शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९५८८ - कर्तव्य ज्यान

भाग: ५८ साल: २०७३ महिना: श्रावण अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री दीपकराज जोशी 

माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय

फैसला मिति : २०७२।१२।१२।६

०७२-RC-००५६

 

विषय : कर्तव्य ज्यान । 

 

वादी : महेशी माझीको जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रतिवादी : जिल्ला रौतहट, गा.वि.स. वगही वडा नं. ६ घर भई कारागार कार्यालय रौतहटमा थुनामा बस्ने प्रभु माझी

 

प्रतिवादीले अदालतमा पुनरावेदन गर्दा जाहेरवालासमेतको डरले अदालतमा साबित भएको भनी भने तापनि स्वतन्त्ररूपमा बयान गर्न पाइने निष्पक्ष अदालतमा कुनै डर धाकको अवस्था रहन्छ भन्ने सामान्य अवस्थामा स्वीकार गर्न सकिने हुँदैन र आफूउपर डर, धाक दबाब रहेको विशेष अवस्था थियो भन्ने कुरा निज प्रतिवादीले देखाउनसमेत सकेको छैन । तथा निजले अनुसन्धानको क्रममा कर्तव्य ज्यान र जबरजस्ती करणीसमेतको वारदातमा साबित रही गरेको बयानलाई बुझिएका व्यक्तिहरूको कागज, लास जाँच मुचुल्का, शव परीक्षण प्रतिवेदन, जाहेरी दरखास्त, अदालतमा भएको निजकै बयानसमेतबाट स्पष्ट पुष्टि भइरहेको देखिने ।

(प्रकरण नं.५)

जन्मकैद जस्तो अधिकतम कडा सजाय गरिसकेपछि सर्वस्वसमेत गरिनुको औचित्य हालको परिवेशमा असान्दर्भिक हुँदै गएको पनि देखिन्छ । जन्म कैद भुक्तान गरेर समाजमा स्थापित हुन निस्किएको व्यक्तिलाई समाजमा बसेर अघि बढ्ने आधारको रूपमा रहने उसको सम्पूर्ण सम्पत्तिबाट बिहिन गरिनु मानवीय दृष्टिले समेत व्यावहारिक मान्न नसकिने ।

हालको कानूनी व्यवस्थामा प्रस्तुत मुद्दामा जस्तै अधिकतम सजाय तथा सर्वस्वसमेत गरिएको व्यक्तिले मुलुकी ऐन, दण्ड सजायको २७ नं. बमोजिम सर्वस्वको प्रक्रिया सुरू नभएको अवस्थामा पीडित वा निजको परिवारलाई के कसरी कुन स्रोतबाट क्षतिपुर्ति बुझाउने हो सोको तर्कसङ्गत व्यवस्थासमेत नदेखिने ।

अधिकतम कडा सजाय भएपछि सर्वस्व गर्ने प्रावधान तथा सर्वस्व गरिसकेपछि प्रतिवादीकै सम्पत्तिबाट क्षतिपूर्ति भराउने सजाय थप सजायको रूपमा रहने प्रावधान हालको अवस्थामा व्यावहारिक नदेखिने भएकोले त्यसतर्फ दृष्टिगत गरी कानूनहरूलाई व्यावहारिक बनाउनेतर्फ पहल गर्नुसमेत सान्दर्भिक देखिन आउने । 

(प्रकरण नं.६)

 

वादीका तर्फबाट : 

प्रतिवादीका तर्फबाट :

अवलम्बित नजिर :

सम्बद्ध कानून :

मुलुकी ऐन, ज्यानसम्बन्धीको १३(३)

मुलुकी ऐन, जबरजस्ती करणीको ३(१)

मुलुकी ऐन, दण्ड सजायको २७ नं.

सुरू तहमा फैसला गर्ने :

मा. जिल्ला न्यायाधीश श्री गुणराज ढुङ्गेल

पुनरावेदन तहमा फैसल गर्ने :

माननीय न्यायाधीश श्री हरिकुमार पोखरेल

माननीय न्यायाधीश श्री विनोदप्रसाद शर्मा

 

फैसला

न्या.दीपकराज जोशी : न्याय प्रशासन ऐन, २०४८ को दफा १० बमोजिम पुनरावेदन अदालत, हेटौंडाको मिति २०७१।१२।२४ को फैसलाउपर साधकको रोहमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ :

जिल्ला रौतहट, गा.वि.स. वगही वडा नं. ८ अन्तर्गत वीरेन्द्र चौधरीको पोखरीको उत्तरतर्फको डिलमा उत्तर टाउको दक्षिण दुवै गोडा सिधा रही दुवै हात बगलमा भई उत्तानो अवस्थामा मृतक लास रहेको, सो मृतक लास रहेको स्थानदेखि १२ फिट दक्षिणको दुरीमा पोखरीको अं. ४ फिट गहिराई भाग पानीमा वर्ष ५ की निज सिमाकुमारी माझीको मृतक लास फेला परेकोमा उक्त लास स्थानीय व्यक्तिहरूले पोखरीबाट निकाली सुरक्षित साथ पोखरीको डिलमा राखेको, नाकबाट रगत जस्तो तरल पदार्थ निस्केको, बायाँ गालामा अं. ३ इन्च गोलाईको सेतो रातो छाला खुइलिएको जस्तो डाम र दायाँ गालामा अं. २५ इन्च गोलाई भएको निलो डाम देखिएको र योनि अस्वाभाविक रूपले सुन्निएको जस्तो देखिएको एवं मृतकको शरीरको सम्पूर्ण अंग जिउमा माटो लागेको ठीक साँचो हो भन्नेसमेत व्यहोराको घटनास्थल लासजाँच प्रकृति मुचुल्का ।

मिति २०६८।११।२५ गते हिन्दुहरूको चाड होलीको दिन अं. १५.०० बजेको समयमा मेरा ससुरालाई खानपिन गर्नको लागि बोलाउन भनी म जाहेरवालाको छोरी गएकोमा बेलुकासम्म पनि छोरी घर फर्की नआएकोले तत्काल गाउँ टोल तथा ससुराली  

घरमा समेत खोजतलास गर्दा कहिँकतै फेला पर्न नसकेकोले सो कुरा आफन्त तथा समाजका मानिसहरूलाई बताई निरन्तररूपले खोजतलास गरिरहने क्रममा मिति २०६८।११।२८ गते अं. १२.०० बजेको समयमा पोखरीको पानीमा निज छोरीको कर्तव्यबाट हत्या गरी वारदातलाई ढाकछोप गर्ने उद्देश्यले मृतक लास फालेको जस्तो शङ्कास्पद अवस्थामा फेला परेपछि सो वारदातको बारेमा प्रहरीलाई जानकारी गराएको हुँ । निज छोरीको मृत्यु के कसरी भएको हो भन्ने सम्बन्धमा पत्ता लगाउने कार्य गरी नै रहेकोमा सोही मितिबाट गाउँ घर छाडी भागी फरार रहेको प्रतिवादी प्रभु माझीलाई मिति २०६८।११।३० गतेका दिन गाउँ समाजका व्यक्तिहरूले फेला पारी सोधपुछ गर्दा व्यक्तिगत रिसइवीको कारणले निजले नै मेरो छोरी सिमा कुमारी माझीलाई मिति २०६८।११।२५ गते होलीको दिन मेरो ससुराली घरतर्फ गएकी अवस्थामा ललाई फकाई पोखरीको डिलमा बोलाई लगी कुटपिट गरी घाँटी थिची कर्तव्य गरी मारी वारदातलाई दबाउने नियतले पोखरीको पानीमा लास फाली दिएको भनी बताई स्वीकार गरेको हुँदा निज प्रतिवादी स्थानीय व्यक्तिहरूको निगरानीमा रहेकोले प्रस्तुत जाहेरी दरखास्त पेस गरेको छु । निज प्रतिवादीलाई पक्राउ गरी थप अनुसन्धान गरी कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको महेशी माझीको २०६८।१२।१ गतेको जाहेरी दरखास्त ।

Contusion over right chick, Laceration over left check, Vegina swollen, Laceration भन्ने परीक्षणबाट देखिएको तथा cause of death Asphyxia (मोतिको माला र रेशमको धागो (डोरी) ले घाँटी च्यापेर मारेको र पछि लासलाई पोखरीमा फालिदिएको) भन्नेसमेत व्यहोराको मृतक सिमाकुमारी माझीको शव परीक्षण प्रतिवेदन ।

मिति २०६८।११।२५ गते तराईमा होली पर्व रहेकोले सो दिन बिहानैदेखि मासु र रक्सी खाई नशाको सुरमा रहेको थिएँ । बेलुकी अं. १९.०० बजेको समयमा एक्लै आफ्नो घर आँगनमा रहेको अवस्थामा निज सिमाकुमारी माझीलाई एक्लै देखी निजलाई त्यहाँबाट खेततर्फ रहेको पोखरीको एकान्त डिलमा ललाई फकाई लगी निजले लगाएको कट्टु फुकाली जबरजस्ती करणी गर्नको लागि आफ्नो पाइन्टको चेन खोली ठाडो अवस्थामा रहेको मेरो लिङ्ग निजको योनिमा पसाउन खोज्दा अप्ठ्यारो मानी छट्पटाउन थालेपछि निजको गालामा ३/४ थप्पड पिटी जबरजस्ती करणी गर्ने प्रयास गरेकोमा मेरो वीर्य स्खलन भएपछि निजको फुकाली राखेको कट्टुले आफ्नो लिङ्ग तथा निजको योनिसमेत पुछी सफा गरिसकेपछि निजलाई पछारी लडाई घाँटीमा लगाएको रेशमको धागोमा बुनेको मोतिको माला तथा घाँटीसमेत आफ्नो दुई हातले कसी दिँदा मृत्यु भएपछि कसैले मैंले मारेको भन्ने कुराको शङ्का नगरोस् भनी पोखरीमा फाली उक्त स्थानबाट भागेको हुँ । तत्काल वीर्य सफा गरिसकेपछि कट्टु आफ्नो पाइन्टको खल्तीमा राखेकोमा पोखरीबाट आफ्नो घर फर्की आउँदा खल्तीबाट सो कट्टु निकाली बाटोमा रहेको जिल्ला रौतहट गा.वि.स. वगही वडा नं. ७ अन्तर्गत सुनर साहको बाँसघारी नजिक रहेको परालको थुप्रोमा लुकाई छिपाई राखिदिएको थिएँ भन्ने प्रतिवादी प्रभु माझीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।

जिल्ला रौतहट गा.वि.स. वगही वडा नं. ७ अन्तर्गत सुनर साहको बाँसघारीको उत्तर साइडमा छेउमै परालको थुप्रोभित्र प्रतिवादी प्रभु माझीले दिएको वारदात मिति र समयमा जाहेरवालाको छोरी सिमाकुमारी माझीले लगाएको भनिएको कालो रंगको बच्चाले लगाउने सानो कट्टुमा वीर्य जस्तो पदार्थ लागेको अवस्थामा फेला परेकोले प्रहरीले बरामद गरेको हो र सो कट्टु वारदात मिति र समयमा छोरी सिमाकुमारी माझीले नै लगाएको हो भनी हेरी सनाखतसमेत गरेँ भन्नेसमेत व्यहोराको बरामदी तथा जाहेरवाला महेशी माझीले गरेको सनाखत मुचुल्का ।

मिति २०६८।११।२५ गते होली पर्वको दिनभर म आफ्नो गाउँ घरमै रमाइलो गरी बसेको थिएँ । साँझ अलि अँध्यारो हुन थालेपछि मलाई दिशा लागेकोले खेततर्फ गई घर फर्की आउने क्रममा अलिअलि पेट दुखेकोले खेतकै गोरेटो बाटोमा केही बेर बसी आराम गरिरहेकोमा सोही बखत खेततिर रहेको पोखरीबाट प्रतिवादी प्रभु माझीलाई आउँदै गरेको देखे पनि बोलचाल भएन । सोको केही समयपछि म आफ्नो घर आउन लाग्दा गाउँ टोलमा जाहेरवालाको घर परिवार तथा ससुरालीतर्फका मानिसहरू समेत भई आफ्नो छोरी सिमाकुमारी माझी घरमा नपुगेकीले खोजतलास गरिरहेको देखेकोमा रातिको समयमा निज बच्चीलाई कहिँकतै फेला पार्न सकिएन । गाउँ टोलका मानिसहरू मध्ये कोहीले मिति २०६८।११।२५ गतेका दिन साँझ तिर सिमाकुमारी माझीलाई प्रभु माझीले आफूसँग हिडाउँदै गरेको अवस्थामा देखेको कुरा गरेकोमा मैंले पनि बेलुका अलि अँध्यारो भएको अवस्थामा प्रभु माझीलाई खेततर्फको बाटो हुँदै आउँदै गरेको कुरा देखेको भनी बताएको थिएँ । मिति २०६८।११।२८ गतेका दिन पोखरीको पानीमा बच्चाको लास फेला परेको छ भन्ने हल्लाखल्ला हुँदा म पनि गई हेर्दा पोखरीको किनार नजिक पानीमा जाहेरवालाको छोरी सिमाकुमारी माझीको मृतक लास रहेको देखी स्थानीय व्यक्तिहरू मिली पानीबाट लास निकाली पोखरीको डिलमा राखेको र पहिलेदेखि नै शङ्का गरेको प्रतिवादी प्रभु माझीलाई मिति २०६८।११।३० गते फेला पारी सिमाकुमारी माझीको किन हत्या गरेको हो भनी सोधपुछ गर्दा निजको बुबा जाहेरवालासँग बाहिर कमाएको पैसा लेनदेन सम्बन्धमा चित्त नबुझी रिस उठेकोले आफूले नै निजको छोरीलाई कुटपिट गरी घाँटी थिची हत्या गरी पोखरीको पानीमा फाली भागेको थिएँ भनी अपराध स्वीकार गरेको हुँदा सो कुरा गाउँ समाजका सम्पूर्ण व्यक्तिहरूले थाहा पाएका हौं । निजले तत्काल मृतकलाई हत्या गर्नुभन्दा अगाडि जबरजस्ती करणी गरेको कुरा नबताएको भए तापनि पछि प्रहरीद्वारा भएको अनुसन्धानबाट प्रतिवादीले नाबालिका सिमाकुमारी माझीलाई जबरजस्ती करणी गरिसकेपछि हत्या गरेको कुरा पनि खुल्न आएको तथा सोबमोजिम मृतकको शरीरमा कट्टु नरहेको हुँदा जबरजस्ती करणी गर्दाको बखत फुकाएकोमा पछि गाउँकै परालको थुप्रोमा लुकाएको अवस्थामा सो कट्टु पनि बरामद भई मृतकको नै रहेको भनी सनाखतसमेत भइसकेको हुँदा यी प्रतिवादी प्रभु माझीले जाहेरवालाको छोरीलाई जबरजस्ती करणी गरी हत्या गरेको ठीक साँचो हो भन्नेसमेत व्यहोराको करिब एकै मिलानको बुझिएका मानिसहरू सुमित्रादेवी माझी, शम्भु माझी र वस्तुस्थिति मुचुल्काका मानिसहरू जोखन महतो, शिवनारायण चौधरी र महेन्द्र साहले गरिदिएको कागज ।

मिसिल संलग्न प्रमाणहरूबाट मिति २०६८।११।२५ गते अं. दिनको १९.०० बजेको समयमा यी प्रतिवादी प्रभु माझीले सिमाकुमारी माझीलाई जबरजस्ती करणी गरी कुटपिट गरी घाँटी थिची कर्तव्य गरी हत्या गरेको वारदात स्थापित हुन आएकाले निज प्रतिवादी प्रभु माझीलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ र १३(३) नं. को कसुरमा सोही महलको १३(३) नं. बमोजिम र कर्तव्य गरी मार्नुपूर्व मृतकलाई जबरजस्ती करणी गरेको वारदातमा मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ र ३ नं. को देहाय (१) को कसुरमा सोही महलको ३ नं. को देहाय (१) बमोजिम सजाय गरी ऐ. को १० नं. बमोजिम क्षतिपूर्तिसमेत दिलाई भराई पाउँ भन्नेसमेत व्यहोराको अभियोग पत्र ।

मृतक सिमाको बुबाले मेरो आमालाई १० वर्ष अगाडि भारतको पन्जाब लगी बेचेको हुँदा सोही रिसइवीले निजको छोरीलाई उखुले घाँटीमा हिर्काई मारेको हुँ । करणी गरेको होइन भन्नेसमेत व्यहोराको प्रतिवादी प्रभु माझीले सुरू अदालतमा गरेको बयान ।

प्रतिवादीले जबरजस्ती करणी गरेको अस्वीकार गर्दै मृतकको बुबाले आफ्नी आमालाई पन्जाबमा लगी बेचेको कारण सोही रिसइवीले निजको छोरीलाई मारेको हुँ भनी यस अदालतमा साबित रही बयान गरेको र निजले मृतकलाई मार्नुपूर्व जबरजस्ती करणी गरेको भन्ने कुराको पुष्ट्याईं वादी पक्षले पेस गर्न सकेको नहुँदा यी प्रतिवादी प्रभु माझीलाई अभियोग दाबीबमोजिम मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) नं. अनुसार सर्वस्वसहित जन्मकैद हुने ठहर्छ । जबरजस्ती करणीको अभियोग दाबी पुग्न सक्दैन । साथै वारदातको प्रकृति र प्रतिवादीको मानसिक अवस्था तथा निजको साबित बयानसमेतलाई विचार गर्दा निजलाई सर्वस्वसहित जन्मकैद गर्दा चर्को पर्न जाने देखिँदा निजलाई १० वर्ष मात्र कैद हुन अ.बं. १८८ नं. बमोजिम राय व्यक्त गरिएको छ भन्नेसमेत व्यहोराको सुरू रौतहट जिल्ला अदालतबाट मिति २०६९।९।२३ मा भएको फैसला ।

प्रतिवादीलाई अभियोग दाबीबमोजिम ज्यानसम्बन्धीको महलको १३(३) नं. अनुसारको कसुर ठहर भएको देखिँदा मुल वारदातका विषयमा विवाद छैन । जिल्ला रौतहट गा.वि.स. वगही वडा नं. ७ अन्तर्गत सुनर साहको बाँसघारीको उत्तर साइडमा परालको थुप्रोभित्र मृतक सिमाकुमारी माझीले लगाएको कालो रङ्गको कट्टु प्रतिवादीले देखाएपछि सो कट्टुलाई हेर्दा वीर्य जस्तो पदार्थ लागेको अवस्थामा फेला परेको बरामदी तथा खानतलासी मुचुल्काबाट देखिएको र सो कट्टु मृतक सिमाकुमारी कै हो भन्ने शंभु माझीले सनाखत गरेको देखिन्छ । निजको सो सनाखत कागज प्रमाणयोग्य रहेको र योनि सुख्खा रही अस्वाभाविकरूपले सुन्निएको भन्ने देखिएबाट मृतकउपर जबरजस्ती करणी गरी सोही कारण कर्तव्य गरी मारेको भन्ने देखिएबाट जबरजस्ती करणीको वारदात पुष्टि भएको छ । Vegina swollen, laceration र मोतिको माला र रेशमको धागो (डोरी) ले घाँटी च्यापेर मारेको र पछि लासलाई पोखरीमा फाली दिएको भन्नेसमेत व्यहोराको मृतक सिमाकुमारीको पोष्टमार्टम रिपोर्टसमेतबाट जबरजस्ती करणी गरेको वारदात पुष्टि भइरहेको देखिँदा सोसमेत आधार प्रमाणहरूलाई गौण गरी प्रतिवादीको बयानलाई मात्र आधार लिई प्रतिवादीलाई सुरू अदालतबाट जबरजस्ती करणीको अभियोग दाबीबाट सफाई दिएको सो हदसम्मको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारको पुनरावेदन अदालत, हेटौंडामा परेको पुनरावेदन पत्र ।

प्रस्तुत मुद्दाको घटना वारदात मैंले गरेको भनिएको कुरा कसैले देखेको छैन, गरेको होला, हुन सक्छ भन्ने शङ्का उपशङ्का गरी मउपर अभियोग लगाइएको छ । म प्रहरी हिरासतमा रहेको अवस्थामा मेराउपर कागजहरू गरी बनाई पछिबाट मलाई दस्तखत गराई प्रमाणित गराउने गरिएको हो । मेरो रोहवरमा कसैले पनि कुनै कागज गरेको छैन । जाहेरवालाले प्रहरी हिरासतमा मलाई भेटी तिमीले आरोप स्वीकार नगरे तिम्रो स-परिवारलाई सखाप गराई दिन्छु, तिम्रो आमालाई बेपत्ता पारी दिएँ, अब भाई बहिनीलाई पनि सिध्याउँछु भनी आफूले पनि भन्ने गरेको र गाउँका आफ्ना मानिसद्वारा भन्न लगाउने गर्थें । विपक्षी जाहेरवालाको डरको कारण रौतहट जिल्ला अदालतमा भएको साबिति बयानको आधारमा मलाई हराई फैसला भएकोले मेरो उपर अन्याय परेको छ । कर्तव्य ज्यान जस्तो गम्भीर प्रकृतिको मुद्दामा चश्मदिदको अभाव र शंकैशङ्काको आधारमा अनुसन्धान अधिकारीहरूले पनि जाहेरवालाकै भनाईलाई मात्र आधार बनाई अनुसन्धान गरेको, लास सदगदको कागज, घटनास्थल प्रकृति मुचुल्कालगायत कुनै कागजातमा मेरो नाम नभई पछिबाट योजना बनाई मेरो विरूद्धमा दिएको अतिरंजित जाहेरीको आधारमा भएको फैसलाबाट न्याय नपरेकोले इन्साफ पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी प्रभु माझीको पुनरावेदन अदालत, हेटौंडामा परेको पुनरावेदन पत्र ।

प्रतिवादीले वारदातको बारेमा सविस्तार गरेको भनाई व्यहोराबमोजिम निजले भनेको स्थानबाट मृतकको कट्टु बरामद भएको देखिन्छ । सो कट्टुमा वीर्य जस्तो दाग लागेको भन्ने बरामदी मुचुल्का तथा मृतकका बाबुले गरेको सनाखत कागजबाट समेत पुष्टि भएको छ । यसको साथै मृतकको शव परीक्षण प्रतिवेदनमा Vegina swollen, laceration उल्लेख भएको छ । लासजाँच मुचुल्काबाट समेत सो पुष्टि भएको देखिन्छ । यसरी शव परीक्षण र लासजाँच मुचुल्काले सो तथ्य पुष्टि हुन आएको देखिन्छ । जबरजस्ती करणीको आधारभूत प्रमाण पीडितको मृत्यु भइसकेको अवस्थामा यी प्रमाणहरू आरोपित कसुर प्रमाणित गर्ने प्रयोजनको लागि प्रमाणमा ग्रहण गर्न सकिने नै देखिन्छ । यसरी निज प्रतिवादी प्रभु माझीको अधिकारप्राप्त अधिकारीसमक्षको बयान पुष्टि भइरहेको अवस्थामा निज प्रतिवादीले अभियोग दाबीबमोजिम मृतकलाई जबरजस्ती करणी गरी त्यसबाट बच्न निजलाई कर्तव्य गरी मारी लास पोखरीमा फालिदिएको देखिन आएको छ । करणी गरेको होइन भनी निजले अदालतमा गरेको बयान निजले वस्तुनिष्ठ साक्षी प्रमाण पेस गरी प्रमाणित गराउन सकेको पाइँदैन । वारदातको उल्लिखित तथ्यहरू सबुद प्रमाणबाट प्रमाणित भइरहेको यस अवस्थामा निजलाई अभियोग दाबीबमोजिम जबरजस्ती करणी गरेको कसुर ठहर गर्नुपर्नेमा जबरजस्ती करणीतर्फ सफाई दिई कर्तव्य गरी ज्यान मारेको ठहर गरेको सुरूको फैसला सो हदसम्म मिलेको देखिन आएन । निजलाई अभियोग दाबीबमोजिम जबरजस्ती करणीतर्फसमेत कसुरदार ठहर गरी सजाय गर्नुपर्ने देखिन आयो ।

प्रतिवादीले मृतकको कर्तव्य गरी ज्यान मारेका हुन् होइनन् ? भन्नेतर्फ विचार गर्दा, यस मुद्दाका मृतक नाबालिग सिमाकुमारी माझीको मृत्यु भएको तथ्यमा विवाद छैन । घटनास्थल तथा लास प्रकृति मुचुल्का हेर्दा मृत शरीर पोखरीको डिलमा राखेको, नाकबाट रगत जस्तो तरल पदार्थ निस्केको, बायाँ गालामा अं. २ इन्च गोलाईको सेतो रातो छाला खुइलिएको जस्तो डाम र दायाँ गालामा अं. २५ इन्च गोलाई भएको निलो डाम देखिएको र योनि अस्वाभाविकरूपले सुन्निएको जस्तो देखिएको एवं मृतकको शरीरको सम्पूर्ण अंगमा माटो लागेको देखिएको र शव परीक्षण प्रतिवेदनमा मृत्युको कारण “Vegina swollen, laceration र मोतिको माला र रेशमको धागो (डोरी) ले घाँटी च्यापेर मारेको र पछि लासलाई पोखरीमा फालिदिएको” भन्ने उल्लेख भएको देखिँदा मृतकको मृत्यु कर्तव्यबाट भएको भन्नेमा विवाद देखिँदैन । प्रतिवादीले मृतकलाई कर्तव्य गरी मारेको भनी अधिकारप्राप्त अधिकारी र अदालतमा समेत साबित रही बयान गरेको देखिन्छ । निजको सो साबिति बयान माथि विवेचित आधार प्रमाणबाट समर्थित भएको छ । यस अवस्थामा निजउपर मृतक नाबालिग सिमा कुमारीलाई जबरजस्ती करणी गरी निजलाई कर्तव्य गरी मारेको आरोपित कसुर पुष्टि भएकै देखियो । तसर्थ निजलाई आरोपित कसुर ठहर गरी मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १३(३) नं. को कसुरमा सोही महलको १३(३) नं. अनुसार सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहर गरेको सुरू फैसला सो हदसम्म मिलेकै देखिँदा सदर हुने ठहर्छ । मलाई शङ्काको आधारमा मात्र कसुरदार ठहर गरिएको हो भन्ने पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।

प्रतिवादीको हकमा सजाय कम हुन सुरू अदालतबाट व्यक्त भएको राय उपयुक्त छ छैन ? भन्नेतर्फ विचार गर्दा, यी प्रतिवादी प्रभु माझीलाई अ.बं. १८८ नं. अनुसार १० वर्ष कैद हुने राय व्यक्त गरेको देखिन्छ । प्रतिवादी प्रभु माझीले नाबालिग सिमा कुमारीलाई जबरजस्ती करणी गरी सो कसुरबाट बच्न निजको घाँटी अँठ्याई कर्तव्य गरी मारी पोखरीमा डुबेर मरेको भान पार्न निजको लास पोखरीमा फालिदिएको माथि विवेचना भइसकेको छ । सो सन्दर्भमा विचार गर्दा मुलुकी ऐन, अदालती बन्दोबस्तको १८८ नं. मा "ऐनले सर्वस्वसहित जन्मकैद वा जन्मकैद गर्नुपर्ने भएका मुद्दामा साबित ठहरे पनि इन्साफ गर्ने हाकिमका चित्तले भवितव्य हो कि भन्नेसम्मको शङ्काले वा अपराध गरेको अवस्था विचार गर्दा कसुरदारलाई ऐनबमोजिम सजाय दिँदा चर्को हुने भई घटी सजाय हुनुपर्ने चित्तले देखेमा ऐनले गर्नुपर्ने सजाय ठहराई आफ्ना चित्तले देखेको कारणसहितको खुलासा राय पनि साधक तोकमा लेखी जाहेर गर्नु हुन्छ । अन्तिम निर्णय दिनेले पनि त्यस्तो देखेमा ऐनले हुने सजायमा घटाई तोक्न हुन्छ" भन्ने उल्लेख भएको पाइन्छ । यस कानूनी व्यवस्थाले वारदात भवितव्य हो कि भन्न हुनेसम्मको शङ्काको वा अपराध गरेको अवस्था विचार गर्दा कसुरदारलाई ऐनबमोजिमको सजाय दिँदा चर्को हुने देखेमा यस्तो सजाय घटाउने राय दिन सकिने देखिन्छ । प्रस्तुत मुद्दाका तथ्यहरू हेर्दा प्रतिवादी प्रभु माझीले नाबालिग सिमाकुमारी माझीलाई जबरजस्ती करणी गरी सो अपराधबाट बच्ने मनसाय राखी निजको घाँटी च्यापी क्रुरतापूर्वक हत्या गरी निजको शवलाई डुबेर मरेको भन्ने भान पार्न पोखरीमा फालिदिएको देखिन्छ । यस वारदातमा प्रतिवादी प्रभु माझीले २ वटा गम्भीर अपराध गरेको देखिन्छ । सो कुरालाई निजले अधिकारप्राप्त अधिकारीसमक्ष सविस्तार स्वीकार गरी अदालतमा समेत ज्यान मारेकोमा साबित रहेको अवस्था छ । वारदातको यस अवस्था र प्रतिवादीले गरेको कसुरको प्रकृतिसमेतबाट निज प्रतिवादीलाई अ.बं. १८८ नं. को सुविधा प्रदान गर्नु न्यायसङ्गत देखिन आएन । अतः माथि विवेचित आधार कारणहरू समेतबाट प्रतिवादी प्रभु माझीलाई कर्तव्य ज्यानतर्फ सर्वस्वसहित जन्म कैद हुने ठहर गरेको सुरू फैसला मिलेकै देखियो । जबरजस्ती करणीतर्फ सफाई दिएको हदसम्म सुरू फैसला उल्टी भई निजलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३(१) बमोजिम १२ (बाह्र) वर्ष कैद र ऐ. १० नं. बमोजिम ३०,०००।– (तीस हजार) क्षतिपूर्तिसमेत मृतकका परिवारलाई भराई दिने ठहर्छ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, हेटौंडाको मिति २०७१।१२।२४ को फैसला ।

पुनरावेदन अदालत, हेटौंडाको मिति २०७१।१२।२४ को फैसलाउपर साधकको रोहमा यस अदालतमा दर्ता हुन आएको देखियो ।

नियमबमोजिम पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरियो ।

यसमा पुनरावेदन अदालत, हेटौंडाको फैसला मिलेको छ छैन भनी निर्णय दिनुपर्ने देखिन आयो ।

२. मृतक वर्ष ५ की सिमा कुमारीको लास २०६८।११।२८ गते पोखरीको पानीमा फेला परेको छ । मृतकको दायाँ, बायाँ गालामा डामहरू देखिएको र योनि अस्वाभाविकरूपले सुन्निएको समेतको अवस्था लासजाँच प्रकृति मुचुल्काबाट देखिन्छ । मिति २०६८।११।२५ गते दिउँसो छोरी सिमालाई मेरा ससुरालाई बोलाउन पठाएकोमा साँझसम्म नआएकी र खोजतलास गर्ने क्रममा ऐ. २८ गते गाउँको पोखरीमा छोरीको लास फेला परेको हो । सोही मितिबाट गाउँ छाडी फरार रहेका प्रतिवादीलाई सोधपुछ गर्दा मृतक सिमा कुमारीलाई ललाई फकाई पोखरितर्फ लगी घाँटी थिची मारी पोखरीमा फालिदिएको भनी स्वीकार गरेकोले सजाय गरिपाउँ भन्ने जाहेरी दरखास्त देखिन्छ ।

३. गाला, घाँटीसमेतमा घाउचोट भएको, योनि सुन्निएको भन्ने देखिएको र मोतिको माला र रेशमको धागोले घाँटी चापेर मारेको र पछि लासलाई पोखरीमा फालिदिएको भन्ने शव परीक्षण प्रतिवेदन रहेको देखिन्छ । प्रतिवादी प्रभु माझीले मृतकलाई करणी गर्ने मनसायले पोखरीको डिलमा लगी लिङ्ग योनिमा पसाउन प्रयास गरेकोमा मेरो वीर्य स्खलन भएपछि निजकै कट्टुले पुछी निजले लगाएको मालासमेतले घाँटी थिची मारी पोखरीमा फालेको हुँ । कट्टु परालको थुप्रोमा लुकाई राखेको थिएँ भनी  अधिकारप्राप्त अधिकारीसमक्ष बयान गरेको र निजले भनेको स्थानबाट मृतकको कट्टुसमेत बरामद भएको देखिएको तथा कट्टुमा वीर्य जस्तो पदार्थ लागेकोसमेत देखिन्छ । बुझिएका सुमित्रा देवीसमेतका व्यक्तिहरूले यिनै प्रतिवादीले मृतकलाई जबरजस्ती करणी गरी ज्यान मारी फालिदिएको भन्ने बुझिएको भनी कागज गरिदिएको देखिन्छ । प्रतिवादीले अदालतमा आई बयान गर्दासमेत मृतकलाई आफूले ज्यान मारेको हो भनी साबित भई जबरजस्ती करणी गरेको होइन भनी बयान गरेको देखिएकोमा कर्तव्य ज्यानको कसुरदार कायम गरी अ.बं. १८८ नं. बमोजिम रायसहित जिल्ला अदालतले फैसला गरेको र सोउपर पुनरावेदन अदालतले फैसला केही उल्टी गरी जबरजस्ती करणीतर्फ समेत सजाय गर्ने गरी फैसला गरेकोमा साधकको रोहमा यस अदालतमा दायर हुन आएको देखियो ।

४. प्रतिवादीले अनुसन्धान अधिकारीसमक्ष मृतकलाई जबरजस्ती करणी गरी वीर्य स्खलित भएपछि मृतकलाई मारी फालेको भनी करणी र ज्यान दुवै वारदातमा साबित रही बयान गरेको देखिएको तथा अदालतमा आई बयान गर्दा मृतकको ज्यान मात्र मारेको हो भनी करणीतर्फ इन्कार भई बयान गरेको भए तापनि निजको सुरू बयानलाई मृतकको लासजाँच मुचुल्का र शव परीक्षण प्रतिवेदनले पुष्टि गरिरहेको तथ्य मृतकको योनिसमेत सुन्निएको देखिएबाट स्थापित भएको छ । प्रतिवादीले अनुसन्धानका क्रममा बयान गर्दा मृतकको कट्टुमा वीर्य पुछी परालको थुप्रोमा लुकाएको भनी भनेको तथ्यसमेत निजले देखाएको स्थानबाट मृतकको कट्टु बरामद भएको र सोमा वीर्य जस्तो पदार्थ देखिएकोबाट पुष्टि भएको छ । बरामद मृतकको कट्टुलाई जाहेरवालाले सनाखत गरिदिएकोसमेतका अवस्थाबाट निजले मृतकलाई जबरजस्ती करणीसमेत गरी ज्यान मारेको हो भन्ने स्पष्ट पुष्टि भइरहेको देखिन्छ ।

५. प्रतिवादीले पुनरावेदन अदालतमा पुनरावेदन गर्दा जाहेरवालासमेतको डरले अदालतमा साबित भएको भनी भने तापनि स्वतन्त्ररूपमा बयान गर्न पाइने निष्पक्ष अदालतमा कुनै डर धाकको अवस्था रहन्छ भन्ने सामान्य अवस्थामा स्वीकार गर्न सकिने हुँदैन र आफूउपर डर, धाक दबाब रहेको विशेष अवस्था थियो भन्ने कुरा निज प्रतिवादीले देखाउनसमेत सकेको छैन । तथा निजले अनुसन्धानको क्रममा कर्तव्य ज्यान र जबरजस्ती करणीसमेतको वारदातमा साबित रही गरेको बयानलाई बुझिएका व्यक्तिहरूको कागज, लास जाँच मुचुल्का, शव परीक्षण प्रतिवेदन, जाहेरी दरखास्त, अदालतमा भएको निजकै बयानसमेतबाट स्पष्ट पुष्टि भइरहेको देखिएको हुँदा निज प्रतिवादी प्रभु माझीलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको १३(३) नं. तथा जबरजस्ती करणीको ३(१) बमोजिम सजाय गरी मृतकका परिवारलाई क्षतिपूर्तिसमेत भराइदिने गरी भएको पुनरावेदन अदालत, हेटौंडाको मिति २०७१।१२।२४ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । 

६. यस सम्बन्धमा हाल प्रचलित कानूनी व्यवस्थाले निर्धारित गरेको सजायसम्बन्धी प्रावधान अवलम्बन गर्दा प्रतिवादीलाई माथि उल्लिखित सर्वस्वसहित जन्म कैद र जरिवानासमेतको सजाय निर्धारण गरिएको भए तापनि सजाय सम्बन्धमा सर्वस्वसहित जन्म कैद गर्ने हालको कानूनी प्रावधान सम्बन्धमा विचार गर्दा जन्मकैद जस्तो अधिकतम कडा सजाय गरिसकेपछि सर्वस्वसमेत गरिनुको औचित्य हालको परिवेशमा असान्दर्भिक हुँदै गएको पनि देखिन्छ । जन्मकैद भुक्तान गरेर समाजमा स्थापित हुन निस्किएको व्यक्तिलाई समाजमा बसेर अघि बढ्ने आधारको रूपमा रहने उसको सम्पूर्ण सम्पत्तिबाट बिहिन गरिनु मानवीय दृष्टिले समेत व्यावहारिक मान्न सकिँदैन । हालको कानूनी व्यवस्थामा प्रस्तुत मुद्दामा जस्तै अधिकतम सजाय तथा सर्वस्वसमेत गरिएको व्यक्तिले मुलुकी ऐन, दण्ड सजायको २७ नं. बमोजिम सर्वस्वको प्रक्रिया सुरू नभएको अवस्थामा पीडित वा निजको परिवारलाई के कसरी कुन स्रोतबाट क्षतिपुर्ति बुझाउने हो सोको तर्कसङ्गत व्यवस्थासमेत देखिँदैन । अधिकतम कडा सजाय भएपछि सर्वस्व गर्ने प्रावधान तथा सर्वस्व गरिसकेपछि प्रतिवादीकै सम्पत्तिबाट क्षतिपूर्ति भराउने सजाय थप सजायको रूपमा रहने प्रावधान हालको अवस्थामा व्यावहारिक नदेखिने भएकोले त्यसतर्फ दृष्टिगत गरी कानूनहरूलाई व्यावहारिक बनाउनेतर्फ पहल गर्नुसमेत सान्दर्भिक देखिएको सम्बन्धमा कानून मन्त्रालय र कानून सुधार आयोगलाई समेत ध्यान आकर्षणको लागि यो फैसलाको प्रतिलिपी उपलब्ध गराई भर्पाई मिसिल सामेल राखी सोको जानकारी फैसला कार्यान्वयन निर्देशनालयलाई दिनू । प्रस्तुत मुद्दाको दायरी लगत कट्टा गरी अभिलेख शाखामा बुझाइदिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या.गोविन्दकुमार उपाध्याय

 

इजलास अधिकृत : सुमनकुमार न्यौपाने

इति संवत् २०७२ साल चैत १२ गते रोज ६ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु