शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९७८० - डाँका चोरी

भाग: ५९ साल: २०७४ महिना: असार अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री गोपाल पराजुली

माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा.

फैसला मिति : २०७३।०८।२६

०६७-CR-०८७८

 

मुद्दाः डाँका चोरी

 

पुनरावेदक प्रतिवादी : रोल्पा जिल्ला, लिवाङ गा.वि.स. वडा नं. ६ घर भई हाल कारागार कार्यालय रोल्पामा थुनामा रहेको संजय घर्तीसमेत

विरूद्ध

प्रत्यर्थी वादी : मिनबहादुर गुरूङको जाहेरीले नेपाल सरकार

 

सुरू अदालतको फैसलाउपर चित्त बुझाई पुनरावेदन अदालतमा पुनरावेदन नगरी बस्ने पक्षले अर्को विपक्षले पुनरावेदन गरेकोमा सोउपर पहिला पुनरावेदन नगर्ने पक्षलाई पछि सर्वोच्च अदालतमा पुनरावेदन गर्न पाउने कानूनी व्यवस्था नभएको अवस्थामा सुरू जिल्ला अदालतको फैसलाउपर पहिलो तहको पुनरावेदन अदालतमा पुनरावेदन नगर्नेलाई अन्तिम तहको सर्वोच्च अदालतमा पुनरावेदन दिन मिल्ने अवस्था नहुने । 

(प्रकरण नं. ६)

 

पुनरावेदक प्रतिवादी : विद्वान् वैतनिक अधिवक्ता किरणकुमारी गुप्ता

प्रत्यर्थी वादी : विद्वान् उपन्यायाधिवक्ता गुरूप्रसाद वाग्ले

अवलम्बित नजिर :

सम्बद्ध कानून :

न्याय प्रशासन ऐन, २०४८ को दफा ९

 

सुरू तहमा फैसला गर्नेः 

मा.जिल्ला न्या. श्री भोजराज अधिकारी

पुनरावेदन तहमा फैसला गर्नेः 

माननीय मुख्य न्यायाधीश श्री वीरसिंह महरा

माननीय न्यायाधीश श्री पवनकुमार शर्मा

 

फैसला

न्या. गोपाल पराजुली : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः

मिति २०६३।१२।७ गते काठमाडौंबाट प्युठान खलंगासम्मको लागि यात्रु लिई आइरहेको ना.३ ख. ६०३८ नं. को बस मिति २०६३।१२।८ गते बिहान अं. ४:३० बजे प्युठान रम्दी गा.वि.स. वडा नं. ९ अन्तर्गत चोरखोलामा बाटो अवरूद्ध गरी बस रोकी यात्रुहरूलाई ओराली अं.१०/१२जना कम्ब्याट ड्रेस लगाएका मुखमा रूमाल बाँधेका केटाहरूले लुटपाट गरी लगेकोले लुटेराहरूलाई पत्ता लगाई कारवाही गरी बिगो दिलाई पाउँ भन्ने जाहेरी दरखास्त ।

जिल्ला प्युठान रम्दी गा.वि.स.वडा नं.९ चोरपानी भन्ने स्थानमा मिति २०६३।१२।७ गते काठमाडौंबाट प्युठान खलंगासम्मको लागि यात्रु लिई आएको ना.३ ख. ६०३८ नं. को बस मिति २०६३।१२।८ गते बिहान अं.४:०० बजे उक्त स्थानमा आईपुग्दा अं. १०/१२ जनाको हतियारधारी समूहले बस रोकी बस मालिक र यात्रुहरूको नगद तथा जिन्सी धनमाल डाँका गरी लगेको भन्ने घटनास्थल प्रकृति मुचुल्का ।

मिति २०६३।१२।७ गते म कास्की पोखरा काकाको घरबाट आइरहेको समयमा उक्त दिन रम्दी गा.वि.स. चकचकेमा रोल्पा लिवाङ बस्ने विष्णु सुनारसँग भेट भई आज बस लुटपाट गर्नुपर्छ भन्ने सल्लाहअनुसार सोही राति १०/१२ जना केटाहरू सहित भई प्युठान रम्दी गा.वि.स.९ स्थित चोरखोलामा ना.३ ख.६०३८ नं. को बस रोकी सो बसका यात्रुहरूलाई लुटपाट गरेका हौं । लुटपाटबाट मलाई रू.९९५।- रूपैयाँ दिएका थिए भन्नेसमेत व्यहोराको प्रतिवादी संजय घर्तीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।

मिति २०६३।१२।७ गते विष्णु सुनार, म र अन्य नाम नचिनेका १०/१२ जना केटाहरू भई ट्रकमा बसी प्युठान चकचके आई संजयसँग भेट भई संजय र विष्णु सुनारले गोप्य सल्लाह गरी राति चोर खोलामा आई ना.३ ख.६०३८ नं. को बस लुटपाट गरेका हौं । कति नगद जिन्सी लुटे थाहा भएन । मैले रू.६००।- भाग पाएको थिएँ भन्नेसमेत व्यहोराको प्रतिवादी दिपेस सुनारले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।

म र विष्णु सुनारबीच चिनजान थियो । मैले विष्णुसँग रूपैयाँ सापट मागेको थिएँ । विष्णुले म जुगाड गर्छु, पछि दिउँला भनेका थिए । एकदिन तिमीले पैसा चाहियो भनेका थियौ, मैले योजना बनाएको छु, हामीसँग जानुपर्छ भनी अन्य मैले नचिनेका आर्मी कम्ब्याट ड्रेस हतियारसहितका १०/१२ जना केटाहरूसहित आई चोरखोलामा लुकी बसी ना.३ ख. ६०३८ नं. को बस लुटपाट गरेका हौं । मलाई रू. ६००।- दिएका थिए भन्नेसमेत व्यहोराको प्रतिवादी दिपेन्द्र घर्तीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।

मिति २०६३।१२।७ गते म काम विशेषले भालुवाङसम्म गएको थिएँ । राति काठमाडौंदेखि प्युठान खलंगासम्म आउने ना. ३ ख. ६०३८ नं. बसमा चढी आउँदै गर्दा रम्दी गा.वि.स. वडा नं.९ चोर खोलामा पुग्दा आर्मी कम्ब्याट ड्रेस लगाएका १०/१२ जना व्यक्तिहरूले बन्दुक खुकुरी देखाई बस रोकी यात्रुहरूलाई तल झारी नगद जिन्सी लुटपाट गरेका हुन् भन्नेसमेत व्यहोराको मौकामा कागज गर्ने दिपेन्द्र श्रेष्ठको कागज ।

उक्त वारदातको दिन म काठमाडौंबाट घर आउन भनी ना.३ ख. ६०३८ नं. को बसबाट आउँदै गर्दा प्युठान जिल्लास्थित चोर खोला भन्ने ठाउँमा अं. राति ४:०० बजेको समयमा कम्ब्याट ड्रेस लगाएका १०/१२ जना हतियारधारी समूहले हामी चढेको गाडी रोकी सम्पूर्ण यात्रुहरूलाई झारी नगद तथा जिन्सी लुटपाट गरेका हुन् भन्नेसमेत व्यहोराको तिलक पाण्डे र हिमाल पोखरेलले गरेको एकै मिलानको कागज ।

प्रतिवादीहरू संजय घर्ती-१, दिपेन्द्र घर्ती-१, दिपेस सुनार-१, विष्णु सुनार-१ लाई मुलुकी ऐन, चोरीको १ नं. विपरीत ६ नं. ले परिभाषित कसुर अपराधमा ऐ.१४(४) बमोजिम गरी पाउनको साथै बिगोको हकमा सुरू जाहेरीमा यात्रुहरूको २ लाख, चालकसँग भएको रू. ६००।- र कन्डक्टरसँग भएको भाडा उठाएको रकम रू.९,०००।- समेत गरी रू.२,०९,६००।- उल्लेख भएपनि हालसम्म कुन यात्रुको के कति रकम लुटिएको हो यकिन हुन नसकेको हुँदा पछि यकिन खुली आएका बखत सोहीबमोजिम हुने गरी हाल पीडित जाहेरवालाहरू चालक मिनबहादुर गुरूङको रू. ६००।- र कन्डक्टर सन्जयकुमार गुप्तासँग भएको रू.९,०००।- समेत गरी जम्मा रू.९,६००।- बिगो अंक कायम गरी चोरीको १० नं. बमोजिम प्रतिवादीहरूबाट जाहेरवालाहरूलाई दिलाई भराई पाउँ भन्नेसमेतको अभियोग पत्र ।

मैले डाँका चोरी नगरेको हुँदा मलाई केही थाहा छैन । मलाई आवश्यक परेकोले रोल्पा लिवाङ -६ का विष्णु सुनारले रू. ६००।- नेपाली रूपैयाँ लिवाङमा नै दियो । उक्त रूपैयाँ डाँका गरी लिएको रहेछ, सो कुरा मलाई थाहा जानकारी भएन । मसमेतलाई पक्राउ गरी ब्यारेकमा लगी घाउ चोट नलाग्ने गरी कुटपिट गरी हतियार चोरी मुद्दा लगाई दिएका हुन् । विष्णुबहादुर सुनारले आफू जोगिनको लागि हामीहरूलाई फसाएको हो । मैले डाँका चोरी गरेको होइन भन्नेसमेत व्यहोराको प्रतिवादी दिपेन्द्र घर्तीले अदालतमा गरेको बयान ।

अनुसन्धानको क्रममा अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा मैले भनेबमोजिम लेखिएको छैन । २०६४ साल वैशाख ३० गते २०६४।१।२८ मा रोल्पामा हतियार हराएको कुरामा मसमेतलाई आर्मीले पक्राउ गरेका हुन् र ब्यारेकमा लगी सोधपुछ गरेका 

थिए । हामीले हतियार लगेका छैनौं भन्दा कुटपिट गरी पछि जि.प्र.का. रोल्पामा हामीलाई दिपेन्द्र, दिपेस, संजयलाई र विष्णु सुनारलाई पनि लगेकामा उसले विष्णु सुनारले यिनीहरू र मसमेत भई प्युठानको चकचकेमा गई गाडी लुटेका हौं भनी पोल गरेकाले हामीलाई अड्डासार गर्दै ल्याएका हुन् । हामीले लुटपाट गरेका होइनौं भन्नेसमेत व्यहोराको प्रतिवादी दिपेस सुनारले अदालतमा गरेको बयान ।

जाहेरी व्यहोरा झुठ्ठा हो । प्रहरीमा भएको बयान मेरो इच्छाले भएको होइन । मिति २०६४।१।२० मा रोल्पामा हतियार हराएको कुरामा मसमेतलाई आर्मीले पक्राउ गरी व्यारेकमा लगी सोधपुछ गरेका 

थिए । हामीले हतियार लगेका छैनौं भन्दा हामीलाई कुटपिट गरी जि.प्र.का. रोल्पामा दिपेन्द्र, दिपेस सन्जय र विष्णु सुनारले यिनीहरूसमेत भई प्युठानको चकचकेमा गई गाडि लुटेका हौं भनी पोल गरेकोले हामीलाई जि.प्र.का.प्युठानमा ल्याएका हुन् । हामीले लुटपाट गरेका होइनौं भन्नेसमेत व्यहोराको प्रतिवादी संजय घर्ती मगरले अदालतमा गरेको बयान ।

घटनास्थलमा बाटोमा ढुंगा भएको कारण खलासीले ढुंगा फाल्न लाग्दा एक्कासी लुटेराहरू आई यात्रुहरू र मलाई लुटेका हुन् । उक्त समयमा अं.७/८ हजारको लुटपाट भएको हो । रातिको समय भएकाले मान्छे चिन्न सकिन भन्नेसमेत व्यहोराको जाहेरवाला संजयकुमार गुप्ताले प्युठान जिल्ला अदालतमा गरेको बकपत्र ।

घटना घटेको समयमा प्रतिवादी दिपेस सुनार मेरै घरमा भई दोकानमा सेलिङ गर्ने काम गरेकाले निजले उक्त वारदात घटाएका होइनन् । मेरो घरमा काम गर्ने व्यक्तिले प्युठानमा आएर घटना घटाएको होइन भन्नेसमेत व्यहोराको प्रतिवादी दिपेस सुनारका साक्षी ख्याउटे सुनारले गरेको बकपत्र ।

प्रतिवादी संजय घर्ती अर्काको चोर्ने, लुट्ने जस्ता अनैतिक कार्य गर्ने व्यक्ति होइनन् । निजलाई आरोप लगाउनु गलत हो । निजको चालचलन राम्रो खालको छ भन्नेसमेत व्यहोराको प्रतिवादी संजय घर्तीका साक्षी जोखे पुनले प्युठान जिल्ला अदालतमा गरेको बकपत्र ।

२०६३ साल चैत महिनाको सुरूमा काठमाडौंदेखि प्युठान खलंगासम्मको लागि यात्रु लिई गाडी आफैँले चलाई ल्याउँदै गर्दाको अवस्थामा प्युठानको चकचकेदेखि चेरनेटातर्फको बाटोमा ढुंगा राखेका थिए र खलासीलाई ढुंगा हटाउन पठाउँदा लुटेराहरू कराएको हुँदा डरले फर्की आएका हुन् । खलासीले गाडीको ढोका लगाए । बाहिरबाट ढोका खोल भनी लात्तीले हाने, त्यसपछि खलासीले ढोका खोली दियो र यात्रुलाई लाइन लगाई १/१ गरी धनपैसा लुटेका हुन् र मेरो पनि रू.६००।- लुटेका हुन् । लुटेराहरूसँग खुकुरी थियो । रातको समय भएकाले लुटेराहरूलाई चिन्न सकिन भन्नेसमेत व्यहोराको जाहेरवालामध्येका मिनबहादुर गुरूङले प्युठान जिल्ला अदालतमा गरेको बकपत्र ।

लुटेराहरू चकचकेमा बस रोकी यात्रुहरूसँग भएको पैसा लुटेका हुन् । म निदाएको र मसँग पैसा नभएको कारण केही लगेनन् । लुटेराहरूले रूमाल बाँधेका थिए भन्नेसमेत व्यहोराको मौकामा कागज गर्ने हिमाल पोखरेले प्युठान जिल्ला अदालतमा गरेको बकपत्र ।

जाहेरी दरखास्तलगायतका कागजातहरू पढी सुनाउँदा सुनेँ । लेखिएबमोजिमको घटना मैले गरे गराएको होइन । सो समयमा म मेरै घरमा काम गरी बसेको छु । दिपेन्द्र घर्ती र दिपेस सुनारलाई मैले १ रूपैयाँ पनि दिएको छैन । उक्त घटनामा यिनीहरू संलग्न छैनन् भन्नेसमेत व्यहोराको प्रतिवादी विष्णु सुनारले अदालतमा गरेको बयान ।

मिति २०६३।१२।७ गते प्रतिवादी विष्णु सुनार आफ्नै घरमा थिए । सो वारदातमा निजको संलग्नता छैन भन्नेसमेत व्यहोराको प्रतिवादी विष्णु सुनारको साक्षी गगन वि.क. ले गरेको बकपत्र ।

प्रतिवादी दिपेन्द्र घर्ती र म फागुनको २५ गतेदेखि चैतको १९ गतेसम्म रोल्पाको लिवाङ बजारमा सँगै घर बनाउने, ढुंगा बोक्ने जस्ता काममा संलग्न थियौं । उक्त डाँका चोरी गर्ने काममा यी प्रतिवादी संलग्न छैनन् भन्नेसमेत व्यहोराको प्रतिवादी दिपेन्द्र घर्तीको साक्षी होमबहादुर वि.क.ले गरेको बकपत्र ।

प्रतिवादीहरू विष्णु सुनार, दिपेन्द्र घर्ती, संजय घर्ती र दिपेस सुनारसमेतको संलग्नतामा मिति २०६३।१२।८ गते बिहान ४.३० बजेको समयमा काठमाडौंबाट प्युठानतर्फ आइरहेको ना.३ख.६०३८ नं. को बसलाई चकचकेदेखि चेरनेटाको बीचमा बाटो अवरूद्ध गरी डाँका गरेको प्रमाणित भई प्रतिवादीहरूले मुलुकी ऐन, चोरीको १ नं. विपरीत ६ नं. बमोजिमको कसुर अपराध गरेको प्रमाणित हुन आएको हुँदा प्रतिवादीहरू मध्ये विष्णु सुनार, संजय घर्ती र दिपेन्द्र घर्तीलाई ऐ. ऐनको १४(४) नं. बमोजिम जनही ६ वर्ष कैद हुने ठहर्छ । अर्का प्रतिवादी दिपेस सुनार १६ वर्षभन्दा कम उमेरको देखिँदा निजको हकमा बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११ बमोजिम हुनसमेत मागदाबी लिइएको र निजको उमेर कसुर गर्दाको अवस्थामा १४ वर्षको देखिँदा प्रतिवादी दिपेस सुनारलाई बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११(३) बमोजिम ३ वर्ष कैद हुने तथा प्रतिवादीहरू मध्येका संजय घर्तीले रू.९९५।-, दिपेस सुनारले रू. ६००।- र दिपेन्द्र घर्तीले रू. ६००।- खाएको देखिँदा निजहरूलाई चोरीको १४(४) नं. बमोजिम सोको डेढी क्रमशः रू. १४९२।५०, रू.९००।- र रू. ९००।- जरिवाना हुने र यस्तै अर्का प्रतिवादी विष्णु सुनार प्रस्तुत वारदातको मूल योजनाकार भएको देखिएको र निजले नै प्रतिवादीहरू संजय घर्ती, दिपेन्द्र घर्ती र दिपेस सुनारलाई खटाई रूपैयाँ दिएको देखिएकोले बाँकी रू. ६,४०५।- प्रतिवादी विष्णु सुनारले खाएको देखिँदा निजलाई चोरीको १४(४) नं. बमोजिम सोको डेढी रू.९,६०७।५० जरिवाना हुने ठहर्छ भन्ने सुरू प्युठान जिल्ला अदालतको फैसला ।

प्रतिवादीहरू उपर लिएको अभियोग मागदाबीको कानूनी व्यवस्था हेर्दा मुलुकी ऐन, चोरीको महलको १४(४) नं. ले कानूनबमोजिम डाँका कसुर ठहर भइसकेपछि सजाय गर्दा जरिवानाको हकमा डाँका गर्नेलाई बिगोको डेढी बढाई जरिवाना गर्नुपर्छ भन्ने उल्लेख भएकोमा प्रतिवादीहरूले जाहेरवालाहरूको रू.८,६००।- बिगो बराबरको धनमाल डाँका चोरी गरेको ठहर गरिसकेपछि उपर्युक्त उल्लिखित कानूनी व्यवस्थाबमोजिम प्रतिवादीहरूलाई जरिवाना तोकी सजाय गर्नुपर्नेमा कुन प्रतिवादीबाट के कति बिगो जाहेरवालाले भरी पाउने हो भन्नेसँग सम्बन्धित ऐनको २०(३) नं. को छुट्टै कानूनी व्यवस्थालाई आधार लिई बिगोलाई खण्डित गरी गरेको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग माग दाबीबमोजिमको जरिवाना होस् भन्ने व्यहोराको वादी नेपाल सरकारको पुनरावेदन अदालत, तुलसीपुरमा गरेको पुनरावेदन जिकिर ।

प्रतिवादीहरूलाई बिगोको अनुपातमा गरेको सजाय मिलेको नदेखिई सुरू फैसला फरक पर्नसक्ने देखिँदा अ.बं.२०२ नं. र पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम छलफलको लागि विपक्षी झिकाई आएपछि वा म्याद नाघेपछि पेस गर्नु भन्ने पुनरावेदन अदालत, तुलसीपुरको आदेश ।

खाएको बिगो समाई गरेको जरिवाना सो हदसम्म मिलेको नपाइँदा सुरू प्युठान जिल्ला अदालतको मिति २०६६।१।२२ को फैसला सो हदसम्म बदर हुने ठहर्छ । प्रतिवादी संजय घर्ती, दिपेन्द्र घर्ती र विष्णु सुनारलाई बिगो रू.८,६००।- को डेढी रू. १२,९००।- का हिसाबले जनही जरिवाना हुने र प्रतिवादी दिपेस सुनारलाई बालबालिकासम्बन्धी ऐन,२०४८ को दफा ११(३) ले सोको आधा रू.६,४५०।- जनही जरिवाना हुने ठहर्छ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, तुलसीपुरको फैसला ।

प्रत्यर्थी वादी नेपाल सरकारको तर्फबाट हामी पुनरावेदक प्रतिवादीहरू उपर मुलुकी ऐन, चोरीको १४(४) नं. समेतको सजायको मागदाबी लिई अभियोग पत्र दायर भएकोमा हामी पुनरावेदक प्रतिवादीहरूले सुरू प्युठान जिल्ला अदालतमा बयान गर्दा हामीले डाँका चोरी गरेका होइनौं, हामीलाई रोल्पामा आर्मीको हतियार हराएको विषयलाई लिएर पक्राउ गरी शारीरिक यातना दिइएको र अड्डासार गर्दै प्युठान जिल्लामा लगी झुठा अभियोगमा फसाइएको हो । मौकाको बयान हामीले भनेबमोजिम लेखिएको होइन भनी आरोपित कसुरमा पूर्णरूपमा इन्कार रही बयान गरेका र हाम्रो इन्कारी बयानलाई हाम्रा साक्षीको बकपत्रबाट पुष्टि भइरहेको तथा विपक्षी प्रत्यर्थी वादी पक्षका गवाहले सुरू प्युठान जिल्ला अदालतमा बकपत्र गर्दा बसमा लुटपाट गर्ने व्यक्तिहरूलाई चिन्न सक्दैन भनी तथा मौकाको कागजसँग विरोधाभाष हुने गरी बकपत्र गरिदिएको अवस्थामा सुरू प्युठान जिल्ला अदालतबाट उक्त मुद्दा फैसला गर्दा आरोपित कसुरमा कसुरदार ठहर्‌याई फैसला भएकोमा पुनरावेदक प्रतिवादीमध्येको म दिपेस सुनार नाबालक र गरिब तथा असमर्थ भएको र अन्य प्रतिवादीहरू पनि गरिब तथा असमर्थ भएकोले पुनरावेदन गर्न नसकेको अवस्थामा विपक्षी वादी पक्षबाट पुनरावेदन अदालतमा पुनरावेदन पत्र दर्ता भई पुनरावेदन अदालतबाट अ.बं.२०२ नं. बमोजिम आदेश भएको अवस्थामा समेत हामी पुनरावेदक प्रतिवादीहरू थुनामा रहेका तथा नाबालक र असमर्थ व्यक्तिहरू भएको अवस्थामा नेपालको अन्तरिम संविधान, २०६३ को धारा २४(१०) बमोजिम तथा बालबालिकासम्बन्धी ऐन,२०४८ को दफा १९(२) बमोजिम प्रदत्त अधिकारको समेत उल्लङ्घन गरी सुरू अदालतले गरेको भन्दा गैरन्यायिक तरिकाले जरिवाना बढाई तथा म नाबालक दिपेस सुनारलाई सुरूदेखि नै कारागारमा थुनामा राखी कसुरदार ठहर्‌याई भएको पुनरावेदन अदालतको उक्त फैसला प्रमाण कानून तथा फौजदारी कानूनका सर्वमान्य सिद्धान्तसमेतको त्रुटि गरी भएको हुँदा पुनरावेदन अदालत, तुलसीपुर दाङको उक्त फैसला नेपालको अन्तरिम संविधान, २०६३ को धारा २४(१०) बमोजिम तथा बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा १९(२), दफा ५० तथा प्रमाण ऐन, २०३१ को दफा १८, २५ तथा दफा ५४ को प्रतिबन्धात्मक वाक्यांशसमेतको प्रतिकूल हुँदा बदर गरी झुठा अभियोग दाबीबाट फुर्सद दिलाई पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादीहरू संजय घर्ती, विष्णु सुनार, दिपेस सुनार र दिपेन्द्र घर्तीले सर्वोच्च अदालतमा गरेको संयुक्त पुनरावेदन पत्र ।

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीतर्फबाट उपस्थित विद्वान् वैतनिक अधिवक्ता श्री किरणकुमारी गुप्ताले पुनरावेदक प्रतिवादीलाई सुरूमा रोल्पामा आर्मीको हतियार हराएको विषयलाई लिएर पक्राउ गरी शारीरिक यातना दिइएको र अड्डासार गर्दै प्युठान जिल्लामा लगी झुठा अभियोगमा फसाइएको हो । मौकाको बयान प्रतिवादीहरूले भनेबमोजिम लेखिएको होइन भनी आरोपित कसुरमा पूर्णरूपमा इन्कार रही बयान गरेका र इन्कारी बयानलाई प्रतिवादीका साक्षीको बकपत्रबाट पुष्टि गरिदिएको तथा विपक्षी प्रत्यर्थी वादी पक्षका गवाहले सुरू प्युठान जिल्ला अदालतमा बकपत्र गर्दा बसमा लुटपाट गर्ने व्यक्तिहरूलाई चिन्न सक्दैन भनी तथा मौकाको कागजसँग विरोधाभाष हुने गरी बकपत्र गरिदिएको अवस्थामा निर्दोस ठहर्‌याई सफाई दिनुपर्नेमा सुरूमा भन्दा बढाई सजाय गरेको फैसला नमिलेकोले जबरजस्ती फसाइएको मुद्दाबाट पुनरावेदक प्रतिवादीहरूलाई सफाई दिलाइ पाउँ भन्नेसमेत व्यहोराको बहस जिकिरसमेत सुनियो । प्रत्यर्थी वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री गुरूप्रसाद वाग्लेले प्रतिवादीहरू कसुरदार रहेको कुरामा कुनै विवाद नभएको अवस्थामा सुरू जिल्ला अदालतले गरेको फैसलामा चोरीको महलको उल्लिखित १४(४) नं. बमोजिम सजाय गरेको कानूनअनुरूपै हुँदा पुनरावेदन अदालतको फैसला सदर हुनुपर्छ भन्नेसमेतको बहससमेत सुनियो ।

प्रतिवादीहरू संजय घर्ती-१, दिपेन्द्र घर्ती-१, दिपेस सुनार-१, विष्णु सुनार-१ लाई मुलुकी ऐन, चोरीको १ नं. विपरीत ६ नं. ले परिभाषित कसुर अपराधमा ऐ.१४(४) बमोजिम गरी पाउनको साथै बिगोको हकमा सुरू जाहेरीमा यात्रुहरूको २ लाख, चालकसँग भएको रू. ६००।- र कन्डक्टरसँग भएको भाडा उठाएको रकम रू. ९,०००।- समेत गरी रू.२,०९,६००।- उल्लेख भएपनि हालसम्म कुन यात्रुको के कति रकम लुटिएको हो यकिन हुन नसकेको हुँदा पछि यकिन खुली आएका बखत सोहीबमोजिम हुने गरी हाल पीडित जाहेरवालाहरू चालक मिनबहादुर गुरूङको रू. ६००।- र कन्डक्टर सन्जयकुमार गुप्तासँग भएको रू.९,०००।- समेत गरी जम्मा रू.९,६००।- बिगो अंक कायम गरी चोरीको १० नं. बमोजिम प्रतिवादीहरूबाट जाहेरवालाहरूलाई दिलाई भराई पाउँ भन्नेसमेतको अभियोग पत्र भएकोमा प्रतिवादीहरूले मुलुकी ऐन, चोरीको १ नं. विपरीत ६ नं. बमोजिमको कसुर अपराध गरेको कुरा प्रमाणित हुन आएको हुँदा प्रतिवादीहरू मध्ये विष्णु सुनार, संजय घर्ती र दिपेन्द्र घर्तीलाई ऐ. ऐनको १४(४) नं. बमोजिम जनही ६ वर्ष कैद हुने ठहर्छ । अर्का प्रतिवादी दिपेस सुनार १६ वर्षभन्दा कम उमेरको देखिँदा निजको हकमा बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११ बमोजिम हुनसमेत मागदाबी लिइएको र निजको उमेर कसुर गर्दाको अवस्थामा १४ वर्षको देखिँदा प्रतिवादी दिपेस सुनारलाई बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११(३) बमोजिम ३ वर्ष कैद हुने तथा प्रतिवादीहरू मध्येका संजय घर्तीले रू.९९५।-, दिपेस सुनारले रू. ६००।- र दिपेन्द्र घर्तीले रू. ६००।- खाएको देखिँदा निजहरूलाई चोरीको १४(४) नं. बमोजिम सोको डेढी क्रमशः रू. १४९२।५०, रू. ९००।- र रू. ९००।- जरिवाना हुने र यस्तै अर्का प्रतिवादी विष्णु सुनार प्रस्तुत वारदातको मूल योजनाकार भएको देखिएको र निजले नै प्रतिवादीहरू संजय घर्ती, दिपेन्द्र घर्ती र दिपेस सुनारलाई खटाई रूपैयाँ दिएको देखिएकोले बाँकी रू. ६,४०५।- प्रतिवादी विष्णु सुनारले खाएको देखिँदा निजलाई चोरीको १४(४) नं. बमोजिम सोको डेढी रू. ९,६०७।५० जरिवाना हुने ठहर्छ भन्ने सुरू प्युठान जिल्ला अदालतको फैसला भएकोमा प्रतिवादीहरूले चोरीको महलको १४(४) नं. अनुसारको कसुर गरेको ठहर गरिसकेपछि चोरीको महलको १४(४) नं. अनुसार सजाय गर्दा डाँका गर्नेलाई बिगोको डेढी बढाई सजाय गर्नुपर्नेमा सो नगरी डाँका गरेको रकम जसका पेटमा जति परेको हो, त्यति रकमका हिसाबले जरिवाना गरेको सुरू जिल्ला अदालतको फैसला नमिलेकोले जरिवानाको हकमा बढाई सजाय गरिपाउँ भनी पुनरावेदन अदालत, तुलसीपुरमा पुनरावेदन परेकोमा सोहीबमोजिम जरिवानाको हकमा केही उल्टी गरी प्रतिवादी संजय घर्ती, दिपेन्द्र घर्ती र विष्णु सुनारलाई बिगो रू. ८,६००।- को डेढी रू. १२,९००।- का हिसाबले जनही जरिवाना हुने र प्रतिवादी दिपेस सुनारलाई बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११(३) ले सोको आधा रू. ६,४५०।- जनही जरिवाना हुने ठहर्छ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, तुलसीपुरको फैसलाउपर प्रतिवादीहरूले चित्त नबुझाई सर्वोच्च अदालतमा प्रस्तुत पुनरावेदन पर्न आएको देखिन्छ ।

अब पुनरावेदन अदालत, तुलसीपुरको फैसला मिलेको छ छैन ? प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्छ पुग्दैन सो सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।

२. निर्णयतर्फ विचार गर्दा प्रतिवादीहरू सन्जय घर्ती, विष्णु सुनार र दीपेन्द्र घर्तीले यस अदालतमा दर्ता गराएको पुनरावेदन पत्रमा उल्लिखित पुनरावेदन जिकिर साबित गर्न नसक्ने भएकोले हाम्रो पुनरावेदन पत्रउपर कारवाही नगरी फिर्ता गरिपाउँ भनी कारागार कार्यालय, रोल्पामार्फत दिएको निवेदन प्राप्त भई पेस भएको देखियो । उक्त डाँका मुद्दामा दीपेस सुनारसहितका यी निवेदक प्रतिवादीहरूले संयुक्तरूपमा पुनरावेदन पत्र दर्ता गराएको देखिए पनि प्रतिवादी दीपेस सुनारले मुद्दा फिर्ताको माग गरेको नदेखिएकोले निज पुनरावेदक प्रतिवादी दीपेस सुनारको हकमा मुद्दाको बाँकी कारवाही कायमै राखी यी निवेदक पुनरावेदक प्रतिवादीहरू सन्जय घर्ती, विष्णु सुनार र दिपेन्द्र घर्तीका हकमा मुलुकी ऐन, अ.बं.९२ नं. बमोजिम पुनरावेदन पत्र फिर्ता लिन अनुमति दिइएको छ, नियमानुसार गर्नु भन्ने यस अदालतको मिति २०६९।४।८।२ को आदेश देखिन्छ ।

३. अभियोग दाबीमा बिगो रू.९,६००।- कायम गरी प्रतिवादीहरूलाई सजायसमेत गरिपाउँ भन्ने दाबी भएकोमा जाहेरवालाले अदालतमा बकपत्र गर्दा रू.८,६००।- लुटिएको हो भनी बकपत्र गरेको देखिएकोले त्यति बिगो कायम गरी प्रतिवादीहरूले चोरीको महलको १४(४) नं. अनुसारको कसुर गरेको ठहर गरिसकेपछि चोरीको महलको १४(४) नं. अनुसार सजाय गर्दा डाँका गर्नेलाई बिगोको डेढी बढाई सजाय गर्नुपर्नेमा सुरू जिल्ला अदालतबाट सोबमोजिम नगरी डाँका गरेको रकम जसका पेटमा जति परेको हो, त्यति रकमका हिसाबले जरिवाना गरेकोले जम्मा बिगो रू. ८,६००।- डाँका वारदात भएको ठहर गरी फैसला भएपछि सोहीअनुसार सजायतर्फ बोल्नुपर्नेमा सोतर्फ सुरू जिल्ला अदालतको फैसला मौन रहेकाले प्रतिवादीहरू संजय घर्ती, दिपेस सुनार, विष्णु सुनार, दिपेन्द्र घर्तीलाई बिगो रू. ८,६००।- डेढी रू. १२,९००।- जरिवाना हुने ठहर्‌याई खाएको बिगो समाई गरेको जरिवाना सो हदसम्म मिलेको नपाइँदा सुरू प्युठान जिल्ला अदालतको मिति २०६६।१।२२ को फैसला सो हदसम्म बदर हुने ठहर्छ भनी प्रतिवादी संजय घर्ती, दिपेन्द्र घर्ती र विष्णु सुनारलाई बिगो रू. ८,६००।- को डेढी रू. १२,९००।- का हिसाबले जनही जरिवाना हुने र प्रतिवादी दिपेस सुनारलाई बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११(३) ले सोको आधा रू. ६,४५०।- जनही जरिवाना हुने ठहर्‌याई पुनरावेदन अदालत, तुलसीपुरले फैसला गरेको देखिन्छ ।

४. जिल्ला अदालतको फैसलामा प्रतिवादीहरूले पुनरावेदन अदालतमा पुनरावेदन नगरी चित्त बुझाई बसेको पाइन्छ । पुनरावेदक प्रतिवादीहरू सन्जय घर्ती, विष्णु सुनार र दिपेन्द्र घर्तीको हकमा मुलुकी ऐन, अ.बं.९२ नं. बमोजिम मिति २०६९।४।८।२ मा मुद्दा फिर्ता लिइसकेको देखिँदा निजहरूको हकमा केही बोली रहन परेन ।

५. अब पुनरावेदक प्रतिवादी दिपेस सुनारको हकमा निर्णयतर्फ विचार गर्दा तत्कालिन न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अनुसार (१) पुनरावेदन अदालतले गरेको फैसला वा अन्तिम आदेशउपर देहायका मुद्दाहरूमा सर्वोच्च अदालतमा पुनरावेदन लाग्नेछ भनी कानूनी व्यवस्था भएको पाइन्छः- (क) पुनरावेदन अदालतले सुरू कारवाही र किनारा गरेको मुद्दा, (ख) दश वर्ष वा सोभन्दा बढी कैदको सजाय भएको मुद्दा, र (ग) तीन वर्ष वा सोभन्दा बढी कैदको सजाय, पच्चीस हजार रूपैयाँ वा सोभन्दा बढी जरिवाना, पचास हजार रूपैयाँ वा सोभन्दा बढी बिगो भएको वा बिगो नखुलेको मुद्दामा सुरू अदालत, निकाय वा अधिकारीले गरेको निर्णयउपर पुनरावेदन अदालतले पुनरावेदनको रोहमा निर्णय गर्दा केही वा पूरै उल्टी भएको मुद्दा । (२) सर्वोच्च अदालतमा साधक जाहेर भएको मुद्दामा पनि पुनरावेदन लाग्न सक्नेछ भनी त्यस किसिमका पुनरावेदन अदालतको फैसलाउपर मात्र सर्वोच्च अदालतमा पुनरावेदन लाग्ने व्यवस्था भएको पाइन्छ । त्यसैगरी तत्कालिन हालको न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) मा सर्वोच्च अदालतलाई देहायका मुद्दाहरूमा पुनरावेदन सुन्ने अधिकार हुनेछ : (क) दफा ८ को उपदफा (२) बमोजिम उच्च अदालतले सुरू कारवाही र किनारा गरेको मुद्दा (ख) उच्च अदालतबाट दश वर्ष वा सोभन्दा बढी कैद सजाय हुने गरी फैसला भएको मुद्दा (ग) तीन वर्षभन्दा बढी कैदको सजाय वा पाँच लाख रूपैयाँभन्दा बढी बिगो भएको मुद्दामा सुरू अदालत, निकाय वा अधिकारीले गरेको निर्णयउपर उच्च अदालतले पुनरावेदनको रोहमा निर्णय गर्दा आंशिक वा पूरै बदर गरेको मुद्दा र (घ) संघीय कानूनबमोजिम सर्वोच्च अदालतमा पुनरावेदन लाग्ने मुद्दा (२) सर्वोच्च अदालतमा साधक पेस भएको मुद्दामा समेत सर्वोच्च अदालतलाई पुनरावेदन सुन्ने अधिकार हुनेछ भनी उच्च अदालतको फैसलाउपर  सर्वोच्च अदालतमा पुनरावेदन लाग्ने भन्ने व्यवस्था भएको पाइन्छ ।

६. सुरू जिल्ला अदालतबाट फैसला हुँदा चित्त नबुझ्ने पक्षले पुनरावेदन अदालतमा पुनरावेदन गर्न पाउने कानूनी व्यवस्था भएको पाइन्छ । सुरू अदालतको फैसलाउपर चित्त बुझाई पुनरावेदन अदालतमा पुनरावेदन नगरी बस्ने पक्षले अर्को विपक्षले पुनरावेदन गरेकोमा सोउपर पहिला पुनरावेदन नगर्ने पक्षलाई पछि सर्वोच्च अदालतमा पुनरावेदन गर्न पाउने कानूनी व्यवस्था नभएको अवस्थामा सुरू जिल्ला अदालतको फैसलाउपर पहिलो तहको पुनरावेदन अदालतमा पुनरावेदन नगर्नेलाई अन्तिम तहको सर्वोच्च अदालतमा पुनरावेदन दिन मिल्ने अवस्था भएन । यसरी प्रस्तुत मुद्दामा प्रतिवादीले सुरू जिल्ला अदालतको फैसलाउपर चित्त बुझाई पुनरावेदन अदालतमा पुनरावेदन नगरी बसेको र नेपाल सरकारले पुनरावेदन अदालतमा पुनरावेदन परी सोको फैसला भएकोमा पुनरावेदन तहको पहिलो पुनरावेदन नगर्ने प्रतिवादीहरूलाई सर्वोच्च अदालतमा गरेको पुनरावेदनबाट औचित्यमा प्रवेश गरी हेर्न मिलेन प्रस्तुत पुनरावेदन खारेज हुने ठहर्छ । प्रस्तुत मुद्दाको दायरी लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या. चोलेन्द्र शमशेर ज.ब.रा.

 

इजलास अधिकृतः जयराम श्रेष्ठ

इति संवत् २०७३ साल मङ्सिर २६ गते रोज १ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु