालत पाटनको इन्साफ मिलेको नदेखिँदा बदर गर्ने गरी प्रतिवादी कमल प्रसार श्रेष्ठले प्रहरी प्रतिवेदन बमोजिम को आरोपित कसूरबाट सफाई पाउने ठहर्याएको माननिय न्यायाधिश श्री त्रिलोक प्रताप राणालको राय मनासिव ठहर्छ । बादी श्री ५ को सरकारको पुनरावेदन जिकीर पू्ग्न सक्दैन तपसिलका कुरामा तपशिल बमोजिम गरी मिसिल नियमानुसार बुझाई दिनु ।

 

तपसिल

माथि इन्साफ खण्डमा ठहरे बमोजिम निज कमल प्रसाद श्रेष्ठले सफाई पाउने ठहरेकाले निज थुनामा रहेको देखिदा उक्त थुनाबाट छाडि दिनु भनि सम्बन्धीत कारागारमा लेखी पठाइदिन । ........... १

माथि इन्साफ खण्डमा ठहरे बमोजिम प्रतिवादी कमल प्रसाद श्रेष्ठले सफाई पाउने ठरेकाले पुनरावेदन अदालत पाटनले निजलाई कैद वर्ष ११ सजाय गर्ने गरेको लगत कट्टा गर्नु भनि का.जि.अ. तहशिल फाँटमा लेखि पठाउनु । ........... २

पुनरावेदन अदालत पाटनबाट सुरु बाग्मती विशेष अदालतले गरेको कैद वर्ष १० को लगत कट्टा गरेको नदेखिँदा सो लगत पनि कट्ट गर्नु भनि का.जि.अ.मा लेखि पठाउनु ।

 

उक्त रायमा हामीहरु सहमत छौं

 

न्या. रुद्ध बहादुर सिंह

न्यो. अरविन्द नाथ आचार्य

 

इति सम्बत २०५० साल चैत्र ११ गते रोज ५ सुभम्

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु