शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९७७९ - मोही नामसारी

भाग: ५९ साल: २०७४ महिना: असार अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय

माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा.

फैसला मिति : २०७३।०५।१०

०६९-CI-०५३०

 

मुद्दाः मोही नामसारी

 

पुनरावेदक प्रतिवादी : जिल्ला काठमाडौं तीनथाना गा.वि.स. वडा नं. २ बस्ने मुरली दमिनी 

विरूद्ध

विपक्षी वादी : जिल्ला काठमाडौं तीनथाना गा.वि.स. वडा नं. २ बस्ने गालु दमिनी 

 

जग्गाधनीको जग्गा कमाएबापत प्राप्त हुने मोहियानी हक कानूनबमोजिम निष्काशन वा मोही लगत कट्टा नभएसम्म स्वतः समाप्त हुने देखिँदैन । मोही हक कानूनी हक भएको हुँदा कानूनबमोजिम मात्र समाप्त हुनेहुन्छ । भूमिसम्बन्धी ऐन, २०२१ दफा २९ ले मोही हक समाप्त हुने निश्चित आधार तोकेको देखिन्छ । कानूनले निश्चित गरेको उक्त व्यवस्थाविपरीत मोहीहक समाप्त हुने भन्न नमिल्ने । 

(प्रकरण नं. ३)

भूमिसम्बन्धी ऐन, २०२१ दफा २६(१) अनुरूप मोहीका हकदारका नाममा मोही नामसारी गर्नुपर्ने निश्चित हदम्याद तोकेको देखिँदैन । ऐनले मोहियानी नामसारी गर्नलाई कुनै हदम्यादको व्यवस्था गरेको नदेखिँदा मोहीका हकदारले जहिलेसुकै नामसारी गराई लिन सक्ने देखिने । 

साबिक मोही बाबुराम दमाईको नामको मोहियानी हक निजको शेषपछि हकखाने छोरा सानु दमाईका नाममा सर्न आउनेमा कुनै कानूनी अड्चन नरहेको अवस्थामा नै मोहियानीहक बुहारीका नाममा समेत नामसारी हुनसक्ने कानूनी प्रावधान लागू भएको हुँदा वादीको पतिले आफ्नो जीवनकालमा आफ्नो नाममा मोही नामसारी नगराएकै आधारमा  निजलाई प्राप्त हुने मोही हक स्वतः समाप्त भएको भन्न नमिल्ने । 

(प्रकरण नं. ४)

 

पुनरावेदक प्रतिवादीको तर्फबाट : विद्वान् अधिवक्ता  इन्द्र खरेल

विपक्षी वादीको तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ

अवलम्बित नजिर :

सम्बद्ध कानून :

भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१), २९

 

सुरू तहमा फैसला गर्नेः

भूमिसुधार अधिकारी श्री दिनेशप्रसाद शर्मा

पुनरावेदन तहमा फैसला गर्नेः

माननीय न्यायाधीश श्री टीकाबहादुर हमाल

माननीय न्यायाधीश श्री सत्यराज गुरूङ

 

फैसला

न्या. बैद्यनाथ उपाध्याय : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा पुनरावेदन दर्ता भई पेस हुन आएको प्रस्तुत मुद्दा मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः

मेरो ससुरा बाबुराम दमाई (परियार) को नाममा मोहयानी हक कायम भएको का.जि. तिनथाना गा.वि.स. वडा नं. २ साबिक कि.नं. ७६ कि.का. भई कायमी कि.नं. २४३ को क्षेत्रफल ०-८-२-० जग्गाको ज.ध. मा का.जि. तिनथाना गा.वि.स. वडा नं. २ बस्ने मुरली दमिनी भएको उक्त जग्गाको मोही मेरो ससुरा बाबुराम दमाई परियारको मृत्यु २०२२ सालमा र सासु कान्छी नानी दमाई परियार २००६ सालमा परलोक भएकोमा निज मृतकहरूको हक अपुताली खाने हकदार एक मात्र छोरा मेरो पति सानु दमाई भएकोमा उहाँको पनि मिति २०६१/४/१ मा मृत्यु भएको हुँदा उहाँहरूको शेषपछि हक खाने म गालु दमिनी १, राजु परियार १, राजकुमार परियार १ समेत जना ३ भए पनि सो जग्गा मोहीको दायित्व पूरा गरी मैले जोत कमोद गरेको हुँदा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) बमोजिम मृतक मोही सुसरा बाबुराम दमाई (परियार) को नामबाट दाबीको कि.नं. २४३ को मोहीहक मेरा नाममा नामसारी गरिपाउँ भन्ने गालु दमिनीको निवेदन माग दाबी । 

मेरो बुढा ससुरा भूते दमाई भन्ने भोटे दमाई र सासु डल्ली दमाईको कोखबाट जम्मा ५ जना छोराहरूको जायजन्म भएको जेठो सेते दमाई, माइलो चंखे दमाई, साइलो बाबुराम दमाई, काइलो मुडुले दमाई, कान्छो छोरा साने दमाई भएको उल्लिखित छोरामध्ये जेठो सेते दमाईको बुहारी ग्वाचे दमाईको श्रीमती म मुरली दमिनी हुँ । विपक्षी गालु दमिनी बाबुराम दमाईकी बुहारी सानु दमाईकी श्रीमती हुन् । यसर्थ हामीबीच जेठानी देउरानीको नाता पर्दछ । माथि उल्लिखित साबिक जग्गाको ज.ध. खड्ग दिव्यश्वरी शाह र मोही काका ससुरा बाबुराम दमाई हुन् । साबिक का.जि. तिनथाना गा.वि.स. वडा नं. २ कि.नं. ७६ को २-६-२-९ जग्गा हो । सो जग्गा बुढा ससुराकै पालादेखि हामी सबै दाजु भाइको श्रमले कमाई आएको जग्गा हो । 

उक्त जग्गा खड्ग दिव्यश्वरी शाहले विदुरमणि दाहाललाई हा.वा. गरी दिएको र विदुरमणि दाहालले उक्त जग्गा कि.का. गरी कायमी कि.नं. २४३ को ०-८-२-० जग्गा म मुरली दमिनीलाई मिति २०३८/१/१७ र.नं. ८९३५ बाट हा.व. गरी दिनुभएको र अर्को कायमी कि.नं. २४४ को १-१४-०-० विपक्षी देउरानी गालु दमिनीलाई हा.व. गरी दिनुभएको हो । बुढा ससुराले नै उक्त (साबिक कि.नं. ७६) सानु दमाई र ग्वाचे दमाईलाई मोही भागबापत आउने जग्गा अंश लगाई कमाउन दिनु भएको । मेरो साइलो ससुरा बाबुराम दमाई मोही भएको उक्त दाबीको कि.नं. ७६ कि.का. भई कायम कि.नं. २४३ को जग्गाको मोही हक मेरो देउरानी गालु दमिनीको नाममा नामसारी हुने होइन मोही लगत कट्टा गरिपाउँ भन्ने मुरली दमिनीको प्रतिउत्तर पत्र ।

विवादित कि.नं. २४३ को जग्गाको मोही वादीका ससुरा बाबुराम दमाईको मृत्यु २०२२ सालमा भएको र मिति २०५३।९।२४ मा भूमिसम्बन्धी ऐन, २०२१ मा संशोधन हुनुअघि ससुराको नाममा कायम भएको मोहियानी हक प्राप्तिका लागि पूरा गर्नुपर्ने दायित्व पूरा नभएको सम्बन्धमा जान्न कार्यालयबाट स्थलगत सर्जमिन गराइँदासमेत उक्त जग्गामा प्रतिवादीको घर रहेको र प्रतिवादीले नै जोत कमोद गरेको व्यहोरा वादीको रोहवरमा भएको सर्जमिनबाट खुल्न आएकोले मोहीको मृत्यु हुँदाको उक्त समयमा प्रचलित भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) ले नामसारी गर्ने मिल्ने नातामा बुहारी नाताकी व्यक्ति नपर्ने भएको र मोहीको मृत्युपछि मोहीका हकदार यी वादीले मोही हक कायम रहन जोत भोग गरी मोहीको कर्तव्य निर्वाह गरी रहेको कुनै प्रमाणबाट समेत देखिन नआएको अवस्थामा मिति २०५३/९/२४ अगावै मृत्यु भइसकेका मोहीको मोहियानी हक मोहीको मृत्युपछि सक्रिय रहेको देखिन नआएकोले मोहीको मृत्युपश्चात् निष्क्रिय भइसकेको मोही हक वादीको नाममा तत्काल प्रचलित भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) बमोजिम नामसारी गर्न मिलेन भन्ने सुरू भूमिसुधार कार्यालय, काठमाडौंको मिति २०६८/५/१५ को फैसला ।

उक्त फैसलामा चित्त बुझेन । मेरो निवेदन दाबीअनुसारको विवादित कि.नं. २४३ को जग्गामा मेरो ससुरा बाबुराम दमाई निर्विवादरूपमा मोही कायम भई निज ससुराको मृत्युपछि निजको हक खाने एक मात्र छोरा मेरो पति सानु दमाईले सानो घरसमेत बनाई जोत कमोद गरी आई पतिको परलोकपछि मेरो नाउँमा जग्गा पजनीको २ क नं. र हाल प्रचलित भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) बमोजिम मोहियानी हक नामसारी हुने निर्णय हुनुपर्नेमा मेरो नाममा मोही नामसारी नहुने ठहर गरी भूमिसुधार कार्यालय, काठमाडौंबाट भएको उक्त फैसला गैरकानूनी र अनधिकृत हुँदा बदर गरी मेरो नाममा मोही नामसारी हुने ठहर गरिपाउँ भन्नेसमेत व्यहोराको वादी गालु दमिनीको पुनरावेदन अदालतमा पर्न आएको पुनरावेदन पत्र ।

यसमा वादी दाबीको कि.नं. २४३ को जग्गाको मोहियानी हक यी पुनरावेदिकाको ससुरा बाबुराम दमाईका नाममा देखिएको, निजको शेषपछि सो जग्गाको मोहियानी हक निजको छोरा (यी पुनरावेदकका पति) सानु दमाईका नाममा सर्ने र निजको मृत्युपछि उक्त हक भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) बमोजिम यी पुनरावेदिकामा सर्नेमा मोही नामसारी नहुने ठहर गरी भूमि सुधार कार्यालय, काठमाडौंबाट मिति २०६८/५/१५ मा भएको निर्णय फरक पर्न सक्ने देखिँदा अ.बं. २०२ नं. तथा पुनरावेदक अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम विपक्षी झिकाई पेस गर्नु भन्ने यस अदालतको मिति २०६८/९/१२ को आदेश ।

भूमिसुधार कार्यालय, काठमाडौंले गरेको फैसला शत प्रतिशत ठीक भएको र दुःख दिने नियतले मात्र विपक्षीले दर्ता गरेको पुनरावेदन खारेज गरी भूमिसुधार कार्यालय, काठमाडौंले गरेको फैसला सदर कायम राखी पाउँ भन्नेसमेत प्रतिवादी मुरली दमिनीको लिखित प्रतिवाद ।

विवादित जग्गाको यी पुनरावेदक वादीको नाममा मोहियानी हक नामसारी गर्नुपर्नेमा मोही नामसारी नहुने ठहराएको सुरू भूमि सुधार कार्यालय, काठमाडौंको निर्णय त्रुटिपूर्ण देखियो । विवादित जग्गामा प्रतिवादीले घर बनाएको भन्ने सम्बन्धमा वादीको नालेस उजुर नपरेको अवस्था हुँदा त्यस सम्बन्धमा सम्म यस मुद्दाबाट बोल्न मिलेन । तसर्थ, भूमि सुधार कार्यालय काठमाडौंले मोही नामसारी नहुने गरी मिति २०६८।५।१५ मा गरेको निर्णय उल्टी भई वादी दाबीबमोजिम वादीको नाउँमा मोही नामसारी हुने ठहर्छ भन्ने पुनरावदेन अदालत, पाटनबाट मिति २०६९।२।८ मा भएको फैसला ।

विवादित जग्गामा रहेको साबिकको घर मोहीको तर्फबाट म वादीको पति सानु दमाई जीवित छँदैका अवस्थामा घर बनाई भोग चलन गरी आएको हो । पति सानु दमाईको मिति २०६१।४।१२ मा परलोकपश्चात् निजको पत्नी म पुनरावेदकले मोहियानीको हैसियतले बसोबास भोगचलन गरी आइरहेको छु । विपक्षी जग्गाधनी स्वयम्‌ले मिति २०६७।११।११ मा मोही लगत कट्टा गरिपाउँ भनी दिएको निवेदनमा समेत कि.नं. २४३ को जग्गा र सो जग्गामा बनेको कच्ची घरसमेत मेरो ससुरा बाबुराम दमाईको नाममा मोही दर्ता भएको तथ्यलाई स्वीकार्नु भएको छ । विपक्षी जग्गाधनीले आफ्नो स्वामित्वमा प्राप्त गरेपछि घर बनाएको भन्न लेख्न सकेको छैन । यसरी विवादित जग्गा मेरो नाममा नामसारी हुने हो होइन भन्नेसम्म ठहर गर्नुपर्नेमा दाबीभन्दा बाहिर गई “प्रतिवादीले घर बनाई बसेको भन्ने सम्बन्धमा वादीको नालेस उजुर नपरेको भनी त्यसतर्फ बोली रहन नपर्ने” भन्ने हदसम्मको पुनरावेदन अदालत, को फैसला त्रुटिपूर्ण भई बदरभागी भएको हुँदा बदर गरिपाउँ भन्नेसमेत वादी गालु दमिनीको पुनरावेदन पत्र ।

म मुरली दमाईको नाममा एकलौटी दर्ता रहेको काठमाडौं जिल्ला तिनथाना गा.वि.स. वडा नं. २ कि.नं. २४३ को ०-८-२-० जग्गामा बनेको कच्ची घरसमेत नापीको समयमा ससुरा बाबुराम दमाई मोही महलमा उल्लेख भएकोमा हालसम्म मैले नै जोत कमोद गर्दै आएको छु । यसरी साबिकदेखि घर भई सोही घरमा हालसम्म बसी आएको कुरालाई प्रमाणमा नलिई भएको फैसला हचुवा छ । उक्त जग्गा पतिको मृत्यु अगावै गा.वि.स. ले मोही लगत कट्टी गर्न सिफारिससमेत गरेको थियो । तर भूमिसुधार कार्यालयमा गई मोही लगत कट्टा नभएको कारण समस्या आएको हो । हामी सबै एकासगोलको परिवार भएकोले उक्त जग्गा बाबुराम दमाईका नाममा दर्ता भएको हो । यसरी मेरो ससुरा तथा पतिको अंशभागमा परेको जग्गालाई हाल आएर मोहीको जग्गा भनी विपक्षीको झुठा दाबीलाई समर्थन गर्ने गरी भएको पुनरावेदन अदालत, पाटनको फैसला बदर गरिपाउँ भन्नेसमेत मुरली दमिनीको तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।

भूमिसम्बन्धी ऐन, २०२१ को चौथो संशोधन पूर्व दफा २६(१) बमोजिम मोही हक बुहारीमा सार्न नमिल्नेमा गालु दमिनीको नाममा मोही नामसारी हुने ठहर्‌याएको पुनरावेदन अदालतको फैसला फरक पर्न सक्ने देखिँदा अ.बं.२०२ नं. बमोजिम विपक्षी झिकाई नियमानुसार पेस गर्नु भन्ने यस अदालतबाट भएको विपक्षी झिकाउने आदेश ।

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक मुरली दमिनीका तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री इन्द्र खरेलले विवादित जग्गामा वादीले जोत कमोद गरेको भन्ने पुष्टि हुने कुनै प्रमाण छैन । वादीका पतिले आफ्नो जीवनकालमा मोही नामसारीका लागि कारवाही चलाउन सकेको छैन । मोही बाबुराम दमाईको २०२२ सालमै मृत्यु भएबाट सोपश्चात् जग्गाधनीले नै जोतकमोद गरेको हुँदा मोही हककायम नरहेको स्पष्ट छ । वादीले उक्त जग्गा कमाएको छैन भन्ने सर्जमिनबाट पनि देखिएको  छ । विपक्षी र हामी पुनरावेदक एकासगोलमा बसी आएको हो । तत्कालिन अवस्थमा मोही हक बुहारीमा सर्न सक्ने कानूनी व्यवस्थाको अभावमा मोही कायम गर्ने गरेको पुनरावेदन अदालतको फैसला उल्टी गरी सुरू भूमिसुधार कार्यालयको निर्णय सदर गरिपाउँ भनी र विपक्षीतर्फबाट उपस्थित विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री चण्डेश्वर श्रेष्ठले विवादित जग्गामा बनेको घर आफैँले बनाएको भनी प्रतिवादीले भूमिसुधारमा दिएको निवेदनमा उल्लेख छैन । पहिलादेखिकै घर भनी उल्लेख छ । सानु दमाई जीवित हुँदा नै उसको नाममा नामसारी नगराए पनि मोहियानी हक नमर्ने हुँदा सानु दमाईको मृत्युपश्चात् पत्नीको नाममा मोही नामसारी हुन सक्ने नै हुन्छ । वादी प्रतिवादी नाता सम्बन्धभित्रका भएपनि एकासगोलका अंशियार होइनन् । यसर्थ मोही नामसारी हुने गरी भएको पुनरावेदन अदालतको इन्साफ सदर हुनुपर्छ भनी गर्नुभएको बहससमेत सुनियो ।

दुवैतर्फका विद्वान्‌ कानून व्यवसायीहरूको उपर्युक्त बहस सुनी मिसिल अध्ययन गरी हेर्दा यसमा पुनरावेदन जिकिरबमोजिम पुनरावेदन अदालतको फैसला मिलेको छ छैन? भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने हुन आयो ।

२. निर्णयतर्फ विचार गर्दा प्रतिवादीको नाममा दर्ता रहेको काठमाडौं जिल्ला तिनथाना गा.वि.स. वडा नं.२ को साबिक कि.नं. ७६ कित्ताकाट भई कायम कि.नं. २४३ को क्षेत्रफल ०-८-२-० जग्गामा मेरो ससुरा बाबुराम दमाई (परियार) को मोहियानी कायम रहेको छ । मेरो सासु ससुरा एवम् पतिको समेत मृत्यु भएको हुँदा भूमिसम्बन्धी ऐनबमोजिम मृतक मोही बाबुराम दमाईको नामबाट मेरो नाममा मोही नामसारी गरिपाउँ भन्ने वादी दाबी र मेरो बुढा ससुरा सेते दमाईका जम्मा ५ छोराहरू मध्ये जेठो सेते दमाई र साइलो बाबुराम दमाई हुन् । सेते दमाईको छोरा ग्वाचे दमाईको श्रीमती म मुरली दमिनी हुँ । बाबुराम दमाईको छोरा सानु दमाईको श्रीमती गालु दमिनी हुन् । बुढा ससुराले नै साबिक कि.नं. ७६ सानु दमाई र ग्वाचे दमाईलाई मोही भागबापत आउने जग्गा अंश लगाइ कमाउन दिएको 

हो । यसर्थ दाबीको जग्गाको मोही हक मेरो देउरानी गालु दमिनीको नाममा नामसारी नहुने हुँदा मोही लागत कट्टा गरिपाउँ भन्ने प्रतिउत्तर जिकिर भएको प्रस्तुत मुद्दामा भूमि सुधार कार्यालय, काठमाडौंले विवादित कि.नं. २४३ को मोही वादीका ससुरा बाबुराम दमाईको मृत्यु भइसकेको, उक्त जग्गा प्रतिवादीले नै जोत कमोद गरेको र तत्कालीन अवस्थामा मोहियानी हक बुहारीमा सर्ने व्यवस्था नभएको हुँदा मोही नामसारी गर्न मिलेन भनी मोही नामसारी गर्न नमिल्ने गरेको निर्णय उल्टी गरी बादीका नाममा मोही नामसारी हुने ठहर्‌याएको पुनरावेदन अदालत, पाटनको फैसलाउपर प्रतिवादी मुरली दमिनीको र पुनरावेदन अदालतको फैसलामा विवादित जग्गामा रहेको घर सम्बन्धमा नालिस उजुर नहुँदा त्यसतर्फ केही बोलिरहन परेन भनी भएको इन्साफउपर सो हदसम्म चित्त नबुझाई वादी गालु दमिनीको यस अदालतसमक्ष प्रस्तुत पुनरावेदन पर्न आएको देखियो । 

३. विवादित कि.नं. २४३ को जग्गाको मोहियानी हक वादी गालु दमिनीका ससुरा बाबुराम दमाईका नाममा रहेको भन्ने तथ्यमा वादी प्रतिवादी दुवैको मुख मिलेकै देखिन्छ । उक्त जग्गा वादीले जोतकमोद नगरी जग्गाधनी आफैँले जोतकमोद गरेको हुँदा मोहीहक नामसारी हुने होइन भन्ने नै प्रतिवादीको जिकिर रहेको देखिन्छ । जग्गाधनीको जग्गा कमाएबापत प्राप्त हुने मोहियानी हक कानूनबमोजिम निष्काशन वा मोही लगत कट्टा नभएसम्म स्वतः समाप्त हुने 

देखिँदैन । मोही हक कानूनी हक भएको हुँदा कानूनबमोजिम मात्र समाप्त हुने हुन्छ । भूमिसम्बन्धी ऐन, २०२१ दफा २९ ले मोही हक समाप्त हुने निश्चित आधार तोकेको देखिन्छ । कानूनले निश्चित गरेको उक्त व्यवस्था विपरीत मोहीहक समाप्त हुने भन्न मिल्दैन । मोही बाबुराम दमाईको २०२२ सालमा मृत्यु भएको र मोहीको छोरा सानुदमाईको मृत्यु मिति २०६१।४।१२ मा भए तापनि बाली नबुझाएको वा मोहीले जोतकमोद नगरेको भनी जग्गाधनीले कहीँकतै उजुर गरेको 

देखिँदैन । दर्तावाला मोहीले जोतकमोद नगरेको कारण जग्गाधनी आफैँले जोतकमोद गरी खेतिपाती लगाएको भए मोहीले आफ्नो दायित्व पूरा नगरेको भनी भूमिसम्बन्धी ऐन, २०२१ दफा २९ को कानूनी व्यवस्था अनुसार मोही निष्काशनतर्फ जग्गाधनीले कारवाही चलाई जग्गाबाट मोही निष्काशन गरेको हुनुपर्छ । सोबमोजिम प्रतिवादीले मोही निष्काशनतर्फ कारवाही नगरेको देखिँदा विवादित जग्गामा रहेको बाबुराम दमाईको मोहीहकले निरन्तरता पाइरहेको देखिन्छ । उक्त आधारबाट विवादित जग्गामा रहेको बाबुराम दमाईको मोहीहक निजको मृत्युपश्चात् छोरा सानु दमाईका नाममा कानूनतः नामसारी हुनेमा द्विविधा देखिँदैन । तर कानूनबमोजिम मोहीहक आफ्नो नाममा नामसारी गर्नु अगावै निजको मृत्यु भइसकेको 

देखियो । यस अदालतबाट अ.बं. २०२ नं. अनुरूप विपक्षी झिकाउने आदेश हुँदा चौथो संशोधनपूर्व भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) अनुसार ससुराको नामको मोहीहक बुहारीका नाममा नामसारी हुन नसक्ने भन्ने आधार लिएको देखियो । तसर्थ प्रस्तुत मुद्दामा ससुराका नाममा कायम भएको मोहियानी हक भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) अनुरूप बुहारी गालु दमिनीका नाममा नामसारी हुनसक्ने हो होइन ? भनी विचार गर्नुपर्ने देखिन आयो । 

४. भूमिसम्बन्धी ऐन, २०२१ दफा २६(१) अनुरूप मोहीका हकदारका नाममा मोहीनामसारी गर्नुपर्ने निश्चित हदम्याद तोकेको देखिँदैन । ऐनले मोहियानी नामसारी गर्नलाई कुनै हदम्यादको व्यवस्था गरेको नदेखिँदा मोहीका हकदारले जहिलेसुकै नामसारी गराई लिन सक्ने देखिन्छ । विवादित जग्गाका मोही बाबुराम दमाईको २०२२ सालमा परलोक भएपछि निजको छोरा सानु दमाईले आफ्नो नाममा मोहियानी नामसारी गर्न पाउने नै हुन्छ । भूमिसम्बन्धी ऐन, २०२१ मा भएको चौथो संशोधनपूर्वको तत्कालीन स्थितिमा बुहारीमा मोहियानीहक नामसारी हुनसक्ने कानूनी व्यवस्था थिएन । तर, सानु दमाई जीवित रहेसम्म निजैले मोहियानीहक नामसारी गराउन पाउने हो । सानु दमाई नमरेसम्म अरू कसैमा मोहियानीहक जाने वा नजाने भन्ने विवाद हुने अवस्था रहँदैन । भूमिसम्बन्धी ऐन, २०२१ मा मिति २०५३।९।२४ मा संशोधन हुनुपूर्व नै मोही बाबुरामको छोरा सानु दमाई परलोक भएको भए तत्कालको अवस्थामा छोरा मरिसकेको र बुहारीका नाममा मोहीनामसारी हुन सक्ने कानूनी व्यवस्थाको अभावमा बुहारी गालु दमिनीका नाममा मोहिनामसारी हुन नसक्ने अवस्था हुन्थ्यो होला । तर, सानु दमाई  जीवित रहँदाकै अवस्थामा मिति २०५३।९।२४ मा भूमिसम्बन्धी ऐन,२०२१ मा भएको चौथो संशोधनपश्चात् ऐ.ऐनको दफा २६(१) बमोजिम बुहारीमा समेत मोहियानी हक नामसारी हुनसक्ने कानूनी व्यवस्था लागू भएको देखिन्छ । वादी गालु दमिनीका पतिको मिति २०६१।४।१२ मा परलोक भएको हुँदा सो मितिपछि मात्र निजको मोहियानी हक  नामसारी गर्नुपर्ने  अवस्था आएकोमा सो समयमा बुहारीको नाममा मोहियानी हक नामसारी हुनसक्ने कानून आइसकेको अवस्था देखिन्छ । साबिक मोही बाबुराम दमाईको नामको मोहियानी हक निजको शेषपछि हकखाने छोरा सानु दमाईका नाममा सर्न आउनेमा कुनै कानूनी अड्चन नरहेको अवस्थामा नै मोहियानीहक बुहारीका नाममा समेत नामसारी हुनसक्ने कानूनी प्रावधान लागू भएको हुँदा वादीको पतिले आफ्नो जीवनकालमा आफ्नो नाममा मोही नामसारी नगराएकै आधारमा निजलाई प्राप्त हुने मोही हक स्वतः समाप्त भएको भन्न मिल्दैन । उपर्युक्त आधारबाट प्रस्तुत मुद्दामा ससुरा बाबुराम दमाइका नाममा कायम भएको मोहयानी हक भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) अनुरूप निजको हकदार बुहारी गालु दमिनीका नाममा नामसारी गर्न मिल्ने देखियो ।

५. विवादित जग्गामा रहेको कच्ची घर मेरो पति सानु दमाईले बनाएको हो । उक्त घरको सम्बन्धमा वादीको दाबी नभएको हुँदा त्यसतर्फ बोलिरहन नपर्ने भन्ने हदसम्मको पुनरावेदन अदालतबाट भएको फैसला बदर गरिपाउँ भन्ने वादीको पुनरावेदन जिकिर रहेको सम्बन्धमा विचार गर्दा कि.नं. २४३ मा घर रहेको भन्ने तथ्यमा विवाद रहेको देखिएन । घर कसले बनाएको हो भन्ने विवादको विषय सबुत प्रमाण बुझी यकिन गरिने विषय हो । मोहियानी हक र त्यस जग्गामा बनेको घरसम्बन्धी विवादको विषय फरक फरक हुन् । मोहियानी हकको मोहीको घर हो वा त्यसमा क-कसको हक लाग्ने हो वा जग्गाधनीको घर हो भन्ने विषय सम्बन्धित जिल्ला अदालतबाट सबुत प्रमाण बुझी निर्णय गरिने विषय हो । भूमिसुधार कार्यालयबाट घरको तेरो मेरोको प्रश्नमा सबुत प्रमाणको मूल्याङ्कन गरी निर्णय गर्न मिल्ने हुँदैन । यसरी विवादित जग्गामा रहेको घर सम्बन्धमा तेरो मेरोको विवाद लिई वादीले दाबी लिएको अवस्थामा त्यसतर्फ इन्साफमा सम्बन्धित जिल्ला अदालतबाट निर्णय हुने नै हुन्छ । यसरी कि.नं.२४३ को जग्गामा रहेको घर सम्बन्धमा प्रस्तुत मुद्दाबाट केही वोलीरहन परेन भनी पुनरावेदन अदालतबाट भएको फैसलालाई अन्यथा भन्न मिलेन । तसर्थ घरको सम्बन्धमा बोलिरहन नपर्ने भन्ने हदसम्म पुनरावेदन अदालतबाट भएको फैसला बदर गरिपाउँ भन्ने वादीको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन । 

६. अतः माथि विवेचित आधार कारणबाट काठमाडौं जिल्ला तिनथाना गा.वि.स. वडा नं. २ को कि.नं. २४३ को क्षेत्रफल ०-८-२ जग्गाको स्व. बाबुराम दमाईको नाममा रहेको मोही हक नामसारी गरिपाउँ भन्ने वादी दाबी पुग्न नसक्ने ठहरी भएको भूमिसुधार कार्यालयको निर्णय उल्टी गरी वादी गालु दमिनीका नाममा मोही नामसारी हुने ठहर्‌याई पुनरावेदन अदालत, पाटनबाट मिति २०६९।२।८ मा भएको इन्साफ मनासिब हुँदा सदर हुने ठहर्छ । वादी प्रतिवादी दुवै पक्षको पुनरावदेन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या.चोलेन्द्र शमशेर ज.ब.रा.

 

इजलास अधिकृत : सुरेशराज खनाल

इति संवत् २०७३ साल भदौ १० गते रोज ६ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु