शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९५८६ - कर्तव्य ज्यान

भाग: ५८ साल: २०७३ महिना: श्रावण अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री गोपाल पराजुली

माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र

फैसला मिति : २०७२।५।२१।२

०६७-CR-१०७२

 

मुद्दा : कर्तव्य ज्यान

 

पुनरावेदक / प्रतिवादी : ओमप्रकाश सक्सेनाको छोरा, काठमाठौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.३ बसुन्धरा घर भई हाल कारागार कार्यालय जगन्नाथदेवल त्रिपुरेश्वरमा थुनामा रहेका वर्ष ३७ को लक्ष्मीप्रकाश सक्सेना

विरूद्ध

विपक्षी / वादी : प्रदिप नारायण शाहको जाहेरीले नेपाल सरकार

 

०६७-CR-१११२

पुनरावेदक / प्रतिवादी : प्रदिप नारायण शाहको जाहेरीले नेपाल सरकार

विरूद्ध

विपक्षी / वादी : जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं. ३ बसुन्धरा बस्ने ओमप्रकाश सक्सेनाको श्रीमती रामदेवी सक्सेनासमेत

 

०६७-CR-१०८७

पुनरावेदक / प्रतिवादी : काठमाडौं जिल्ला पुखुलाछी गाउँ विकास समिति वडा नं. २ बस्ने हरिगोपाल कारन्जितको छोरी वर्ष ५६ कि गंगादेवी श्रेष्ठ (कारन्जित)

विरूद्ध

विपक्षी / वादी : प्रदिप नारायण शाहको जाहेरीले नेपाल सरकार 

 

प्रतिवादीहरूले कर्तव्य गरी झुन्डिएर मरेको देखाउन उक्त कार्य गरेको अवस्था हुँदो हो त प्रतिवादीका शरीरमा शव परीक्षण गर्ने चिकित्सकहरूले भने जस्तो चोटपटक र संघर्षका चिह्नहरू देखिनु पर्ने हुन्छ । आफूमाथि प्रहार भएको अवस्थामा र आफ्नो मृत्यु अवस्यम्भावी छ भन्ने अवस्थामा बाँच्नका लागि मानिसले सक्दो संघर्ष गर्दछ । त्यस्तो संघर्ष भएको देखिएको चोटपटक लगायतको कुनै कुरा शव परीक्षण प्रतिवेदनबाट देखिन आउँदैन । पुनरावेदन अदालतको फैसलाबाट मृतक निदाएको अवस्थामा कर्तव्य गरी मारेको हुन सक्दछ भन्ने व्यहोरा उल्लेख भएको देखिन्छ । यस्तो हुन सक्छ भन्ने अनुमान गर्ने काम अदालतको होइन । अदालतले वस्तुनिष्ठ तबरले भएका प्रमाणहरू केलाई निष्कर्षमा पुग्नुपर्ने हुन जाने । 

(प्रकरण नं.१०)

मृतकको Suicide Note समेत मृतकको कोठाबाट बरामद भएको छ र उक्त Suicide Note मृतकले लेखेको कुरामा पनि विवाद देखिँदैन । Suicide Note भनेकै आत्महत्या गर्ने संकल्प भएका मानिसले लेख्दछन् । बुबा मलाई माफ गरिबक्सेला ... जुन हजुरको प्रयास असफल भयो......... दिनसम्म यिनीहरूको बचनहरू सुनेर बस्ने...... भन्ने मृतकको आफ्नो बुबासँगै निराशा व्यक्त गर्दै पत्र लेखेको देखिन्छ । Suicide Note लाई एक प्रकारको मृत्युकालीन घोषणाको रूपमा पनि लिनुपर्ने हुन्छ । आफ्नो निराशापूर्ण जीवनलाई उल्लेख गर्दै Suicide Note मा लेखिएको अभिव्यक्तिसमेतको विश्लेषणबाट प्रतिवादीहरूसँगको व्यवहारबाट दिक्क लागेर मृत्युलाई आफैँले रोजेको भन्ने स्पष्ट देखिने ।

(प्रकरण नं.११)

 

प्रतिवादीका तर्फबाट : वरिष्ठ अधिवक्ता कृष्णप्रसाद सापकोटा र कमलेश द्विवेदी

वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता रमा पराजुली

अवलम्बित नजिर :

सम्बद्ध कानून :

मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं., १३(३) नं., १७(३) नं.

 

सुरू फैसला गर्ने :- 

माननीय न्यायाधीश श्री मोहनप्रसाद घिमिरे

माननीय न्यायाधीश श्री मिरा खड्का

 

फैसला

न्या.गोपाल पराजुली : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छ:-

मेरो छोरी सम्झना शाह सक्सेना र लक्ष्मीप्रकाश सक्सेनाबिच २०६१ आश्विन महिनामा विवाह भएकोमा सन्तान भएको थिएन । ससुरा ओमप्रकाश सक्सेना दोस्रो विवाह गरी अन्यत्रै बस्छन् । छोरी र ज्वाइँ विवाह भएको ३ महिनापछि ज्वाइँले घर छोडी बाहिरै बस्ने बेलाबखत रक्सी खाएर छोरीलाई कुटपिट गर्ने घरबाट निस्की जान भन्ने गर्दथे । मिति २०६३/४/१२ गते बिहान ८ बजेको समयमा छोरी सम्झनाको देवर अनुप सक्सेना आई छोरी झुन्डिएर मरिन् भनी खबर गरेकाले घटनास्थलमा गई हेर्दा पानी ट्‍याङ्की राख्ने डन्डीमा सल कपडाको पासो लगाई दुवै हातले फलामको डन्डीलाई काखी च्यापी दुवै खुट्टा भुइँमा टेकी शंकाजनक अवस्थामा रहेको सो २०६३।४।११ गते ओमप्रकाश सक्सेना सासूकी दिदी ताहाँ आएकाले छोरीलाई घर परिवारसमेतले कर्तव्य गरी मारेकोमा शंका लागेकाले कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको प्रदिप नारायण शाहको जाहेरी दरखास्त ।

काठमाडौं जिल्ला काठमाडौ महानगरपालिका वडा नं.३ स्थित ओमप्रकाश सक्सेनाको घरको तेस्रो तलामा मृतक सम्झना सक्सेना सुत्ने कोठाको ढोका खुल्ला रहेको भन्नेसमेत घटना प्रकृति मुचुल्का ।

ओमप्रकाश सक्सेनाको साढे ४ तलाको घरको सबैभन्दा माथि कौसीको पानी ट्‍याङ्की राख्ने फलामको फ्रेमको बलोमा सल बाँधेको भुईंदेखि ७ फिट पासोको दुरी २ फिट ५ इन्च मृतकको घाँटी रातो सलको पासो लगाएको दायाँ हात पानीको पाइपमा काखी च्यापेको बायाँ हात एङ्गलमा अड्‍याएको, छातीले एङ्गलमा आड लिएको, दुवै खुट्टा टेकेको, घाँटीमा एक इन्चको हलुका निलो दाग, दायाँ कुर्कुच्चामा एक इन्च गोलाइको धब्बा रहेको, मलद्वार र योनीबाट केही ननिस्किएको भन्नेसमेत व्यहोराको लास प्रकृति मुचुल्का ।

मिति २०६३।४।११ गते म माइतीबाट घर आएकी हुँ । सो दिन जेठानी सम्झना र मैले खाना बनाएर सबै परिवारसँगै खाई ११ बजे सुतेका हौं । घरपरिवारमा राम्रो सम्बन्ध थियो । बिहान सम्झना कौसीमा झुन्डिएर मरेको थाहा पाएँ भन्नेसमेत व्यहोराको सिमरन सक्सेनाको कागज ।

भाउजू सम्झना सक्सेना र दाजु लक्ष्मीप्रकाशको २ वर्ष अगाडि विवाह भएको हो सन्तान भएन, दाजुलाई डेढ वर्ष अगाडि डाइबिटिज भएछ र दाजु भाउजूबिच मनमुटाव रहेछ, त्यसपछि दाजु घरमा नआउने बाहिर बाहिरै बस्ने घरमा आए पनि ठाकठुक परि रहन्थ्यो । मिति २०६३।४।११ गते राति खाना खाई राम्रैसँग हामी स-परिवार सुतेका हौं । भोलिपल्ट बिहान आमा रमादेवीले लौन भाउजूले के गरी भनी कराएको सुनी छतमा गई हेर्दा पासो लगाई मरेको देखेको हुँ भन्नेसमेत व्यहोराको अनुपकुमार सक्सेनाको कागज ।

मृतक सम्झना सक्सेनाको मृत्युको कारण Hanging भएको भन्ने शव परीक्षण गर्ने चिकित्सकको प्रतिवेदन ।

मेरो छोरी सम्झना सक्सेना मिति २०६३।४।१२ गते झुन्डिएको अवस्थामा देखेकोमा निजको मृत्युबारे पत्ता लगाउँदा मिति २०६३।४।११ गते राति मृतकको ससुरा ओमप्रकाश, सासूको दिदीसमेतले षडयन्त्र गरी छोरीलाई कर्तव्य गरी मारेको पत्ता लागेकोले कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको प्रदिप नारायण शाहको दोस्रो जाहेरी दरखास्त ।

मिति २०६३।४।११ गते म घरमा थिइन साथी राजु कुँवरको घरमा सुतेको हुँ । म र श्रीमतीबिच मनमुटाव भएकोले म घरमा बस्दैनथे । निजलाई कर्तव्य गरी मारेको होइन भन्नेसमेत व्यहोराको लक्ष्मीप्रकाश सक्सेनाले अनुसन्धानमा गरेको बयान कागज ।

मिति २०६३।४।१२ गते बिहान ७.०० बजे बुहारी सम्झना सक्सेना झुन्डी मरेको थाहा पाई तत्काल गई हेर्दा घटनास्थलमा मृत अवस्थामा देखेको हुँ । मसमेतको कर्तव्य गरी मारेको होइन भन्नेसमेत व्यहोराको ओमप्रकाश सक्सेनाले अनुसन्धानमा गरेको बयान कागज ।

मिति २०६३।४।११ गते  राति ११ बजेसम्म बुहारी सम्झनासँग फिल्म हेरी बसेकी हुँ र बुहारी सम्झना र मेरोबिच वादविवाद भइरहन्थ्यो, साथै छोरा लक्ष्मी र बुहारी सम्झनाबिच पनि सम्बन्ध राम्रो थिएन । निजहरू छुट्टाछुट्टै बस्ने नबोल्ने गर्दथे । निजलाई मसमेतले कर्तव्य गरी मारेको होइन । निज झुन्डिएर मरेको हुन् भन्नेसमेत व्यहोराको रामदेवी सक्सेनाको अनुसन्धानमा भएको बयान कागज ।

मिति २०६३।४।११ गते म बहिनी रामदेवी सक्सेनाको घरमा थिएँ । सो दिन प्रदिप नारायण शाह पनि बहिनीको घरमा आई अन्दाजी ७ बजेतिर चिया अण्डा खाई आफ्नो घरमा जानु भएको हो । म, रामदेवी, अनुप, सम्झनासमेतले खाना खाई केही समय टेलिभिजन हेरी सुतेका हौं । मृतकलाई लक्ष्मीप्रकाश सक्सेनासमेतले कर्तव्य गरी मारी झुन्ड्याएको हो, होइन मलाई थाहा छैन । भोलिपल्ट छतमा सम्झनाको लास देखेको हुँ भन्नेसमेत व्यहोराको गंगादेवी श्रेष्ठले अनुसन्धानको क्रममा गरेको बयान कागज ।

मिति २०६३।४।११ गते रामदेवीको घरमा डेरामा बसेकी थिएँ । खानपिन गरी सुत्ने समयमा घरधनी रामदेवी कहाँ हल्ला भएको आवाज सुनी के भएछ भनी हेर्दा सम्झना र बुढी आईमाई उभिएको र विवाद भई रहेको थियो सो आईमाई रामदेवीको दिदी रहिछन् । सम्झना रुँदै बाटोतिर गएकी थिएन । भोलिपल्ट मृत्यु भएको देखेका हौं भन्नेसमेत व्यहोराको अम्बिका अधिकारीसमेतको वस्तुस्थिति मुचुल्का ।

सम्झना सक्सेना मेरो बहिनी हुन् । निजको २०६१ सालको दशैंताका लक्ष्मीप्रकाश सक्सेनासँग विवाह भएको हो । विवाह भएको ३ महिनापछि दुवैजनाबिच विवाद भएछ । लक्ष्मीप्रकाशले मादक पदार्थ सेवन गरी कुटपिट गर्ने बाहिरै बस्ने गरेका थिए । मिति २०६३।४।११ गते ५.३० बजे बहिनीले बुबा प्रदिप नारायणलाई टेलिफोन गरी कुटपिट गरे भनी खबर गरेकाले बुबा निजको घरमा नै गई सम्झाई फर्केपछि बहिनी सम्झनालाई कुटपिट गरी झुन्ड्याई मारेका हुन् भन्नेसमेत व्यहोराको मृतकका दाजु कपिल शाहको कागज ।

यसमा प्रतिवादीहरू लक्ष्मीप्रकाश सक्सेना, रामदेवी सक्सेना, अनुपकुमार सक्सेना, ओमप्रकाश सक्सेना सिमरन सक्सेना र गंगादेवी श्रेष्ठसमेतका ६ जनाले जाहेरवालाको छोरी सम्झना शाह सक्सेनालाई कर्तव्य गरी मारी मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. १३ (३) नं. बमोजिम सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारको अभियोग माग दाबी ।

म घटना भएको घरमा बस्दिन मलाई मिति २०६३।४।११ गते रामदेवीले फोन गरी घरमा यस्तो घटना भयो भनी बोलाएकोले म त्यहाँ गएको हो । म कहिले काहीँ नाति खेलाउन भनी छोराको घरमा जाने गर्थेँ । सोही क्रममा म मिति २०६३।४।११ गते पनि त्यहाँ गएको म सोही समयमा सम्धी प्रदिप नारायण पनि आउनुभएको रहेछ । मलाई उहासँग रामदेवीले परिचय गराउनु भएको हो । त्यसपछि सोही दिन बेलुकी १०.३० बजेको समयमा म गएको हो । त्यसपछि के भयो मलाई थाहा भएन । मृतकको मृत्यु झुन्डिएरै भएको हुनुपर्छ भन्नेसमेत व्यहोराको प्रतिवादी ओमप्रकाश सक्सेनाले अदालतमा आई गरेको बयान ।

उक्त घटना हुनुभन्दा २ दिनअगाडि बुहारी उनको माइतीमा गएकोमा घटना भएको दिन बुहारी बुबा प्रदिप नारायणसँगै आउनुभएको बुहारीको बुबा सोही दिन ८.५० बजेको समयमा घर फर्किनु भएको हो । श्रीमान् ‌ओमप्रकाश पनि सो दिन हाम्रो घरमा आई सोही दिन फर्कनुभएको हो । त्यसपछि हामी दुवैजना टेलिभिजन हेरी करिब ११ बजेको समयमा सुत्न गएका हौं । बिहान ६ बजेको समयमा छिमेकीले माथि के रातो झुन्डिरहेको छ हेर्नुहोस् भनेकाले गई हेर्दा निज बुहारी झुन्डिरहेको अवस्थामा देखी म हेर्न नसकी फेन्टसमेत भएँ । सो रातमा घरमा म, मेरो दिदी गंगादेवी, सानो छोरा अनुप, ठुली बुहारी मृतक सम्झना, सानी बुहारी सिमरनसमेत थियौं । ठुलो छोरा लक्ष्मीप्रकाश २ दिन अगाडिदेखि नै आएको थिएन । सो घटना किन घट्न गयो मलाई थाहा भएन भन्ने व्यहोराको प्रतिवादी रामदेवी सक्सेनाले अदालतमा गरेको बयान कागज ।

म मिति २०६३।४।११ गते बिहान साथीको घरमा थिएँ । उक्त रात पनि म साथीको घरमा नै बसेँ । ऐ. १२ गते मलाई भाइले मेरो घरको घटनाको बारेमा फोन गरी बताएपछि म घरमा आएको हुँ । घरमा आउँदा मेरो घरमा छतमा रहेको पानी ट्‍याङ्कीको फलाममा मेरो श्रीमतीको लास थियो । मैले कर्तव्य गरी मारेको होइन भन्नेसमेत व्यहोराको प्रतिवादी लक्ष्मीप्रकाश सक्सेनाले अदालतमा गरेको बयान कागज ।

अभियोग पत्रमा लेखिएको व्यहोरा झुठ्ठा हो । मैले मृतकलाई कर्तव्य गरी झुन्ड्याई मार्ने काम गरेकी होइन । हामीसँगै खाना खाई आ-आफ्नो कोठामा सुतेको हो । मेरी बहिनी रामदेवी सक्सेना र म एउटै बेडमा सुतेका हौं । मिति २०६३।४।१२ गते बिहान छिमेकीहरूले ट्‍याङ्कीमा के झुन्डिएको छ भनी कराउँदा हामी उठेर छतमा गई हेरी प्रहरीलाई खबर गरेको हो । म उक्त वारदात भएको घरमा हामी चारैजना दिदी बहिनीको नाममा जग्गा पास गर्न मिति २०६३।४।११ गते अन्दाजी साँझ ५.३० बजेतिर आएकी थिएँ भन्नेसमेत व्यहोरा लेखाई प्रतिवादीमध्येकी गंगादेवी श्रेष्ठले अदालतमा गरेको बयान कागज ।

मिति २०६३।४।१२ मा मृतक सम्झना सक्सेनाको शव परीक्षण मसमेत दुई जनाले गरी प्रतिवेदन दिएको हो । त्यस प्रतिवेदनमा शरीरको सम्पूर्ण जाँच गरी पाइएको लक्षणहरूको आधारमा विश्लेषण गर्दा मृत्युको कारण Hanging भनी प्रतिवेदनमा उल्लेख छ भनी शव परीक्षण गर्ने डा. प्रमोदकुमार श्रेष्ठ र डा. हरिहर वस्तीले अदालतममा आई गरिदिएको बकपत्र ।

वस्तुस्थिति मुचुल्कामा उपस्थित व्यक्तिहरूले जे लेखाए मैले त्यही व्यहोरा लेखी मुचुल्का तयार गरेको ठिक छ भनी वस्तुस्थिति मुचुल्का तयार गर्ने भरतबहादुर शाहले र काम तामेल गर्ने वादीका साक्षी मनोजकुमार के.सी., प्र.ना.नि.किशोर ढुङ्गाना, प्र.स.नि. खड्‍गकुमार श्रेष्ठसमेतले अदालतमा आई गरेको बकपत्र मिसिल संलग्न रहेको ।

प्रतिवादी गंगादेवी श्रेष्ठको साक्षी रितादेवी कारन्जितले प्रतिवादी त्यस्तो चरित्रको मानिस होइनन् । निजले मृतकलाई कर्तव्य गरी मारे जस्तो मलाई लाग्दैन । निजले मृतकलाई आफ्नै बुहारी जस्तै गरी माया गर्नुहुन्थ्यो भनी लेखाई दिएको बकपत्र ।

प्रतिवादी लक्ष्मीप्रकाश सक्सेनाको साक्षी मनिष राईले प्रतिवादी लक्ष्मीप्रकाश सक्सेनाले मृतक श्रीमतीलाई कतर्व्य गरी मारे भन्ने कुरा झुठ्ठा हो । निज मृतक आफैँ आत्महत्या गरी मरेकी हुन् भनी अदालतमा आई गरेको बकपत्र ।

मौकामा कागज गर्ने कृष्णदेवी श्रेष्ठले अदालतमा आई बकपत्र गर्दा मृतकलाई मैले झुन्डिइरहेको अवस्थामा देखेको हो । निजलाई कसैले पनि कर्तव्य गरी मारेको होइन । निज आफैँ आत्महत्या गरी मरेको हुन् भनी गरीदिएको बकपत्र ।

मृतक सम्झनाको बुबा प्रदिप नारायण शाह निजले आत्महत्या गर्नु अघिल्लो दिन मात्र मृतकसँग भेटघाट गरी गएका थिए । बाबु छोरीबिच के भनाभन भयो त्यही कारणबाट मृतकले झुन्डिएर आत्महत्या गरेको हुनुपर्छ भनी मौकामा कागज गर्ने विरेन्द्रलाल श्रेष्ठले अदालतमा आई गरेको बकपत्र ।

जाहेरवाला प्रदिप नारायण शाह र अनुसन्धानको क्रममा कागज गर्ने कपिल शाहले अदालतमा बकपत्र गर्दा किटानीसाथ यिनै प्रतिवादीहरूले हाम्रो छोरी तथा बहिनीलाई कर्तव्य गरी मारी झुन्ड्याएको हो भनी  गरेको बकपत्र ।

बुझिएका मानिस पुष्पा थापा क्षेत्री, शोभा नेपाली (दमाई), अम्बिका अधिकारी, शोभा थापा, मिना के.सी., मिरा बोगटी र बिभा के.सी.ले अदालतमा आई गरिदिएको बकपत्र ।

विशेषज्ञ प्र.ना.नि.नगेन्द्र विर सिंह थापा, विशेषज्ञ प्र.ना.उ. अम्बिकाप्रसाद धितालले हामीलाई प्राप्त विवादास्पद लिखत र प्राप्त भएका नमूना लिखतहरू जाँच गर्दा लिखतहरू एक आपसमा भिडी एकरूपता पाइयो भनी हामीले प्रतिवेदन दिएका हौं भनी अदालतमा आई गरिदिएको बकपत्र ।

फरार रहेको र म्यादमा हाजिर हुन नआएका प्रतिवादीहरू अनुपकुमार सक्सेना र सिमरन सक्सेनाको नाममा केही चलअचल श्रीसम्पत्ती नभएको भनी अ.बं.१९० नं. बमोजिम अंश रोक्का गर्ने प्रयोजनको लागि भएको डोरको सर्जमिन मुचुल्का मिसिल संलग्न रहेको ।

Hanging बाट मृत्यु हुनलाई शरीर तुर्लुङ्ग झुन्डिएको हुनुपर्छ भन्ने छैन । शरीरको अंगले कतै छोएको वा टेकेको अवस्थामा समेत मृत्यु हुन सक्छ । Hanging आत्महत्या हुनसक्छ भनी शव परीक्षण गर्ने डा. प्रमोद कुमार श्रेष्ठले मिति २०६५।१०।१७ गते अदालतमा आई गरिदिएको बकपत्र ।

अन्यथा प्रमाणित नभएको साथै झुन्डिएका लासहरू आत्महत्या हुन् । घाँटीमा पासो लागेकोबाहेक मृत्युको कारण अर्कै भेटिन्छ । झुन्डिएर मरेको देखाउनलाई लासलाई झुन्ड्याइन्छ त्यस्तो झुन्ड्याएको लासमा घाँटीमा देखिने डाम आफैँ झुन्डिएको हुनेभन्दा फरक हुन्छर झुन्ड्याउने प्रक्रियामा शरीरका अन्य भागमा बल प्रयोग भएका केही न केही चोट पटक, लछार पछार, घश्रण आदि चिह्नहरू फेला पर्न सक्छन् भनी उल्लेख गरी शव परीक्षण गर्ने डा. हरिहर वस्तीले मिति २०६५।१०।१७ गते अदालतमा आई गरेको बकपत्र ।

प्रतिवादी अनुपकुमार सक्सेना तथा सिमरन सक्सेनाको हकमा अ.बं.१९० नं. बमोजिम मुलतबीमा राखी दिने ठहर्छ । प्रतिवादी लक्ष्मीप्रकाश सक्सेनाले अभियोग दाबीबमोजिम कसुर गरेको हुँदा ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहर्छ । प्रतिवादीमध्येकी रामदेवी सक्सेना तथा गंगादेवी श्रेष्ठका हकमा ज्यानसम्बन्धी महलको १७ नं. को देहाय ३ नं. बमोजिम २ वर्ष ६ महिना जनही कैद सजाय हुने ठहर्छ । निजहरूको हकमा अभियोग मागदाबीबमोजिम ज्यानसम्बन्धी महलको १३ (३) नं. बमोजिम सजाय गरिपाउँ भन्ने अभियोग मागदाबी पुग्न सक्दैन । प्रतिवादी ओमप्रकाश सक्सेनाको हकमा अभियोग मागदाबी पुग्न नसकी आरोपित कसुरबाट सफाई पाउने ठहर्छ भन्ने सुरू काठमाडौं जिल्ला अदालतको मिति २०६५।१२।३१ को फैसला ।

काठमाडौं जिल्ला अदालतको उक्त फैसलामा चित्त बुझेको छैन । मृतक सम्झना शाह सक्सेनाको मृत्यु Hanging बाट भएको भन्ने कुरा Autopsy, Report ले स्पष्टरूपमा देखाइरहेकोमा मृत्युको कारण Hanging भन्ने प्रस्ट उल्लेख छ । झुन्डिएर आत्महत्या गरी मरेको कुरा Autopsy Report बाट देखिँदादेखिँदै पनि हामीलाई कसुरदार ठहर्‍याएको फैसला त्रुटिपूर्ण छ । शवपरीक्षण गर्ने विशेषज्ञ डा. हरिहर वस्ती तथा डा. प्रमोदकुमार श्रेष्ठले अदालतसमक्ष गरेको बकपत्रसमेतबाट मृतक सम्झना शाहको मृत्यु आत्महत्याबाट भएको कुरा स्पष्ट देखिन्छ । साथै मृतकको कोठाबाट बराद भएको suicide note पनि मृतकले लेखेकोमा विवाद छैन । Suicide Note मानिस शोभा थापा, शोभा नेपाली, अनुसन्धानको क्रममा कागज गर्ने कपिल शाह र वस्तुस्थिति मुचुल्काका बिभा के.सी., मिरा के.सी., मिना के.सी. समेतका व्यक्तिहरू कर्तव्य गरेको तथा कर्तव्य गरी झुन्ड्याएको देख्ने प्रत्यक्षदर्शीहरू होइनन् । उल्लिखित व्यक्तिहरूको बकपत्र कथन शव परीक्षण प्रतिवेदन तथा लासजाँच प्रकृति मुचुल्काकै व्यहोराबाट खण्डित भएका छन् । तसर्थ हामीलाई २ वर्ष ६ महिना कैद गर्ने गरी काठमाडौं जिल्ला अदालतबाट भएको मिति २०६५।१२।३१ को फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी अभियोग मागदाबीबाट सफाई पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी रामदेवी सक्सेना र गंगादेवी श्रेष्ठ (कारन्जित) ले पुनरावेदन अदालत, पाटनमा दिएको पुनरावेदन पत्र ।

काठमाडौं जिल्ला अदालतको मिति २०६५।१२।३१ को त्रुटिपूर्ण फैसलामा चित्त बुझेको छैन । मृतक सम्झना शाह सक्सेनाको मृत्यु Hanging बाट भएको भन्ने कुरा Autopsy Report ले स्पष्ट देखाइरहेको छ  । मृत्युको कारण Hanging भन्ने स्पष्ट उल्लेख छ । झुन्डेर आत्महत्या गरी मरेको कुरा Autopsy Report बाट देखिँदादेखिँदै पनि मलाई कसुरदार ठहर्‍याएको फैसला पटक्कै मिलेको छैन । शव परीक्षण गर्ने विशेषज्ञ डा. हरिहर वस्तीको बकपत्रबाट मृतक सम्झना शाहको मृत्यु कर्तव्यबाट नभई आत्महत्याबाट भएको भन्ने कुरा स्पष्ट छ । झुन्डिएर मरेको लासहरूमा बहुत थोरै लक्षणहरू आमरूपमा देखिने तथ्य हुन् । बाहिरी जाँचको क्रमममा एउटा पासोको डामबाहेक अन्य लक्षणहरू बहुसंख्यक लासहरूमा देखिँदैन । घाँटीभित्रका भित्री अंगहरूमा कुनै चोट पटक पनि बहुसंख्यक लासहरूमा देखिँदैन । खाली Judicial Hanging मा Spiral Cord भाँचिएको वा खुम्चेको पाउने हुन्छ । अन्य Hanging हरूमा सो पनि पाइँदैन । यदि कसैले कुनै पासोले व्यक्तिले घाँटी कसेमा घाँटीभित्रका अंगहरूमा चोटहरू देखिन्छन् । त्यसलाई Hanging नभनेर Ligature strangulation (अरूले घाँटी कसेको) भनी उल्लेख गरिन्छ । त्यसै गरी शव परीक्षण गर्ने विशेषज्ञ डा. प्रमोदकुमार श्रेष्ठले Hanging भनेको घाँटीमा पासोको कसाईले गर्दा हुने मृत्यु हो । त्यो पासोको कसाई चाहिँ शरीरको आफ्नै वजनको कारणले हुने गर्दछ । पासो कसिनासाथ दिमागबाट फर्किने नली बन्द हुन्छ र दिमागमा नयाँ रगतहरू आउन पाउँदैन जसले गर्दा अक्सिजनको कमी भई मान्छे बेहोस हुँदा शरीर लल्याकलुलुक हुन्छ र भुईंतिर तन्किछ र घाँटीमा पासो कसिँदै गई अन्त्यमा मृत्यु हुन्छ । यो रगत आउने नसा बन्द हुनलाई २ किलोको प्रेसर नै प्रसस्त हुन्छ । तर एउटा वयस्क र होसमा भएको मानिसलाई झुन्ड्याउन खोज्दा झुन्ड्याइने व्यक्तिले विरोध गर्दछ जुन विरोधका लक्षणहरू शरीरका अन्य भागमा चोट पटक देखिन्छन् भन्ने उल्लेख गरेबाट मृतक सम्झनाको मृत्यु आत्महत्याबाट भएको प्रस्ट छ । मृतकको कोठाबाट बरामद भएको Suicide Note मृतकले लेखेको कुरामा विवाद छैन । Suicide Note भनेकै आत्महत्या गर्ने संकल्प गरेका मानिसले लेख्ने गर्दछन् । जाहेरवाला प्रदिप नारायण, शाह बुझिएका मानिस शोभा थापा, शोभा नेपाली, अनुसन्धानको क्रममा कागज गर्ने कपिल शाह, वस्तुस्थिति मुचुल्काका बिभा के.सी., मिरा के.सी. समेतका व्यक्तिहरू घटनाका प्रत्यक्षदर्शी होइनन् । उल्लिखित खण्डित भएका छन् । तसर्थ मलाई सर्वस्वसहित जन्मकैद गर्ने काठमाडौं जिल्ला अदालतको मिति २०६५।१२।३१ को फैसला त्रुटिपूर्ण भएकोले बदर गरी उल्टाई अभियोग दाबीबाट सफाई पाउँ भन्नेसमेत प्रतिवादी लक्ष्मीप्रकाश सक्सेनाको कारागार कार्यालय जगन्नाथ देवलमार्फत पुनरावेदन अदालत, पाटनमा पर्न आएको पुनरावेदन पत्र ।

काठमाडौं जिल्ला अदालतको मिति २०६५।१२।३१ को त्रुटिपूर्ण फैसलामा चित्त बुझेन । सुरू जिल्ला अदालतले माग दाबीबमोजिम प्रतिवादी श्रीमती रामदेवी सक्सेना र गंगादेवी श्रेष्ठलाई बढी सजाय नगरी कम सजाय गर्ने र अर्का प्रतिवादी ओमप्रकाश सक्सेनालाई सफाई दिने गरी भएको फैसला सो हदसम्म त्रुटिपूर्ण छ । प्रतिवादीहरू लक्ष्मीप्रकाश सक्सेना, रामदेवी सक्सेना र गंगादेवी श्रेष्ठ वारदातका समयमा एकै ठाउँमा मृतकसँगै रहेको कुरा विवादरहित भई सुरू फैसलासमेतलाई सो तथ्य बयानलगायत अन्य अनुसन्धानको क्रममा बुझिएका सोही घरमा डेरा गरी बस्ने व्यक्तिहरू समेतले लेखाइदिएको अवस्था छ । चिकित्सकको प्रतिवेदन बकपत्रबाट मृतक सम्झनालाई पहिले बलपूर्वक मारी झुन्ड्याएको भन्ने देखिएको अवस्थामा जवान अवस्थाको मृत्युलाई जीवित अवस्थामा प्रतिवादी लक्ष्मीप्रकाश सक्सेनाले एक्लैले सो कार्य गर्न सक्ने अनुमान गर्न नसकिने भई सो वारदातमा एकभन्दा बढी व्यक्तिहरूको सहयोग मद्दतबाट मात्र उक्त कार्य सम्पन्न हुन सक्ने हुँदा मृतकलाई नियन्त्रणमा पारी मारी झुन्ड्याउनसमेत यी प्रतिवादीको संलग्नता बिना सम्भव नरहेको स्थिति र अवस्था प्रस्तुत वारदातको प्रकृतिबाट देखिएकोले प्रतिवादी रामदेवी सक्सेना र गंगादेवी श्रेष्ठले प्रस्तुत वारदात हुँदाका अवस्थामा सहमति मात्र जनाई टुलुटलु हेरी मात्र बसे होलान् भनी घटनाको प्रकृति एवं परिस्थितिजन्य अवस्थालाई अत्यन्त हलुकारूपमा लिई आत्मागत अनुमान गरी कम सजाय गरेको सुरूको फैसला मिलेको छैन । मृतक र घर परिवारकोबिचमा झगडा भई जाहेरवाला सो दिन घटना भएको उक्त घरमा प्रतिवादी लक्ष्मीप्रकाशसमेतले बाबु ओमप्रकाश सक्सेनाले निज बुहारी स्वयंले आत्महत्या गरेको हो भनी लेखाएबाट सो वारदातमा निजको संलग्नता थियो भनी पुष्टि हुन आएको अवस्थामा सुरू अदालतले अभियोगबाट सफाई दिएको फैसला सो हदसम्म त्रुटिपूर्ण हुँदा बदर गरी प्रतिवादी रामदेवी सक्सेना, गंगादेवी श्रेष्ठ र ओमप्रकाश सक्सेनालाई अभियोग माग दाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत वादी नेपाल सरकारको पुनरावेदन अदालत, पाटनमा पर्न आएको पुनरावेदन पत्र ।

यसमा सुरू काठमाडौं जिल्ला अदालतको मिति २०६५।१२।३१ को फैसलाउपर रामदेवी सक्सेना, गंगादेवी श्रेष्ठ र ओमप्रकाश सक्सेना विरूद्ध वादी नेपाल सरकारको पुनरावेदन परेको सो फैसलाउपर चित्त नबुझी प्रतिवादी रामदेवी सक्सेना र गंगादेवी श्रेष्ठ तथा लक्ष्मीप्रकाश सक्सेनाकोसमेत पुनरावेदन पर्न आएको देखिँदा प्रतिवादीहरूको पुनरावेदन वादी नेपाल सरकारको हकमा परेको जानकारी पुनरावेदक प्रतिवादीलाई गराई प्रतिवादीमध्येका ओमप्रकाश सक्सेनाको हकमा भए वा अवधि नाघेपछि लगाउका मुद्दासमेत साथै राखी नियमानुसार गर्नु भन्नेसमेत पुनरावेदन अदालत, पाटनबाट मिति २०६६।८।१६ मा भएको आदेश ।

यसमा प्रहरी अनुसन्धानका क्रममा रोहित प्रधान, दिनेश श्रेष्ठ, चेतबहादुर महत तथा राजुमान सिंह कुँवरसमेतलाई बुझिएको देखियो । तर अभियोजन पक्षले निजहरूलाई अदालतमा उपस्थित गराई निजहरूको मौकाको कागजको प्रसङ्ग उल्लेख गर्दै बकपत्र हुन नसकेको कारण जनाई प्रतिवादीले दिएको Alibi को दाबी पुष्टि नहुने भन्दै घटनाको समयमा प्रतिवादी लक्ष्मीप्रकाश आफ्नै घरमा रहेको भन्ने निष्कर्षमा पुगेको अवस्था देखियो । निजहरू राजुमानसमेतका व्यक्तिहरूले मौकामा गरेको कागज हेर्दा अभियोगजनलाई समर्थन गर्नेभन्दा खण्डन गर्नेसम्बन्धी तथ्यहरू उल्लेख गरेको देखिँदा त्यस प्रकारका व्यक्तिलाई अभियोजन पक्षले अदालतमा उपस्थित गराओस् भन्ने स्वाभाविक न्यायिक अपेक्षा रहने भए पनि उपस्थितिको भरोसा राखी हाल्न त्यति व्यावहारिक देखिएन । अर्कातर्फ मुद्दामा स्वच्छ सुनुवाईको लागि मुद्दामा ठहर गर्नुपर्ने प्रश्नलाई समर्थन गर्ने वा खण्डन गर्ने मिसिलबाट देखिएका तथ्य प्रमाणहरूको अदालतबाट परीक्षण हुनु मनासिब देखिन्छ । त्यसैले माथि उल्लिखित रोहित प्रधानसमेतका ४ जना मानिसलाई बकपत्रका लागि उपस्थित हुन ७ दिनको म्याद दिई समाह्वान जारी गरी झिकाई अदालतका तर्फबाट सोधपुछ गर्ने र जिरह गर्न चाहेमा वादी प्रतिवादी दुवै जनालाई जिरह गर्ने मौका दिई बकपत्र गराई पेस गर्नु । उपस्थित हुन नआएमा नियमानुसार गरी पेस गर्नु भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, पाटनबाट मिति २०६६।१२।३१ मा भएको आदेश ।

मिति २०६३।४।११ का दिन राति १०.३० बजे गेट टुगेदर गरेर आएको भनी प्रतिवादी मेरो घरमा आएका थिए । सो मिति २०६३।४।११ का दिन राति मेरै घरमा बसेका थिए । भोलिपल्ट बिहान ७.३० बजे उसको मोबाइलमा फोन आयो र मलाई उठायो । मैले गेट खोली दिएँ र ऊ घर गयो । बिहान १०.३० बजे मलाई मेरो एक जना सुरेन्द्र भन्ने साथीले फोन गरेर घटनाको बारेमा भन्दा उसको घर जाँदा लक्ष्मीप्रकाश सक्सेनाको श्रीमतीलाई झुन्डिएर मरेको अवस्थामा देखेको हुँ । मैले तलबाट हेर्दा झुन्डिएको देखेको हुँ । माथि गइनँ भन्नेसमेत प्रहरीमा कागज गर्ने राजुमान सिंहले पुनरावेदन अदालत, पाटनमा गरेको बकपत्र ।

मिति २०६३।४।११ गते गैरीधाराको नान सेकुवा पसलमा रूपेस, दिनेश, म र लक्ष्मीप्रकाश सक्सेना भई राति १० बजेसम्म त्यही सेकुवा कर्नरमा सेकुवा खायौं त्यसपछि लक्ष्मीप्रकाश सक्सेना बाहिर निस्कनुभयो । म आफ्नो कोठामा गई सुतेँ । भोलिपल्ट पोखरा गएँ । १३ गते पोखराबाट मेनपावरमा फोन गर्दा यो घटना घटेको थाहा पाएँ । उक्त घटना मैले देखेको छैन भन्नेसमेत अनुसन्धानका क्रममा कागज गर्न चेतबहादुर महतले पुनरावेदन अदालत, पाटनमा गरेको बकपत्र ।

यसमा यसै लगाउको नं. १२६६ को मुद्दामा वादी तथा प्रतिवादीहरूका तर्फबाट परेको पुनरावेदनको जानकारी एक अर्कालाई गराउने तथा अ.बं. २०२ नं. बमोजिम प्रत्यर्थी झिकाउने आदेश भएकोले प्रस्तुत मुद्दासमेत सोसँग अन्तरप्रभावी हुँदा वादी नेपाल सरकारको हकमा पुनरावेदन सरकारी वकिल कार्यालय, पाटनलाई सूचना पठाई नियमानुसार गरी पेस गर्नू भन्ने पुनरावेदन अदालत, पाटनबाट मिति २०६६।८।१६ मा स.फौ.पु.नं. ९३०/१६७६ मा भएको आदेश ।

यसमा पुनरावेदक गंगादेवी श्रेष्ठका तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री प्रकाश राउतले पुनरावेदकमध्येका प्रतिवादी रामदेवी सक्सेनाको मृत्यु २०६७।२।२२ मा भएको भन्नुभएको र निजका पति ओमप्रकाश सक्सेनाले मिति २०६७।३।३२ मा निवेदन गर्नु भएको र सो कुराको प्रमाणिकता निश्चय गरी मिसिल सामेल भएको नदेखिँदा निजको मृत्यु सम्बन्धमा महानगरीय प्रहरी कार्यालयबाट समेत छानबिन भएको भन्ने कथन प्रतिवादीका तर्फबाट उपस्थित अधिवक्ताले उल्लेख गर्नु भएकोले सो विवादको लागि मृतकको छोरा यसै लगाउको फौ.पु.नं. १६८५ नं. का पुनरावेदक लक्ष्मीप्रकाश सक्सेनाबाट कागज गराई जानकारी लिई महानगरीय प्रहरी कार्यालय, हनुमानढोकाबाट सोको प्रमाणिकता बुझी पठाइदिन लेखी जवाफ आएपछि लगाउको मुद्दा साथै राखी नियमानुसार पेस गर्नु भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, पाटनबाट मिति २०६७।४।२५ मा भएको आदेश ।

यसै मुद्दामा मेरो आमा रामदेवी सक्सेना २ वर्ष ६ महिना जेलमा बसी जेल मुक्त भएपश्चात् प्रस्तुत मुद्दामा पुनरावेदन गरेकी थिइन । मिति २०६७।२।२२ गते दिउँसो ४.०० बजेको समयमा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ३ महाराजगन्जस्थित आफ्नै घरको कोठामा आमा रामदेवी सक्सेनाको कर्तव्य गरी मारेको अवस्थामा फेला पारेको भन्ने मिति २०६७।२।२३ गते आफ्नै सानी आमा कृष्णदेवी श्रेष्ठले भनी थाहा पाएपश्चात् र सोही कारागार कार्यालयबाट पशुपतिमा गई दाहसंस्कार गरेको हुँ । मेरो आमा रामदेवी सक्सेनाको मृत्यु सम्बन्धमा यसै कार्यालयबाट अनुसन्धान भइरहेको छ भन्नेसमेत प्रतिवादी लक्ष्मीप्रकाश सक्सेनाले महानगरीय प्रहरी वृत्त, महाराजगन्ज काठमाडौंका अनुसन्धान अधिकृतसमक्ष मिति २०६७।५।७ मा गरेको कागज ।

मिति २०६३।४।११ गते राति अन्दाजी ८ बजेतिर गैरीधारा सेकुवा कर्नरमा म रूपेस चेत महत्त्वपूर्ण गुभाजु, लक्ष्मीप्रकाश सक्सेनाको सेकुवा खाई अन्दाजी १० बजेतिर खानपिन सकेर म आफ्नो घर गएँ । त्यसपछि ऊ कता गयो थाहा भएन । भोलिपल्ट बिहान अफिसमा बसिरहेको बेला सो घटना थाहा पाएको हुँ । अरू केही थाहा छैन भन्नेसमेत व्यहोराको अनुसन्धानका क्रममा कागज गर्ने दिनेश श्रेष्ठले यस पुनरावेदन अदालत, पाटनमा गरेको बकपत्र ।

वस्तुस्थिति मुचुल्काका विभा के.सी.ले गरेको बकपत्र मौकामा बुझिएका व्यक्तिहरूले गरेको पोल तथा अन्य परिस्थितिजन्य प्रमाण र सुनियोजित तरिकाले मृतक निदाएको अवस्थामा कर्तव्य गरी मार्दा संघर्षका चिह्नहरू देखा पर्दछ पर्दैन भन्ने विशेषज्ञको बकपत्रबाट खुल्न आएको पाइँदैन । यस किसिमका परिस्थिति जन्य प्रमाणसमेतबाट प्रतिवादी लक्ष्मीप्रकाश सक्सेनाको कर्तव्यबाटै मृत्यु भएको पुष्टि हुन आएकोले प्रतिवादी लक्ष्मीप्रकाश सक्सेनाले अभियोग दाबीबमोजिम कसुर गरेको हुँदा ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिसम सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहर्छ । प्रतिवादीमध्येकी रामदेवी सक्सेना तथा गंगादेवी श्रेष्ठका हकमा ज्यानसम्बन्धी महलको १७ नं. को देहाय ३ नं. बमोजिम २ वर्ष ६ महिना जनही कैद सजाय हुने ठहर्छ । निजहरूको हकमा अभियोग माग दाबीबमोजिम ज्यानसम्बन्धी महलको १३ (३) नं. बमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रतिवादी ओमप्रकाश सक्सेनाको हकमा अभियोग मागदाबी पुग्न नसकी आरोपित कसुरबाट सफाई पाउने ठहर्‍याएको सुरू काठमाडौं जिल्ला अदालतबाट भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, पाटनको मिति २०६७।६।१२ को फैसला ।

अभियोजन दाबी पुष्टि गर्ने परिस्थितिजन्य प्रमाणको रूपमा जाहेरवालाको किटानी जाहेरी दरखास्त र म पुनरावेदक र मृतकबिच विवाहपश्चात्‌को सम्बन्ध अर्थात् पारिवारिक वातावरणलाई जहीँतहीँ उल्लेख गरी सो मात्रलाई आधार लिई सुरू फैसला सदर कायम हुने गरी त्रुटिपूर्ण फैसला गरिएको छ । मिसिल संलग्न जाहेरी दरखास्तहरू हेरिएमा जाहेरवाला प्रदिपनारायण शाहले प्रथम पटक मिति २०६३।४।१२ मा र पुनः २०६३।४।१५ मा गरी दुई पटक जाहेरी दिएका छन् । मृतक र म पुनरावेदकबिच सम्बन्ध नराम्रो रहेको तथ्य मिसिल संलग्न प्रमाणहरूबाट कहीँ कतै देखिँदैन । मलाई दोषी करार गर्दा निश्चयात्मक ठोस सबुद प्रमाणको अभावमा कसुरदार कायम गरिएको छ । अधिकारप्राप्त अधिकारीसमक्षको मेरो प्रारम्भिक बयान र अदालतमा गरेको बयान साथै मेरो साक्षीले अदालतसमक्ष आई गरेको बकपत्र साथै सम्मानित पुनरावेदन अदालतको आदेशअनुसार झिकाइएका व्यक्ति दिनेश श्रेष्ठ, चेतबहादुर महत राजुमान सिंह कुँवर आदिको बकपत्र कागजलगायतले मेरो कसुरमा रहेको इन्कारी मिसिल संलग्न रहेकै प्रमाणहरूले तथ्ययुक्त समर्थन गरेकै अवस्था छ । मिसिल संलग्न वस्तुनिष्ठ प्रमाणहरूलाई बाहेक गरी विशेषज्ञसमेतको बयानलाई अपव्याख्या गरी फैसला भएको छ । शव परीक्षण गर्ने विशेषज्ञको अदालतमा भएको बकपत्रसमेतले मृतक सम्झना शाह सक्सेनाको मृत्यु झुन्डिएर आत्महत्या गरेकोलाई पुष्टि गरेको छ । घटना भएको समय म घरमा नभएको अन्यत्र रहेको स्थापित तथ्यलाई सम्मानित पुनरावेदन अदालतले बेवास्ता गरेको छ । Suicide Note समेत मृतकको कोठाबाट बरामद भएको छ र उक्त Suicide Note मृतकले लेखेकोमा विवाद छैन । सो मृत्युकालीन घोषणा मृतकबाट किन लेखियो, कुन प्रयोजनको लागि लेखिएको हो भन्नेतर्फ फैसलाले न्यायिक मन नै प्रयोग नै भएको छैन । तसर्थ मलाई सर्वस्वसहित जन्मकैद गर्ने काठमाडौं जिल्ला अदालतको मिति २०६५।१२।३१ को फैसलालाई सदर गरेको मिति २०६७।६।१२ को पुनरावेदन अदालत, पाटनको फैसला प्रस्टतया प्रमाणको मूल्याङ्कनविहीन हचुवा र मनोगत हुँदा उक्त दुवै फैसला बदर गरी उल्ट्‍याई अभियोग दाबीबाट सफाई पाउँ भन्नेसमेत व्यहोराको लक्ष्मीप्रकाश सक्सेनाले यस अदालतमा गरेको पुनरावेदन पत्र ।

मृतकलाई नियन्त्रणमा लिई मारी झुन्ड्याउनसमेत यी प्रतिवादीहरू रामदेवी सक्सेना, गंगादेवी श्रेष्ठसमेतको संलग्नता बिना सम्भव नरहेको स्थिति र अवस्था प्रस्तुत वारदातको प्रकृतिबाट देखिएको छ । वारदात हुँदा सोही ठाउँमा रहेका प्रतिवादी रामदेवी सक्सेना र गंगादेवी श्रेष्ठले प्रस्तुत वारदात हुँदाका अवस्थामा सहमति मात्र जनाई टुलुटुलु हेरी बसेका थिए भनी घटनाको प्रकृति एवं परिस्थितिजन्य अवस्थालाई अत्यन्त हलुकारूपमा लिई आत्मनिष्ठ रूपमा अभियोग दाबीभन्दा भिन्न कसुर कायम गर्ने गरी कम सजाय गरेको पुनरावेदन अदालत, पाटनको फैसलामा मिसिल संलग्न रहेका आधार प्रमाणको उचित मूल्याङ्कन र विवेचना हुन सकेको छैन । मृतक सम्झना शाह (सक्सेना) र निजको घर परिवारका सदस्यहरूबिचमा झगडा हुने गरेको र सो वारदात भएको दिन पनि उक्त घरमा झगडा भएको हुँदा जाहेरवाला उक्त घरमा गएकोमा प्रतिवादी लक्ष्मीप्रकाशसमेतले बाबु ओमप्रकाशलाई बोलाई झगडा मिलाउँछौं भनी निजलाई फर्काएको भन्ने देखिन्छ । प्रतिवादी ओमप्रकाशले आफैँले आफ्नो घरको समस्या समाधन गर्न पहल गरेको भन्ने चाहिँ कहीँ कतै देखिँदैन । निज प्रतिवादी ओमप्रकाश सक्सेना मृतक र अन्य घर परिवारका सदस्यबिच नराम्रो सम्बन्ध रहेको थाहा पाएर पनि सोतर्फ उदासिन देखिन्छ । प्रस्तुत वारदात स्पष्टरूपमा कर्तव्य देखिएको र उक्त वारदात घर परिवारका सबै सदस्यहरूको मिलेमतो समेतलाई निजहरूको गलत क्रियाबाट उन्मुक्ति प्रदान गर्ने गरी भएको उक्त फैसला त्रुटिपूर्ण छ । प्रतिवादी ओमप्रकाश सक्सेनालाई सफाई दिएको फैसला मिसिल संलग्न प्रमाणको रोहमा त्रुटिपूर्ण हुँदा बदरभागी छ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।

मृतक सम्झना शाहको मृत्यु हत्याबाट नभई आत्महत्याबाट भएको भन्ने Autopsy Report मा मृत्युको कारण Hanging भन्ने स्पष्ट उल्लेख छ । शव परीक्षण गर्ने विशेषज्ञको बकपत्रसमेतले मृतक सम्झना शाहको मृत्यु आफैँ झुन्डिएर आत्महत्या गरी भएको भन्ने पुष्टि भएको छ । विशेषज्ञ तथा चिकित्सकले दिएको आधिकारिक रायलाई विवाद नभएको अवस्थामा अनुमानगत आधारमा अन्यथा सोच्न मिल्दैन । चिकित्सकको भनाइ र लास प्रकृति मुचुल्कामा उल्लिखित कुराहरूबिच मेल खाएको प्रस्तुत मुद्दामा विशेषज्ञ तथा चिकित्सकले दिएको राय अनिवार्यरूपमा प्रमाणमा लिनुपर्ने हुन्छ । त्यसतर्फ फैसलामा न्यायिक मन प्रयोग भएको छैन । विशेषज्ञको राय उपेक्षा गरिएको छ । मृतकले मर्ने अठोट गरी आफैँले Suicide Note लेखेको परिप्रेक्ष्यमा मृतकको मृत्यु कर्तव्य नभई आत्महत्याबाट भएको मालाकाररूपमा जोडिएको प्रमाणबाट स्पष्ट छ । म पुनरावेदकको इन्कारीलाई मेरो साक्षी रितादेवी कारन्जितले अदालतमा गरिदिनु भएको बकपत्र, शव परीक्षण प्रतिवेदन, लासजाँच प्रकृति मुचुल्का तथा चिकित्सकको बकपत्रले समर्थन गरेको अवस्था स्पष्ट छ । मेरो इन्कारी बयानलाई फैसलाले समुचित न्यायिक विवेचना गरेको छैन । तसर्थ पुनरावेदन अदालतको फैसला उल्टी गरी अभियोग दाबीबाट सफाई पाउँ भन्नेसमेत व्यहोराको गंगादेवी श्रेष्ठको यस अदालतमा गरेको पुनरावेदन पत्र ।

यसमा प्रतिवादीहरू तथा वादी नेपाल सरकार दुवै पक्षका तर्फबाट पुनरावेदन परेको देखिँदा अ.बं. २०२ नं. को प्रयोजनार्थ नेपाल सरकारको पुनरावेदन परेको हकमा उक्त पुनरावेदन विपक्षी प्रतिवादीहरूलाई सुनाउने र प्रतिवादीहरूको पुनरावेदन परेको हकमा महान्यायाधिवक्ताको कार्यालयलाई सूचना दिई नियमानुसार गरी पेस गर्नु भन्नेसमेत व्यहोराको मिति २०७०।५।३ को यस अदालतको आदेश ।

नियमबमोजिम दैनिक मुद्दा पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित हुनुभएका विद्वान् सहन्यायाधिवक्ता रमा पराजुलीले प्रतिवादी ओमप्रकाश सक्सेना मृतक र अन्य घर परिवारका सदस्यबिच नराम्रो सम्बन्ध रहेको थाहा पाएर पनि सोतर्फ उदासिन रहेको देखिन्छ । सबै सदस्यहरूको मिलेमतोबाट कर्तव्य गरी मृत्यु भएको कुरालाई बेवास्ता गरी प्रतिवादी ओमप्रकाश सक्सेनालाई उन्मुक्ति दिएको पाइन्छ । प्रतिवादी ओमप्रकाश सक्सेनालाई परिस्थितिजन्य प्रमाणले कसुरदार ठहर गर्नुपर्नेमा निजलाई सफाई दिने ठहर्‍याएको पुनरावेदन अदालत, पाटनको फैसला सो हदसम्म उल्टी गरिपाउँ भनी बहस प्रस्तुत गर्नुभयो ।

त्यसै गरी पुनरावेदक प्रतिवादी लक्ष्मीप्रकाश सक्सेनासमेतको तर्फबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद सापकोटा र कमलेश द्विवेदीले मारेर झुन्ड्याइएको लक्षण वस्तुस्थिति मुचुल्का र घटनास्थल मुचुल्काबाट समर्थन हुँदैन । लक्ष्मीप्रकाश सक्सेनाको Alibi को जिकिर पनि रहेको छ । Postmortem Report बाट Hanging नै रहेको स्पष्ट देखिन्छ विशेषज्ञसमेतको बकपत्रलाई अपव्याख्या गरी फैसला भएको छ । शव परीक्षण गर्ने विशेषज्ञको अदालतमा भएको बकपत्रसमेतले मृतक सम्झना शाह सक्सेनाको मृत्यु झुन्डिएर आत्महत्या गरेकोलाई पुष्टि गरेको 

छ । Suicide Note समेत मृतकको कोठाबाट बरामद भएको छ र उक्त Suicide Note मृतकले लेखेकोमा विवाद छैन । सो मृत्युकालीन घोषणा मृतकबाट किन लेखियो, कुन प्रयोजनको लागि लेखिएको हो भन्नेतर्फ फैसलामा न्यायिक मनको प्रयोग नै भएको छैन । प्रतिवादीका साक्षीहरूको बयान व्यहोरालाई प्रमाणमा ग्रहण नै नगरी भएको त्रटिपूर्ण फैसला उल्टी गरी प्रतिवादी लक्ष्मीप्रकाश सक्सेना र गंगादेवी श्रेष्ठलाई अभियोग दाबीबाट सफाई दिलाई पाउँ भनी बहस जिकिर प्रस्तुत गर्नुभयो ।

उल्लिखित विद्वान् कानून व्यवसायीहरूको तर्कपूर्ण बहस जिकिरसमेत सुनी मिसिल संलग्न पुनरावेदन पत्र तथा सुरू र पुनरावेदन अदालतबाट भएको फैसलासहितका मिसिल कागजातहरू समेत अध्ययन गरी हेर्दा पुनरावेदन अदालत, पाटनको फैसला मिलेको छ, छैन ? पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिरबमोजिम प्रतिवादी ओमप्रकाश सक्सेनालाई अभियोग दाबीबमोजिम सजाय हुनुपर्ने हो होइन? प्रतिवादी लक्ष्मीप्रकाश सक्सेना र प्रतिवादी गंगादेवी श्रेष्ठले अभियोग दाबीबाट सफाई पाउनु पर्ने हो होइन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।

२. निर्णयतर्फ विचार गर्दा प्रतिवादी लक्ष्मीप्रकाश सक्सेना, रामदेवी सक्सेना, अनुपकुमार सक्सेना, ओमप्रकाश सक्सेना, सिमरन सक्सेना र गंगादेवी श्रेष्ठसमेतका ६ जनाले जाहेरवालाको छोरी सम्झना शाह (सक्सेना) लाई कर्तव्य गरी मारी मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. र १३ (३) नं. अनुसारको कसुर अपराध गरेकोले प्रतिवादीहरूलाई सोही महलको १३ नं. को देहाय दफा ३ बमोजिम सजाय हुन अभियोग मागदाबी रहेकोमा सुरू काठमाडौं जिल्ला अदालतबाट फैसला हुँदा प्रतिवादी लक्ष्मीप्रकाश सक्सेनालाई अभियोग माग दाबीबमोजिम र अन्य प्रतिवादीमध्ये रामदेवी सक्सेना र गंगादेवी श्रेष्ठलाई सोही महलको १७ (३) नं. बमोजिम २ वर्ष ६ महिना कैद तथा प्रतिवादी ओमप्रकाश सक्सेनालाई अभियोग मागदाबीबाट सफाइ हुने ठहरी फैसला भएउपर प्रतिवादी लक्ष्मीप्रकाश सक्सेना, रामदेवी श्रेष्ठ (सक्सेना) तथा गंगादेवी श्रेष्ठले अभियोग मागदाबी बाट पुरै सफाई पाउँ भनी तथा वादी नेपाल सरकारको तर्फबाट रामदेवी सक्सेना र गंगादेवी श्रेष्ठ र ओमप्रकाश सक्सेनालाई समेत अभियोग मागदाबीअनुसार पुरै सजाय गरिपाउँ भनी पुनरावेदन अदालत, पाटनमा पुनरावेदन परेकोमा पुनरावेदन अदालत, पाटनबाट फैसला हुँदा सुरू काठमाडौं जिल्ला अदालतकै फैसला सदर हुने ठहरी फैसला भएउपर वादी नेपाल सरकारको तर्फबाट प्रतिवादी ओमप्रकाश सक्सेनालाई समेत अभियोग माग दाबीबमोजिम सजाय गरिपाउँ भनी तथा प्रतिवादी लक्ष्मीप्रकाश सक्सेना र गंगादेवी सक्सेनाले अभियोग दाबीबाट सफाई पाउँ भनी यस अदालतमा पुनरावेदन परी निर्णयार्थ पेस हुन आएको देखियो ।

३. पुनरावेदक वादी नेपाल सरकारले प्रतिवादी ओमप्रकाश सक्सेना मृतक र अन्य घर परिवारका सदस्यबिच नराम्रो सम्बन्ध रहेको थाहा पाएर पनि सोतर्फ उदासिन रहेको घर परिवारका सबै सदस्यहरूको मिलेमतोबाट सम्झना शाहलाई कर्तव्य गरी मारेको परिस्थितिजन्य प्रमाणबाट पुष्टि भइरहेको कुरालाई बेवास्ता गरी प्रतिवादी ओमप्रकाश सक्सेनालाई सफाई दिने ठहर्‍याएको पुनरावेदन अदालत, पाटनको फैसला सो हदसम्म उल्टी गरिपाउँ भनी तथा प्रतिवादी लक्ष्मीप्रकाश सक्सेना तथा गंगादेवी श्रेष्ठले मारेर झुन्ड्याइएको लक्षण वस्तुस्थिति मुचुल्का र घटनास्थल मुचुल्काबाट समर्थन हुँदैन । लक्ष्मीप्रकाश सक्सेनाको Alibi को जिकिर पनि रहेको छ । Postmortem Report बाट Hanging नै रहेको स्पष्ट देखिन्छ । विशेषज्ञसमेतको बकपत्रलाई अपव्याख्या गरी फैसला भएको छ । शव परीक्षण गर्ने विशेषज्ञको अदालतमा भएको बकपत्रसमेतले मृतक सम्झना शाह सक्सेनाको मृत्यु झुन्डिएर आत्महत्या गरेकोलाई पुष्टि गरेको छ । Suicide Note समेत मृतकको कोठाबाट बरामद भएको छ Suicide Note मृतकबाट किन लेखियो भन्नेतर्फ फैसलामा न्यायिक मनको प्रयोग नै भएको छैन । उक्त त्रुटिपूर्ण फैसला उल्टी गरी लक्ष्मीप्रकाश सक्सेना र गंगादेवी श्रेष्ठलाई अभियोग दाबीबाट सफाई दिलाई पाउँ भनी यस अदालतमा पुनरावेदन गरेको देखिन्छ ।

४. प्रस्तुत मुद्दामा मृतक सम्झना सक्सेनाका बाबु प्रदिप नारायणले छोरी सम्झनाको देवरले तपाइँको छोरी झुन्डिएर मरिन भनी खबर गरेकोले घटनास्थलमा गई हेर्दा छोरी सम्झना शाह (सक्सेना) घरको छतको पानी ट्‍याङ्की राख्ने फलामको डन्डीमा रातो सल कपडाको पासो लागी झुन्डिइरहेको दुवै हात फलामको डन्डीलाई काखी च्यापेको, दुवै खुट्टाले भुई टेकेको अवस्थामा लास रहेको देखेँ । छोरीलाई परिवारका सदस्यहरू मिली कर्तव्य गरी मारेकोमा शंका लाग्छ, छानविन होस् भनी जाहेरी दिएपछि प्रस्तुत मुद्दाको अनुसन्धानको प्रक्रिया अगाडि बढेको देखिन्छ ।

५. घटनास्थल मुचुल्का हेर्दा ओमप्रकाश सक्सेनाको ४१/२ तल्ले पक्की घरको मेन ढोका पूर्वतर्फ फर्केको माथि जाने भर्‍याङ्ग उत्तरपट्टिबाट रहेको देखिएको र सबैभन्दा माथि कौसीको पानी राख्नको लागि तयार भएको आधा तल्ले छत रहेको सो छतमा २ वटा ५०० लिटरको पानी ट्‍याङ्की रहेको सोभन्दा उत्तरपट्टि फलामद्वारा जडित पानी ट्‍याङ्की राख्नको लागि जडित फलामको र्‍याग रहेको र उक्त ट्‍याङ्कीको भुइँदेखि ट्‍याङ्कीको बलोमा बाँधेको सलमा मृतकको लास झुन्डिएको अवस्थामा रहेको दुवै खुटाको अगाडिको पन्जाको भागले भुईंमा टेकेको पछाडिको कुरकुच्चाको भाग भुईंमा नछोएको माथि उठेको अवस्थामा रहेको भन्ने देखिन्छ भने शव परीक्षण प्रतिवेदनमा Cause of death मा हेर्दा Hanging भनी लेखिएको देखिन्छ ।

६. प्रतिवादी लक्ष्मीप्रकाश सक्सेनाको अधिकारप्राप्त अधिकारीसमक्षको बयान व्यहोरा हेर्दा मृतक सम्झना साह र आफ्नो बिचमा मागी विवाह भएको र २/३ महिनासम्म सम्बन्ध राम्रै थियो र मेरो सुगर रोगको कारणले मसँग टाढिँदै गएको र उनीबाट म पनि टाढाटाढा भएको थिएँ । खाना खाँदासमेत पस्केर हिँड्ने गरेको कारणले म घरदेखि बाहिर बस्ने गरेको थिएँ । हामीहरूबिचको सम्बन्ध नभए पनि मैले सम्झनालाई कहिल्यै कुटपिट गरेको छैन र निजलाई हत्या गरी झुन्ड्याएकोसमेत होइन । किन मउपर प्रदिप नारायण शाहले किटानी जाहेरी गरे मलाई थाहा भएन । उक्त दिन म घरमा समेत थिइनँ । मृतक सम्झनाको लास झुन्डिएको अवस्थामा देखेर हेर्न पनि नसकी अरूले मलाई छतबाट तल झारेका हुन् भनी आरोपित कसुरमा पूर्णतः इन्कारी रहेको देखिन्छ भने अदालतसमक्ष बयान गर्दासमेत अनुसन्धान अधिकारीसमक्ष भएको बयान समर्थन हुने गरी बयान गरेको देखिन्छ । प्रतिवादी ओमप्रकाश सक्सेना, गंगादेवी श्रेष्ठ, रामदेवी सक्सेनाले अधिकारप्राप्त अधिकारी तथा अदालतसमक्ष गरेको बयानमा आरोपित कसुरमा पूर्णतः इन्कार रही बयान गरेको देखिन्छ ।

७. प्रतिवादी गंगादेवीको साक्षी रितादेवी कारंजित, प्रतिवादी लक्ष्मीप्रकाश सक्सेनाका साक्षी मनिस राईले यी प्रतिवादीहरूले मृतक सम्झनालाई कर्तव्य गरी मारेका होइनन् भनी प्रतिवादीहरूको बयान व्यहोरा समर्थित हुने गरी बकपत्र गरिदिएको देखिन्छ । त्यसैगरी बुझिएकी पुष्पा थापा क्षेत्री, अम्बिका अधिकारी, शोभा थापा, शोभा नेपाली दमाईले गरेको बकपत्रमा मृतकलाई कुटपिट गरेको देखेको होइन भनी बकपत्र गरेको देखिन्छ । मौकामा कागज गर्ने विरेन्द्रलाल श्रेष्ठले समेत अदालतमा आई बकपत्र गर्दा मृतक सम्झनाले झुन्डिएर आत्महत्या गरेको हुनुपर्छ भनी बकपत्र गरेको देखिन्छ । मौकामा कागज गर्ने कृष्णदेवी श्रेष्ठले मृतकको परिवारसँगको सम्बन्ध राम्रो थियो । प्रतिवादीहरूले मृतक सम्झनालाई कर्तव्य गरी मारेका होइनन् । अभियोग मागदाबीबाट सफाई पाउनुपर्छ भनी बकपत्र गरेका छन् । बुझिएका मानिसहरूको बकपत्र व्यहोराबाट मृतकलाई कुटपिट गरेको आफूले नदेखेको, शंकासम्म व्यक्त गरेको देखिन्छ र निजहरू घटनाका प्रत्यक्षदर्शी होइनन् भन्ने कुरा स्पष्टरूपमा देखिन आएको छ । मृत्युको कारण कर्तव्य नै हो भनी शंकासम्म व्यक्त गरेको देखिँदा निजहरूको भनाइ प्रतिवादीहरूलाई दोषी करार गर्नका लागि सहयोग पुग्ने देखिँदैन । निजहरूको उक्त भनाइ प्रमाणमा ग्रहण गर्नका लागि अन्य स्वतन्त्र प्रमाणहरूबाट ग्रहण गर्नका लागि अन्य स्वतन्त्र प्रमाणहरूबाट पुष्टि भएको देखिनु पर्दछ ।

८. लास जाँच गर्ने चिकित्सकहरू डा. प्रमोदकुमार र डा. हरिहर वस्तीले अदालतमा आई बकपत्र गर्दा सुरू शव परीक्षण प्रतिवेदनको लेखिएको Cause of Death मा Hanging बाट नै मृतकको मृत्यु भएको थप पुष्टि हुने गरी बकपत्र गरिदिएको अवस्थाबाट ज्यान जस्तो गम्भीर फौजदारी अभियोगमा जाहेरी व्यहोरालाई अकाट्‍य वैज्ञानिक प्रमाणबाट पुष्टि नभएसम्म दोषी करार गर्ने हो भने फौजदारी न्यायको मर्म र भावनाविपरीत हुन जान्छ । शव परीक्षण प्रतिवेदनबाट Hanging भन्ने देखिएको र शव परीक्षण गर्ने चिकित्सकहरू कर्तव्य गरी मारेको वा घाँटी थिचेको अवस्था थियो भने सो कुरा शव परीक्षण प्रतिवेदनबाट स्पष्ट प्रमाणित हुनुपर्दछ । घाँटीमा हातले थिचेको डामहरू देखिनुपर्ने हुन्छ । शव परीक्षण प्रतिवेदनबाट मृत्युको कारण Hanging नै भनिएको छ र अदालतमा आई गरेको बकपत्रमा Judicial Hanging मा Spinal cord भाँचिएको वा खुस्किएको पाइन्छ । अन्य Hanging हरूमा सो पाइँदैन । विश्वव्यापी तथ्य यो छ कि अन्यथा प्रमाणित नभएमा सबै झुन्डिएका लासहरू आत्महत्या हुन् भन्ने व्यहोरा उल्लेख भएको देखिन्छ । त्यसै गरी झुन्डिएका मरेको देखाउनलाई लासलाई झुन्डिएको भन्दा फरक हुन्छ र झुन्ड्याउने प्रक्रियामा शरीरका अन्य भागमा बल प्रयोग भएका केही न केही चोटपटक, लछारपछार घर्षण आदि चिह्नहरू फेला पर्न सक्छन् । यदि कसैले कुनै पासोले व्यक्तिको घाँटी कसेमा घाँटीभित्रका अंगमा प्रशस्त चोटहरू देखिन्छन् र त्यसलाई Hanging नभनेर Ligature Strangulation (अरूले घाँटी कसेको) भनी उल्लेख गरिन्छ भनी स्पष्ट ढङ्गले बकपत्र गरेको देखिन्छ ।

९. शव परीक्षण प्रतिवेदनमा संलग्न चिकित्सकहरूले अदालतमा आई बकपत्र गर्दा त्यही Hanging भनी लेखिएको प्रतिवेदनको व्यहोरालाई समर्थन हुने गरी बकपत्र गरेको देखिएको र मौकामा बुझिएका अम्बिका अधिकारी, शोभा दमाई, शोभा थापा तथा पुष्पा थापा र कृष्णदेवी श्रेष्ठसमेतले अदालतमा गरेको बकपत्रमा कर्तव्य गरी मारेको आफूले नदेखेको शंकासम्म व्यक्त गरेको र कतिपयले मृतक सम्झनालाई कर्तव्य गरेर मारे जस्तो लाग्दैन भनी लेखाई दिएको देखिँदा शव परीक्षण गर्ने चिकित्सकहरूको भनाईलाई थप समर्थन भएको देखिन्छ । मौकामा कागज गर्ने विरेन्द्रलाल श्रेष्ठले त मृतक सम्झनाको मृत्यु आत्महत्या नै भएको लेखाइदिएका छन् भने प्रतिवादी गिता देवीको साक्षी रितादेवी कारंजित र प्रतिवादी लक्ष्मीप्रसाद सक्सेनाको साक्षी मनिस राईले प्रतिवादीहरूले मृतकलाई कर्तव्य गरी मारेका होइनन् भनी स्पष्टसँग लेखाइ दिएको अवस्थामा शव परीक्षण प्रतिवेदनमा लेखिएको Hanging भन्ने व्यहोराको अझ थप पुष्टि हुन आएको छ ।

१०. अर्कोतर्फ यी प्रतिवादीहरूले कर्तव्य गरी झुन्डिएर मरेको देखाउन उक्त कार्य गरेको अवस्था हुँदो हो त प्रतिवादीका शरीरमा शव परीक्षण गर्ने चिकित्सकहरूले भने जस्तो चोटपटक र संघर्षका चिह्नहरू देखिनु पर्ने हुन्छ । आफूमाथि प्रहार भएको अवस्थामा र आफ्नो मृत्यु अवश्यम्भावी छ भन्ने अवस्थामा बाँच्नका लागि मानिसले सक्दो संघर्ष गर्दछ । त्यस्तो संघर्ष भएको देखिएको चोटपटकलगायतको कुनै कुरा शव परीक्षण प्रतिवेदनबाट देखिन आउँदैन । पुनरावेदन अदालतको फैसलाबाट मृतक निदाएको अवस्थामा कर्तव्य गरी मारेको हुन सक्दछ भन्ने व्यहोरा उल्लेख भएको देखिन्छ । यस्तो हुन सक्छ भन्ने अनुमान गर्ने काम अदालतको होइन । अदालतले वस्तुनिष्ठ तबरले भएका प्रमाणहरू केलाई निष्कर्षमा पुग्नुपर्ने हुन्छ । 

११. मृतकको Suicide Note समेत मृतकको कोठाबाट बरामद भएको छ र उक्त Suicide Note मृतकले लेखेको कुरामा पनि विवाद देखिँदैन । Suicide Note भनेकै आत्महत्या गर्ने संकल्प भएका मानिसले लेख्दछन् । बुबा मलाई माफ गरिबक्सेला ... जुन हजुरको प्रयास असफल भयो......... दिनसम्म यिनीहरूको बचनहरू सुनेर बस्ने...... भन्ने मृतकको आफ्नो बुबासँगै निराशा व्यक्त गर्दै पत्र लेखेको देखिन्छ । Suicide Note लाई एक प्रकारको मृत्युकालीन घोषणाको रूपमा पनि लिनुपर्ने हुन्छ । आफ्नो निराशापूर्ण जीवनलाई उल्लेख गर्दै Suicide Note मा लेखिएको अभिव्यक्तिसमेतको विश्लेषणबाट प्रतिवादीहरूसँगको व्यवहारबाट दिक्क लागेर मृत्युलाई आफैँले रोजेको भन्ने स्पष्ट देखिन्छ । त्यसैगरी जाहेरवाला प्रदिपनारायण शाह र अनुसन्धानको क्रममा कागज गर्ने कपिल शाहले घर परिवारले विवाह भएको २/३ महिनापछि छोरी बैनीलाई कुटपिट गर्ने र ज्वाइँले घरमा बस्ने अर्को श्रीमती लिएर बसेको कारणबाट बैनीसँग मिल्ती थिएन । प्रतिवादीहरूले नै कर्तव्य गरी मारेका हुन् भनी बकपत्र गरेको देखिन्छ तापनि यी कपिल शाह घटनाका प्रत्यक्षदर्शी रहेको देखिँदैन । त्यसै गरी प्रतिवादी लक्ष्मीप्रसाद सक्सेनाले अर्को विवाह गरेको भनी बकपत्र गरेको भए पनि अर्को विवाह गरेको मिसिल संलग्न कागजातहरूबाट पुष्टि हुन आएको छैन । यस प्रकारको घटनाक्रमहरूबाट यी प्रतिवादीहरूको कर्तव्यबाट मृतकको मृत्यु भएको भनी निष्कर्षमा पुग्नु उचित देखिएन ।

१२. तसर्थ माथि विवेचना गरिएका आधार कारण र विश्लेषणहरूबाट  प्रतिवादीहरूको अधिकारप्राप्त अधिकारी तथा अदालतसमक्ष भएको इन्कारी बयान, मृतकलाई कुटपिट गरेको वा मारेको भन्ने वस्तुनिष्ठ प्रमाणबाट स्थापित हुन नसकेको र परिस्थिति जन्य कुनै पनि प्रमाणबाट प्रतिवादीहरूलाई दोषी करार गर्ने आधार प्रमाण नदेखिएको अवस्थामा शंकाको सुविधा अभियुक्तले पाउने नैं देखिँदा केही प्रतिवादीहरूको हकमा अभियोग दाबीबमोजिम सजाय गर्ने र केहीका हकमा ज्यानसम्बन्धी महलको १७ (३) बमोजिम सजाय गर्ने गरेको मिति २०६७।६।१२ को पुनरावेदन अदालत, पाटनको फैसला न्याय र कानूनसम्मत नदेखिँदा उल्टी भई प्रतिवादी लक्ष्मीप्रसाद सक्सेनासमेतका प्रतिवादीहरूले अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ । वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रतिवादी लक्ष्मीप्रकाश सक्सेना थुनामा रहेको देखिँदा फैसलाको पूर्ण पाठ आउन केही समय लाग्ने भएकाले अन्य मुद्दाबाट थुनामा राख्न पर्ने नदेखिएको भए आजै कारागार मुक्त गरिदिनु भनी भएको संक्षिप्त फैसलाबाट निज प्रतिवादी लक्ष्मीप्रकाश सक्सेना थुनामुक्त भइसकेको देखिँदा हाल केही बोलिरहनु परेन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी नियमानुसार मिसिल अभिलेख शाखामा बुझाई दिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या. ओमप्रकाश मिश्र

 

इजलास अधिकृतः रामप्रसाद बस्याल

इति संवत् २०७२ साल भदौ २१ गते रोज २ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु