शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४८९३ - अंश दवाए, छुपाए

भाग: ३६ साल: २०५१ महिना: श्रावण अंक:

निर्णय नं. : ४८९३       २०५१, ने.का.प.      अङ्क ४

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह

माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य

सम्बत् २०४९ सालको दे.पु.नं. ६०४, ६०५

फैसला मिति : २०५०।१०।४।२

 

विषयः अंश दवाए, छुपाए ।

 

निवेदक वादीः जि.मोरङ राजघाट गा.वि.स. वार्ड नं. ४ बस्ने शुक्ला मुर्मुसतारको मु.स. गर्ने निजकी पत्नी वर्ष ३८ को समी मुर्मुसतार

विरुद्ध

विपक्षी : जि. मोरङ राजघाट गा.वि.स. वडा नं. ५ बस्ने वर्ष ४२ की लखमाया तामाङ ।

ऐ. सिजवा गा.वि.स. वार्ड नं. ८ बस्ने पनि मुर्मुसतार ।

ऐ. ऐ. बस्ने वर्ष २३ को बुढाई मुर्मुसतार ।

 

पुनरावेदक/प्रतिवादीः जि. मोरङ राजघाट गा.वि.स. वडा नं. ५ बस्ने वर्ष ४२ की लखमाया तामाङ

विरुद्ध

विपक्षी वादी : जि. मोरङ राजघाट गा.वि.स. वार्ड नं. ८ बस्ने वर्ष ३१ को शुक्ला मुर्मुसतार ।

§  अंशको फाँटवारी पेश गर्दा अर्कालाई विक्री गरी सकेको जग्गा विक्री गर्न असामील अंशको फाँटवारीमा नदेखाउँदैमा त्यसलाई अंश दपोट गरेको मान्नु पर्ने अवस्था नदेखिने ।

(प्र.नं. ११)

§  अंश मुद्दा दायर भइसकेपछि प्रस्तुत मुद्दाका वादीको हक लाग्ने आधि जग्गा प्रतिवादीले विक्री ब्यवहार गर्दा वादीको पनि मन्जुरी दिन पर्नेमा मन्जुरी लिएको नदेखिँदा वादी दावीको निजको हक जति अर्थात् आधा जग्गाको दर्ता बदर हुने ।

(प्र.नं. ११)

निवेदकको तर्फबाट : x

विपक्षी तर्फबाट : x

अविलम्बीत नजीर : x

फैसला

न्या.सुरेन्द्र प्रसाद सिंह : पुनरावेदन अदालत विराटनगर संयुक्त इजलासको मिति २०४९।१।८ को फैसला उपर पर्न आएको प्रस्तुत पुनरावेदनको संक्षिप्त तथ्य एवं निर्णय यस प्रकार छ :

२. विपक्षी मध्येका पति मुर्मु र बुढाई क्रमशः भाउजु भतिजो भएकोमा मैले विपक्षीहरु उपर २०४१ सालमा अंश मुद्दा दायर गरेकोमा यस अदालतबाट दुवै पक्षबाट फिराद परेको अघिल्लो दिनसम्मको फाँटवारी पेश गर्नु भन्ने आदेशानुसार मेरा जिम्मामा केही नभएको भनी मबाट पेश भएको र विपक्षीहरुबाट मिति ०४२।९।१६ गते गोविन्दपुरको २० मात्र देखाई फाँटवारी पेश गरी विपक्षीहरुले मोरङ राजघाट गा.पं. को वडा नं. २(च) कि.नं. ५७ को ०१०० र ऐ. कि.नं. १२२ को ०० समेत जम्मा ०१५० जग्गा फाँटवारीमा नदेखाई विपक्षी पति मुर्मु र बुढाइले विपक्षी लखमाया लाई ०४२।१।११ मा र.नं. ८७७४ मा पारित गराई अंश मुद्दा परी सकेपछि विक्री गरेको थाहा पाइ सो जग्गा मेरो अंश हक भेट्ने काम गर्नु भएकोले अ.वं ८२ नं. को हक पुग्ने कुरामा यो नालिस लिई अएको छु अंश बण्डाको २७ नं. र लेनदेन ब्यवहारको ४० नं. बमोजिमको लेखत बदर गरी सम्पूर्ण सबै जग्गा मेरा नाममा दर्ता गरी पाउँ साथै जालसाजी मुद्दा पनि यसै मुद्दा साथ पेश गरेको छु भन्ने फिरादपत्र ।

३. वादी दावी अनुसार मैले कुनै नियतले सित्तैम जग्गा खरिद गरी लिएको होइन छैन मुपथ मूल्य तिरी लिएको हुँ मलाई निजहरुको अंश मुद्दा चलिरहेको छ भन्ने थाहा थिएन । तसर्थः लेनदेन ब्यवहारका १० नं. अनुसार आफ्नो हक लाग्ने प्रमाण समेत पेशगरी नालेस गर्नु पर्ने हो । अंशवण्डाका २७ र लेनदेन ब्यवहारका ४० नं. र अंशबण्डाको ३५ नं. बमोजिम यो नालेस लाग्ने नहुँदा खारेज गरी पाउँ भन्ने प्र. लाखमायाको प्रतिउत्तर पत्र ।

४. विपक्षी वादीकोउक्त जग्गामा कुनै हक पुग्ने होइन साथै मैले सो जग्गा पास रजिष्ट्रेशन गरि सकेपछि पनि विपक्षीलाई थाहा थियो सो हुनासाथ लिखत बदर तर्फ नालेस गर्नुपर्ने सो नगरेकोले झुठ्ठा नालेसबाट फूर्सत गरी पाउँ भन्ने पनि मुर्मुको र बुढाइको संयुक्त प्रतिउत्तर जिकिर ।

५. वादीको मिति ०४१।११।१७ मा अंश मुद्दा परी सेकपछि प्रतिवादीले पनि मुर्मु र बुढाइले प्र. मध्येको लाखमायालाई र.नं. ८७७४ मिति २०४२।१।११ मा विक्री गरेको पाइन्छ । अतः अंश मुद्दामा यी वादी सुकला मुर्मुले अंश पाउन ठहरे पनि वादी दावीको राजघाट गा.पं. वार्ड नं. २ (घ) कि.नं. ५७ र १२२ को जगगा दवाएको मान्नु परी अंश दपोट गरेको ठहरी प्रतिवादीले गरेको दर्ता बदर भै वादीका नाउँमा कायम हुने समेत ठहर्छ भन्ने समेत ब्यहोराको मोरङ जिल्ला अदालतको मिति ०४७।३।१९।३ को फैसला ।

६. मोरङ जिल्ला अदालतको मिति ०४७।३।१९।३ को त्रुटीपूर्ण फैसलामा चित्त बुझेन, मेरो नाउँ दर्ता भएको जग्गामा अंश दपोट समेत लाग्ने होइन । अंश दपोट त आफूले लिन खानका लागि लुकाएको हुनु पर्‍यो । मैले चलन चल्तीको मोल तिरी हक टुटाई लिएको हुँ । फिर्ता दिन आफ्नो नाउँमा राखेको होइन । तसर्थः मेरो नाममा राखेको जग्गामा अंश दपोट लाग्ने होइन विपक्षी शुक्लाले मिति २०४२ साल जेष्ठ १२ गते र ०४३।३।२ गतेमा गरेको घरसारको कागज प्रतिउत्तर दिँदाका अवस्था पहाड घरमा नै छुटेकोले त्यस अवस्थामा पेश गर्न नसकेको हुँदा हाल यो नक्कल लिखतको फोटोकपी समेत पेश गरेको छु । उक्त त्रुटीपूर्ण फैसला बदर गरी पाउँ भन्ने समेत प्रतिवादीको पु.वे.अ. मा परेको पुनरावेदन पत्र ।

७. यसमा अंशको फाँटवारी माग गर्ने आवेश र अंशको फाँटवारी पेश गर्दा जग्गाको हक हस्तान्तरण भई सकेको देखिंदा विवादित लिखतमा परेको जग्गा अंश दपोट गरेको ठहर्‍याएको शुरु जि.अ. को इन्साफ मिलेको देखिँदैन । अंश मुद्दाका वादी शुक्ला मुर्मु सतार र पानी मुर्मु सतार समेतको बीचमा २ अंशियार कायम गरी निर्णय गरेको देखिएकोले अंश मुद्दा दायर भई सकेपछि पुनरावेदकलाई पनि मुर्मु सतारले वादीको अंश भाग हक लाग्ने निजको आधि जग्गा समेत राजिनामा पास गरी लिए दिएको देखिएको र विक्रि गर्दा वादीको मन्जुरी समेत लिएको नदेखिँदा वादीको हक भागको जति अर्थात आदि जग्गाको दर्ता बदर हुने समेत ठहरी शुरु इन्साफ केही उल्टी हुन्छ भन्न समेत पुनरावेदन अदालत विराटनगरको फैसला ।

८. मेरो अंश मुद्दाको फिराद मो.जि.अ. मा ०४१।११।१७ मा परेको र विपक्षीहरुले दावीको जग्गा ०४२।१।११ मा पारित गरी लिनु दिनु गरेको । फिराद पत्र परेको अघिल्लो दिन सम्मको सम्पत्तिको तायदाति अदालतबाट माग गरेकोमा दावीको जग्गा विपक्षीले तायदातिमा उल्लेख गर्नु पर्नेमा सो बमोजिम उल्लेख गरिएन । दावीको जग्गा फिराद परेको अघिल्लो दिनसम्म प्रतिवादी कै नाममा कायम रहेको भएपछि सो जग्गा तायदातीमा नदोउनुलाई अंश दपोट ठहर्‍याउनु पर्नेमा पुनरावेदन अदालतले अंश दपोट नठहर्ने गरी गरेको फैसला अंशवण्डाको २७ नं. प्रतिकूल छ साथै अंश दपोट नठहर्‍याई आधा जग्गा मात्र दर्ता बदर गरी पाउने गरी फैसला गरेको पु.वे.अ. विराटनगरको फैसला बदर गरी वादी दावी अनुसार अंश दपोट गरेको ठहर्‍याई दावीको सवै जग्गा मैले नै पाउने गरी इन्साफ गरी पाउँ भन्ने समेत यस अदालतमा परेको वादीको पुनरावेदक पत्र ।

९. विवादित जग्गा विपक्षी वादीको पनि अंश लाग्ने जग्गा भएको भए लेनदेनको १० नं. को दावी लिई मुद्दा दायर गर्नुपर्ने सो दावी नै नभएको कुरामा आधा जग्गा बदर गरी गरेको पु.वे.अ. विराटनगरको फैसला त्रुटी पूर्ण हुँदा त्यसलाई बदर गरी सम्पूर्ण जग्गा मेरै नाममा दर्ता कायम राखि पाउँ भन्ने समेत प्रतिवादी लाखमाया तामाङको यस अदालतमा परेको पुनरावेदन पत्र।

१०. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको दुवै पक्षको पुनरावेदन परेको प्रसतुत मुद्दामा पुनरावेदन अदालत विराटनगरको फैसला मिलेको छ छैन सो को निर्णय दिनु पर्ने हुन आयो ।

११.यसमा मिति ०४१।११।१७ मा अंश मुद्दा दायर भएकोमा प्रतिवादीले ०४२।१।९ मा प्रतिउत्तर र ०४२।९।१६ मा अंशको फाँटवारी पेश गरेको मिसिलबाट देखिन्छ । अंश मुद्दाका वादीको अंश भाग लाग्ने विवादित जग्गा ०४२।१।११ मा पारित गरी लिनु दिनु गरेको देखिन्छ । अंशको फाँटवारी पेश गर्दा अर्कालाई विक्री गरी सकेको जग्गा विक्री गर्न असामील अंशको फाँटवारीमा नदेखाउँदैमा त्यसलाई अंश दपोट गरेको मान्नु पर्ने अवस्था देखिँदैन । प्रमाणको अंश मुद्दाका वादी शुक्ला मुर्मुसतार र पनि मुर्मुसतार समेतको बीचमा २ ंशियार कायम गरी निर्णय भएको देखिँदा अंश मुद्दा दायर भइसकेपछि प्रस्तुत मुद्दाका वादीको हक लाग्ने आधि जग्गा प्रतिवादीले विक्री ब्यवहार गर्दा वादीको पनि मन्जुरी दिन पर्नेमा मन्जुरी लिएको नदेखिँदा वादी दावीको निजको हक जति अर्थात् आधा जग्गाको दर्ता बदर हुने देखिन्छ । तसर्थः शुरुको इन्साफ केही उल्टी गरी अंश दपोट गरेको ठहर्‍याइ वादी दावीको जग्गा मध्ये वादीको अंश हकलाग्ने आधा जग्गाको दर्ता बदर गर्ने गरेको पुनरावेदन अदालत विराटनगरको इन्साफ मनासिब देखिँदा सदर हुने ठहर्छ । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. अरविन्दनाथ आचार्य

 

इति सम्बत् २०५० साल माघ ४ गते रोज २ शुभम्

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु