शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९८०३ - अंश चलनसमेत

भाग: ५९ साल: २०७४ महिना: भाद्र अंक:

सर्वोच्च अदालत, पूर्ण इजलास

माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे

माननीय न्यायाधीश श्री सारदाप्रसाद घिमिरे

माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा

फैसला मिति : २०७३।१०।२०

०६९-NF-०००८ 

 

मुद्दाः अंश चलनसमेत

 

पुनरावलोकनकर्ता / वादी : ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं. ३ पुल्चोक घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ७ बस्ने लाक्पा खम्बाछे शेर्पा

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं. ३ पुल्चोक बस्ने ओमकुमारी शेर्पा

 

वादी अंशियार नाताका होइनन् भनी नातामा विवाद गर्ने प्रत्यर्थी प्रतिवादीले आफ्नो नातातर्फको दाबी वस्तुगत प्रमाणको आधारमा प्रमाणित गर्नुपर्ने । 

(प्रकरण नं. ९)

अंशियार छोरा नातामा नै इन्कार गरेको अवस्थामा पुनरावेदक वादीले पाउने अंश पाएको भन्ने अवस्था नरहने । 

(प्रकरण नं. १०)

 

पुनरावलोकनकर्ता / वादीको तर्फबाट : विद्वान्‌ अधिवक्ताहरू योगराज सुवेदी, बच्चु सिंह खड्का तथा प्रकाश थापा

प्रत्यर्थी / प्रतिवादीको तर्फबाट : विद्वान्‌ अधिवक्ताहरू शंकर लिम्बु, भीम राई, रामहरि श्रेष्ठ तथा दिनेशकुमार घले

अवलम्बित नजिर :

ने.का.प.२०४९, नि.नं.४४६७, पृ.१२७

सम्बद्ध कानून :

प्रमाण ऐन, २०३१ को दफा २७(२)

 

सुरू फैसला गर्ने न्यायाधीशः 

मा.जिल्ला न्या.श्री  कुमारप्रसाद पोखरेल

पुनरावेदन तहबाट फैसला गर्नेः 

माननीय न्यायाधीश श्री लक्ष्मणमणि रिसाल

माननीय न्यायाधीश श्री माधवप्रसाद चालिसे

यस अदालतको संयुक्त इजसालमा फैसला गर्नेः 

माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह

माननीय न्यायाधीश श्री प्रकाश वस्ती

फैसला

न्या. केदारप्रसाद चालिसे : सर्वोच्च अदालतको मिति २०६६।११।१३ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ११(१) को खण्ड (ख) बमोजिम पुनरावलोकन गरी हेर्ने निस्सा प्रदान भई पेस हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- 

स्व. पिता पासाङ खम्बाछे शेर्पाका दुई श्रीमतीहरूमध्ये जेठी किन्जी, कान्छी ओमकुमारी भएकोमा जेठी किन्जी तर्फबाट जायजन्म भएकामा म फिरादी र लाक्पा खम्बाछे गरी दुई एवं कान्छीतर्फबाट जायजन्म भएका जेठा वाङ्गदी र कान्छो लाक्पा शेर्पा हुन् । म फिरादीकी आमा किन्जी शेर्पेनीको मिति २०५०।६।२५ मा र पिता पासाङ खम्बाछे शेर्पाको मिति २०५३।१।३१ मा परलोक भयो । पिताको जन्मस्थान सोलुखुम्बु भए तापनि नेपाल सरकार कृषि मन्त्रालयअन्तर्गत प्राविधिक पदमा रही नोकरी गर्दाको सिलसिलामा विभिन्न ठाउँहरू जस्तै ललितपुर, पोखरा र मुस्ताङमा गई सेवा गर्दै आइरहेकोमा अंशबन्डा नहुँदै पिताको परलोक भयो ।  पिताको परलोकपछि हामी वादी प्रतिवादीहरू एकासगोलमा ललितपुर जिल्ला ललितपुर उपमहानगरपालिका वडा नं. ३ को घरमा बस्दै आएका थियौं । पिताको जागिरको समयमा मपनि साथमा रहँदै आएकोमा आजभन्दा पाँच वर्षअघि म ट्रेकिङ्गको काममा विभिन्न ठाउँमा जाने गरेको र मेरा बालबच्चा कान्छी आमा विपक्षीसँग बस्दै आएका, पिताजीको परलोकपछि मेरो परिवारलाई घृणा गरेका हुँदा सगोलमा बस्ने अवस्था नभएको र पिताको सम्पूर्ण सम्पत्ति विपक्षीको कब्जामा रहेकोले आफ्नो अंश भाग माग गर्दा बाबुको वर्षदिनको काम  नसकेसम्म अंशको कुरा नगर अहिले अन्यत्र कोठा लिएर बस भनेकाले विपक्षीको कुरामा विश्वास गरी कोठा बहालमा लिएर बस्दै आएको थिएँ । पिताको वर्षदिनको काम सकिएपछि विपक्षीसँग आफ्नो भाग अंश माग गर्दा विपक्षीले तिमी मेरो अंशियार होइनौं म अंश दिन सक्दिन भनी अंश नदिएपछि अन्यायमा परी अदालतसमक्ष उपस्थित भएको छु । पिता जागिरको सिलसिलामा जहाँ जहाँ जानुभयो त्यहाँ सम्पत्ति जोड्नुभएकाले केही सम्पत्ति सोलुखुम्बुमा, केही सम्पत्ति ललितपुरमा, केही सम्पत्ति पोखरामा, केही सम्पत्ति मुस्ताङमा समेत रहेको छ । पिताको शेषपछि निजको अंश हक खाने हकदारमा जेठी आमातर्फबाट म फिरादी र लाक्पा खम्बाछे शेर्पा दुई जना र कान्छी आमातर्फ विपक्षी कान्छी आमा एक, निजका दुई जना नाबालक छोराहरू वाङ्गदी शेर्पा र लाक्पा शेर्पा गरी ३ जना गरी जम्मा ५ अंशियार रहेका छौं । स्व. पिता पासाङ खम्बाछे शेर्पाका नाउँमा रहेको चल अचल सम्पत्तिका हकदार पाँचजना अंशियार रहेकाले फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी स्व. पिताको नाममा रहेका र पिताका नामबाट नामसारी गरी कुनै सम्पत्ति विपक्षीका नाममा गएको भए सोसमेतका चल अचल सम्पत्तिको विपक्षीबाट तायदाती माग गरी अंशबन्डाको १७ नं. बमोजिम विवाह खर्चसमेत छुट्‍याई सम्पूर्ण सम्पत्तिको पाँच भाग लगाई सो पाँच भागको एक भाग म फिरादीलाई अंश दिलाई पाउँ भन्नेसमेत व्यहोराको लाक्पा खम्बाछे शेर्पाको फिरादपत्र ।

पति पासाङकी जेठी श्रीमती मेरी सौता किन्जी शेर्पाबाट कुनै सन्तान जायजन्म नभई निःसन्तान रहेकी हुँदा लाक्पा खाम्बाछे शेर्पा मेरा पति तथा सौताको छोरो होइन । निजका पिता छिम्बी शेर्पा र आमा पोसी शेर्पीनी हो । विपक्षीले आफ्नो भाइ भनी स्वीकार गरेको लाक्पा खम्बाछे शेर्पा पनि मेरो पतिको छोरा नभई निजको बाबु पेम्बा गोर्जा शेर्पा र आमा लाकु शेर्पेनी हो । निजबाट जेठो छोरा लाक्पा शेर्पा, माइला काजी शेर्पा, साइला आम्बाबु शेर्पा, कान्छा पासाङ ग्लाल्चाङ्ग शेर्पा गरी चार छोरा र निमा शेर्पेनी, कामी डोमा शेर्पेनी, माया शेर्पेनी गरी तीन छोरीको जायजन्म भई जीवितै रही सोलुखुम्बु निमार गाउँ विकास समितिमा नै बसोबास गरी आएका छन् । फिरादी लाक्पा खम्बाछे शेर्पा, छिम्बी शेर्पा तथा पोसी शेर्पेनीको कोखबाट जायजन्म भएकोमा मेरो सम्पत्ति खाने कुनियत चिताई आफ्नो पिताको नाम ढाँटी मेरो पति तथा सौताको छोरा हुँ भनी झुठ्ठा विवरण दिई कीर्ते जालसाजीबाट नागरिकता बनाई सोका आधारमा अंश माग गर्न खोजेका छन् । कीर्ते नागरिकता बनाएउपर कीर्ते जालसाजीमा छुट्टै फिराद गर्ने नै छु । लाक्पा खम्बाछे शेर्पाले सरकारी जागिर खाँदा आफ्नो पिताको नाम छिम्वी शेर्पा उल्लेख गरी जागिर खाएका र कीर्ते जालसाजी नागरिकताको आधारमा जिल्ला प्रशासन कार्यालय, सोलुखुम्बुमा गई झुट्ठो नाता प्रमाण पत्र लिएको देखिएकाले सो नाता प्रमाण पत्र बदर भइसकेको छ । विपक्षीका पिता छिम्बी शेर्पा सौता किन्जीको भाइ नाताका व्यक्ति हुन्। निजले भाइ भनी स्वीकारेका लाक्पा खम्बाछेसमेतले आफ्नो स्थायी ठेगाना सोलुखुम्बु जिल्ला निमार गाउँ विकास समिति भन्ने नखुलाई अन्यत्रको ठेगाना देखाई ललितपुर जिल्लाबाट नागरिकता प्रमाण पत्र नं. ४६२१७ मिति २०४६।७।६ मा झुट्ठा नागरिकता बनाएका हुन् । निजका बाबुको पेम्बा गोर्जा शेर्पा र आमा लाकु शेर्पेनी मेरा पति पासाङ खम्बाछे शेर्पका ठूलो बाबुको नाति वा भतिज नाताका व्यक्ति हुन् । यसरी नाता ठेगानासमेत नमिलेकोबाट फिरादी म प्रतिवादीको छोरा नाताको व्यक्ति नभएको प्रस्टै हुन्छ । मेरा पति तथा सौताको छोरा हुँ भनी दाबी लिने विपक्षी निजहरूको मृत्यु हुँदा देखासम्म नपरेका र काजकिरियासमेत नगरेका एवं पति जीवित हुँदा छोरा हुँ भन्ने दाबी नगरी बसेका र मेरा पतिको मृत्यु भएपछि जालसाजीपूर्ण तवरबाट नागरिकता बनाई सोका आधारमा अंशमा दाबी गरेको प्रस्टै छ । अंश मुद्दामा नाता सम्बन्धकै विवाद भएको हुँदा नाता सम्बन्धमा यकिन नै नगरी विपक्षीको अंशमा दाबी लाग्न नसक्ने हुँदा हकदैयाविहीन फिराद खारेज गरी न्याय पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी ओमकुमारी शेर्पाको प्रतिउत्तर पत्र ।

मेरा पतिको बाबुको नाम जिकु हो । जिकुको बाबुको नाम डोल्बु हो । डोल्बुको छोरा जिकु हो । जिकुको तीनवटा छोरामा जेठो र माहिलोको नाम थाहा छैन । निजहरूको पहिला नै मृत्यु भइसकेको छ । कान्छा मेरो पति पासाङ खम्बाछे शेर्पा हो । पासाङका दुई श्रीमतीमा जेठी किन्जी र कान्छी म ओमकुमारी शेर्पा भएकोमा जेठी श्रीमती निःसन्तान भई २०५० सालमा मृत्यु भएको, पति पासाङको २०५३ सालमा मृत्यु भएको हो। हाल तीनवटा छोरा वाङ्गदी, लाक्पा र दावा तथा एक छोरी रसी रहेका छन् । लाक्पा खम्बाछे शेर्पा मेरा पतिकी जेठी श्रीमती किन्जीको भाइको छोरा हुन्, मेरो भदा नाता पर्छ भन्नेसमेत व्यहोराको प्रतिवादी ओमकुमारीको ललितपुर जिल्ला अदालतसमक्षको बयान । 

मेरा बाबुको नाम पासाङ खम्बाछे शेर्पा, बाजेको जिकु खम्बाछे शेर्पा हो । मेरा बाबुका दुई श्रीमतीमा जेठी किन्जी शेर्पा र कान्छी ओमकुमारी शेर्पा हो । जेठी तर्फका दुईवटा छोराहरूमा जेठो म लाक्पा खम्बाछे शेर्पा र कान्छा लाक्पा खम्बाछे शेर्पा हौँ । हामीहरू दुवैको नाम एउटै हुन आएको हो । कान्छी आमा ओमकुमारीतर्फका छोरामा जेठो वाङ्गदी र कान्छो लाक्पा हो छोरी छैनन् । पासाङ शेर्पाको मिति २०६३।१।३१ मा मृत्यु भएको हो । ओमकुमारी मेरी कान्छी आमा हुन् भन्नेसमेत व्यहोराको फिरादी लाक्पा खम्बाछे शेर्पाको ललितपुर जिल्ला अदालतसमक्षको बयान । 

लाक्पा खम्बाछे शेर्पालाई २०२९।०३० सालदेखि एउटै स्कुल काठमाडौं विजय मेमोरियल हाईस्कुलमा सँगै पढ्दादेखि चिनजान छ । कहिलेकाहीँ उनको घरमा जाँदा मेरो बुबा हो भनेर लाक्पा शेर्पाले चिनाएको हो । मैले सुनेअनुसार लाक्पा शेर्पाकी आमा सोलु सल्लेरीमा बस्नु हुन्थ्यो । मैले वादीकी आमालाई देखेको र चिनेको छैन । पुर्ख्यौली घर सोलु सल्लेरी हो पछि ललितपुर पुल्चोक हो भन्नेसमेत व्यहोराको वादीका साक्षी प्रेमबहादुर लामाको बकपत्र । 

म छिमेकी हुँ । आमा छोराको झगडा थाहा छैन । वादीका पिताका दुईवटी श्रीमती हुन् । पहिलो मरिसकेकी छन् । जेठीका सन्तान भएको मैले 

देखिन । नागरिकता प्रमाण पत्र बनाएको विषयमा मलाई थाहा छैन । लाक्पा भन्ने एउटा भतिजा र अर्को भदा छ । उस बखतमा श्रीमती कोही थिएनन् । हामी छिमेकी भए पनि यसबारेमा थाहा छैन भन्नेसमेत व्यहोराको प्रतिवादीका साक्षी श्रीप्रसाद बुढाथोकीको बकपत्र । 

स्व. पासाङ खम्बाछे शेर्पाकी जेठी श्रीमती किन्जी शेर्पेनीको तर्फबाट छोरा म फिरादी जेठो लाक्पा खम्बाछे शेर्पा र कान्छो लाक्पा शेर्पा पनि छ । प्रतिवादी ओमकुमारी शेर्पेनी मेरी सौतेनी आमा हुनुहुन्छ भनी फिरादी जेठो लाक्पा खम्बाछे शेर्पाले निजका पिताबाट अंश नपाएको भन्ने अंश दाबी गरेको, प्रतिवादीतर्फबाट नातामा विवाद देखाई निज लाक्पा खम्बाछे पासाङ खम्बाछे शेर्पाको छोरो होइन भनी जिकिर लिएको, फिरादीले पासाङ खम्बाछे शेर्पा मेरा पिता हुन् भनी बयान गरी निज विजय मेमोरियल स्कुलमा ६ कक्षा पास भई ७ कक्षामा जाँदा २०२९ सालमा दिएको चारित्रिक प्रमाण पत्रमा निजका पिता पासाङ खम्बाछे शेर्पा भनी उल्लेख भएको र निज फिरादीले बाली विज्ञान महाशाखामा निम्नस्तर प्राविधिक एल.टी. २ मा नोकरी गर्दा पिताको नाम पासाङ खम्बाछे उल्लेख भएको देखिन्छ । पिताको नामबाट नागरिकता लिएको र २०५३ सालमा पासाङ खम्बाछे शेर्पाको परलोक भएपछि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुबाट मिति २०५३।२।२८ मा नाता प्रमाणित गरिएको पत्र देखिएकाले यसरी पासाङ खम्बाछे शेर्पा जीवित हुँदाको अवस्थामा फिरादीलाई पटक पटक छोरा स्वीकार गरेको कागज प्रमाणहरू देखिएको, यी फिरादीका पिता पासाङ खम्बाछे शेर्पा भन्ने देखिएकाले वादी प्रतिवादीहरू नाता तथा अंशियार भन्ने देखिएको र पितासमेतबाट वादीले कानूनबमोजिम अंश पाएको नदेखिएकोले फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी दुवैतर्फबाट तायदाती फाँटवारी माग गर्ने भन्नेसमेत व्यहोराको ललितपुर जिल्ला अदालतको मिति २०६१।८।१४ को आदेश ।

वादी सानो छँदादेखि नै आफ्नो बाबुको नाम पासाङ खम्बाछे भनी उल्लेख गर्नु र स्वयम्‌ पासाङका आफ्नो जीवनकालका क्रियाले पनि यी वादीलाई आफ्नो छोरा हुन् भनी स्वीकारी फाराम प्रमाणित गर्ने, नागरिकता प्रमाण पत्रको लागि सिफारिस गराउने, नागरिकता प्रमाण पत्रसमेतका क्रियाकलाप एवं व्यवहारबाट समेत वादी लाक्पा खम्बाछे शेर्पा प्रतिवादी पासाङ खम्बाछे शेर्पाका छोरा देखिएको हुँदा वादी र प्रतिवादी ओमकुमारी शेर्पासमेत अंशियार नाताका व्यक्ति ठहरेकाले वादीले प्रतिवादीबाट अंश पाउने ठहर्छ । प्रतिवादीले आफ्नो फाँटवारीमा ऋणसमेत देखाएकोमा साहुले पक्रेका बखत कानूनबमोजिम हुने नै हुँदा सो ऋण सम्बन्धमा बोली रहन परेन । वादी प्रतिवादीका फाँटवारीबाट देखिएको घर जग्गासमेतका अचल सम्पत्तिबाट ५ खण्डको १ खण्ड अंश वादीले प्रतिवादी ओमकुमारी शेर्पासमेतबाट पाउने र चलन चलाई पाउनेसमेत ठहर्छ भन्नेसमेत व्यहोराको ललितपुर जिल्ला अदालतको मिति २०६३।७।२० को फैसला । 

विपक्षी वादीको नागरिकतामा भएको ठेगाना र मिति २०५१।६।१० मा कर्मचारीको वैयक्तिक विवरण मार्फा मुस्ताङमा भरेको सिटरोलको ठेगानासमेतले विपक्षी अन्यायी मेरा पति पासाङ खम्बाछे शेर्पाको छोरा होइन भन्ने प्रस्टै छ । फिरादी लाक्पा खम्बाछे शेर्पा र अर्का लाक्पा खम्बाछे शेर्पा पिता पासाङ खम्बाछे र आमा किन्जी शेर्पाबाट जायजन्म भएको भन्ने उल्लेख गरे पनि कुन लाक्पा खम्बाछे शेर्पा पहिले र कुन लाक्पा खम्बाछे शेर्पा पछि जन्मियो भन्ने कुरा पुष्टि गर्न सकेको छैन । म पुनरावेदिकाको विवाह हुनुभन्दा पहिला नै वादीको जन्म भएको देखिएकोले मेरो छोरा होइन भन्ने कुरा पति पासाङ खम्बाछेले २०३७।१।९ मा भरेको सिटरोलमा छोरा छोरी छैन भनी भनेबाट प्रस्टै हुन्छ । विपक्षी अन्यायीले झुट्ठा विवरण दिई नेपाली नागरिकता लिएको मुद्दामा पुनरावेदन अदालत, पाटनबाट आरोपित कसुर ठहर हुने गरी नागरिकता बदर हुने ठहरी मिति २०५६।६।३ मा फैसला भएको छ । बदर भएका प्रमाणको आधारमा डि.एन.ए. परीक्षण नगरी विपक्षी अन्यायीलाई गैरकानूनी तवरबाट छोरा कायम गरी अंश पाउने गरी भएको मिति २०६३।७।२० को ललितपुर जिल्ला अदालतको फैसला प्रमाण ऐन, २०३१ को दफा ३, ३४, ५४, मुलुकी ऐन अ.बं. १८४, १८५(क) र १८६ नं. विपरीत भएकाले उक्त फैसला बदर गरी न्याय पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी ओमकुमारी शेर्पाको पुनरावेदन अदालत, पाटनमा परेको पुनरावेदन पत्र ।

यसमा यिनै वादीले प्रतिवादीको लोग्ने पासाङलाई बाबु बनाई लिएको नागरिकता नै झुट्ठा विवरण दिई लिएको कारण बदर हुने ठहरी यसै अदालतबाट मिति २०६५।६।३ मा फैसला भएको अवस्थामा त्यसतर्फ प्रमाणको मूल्याङ्कन नै नगरी नाता कायम गरी अंश पाउने ठहराएको सुरूको इन्साफ फरक पर्न सक्ने हुँदा अ.बं. २०२ नं. बमोजिम प्रत्यर्थी झिकाई नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालतबाट २०६४।७।२७ मा भएको आदेश ।

झुट्ठा विवरण दिई नेपाली नागरिकता लिएको मुद्दामा भएको फैसलाउपर पुनरावेदन परी सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थासमेत छ । अंश दिलाउन लिएको आधार नै नागरिकतासम्बन्धी मुद्दामा खण्डित गरी यसै अदालतबाट पहिले नै फैसला भएको स्थितिमा प्रस्तुत मुद्दामा सुरूले दाबीबमोजिम अंश पाउने गरेको फैसला कायम राख्‍न मिल्ने अवस्था नदेखिँदा सुरू ललितपुर जिल्ला अदालतको फैसला मिलेको नदेखिएकाले सो फैसला उल्टी भई वादी दाबी पुग्न नसक्ने ठहर्छ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, पाटनको मिति २०६४।११।१४ को 

फैसला ।

वादी एवं प्रतिवादीबीच नातामा कुनै विवाद नभएको अवस्थामा वादी दाबीबमोजिम अंश दिलाई दिनुपर्नेमा झुठ्ठा विवरण दिई नागरिकता लिएको भनिएको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन परी विचाराधीन रहेको भनी वादी दाबी पुग्न नसक्ने ठहर्‌याएको पुनरावेदन अदालत, पाटनको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला उल्टी गरी सुरू ललितपुर जिल्ला अदालतबाट भएको फैसला सदर कायम गरिपाउँ भन्नेसमेत व्यहोराको वादी लाक्पा खम्बाछे शेर्पाको यस अदालतमा परेको पुनरावेदन पत्र ।

यसमा यसै लगाउको झुठ्ठा विवरण दिई नागरिकता लिएको भन्ने मुद्दामा विभिन्न आधार र कारणहरू खुलाई मिति २०५८।३।४ मा मुलुकी ऐन अ.बं. २०२ नं. बमोजिम विपक्षी झिकाउने आदेश यस अदालतबाट भएकोले सो मुद्दाका आधार र कारणहरूले प्रस्तुत मुद्दामा प्रभाव पार्ने भएको हुँदा यस मुद्दामा पनि छलफलको लागि मुलुकी ऐन अ.बं. २०२ नं. बमोजिम प्रत्यर्थी झिकाई लगाउका मुद्दासमेत साथै राखी नियमानुसार पेस गर्नु भन्ने यस अदालतको मिति २०६५।१०।२२ को आदेश ।

पुनरावेदक वादी प्रत्यर्थी प्रतिवादीका अंशियार कायम हुने नदेखिएकाले पुनरावेदन अदालत, पाटनबाट अंशमा वादीको दाबी नपुग्ने ठहर गरी भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्नेसमेत व्यहोराको यस अदालतको मिति २०६६।११।१३ को फैसला ।

प्रत्यर्थी प्रतिवादीका पति स्व. पासाङ खम्बाछे शेर्पा मेरा पिता रहेको भनी म निवेदकले पेस गरेका प्रमाणहरूको विवेचनासम्म नगरी अंश मुद्दामा म निवेदकले अंश नपाउने ठहर गरी सम्मानित अदालतबाट भएको फैसला त्रुटिपूर्ण रहेको छ । झुट्ठा विवरण दिई नेपाली नागरिकता लिएको मुद्दामा यस सम्मानित अदालतबाट म निवेदकले सफाइ पाउने ठहर गरी फैसला भएको तथ्यसमेतबाट प्रत्यर्थी प्रतिवादी र निवेदकबीच सौतेनी आमा र छोराको नाता रही म निवेदक प्रत्यर्थी प्रतिवादीको अंशियार नाताको भन्ने पुष्टि भएको अवस्थामा स्व. पिता पासाङ खम्बाछे शेर्पाले भरेको सिटरोलमा छोरा छोरीको महलमा कट्टी चिह्न (x)  लगाई भतिजी निसा शेर्पालाई इच्छाएको देखिएको, प्रतिवादी ओमकुमारीका पति पासाङ खम्बाछे शेर्पाको स्थायी ठेगाना सोलुखुम्बु जिल्ला गार्मा गा.वि.स. वडा नं. ३ भएकोमा निवेदक वादीको ठेगाना ऐ. गार्मा गा.वि.स. वडा नं. ७ उल्लेख गरेको देखिएको भनी मलाई अंश हकबाट वञ्चित गर्ने गरी सम्मानित अदालतबाट भएको फैसला ने.का.प. २०४९ नि.नं. ४४६७ पृष्ठ १२७, ने.का.प. २०४५ नि.नं. ३३५१ पृष्ठ ९२, ने.का.प. २०४५ नि.नं. ३३६ पृष्ठ १३३समेतमा सम्मानित अदालतबाट प्रतिपादित नजिर सिद्धान्तसमेतको प्रतिकूल रहेकाले प्रस्तुत मुद्दा न्याय प्रशासन ऐन, २०४८ को दफा ११(१)(ख) बमोजिम पुनरावलोकन गरी हेरी यस अदालतबाट मिति २०६५।११।१३ मा भएको फैसला उल्टी गरी ललितपुर जिल्ला अदालतबाट मिति २०६३।७।२० मा भएको फैसला सदर गरी इन्साफ पाउँ भन्नेसमेत व्यहोराको वादी लाक्पा खम्बाछे शेर्पाको यस अदालतमा पुनरावलोकनका लागि परेको निवेदन । 

प्रस्तुत मुद्दा पर्नु अगावै निवेदक वादीले मिति २०२९।२।२० मा विजय मेमोरियल हाईस्कुल डिल्लीबजारबाट प्राप्त गरेको चारित्रिक प्रमाण पत्रमा निजका पिताको नाम पासाङ खम्बाछे शेर्पा भन्ने उल्लेख भएको देखिन्छ । यसैगरी मिसिल संलग्न लोक सेवा आयोगद्वारा प्रकाशित बगैँचे पदको लागि मिति २०४६।७।११ मा निवेदकले दर्ता गराएको दरखास्त फाराममा समेत पिताको नाम पासाङ खम्बाछे शेर्पा उल्लेख भई मिति २०४८।१।५ मा भरेको निजामती कर्मचारीको नोकरी तथा वैयक्तिक विवरण सिटरोलमा समेत सोही व्यहोरा उल्लेख भएको र कार्यालय प्रमुखको हैसियतमा पासाङ खम्बाछे शेर्पाले नै निवेदकको फोटोसमेत प्रमाणित गरेको भन्ने देखिन आउँछ । यसका साथै निवेदकले मिति २०४६।३।१८ मा पासाङ खम्बाछे शेर्पाको छोरा भनी जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट नागरिकता लिएको र मिति २०५३।३।२८ मा जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुबाट निजै पासाङ खम्बाछेलाई पिता देखाई नाता प्रमाणित गराई लिएको देखिएको छ । उपरोक्त नाता प्रमाणित प्रमाण पत्रउपर प्रत्यर्थी ओमकुमारी शेर्पीनीसमेतको उजुर परी जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुबाट मिति २०५३।९।११ मा बदर भएकोमा सोउपर निवेदकको यस अदालतमा उत्प्रेषणको रिट परी मिति २०५५।११।२५ को आदेशबाट नाता प्रमाण पत्र बदर गर्ने गरेको निर्णय बदर भएको देखिन्छ । साथै यिनै प्रत्यर्थी ओमकुमारीको जाहेरीबाट चलेको लगाउको फौ.पु.नं. ०६५-CR-०१४८ को झुट्ठा विवरण दिई नागरिकता लिएको भन्ने मुद्दामा वादी पक्षको दाबी नठहरी निवेदक प्रतिवादीले सफाइ पाउने ठहरी एकै दिन फैसला भइरहेको परिप्रेक्ष्यमा यी निवेदक वादी लाक्पा खम्बाछे शेर्पा पासाङ खम्बाछे शेर्पाकै छोरा हुन् भन्ने देखिइरहेको अवस्थामा मिसिल संलग्न उपरोक्त प्रमाण र लगाउको नागरिकता मुद्दामा भएको फैसला प्रतिकूल प्रस्तुत अंश मुद्दामा नाता सम्बन्ध नै विवादित भएको भनी दाबी नपुग्ने ठहर्‍याई भएको यस अदालत संयुक्त इजलासको मिति २०६६।११।१३ को फैसला ने.का.प. २०४९ नि.नं. ४४६७ पृष्ठ १२७, ने.का.प. २०४५ नि.नं. ३३५१ पृष्ठ ९२, ने.का.प. २०४५ नि.नं. ३३६१ पृष्ठ १३३ र ने.का.प. २०५२ नि.नं. ५०२९ पृष्ठ ६९ मा प्रतिपादित सिद्धान्तसमेतको प्रतिकूल देखिएकाले न्याय प्रशासन ऐन, २०४८ को दफा ११ को उपदफा (१) को खण्ड (ख) बमोजिम प्रस्तुत मुद्दा पुनरावलोकन गरी हेर्ने निस्सा प्रदान गरिएको छ भन्नेसमेत व्यहोराको यस अदालतको मिति २०६९।८।८ को आदेश ।

नियमबमोजिम पेसी सूचीमा चढी इजलाससमक्ष निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक लाक्पा खम्बाछे शेर्पाको तर्फबाट विद्वान्‌ अधिवक्ताहरू श्री योगराज सुवेदी, श्री बच्चु सिंह खड्का तथा श्री प्रकाश थापाले पुनरावेदक लाक्पा खम्बाछे शेर्पा प्रत्यर्थी प्रतिवादीका पति पासाङ खम्बाछे शेर्पाका छोरा रहेको भन्ने मिति २०२९।२।२० मा पुनरावेदकका नाममा विजय मेमेरियल हाईस्कुलबाट दिइएको चारित्रिक प्रमाण पत्र, मिति २०४६।७।११ मा बगैंचे पदको लागि भरेको लोक सेवा आयोगको दरखास्त फाराम, नागरिकता प्रमाण पत्रका लागि मिति २०४६।३।८ मा गरिएको सिफारिसको आधारमा जिल्ला प्रशासन कार्यालयबाट लिइएको नागरिकता, झुट्ठा नागरिकतासम्बन्धी मुद्दामा मिति २०६६।११।१३ मा पुनरावेदकलाई सफाइ दिने गरी भएको सम्मानित अदालतको फैसला, पुनरावेदकले मिति २०४८।१।५ मा भरेको सिटरोलको फोटोमा प्रमुख कृषि अधिकृत रहेका पुनारावेकका बाबु पासाङ खम्बाछे शेर्पा स्वयम्‌ले प्रमाणित गरिदिएको तथ्य, अदालतबाट परीक्षण भई कायम रहेको मिति २०५३।३।२८ मा जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुबाट तयार गरेको नाता प्रमाण पत्रसमेतका तथ्यबाट देखिँदा पुनरावेदक वादी प्रत्यर्थी प्रतिवादी ओमकुमारी शेर्पाका सौतेनी छोरा हुन् भन्ने पुष्टि भइरहेको छ । प्रत्यर्थी प्रतिवादी स्वयम्‌ले पासाङ खम्बाछेकी जेठी पत्‍नी पुनरावेदककी आमाबाट जायजन्म भएको र छोराको मृत्यु भएको भनी खुलाए पनि सो पुष्टि गर्न नसकेको एवं पुनरावेदकका पिता पासाङ खम्बाछे शेर्पा नभई अन्य भएको भन्ने कहीँकतैबाट पुष्टि हुन सकेको छैन । वंशजको आधारमा पुनरावेदकले प्राप्त गरेको नागरिकतासम्बन्धी मुद्दामा पुनरावेदकले सफाइ पाएको अवस्थामा अंश मुद्दामा नातामा विवाद रहेको भनी अंश जस्तो नैसर्गिक अधिकारबाट पुनरावेदकलाई वञ्चित गर्ने गरी भएको पुनरावेदन अदालत, पाटनको फैसलालाई सदर गरी भएको सम्मानित अदालतको संयुक्त इजलासको फैसला आत्मनिष्ठ भई सम्मानित अदालतबाट प्रतिपादित नजिर सिद्धान्तसमेतको विपरीत हुँदा उक्त फैसला उल्टी गरी वादी दाबी पुग्ने गरी भएको ललितपुर जिल्ला अदालतको फैसला सदर हुनुपर्ने भन्ने बहस प्रस्तुत गर्नुभयो । 

प्रत्यर्थी प्रतिवादी ओमकुमारी शेर्पाको तर्फबाट विद्वान्‌ अधिवक्ताहरू श्री शंकर लिम्बु, श्री भीम राई, श्री रामहरि श्रेष्ठ तथा श्री दिनेशकुमार घलेले पुनरावलोकनका लागि परेको निवेदन नै हदम्यादविहीन रहेको छ । पटक पटक एउटै प्रमाणको विश्लेषण गर्दा फैसला अन्तिमताको सिद्धान्तविपरीत हुन जाने र पुनरावलोकनको निस्सा प्रदान गर्दा उल्लेख गरिएका नजिरहरू प्रस्तुत मुद्दामा सान्दर्भिक नै नभएका हुँदा निस्साकै आधारमा प्रथमतः विचार गरी पुनरावलोकनका लागि प्रदान गरिएको निस्सामा मात्रै सीमित भई हेरिनु पर्छ । मिति २०२९।२।२० को चारित्रिक प्रमाण पत्रमा पुनरावेदकका बाबुको नाम पासाङ खम्बाछे शेर्पा उल्लेख गरेको भए पनि ठेगाना उल्लेख नगरिएको, सो प्रमाण पत्रका आधारमा पुनरावेदकको जन्ममिति २०१६।७।२ हुने देखिए पनि नागरिकतामा २०१६।९।११ उल्लेख भई पुनरावेदकको जन्म मिति नै एक आपसमा मिलेको छैन । नागरिकतासम्बन्धी मुद्दामा फैसला हुँदा पुनरावेदक वादी प्रत्यर्थी प्रतिवादी ओमकुमारीका पति पासाङ खम्बाछेका छोरा नभई अर्कै व्यक्तिका छोरा भएको भन्ने देखिएको छ । पुनरावेदक वादीले जागिर खाँदा भरेको सिटरोल फाराममा बाजेको नाम छिमी शेर्पा उल्लेख गरी बाबुको पेसा कृषि भनी खुलाएको, पासाङ खम्बाछे शेर्पाले २०३७ सालमा भरेको सिटरोलको छोराछोरीको महलमा क्रस गरी छोराछोरी नभएको भन्ने पुष्टि भएकोसमेतबाट प्रत्यर्थी प्रतिवादीका पति पासाङ खम्बाछेकी पहिली पत्‍नी निःसन्तान भएको भन्ने कुरालाई पुष्टि गरेको छ । पुनरावेदकले नागरिकतासम्बन्धी मुद्दामा अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा बाजेको नाम किपा शेर्पा हो, किन्जी शेर्पा दिदी र पासाङ खम्बाछे शेर्पा भिनाजु भएकाले निजहरूले नै धर्मपुत्रसरह पालेका भन्दै स्थायी ठेगाना सोलुखुम्बु जिल्ला गार्मा गा.वि.स. वडा नं. ७ भनी खुलाएका र पासाङ खम्बाछेको मृत्युपछि मात्रै प्रस्तुत अंश मुद्दा दायर गरेबाट पुनरावेदक वादीले बद्‌नियत चिताई प्रस्तुत अंश मुद्दा दिएको पुष्टि हुन्छ । पुनरावेदक र प्रत्यर्थीको पुस्तेवारी नै नमिलेको अवस्थामा विद्यालयबाट प्राप्त चारित्रिक प्रमाण पत्रमा बाबुको नामसम्म मिलेको भन्ने आधारमा किपाको नातिलाई जिकुको नाती भनी अंश दिन मिल्दैन । २०५४।७।२५ को कृषिको पत्रबाट पुनरावेदकको सिटरोलमा रहेको बाबुको नाम सच्याएको भन्ने खुलेबाट पासाङको मृत्यु नभएसम्म पुनरावेदकले भरेको सिटरोलमा बाबुको नाम अर्कै भएकोमा पासाङको मृत्यु भएपछि बाबुको नाम सच्याइएको भन्ने तथ्यलाई जिल्ला अदालतबाट समेत विश्लेषण गरिएको छ । विपक्षी लाक्पा खम्बाछे र निजका भाइ भनिएका लाक्पा खम्बाछेले ३ महिनाको फरकमा दुई जिल्लाबाट नागरिकता लिएकोबाट पनि पुनरावेदकको दुषित मनसाय प्रस्टै हुन्छ । त्यस्तै नागरिकताको लागि सिफारिस गर्दा पुनरावेदक पासाङ खम्बाछेका छोरा हुन् भनी प्रस्टै खुलाउन सकेको देखिँदैन । प्रत्यर्थी प्रतिवादीका साक्षीको बकपत्रबाट पासाङ खम्बाछेकी जेठी श्रीमती निःसन्तान रहेको र पुनरावेदक लाक्पा खम्बाछे प्रत्यर्थीका पति पासाङ खम्बाछेका छोरा होइनन् भनी खुलाएको समेतका समग्र प्रमाणहरूको विवेचना गरी भएको सम्मानित अदालतको संयुक्त इजलासको फैसला सदर हुनुपर्ने भन्ने बहस प्रस्तुत गर्नुभयो । 

उल्लिखित बहस सुनी मिसिल संलग्न तथ्य एवं प्रमाणको अध्ययन गरी हेर्दा यस अदालतको संयुक्त इजलासबाट भएको फैसला मिलेको छ, छैन र पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्छ सक्दैन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो । 

२. निर्णयतर्फ विचार गर्दा स्व. पासाङ खम्बाछे शेर्पाका दुई श्रीमतीमा जेठी स्व. किन्जीबाट फिरादीसहित दुई छोरा र कान्छी प्रतिवादी ओमकुमारी शेर्पाबाट दुई छोरासमेत हाल ५ अंशियार रहेका हुँदा स्व. पिता पासाङ खम्बाछेका नामको तथा पासाङ खम्बाछेका नामबाट प्रतिवादी ओमकुमारीका नाममा आएका चल अचल सम्पत्तिबाट पाँच भागको एक भाग फिरादीको अंश छुट्याई चलनसमेत चलाई पाउँ भन्ने फिराद दाबी रहेकोमा स्व. पासाङ खम्बाछेकी जेठी श्रीमती किन्जी निःसन्तान रहेकी हुँदा वादी दाबी झुट्ठा हो र वादी अंशियार नाताका व्यक्ति नभएकाले अंश दिनुपर्ने होइन भन्ने प्रतिउत्तर जिकिर रहेको 

पाइन्छ । ललितपुर जिल्ला अदालतबाट वादी दाबीबमोजिम वादीले पाँच भागको एक भाग अंश पाउने र चलनसमेत चलाई पाउने ठहर गरी भएको फैसलाउपर प्रतिवादीको पुनरावेदन अदालत, पाटनमा पुनरावेदन परेकोमा पुनरावेदन अदालत, पाटनबाट सुरू फैसलालाई उल्टी गरी वादी दाबी नपुग्ने ठहर गरी फैसला भएको रहेछ । उक्त फैसलाउपर वादीको यस अदालतमा पुनरावेदन परेकोमा यस अदालतको संयुक्त इजलासबाट फैसला हुँदा पुनरावेदन अदालत, पाटनको फैसलालाई सदर गरी भएको फैसलाउपर वादीको पुनरावलोकनका लागि परेको निवेदनमा निस्सा प्रदान भई प्रस्तुत मुद्दा पेस हुन आएको पाइयो । 

३. झुट्ठा विवरण दिई नेपाली नागरिकता लिएको मुद्दामा सम्मानित अदालतबाट निवेदकले सफाइ पाउने ठहरी फैसला भएको तथ्यसमेतबाट प्रत्यर्थी प्रतिवादी र निवेदकबीच सौतेनी आमा र छोराको नाता रही निवेदक प्रत्यर्थी प्रतिवादीको अंशियार नाताको भन्ने पुष्टि भएको अवस्थामा स्व. पिता पासाङ खम्बाछे शेर्पाले भरेको सिटरोलमा छोरा छोरीको महलमा कट्टी चिह्न (x)  लगाई भतिजी निसा शेर्पालाई इच्छाएको देखिएको र पासाङ खम्बाछे शेर्पाको स्थायी ठेगाना सोलुखुम्बु जिल्ला गार्मा गा.वि.स. वडा नं. ३ भएकोमा निवेदक वादीको ठेगाना ऐ. गा.वि.स. वडा नं. ७ उल्लेख गरेको देखिएको भनी अंश हकबाट वञ्चित गर्ने गरी सम्मानित अदालतबाट भएको फैसला त्रुटिपूर्ण हुँदा पुनरावलोकन गरी ललितपुर जिल्ला अदालतबाट मिति २०६३।७।२० मा भएको फैसला सदर गरिपाउँ भन्ने वादीको पुनरावलोकनका लागि परेको निवेदनमा यस अदालतबाट निस्सा प्रदान भई प्रस्तुत मुद्दा पुनरावेदनको रोहमा दायर भएको देखियो । 

४. नागरिकतासम्बन्धी मुद्दामा पासाङ खम्बाछे शेर्पा पुनरावेदकका पिता भएको तथ्यलाई स्वीकार गरी सफाइ दिने गरी सम्मानित अदालतबाट फैसला भई नातामा विवाद नभएको अवस्थामा अंश मुद्दामा नातामा विवाद देखाई अंश हकबाट वञ्चित गर्ने गरी भएको फैसला सम्मानित अदालतबाट प्रतिपादित सिद्धान्तसमेतको विपरीत रहेको भन्ने वादीको पुनरावेदन जिकिरका सम्बन्धमा हेर्दा पुनरावेदक पासाङ खम्बाछे शेर्पा प्रत्यर्थी प्रतिवादी ओमकुमारी शेर्पाका अंशियार नाताका व्यक्ति हुन् होइनन् भन्ने सम्बन्धमा निर्णय गर्नुपर्ने देखियो । 

५. पुनरावेदक वादीले विजय मेमोरियल हाईस्कुल, काठमाडौंबाट प्राप्त गरेको मिति २०२९।२।२० को चारित्रिक प्रमाण पत्रमा स्कुलको रेकर्डअनुसार पुनरावेदक लाक्पा खम्बाछे शेर्पाका बाबुको नाम पासाङ खम्बाछे शेर्पा भनी उल्लेख भएको उक्त प्रमाण पत्रको प्रतिलिपिबाट देखिन्छ । मिति २०४६।७।११ मा पुनरावेदक वादी लाक्पा खम्बाछे शेर्पाले बगैंचे पदको लागि भरेको लोक सेवा आयोगको फाराममा बाबुको नाम पासाङ खम्बाछे शेर्पा भनी खुलाएको मिसिल संलग्न उक्त दरखास्त फारामको प्रतिलिपिबाट देखिन्छ । त्यस्तै निजामती कर्मचारीको नोकरी तथा व्यक्तिगत विवरण फाराममा बाबुको नाम पासाङ खम्बाछे शेर्पा भनी खुलाइएको र सो फाराममा टाँस गरेको फोटोमा पासाङ खम्बाछे शेर्पा आफैँंले कार्यालय प्रमुखको हैसियतले फोटो प्रमाणित गरेको भन्ने मिसिल संलग्न उक्त फारामको प्रतिलिपिबाट देखिन आउँछ । पुनरावेदक वादीको नोकरी तथा व्यक्तिगत विवरण र सिटरोल फाराममा बाबुको नाम पासाङ खम्बाछे शेर्पा उल्लेख भएको भन्ने नेपाल कृषि अनुसन्धान परिषद् बाली विज्ञान महाशाखाको मिति २०५४।७।११ को पत्रको प्रतिलिपिबाट देखिन्छ । 

६. प्रत्यर्थी प्रतिवादी ओमकुमारी शेर्पाले ललितपुर जिल्ला अदालतमा बयान गर्दा पुनरावेदक वादी लाक्पा खम्बाछे पासाङ खम्बाछेकी जेठी श्रीमती किन्जीको भाइको छोरा हो भनी लेखाएको 

देखिन्छ । प्रत्यर्थी प्रतिवादीका साक्षी श्रीप्रसाद बुढाथोकीले बकपत्र गर्दा आमा छोराको झगडामा मलाई थाहा छैन भनी खुलाएको पाइयो । सौता किन्जी शेर्पाबाट कुनै जायजन्म नभई निज निःसन्तान रहेकी भनी प्रत्यर्थी प्रतिवादीले जिकिर लिए पनि प्रत्यर्थी प्रतिवादीका साक्षी नरेन्द्रबहादुर थापाले ललितपुर जिल्ला अदालतमा बकपत्र गर्दा किन्जी शेर्पाबाट जन्मिएका सन्तानको मृत्यु भएको भनी खुलाएका, प्रत्यर्थी प्रतिवादीले झुट्ठा विवरण दिई नागरिकता लिएको भनी यिनै पुनरावेदक वादीउपर चलाएको नागरिकता मुद्दामा काठमाडौं जिल्ला अदालतमा बकपत्र गर्दा जेठी सौता किन्जीबाट २ छोरा भएकोमा दुवैको मृत्यु भएको भनी खुलाएबाट प्रत्यर्थी प्रतिवादीको भनाइमा एकरूपता देखिँदैन । सौता किन्जी शेर्पाबाट जायजन्म भएका भनिएका सन्तानको मृत्यु भइसकेको भनी जिकिर लिने प्रत्यर्थी प्रतिवादी ओमकुमारीले सो जिकिर पुष्टि गर्ने तथ्ययुक्त प्रमाण पेस गर्न सकेकोसमेत देखिएन । 

७. त्यस्तै पुनरावेदक वादीका पिता छिम्बी शेर्पा र आमा पोसी शेर्पेनी हो भनी प्रत्यर्थी प्रतिवादीले जिकिर लिए पनि प्रत्यर्थीको तर्फबाट सो कुरालाई पुष्टि गर्ने तथ्ययुक्त प्रमाण पेस हुन आएको पाइँदैन । पुनरावेदक वादीले मिति २०४६।३।१८ मा जिल्ला कार्यालय काठमाडौंबाट लिएको नागरिकतामा बाबुको नाम पासाङ खम्बाछे शेर्पा भनी उल्लेख गरेको, सो नागरिकता लिँदा राजपत्राङ्कित प्रथम श्रेणीको अधिकारी रहेका पुनरावेदक वादीका पिता पासाङ खम्बाछे शेर्पाले पुनरावेदक वादीलाई साथमा लिएर आई मेरो छोरो हो नागरिकताको लागि सिफारिस गरिदिनु भनी आग्रह गरेको हुँदा नागरिकताको लागि सिफारिस गरेको हुँ भनी नागरिकतासम्बन्धी मुद्दामा ललितपुर जिल्ला अदालतसमक्ष ताम्ला उक्यावले बयान गरेको देखिन्छ ।   

८. पुनरावेदक वादीको नागरिकतामा पिताको नाम पासाङ खम्बाछे शेर्पा भनी उल्लेख गरेका र पुनरावेदक वादी लाक्पा खम्बाछे शेर्पा विरूद्ध परेको झुट्ठा विवरण पेस गरी नागरिकता लिएको भन्ने फौं.पु.नं. ०६५-CR-०१४८ को मुद्दामा वादीका बाबुको नाम पासाङ खम्बाछे शेर्पा रहेको कुरालाई अदालतले स्वीकार गरी सो मुद्दामा नेपाल सरकारको वादी दाबी नपुग्ने र यी पुनरावेदक वादीले सफाइ पाउने ठहरी फैसला भएको नागरिकतासम्बन्धी मुद्दाको प्रमाण मिसिलबाट देखिन्छ । त्यस्तै मिति २०५३।३।२८ मा पुनरावेदक वादीले जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुबाट पासाङ खम्बाछे शेर्पालाई पिता देखाई नाता प्रमाण पत्र लिएकोमा सो प्रमाण पत्र बदरका लागि प्रत्यर्थी प्रतिवादी ओमकुमारी शेर्पेनीसमेतको उजुरी परी भएको कारवाहीमा कारवाही गर्दा जिल्ला प्रशासन कार्यालय, सोलुखुम्बुले उक्त नाता प्रमाण पत्र बदर गरेउपर पुनरावेदक वादीबाट परेको रिट निवेदनमा मिति २०५५।११।२५ मा यस अदालतबाट फैसला हुँदा उक्त मिति २०५३।३।२८ को नाता प्रमाण पत्र बदर गर्ने गरेको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको मिति २०५३।९।११ को निर्णयलाई बदर गरी फैसला भएको मिसिल संलग्न उक्त फैसलाको प्रतिलिपिबाट देखिन्छ । उल्लिखित नागरिकता प्रमाण पत्र र नाता प्रमाण पत्र सम्बन्धमा चलेको मुद्दाबाट पुनरावेदक वादी लाक्पा खम्बाछे शेर्पा प्रत्यर्थी प्रतिवादी ओमकुमारीका पति पासाङ खम्बाछे शेर्पाका छोरा होइन भन्ने प्रत्यर्थी प्रतिवादीको जिकिरसँग सहमत हुन सकिएन । 

९. पुनरावेदक वादी पासाङ खम्बाछे शेर्पाका छोरा हुन् होइनन् भन्ने सम्बन्धमा निर्णय गर्नुपर्नेमा बाजेको नाममा विवाद गरी वादी दाबीभन्दा बाहिर गई अदालत स्वयम्‌ले विवाद सिर्जना गर्न मिल्दैन भन्ने पुनरावेदक वादी लाक्पा खम्बाछे शेर्पाको पुनरावेदन जिकिर रहेतर्फ विचार गर्दा कानूनले सुनिश्चित गरेको अधिकारअनुसार पुनरावेदक वादीले प्रत्यर्थी प्रतिवादीबाट आफ्नो भाग अंश पाउँ भनी अदालतमा मुद्दा परेपछि पुनरावेदक वादी प्रत्यर्थी प्रतिवादीका पति पासाङ खम्बाछेका छोरा नाताका नभएको भनी नातामा विवाद उत्पन्न भएको देखिन्छ । प्रत्यर्थी प्रतिवादीका पति जीवित छँदा नै विद्यालयको रेकर्डमा पुनरावेदक वादीका पिताको नाम पासाङ खम्बाछे शेर्पा लेखाएको, पुनरावेदक वादीले प्रत्यर्थी प्रतिवादीका पति पासाङ खम्बाछे शेर्पाको छोरो भनी २०४६ सालमा नै नागरिकता लिएका र नोकरी विवरण फाराममा समेत बाबुको नाम पासाङ खम्बाछे शेर्पा भनी खुलाएको तथ्यलाई आफ्नो पति जीवित रहेकै अवस्थामा प्रत्यर्थी प्रतिवादीले पुनरावेदक वादी लाक्पालाई आफ्नो पति तथा सौताको छोरो होइन भन्न नसकी पुनरावेदक वादीसँगको आफ्नो नातालाई स्वीकार गरी बसेको र पतिको मृत्युपश्चात् मात्र नातामा विवाद देखाएको पाइन्छ । प्रत्यर्थी प्रतिवादीले पुनरावेदक वादीका बाजे को हुन् भन्ने सम्बन्धमा विवाद उठाएको भन्ने देखिएन । वादी अंशियार नाताका होइनन् भनी नातामा विवाद गर्ने प्रत्यर्थी प्रतिवादीले आफ्नो नातातर्फको दाबी वस्तुगत प्रमाणको आधारमा प्रमाणित गर्नुपर्ने हुन्छ । तर प्रत्यर्थी प्रतिवादीले प्रतिउत्तरपत्रमा जिकिर लिएअनुसार वादीका बाबु छिम्बी र आमा पोसी हो भन्ने प्रमाणित गर्न सकेको देखिँदैन । यसरी उल्लिखत यो वादीउपर चलाएको झुट्ठा विवरण दिई नागरिकताको प्रमाण पत्र लिएको भन्ने मुद्दा तथा नाता प्रमाण पत्र बदरसम्बन्धी कारवाहीको मुद्दासमेतको उल्लिखित प्रमाणहरूबाट पुनरावेदक वादी पासाङ खम्बाछे शेर्पा र पुनरावेदक वादी लाक्पा खम्बाछे शेर्पा बाबु छोरा रहेको पुष्टि हुन आएको देखिँदा पुनरावेदक वादी लाक्पा खम्बाछे शेर्पा र प्रत्यर्थी प्रतिवादी ओमकुमारी सौतेनी आमा छोरा अंशियार नाताभित्रका व्यक्ति नै रहेको भन्ने पुष्टि हुन आयो । 

१०. अब नातामा रहेको विवाद निरूपण भई प्रत्यर्थी प्रतिवादी र पुनरावेदक वादीबीच सौतेनी आमा छोराको नाता कायम हुन आएको अवस्थामा पुनरावेदक वादीले प्रत्यर्थी प्रतिवादीबाट अंश पाउने हुन् होइनन् भन्ने सम्बन्धमा विचार गर्नुपर्ने 

देखियो । सम्पत्तिको अधिकार व्यक्तिको नैसर्गिक अधिकार हो । आफ्ना अंशियारहरूबाट कानूनबमोजिम अंश पाउने अधिकारलाई कानूले संरक्षण गरेको छ । कानूनबमोजिम बाहेक कसैले पनि अंश हकबाट वञ्चित गर्न मिल्दैन । पुनरावेदक वादीलाई अंशियार छोरा नातामा नै इन्कार गरेको अवस्थामा पुनरावेदक वादीले पाउने अंश पाएको भन्ने अवस्था रहँदैन । “वादीलाई दिनु वा बुझाउनु पर्ने कुरा सो कानूनबमोजिम दिए वा बुझाएको छ भनी प्रमाणित गर्ने भार प्रतिवादीको हुनेछ” भन्ने कानूनी व्यवस्था प्रमाण ऐन, २०३१ को दफा २७ (२) ले गरेको छ । सो व्यवस्थाअनुसार पुनरावेदक वादी पासाङ खम्बाछे शेर्पाले पाउने अंश लिए पाएको भन्ने नदेखिएको र पुनरावेदक वादी प्रत्यर्थी प्रतिवादीका सौतेनी छोरा भई अंशियार रहेकाले निजले कानूनबमोजिम आफ्नो अंश लिन पाउने नै देखियो । 

११. यसै सन्दर्भमा “जन्मको नाताबाट छोराले अंश पाउने कुरा हो, जन्म जीवित छोरालाई लोप गर्दैमा अंश हक लोप हुँदैन” भनी तुलसीरत्‍नको मु.स. गर्ने त्रिरत्‍न विरूद्ध लोकसाङ्ग नामग्यालको मुद्दा (ने.का.प. २०४९ नि.नं. ४४६७ पृष्ठ १२७) मा सिद्धान्तसमेत प्रतिपादन भएको देखिन्छ । उल्लिखित सिद्धन्त एवं कानूनी व्यवस्थाअनुसार प्रस्तुत मुद्दामा पुनरावेदक वादी लाक्पा खम्बाछे शेर्पा प्रत्यर्थी प्रतिवादी ओमकुमारीका पति पासाङ खम्बाछे शेर्पाका छोरा भन्ने देखिएको एवं निज पुनरावेदक वादीले अंश लिएको भन्ने नदेखिएको अवस्थामा निज पुनरावेदक वादीले प्रत्यर्थी प्रतिवादीबाट अंश पाउने नै देखिन्छ । 

१२. अब पुनरावेदक वादीले के कति अंश पाउने हुन् भन्ने सम्बन्धमा हेर्दा पासाङ खम्बाछे शेर्पाको तथा निजकी जेठी पत्‍नी किन्जी शेर्पाको पहिले नै मृत्यु भइसकेकाले जीवित अंशियारमा किन्जीतर्फका २ छोराहरू पुनरावेदक वादी लाक्पा खम्बाछे शेर्पा-१ र निजका भाइ प्रस्तुत मुद्दाको लगाउमा रही आज यसै इजलासबाट फैसला भएको ०७२-NF-०००८ को अंश चलन मुद्दाका पुनरावेदक वादी लाक्पा खम्बाछे शेर्पा-१, प्रत्यर्थी प्रतिवादी ‍ओमकुमारी शेर्पातर्फबाट जन्मिएका वाङ्गदी शेर्पा-१ र लाक्पा शेर्पा-१ तथा प्रत्यर्थी प्रतिवादी ओमकुमारी शेर्पा-१समेत जम्मा ५ अंशियार रहेको देखियो । वादीले पनि पासाङ खम्बाछे शेर्पाका नाममा रहेको तथा पासाङ खम्बाछे शेर्पाका नामबाट प्रत्यर्थी प्रतिवादी ओमकुमारी शेर्पाका नाममा नामसारी भएको अचल सम्पत्तिबाट ५ भागको १ भाग अंश पाउँ भन्ने वादी दाबी लिएको देखिन्छ । 

१३. मुलुकी ऐन, अंशबन्डाको महलको १ नं. मा “अंशबन्डा गर्दा यस महलका अन्य नम्बरहरूको अधीनमा रही बाबु, आमा, लोग्ने, स्वास्नी, छोरा, छोरीहरूको जियजियैको अंश गर्नुपर्छ” भन्ने व्यवस्था रहेको र ऐ. २ नं. मा “यस महलमा अन्यथा लेखिएकोमा बाहेक यसै महलको १ नम्बरबमोजिम अंशबन्डा गर्दा अंश पाउने सबैको बराबर अंश गर्नुपर्छ” भन्ने व्यवस्था रहेको छ । प्रस्तुत मुद्दामा पुनरावेदक वादी लाक्पा खम्बाछे शेर्पाले आफ्नो भाग अंश लिई छुट्टी भिन्न भएको भन्ने नदेखिएको अवस्थामा उक्त कानूनी व्यवस्थाअनुसार पासाङ खम्बाछे शेर्पाका नाममा रहेको एवं निजका नामबाट प्रत्यर्थी प्रतिवादी ओमकुमारी शेर्पाका नाममा नामसारी भएको तायदाती फाँटवारीमा उल्लिखित अचल सम्पत्तिको पाँच खण्डको एक खण्ड अंश प्रत्यर्थी ओमकुमारी शेर्पाबाट पुनरावेदक वादीले पाउने नै देखियो । 

१४. अतः उल्लिखित तथ्य, कानूनी व्यवस्था, सिद्धान्त एवं प्रमाणसमेतबाट पुनरावेदक वादी प्रत्यर्थी प्रतिवादीका अंशियार रहेको पुष्टि भएको हुँदा ललितपुर जिल्ला अदालतको फैसलालाई उल्टी गरी पुनरावेदक वादीको अंशमा दाबी नपुग्ने ठहराएको पुनरावेदन अदालत, पाटनको मिति २०६४।११।१४ को फैसलालाई सदर गरेको यस अदालतको संयुक्त इजलासको मिति २०६६।११।१३ को फैसला मिलेको नदेखिँदा उल्टी भई ऋणको सम्बन्धमा साहुले पक्रिएको बखत कानूनबमोजिम हुने र वादी तथा प्रतिवादीले पेस गरेको तायदाती फाँटवारीमा देखाएका घर जग्गासमेतका अचल सम्पत्तिबाट पाँच खण्डको एक खण्ड अंश पुनरावेदक वादीले प्रतिवादी ओमकुमारी शेर्पासमेतबाट छुट्‌याई लिई सोको चलन चलाई पाउनेसमेत ठहर गरी सुरू ललितपुर जिल्ला अदालतबाट मिति २०६३।७।२० मा भएको फैसला सदर हुने ठहर्छ । अरूमा तपसिलबमोजिम गर्नू । 

तपसिल

माथि ठहर खण्डमा लेखिएअनुसार पुनरावेदक वादी लाक्पा खम्बाछे शेर्पाले प्रत्यर्थी प्रतिवादी ओमकुमारी शेर्पासमेतबाट अंश नपाउने ठहर गरी भएको पुनरावेदन अदालत, पाटनको मिति २०६४।११।१४ को फैसलालाई सदर गर्ने गरी यस अदालतको संयुक्त इजलासबाट मिति २०६६।११।१३ मा भएको फैसला उल्टी भई पुनरावेदक वादी लाक्पा खम्बाछे शेर्पाले प्रत्यर्थी प्रतिवादी ओमकुमारी शेर्पाबाट तायदाती फाँटवारीमा पेस भएको अचल सम्पत्तिबाट पाँच खण्डको एक खण्ड अंश पाउने र चलनसमेत चलाई पाउने ठहर गरी भएको सुरू ललितपुर जिल्ला अदालतको फैसला सदर हुने ठहरी फैसला भएको हुँदा पुनरावेदन अदालत, पाटनको फैसलाको तपसिल खण्डमा राखिएको लगत कट्टा गरी सुरू ललितपुर जिल्ला अदालतको तपसिल खण्डमा राखिएको लगत कायम गर्नु भनी सुरू ललितपुर जिल्ला अदालतमा लेखी पठाउनू ----------------------------------------१

प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी अभिलेख शाखामा बुझाई दिनू ----१

 

उपरोक्त रायमा हाम्रो सहमति छ ।

न्या. सारदाप्रसाद घिमिरे

न्या. अनिलकुमार सिन्हा

 

इजलास अधिकृत : इन्दिरा शर्मा

इति संवत्् २०७३ साल माघ २० गते रोज ५ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु