शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४९८१ - हक कायम जग्गा खिचोला

भाग: ३६ साल: २०५१ महिना: पौस अंक:

निर्णय नं. ४९८१                     २०५१ ने.का.प.                         अङ्क ९

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा

माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ

सम्बत् २०५० सालको दे.पु.नं. ११०९

फैसला मिति : ०५१।५।१।४

मुद्दा : हक कायम जग्गा खिचोला ।

 

निवेदक : बारा जिल्ला प्रिप्रा गा.वि.स. वडा नं. ७ बस्ने जयपुन नेसा

विरुद्ध

विपक्षी : वारा जिल्ला कलैया न.पा. वडा नं. १८ बस्ने सरला मिया अंसारी

§  राजीनामा लिखतमै ४ किल्ला उल्लेख गर्दै लम्बाई चौडाइ समेत जनाई दाताले लिखत गरी दिएको अवस्थामा सो घर जग्गा मध्ये केही जग्गा वाँकी राख्ने मनसाय भए सो कुरा लिखतमै नै उल्लेख हुनु पर्ने हो तर सो उल्लेख नभएको समेतबाट सम्पूर्ण घर जग्गा राजीनामाबाट गइसकेको मान्नु पर्ने ।

(प्र.नं. १०)

निवेदक तर्फबाट : x

विपक्षी तर्फबाट : x

अवलम्बित नजीर : x

 

फैसला

            न्या. मोहन प्रसाद शर्मा : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अन्तर्गत पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ :

            २. पिता मलदिन मियाको म बाहेक अरु छोराछोरी कोही नहुँदा मैले नै पिताको सेवा टहल हेर विचार तथा काजकिरिया समेत गरी आएकोमा पति सुविन मिया २०४० साल आश्विन महिनामा परलोक भएपछि त आफ्नो पिताको स्वर्गवास भएको १०, ११ वर्षपछि बाबुको नाउँमा नापीनक्सा भएको जिल्ला बारा गा.वि.स. बरेवा वार्ड नं. १ कि.नं. ४१ को ०८ जग्गामा भएको कुतको घर २ मा मेरो अपुताली परी बसी आएकोमा घर पुरानो भै टुटी सकेको हुँदा नयाँघर बनाउन ०४६।२।२२ गते भत्काई ०४६।२।२८ गते जन मजदुर लिई विहान ९ बजे जग्गामा खाम्हो गाड्न लाग्दा यो जग्गा तिम्रो पति सुदिन यिमासँग खरिद गरी लिएको छु । घर बनाउन भिन्न भनी घर बनाउन नदिई जवरजस्ती टंटा खिचलो गरी मलाई प्रवेश गर्न नदिई हटक गरेको हुँदा उपरोक्त ज.वि. ०८ को विपक्षीले गरेको टंटा खिचोला छोडाई मेरो हक कायम गरी पाउँ भन्ने समेत व्यहोराको वादीको मुख्य फिरादपत्र रहेछ ।

            ३. दावीको ऐलानी ज.वि. ०८ रमजान मियाको घरदेखि उत्तर पूर्व विगा मियाको घरदेखि दक्षिण मेरो घरदेखि दक्षिण पश्चिममा पर्छ सो जग्गा फुसको घर २ नं. ई दक्षिण मुख निकासाको पूर्व पश्चिम १६ हात चौडा उत्तर दक्षिण २५ हात लम्बा फुसको बंगला घर थियो । सो घर जग्गा बादीको बाबु मलदिन मियासित रु ३५१।मा खरिद गरी वारा मालबाट र नं. २२४७।२४४२ मिति २०२४।३।१९ मा सुक्री विक्री राजीनामा पारित गरी भोगी आएपछि ०२९ सालमा सो घर भत्केपछि उक्त जग्गा आफ्नो घर आगनमा सम्मिलित गरी थुनछेक गरी भोगी आएको छु । लिखत मितिदेखि नै उक्त जग्गा घर मेरो भोग चलनमा रहे भएकोबाट वादी दावी बमोजिम चलन चलाई दिनु र हक कायम गर्नु पर्ने समेत होइन भन्नेसमेत व्यहोराको प्रतिवादीको प्रतिउत्रर पत्र रहेछ ।

            ४. प्रतिवादीको लिखतबाट हुन आउने क्षेत्रफल ४ धुर २ कन्वासम्ममा मात्र प्रतिवादीको हक कायम रहने देखिँदा सो भन्दा बढी हुन आउने पूर्वतर्फको जग्गासम्ममा मात्र वादी दावी बमोजिम खिचोला गरेको ठहर्छ उक्त जग्गामा मात्र खिचोला टुटाई हक कायम गराई दिने ठहर्छ । भन्ने समेत व्यहोराको प्रतिावदीको बारा जिल्ला अदालतको मिति ०४७।३।३१ को फैसला रहेछ ।

            ५. शुरु वारा जिल्ला अदालतले मलाई हराई गरेको फैसलामा मेरो चित्त बुझेन सो फैसला बदर गरी वादी दावी खारेज गरी उक्त सम्पूर्ण जग्गामा हक कायम रहने गरी अर्को फैसला गरी इन्साफ गरी हक इन्साफ गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीको बारा जिल्ला अदालत मार्फत तत्कालीन नारायणी अंचल अदालतमा पुनरावेदन गरेको छ ।

      ६. अ.वं. २०२ नं. बमोजिम विपक्षीलाई झिकाई आएपछि पेश गर्नु भन्ने पु.वे.अ. हेटौंडाको मिति ०४८।१२।१३ को संयुक्त इजलासको आदेश ।

      ७. विवादास्पद जग्गाको भै आएको नक्सामा प्रतिवादीको लिखतको ४ किल्ला प्रष्ट मिले भिडेको देखिँदा मिन्ही जग्गाको मात्र बेचविखन हुने नभै मिन्ही जग्गामा बनेको घरकै आधारमा बेच विखन र रजिष्ट्रेशन समेत पारित हुने ठहर्छ सोकै परिप्रेक्ष्यमा स्व. नलदिन मियाले निजको नाममा रहेको मिन्ही जग्गा ४ किल्ला खोली दिएको घर समेत अंकित गरी राजीनामा पारित गरी दिए लिएको देखिँदा प्रतिवादीले राजीनामा पारित गरी लिएकै जग्गामा वादीले विवाद उठाएको देखिँदा प्रतिवादीको लिखत सबुद प्रमाणबाट वादी दावी नपुग्ने ठहर्‍याउनु पर्नेमा शुरु जिल्ला अदालतले ४ धुर २ कम्बा सम्ममा प्रतिवादीको हक कायम गरी उक्त जग्गामा खिचोला समेत ठहर्‍याएको फैसला सो हदसम्म त्रुटिपूर्ण देखिँदा उल्टी हुन्छ । वादी दावी पुग्न नसक्ने ठहर्छ भन्ने पुनरावेदन अदालत हेटौंडाको २०४९।९।२९ को फैसला ।

      ८. मिन्हि जग्गामा केवल घर मात्र राजीनामा दिने लिने प्रचलन रहे भएको अवस्थामा सो घरकको लम्बाई चौडाई समेत खुलाई राजीनामा भएको देखिँदा घरको नाताले अन्य जग्गामा पनि ४ किल्लाले समात्छ भनी हचुवा तर्क लगाई पुनरावेदन अदालतले सम्पूर्ण रुपमा खिचोला गरेको ठहर्‍याई गरेको फैसलामा चित्त नबुझेकोले उक्त फैसला बदर गरी शुरु जिल्ला अदालतकै फैसला सदर कायम गरी पाउँ भन्ने समेत व्यहोराको पुनरावेदीका जयपुन नेसाको यस अदालतमा पर्न आएको धरौटी पुनरावेदन पत्र ।

      ९. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी निर्णयतर्फ विचार गर्दा पुनरावेदन अदालत हेटौंडाको फैसला मिले नमिलेको के रहेछ त्यसतर्फ निर्णय दिनु पर्ने हुन आयो ।

      १०. यसमा पिता मलदिन मियाको परलोक भएपछि मेरो अपुताली हक कायम हुन आएको वारा जिल्ला वरेवा गा.वि.स. वडा नं. १ को कि.नं. ४१ को ०८ जग्गामा पुरानो फुसको घर टुटी नयाँ घर बनाउन लाग्दा बनाउन नदिई हटक खिचोला गरेकोले खिचोला मेटाई मेरो हक कायम गरी पाउँ भन्ने वादी र विवादको जग्गा मैले वादीको दाजुबाट रु ३५१।मा खरिद गरी मिति २०२४।३।१९ मा राजीनामा पारित समेत गरी भोगी आएको छु । अतः चलन चलाई दिन र हक कायम गरी दिन पर्ने होइन भन्ने प्रतिवादीको भै अदालतबाट विवादित जग्गाको नक्सा भै आएको र प्रतिवादीले राजीनामा लिखत पेश गरेको समेतको सबुद प्रमाणको आधारमा शुरु वारा जिल्ला अदालतले ४ धुर २ कन्वा सम्ममा मात्र प्रतिवादीको हक कायम हुने सो भन्दा बढी हुन आउने जग्गामा मात्र वादी दावी बमोजिम खिचोला ठहराएको र पुनरावेदन अदालतले त्यसलाई उल्टी गरी वादी दावी नपुग्ने ठहराएको देखिन्छ । अव पुनरावेदन अदालतको इन्साफ मिले नमिलेको के रहेछ भनी हेर्दा मिति २०४७।२।२९ मा अदालतबाट भै आएको विवादित जग्गाको नक्साको (४) चार किल्ला र मिति २०२४।३।१९ मा प्रतिवादी सरला मियाँ अन्सारीले वादीका दाजु मलदिन मियाँसित पारित गरी लिनु भएको राजीनामाको चार किल्ला भिडाई हेर्दा जग्गामा पोत नलाग्ने मिन्ही जग्गामा बनेको रमजान मियाको घरदेखि उत्तर पूर्व तपाईं धनिको घर देखि पश्चिम विगा मियाँको घरदेखि दक्षिण पूर्व पश्चिम १६ हात चौडा, उत्तर दक्षिण २१ हात लामो देखिन मिकसारको फुसको बंगला घर एक भनी मिति २०२४।३।१९ को लिखतमा उल्लेख भएको र दक्षिण पशिचमतर्फ रजमान मिया पूर्व सरला मियाँ र उत्तरतर्फ साविकमा विया मिया हाल मन्तोरिया भन्ने भै आएको नक्साबाट देखिँदा न.नं. १ र २ को जग्गा प्रतिवादीको २०२४।३।१९ लिखतको ४ किल्लासंग स्पष्ट रुपमा मिल्न भिडन आयो । यसरी राजीनामा लिखतमै ४ किल्ला उल्लेख गर्दै लम्बाई चौडाईसमेत जनाई दाताले लिखत गरी दिएको अवस्थामा सो घर जग्गा मध्ये केही जग्गा बाँकी राख्ने मनसाय भए सो कुरा लिखतमै उल्लेख हुनु पर्ने तर सो उल्लेख नभएको समेतबाट सम्पूर्ण घर जग्गा राजीनामाबाट गइसकेको मान्नु पर्ने हुँदा वादी दावी नपुग्ने ठहर्‍याएको पुनरावेदन अदालत हेटौंडाको इन्साफ मनासिव ठहर्छ । पुनरावेदिकाको पुनरावेदन जिकिर पुग्न सक्दैन । पुनरावेदिकाले धरौटी पुनरावेदन गरेको हुँदा पुनरावेदिकालाई फैसलाको सूचना दिई मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. गोविन्द बहादुर श्रेष्ठ

 

इति सम्बत् २०५१ साल श्रावण ३१ गते रोज २ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु