शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९५८३ - लागु औषध (अफिम)

भाग: ५८ साल: २०७३ महिना: श्रावण अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास 

माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय

माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा.

फैसला मिति : २०७२।११।१२।४

 

मुद्दाः लागु औषध (अफिम)

 

०६८-CR-००६३

पुनरावेदक / प्रतिवादी : बारा जिल्ला, इनर्वासिरा वडा नं.४ घर भई जिल्ला पर्सा वीरगञ्ज उपमहानगरपालिका वडा नं.२ स्थित छपकैयामा डेरा गरी बस्ने हाल कारागार कार्यालय, वीरगञ्जमा थुनामा रहेका मिश्रादेवी भण्डारी

विरूद्ध

प्रत्यर्थी / वादी : प्र.ना.नि. सुरेन्द्र यादवको प्रतिवेदनले वादी नेपाल सरकार

 

०६८-CR-००६४

पुनरावेदक / वादी : प्र.ना.नि. सुरेन्द्र यादवको प्रतिवेदनले वादी नेपाल सरकार 

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : जिल्ला पर्सा वीरगञ्ज उपमहानगरपालिका वडा नं.८ बस्ने हनुमान साहको छोरा मोतीलाल साह

 

लागु औषध बरामद भएको अवस्थामा अपराध नमानिनको लागि आफूसँग लागु औषध रहनु पर्ने उचित कानूनी आधार देखाउन सक्नुपर्ने हुन्छ । पुनरावेदिकाको साबिती बयानलाई लागु औषध बरामद भएको तथ्य प्रमाणित भएकोले प्रमाणमा लिन नमिल्ने अवस्था पनि देखिएन । लागु औषध बरामद भएको अन्यथा प्रमाणित गर्न नसकेको अवस्थामा बरामदी तथ्य आफैँमा कसुरजन्य हुन पुग्ने ।

(प्रकरण नं.४)

 

प्रतिवादीका तर्फबाट : विद्वान् वैतनिक अधिवक्ता नारायणप्रसाद देवकोटा

वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता पुण्यप्रसाद पाठक

अवलम्बित नजिर :

सम्बद्ध कानून :

सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा १०

लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४(च), दफा १२, दफा १४(१)(छ) को (३)

 

सुरू फैसला गर्ने : 

मा. जि. न्या. श्री विष्णुप्रसाद कोइराला

पुनरावेदन तहमा फैसला गर्ने :

मा. न्या. श्री मोहनप्रसाद घिमिरे

मा. न्या. श्री मोहनरमण भट्टराई

 

फैसला

न्या.बैद्यनाथ उपाध्याय : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अनुसार वादी प्रतिवादी दुवै पक्षबाट दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः-

मिति २०६५।७।३ गते वीरगञ्ज बसपार्कमा एक जना महिलाले पहेँलो रङ्गको झोलामा लागु औषध (अफिम) लुकाई छिपाई लगेको भन्ने सुराक पाई उक्त महिलालाई पक्राउ गर्नका लागि प्रहरी जनशक्ति खटाई पठाई दिन माग गरेको भन्ने प्र.ना.नी. सुरेन्द्र यादवको प्रहरी प्रतिवेदन ।

जिल्ला पर्सा वीरगञ्ज उपमहानगरपालिका वडा नं.१८ स्थित भानु चोक बसपार्कमा एक जना महिला पहेँलो रङ्गको टाटेपाटे प्लास्टिकको झोला लिई शङ्कास्पदरूपमा हिँडिरहेको अवस्थामा देखी निजलाई रोकी निजको झोला खानतलास गर्दा उक्त झोलामा लागु औषध अफिम ३ किलोसहित बरामद भएको भन्ने खानतलासी तथा बरामदी मुचुल्का ।

मिति २०६५।७।३ गते वीरगञ्ज बसपार्क इलाकामा गस्ती गर्दै जाँदा साँझ १८:३० बजेको समयमा भानु चोकमा पहेँलो रङ्गको टाटेपाटे प्लास्टिकको झोला बोकी हिँडेकी प्रतिवादी मिश्रादेवी भण्डारीबाट ३ किलो लागु औषध (अफिम) बरामद भएको भन्ने प्र.ना.नि. सुरेन्द्र यादवको प्रतिवेदन ।

मेरो घर बारा जिल्ला भए पनि वीरगञ्ज उपमहानगरपालिका वडा नं.२ छप्कैयामा डेरा गरी चिया पसल चलाउँदै आएकी छु । मैले चिनेका नगरदाहा गा.वि.स. वडा नं.८ घर भएका मोतीलाल साह पनि चिया खान मेरो पसलमा आउँदा चिनजान भयो । मिति २०६५।७।३ गतेका दिन साँझको समयमा म सिरहा घर भएकी ठूली आमाको घर जान भनी बस चढ्न बसपार्कमा बसेको अवस्थामा मोतीलाल साह पनि तीन वटा झोला बोकी म बसेको ठाउँमा आई सँगै जाने सल्लाह भयो । मोतीलालले यो झोलामा लागु औषध छ, तिमीले सिरहासम्म पुर्‍याई देऊ । तिमीलाई रू.५००।– दिन्छु । त्यति चेक जाँच पनि हुँदैन भनेकोले ल ठीक छ भनी झोला म पुर्‍याई दिन्छु भनी उक्त झोला बोकी बसेको ठाउँमा प्रहरी आई चेक जाँच गर्दा मैले बोकेको झोलाबाट लागु औषध (अफिम) बरामद भएको हो । मोतीलाल साह त्यहाँबाट भागी गए । बरामदी मुचुल्कामा भएको सहीछाप मेरै हो । उक्त लागु औषध हेरी देखी चिनी सनाखत गरी दिएँ भन्नेसमेत व्यहोराको प्रतिवादी मिश्रादेवी भण्डारीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।

बरामद भएको लागु औषध परीक्षण गर्दा अफिम पाइएको भन्ने केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशालाको परीक्षण प्रतिवेदन ।

जिल्ला पर्सा गा.वि.स. नगरदाहा वडा नं.८ बस्ने मोतीलाल साहको दक्षिण मोहडा भएको खपडाको घर सो घरमा अ.वं.१७२ नं. बमोजिम खानतलासी गर्दा लागु औषध मुद्दामा प्रमाण लाग्ने कुनै सामान फेला नपरेको र निज मोतीलाल साह घरमा नभएको भन्नेसमेत व्यहोराको खानतलासी तथा बरामदी मुचुल्का ।

मिति २०६५।७।३ गते पक्राउ परेकी प्रतिवादी मिश्रादेवी भण्डारीलाई बसपार्कबाट तीन किलो लागु औषध अफिमसहित पक्राउ गरेको भन्ने कुरा सुनी थाहा पाएको हुँ । मोतीलाल साह लागु औषधको कारोबार गर्ने मानिस हुन् । बरामद भएको लागु औषध मिश्रादेवीलाई प्रलोभनमा पारी बोकाई हिँडाएको अवस्थामा प्रहरीले पक्राउ गरेका हुन् भन्नेसमेत व्यहोराको प्रायः एकै मिलानको प्रेमकुमार साह, विक्रम दास र भुपेन्द्रप्रसाद कुर्मीले गरी दिएको वस्तुस्थिति मुचुल्का ।

अवैध लागु औषध अफिम सञ्चय गर्ने र ओसारपसार गर्ने कार्यमा प्रतिवादीहरू मिश्रादेवी भण्डारी र फरार रहेका मोतीलाल साह तेली संलग्न रहेको प्रमाणित भएकोले लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४(च) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निज प्रतिवादीहरू मिश्रादेवी भण्डारी र मोतीलाल साहलाई सोही ऐनको दफा १४(१)(छ)(३) बमोजिम कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारले पर्सा जिल्ला अदालतमा दायर गरेको अभियोग पत्र ।

मिति २०६५।७।३ गते माइत जान वीरगञ्ज बसपार्कमा गई बसमा बसेको थिएँ । म बसेको बसको सिटनजिक एउटा सिट खाली थियो । सो खाली सिटमा प्लास्टिकको झोला थियो । उक्त तेरो झोला हो भनी प्रहरीले मलाई समातेका हुन् । बरामदी मुचुल्कामा जबरजस्तीसँग मेरो सहिछाप लगाइएको हो । प्रहरीको कुटाइको डरले बरामदी मुचुल्कामा मैले सहिछापसम्म गरेको हुँ । प्रहरीले बरामदी मुचुल्काको व्यहोरा मलाई पढी सुनाएनन् । बरामद भएको अफिम मेरो होइन । मोतीलाल साहसँग मेरो चिनजान छैन । प्रतिवेदकको प्रतिवेदन व्यहोरा झुट्टा हो भन्नेसमेत व्यहोराको प्रतिवादी मिश्रादेवी भण्डारीले सुरू अदालतमा गरेको बयान ।

प्रतिवादी मिश्रादेवी भण्डारीको साथबाट लागु औषध अफिम तीन के.जी. बरामद गरेको हो भन्नेसमेत व्यहोराको प्रतिवेदक सुरेन्द्र यादवको बकपत्र ।

वादीका साक्षी प्रेमकुमार साह, भुपेन्द्रप्रसाद शाही, विक्रम दास र प्रतिवादी मिश्रादेवीका साक्षी समवन ओन्सारीले गरेको पृथक पृथक बकपत्र मिसिल सामेल रहेको पाइयो ।

प्रतिवादी मोतीलाल साह हालसम्म फरार रहेकोले निजका हकमा अ.बं.१९० बमोजिम मुलतबी राखी दिएको छ । अर्का प्रतिवादी मिश्रादेवी भण्डारीको हकमा विचार गर्दा मिसिल संलग्न बरामदी मुचुल्का तथा प्रतिवादीको बयानसमेतबाट यी प्रतिवादीले लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४(च) को कसुर गरेको देखिँदा निज प्रतिवादीउपर सोही ऐनको दफा १४(१)(छ)(३) बमोजिम १५ वर्ष ६ महिना कैद र पाँच लाख रूपैयाँ जरिवाना हुने ठहर्छ भन्नेसमेत व्यहोराको सुरू पर्सा जिल्ला अदालतबाट मिति २०६६।१०।२६ मा भएको फैसला ।

प्रतिवादी मिश्रादेवी भण्डारीसँग मेरो चिनजान छैन । मेरोउपर झुट्टा मुद्दा किन परेको हो मलाई थाहा छैन । म लागु औषध ओसारपसार गर्ने व्यक्ति नभएकोले आरोपित कसुरबाट सफाई पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी मोतीलाल साहले सुरू अदालतमा मिति २०६६।११।२३ मा गरेको बयान ।

प्रतिवादी मोतीलाल साहको साक्षी अमर साह तेलीले सुरू अदालतसमक्ष गरेको बकपत्र मिसिल संलग्न रहेको ।

प्रतिवादी मोतीलाल साह आरोपित कसुरमा संलग्न रहेका थिए भनी शङ्कारहित तवरले पुष्टि गर्ने गरी वादी पक्षबाट अन्य कुनै सबुद प्रमाण पेस गरी आरोप खम्बीर गराउन सकेको पाइँदैन । शङ्काको सुविधा प्रतिवादीले पाउने फौजदारी न्यायको सर्वमान्य सिद्धान्तसमेतका आधारमा प्रतिवादी मोतीलाल साहले अभियोग दाबीबाट सफाई पाउने ठहर्छ भन्नेसमेत व्यहोराको सुरू पर्सा जिल्ला अदालतको मिति २०६६।१२।१८ को फैसला ।

वादी पक्षका गवाह प्रेम, विक्रम, झपेन्द्रसमेतका मानिसहरूले अदालतसमक्ष आई बकपत्र गर्दा मेरो साथबाट लागु औषध बरामद भएको होइन भनी बकपत्र गरेका छन् । बरामद भएको लागु औषध मेरो होइन । उक्त लागु औषध प्रतिवादीमध्येका मोतीलालको हो भनी भनेको अवस्थामा निजलाई अभियोग दाबीबाट सफाई दिने र म निर्दोष महिलालाई चर्को सजाय गर्ने गरेको सुरूको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग दाबीबाट सफाई पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी मिश्रादेवी भण्डारीले पुनरावेदन अदालत, हेटौंडामा दायर गरेको पुनरावेदन पत्र ।

प्रतिवादी मिश्रादेवी भण्डारीले बोकी हिँडेको झोला खानतलासी हुँदा लागु औषध अफिम फेला परेकोले निजलाई पक्राउ गरिएको हो । कारवाहीको क्रममा बयान हुँदा मौकाको बयानको स.ज.६ मा उक्त लागु औषध अफिम मोतीलाल साहले आफूलाई बोक्न दिएको भनी पोल गरी लेखाई दिएको पाइन्छ । सोही बयानसमेतको आधारमा प्रतिवादी मिश्रादेवीलाई कसुर ठहर गरेको तर अर्का प्रतिवादी मोतीलाल साहलाई आरोपित कसुरबाट सफाइ दिने गरी भएको सुरू फैसला नमिलेकोले प्रतिवादी मोतीलाल साहलाई सफाई दिएको हदसम्मको सुरू फैसला सदर गरेको पुनरावेदन अदालत, हेटौंडाको फैसला नमिलेको हुँदा उक्त फैसला सो हदसम्म उल्टी गरी मोतीलाल साहलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारले पुनरावेदन अदालत, हेटौंडामा दायर गरेको छुट्टै पुनरावेदन पत्र ।

सहअभियुक्त मिश्रादेवी भण्डारीले मौकामा पोल गरी लेखाएको, सहअभियुक्त मोतीलाल साहले आफूलाई पोल गरी लेखाउनुको स्पष्ट कारण दिन नसकेको र वादी पक्षकै गवाह प्रेमकुमार साहले मिश्रादेवीबाट लागु औषध बरामद भएको छैन भनी लेखाई दिएको परिप्रेक्ष्यमा सुरूको फैसला फरक पर्नसक्ने देखिएकोले पुनरावेदक नेपाल सरकारको हकमा छलफलको निमित्त प्रतिवादी मोतीलाल साहलाई अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम झिकाई र प्रतिवादी मिश्रादेवी भण्डारीको हकमा पेसीको सूचना पुनरावेदन सरकारी वकिल कार्यालय, हेटौंडालाई दिई पेस गर्नु भनी  पुनरावेदन अदालत, हेटौंडाबाट मिति २०६७।९।२७ मा भएको आदेश ।

मैले अदालतसमक्ष कसुरमा पूर्ण इन्कार रही बयान गरेको छु । मलाई फसाउने नियतले अधिकारप्राप्त अधिकारीसमक्ष मेरो संलग्नता देखाइए तापनि मौकाको बरामदी मुचुल्का, प्रहरी प्रतिवेदनसमेतबाट सो व्यहोरा खण्डित भएको हुँदा मलाई सफाई दिने ठहराएको सुरू फैसला सदर गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी मोतीलाल साहले पुनरावेदन अदालत, हेटौंडामा पेस गरेको लिखित प्रतिवाद ।

प्रतिवादी मिश्रादेवी भण्डारीलाई लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४(च) को कसुरमा ऐ. ऐनको दफा १४(१)(छ) को ३ बमोजिम १५ वर्ष ६ महिना कैद र रू.५,००,०००।- (पाँच लाख रूपैयाँ) जरिवाना गरेको मिति २०६६।१०।२६ को र प्रतिवादी मोतीलाल साहलाई आरोपित कसुरबाट सफाई दिएको मिति २०६६।१२।१८ को सुरू पर्सा जिल्ला अदालतको फैसला मनासिब देखिँदा सदर हुने ठहर्छ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, हेटौंडाबाट मिति २०६८।०१।२७ मा भएको फैसला ।

पुनरावेदन अदालत, हेटौंडाको फैसलाबाट मलाई अत्यन्तै मर्का परेको छ । मबाट लागु औषध बरामद भएको होइन । म पुनरावेदिका माइत जान भनी बसपार्कमा गई बस चढेको र म बसेको बसको सिट नजिक एउटा सिट खाली रहेको थियो । सो खाली सिटमा रहेको प्लास्टिकको झोला प्रहरीले बरामद गरेका हुन् । प्रहरीले उक्त झोला जबरजस्ती तेरो हो भनी म निरक्षर महिलालाई परिबन्धमा पारी सहिछाप गर्न लगाई मुद्दा लगाएका हुन् । मैले अभियोग माग दाबीबमोजिमको कसुर अपराध गरेको छैन । अनुसन्धान अधिकारीसमक्ष भएको मेरो बयान राजिखुसीले भएको होइन । प्रहरीको कुटपिटको डरले मैले सहिछाप गरी दिएकी हुँ । म निर्दोष रहेकोले मलाई दोषी ठहर गरेको पर्सा जिल्ला अदालत र सो अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत, हेटौंडाको फैसला उल्टी गरिपाउँ भनी प्रतिवादीमध्येकी मिश्रादेवी भण्डारीले कारागार कार्यालय, पर्सामार्फत यस अदालतमा दायर भएको पुनरावेदन पत्र ।

प्रतिवादीमध्येका मोतीलाल साहलाई अभियोग माग दाबीबाट सफाई दिने ठहर्‍याएको सुरू पर्सा जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत, हेटौंडाको फैसला सो हदसम्म त्रुटिपूर्ण हुँदा चित्त बुझेन । प्रत्यर्थी प्रतिवादी मौकामा फरार रही अदालतमा हाजिर भई कसुरमा इन्कारी रहे तापनि अर्की प्रतिवादी मिश्रादेवी भण्डारीले मौकामा बयान गर्दा तीन किलोको अफिम भएको झोला सिराहासम्म पुर्‍याई देउ रू.५००।– दिन्छु भनी दिई सिराहा जाने बसमा बसेको अवस्थामा प्रहरीले चेक जाँच गर्दा मोतीलाल साह पिसाब गर्न जान्छु भनी भागी गएकोले मबाट उक्त लागु औषध बरामद भएको हो भनी स्पष्टसँग बयान गरेको पाइन्छ । प्रतिवादी मिश्रादेवीलाई माग दाबीबमोजिम सजाय भएको छ भने यी प्रत्यर्थी प्रतिवादी मोतीलाल साह १६ महिनापछि अदालतमा उपस्थित भई कसुरमा इन्कारी बयान गरेकै आधारमा बेकसुर ठहर गर्न मिल्दैन । प्रतिवादी मिश्रादेवीले यी प्रत्यर्थी प्रतिवादीलाई चिन्दिन भनी बयान गरे तापनि निज छिमेकी हुन् भनी मौकाको बयानमा उल्लेख भएको पाइँदा निजहरूका बिचमा चिनजान भएको प्रस्ट हुन्छ । तसर्थ, यी प्रत्यर्थी प्रतिवादी मोतीलाल साहका हकमा इन्कारी बयानकै आधारमा निजलाई सफाई दिएको सुरू तथा पुनरावेदन अदालतको फैसला सो हदसम्म त्रुटिपूर्ण भएकोले निजको हकमा दुवै अदालतका फैसलाहरू उल्टी गरी यी प्रत्यर्थी प्रतिवादी मोतीलाल साहलाई समेत अभियोग माग दाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारले यस अदालतमा दायर गरेको पुनरावेदन पत्र ।

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी इजलाससमक्ष पेस भएको प्रस्तुत मुद्दामा पुनरावेदनसहितको सुरू तथा रेकर्ड मिसिल अध्ययन गरियो । पुनरावेदक मिश्रादेवी भण्डारीको तर्फबाट विद्वान् वैतनिक अधिवक्ता श्री नारायणप्रसाद देवकोटाले पुनरावेदिका मिश्रादेवीबाट लागु औषध बरामद भएको होइन । उनी चढेको बसको सिटसँगै रहेको खाली सिटबाट बरामद भएको हो । आफ्नो सिटसँगै रहेको खाली सिटमा लागु औषध बरामद भएकै आधारमा पुनरावेदिका मिश्रादेवीलाई कसुरदार ठहर गर्न मिल्दैन । वादी पक्षका साक्षीहरूले पनि बरामदी लागु औषध पुनरावेदिका मिश्रादेवीबाट बरामद भएको हैन भनी बकपत्र गरेको अवस्था छ । यसर्थ, निर्दोष यी पुनरावेदिकालाई सजाय ठहर गरेको सुरू तथा पुनरावेदन अदालतको फैसला उल्टी गर्ने प्रयोजनको लागि अर्का पुनरावेदक नेपाल सरकारलाई पुनरावेदनको जानकारी दिई पाउँ भनी बहस गर्नुभयो ।

पुनरावेदक नेपाल सरकारको तर्फबाट महान्यायाधिवक्ताको कार्यालयका विद्वान् उपन्यायाधिवक्ता श्री पुण्यप्रसाद पाठकले प्रतिवादीमध्येका मोतीलाल साहले प्रतिवादीमध्येकी मिश्रादेवीलाई रू.५००।– दिई बरामद भएको लागु औषध सिराहासम्म पुर्‍याई दिनु भनेकोले उक्त लागु औषध लिई राखेको अवस्थामा बरामद भएको हो भनी आफू कसुरमा साबित भई प्रतिवादी मोतीलाल साहलाई पोल गरेको अवस्थामा प्रत्यर्थी प्रतिवादी मोतीलाल साहलाई आरोपित कसुरबाट सफाई दिन मिल्दैन । प्रत्यर्थी प्रतिवादीको इन्कारी बयानकै आधारमा लागु औषध जस्तो गम्भीर कसुरबाट सफाई दिन मिल्दैन । मिसिल संलग्न अन्य प्रमाणबाट यी प्रत्यर्थी प्रतिवादी पनि प्रस्तुत कसुरमा संलग्न रहे भएको प्रस्ट देखिन्छ । यसर्थ, यी प्रत्यर्थी प्रतिवादीलाई आरोपित कसुरबाट सफाई दिने ठहर्‍याएको सुरू फैसला सदर गरेको पुनरावेदन अदालत, हेटौंडाको फैसला उल्टी गर्ने प्रयोजनको लागि अर्का पुनरावेदक मिश्रादेवी भण्डारीलाई पुनरावेदनको जानकारी दिई पाउँ भनी बहस गर्नुभयो ।

विद्वान् कानून व्यवसायीले गर्नुभएको तर्कपूर्ण बहसलाई ध्यानमा राख्दै पुनरावेदिका प्रतिवादी मिश्रादेवी भण्डारीलाई आरोपित कसुरमा सजाय हुने र अर्का प्रत्यर्थी प्रतिवादी मोतीलाल साहलाई आरोपित कसुरबाट सफाई पाउने ठहर्‍याएको सुरू फैसला सदर गरेको पुनरावेदन अदालत, हेटौंडाको फैसला मिलेको छ, छैन दुवै थरी पुनरावेदकहरूको पुनरावेदन जिकिर पुग्न सक्छ, सक्दैन सोही विषयमा निर्णय दिनुपर्ने देखियो ।

२. निर्णयतर्फ विचार गर्दा पुनरावेदिकाले मुलुकी ऐन, अ.बं. को १७२ नं., सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा १० को प्रक्रिया पुरा भएको छैन भन्ने प्रश्न उठाएको पाइन्छ । पुनरावेदिका मिश्रादेवी भण्डारीउपर अवैध लागु औषध ओसार पसार मुद्दा चली लागु औषध (नियन्त्रण) ऐनबमोजिम अनुसन्धान तहकिकात भई अभियोग पत्र पेस भएको पाइन्छ । मिसिल संलग्न खानतलासी तथा बरामदी मुचुल्का हेर्दा स्थानीय वडाका दुईजना व्यक्तिहरू उपस्थित भई उक्त बरामदी मुचुल्कामा सहिछाप लगाएको देखिनुका साथै पुनरावेदिका प्रतिवादी मिश्रादेवीसमेत रोहवरमा बसी ल्याप्चे छाप लगाएको देखिन्छ । महिला प्रहरी कर्मचारी अथवा पत्यारकी अर्की महिलाबाट खानतलासी गरिनु पर्छ भन्ने जिकिर लिएको सम्बन्धमा हेर्दा मुलुकी ऐन, अ.बं. को १७२ को देहाय ५ मा भएको कानूनी व्यवस्थालाई हेर्दा ".....स्वास्नी मानिसको आँगको तलासी लिनुपरेमा सो स्वास्नीमानिसको बेइज्जत नहुने गरी पत्यारकी अर्की स्वास्नी मानिसबाट लिन लगाउनु पर्छ" भन्ने उल्लेख भएको देखिन्छ । कानूनमा भएको यो व्यवस्था मुताबिक स्वास्नीमानिसको शरीर वा आँगको तलासी लिनु पर्दा महिलाको संवेदनशिलतालाई ध्यानमा राखी महिला प्रहरी कर्मचारी वा सबैले विश्वास गर्नलायक महिलाले मात्र गर्नुपर्ने हुन्छ । प्रस्तुत मुद्दामा मिसिल संलग्न कागजातहरू हेर्दा पुनरावेदिका प्रतिवादीबाट बरामद भएको लागु औषध निजको शरीर वा आँगबाट बरामद भएको नभई यी पुनरावेदिका प्रतिवादीले बोकी आएको झोलाबाट बरामद भएको देखिन्छ । पुनरावेदिका अवैध लागु औषध ओसार पसारको कसुरमा पक्राउ परी निजसमेतका विरूद्धमा लागु औषध (नियन्त्रण) ऐनबमोजिम अभियोग पत्र दायर भएको सन्दर्भमा लागु औषध (नियन्त्रण) ऐन, २०३३ को प्रक्रिया पुरा गरी खानतलासी तथा बरामदी मुचुल्का खडा गर्नुपर्ने हुन्छ । लागु औषध (नियन्त्रण) ऐन, २०३३ विशेष ऐन भएको र यही विशेष ऐनका आधारमा पुनरावेदिकाउपर अभियोग लागि अभियोजन पक्षबाट पनि यही ऐनकै प्रावधानबमोजिम बरामदी तथा खानतलासी मुचुल्का खडा भएको अवस्थालाई अन्यथा भएको भन्न  सकिएन । तसर्थ बरामदी मुचुल्कालाई प्रमाणमा लिन मिल्दैन भन्ने पुनरावेदिकाको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।

३. मिति २०६५।७।३ गते वीरगञ्ज उपमहानगरपालिका वडा नं.१८ भानु चोकदेखि उत्तर पक्की सडकको किनारामा प्लास्टिकको झोला लिई दक्षिणबाट उत्तरतर्फ गई रहेकी प्रतिवादी मिश्रादेवी भण्डारीबाट ३ किलो अवैध लागु औषध (अफिम) बरामद भएको भनी उल्लेख भएको देखिनुका साथै सो बरामदी मुचुल्काको रोहबरमा पुनरावेदिका प्रतिवादी मिश्रादेवीले सहीछापसमेत गरिदिएको देखिन्छ । प्रतिवादी मिश्रादेवीले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा अर्का अभियुक्त मोतीलाल साहले सिराहासम्म पुर्‍याएबापत रू.५००।– पारिश्रमिक दिने भनेकोले उक्त लागु औषधको झोला मैले बोकी लिएकी हुँ भनी कसुरमा साबित भई बयान गरेको देखिन्छ । प्रतिवादी मिश्रादेवीले अदालतसमक्ष बयान गर्दा आफू बसेको खाली सिटबाट बरामद भएको लागु औषध आफ्नो होइन भनी कसुरमा इन्कार रही बयान गरेको पाइन्छ । बरामदी मुचुल्कामा बसी सहिछाप गरेको अवस्थामा मबाट बरामद भएको होइन भन्न मिल्दैन । प्रहरीले यी पुनरावेदिकाबाट 

जोरजबरजस्तीसँग बरामदी मुचुल्कामा सहिछाप लगाउनु र डर, त्रासमा पार्नुपर्ने कारण पनि मिसिलबाट देखिँदैन । प्रतिवेदक सुरेन्द्र यादवले पनि यिनै पुनरावेदिकाबाट अवैध लागु औषध बरामद भएको भनी किटानी प्रतिवेदन दिनुका साथै अदालतसमक्ष उपस्थित भई बकपत्रसमेत गरेको अवस्थामा यी पुनरावेदिका निर्दोष रहिछन भन्न सकिएन ।

४. लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १२ मा कुनै व्यक्तिका साथमा कुनै लागु औषध भएको फेला परेमा वा ……….. त्यस्तो पदार्थ निजले यो ऐन र यस ऐनअन्तर्गत बनेको नियम वा जारी गरिएको आदेशबमोजिम प्राप्त गरेको वा राखेको हो भन्ने कुराको प्रमाण निजैले पेस 

गर्नुपर्नेछ । त्यस्तो प्रमाण पेस गर्न नसकेमा र अन्यथा प्रमाणित भएमाबाहेक निजले यस ऐनअन्तर्गत सजाय हुने अपराध गरेको मानिनेछ भन्ने कानूनी व्यवस्था रहेको पाइन्छ । लागु औषध बरामद भएको अवस्थामा अपराध नमानिनको लागि आफूसँग लागु औषध रहनुपर्ने उचित कानूनी आधार देखाउन सक्नुपर्ने हुन्छ । पुनरावेदिकाको साबिती बयानलाई लागु औषध बरामद भएको तथ्य प्रमाणित भएकोले प्रमाणमा लिन नमिल्ने अवस्था पनि देखिएन । लागु औषध बरामद भएको अन्यथा प्रमाणित गर्न नसकेको अवस्थामा बरामदी तथ्य आफैँमा कसुरजन्य हुन 

पुग्छ । पुनरावेदिका मिश्रादेवीले अदालतमा गरेको इन्कारी बयानलाई प्रतिवेदक सुरेन्द्र यादवको प्रतिवेदन र निजको बकपत्रबाट समेत खण्डित भएको अवस्था छ । पुनरावेदिका प्रतिवादी मिश्रादेवी भण्डारीबाट लागु औषध बरामद भएको हुँदा अन्यथा प्रमाणित नभएसम्म निजले अवैध लागु औषध (अफिम) आफ्नो साथमा राखी ओसारपसार कार्यमा संलग्न रहे भएकी हुन् भनी उक्त ऐनको दफा १२ बाट तथ्यगतरूपमा पुष्टि भई सुरू पर्सा जिल्ला अदालतबाट निजलाई कसुरदार ठहर गरी सजाय गरेको हदसम्म मिलेकै देखिँदा सो हदसम्ममा उक्त फैसला सदर हुने नै देखिन आयो ।

५. पुनरावेदक प्रतिवादी मोतीलाल साहलाई आरोपित कसुरबाट सफाई दिने ठहर्‍याएको सुरू फैसला सदर गरेको पुनरावेदन अदालतको फैसला सो हदसम्म नमिलेको हुँदा सो हदसम्म उल्टी गरी अभियोग माग दाबीबमोजिम सजाय गरिपाउँ भनी वादी नेपाल सरकारले पुनरावेदन जिकिर लिएको 

पाइन्छ । पुनरावेदक प्रतिवादी मोतीलाल साहको हकमा विचार गर्दा मौकाको बरामदी मुचुल्कामा यी प्रत्यर्थी प्रतिवादीको उपस्थिति भई सहिछाप लगाएकोसमेत देखिँदैन । यी प्रतिवादीको साथबाट अवैध लागु औषध बरामद भएको पनि देखिँदैन । प्रतिवेदक सुरेन्द्र यादवले बरामद भएको लागु औषध प्रतिवादीमध्येकी मिश्रादेवी भण्डारीबाट बरामद भएको हो भनी प्रतिवेदन दिनुका साथै सोही व्यहोराको बकपत्र गरेको पाइन्छ । प्रत्यर्थी प्रतिवादी मोतीलाल साह कसुरमा पूर्णरूपमा इन्कार रही बयान गरेको 

पाइन्छ । जहाँसम्म सहअभियुक्त मिश्रादेवी भण्डारीले आफू कसुरमा साबित हुँदै यी प्रत्यर्थी प्रतिवादी मोतीलाल साहलाई पनि पोल गरेकोले सहअभियुक्तको बयानलाई प्रमाणमा लिनुपर्छ भन्ने पुनरावेदन जिकिर लिएको पाइन्छ । सहअभियुक्तको पोलको भरमा मात्र कसुरदार ठहर गर्नु न्यायको दृष्टिले उचित हुँदैन । सहअभियुक्तको पोललाई अन्य स्वतन्त्र प्रमाणबाट पनि पुष्टि हुनुपर्ने हुन्छ । सहअभियुक्तको पोललाई अन्य प्रमाणसँग परीक्षण नगरी एकपक्षीयरूपमा ग्रहण गरिँदा न्यायको मर्म मर्न सक्छ । यसर्थ सहअभियुक्तको पोल वा भनाईलाई सर्तकताका साथ लिनुपर्ने हुन्छ । प्रस्तुत मुद्दामा प्रत्यर्थी प्रतिवादी मोतीलाल साहबाट कुनै लागु औषध बरामद भएको देखिँदैन । प्रतिवेदकको प्रतिवेदन व्यहोरा र निजले अदालतसमक्ष गरेको बकपत्रमा यी प्रत्यर्थीको नामसम्म पनि उल्लेख भएको पाइँदैन । प्रतिवादी पनि कसुरमा पूर्ण इन्कार रही बयान गरेका छन् । यस्तो अवस्थामा प्रत्यर्थी प्रतिवादी मोतिलाल साह आरोपित कसुरमा संलग्न रहे भएको देखिन आएन । यसर्थ, प्रत्यर्थी प्रतिवादी मोतिलाल साहलाई आरोपित कसुरबाट सफाई दिएको हदसम्मको दुवै अदालतको फैसला अन्यथा नदेखिँदा प्रत्यर्थी झिकाई पाउँ भन्ने विद्वान् उपन्यायाधिवक्ताको बहससँग सहमत हुन सकिएन ।

६. अतः उपरोक्त आधार प्रमाणबाट पुनरावेदक प्रतिवादी मिश्रादेवी भण्डारीलाई लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४(च) को कसुरमा सोही ऐनको दफा १४(१)(छ) को (३) बमोजिम १५(पन्ध्र) वर्ष ६ (छ) महिना कैद र रू.५,००,०००।- (पाँच लाख) जरिवाना हुने ठहर्‍याएको मिति २०६६।१०।२६ को र अर्का प्रत्यर्थी प्रतिवादी मोतीलाल साहलाई आरोपित कसुरबाट सफाई दिएको मिति २०६६।१२।१८ को पर्सा जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत, हेटौंडाको मिति २०६८।०१।२७ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । अरूमा तपसिलबमोजिम गर्नू ।

तपसिल

प्रत्यर्थी प्रतिवादी मोतिलाल साहले आरोपित कसुरबाट सफाई पाएकोले पर्सा जिल्ला अदालतको च.नं. १०६७  मिति २०६६।३।१४ को पत्रले रोक्का रहेको हनुमान साह तेलीका नाउँको जग्गा फुकुवा गरी दिनु भनी सुरू अदालतलाई लेखी पठाउनू …..…..................…१

बन्दी अवस्थाकी पुनरावेदिका मिश्रादेवी भण्डारीलाई फैसलाको प्रतिलिपिसहितको जानकारी सम्बन्धित कारागारमार्फत पाउने गरी पठाइदिनू ....................२

प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाइदिनू ...............................३ 

 

उक्त रायमा सहमत छु ।

न्या.चोलेन्द्र शमशेर ज.ब.रा.

 

इजलास अधिकृत : लोकनाथ पराजुली

इति संवत् २०७२ साल फागुन १२ गते रोज ४ शुभम् ।   

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु