शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९७८४ - जबरजस्ती करणी

भाग: ५९ साल: २०७४ महिना: असार अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री ओम प्रकाश मिश्र

माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ 

फैसला मिति : २०७३।०७।०९

०७१-CR-१२८०

 

मुद्दा : जबरजस्ती करणी

 

पुनरावेदक प्रतिवादी : जिल्ला कञ्चनपुर, रैकवार विचवा, गाउँ विकास समिति वडा नं. ५ घर भई हाल कारागार कार्यालय, कञ्चनपुरमा कैदमा रहेका सियाराम रानासमेत

विरूद्ध

प्रत्यर्थी वादी : जिल्ला कञ्चनपुर, रैकवार विचवा, गाउँ विकास समिति वडा नं. ५ बस्ने परिवर्तित नाम सुनमायाको जाहेरीले नेपाल सरकार

 

जबरजस्ती करणीको अपराध सामान्य प्रकृतिको अन्य अपराध जस्तो होइन । जबरजस्ती करणीको अपराधमा पीडितको शारीरिक, मानसिक र मनोवैज्ञानिक जुन क्षति हुन्छ, त्यो अपूरणीय हुन्छ । यसबाट पीडितको स्वतन्त्र मानवीय अस्तित्व, मान, सम्मान र उसको व्यक्तिगत एवं सामाजिक प्रतिष्ठा, मान–मर्यादा र मानवीय अस्मिता लुटिएको हुन्छ । उसको स्वतन्त्र अस्तित्व नै खण्डित भएको हुन्छ । त्यसमा पनि वर्ष १४ की बालिकासित करणी गर्नु स्वयम्‌मा गम्भीर प्रकृतिको अपराधको श्रेणीमा पर्ने । 

(प्रकरण नं. ३)

पुनरावेदक प्रतिवादी : विद्वान् अधिवक्ता मदनबहादुर कार्की र विद्वान्‌ वैतनिक अधिवक्ता किरणकुमारी गुप्ता

प्रत्यर्थी वादी : 

अलम्बित नजिर :

सम्बद्ध कानून :

 

सुरू तहमा फैसला गर्ने :

मा.जिल्ला न्या. श्री भोजराज अधिकारी

पुनरावेदन तहमा फैसला गर्नेः 

माननीय मुख्य न्यायाधीश श्री पोषनाथ शर्मा

माननीय न्यायाधीश श्री विमलप्रसाद ढुङ्गेल

 

फैसला

न्या. ओमप्रकाश मिश्र : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) (ख) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः-

मिति २०६९।११।१६ गते राति खाना खाई हामी परिवारका सबै सदस्य आआफ्नो सुत्ने कोठामा गइसकेपछि मलाई पिसाब लागी पिसाब फेर्नको लागी बाहिर आई पिसाब फेरिरहेको अवस्थामा लुकीछिपी बसेका जिल्ला कन्चनपुर, रैकवार विचवा, गाउँ विकास समिति वडा नं. ५ बस्ने सियाराम राना पछाडिबाट आई मेरो मुख च्यापेको र अन्य व्यक्तिहरूले समेत मेरो हात समाती तीनै जना मिली मलाई रून कराउन नदिई हल्ला गरेमा घाँटी रेटी ज्यान मार्ने धम्कीसमेत दिई मानबहादुर ऐरको गहुँबारीमा लगी तीनै जनाले पालैपालो गरी पटक पटक जबरजस्ती करणी गरेकाले निजहरूलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलअन्तर्गत हदैसम्मको सजाय गरिपाउँ भन्ने परिवर्तित नाम सुनमायाको जाहेरी दरखास्त । 

जिल्ला कन्चनपुर, रैकवार बीचवा, गाउँ विकास समिति वडा नं. ५  कलुवापुरस्थित पूर्व गंगादेवी ऐरको शौचालय, पश्चिम सग्गु रानाको घर, उत्तर फगुवा रानाको माछा पोखरी र दक्षिण भिमबहादुर ऐरको खेतबारी यति चार किल्लाभित्र पर्ने मानबहादुर ऐरको गहुँबारीको दक्षिणतर्फको किनारमा गहुँबारी मडारिएको र भाँचिएको, मानिस आवत जावत गरेको जस्तो चिह्न देखिएको सोही ठाँउमा यौन सम्पर्क गरिसकेपछि गाँठो पारी राखेको ढाल थान १, र कोव्रा (Cobra) लेखिएको लेखिएको ढालको खाली डिब्बा थान-१ समेत फेला परेको सोही ठाउँमा मिति २०६९।११।१६ गते राति जिल्ला कन्चनपुर, रैकवार बीचवा, गाउँ विकास समिति वडा नं. ५  बस्ने सियाराम राना, कल्लु भन्ने विजयसिंह राना र रामदास रानासमेत गरी जना ३ ले परिवर्तित नाम सुनमायालाई पालैपालो पटक पटक जबरजस्ती करणी गरेको भन्ने घटनास्थल मुचुल्का ।

प्रतिवादी सियाराम रानासमेत जना ३ को खोजतलास गर्दा प्रतिवादी रामदास राना फेला नपरेको र प्रतिवादी सियाराम राना र कल्लु भन्ने विजयसिंह राना जना २ फेला परेका हुँदा पक्राउ गरी दाखिला गरेको भन्ने प्रहरी नायब निरीक्षक लालसिंह रावलको पक्राउ प्रतिवेदन ।

वारदातस्थानबाटै फरार प्रतिवादी रामदास रानालाई मिति २०६९।११।१७ मा फेला परेको हुँदा पक्राउ गरी दाखिला गरेको भन्ने प्रहरी नायब निरीक्षक लालसिंह रावलको पक्राउ प्रतिवेदन ।

परिवर्तित नाम सुनमाया, प्रतिवादी सियाराम, कल्लु भन्ने विजय राना र रामदास रानाको स्वास्थ्य परीक्षण गरी पठाइएको भन्ने महाकाली अञ्चल अस्पताल कन्चनपुरको पत्र ।

मिति २०६९।११।१६ मा म र रामदास रानालाई एकान्तमा बोलाई आज राति जाहेरवाली परिवर्तित नाम सुनमायालाई तीनै जनाले गहुँबारीमा लगी जबरजस्ती करणी गर्नुपर्छ भनी सियाराम रानाले भनी हामी तीनै जनाले सरसल्लाह गरी सोही राति १०।११ बजेको समयमा सुनमायाको घर नजिक आई लुकिबसेका अवस्थामा निज सुनमाया एक्लै घरबाहिर आई पिसाब फेर्न लाग्दा सियाराम रानाले निजको मुख हातले च्यापी हो हल्ला गर्न नदिएपछि म र रामदास रानाले पनि निजको हात समाती लछार पछार गरी घरदेखि केही टाढा रहेको मानबहादुर  ऐरको गहुँबारीमा लगी निजलाई डराई धम्काई बोल्न रून कराउन नदिई निजले ओडेको सलले मुख छोपी म र रामदास रानाले निजको हात र खुट्टा समाती सबभन्दा पहिले सियाराम रानाले निजलाई जबरजस्ती करणी गरेको त्यसपछि मैले र रामदास रानासमेतले पालैपालोसँग जबरजस्ती करणी गरेका हौं । सियाराम राना र रामदास रानाले २।२ पटक जबरजस्ती करणी गरेका हुन् । मैले एक पटक मात्र जबरजस्ती करणी गरेको हुँ भन्नेसमेत व्यहोराको प्रतिवादी कल्लु भन्ने विजयसिंह रानाले अधिकार प्राप्त अधिकारीसमक्ष गरेको बयान ।

मिति २०६९।११।१६ गते दिउँसो म र विजयसिंह रानालाई एकान्तमा बोलाई आज राति जाहेरवाली परिवर्तित नाम सुनमायालाई तीनै जनाले गहुँबारीमा लगी जबरजस्ती करणी गर्नुपर्छ भनी सियाराम रानाले भनी हामी तीनै जनाले सरसल्लाह गरी राति निज सुनमायाको घर नजिक आई लुकीबसी रहेको अवस्थामा निज घर बाहिर आई पिसाब फेर्न लाग्दा सियाराम रानाले निजको मुख हातले च्यापी हो हल्ला गर्न नदिएपछि म र विजयसिंह रानाले पनि निजको हात समाती लछार पछार गरी घरदेखि केही टाढा रहेको मानबहादुर ऐरको गहुँबारीमा लगी निजलाई डराई धम्काई बोल्न रून कराउन नदिई निजले ओडेको सलले मुख छोपी म र विजयसिंह रानाले निजको हात र खुट्टा समाती सबभन्दा पहिले सियाराम रानाले निजलाई जबरजस्ती करणी गरेको त्यसपछि मैले र कल्लु भन्ने विजयसिंह रानासमेतले पालैपालोसँग जबरजस्ती करणी गरेका हौं । विजयसिंह रानाले एक पटक म र सियाराम रानाले २।२ पटक जबरजस्ती करणी गरेका हौं भन्नेसमेत व्यहोराको प्रतिवादी रामदास रानाले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।

जाहेरवाली परिवर्तित नाम सुनमाया मसँग जिस्किने र हाँसो ठट्टा गरिरहने भएकीले मैले निजलाई यौन सम्पर्क गर्ने प्रस्ताव राख्दा यौन सम्पर्क गर्न नदिई मलाई झुक्काई रहने गरेकीले मिति २०६९।११।१६ गते दिउँसो कल्लु भन्ने विजय राना र रामदास रानालाई बोलाई जाहेरवालीलाई तीनै जनाले गहुँबारीमा लगी जबरजस्ती करणी गर्नुपर्छ भनी तीनैजनाले सल्लाह गरी सोही रात १०।११ बजेको समयमा सुनमायाको घरनजिक आई लुकी बसिराखेको अवस्थामा निज सुनमाया एक्लै घरबाहिर आई पिसाब गर्न लाग्दा मैले तत्कालै सलले निजको मुख छोपी हामी तीनै जनाले लछार पछार गरी घरदेखि टाढा रहेको मानबहादुरको गहुँबारीमा लगी निजलाई बोल्न कराउन नदिई डर त्रास देखाई धम्काई निजले ओडेको सलले निजको मुख छोपी पालै पालो गरी निजलाई जबरजस्ती करणी गरेका हौं भन्ने प्रतिवादी सियाराम रानाले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान कागज ।

मिति २०६९।११।१६ गते रातको समयमा मलाई पिसाबले च्यापेकाले घरबाट बाहिर पिसाब फेर्न गएकोमा घर पछाडि लुकी बसेका सियाराम रानासमेतले पछाडिबाट मेरो मुख च्यापी बोल्न रून कराउन नदिई हल्ला गरेपछि घाँटी रेटी मारिदिन्छौं भनी ज्यान मार्ने धम्की दिई घरबाट केही टाढा रहेको मानबहादुर ऐरको गहुँबारीमा लगी प्रतिवादीहरूले पालै पालो गरी मलाई जबरजस्ती करणी गरेको भनी सोही १७ गते बिहान बहिनीले मलाई भनेको हुँदा निज प्रतिवादीहरूलाई कानूनबमोजिम हदैसम्मको सजाय हुनुपर्छ भन्ने व्यहोराको जितेन्द्र रानाले गरी दिएको कागज ।

मिति २०६९।११।१६ गते राति १०।११ बजे राति सुनमाया पिसाब फेर्न बाहिर गएकोमा घर पछाडि लुकी बसेका सियाराम रानासमेतले पीडित परिवर्तित नाम सुनमायालाई पछाडिबाट मुख च्यापी बोल्न र रून कराउन नदिई हल्ला गरेपछि घाँटी रेटी मारिदिन्छौं भनी ज्यान मार्ने धम्की दिई घरबाट केही टाढा रहेको मानबहादुर ऐरको गहुँबारीमा लगी प्रतिवादीहरूले पालै पालो गरी मलाई जबरजस्ती करणी गरेको भन्ने सुनी थाहा पाएको हुँदा निज प्रतिवादीहरूलाई कानूनबमोजिम हदैसम्मको सजाय हुनुपर्दछ भन्ने करिब एकै मिलानको सुरेशराज धिक्त, दुलारी रानासमेतले गरी दिएको घटना विवरण कागज ।

परिवर्तित नाम सुनमायाको जन्म मिति २०५६।१।३ भएको भन्ने रैकवार विचवा गाउँ विकास समिति कार्यालयको पत्र र विद्यालयको अभिलेखअनुसार निजको जन्म मिति २०५६।१।३ गते भएको भन्ने राष्ट्रिय माध्यमिक विद्यालय कलुवापुरको पत्र ।

पीडित  परिवर्तित नाम सुनमाया मेरी छोरी हुन् । प्रतिवादीहरू हाम्रै गाउँका खराब आचरण भएका व्यक्तिहरू हुन् । प्रतिवादीहरूले मिति २०६९।११।१६ को राति १०।११ बजेको समयमा नाबालिका छोरी परिवर्तित नाम सुनमाया पिसाब फेर्न बाहिर गई पिसाब फेर्न लाग्दा घर पछाडि लुकी बसेका सियाराम रानासमेतले पीडित नाबालिका छोरीलाई पछाडिबाट मुख च्यापी बोल्न कराउन नदिई हल्ला गरेपछि घाँटी रेटी मारीदिन्छौं भनी ज्यान मार्ने धम्की दिई घरबाट केही टाढा रहेको मानबहादुर ऐरको गहुँबारीमा लगी प्रतिवादीले रातभरी पालैपालो गरी जबरजस्ती करणी गरेको भनी छोरीले घटनाको बारेमा भनेपछि थाहा पाएको हुँदा निज प्रतिवादीहरूलाई कानूनबमोजिम हदैसम्मको सजाय हुनुपर्दछ भन्ने रामफुल रानाले गरिदिएको घटना विवरण कागज ।

मिति २०६९।११।१६ गते राति १०।११ बजेको समयमा प्रतिवादी सियाराम राना, कल्लु भन्ने विजयसिंह रानासमेतका तीनै जनाले जाहेरवाली नाबालिका परिवर्तित नाम सुनमायालाई घरबाहिर पिसाब गरिरहेको अवस्थामा घरको पछाडि लुकी बसी रहेको ३ जनाले निजको मुख च्यापी हात समाती लछार पछार गरी रून कराउन नदिई हल्ला गरेमा घाँटी रेटी ज्यान मार्ने धम्की दिई मानबहादुर ऐरको गहुँबारीमा लगी सलले मुख छोपी ३ जनाले पालैपालो गरी जबरजस्ती करणी गरेको कुरा मैले सुनी थाहा पाएको हुँ । यसरी प्रतिवादीहरू ३ जनाले पीडित जाहेरवाली परिवर्तित नाम सुनमायालाई सामुहिकरूपमा जबरजस्ती गर्ने तीनै जनालाई हदैसम्मको सजाय हुनुपर्दछ भन्ने करिब एकै मिलानको घुम्मन राना, डेफु राना र नारायण रानासमेतले लेखाई दिएको वस्तुस्थिति मुचुल्का ।

मिसिल संलग्न आधार प्रमाणहरूबाट मिति २०६९।११।१६ गतेको राति प्रतिवादीहरू सियाराम राना, कल्लु भन्ने विजय राना र रामदास रानासमेत जना ३ ले जाहेरवाली वर्ष १३ की नाम परिवर्तित सुनमायालाई समाती गहुँबारीमा लगी जबरजस्ती करणी गर्नुपर्छ भनी दिउँसो सल्लाह गरी निजको घरनजिक लुकी बसी निज जाहेरवाली पिसाब फेर्न भनी घरबाहिर आई पिसाब फेर्न लाग्दा पहिलेदेखि लुकीछुपी बसेका प्रतिवादीमध्येका सियाराम रानाले पीडित सुनमायाको मुख च्यापी बोल्न कराउन नदिई प्रतिवादीहरू कल्लु भन्ने विजयसिंह राना र रामदास रानाले निज पीडितको हात समाती लछार पछार गर्दै डराई धम्काई जोरजुलुम गरी मानबहादुर ऐरको गहुँबारीमा लगी निजको मन्जुरीबिना पीडितले लगाएको लुगा कपडा फुकाली सर्वप्रथम सियाराम रानाले ढाल लगाई जबरजस्ती करणी गरेको, त्यसपछि प्रतिवादीहरू कल्लु भन्ने विजयसिंह राना र रामदास रानाले पीडितलाई पालैपालो जबरजस्ती करणी गरी पीडित १४ वर्षभन्दा कम उमेरकी नाबालिकालाई घटनास्थलमा नै छोडी गएको भन्ने कुरा पुष्टि हुन आएकोले यी प्रतिवादीहरू सियाराम राना, विजय राना र रामदास रानासमेतले गरेको उक्त कार्य मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. विपरीत ३(२) नं. बमोजिम कसुर गरेको देखिँदा निज प्रतिवादी सियाराम राना, रामदास राना र कल्लु भन्ने विजयसिंह रानालाई सोही महलको ३ नं. को देहाय २ बमोजिम सजाय हुनुका साथै निज प्रतिवादीहरूले पीडित नाबालिकालाई सामुहिकरूपमा जबरजस्ती करणी गरेको हुँदा प्रतिवादीहरू तीनै जनालाई सोही महलको ३(क) नं. बमोजिम थप सजाय गरी यी प्रतिवादीहरूबाट सोही महलको १० नं. बमोजिम पीडित नाबालिका सुनमायालाई उचित क्षतिपूर्ति दिलाई भराई पाउनसमेत मागदाबी लिइएको छ भन्ने व्यहोराको अभियोग पत्र ।

मैले जाहेरवालीलाई जबरजस्ती करणी गरेको छैन, किन त्यस्तो जाहेरी दिइन् थाहा भएन । निज जाहेरवालीसँग प्रेम सम्बन्ध भएकाले कहिले जाहेरवाली कहिले म फोन गर्ने गर्दथ्यौं, सो कुरा निजको दाईलाई थाहा भएकाले मसँग नजानु भनेका थिए । मैले जबरजस्ती करणी गरेको होइन । प्रहरीले आफैँले बयान लेखी सही गराएको हो भन्नेसमेत व्यहोराको प्रतिवादी सियाराम रानाले सुरू अदालतमा गरेको बयान ।

मिति २०६९।११।१६ गते म, रामदास र सियाराम साँझ सँगै थियौं । प्रतिवादी सियाराम रानाले जाहेरवालीलाई फोन गरी मसँग विवाह गर्ने होइन त भनी जिस्काउँदै थियो । जाहेरवालीलाई जबरजस्ती करणी गरेको भन्ने झुट्टा आरोप लगाएको हो । प्रहरीले कुटपिट गरी बयानमा सही गराएको हो । उक्त बयान मैले स्वइच्छाले दिएको होइन भन्नेसमेत व्यहोराको प्रतिवादी कल्लु भन्ने विजयसिंह रानाले सुरू अदालतमा गरेको बयान ।

मिति २०६९।११।१६ गते साँझ म, सियाराम र विजय रानासमेत एकैसाथ थियौं । राति ८।९ बजे आआफ्नो घर गएका हौं । मैले जाहेरवालीलाई जबरजस्ती करणी गरेको छैन । फसाउन जाहेरी दिएको हो । प्रहरीले धम्काई डराई बयान गएको हो । झुट्टा आरोप हो सजाय हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी रामदास रानाले सुरू अदालतमा गरेको  बयान ।

मिसिल संलग्न उल्लिखित प्रमाणहरूबाट यी प्रतिवादीहरू आरोपित कसुरमा बिल्कुलै निर्दोष हुन भन्न सकिने अवस्था नहुँदा पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने हुँदा हाल अदालती बन्दोबस्तको ११८ को देहाय २ बमोजिम प्रतिवादी सियाराम राना, कल्लु भन्ने विजयसिंह राना र रामदास रानालाई मुद्दा पुर्पक्षका लागी थुनामा राख्न कानूनबमोजिम गरी कारागार कार्यालय, कन्चनपुरमा पठाइदिनु साथै प्रतिवादी चुक्ता भइसकेकाले वादी एवं प्रतिवादीहरूका साक्षी बुझी नियमानुसार पेस गर्नु भन्ने मिति २०६९।१२।१२ को सुरू अदालतको थुनछेक 

आदेश ।

मिति २०६९।११।१६ गते राति म आफ्नै घरमा थिएँ । दास्रो दिन प्रहरीले प्रतिवादी सियाराम, कल्लु, रामदासले बलात्कारको विषयमा पक्रेर लाग्दा थाहा पाएको हुँ । तीनै जनाले गहुँबारीमा लगी जाहेरवाली सुनमायालाई बलात्कार गरेको सुनेको हो भन्नेसमेत व्यहोराको देफु रानाले गरेको बकपत्र ।

म मिति २०६९।११।१६ गते राति आफ्नै घरमा सुतेकी थिएँ । अर्को दिन बिहान जाहेरवालीले मलाई हिजो राति ११:०० बजे पिसाब फेर्न घर आँगन बाहिर जाँदा प्रतिवादीहरू सियाराम राना, कल्लु राना र रामदास रानाले मलाई समाती जबरजस्ती गहुँबारीमा लगी जबरजस्ती गरी बेइज्जती गर्‌यो भनी मलाई भनेकी हुन् । मैले उसको घटनाबारे जाहेरवालीको आमालाई भनेकी हुँ । जाहेरवालीको योनिबाट रगत बगेको थियो । रून लागेकी थिई । पछि घरमा उक्त रगत पानीले सफा गरेकी हुन् भन्नेसमेत व्यहोराको दुलारी रानाले गरेको बकपत्र ।

मिति २०६९।११।१६ को राति म विजयसिंह रानाको घरमा टि.भी. हेर्न गएको थिएँ । राति १२ बजेसम्म टि.भी. हेरी निद्रा लागेको थाहा भएन । पछि बिहान ब्युँझी उठेर घर गएको हुँ । जाहेरवाली कहाँ थिइन थाहा भएन । प्रतिवादी विजयसिंह राना आफ्नै घरमा मसँगै थिए । सँगै भएको हुँदा जबरजस्ती करणीसम्बन्धी कुनै पनि घटना घटेको छैन । प्रस्तुत मुद्दासम्बन्धी सबै कुरा झुट्टा हुन् अपराध गरेको होइन त्यसैले सफाई पाउनु पर्ने हो भन्नेसमेत व्यहोराको प्रतिवादीका साक्षी दानसिंह रानाले गरको बकपत्र ।

उक्त राति म प्रतिवादी रामदास रानासँगै निजको घरमा थिएँ । जाहेरवालीलाई देखेन । प्रतिवादी रामदास पनि आफ्नै घरमा थिए । सि.डी.मा फिल्म हेर्न गएको र हेर्दाहेर्दै निदाएको कारण त्यहीँ सुती बिहान घर फर्केको हुँ । राति सँगै म पनि निजको घरमा भएको हुँदा घटना घटेको मैले देखेन र सुनेको पनि छैन । जाहेरी झुट्टा हो त्यसैले सजाय हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी रामदास रानाका साक्षी वीरेन्द्र रानाले गरेको बकपत्र ।

उक्त राति म कैलालीको अत्तरियामा आफ्नै कोठामा थिएँ । बहिनी घरमै थिइन् । उक्त राति बहिनीउपर जबरजस्ती करणीको घटना घटाउने सियाराम राना, कल्लु भन्ने विजयसिंह राना र रामदास राना हुन् । राति बहिनी पिसाब फेर्न बाहिर आएको बेला प्रतिवादीहरूले मानबहादुर ऐरको गहुँबारीमा लगी तीनै जनाले जबरजस्ती करणी गरेका हुन् । मिति २०६९।११।१७ गते आन्टी रामदुलारी रानाले मलाई फोन गरी थाहा पाएको हुँ । गहुँबारी च्यापिएको 

थियो । वीर्य भएको कण्डम थियो । योनिबाट रगत आएको थियो । नुहाएपछि स्वास्थ्य परीक्षण गराएका हौं भन्नेसमेत व्यहोराको जितेन्द्र रानाले गरेको बकपत्र ।

उक्त राति म आफ्नै घरमा थिएँ ।  मेरी छोरी पीडित उक्त राति पिसाब फेर्न घरबाट बाहिर निस्कँदा प्रतिवादीहरू सियाराम राना, रामदास राना र कल्लु भन्ने विजयसिंह रानासमेत जना ३ ले समाती घरदेखि टाढा गहुँबारीमा लगी जबरजस्ती बेइजती गरेका 

हुन् । रातमा घटना भएको हो । मैले बिहान थाहा पाएको हुँ । तीनै जनाले गहुँबारीमा पीडितलाई पालैपालो गरी गाडमा नुन्नी हाली रगडेका हुन् । बिहान पीडितको पेट दुखेको थियो । खुट्टामा रगत थियो बिमारी थिइन् भन्नेसमेत व्यहोराको रामफुल रानाले गरेको बकपत्र ।

मिति २०६९।११।१६ गते राति म आफ्नै घरमा थिएँ । रातिको ११ बजेतिर पिसाब लागेकोले पिसाब फेर्न घरबाहिर निस्कँदा पछाडिबाट सियाराम रानाले मेरो मुख सल (रूमाल) ले छोपी तीनै जना प्रतिवादीले समाती मानबहादुर  ऐरको गहुँ बालीमा लगी सर्वप्रथम सियाराम रानाले बलात्कार गरे त्यसपछि रामदास रानाले गरे, अनी कल्लु भन्ने विजय रानाले बलात्कार गरेका हुन् । अन्तमा प्रतिवादी सियाराम रानाले दोस्रो पटक बलात्कार गरेको निजले बलात्कार गर्दा कन्डम प्रयोग गरेको थियो भन्नेसमेत व्यहोराको पीडित जाहेरवाली सुनमायाले गरेको बकपत्र ।

मिति २०६९।११।१६ गते म आफ्नै घरमा थिएँ । प्रतिवादी सियाराम, कल्लु र रामदासले पीडितलाई जबरजस्ती खेतमा लगी तीनै जनाले बलात्कार गरेका हुन् भन्नेसमेत व्यहोराको नारायण रानाले गरेको बकपत्र ।

प्रतिवादीहरूले वारदातको समयमा १३।१०।१३ वर्षकी परिवर्तित नाम सुनमायालाई मुलुकी ऐन, जबरजस्ती करणीको १ र ३(२) नं. विपरीत जबरजस्ती करणी कसुर गरेको प्रमाणित भएको हुँदा प्रतिवादीहरू सियाराम राना, विजयसिंह राना र रामदास रानालाई सोही ऐनको दफा ३(२)नं. बमोजिम ८ (आठ) वर्ष कैद हुने ठहर्छ । प्रतिवादी ३ जना भई सामुहिकरूपमा जबरजस्ती करणी गरेको हुँदा सोही ऐनको दफा ३ (क) नं. बमोजिम प्रतिवादीहरूलाई थप ५ पाँच वर्ष कैदसमते हुने ठहर्छ भन्नेसमेत व्यहोराको कञ्चनपुर जिल्ला अदालतबाट मिति २०७१।०२।१९ मा भएको फैसला ।

विधि विज्ञान प्रयोगशालाको परीक्षणबाट मानव वीर्य र शुक्रकीट नभेटिएको भन्ने उल्लेख  छ । अर्थात् परीक्षणको लागी पठाइएका ब्लड ग्रुपसँग मेल नखाएको उल्लेख छ । यस परीक्षणबाट हामीमाथि लगाइएको आरोप गलत सिद्ध हुन्छ । प्रस्तुत जाहेरी आफैँमा अस्वाभाविक र मनगढन्ते भएकोले त्यस्तो जाहेरीबाट उठान भएको सम्पूर्ण अनुसन्धान गलत भएको छ । सुरू जिल्ला अदालतको फैसला पूर्वाग्रही भई हामीलाई हदैसम्म सजाय गर्ने मानसिकताको हुँदा सुरू फैसला उल्टी गरी सफाई पाउँ भन्नेसमेत व्यहोराको सियाराम रानासमेतको पुनरावेदन पत्र ।

वारदातको मितिमा १३ वर्ष १० महिना १३ दिन मात्र पुगेकी पीडित परिवर्तन नाम सुनमायालाई जबरजस्ती करणीको महलको दफा १ र ३ (२) नं. विपरीत जबरजस्ती करणीको कसुर गरेको प्रमाणित हुँदा आरोपित प्रतिवादीहरू सियाराम राना, विजयसिंह राना र रामदास रानालाई सोही दफाबमोजिम जनही ८ (आठ) वर्ष कैद हुने र प्रतिवादीहरू तीन जना भई सामुहिकरूपमा जबरजस्ती करणी गरेको हुँदा सोही ऐनको दफा ३(क) नं. बमोजिम प्रतिवादीहरूलाई जनही थप ५(पाँच) वर्ष कैद हुने भई प्रतिवादीहरूबाट पीडित जाहेरवालीले जबरजस्ती करणीको १० नं. बमोजिम जनही ३५,०००।– (पैंतीस हजार) को दरले क्षतिपूर्तिसमेत भराई लिन पाउने ठहर गरी भएको सुरू कञ्चनपुर जिल्ला अदालतबाट मिति २०७१।२।१९ मा भएको फैसला मिलेकै देखिँदा सुरू सदर हुने 

ठहर्छ । प्रतिवादीहरू सियाराम राना, कल्लु भन्ने विजयसिंह राना र रामदास रानाको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने पुनरावेदन अदालत, महेन्द्रनगरबाट मिति २०७१।९।७ मा भएको फैसला ।

विधि विज्ञान प्रयोगशालाको परीक्षणबाट मानव वीर्य र शुक्रकीट नभेटिएको भन्ने उल्लेख 

छ । परीक्षणबाट हामीमाथि लगाइएको आरोप गलत सिद्ध हुन्छ । अदालतसमक्षको बयानमा हामीहरूलाई अनुसन्धान अधिकारीसमक्ष बयान गराउँदा डर, त्रास देखाई बयान गराइएको छ । पीडितले लगाएको कट्टुमा मानव वीर्य पाइएको छैन । पीडितको शरीरको अन्य भागमा कुनै संघर्षका चिह्नहरू भेटिएका 

छैनन् । पीडितको गुप्ताङ्गमा घाउचोट केही पाइएको छैन । वारदातको भोलिपल्ट भएको पीडितको शारीरिक परीक्षणको प्रतिवेदनमा तत्काल करणी भएको कुनै संकेत पाइँदैन भनी उल्लेख भएको छ । प्रस्तुत जाहेरी आफैँमा अस्वाभाविक र मनगढन्ते भएकोले त्यस्तो जाहेरीबाट उठान भएको सम्पूर्ण अनुसन्धान गलत भएको छ । सुरू जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालत, महेन्द्रनगरको फैसला उल्टी गरी सफाई पाउँ भन्नेसमेत व्यहोराको सियाराम राना, कलेलु भन्ने विजयसिंह राना र रामदास रानाको पुनरावेदन पत्र ।

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक कल्लु भन्ने विजयसिंह रानाको तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री मदनबहादुर कार्की र अन्य पुनरावेदकहरू तर्फबाट उपस्थित विद्वान्‌ वैतनिक अधिवक्ता श्री किरणकुमारी गुप्ताले पुनरावेदक प्रतिवादीहरूलाई अनुसन्धान अधिकारीसमक्ष बयान गराउँदा डर, त्रास देखाई बयान गराइएको छ । पीडितले लगाएको कट्टुमा मानव वीर्य पाइएको छैन । पीडितको शरीरको अन्य भागमा कुनै संघर्षका चिह्नहरू भेटिएका छैनन् । पीडितको गुप्ताङ्गमा घाउचोट केही पाइएको छैन । वारदातको भोलिपल्ट भएको पीडितको शारीरिक परीक्षणको प्रतिवेदनमा तत्काल करणी भएको कुनै संकेत पाइँदैन भनी उल्लेख भएको छ । तसर्थ प्रतिवादीहरूको उक्त वारदातमा कुनै संलग्नता नभएकोले सुरू जिल्ला अदालतको फैसला सदर हुने ठहर्‌याएको पुनरावेदन अदालत, महेन्द्रनगरबाट भएको फैसला बदर उल्टी गरी सफाई पाउँ भन्नेसमेत गर्नुभएको बहससमेत सुनियो ।  

उल्लिखित बहस जिकिर, पुनरावेदन पत्रसहितको मिसिल संलग्न कागज प्रमाणसमेत अध्ययन गरी हेर्दा प्रतिवादीहरू सियाराम राना, विजयसिंह राना र रामदास रानालाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. को कसुरमा सोही महलको ३(२) नं. बमोजिम सजाय गरी १० नं. बमोजिम पीडितलाई मनासिब माफिकको क्षतिपूर्ति दिलाई भराई सोही महलको (३) (क) नं. बमोजिम थप सजाय गरिपाउँ भन्ने अभियोग दाबी भएकोमा प्रतिवादीहरूलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. को कसुरमा सोही महलको ३(२) नं. अनुसार जबरजस्ती करणीको कसुर ठहर गरी ८ वर्ष र सोही महलको (३) (क) नं. बमोजिम थप ५ वर्ष गरी १३ वर्ष कैद र रू.३५,०००/- क्षतिपूर्ति दिलाई भराइदिने ठहर गरेको सुरूको फैसला सदर गरेको पुनरावेदन अदालत, महेन्द्रनगरको फैसलाउपर प्रतिवादीहरू सियाराम राना, विजयसिंह राना र रामदास रानाको पुनरावेदन परी पेस भएको प्रस्तुत मुद्दामा पुनरावेदन अदालत, महेन्द्रनगरको फैसला मिलेको छ वा छैन ? र प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्ने हो वा होइन? भन्ने विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।

२. निर्णयतर्फ विचार गर्दा, मिति २०६९/११/१६ का दिन राति वर्ष १४ की जाहेरवाली परिवर्तित नाम सुनमायालाई पिसाब लागी पिसाब फेर्न घर बाहिर निस्केका अवस्थामा प्रतिवादीहरूले जबरजस्ती करणी गरेको भनी परेको जाहेरी दरखास्तबाट अनुसन्धान प्रारम्भ भएको देखिन्छ । प्रतिवादीहरू आरोपित कसुरमा सुरू जिल्ला अदालतमा इन्कारी रहे पनि अधिकारप्राप्त अधिकारीसमक्षको बयानमा पीडिता राति १०।११ बजेको समयमा पिसाब फेर्न गएको अवस्था मुखथुनी हातसमेत समाई गहुँबारीमा लगी डरत्रास देखाई पालै पालो जबरजस्ती करणी गरेको तथ्य खुलाई बयान गरेको देखिन्छ । घर नजिकैको गहुँबारीमा लगी मेरो मुख च्यापी बोलेमा मार्ने धम्की दिई पालै पालो पटक पटक करणी गरेका हुन् भनी पीडितले लेखाई दिएको छ भने पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनबाट योनिको झिल्ली च्यातिएको भन्ने देखिएबाट पीडितको जाहेरी दरखास्त र अनुसन्धानको क्रममा भएको बयानको पुष्टि हुन आएको छ । वारदातबाट पीडितको साङ्केतिक नाम सुनमाया, निजकी आमा रामफूल राना र दाजु जितेन्द्र रानाले समेत अदालतमा उपस्थित भई बकपत्र गर्दा यी पुनरावेदक प्रतिवादीहरूले पीडितको साङ्केतिक नाम सुनमायालाई जबरजस्ती करणी गरेको तथ्य खुलाई दिएको पाइन्छ । मौकाको जाहेरी र पीडितको कागज तथा निजहरूको बकपत्रबाट करणीसम्बन्धी वारदात पुष्टि भएको देखिएको र डाक्टरको प्रतिवेदन तथा केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाको प्रतिवेदनमा पीडित साङ्केतिक नाम सुनमायाले लगाएको कट्टुमा Human Semen was detected भन्ने प्रतिवेदनसमेतबाट यौनिक अपराध भएको 

देखिन्छ । पीडित जाहेरवालीले अदालतमा गरेको बकपत्रमा यी पुनरावेदक प्रतिवादीहरूले जबरजस्ती करणी गरेका हुन् भनी लेखाएको देखिन्छ ।  प्रतिवादीहरूले जाहेरवालीसँग जबरजस्ती करणी नगरेको भए अकारणमा आफ्नै बेइज्जती हुने गरी जाहेरवालीले झुट्ठा व्यहोरा जाहेरी दिएको होला भन्ने तथ्य मिसिल संलग्न सबुद प्रमाणबाट समर्थित भएको पाइँदैन । यसरी पीडित, निजको आमा र दाजुको अदालतमा भएको बकपत्र, चिकित्सकको प्रतिवेदन पीडितको कट्टु परीक्षणसमेतका मिसिल संलग्न कागजातबाट यी पुनरावेदक प्रतिवादीहरूले पीडितसँग जबरजस्ती करणी गरेको तथ्य शंकारहित तवरबाट समर्थित भएको पाइयो । अतः यी  प्रतिवादीहरूले पीडित साङ्केतिक नाम सुनमायालाई आफूहरूले करणी गर्ने मनसायले पीडितको घरको नजिकै लुकीछिपी बसी पीडित बाहिर निस्केको अवस्थामा घरदेखि केही टाढा गहुँबारीमा लगी जबरजस्ती करणी गरेको कसुर पुष्टि भई राखेकोले प्रतिवादीहरू सियाराम राना, विजयसिंह राना र रामदास रानाले अभियोग दाबीबमोजिम जबरजस्ती करणीको कसुर गरेको 

ठहर्छ ।

३. जबरजस्ती करणीको अपराध सामान्य प्रकृतिको अन्य अपराध जस्तो होइन । जबरजस्ती करणीको अपराधमा पीडितको शारीरिक, मानसिक र मनोवैज्ञानिक जुन क्षति हुन्छ, त्यो अपूरणीय हुन्छ । यसबाट पीडितको स्वतन्त्र मानवीय अस्तित्व, मान, सम्मान र उसको व्यक्तिगत एवं सामाजिक प्रतिष्ठा, मान–मर्यादा र मानवीय अस्मिता लुटिएको हुन्छ । उसको स्वतन्त्र अस्तित्व नै खण्डित भएको हुन्छ । त्यसमा पनि वर्ष १४ की बालिकासित करणी गर्नु स्वयम्‌मा गम्भीर प्रकृतिको अपराधको श्रेणीमा पर्ने 

हुन्छ । तसर्थ, अभियोग दाबीबमोजिम जबरजस्ती करणीको कसुर ठहर गरी प्रतिवादीलाई जबरजस्ती करणीको महलको ३(२) नं. बमोजिम जनही ८ वर्ष र सोही महलको ३ (क) नं. बमोजिम थप ५ वर्ष गरी जम्मा १३ वर्ष कैद गरी सोही महलको १० नं. बमोजिम जनही रू. ३५,०००।- क्षतिपूर्ति पीडितलाई भराइदिने ठहर गरी भएको सुरू कन्चनपुर जिल्ला अदालतको फैसला सदर गर्ने गरी भएको पुनरावेदन अदालत, महेन्द्रनगरबाट  मिति २०७१/०९/०७ मा भएको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । प्रतिवादीहरू सियाराम राना, विजयसिंह राना र रामदास रानाको पुनरावेदन जिकिर पुग्न सक्दैन । फैसलाको जानकारी थुनामा रहेका प्रतिवादीहरूलाई दिई दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या. देवेन्द्र गोपाल श्रेष्ठ 

 

इजलास अधिकृत : जगतबहादुर पौडेल

इति संवत् २०७३ साल कात्तिक ९ गते रोज ३ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु